الإسلام - نبذة موجزة عن الإسلام (مشتملة على الأدلة)
इस्लाम इस्लामको संक्षिप्त परिचय कुरआन र हदीसको प्रकाशमा यो एउटा महत्त्वपूर्ण पुस्तक हो, जसमा इस्लामको संक्षिप्त परिचय प्रस्तुत गरिएको छ। यसमा इस्लामका आधारभूत सिद्धान्तहरू, शिक्षाहरू र यसको उत्कृष्ट विशेषताहरूलाई इस्लामका मूल तथा भरपर्दा स्रोत—पवित्र कुरआन र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत—को प्रकाशमा स्पष्ट रूपमा प्रस्तुत गरिएको छ। यो पुस्तक मुस्लिम तथा गैरमुस्लिम सबै जिम्मेवार (मुकल्लफ) व्यक्तिहरूलाई लक्षित गरी उनीहरूकै भाषामा तयार पारिएको हो, ताकि हरेक समय, स्थान र विभिन्न परिस्थिति तथा अवस्थाका मानिसहरूले यसबाट लाभ लिन सकून्। (पवित्र कुरआन र हदीसका प्रमाणहरू समावेश गरिएको संस्करण)…
This PDF is generated automatically from the book's text; its layout may differ from the printed edition.
इस्लाम
इस्लामको संक्षिप्त परिचय कुरआन र हदीसको प्रकाशमा
यो एउटा महत्त्वपूर्ण पुस्तक हो, जसमा इस्लामको संक्षिप्त परिचय प्रस्तुत गरिएको छ। यसमा इस्लामका आधारभूत सिद्धान्तहरू, शिक्षाहरू र यसको उत्कृष्ट विशेषताहरूलाई इस्लामका मूल तथा भरपर्दा स्रोत—पवित्र कुरआन र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत—को प्रकाशमा स्पष्ट रूपमा प्रस्तुत गरिएको छ। यो पुस्तक मुस्लिम तथा गैरमुस्लिम सबै जिम्मेवार (मुकल्लफ) व्यक्तिहरूलाई लक्षित गरी उनीहरूकै भाषामा तयार पारिएको हो, ताकि हरेक समय, स्थान र विभिन्न परिस्थिति तथा अवस्थाका मानिसहरूले यसबाट लाभ लिन सकून्।
(पवित्र कुरआन र हदीसका प्रमाणहरू समावेश गरिएको संस्करण)
१- इस्लाम सम्पूर्ण मानवजातिका लागि अल्लाहको तर्फबाट पठाइएको सन्देश हो। यो सधैंका लागि अन्तिम ईश्वरीय सन्देश हो।
वास्तवमा, इस्लाम सम्पूर्ण मानवजातिका लागि अल्लाहको तर्फबाट पठाइएको आह्वान हो। अल्लाहले भन्नुभएको छ: "हे रसूल! हामीले तपाईंलाई सम्पूर्ण मानवजातिका लागि दूत बनाएर पठाएका छौँ, ताकि तपाईं ईमानवालाहरूलाई स्वर्गको शुभ-सूचना दिनुहोस् र काफिरहरूलाई नरकको सजायबाट सचेत गराउनुहोस्। तर अधिकांश मानिसहरू यस सत्यलाई जान्दैनन्।" [सूरह सबाः २८] अल्लाहले भन्नुभएको छ: "हे रसूल (सल्लल्लाहु अलैहि वसल्लम)! भनिदिनुहोस्: “हे मानवजाति! म तिमीहरू सबैका लागि अल्लाहद्वारा पठाइएको रसूल (सन्देष्टा) हुँ।” [अल् अअराफः १५८] अल्लाहले भन्नुभएको छ: "हे मानवजाति! तिम्रा पालनकर्ताको तर्फबाट मार्गदर्शन र सत्य धर्म लिएर रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) तिमीहरूसमक्ष आइसक्नुभएको छ। अतः तिमीहरू उहाँमाथि ईमान ल्याऊ। यही तिमीहरूको संसार र आखिरत दुवैका लागि उत्तम हुनेछ। यदि तिमीहरूले अल्लाहको इन्कार गर्छौ भने जानिराख, अल्लाहलाई तिमीहरूको ईमानको कुनै आवश्यकता छैन। निश्चय नै अल्लाह सर्वज्ञ र तत्वदर्शी हुनुहुन्छ।" [अन्निसाः १७०]
इस्लाम अल्लाहद्वारा पठाइएको आह्वान हो। यो सधैं रहने ईश्वरीय आह्वान हो र सम्पूर्ण ईश्वरीय आह्वानहरूको अन्तिम तथा समापक पनि हो। अल्लाहले भन्नुभएको छ: "मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) तिमीहरूमध्ये कुनै पुरुषका पिता हुनुहुन्न। बरु उहाँ अल्लाहका रसूल र सबै नबीहरूको समापक हुनुहुन्छ र अल्लाह प्रत्येक कुराका पूर्ण ज्ञाता हुनुहुन्छ।" [अल् अहजाबः ४०]
२- इस्लाम कुनै विशेष जाति वा समुदायसँग सम्बन्धित धर्म होइन, बरु यो सम्पूर्ण मानिसहरूका लागि अल्लाहको धर्म हो।
इस्लाम कुनै विशेष जाति वा समुदायसँग सम्बन्धित धर्म होइन, बरु यो सम्पूर्ण मानवजातिका लागि अल्लाहको धर्म हो। पवित्र कुरआनमा आएको पहिलो आदेश अल्लाह तआलाको यो भनाइ हो: “हे मानिसहरू! आफ्ना पालनकर्ताको इबादत गर, जसले तिमीहरूलाई र तिमीहरूभन्दा अघिका मानिसहरूलाई सृष्टि गर्नुभयो, ताकि तिमीहरू तक्वा (ईशभय) अपनाउने बन्न सक।” [अल्-बकरह: २१] अल्लाह तआलाले भन्नुभएको छ: “हे मानिसहरू! आफ्ना पालनकर्तासँग डर राख, जसले तिमीहरूलाई एउटै प्राणबाट सृष्टि गर्नुभयो, अनि त्यसैबाट त्यसको जोडी सृष्टि गर्नुभयो र ती दुवैबाट धेरै पुरुष र महिलाहरू फैलाउनुभयो।” [अन्निसाः १] इब्न उमर (रज़ियल्लाहु अन्हुमा) बाट वर्णित छ, रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले मक्का विजयको दिन मानिसहरूलाई सम्बोधन गर्दै भन्नुभयो: “हे मानिसहरू! निश्चय नै अल्लाहले तिमीहरूबाट अज्ञानताको युगको घमण्ड, आफ्नो वंश र पुर्खाहरूको कारण गरिने अहंकार हटाइदिनुभएको छ। अब मानिसहरू दुई प्रकारका छन्: एक, अल्लाहको नजरमा सम्मानित, असल, तक्वा (ईशभय) भएको र नेक व्यक्ति; र अर्को, अल्लाहको नजरमा तुच्छ, दुर्भाग्यशाली र पापी व्यक्ति। सम्पूर्ण मानिसहरू आदमका सन्तान हुन्, र अल्लाहले आदमलाई माटोबाट सृष्टि गर्नुभयो।” त्यसपछि उहाँले अल्लाहको यो आयत पढ्नुभयो: “हे मानिसहरू! हामीले तिमीहरूलाई एक पुरुष र एक महिलाबाट सृष्टि गरेका छौँ, र तिमीहरूलाई जाति तथा समुदायहरूमा विभाजन गरेका छौँ, ताकि तिमीहरू एक-अर्कालाई चिन्न सक। निश्चय नै अल्लाहको नजरमा तिमीहरूमध्ये सबैभन्दा सम्मानित व्यक्ति त्यो हो, जो सबैभन्दा बढी तक्वा भएको छ। निश्चय नै अल्लाह सर्वज्ञ र सबै कुराको खबर राख्ने हुनुहुन्छ।” (सूरह अल-हुजुरात: १३) यसलाई तिर्मिजीले हदीस नं. (३२७०) मा वर्णन गरेका छन्। पवित्र कुरआनका आदेशहरू वा रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) का आदेशहरूमा कुनै पनि जाति, समुदाय वा समूहको वंश, राष्ट्रियता वा लिङ्गलाई ध्यानमा राखेर उनीहरूका लागि मात्र विशेष गरिएको कुनै विधान पाइँदैन।
३- इस्लाम त्यो ईश्वरीय सन्देश हो, जुन अघिल्ला नबी र रसूलहरू (उनीहरूमाथि अल्लाहको शान्ति होस्) ले आफ्ना-आफ्ना समुदायहरूका लागि ल्याएका ईश्वरीय सन्देशहरूलाई पूर्णता प्रदान गर्दै आएको हो।
इस्लाम त्यो ईश्वरीय सन्देश हो, जुन अघिल्ला नबी र रसूलहरू (उनीहरूमाथि अल्लाहको शान्ति होस्) ले आफ्ना-आफ्ना समुदायहरूका लागि ल्याएका सन्देशहरूलाई पूर्णता प्रदान गर्दै आएको हो। अल्लाह तआलाले भन्नुभएको छ: “निश्चय नै हामीले तपाईंमाथि त्यही प्रकारको वही अवतरण गरेका छौँ, जसरी हामीले नूह र उहाँपछि आएका नबीहरूमाथि वही अवतरण गरेका थियौँ। हामीले इब्राहीम, इस्माईल, इस्हाक, याकूब, उनका सन्तानहरू, ईसा, अय्यूब, यूनुस, हारून र सुलैमानमाथि पनि वही अवतरण गर्यौँ। अनि हामीले दाऊदलाई ज़बूर प्रदान गर्यौँ।” [अन्निसाः १६३] यो धर्म, जुन अल्लाहले रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि वही गर्नुभएको छ, त्यही धर्म हो जसलाई अल्लाहले अघिल्ला नबीहरूका लागि निर्धारित गर्नुभएको थियो र उनीहरूलाई यसको पालना गर्ने आदेश दिनुभएको थियो। अल्लाह तआलाले भन्नुभएको छ: “उहाँले तिमीहरूका लागि धर्ममा त्यही कुरा निर्धारित गर्नुभएको छ, जसको आदेश उहाँले नूहलाई दिनुभएको थियो, र जुन हामीले तपाईंमाथि वही गरेका छौँ, तथा जसको आदेश हामीले इब्राहीम, मूसा र ईसालाई दिएका थियौँ कि ‘धर्मलाई कायम राख र यसमा विभाजित नहोऊ।’ मुशरिकहरूलाई तपाईंले जुन कुरातर्फ बोलाउनुहुन्छ, त्यो उनीहरूका लागि अत्यन्त कठिन भएको छ। अल्लाह जसलाई चाहनुहुन्छ, आफ्नो लागि चयन गर्नुहुन्छ र जो उहाँतर्फ फर्कन्छ, उसलाई आफ्नो मार्गदर्शन प्रदान गर्नुहुन्छ।” [अश्शूराः १३] यो कुरा, जुन अल्लाहले रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि वही गर्नुभएको छ, उहाँभन्दा पहिले अवतरण गरिएका ईश्वरीय ग्रन्थहरू जस्तै तौरात र इन्जील (ती विकृत गरिनुअघि) को पुष्टि गर्ने वाला हो। अल्लाह तआलाले भन्नुभएको छ: “जुन किताब हामीले तपाईंमाथि वही गरेका छौँ, त्यो सत्य हो र आफूभन्दा पहिलेका ग्रन्थहरूको पुष्टि गर्ने वाला हो। निश्चय नै अल्लाह आफ्ना बन्दाहरूका बारेमा पूर्ण जानकारी राख्ने र सबै कुरा देख्ने वाला हुनुहुन्छ।” [फातिरः ३१]
४- नबीहरू (अलैहिमुस्सलाम) को धर्म एउटै थियो, तर उनीहरूका शरीअत (कानुन तथा विधि-विधान) फरक-फरक थिए।
समस्त नबीहरू (अलैहिमुस्सलाम) को धर्म एउटै थियो, तर उनीहरूका शरीअत (विधि-विधान) फरक-फरक थिए। अल्लाह तआलाले भन्नुभएको छ: (हे पैगम्बर !) “हामीले तपाईँमाथि सत्यका साथ यो किताब अवतरण गरेका छौँ, जुन आफूभन्दा पहिलेका किताबहरूको पुष्टि गर्ने र तिनीहरूको संरक्षक पनि हो। अतः तिनीहरूबीच त्यसैअनुसार फैसला गर्नुहोस्, जुन अल्लाहले अवतरण गर्नुभएको छ। तपाईँकहाँ आएको सत्यलाई छोडेर तिनीहरूका इच्छाहरूको अनुसरण नगर्नुहोस्। हामीले तिमीहरूमध्ये प्रत्येकका लागि एउटा शरीअत र एउटा स्पष्ट मार्ग निर्धारित गरेका छौँ। यदि अल्लाह चाहनुहुन्थ्यो भने तिमीहरू सबैलाई एउटै समुदाय बनाउन सक्नुहुन्थ्यो, तर उहाँले तिमीहरूलाई जे प्रदान गर्नुभएको छ, त्यसमा तिमीहरूको परीक्षा लिन चाहनुभयो। त्यसैले असल कामहरूमा एक-अर्काभन्दा अघि बढ्ने प्रयास गर। तिमीहरू सबैको फर्कने ठाउँ अल्लाहकै तर्फ हो, अनि उहाँले तिमीहरूलाई ती कुराहरूको बारेमा बताउनुहुनेछ, जसमा तिमीहरू मतभेद गर्ने गर्दथ्यौ।” [अल् माइदा: ४८] रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: “म संसार र आखिरतमा मरियमका छोरा ईसाका सबैभन्दा नजिकको व्यक्ति हुँ। नबीहरू आपसमा सौतेला दाजुभाइहरू जस्तै हुन्; उनीहरूका आमाहरू फरक-फरक छन्, तर उनीहरूको धर्म एउटै छ।” यसलाई बुखारीले हदीस नं. (३४४३) मा वर्णन गरेका छन्।
५- इस्लामले पनि नूह, इब्राहीम, मूसा, सुलेमान, दाऊद, ईसा (अलैहिमुस्सलाम) लगायत अन्य सम्पूर्ण रसूलहरूले आह्वान गरे झैं यस कुरामा ईमान ल्याउन आह्वान गर्दछ; पालनकर्ता केवल अल्लाह नै हुनुहुन्छ। उहाँ नै सृष्टिकर्ता, जीविका प्रदान गर्ने, जीवन दिने, मृत्यु दिने, सम्पूर्ण राज्यका मालिक तथा सम्पूर्ण कार्यको व्यवस्थापन गर्ने हुनुहुन्छ। उहाँ अत्यन्त कृपालु तथा असीम दयालु हुनुहुन्छ।
५- इस्लामले पनि नूह, इब्राहीम, मूसा, सुलेमान, दाऊद, ईसा (अलैहिमुस्सलाम) लगायत अन्य सम्पूर्ण रसूलहरूले आह्वान गरे झैं यस कुरामा ईमान ल्याउन आह्वान गर्दछ; पालनकर्ता केवल अल्लाह नै हुनुहुन्छ। उहाँ नै सृष्टिकर्ता, जीविका प्रदान गर्ने, जीवन दिने, मृत्यु दिने, सम्पूर्ण राज्यका मालिक तथा सम्पूर्ण कार्यको व्यवस्थापन गर्ने हुनुहुन्छ। उहाँ अत्यन्त कृपालु तथा असीम दयालु हुनुहुन्छ, अल्लाहले भन्नुभएको छः “हे मानिसहरू! तिमीहरूमाथि अल्लाहले गर्नुभएको अनुग्रहलाई सम्झ। के अल्लाहबाहेक कुनै यस्तो सृष्टिकर्ता छ, जसले तिमीहरूलाई आकाश र पृथ्वीबाट जीविका प्रदान गर्छ? उहाँबाहेक कुनै सत्य उपास्य छैन। त्यसो भए तिमीहरू किन सत्यबाट विमुख पारिँदैछौ?” [फातिरः ३] अल्लाहले भन्नुभएको छः “भनिदिनुहोस्, ‘तिमीहरूलाई आकाश र पृथ्वीबाट जीविका कसले प्रदान गर्छ? श्रवण र दृष्टिको अधिकार कसको हातमा छ? निर्जीवबाट जीवितलाई र जीवितबाट निर्जीवलाई कसले निकाल्छ? र सम्पूर्ण कार्यको व्यवस्थापन कसले गर्छ?’ तिनीहरूले अवश्य भन्नेछन्, ‘अल्लाह।’ तब भन्नुहोस्, ‘के तिमीहरू (उहाँसँग) डर मान्दैनौ?” [युनुसः ३१] अल्लाहले भन्नुभएको छः “भनिदिनुहोस्, ‘सृष्टिको प्रारम्भ कसले गर्नुहुन्छ र त्यसलाई फेरि दोहोर्याउनुहुन्छ? अनि तिमीहरूलाई आकाश र पृथ्वीबाट जीविका कसले प्रदान गर्नुहुन्छ? के अल्लाहसँगै अर्को कुनै (सत्य) उपास्य छ?’ भनिदिनुहोस्, ‘यदि तिमीहरू सत्यवादी हौ भने आफ्नो प्रमाण प्रस्तुत गर।” [अन्नमलः ६४]
सम्पूर्ण नबी र रसूलहरू (अलैहिमुस्सलाम) केवल अल्लाहको मात्र उपासना गर्न आह्वान गर्न पठाइएका थिए। अल्लाह तआलाले भन्नुभएको छ: “निश्चय नै हामीले प्रत्येक समुदायमा एउटा रसूल पठायौँ; ‘अल्लाहकै उपासना गर र तागुत (अल्लाहबाहेक उपासना गरिने सबै झूटा उपास्य) बाट टाढा बस।’ त्यसपछि तिनीहरूमध्ये केहीलाई अल्लाहले मार्गदर्शन गर्नुभयो र केहीमाथि पथभ्रष्टता निश्चित भयो। अतः पृथ्वीमा घुमफिर गर र हेर, सत्यलाई झुटो ठहराउनेहरूको अन्त्य कस्तो भयो।” [अन्नहलः ३६] अल्लाहले भन्नुभएको छः “(हे रसूल!) हामीले तपाईंभन्दा पहिले जुनसुकै रसूल पठायौँ, उनीमाथि यही वही गरेका थियौँ कि ‘मबाहेक कुनै सत्य उपास्य छैन, त्यसैले मेरो मात्र उपासना गर।” [अल् अम्बियाः २५] अल्लाह तआलाले नूह (अलैहिस्सलाम) को बारेमा बताउँदै भन्नुभएको छ, उनले भने: “हे मेरा समुदाय! अल्लाहकै उपासना गर। उहाँबाहेक तिमीहरूको कुनै सत्य उपास्य छैन। निश्चय नै म तिमीहरूमाथि एक महान् दिनको सजाय आउने डर गर्छु।” [अल् अअराफः ५९] अल्लाह तआलाले इब्राहीम खलील (अलैहिस्सलाम) को बारेमा बताउँदै भन्नुभएको छ, उनले भने: “इब्राहीमलाई पनि (हामीले पठायौँ), जब उनले आफ्ना समुदायलाई भने, ‘अल्लाहकै उपासना गर र उहाँसँग डराऊ। यदि तिमीहरू जान्दछौ भने यही तिमीहरूका लागि सबैभन्दा उत्तम कुरा हो।” [अल् अनकबूतः १६] अल्लाह तआलाले सालेह (अलैहिस्सलाम) को बारेमा बताउँदै भन्नुभएको छ, “उनले भने, ‘हे मेरा समुदाय! अल्लाहकै उपासना गर। उहाँबाहेक तिमीहरूको कुनै सत्य उपास्य छैन। निश्चय नै तिमीहरूका पालनकर्ताको तर्फबाट तिमीहरूसमक्ष स्पष्ट प्रमाण आइसकेको छ। यो अल्लाहकी ऊँटनी तिमीहरूका लागि एउटा चिन्ह हो। त्यसैले यसलाई अल्लाहको भूमिमा चरिरहन देऊ र यसलाई कुनै हानि नपुर्याऊ। नत्र पीडादायी यातनाले तिमीहरूलाई समात्नेछ।” [अल् अअराफः ७३] अल्लाह तआलाले शुएब (अलैहिस्सलाम) को बारेमा बताउँदै भन्नुभएको छ, उनले भने: “हे मेरा समुदाय! अल्लाहकै उपासना गर। उहाँबाहेक तिमीहरूको कुनै सत्य उपास्य छैन। निश्चय नै तिमीहरूका पालनकर्ताको तर्फबाट तिमीहरूसमक्ष स्पष्ट प्रमाण आइसकेको छ। त्यसैले नाप र तौल पूरा गर, मानिसहरूलाई उनीहरूको हकबाट कुनै कमी नगर र पृथ्वीमा सुधार भइसकेपछि त्यसमा बिगार नफैलाऊ। यदि तिमीहरू ईमानवाला हौ भने यही तिमीहरूका लागि उत्तम छ।” [अल् अअराफः ८५]
जब अल्लाहले पहिलो पटक मूसा (अलैहिस्सलाम) सँग कुरा गर्नुभयो, तब उहाँले भन्नुभयो: “मैले तिमीलाई (मेरो सन्देशका लागि) चयन गरेको छु। अतः अब जुन वही तिमीमाथि गरिँदैछ, त्यसलाई ध्यानपूर्वक सुन। निश्चय नै म नै अल्लाह हुँ। मबाहेक कुनै सत्य उपास्य छैन। त्यसैले मेरो मात्र उपासना गर र मेरो सम्झनाका लागि नमाज कायम गर।” [ताहाः १३, १४] अल्लाह तआलाले मूसा (अलैहिस्सलाम) को बारेमा बताउँदै भन्नुभएको छ, उनले (अल्लाहसँग) शरण माग्दै भने: “निश्चय नै मैले मेरो पालनकर्ता र तिमीहरूको पालनकर्तासँग प्रत्येक त्यस्तो घमण्डी व्यक्तिबाट शरण मागेको छु, जो हिसाबको दिनमा ईमान राख्दैन।” [गाफिरः २७] अल्लाह तआलाले मसीह ईसा (अलैहिस्सलाम) को बारेमा बताउँदै भन्नुभएको छ, उनले भने: “निश्चय नै अल्लाह नै मेरो पालनकर्ता र तिमीहरूको पनि पालनकर्ता हुनुहुन्छ। त्यसैले उहाँकै उपासना गर। यही नै सोझो मार्ग हो।” [आलि इमरान: ८५] अल्लाहले मसीह ईसा (अलैहिस्सलाम) को बारेमा फेरि बताउँदै भन्नुभएको छ, उनले भने: “हे बनी इस्राईल! अल्लाहकै उपासना गर, जो मेरो पनि पालनकर्ता र तिमीहरूको पनि पालनकर्ता हुनुहुन्छ। निश्चय नै जसले अल्लाहसँग साझेदार ठहराउँछ, अल्लाहले उसमाथि जन्नत हराम गरिदिनुभएको छ र उसको बासस्थान आगो (नर्क) हुनेछ। अनि अत्याचारीहरूका लागि कुनै सहयोगी हुने छैन।” [अल् माइदः ७२]
बरु, तौरात र इन्जीलमा पनि केवल अल्लाहकै उपासना गर्न विशेष जोड दिइएको छ। यसै सन्दर्भमा व्यवस्थाविवरणमा मूसा (अलैहिस्सलाम) को यो भनाइ उल्लेख गरिएको छ: “हे इस्राईल! सुन, हाम्रो पालनकर्ता अल्लाह नै एउटै पालनकर्ता हुनुहुन्छ।” मरकुसको सुसमाचारमा पनि तौहीद (अल्लाहको एकत्व) माथि जोड दिइएको छ, जहाँ मसीह ईसा (अलैहिस्सलाम) ले भने: “सबैभन्दा पहिलो आज्ञा यही हो: ‘हे इस्राईल! सुन, हाम्रो पालनकर्ता अल्लाह नै एउटै पालनकर्ता हुनुहुन्छ।”
अल्लाहले स्पष्ट पार्नुभएको छ, सबै नबीहरूलाई यही महान् उद्देश्यका साथ पठाइएको थियो, अर्थात् तौहीद (अल्लाहको एकत्व) तर्फ आह्वान गर्न। अल्लाह तआलाले भन्नुभएको छ: “निश्चय नै हामीले प्रत्येक समुदायमा एउटा रसूल पठायौँ, ‘अल्लाहकै उपासना गर र तागुत (झूटा उपास्यहरू) बाट टाढा बस।’ त्यसपछि तिनीहरूमध्ये केहीलाई अल्लाहले मार्गदर्शन गर्नुभयो र केहीमाथि पथभ्रष्टता निश्चित भयो।” [अन्नहलः ३६] अल्लाहले भन्नुभएको छ: "भनिदिनुहोस्, ‘तिमीहरूले अल्लाहबाहेक जसलाई पुकार्छौ, मलाई देखाऊ त—तिनीहरूले पृथ्वीमा के सृष्टि गरेका छन्? वा आकाशहरूको सृष्टिमा तिनीहरूको कुनै साझेदारी छ? यदि तिमीहरू सत्यवादी हौ भने, यसअघि अवतरित कुनै किताब वा ज्ञानको कुनै प्रमाण मेरो सामु प्रस्तुत गर।” [अल अहकाफः ४] शैख साअदी रहिमहुल्लाहले भनेका छन्: यसबाट स्पष्ट हुन्छ, मुश्रिकहरूले आफ्नो शिर्कको पक्षमा गर्ने तर्क कुनै प्रमाण वा स्पष्ट आधारमा आधारित छैन। बरु, तिनीहरू झूटा अनुमान, निरर्थक विचार र भ्रष्ट बुद्धिमाथि निर्भर छन्। तिनीहरूको जीवनशैली, ज्ञान र कर्महरूको अध्ययन गर्दा, साथै जसको उपासना गर्न तिनीहरूले आफ्नो सम्पूर्ण जीवन बिताए, ती (अल्लाहबाहेकका उपास्यहरू) ले उनीहरूलाई न संसारमा कुनै लाभ पुर्याए, न त आखिरतमा नै—यसबाट तिनीहरूको सोच र विश्वासको असत्यता स्पष्ट रूपमा प्रमाणित हुन्छ। तैसीर अल-करीम अर-रहमान, पृष्ठ: ७७९।
६- अल्लाह नै सम्पूर्ण सृष्टिका सृष्टिकर्ता हुनुहुन्छ। त्यसैले केवल उहाँ मात्र उपासनाका वास्तविक योग्य हुनुहुन्छ र उहाँसँग अरू कसैको पनि उपासना गर्नु हुँदैन।
केवल अल्लाह नै उपासना योग्य हुनुहुन्छ र उहाँसँग अरू कसैको उपासना गर्नु हुँदैन। अल्लाह तआलाले भन्नुभएको छ: “हे मानिसहरू! आफ्नो त्यस पालनकर्ताको उपासना गर, जसले तिमीहरूलाई र तिमीहरूभन्दा अघिका मानिसहरूलाई सृष्टि गर्नुभयो, ताकि तिमीहरू धर्मपरायण (तक्वावान्) बन्न सक। जसले तिमीहरूका लागि पृथ्वीलाई ओछ्यान बनाइदिनुभयो, आकाशलाई छाना बनाइदिनुभयो, अनि आकाशबाट पानी वर्षाइ त्यसद्वारा तिमीहरूका लागि फलफूल उत्पन्न गरी जीविकाको व्यवस्था गर्नुभयो। त्यसैले, तिमीहरू जान्दाजान्दै अल्लाहका लागि कसैलाई समकक्ष नठहराऊ।” [अल् बकरह: २१-२२] जसले हामीलाई र हामीभन्दा अघिका पुस्ताहरूलाई सृष्टि गर्नुभयो, हाम्रो लागि पृथ्वीलाई बिछ्यौना बनाइदिनुभयो, आकाशबाट पानी वर्षाइदिनुभयो, र त्यसद्वारा हाम्रो जीविकाका लागि विभिन्न फलफूल उत्पन्न गर्नुभयो; उहाँ नै एक्लै उपासनाका वास्तविक अधिकारी हुनुहुन्छ। अल्लाह तआलाले भन्नुभएको छ: “हे मानिसहरू! तिमीहरूमाथि अल्लाहले गर्नुभएका अनुग्रहहरूलाई सम्झ। के अल्लाहबाहेक कुनै यस्तो सृष्टिकर्ता छ, जसले तिमीहरूलाई आकाश र पृथ्वीबाट जीविका प्रदान गर्छ? उहाँबाहेक कुनै सत्य उपास्य छैन। त्यसो भए तिमीहरू कहाँ भ्रमित पारिँदैछौ?” [फातिरः ३] तसर्थ, जसले सृष्टि गर्नुहुन्छ र जीविका प्रदान गर्नुहुन्छ, केवल उहाँ नै उपासनाका वास्तविक अधिकारी हुनुहुन्छ। अल्लाह तआलाले भन्नुभएको छ: “यही अल्लाह तिमीहरूको पालनकर्ता हुनुहुन्छ। उहाँबाहेक कुनै सत्य उपास्य छैन। उहाँ नै प्रत्येक वस्तुका सृष्टिकर्ता हुनुहुन्छ। त्यसैले उहाँकै उपासना गर। उहाँ नै प्रत्येक कुराको जिम्मेवारी सम्हाल्नुहुन्छ।” [अल् अनआमः १०२]
अल्लाहबाहेक जस-जसको उपासना गरिन्छ, तिनीहरूमध्ये कोही पनि उपासना योग्य छैनन्। किनकि तिनीहरू आकाशहरू वा पृथ्वीमा एक कणबराबर पनि अधिकार राख्दैनन्। तिनीहरूको कुनै कुरामा अल्लाहसँग साझेदारी छैन, न त तिनीहरू अल्लाहका कुनै सहयोगी वा सहायक नै हुन्। त्यसो भए, तिनीहरूलाई कसरी अल्लाहसँगै पुकार्न सकिन्छ वा उहाँका साझेदार ठहराउन सकिन्छ? अल्लाह तआलाले भन्नुभएको छ: “भनिदिनुहोस्, ‘अल्लाहबाहेक जसलाई तिमीहरूले उपास्य ठानेका छौ, तिनीहरू आकाशहरू र पृथ्वीमा एक कणबराबर पनि अधिकार राख्दैनन्। न त तिनीहरूको यी दुवैमा कुनै साझेदारी छ, न त तिनीहरूमध्ये कोही अल्लाहको सहयोगी नै हो।’” [सबाः २२]
अल्लाह नै ती सबै सृष्टिहरूका सृष्टिकर्ता हुनुहुन्छ। उहाँले तिनीहरूलाई शून्यबाट अस्तित्वमा ल्याउनुभयो। यी सम्पूर्ण सृष्टिहरूको अस्तित्व नै उहाँको अस्तित्व, पालनकर्ता (रुबूबिय्यह) र एकमात्र उपासनायोग्य (उलूहिय्यह) हुनुको स्पष्ट प्रमाण हो। अल्लाह तआलाले भन्नुभएको छ: “उहाँका निशानीहरूमध्ये एउटा यो पनि हो कि उहाँले तिमीहरूलाई माटोबाट सृष्टि गर्नुभयो। त्यसपछि हेर, तिमीहरू मानिस बनेर पृथ्वीभरि फैलिएका छौ। उहाँका निशानीहरूमध्ये यो पनि हो कि उहाँले तिमीहरूकै जातिबाट तिमीहरूका लागि जोडीहरू सृष्टि गर्नुभयो, ताकि तिमीहरूले तिनीहरूसँग शान्ति र सन्तोष प्राप्त गर्न सक। अनि उहाँले तिमीहरूबीच प्रेम र दया स्थापित गरिदिनुभयो। निश्चय नै यसमा चिन्तन गर्ने मानिसहरूका लागि धेरै निशानीहरू छन्। उहाँका निशानीहरूमध्ये आकाशहरू र पृथ्वीको सृष्टि, तथा तिमीहरूका भाषा र रङहरूको भिन्नता पनि हुन्। निश्चय नै यसमा ज्ञान भएका मानिसहरूका लागि धेरै निशानीहरू छन्। उहाँका निशानीहरूमध्ये रात र दिनमा तिमीहरूको निद्रा तथा उहाँको कृपा (जीविका) को खोजीमा तिमीहरूको प्रयास पनि हो। निश्चय नै यसमा सुन्ने मानिसहरूका लागि धेरै निशानीहरू छन्। उहाँका निशानीहरूमध्ये यो पनि हो कि उहाँले तिमीहरूलाई बिजुली देखाउनुहुन्छ, जसले डर र आशा दुवै उत्पन्न गर्छ। अनि उहाँले आकाशबाट पानी वर्षाउनुहुन्छ, त्यसद्वारा पृथ्वीलाई यसको मृत अवस्थामा पछि फेरि जीवन दिनुहुन्छ। निश्चय नै यसमा बुद्धि प्रयोग गर्ने मानिसहरूका लागि धेरै निशानीहरू छन्। उहाँका निशानीहरूमध्ये यो पनि हो कि उहाँको आदेशद्वारा आकाश र पृथ्वी स्थिर छन्। त्यसपछि जब उहाँले तिमीहरूलाई पृथ्वीबाट एकपटक बोलाउनुहुनेछ, तत्काल तिमीहरू (चिहानबाट) बाहिर निस्कनेछौ। आकाशहरू र पृथ्वीमा भएका सबै उहाँकै हुन् र सबै उहाँकै आज्ञापालक छन्। उहाँ नै हुनुहुन्छ जसले सृष्टिको प्रारम्भ गर्नुहुन्छ अनि फेरि त्यसलाई पुनः जीवित गर्नुहुन्छ। यो (पुनः सृष्टि गर्नु) उहाँका लागि अझ सहज छ।” [अर्रूमः २०-२७]
जब नमरूदले आफ्नो पालनकर्ताको अस्तित्वलाई अस्वीकार गर्यो, तब इब्राहीम (अलैहिस्सलाम) ले उसलाई यसरी भन्नुभयो, जसरी अल्लाहले यसको वर्णन गर्नुभएको छ: “इब्राहीमले भने, ‘निश्चय नै अल्लाहले सूर्यलाई पूर्वबाट उदय गराउनुहुन्छ, त्यसैले तिमी त्यसलाई पश्चिमबाट उदय गराएर देखाऊ।’ तब त्यो काफिर निरुत्तर भयो। अल्लाहले अत्याचारीहरूलाई मार्गदर्शन गर्नुहुन्न।” [अल् बकरह: २५८] त्यसैगरी, इब्राहीम (अलैहिस्सलाम) ले आफ्ना समुदायका सामु यो प्रमाण प्रस्तुत गर्नुभयो; अल्लाह नै हुनुहुन्छ जसले उहाँलाई मार्गदर्शन गर्नुभयो, उहाँलाई भोजन र पानी प्रदान गर्नुभयो, बिरामी हुँदा निको पार्नुभयो, मृत्यु दिनुहुन्छ र फेरि जीवन दिनुहुन्छ। यसरी उहाँले भन्नुभयो, जसरी अल्लाहले यसको वर्णन गर्नुभएको छ: “उहाँ नै हुनुहुन्छ जसले मलाई सृष्टि गर्नुभयो, अनि उहाँले नै मलाई मार्गदर्शन गर्नुहुन्छ। उहाँ नै हुनुहुन्छ जसले मलाई भोजन गराउनुहुन्छ र पिउनका लागि पानी प्रदान गर्नुहुन्छ। जब म बिरामी पर्छु, तब उहाँले नै मलाई निको पार्नुहुन्छ। उहाँ नै हुनुहुन्छ जसले मलाई मृत्यु दिनुहुनेछ अनि फेरि मलाई जीवित पार्नुहुनेछ। [अश्शुअराः ७८-८१] अल्लाहले मूसा (अलैहिस्सलाम) को बारेमा वर्णन गर्दै बताउनुभएको छ, उहाँले फिरऔनसँग तर्क गर्दै भन्नुभयो: “निश्चय नै मेरो पालनकर्ता उहाँ हुनुहुन्छ: “जसले प्रत्येक वस्तुलाई त्यसको उपयुक्त स्वरूप प्रदान गर्नुभयो, अनि त्यसलाई मार्गदर्शन गर्नुभयो।” [ताहाः ५०]
अल्लाहले आकाशहरू र पृथ्वीमा भएका सबै वस्तुहरूलाई मानिसको सेवामा लगाइदिनुभएको छ र उसलाई आफ्ना अनगिन्ती अनुग्रहहरूले घेर्नुभएको छ, ताकि उसले केवल अल्लाहकै उपासना गरोस् र उहाँको कृतघ्नता नगरोस्। अल्लाह तआलाले भन्नुभएको छ: “के तिमीहरूले देखेका छैनौ; अल्लाहले आकाशहरू र पृथ्वीमा भएका सबै वस्तुहरू तिमीहरूको अधीनमा गरिदिनुभएको छ। उहाँले आफ्ना प्रत्यक्ष तथा अप्रत्यक्ष अनुग्रहहरू तिमीहरूमाथि प्रशस्त रूपमा प्रदान गर्नुभएको छ? तर मानिसहरूमध्ये केही यस्ता पनि छन्, जो कुनै ज्ञान, कुनै मार्गदर्शन वा कुनै प्रकाशमान किताबबिना नै अल्लाहको विषयमा विवाद गर्छन्।” [लुकमानः २०] जसरी अल्लाहले आकाशहरू र पृथ्वीमा भएका सबै वस्तुहरूलाई मानिसको सेवामा लगाइदिनुभएको छ, त्यसरी नै उहाँले मानिसलाई पनि सृष्टि गर्नुभयो र उसलाई आवश्यक पर्ने सबै क्षमताहरू जस्तै श्रवणशक्ति, दृष्टि र हृदय प्रदान गर्नुभयो, ताकि उसले लाभदायक ज्ञान प्राप्त गर्न सकोस् र आफ्नो पालनकर्ता तथा सृष्टिकर्तालाई चिनोस्। अल्लाह तआलाले भन्नुभएको छ: “अल्लाहले तिमीहरूलाई तिमीहरूका आमाहरूको गर्भबाट यस्तो अवस्थामा निकाल्नुभयो कि तिमीहरू केही पनि जान्दैनथ्यौ। अनि उहाँले तिमीहरूलाई कान, आँखा र हृदय प्रदान गर्नुभयो, ताकि तिमीहरू कृतज्ञ बन्न सक।” [अन्नहलः ७८]
यसरी अल्लाह (महिमाशाली र सर्वोच्च) ले यी सम्पूर्ण संसारहरूको सृष्टि गर्नुभयो। उहाँले मानिसलाई पनि सृष्टि गर्नुभयो र उसलाई आवश्यक पर्ने सबै अङ्गहरू तथा शक्तिहरू प्रदान गर्नुभयो। त्यसपछि अल्लाहको उपासना गर्न र पृथ्वीको निर्माण तथा व्यवस्थापन गर्न आवश्यक सबै साधनहरू उपलब्ध गराइदिनुभयो। अन्ततः उहाँले आकाशहरू र पृथ्वीमा भएका सबै वस्तुहरूलाई मानिसको सेवामा लगाइदिनुभयो।
अल्लाहले यी महान् सृष्टिहरूको सृष्टिलाई आफ्नो पालनकर्ता (रुबूबिय्यह) हुनुको प्रमाणका रूपमा प्रस्तुत गर्नुभएको छ, जुन उहाँ एक्लै उपासना योग्य (उलूहिय्यह) हुनुको पनि अनिवार्य प्रमाण हो। अल्लाहले भन्नुभएको छ: “भनिदिनुहोस्, ‘आकाश र पृथ्वीबाट तिमीहरूलाई जीविका कसले प्रदान गर्छ? श्रवणशक्ति र दृष्टिको स्वामित्व कसको छ? निर्जीवबाट जीवितलाई र जीवितबाट निर्जीवलाई कसले निकाल्छ? अनि सम्पूर्ण कार्यको व्यवस्थापन कसले गर्छ?’ उनीहरूले अवश्य भन्नेछन्, ‘अल्लाह।’ त्यसपछि भनिदिनुहोस्, ‘के तिमीहरू उहाँसँग डराउँदैनौ?” [यूनुसः ३१] अल्लाहले भन्नुभएको छ: “भनिदिनुहोस्, ‘अल्लाहबाहेक जसलाई तिमीहरू पुकार्छौ, मलाई देखाऊ, तिनीहरूले पृथ्वीमा के सृष्टि गरेका छन्? वा के आकाशहरूको सृष्टिमा तिनीहरूको कुनै साझेदारी छ? यदि तिमीहरू सत्यवादी हौ भने, यसभन्दा अघिको कुनै किताब वा ज्ञानको कुनै प्रमाण मेरो सामु ल्याऊ।” [अल् अहकाफः ४] अल्लाहले भन्नुभएको छः “उहाँले आकाशहरूलाई कुनै देखिने खम्बाबिना सृष्टि गर्नुभयो। अनि पृथ्वीमा दृढ पर्वतहरू गाडिदिनुभयो, ताकि यसले तिमीहरूलाई लिएर नडगमगाओस्। उहाँले त्यसमा हरेक प्रकारका जीवजन्तुहरू फैलाइदिनुभयो। अनि हामीले आकाशबाट पानी वर्षायौं, त्यसपछि त्यसबाट हरेक प्रकारका उत्कृष्ट वनस्पतिहरू उमार्यौं। यो अल्लाहको सृष्टि हो। अब मलाई देखाऊ, उहाँबाहेक अरूले के सृष्टि गरेका छन्? बरु अत्याचारीहरू स्पष्ट पथभ्रष्टतामा छन्।” [लुकमानः १०-११] अल्लाहले भन्नुभएको छ: “के तिनीहरू कुनै पनि सृष्टिकर्ताबिना आफैँ उत्पन्न भएका हुन्? वा तिनीहरू आफैँ आफ्ना सृष्टिकर्ता हुन्? वा के तिनीहरूले आकाशहरू र पृथ्वीको सृष्टि गरेका हुन्? होइन, बरु उनीहरूमा दृढ विश्वास नै छैन। वा के तिम्रो पालनकर्ताका खजानाहरू तिनीहरूको अधीनमा छन्? अथवा के तिनीहरू नै सबै कुरामाथि प्रभुत्व जमाउने शासक हुन्?” [अत्तूरः ३५-३७] शैख साअदीले भनेका छन्: “यो उनीहरूमाथि यस्तो प्रमाणद्वारा गरिएको तर्क हो, जसको सामना गर्दा उनीहरूसँग सत्यलाई स्वीकार गर्नु वा बुद्धि र धर्मको मागबाट बाहिर निस्कनुबाहेक अर्को कुनै विकल्प रहँदैन।” (तफ्सीर इब्ने साअदीः ८१६)
७- अल्लाह नै यस ब्रह्माण्डमा रहेका हामीले देख्ने र नदेख्ने सम्पूर्ण वस्तुहरूको सृष्टिकर्ता हुनुहुन्छ। उहाँबाहेक सबै कुरा उहाँकै सृष्टिमध्ये पर्दछन्। अल्लाहले आकाशहरू र पृथ्वीलाई छ दिनमा सृष्टि गर्नुभयो।
७- अल्लाह नै यस ब्रह्माण्डमा रहेका हामीले देख्ने र नदेख्ने सम्पूर्ण वस्तुहरूको सृष्टिकर्ता हुनुहुन्छ। उहाँबाहेक सबै कुरा उहाँकै सृष्टिमध्ये पर्दछन्। अल्लाहले भन्नुभएको छ: “भनिदिनुहोस्, ‘आकाशहरू र पृथ्वीका पालनकर्ता को हुन्?’ भनिदिनुहोस्, ‘अल्लाह।’ फेरि भनिदिनुहोस्, ‘के तिमीहरूले उहाँलाई छोडेर यस्ता संरक्षकहरू बनाएका छौ, जसले आफ्नै लागि पनि न कुनै लाभको अधिकार राख्छन् न कुनै हानिको?’ भनिदिनुहोस्, ‘के अन्धो र देख्ने बराबर हुन सक्छन्? वा अन्धकार र उज्यालो समान हुन सक्छन्?’ वा के तिनीहरूले अल्लाहका यस्ता साझेदार ठहराएका छन्, जसले उहाँको सृष्टिजस्तै कुनै सृष्टि गरेका छन्, जसका कारण तिनीहरूलाई सृष्टि नै उस्तै लागेको छ? भनिदिनुहोस्, ‘अल्लाह नै प्रत्येक वस्तुको सृष्टिकर्ता हुनुहुन्छ र उहाँ एकमात्र, सबैमाथि प्रभुत्वशाली हुनुहुन्छ।” [अर्रअदः १६] अल्लाहले भन्नुभएको छ: "उहाँले त्यस्ता वस्तुहरू पनि सृष्टि गर्नुहुन्छ, जसलाई तिमीहरू जान्दैनौ।” [अन्नहलः ८]
अल्लाहले आकाशहरू र पृथ्वीलाई छ दिनमा सृष्टि गर्नुभयो। अल्लाह तआलाले भन्नुभएको छ: “उहाँ नै हुनुहुन्छ, जसले आकाशहरू र पृथ्वीलाई छ दिनमा सृष्टि गर्नुभयो। त्यसपछि उहाँ अर्शमाथि उच्च हुनुभयो। पृथ्वीभित्र जे प्रवेश गर्छ, त्यहाँबाट जे बाहिर निस्कन्छ, आकाशबाट जे अवतरण हुन्छ र त्यतातर्फ जे उक्लिन्छ—ती सबै कुरा उहाँ जान्नुहुन्छ। तिमीहरू जहाँ भए पनि उहाँ तिमीहरूसँग हुनुहुन्छ। तिमीहरूले जे गर्छौ, अल्लाह त्यसलाई राम्ररी देख्नुहुन्छ।” [अल् हदीदः ४] अल्लाहले भन्नुभएको छः “निश्चय नै हामीले आकाशहरू, पृथ्वी र ती दुईका बीचमा रहेका सबै कुरा छ दिनमा सृष्टि गर्यौं र हामीलाई कुनै थकानले छोएन।” [काफः ३८]
८- अल्लाहको न उहाँको प्रभुत्वमा, न सृष्टिमा, न सृष्टिको व्यवस्थापनमा, न त उपासनाको अधिकारमा कुनै साझेदार छ।
अल्लाह नै सम्पूर्ण राज्यका मालिक हुनुहुन्छ। उहाँको सृष्टि, सार्वभौम शासन र सम्पूर्ण व्यवस्थापनमा कुनै साझेदार छैन। अल्लाह तआलाले भन्नुभएको छ: “भनिदिनुहोस्, ‘तिमीहरूले अल्लाहबाहेक जसलाई पुकार्छौ, तिनको बारेमा मलाई बताऊ। मलाई देखाऊ, तिनीहरूले पृथ्वीमा के सृष्टि गरेका छन्? वा के आकाशहरूको सृष्टिमा तिनीहरूको कुनै साझेदारी छ? यदि तिमीहरू सत्यवादी हौ भने, यस (कुरआन) भन्दा अघिको कुनै किताब वा ज्ञानको कुनै प्रमाण मेरो सामु ल्याऊ।” [अल् अहकाफः ४] शैख साअदी रहिमहुल्लाहले भनेका छन्: अर्थात्, ‘भनिदिनुहोस्’, अल्लाहसँग यस्ता मूर्ति र साझेदारहरू ठहराउनेहरूलाई, जो न कुनै लाभका मालिक छन्, न हानिका, न मृत्युका, न जीवनका, न पुनर्जीवनका। उनीहरूलाई भनिदिनुहोस्—तिनीहरूका मूर्तिहरूको असहायता र तिनीहरू उपासनाको कुनै पनि अधिकार नराख्ने कुरा स्पष्ट पार्दै—‘मलाई देखाऊ, तिनीहरूले पृथ्वीमा के सृष्टि गरेका छन्? वा के आकाशहरूको सृष्टिमा तिनीहरूको कुनै साझेदारी छ?’ के तिनीहरूले आकाश वा पृथ्वीको कुनै वस्तु सृष्टि गरेका छन्? के तिनीहरूले पर्वतहरू खडा गरेका छन्? के नदीहरू बगाएका छन्? के कुनै जीवजन्तु उत्पन्न गरेका छन्? के रुखबिरुवाहरू उमारेका छन्? वा के यीमध्ये कुनै पनि कुराको सृष्टिमा तिनीहरूको कुनै सहभागिता छ? निश्चय नै, उनीहरू स्वयंले पनि स्वीकार गर्छन् कि तिनीहरूले यस्ता कुनै काम गरेका छैनन्। त्यसैले यो एक स्पष्ट र निर्णायक बौद्धिक प्रमाण हो कि अल्लाहबाहेक जसको पनि उपासना गरिन्छ, त्यसको उपासना पूर्ण रूपमा असत्य र निरर्थक छ।
त्यसपछि उहाँले श्रुति (नक्ली) प्रमाण पनि अस्तित्वमा नरहेको कुरा उल्लेख गर्दै भन्नुभयो: “यसअघि अवतरित भएको कुनै यस्तो किताब मेरो सामु ल्याऊ, जसले शिर्क गर्न आदेश दिएको होस्, वा कुनै यस्तो ज्ञानको अवशेष प्रस्तुत गर, जुन अघिल्ला रसूलहरूबाट प्राप्त भएको हो र त्यसले पनि शिर्क गर्न आदेश दिएको होस्।” यो सर्वविदित कुरा हो कि उनीहरू कुनै पनि रसूलबाट त्यसको समर्थनमा कुनै प्रमाण प्रस्तुत गर्न पूर्णतः असमर्थ छन्। बरु, हामी दृढतापूर्वक जान्दछौं र पूर्ण विश्वासका साथ भन्छौं कि सबै रसूलहरूले आफ्ना पालनकर्ताको तौहीदतर्फ नै आह्वान गरेका थिए र उहाँसँग शिर्क गर्नबाट रोकेका थिए। यही नै उनीहरूले छोडेर गएको ज्ञानमध्ये सबैभन्दा महान् र महत्वपूर्ण शिक्षा हो। (तफ्सीर इब्ने साअदीः ७७९)
अल्लाह नै सम्पूर्ण राज्यका मालिक हुनुहुन्छ। उहाँको सार्वभौम शासनमा कुनै साझेदार छैन। अल्लाह तआलाले भन्नुभएको छ: “भनिदिनुहोस्, ‘हे अल्लाह! सम्पूर्ण राज्यका मालिक! तपाईं जसलाई चाहनुहुन्छ, राज्य प्रदान गर्नुहुन्छ र जसबाट चाहनुहुन्छ, राज्य खोस्नुहुन्छ। तपाईं जसलाई चाहनुहुन्छ, सम्मानित गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ, अपमानित गर्नुहुन्छ। सम्पूर्ण भलाइ तपाईंको हातमा छ। निःसन्देह, तपाईं प्रत्येक कुरामाथि पूर्ण शक्ति राख्नुहुन्छ।” [आलि इमरान: २६] अल्लाह तआलाले कियामतको दिन पूर्ण र सम्पूर्ण सार्वभौम सत्ता केवल उहाँकै हुनेछ भन्ने कुरा स्पष्ट पार्दै भन्नुभएको छ: “जुन दिन सबै मानिसहरू खुला रूपमा उपस्थित हुनेछन्, तिनीहरूको कुनै पनि कुरा अल्लाहबाट लुकेको रहनेछैन। आजको दिन सम्पूर्ण प्रभुत्व कसको हो? एकमात्र, सबैमाथि प्रभुत्वशाली अल्लाहकै हो।” [गाफिरः १६]
“सर्वशक्तिमान अल्लाहको सार्वभौम शासन, सृष्टि, व्यवस्थापन र उपासनामा कुनै साझेदार छैन। अल्लाह तआलाले भन्नुभएको छ: “भनिदिनुहोस्, ‘सबै प्रशंसा अल्लाहकै लागि हो, जसले न कुनै सन्तान ग्रहण गर्नुभएको छ, न उहाँको सार्वभौम शासनमा कुनै साझेदार छ, न त उहाँलाई कमजोरीका कारण कुनै सहयोगी वा संरक्षकको आवश्यकता छ। अनि उहाँको पूर्ण महिमाका साथ महानता वर्णन गर।” [अल् इस्राः १११] अल्लाहले भन्नुभएको छः “उहाँ, जसकै लागि आकाशहरू र पृथ्वीको सम्पूर्ण शासन छ, जसले कुनै पुत्र धारण गर्नुभएको छैन, जसको शासनमा कुनै साझेदार छैन र जसले प्रत्येक वस्तुको सृष्टि गरी त्यसको उचित परिमाण निर्धारण गर्नुभएको छ।” [अल् फुर्कानः २] त्यसैले उहाँ नै वास्तविक मालिक हुनुहुन्छ र उहाँबाहेक सबै उहाँकै स्वामित्वमा रहेका सृष्टि हुन्। उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ र उहाँबाहेक सबै उहाँकै सृष्टि हुन्। सम्पूर्ण कार्यको व्यवस्थापन पनि उहाँ नै गर्नुहुन्छ। जसको महिमा यस्तो छ, उपासना योग्य पनि केवल उहाँ नै हुनुहुन्छ। उहाँबाहेक अरूको उपासना गर्नु बुद्धिको कमी र संसार तथा परलोक दुवैलाई बिगार्ने शिर्क हो। अल्लाह तआलाले भन्नुभएको छ: “तिनीहरूले भने, ‘यहूदी वा ईसाई बन, तब मात्र तिमीहरू सही मार्ग पाउनेछौ।’ भनिदिनुहोस्, ‘त्यसो होइन। बरु, हामी इब्राहीमको धर्मको अनुसरण गर्छौं, जो केवल अल्लाहतर्फ समर्पित थिए। अनि उनी मुशरिकहरूमध्ये थिएनन्।” [अल् बकरह: १३५] अल्लाहले भन्नुभएको छः “त्यसभन्दा उत्तम धर्म कसको हुन सक्छ, जसले आफ्नो सम्पूर्ण अस्तित्व अल्लाहसमक्ष समर्पण गरेको छ, जो सत्कर्मी छ र जसले एकनिष्ठ इब्राहीमको मार्गलाई अनुसरण गरेको छ? अनि अल्लाहले इब्राहीमलाई आफ्नो घनिष्ठ मित्र (खलील) बनाउनुभयो।” [अन्निसाः १२५] सत्य अल्लाहले स्पष्ट पार्नुभएको छ, जसले आफ्ना घनिष्ठ मित्र इब्राहीम (अलैहिस्सलाम) को मार्गबाहेक अर्को मार्ग अपनाउँछ, उसले वास्तवमा आफ्नै आत्मालाई मूर्ख बनाएको हुन्छ। अल्लाह तआलाले भन्नुभएको छ: “मूर्ख व्यक्ति बाहेक इब्राहीमको धर्मबाट अरू को विमुख हुन सक्छ? निश्चय नै हामीले उनलाई यस संसारमा चयन गरेका थियौं र आखिरतमा पनि उनी निःसन्देह सत्कर्मीहरूमध्ये हुनेछन्।” [अल् बकरह: १३०]
९- अल्लाह न कसैका पिता हुनुहुन्छ, न त उहाँ कसैका सन्तान हुनुहुन्छ। उहाँको कुनै समकक्ष, समान वा तुल्य कोही पनि छैन।
अल्लाह न कसैका पिता हुनुहुन्छ, न त उहाँ कसैका सन्तान हुनुहुन्छ। उहाँको कुनै समकक्ष, समान वा तुल्य कोही पनि छैन। अल्लाहले भन्नुभएको छ: “भनिदिनुहोस्, उहाँ अल्लाह एक हुनुहुन्छ। अल्लाह निरपेक्ष हुनुहुन्छ। उहाँले न कसैलाई जन्म दिनुभएको छ, न त उहाँ स्वयं कसैबाट जन्मनुभएको छ। उहाँको समान वा तुल्य कोही पनि छैन।" [अल् इख्लासः १-४] अल्लाहले भन्नुभएको छः “उहाँ नै आकाशहरू, पृथ्वी र ती दुवैका बीचमा रहेका सबै कुराका पालनकर्ता हुनुहुन्छ। त्यसैले उहाँकै उपासना गर र उहाँको उपासनामा दृढ रह। के तिमी उहाँको समान कोही छ भनेर जान्दछौ?” [मरयम: ६५] अल्लाहले भन्नुभएको छ: “उहाँ आकाशहरू र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ। उहाँले तिमीहरूकै जातिबाट तिमीहरूका लागि जोडीहरू बनाइदिनुभयो र चौपायाहरूका पनि जोडीहरू बनाइदिनुभयो। यसरी उहाँले तिमीहरूको वंशवृद्धि गर्नुहुन्छ। उहाँजस्तो कुनै पनि वस्तु छैन र उहाँ नै सबै कुरा सुन्ने, सबै कुरा देख्ने हुनुहुन्छ।” [अश्शूराः ११]
१०- अल्लाह आफ्ना कुनै पनि सृष्टिमा वास गर्नुहुन्न, न त उहाँ आफ्ना कुनै पनि सृष्टिमा अवतारित वा समाहित हुनुहुन्छ।
अल्लाह आफ्ना कुनै पनि सृष्टिमा वास गर्नुहुन्न, न त उहाँ आफ्ना कुनै पनि सृष्टिमा अवतारित वा समाहित हुनुहुन्छ। किनभने अल्लाह सृष्टिकर्ता हुनुहुन्छ, र उहाँबाहेक सबै कुरा सृष्टि गरिएका हुन्। उहाँ सधैँ रहिरहने हुनुहुन्छ, जबकि उहाँबाहेक सबै कुरा नष्ट हुनेछन्। सम्पूर्ण सृष्टि उहाँकै अधीनमा छन् र उहाँ नै तिनका मालिक हुनुहुन्छ। त्यसैले अल्लाह आफ्ना कुनै पनि सृष्टिमा वास गर्नुहुन्न, न त उहाँका कुनै पनि सृष्टि उहाँको पवित्र अस्तित्वमा समाहित हुन सक्छन्। अल्लाह प्रत्येक वस्तुभन्दा महान् र प्रत्येक कुराभन्दा उच्च हुनुहुन्छ। अल्लाह तआलाले ती मानिसहरूको खण्डन गर्दै, जसले अल्लाह मसीह (ईसा अलैहिस्सलाम) भित्र अवतरित हुनुभएको दाबी गरेका थिए, यसो भन्नुभएको छ: “निश्चय नै ती मानिसहरू काफिर भएका छन्, जसले भने, ‘अल्लाह नै मसीह, मरियमका छोरा हुन्।’ भनिदिनुहोस्, ‘यदि अल्लाहले मसीह, मरियमका छोरा, उनकी आमालाई र पृथ्वीमा रहेका सबैलाई नष्ट गर्न चाहनुभयो भने, उहाँको निर्णयलाई रोक्न कसको केही शक्ति छ?’ आकाशहरू, पृथ्वी र तिनका बीचमा रहेका सबै कुराको सार्वभौम सत्ता अल्लाहकै हो। उहाँ जे चाहनुहुन्छ, त्यसैको सृष्टि गर्नुहुन्छ। र अल्लाह प्रत्येक कुरामाथि पूर्ण शक्ति राख्नुहुन्छ।” [अल् माइदाः १७] अल्लाहले भन्नुभएको छः “पूर्व र पश्चिम सबै अल्लाहकै हुन्। त्यसैले तिमीहरू जता फर्किए पनि, त्यतै अल्लाहको अनुहार छ। निःसन्देह, अल्लाह असीम कृपालु, सर्वज्ञ हुनुहुन्छ। उनीहरू भन्छन्, ‘अल्लाहले सन्तान ग्रहण गर्नुभएको छ।’ उहाँ (यस आरोपबाट) पूर्णतः पवित्र हुनुहुन्छ। बरु, आकाशहरू र पृथ्वीमा जे-जति छन्, सबै उहाँकै हुन्। सबै उहाँकै आज्ञाकारी छन्। उहाँ आकाशहरू र पृथ्वीका अनुपम सृष्टिकर्ता हुनुहुन्छ। जब उहाँ कुनै कुराको निर्णय गर्नुहुन्छ, तब त्यसलाई केवल ‘ भइहाल’ भन्नुहुन्छ, अनि त्यो तुरुन्तै भइहाल्छ।” [अल् बकरह: ११५-११७] अल्लाहले भन्नुभएको छः “उनीहरूले भने, ‘परम दयालु (अल्लाह) ले सन्तान ग्रहण गर्नुभएको छ। निश्चय नै तिमीहरूले अत्यन्त भयावह दाबी गरेका छौ। यस (घोर कथन) का कारण आकाशहरू च्यातिन लाग्छन्, पृथ्वी फाट्न लाग्छ र पर्वतहरू चकनाचुर भएर ढल्न लाग्छन्। किनभने उनीहरूले परम दयालु (अल्लाह) का लागि सन्तान भएको दाबी गरेका छन्। जबकि परम दयालु (अल्लाह) का लागि सन्तान ग्रहण गर्नु कुनै पनि प्रकारले योग्य छैन। आकाशहरू र पृथ्वीमा रहेका सबै प्राणी परम दयालु (अल्लाह) समक्ष केवल एक दासका रूपमा उपस्थित हुनेछन्। निश्चय नै उहाँले तिनीहरू सबैलाई पूर्ण रूपमा घेरिसक्नुभएको छ र एक-एक गरी गनिसक्नुभएको छ। तिनीहरू सबै कियामतको दिन उहाँकहाँ एक्लै उपस्थित हुनेछन्।" [मरयम: ८८-९५] अल्लाहले भन्नुभएको छ: "अल्लाह बाहेक कुनै सत्य पूज्य छैन। उहाँ सधैँ जीवित रहनुहुने, सम्पूर्ण सृष्टिलाई धारण र सञ्चालन गर्ने हुनुहुन्छ। उहाँलाई न त उँघ लाग्छ, न निद्रा नै लाग्छ। आकाशहरूमा र पृथ्वीमा जे–जति छन्, सबै उहाँकै हुन्। उहाँको अनुमति बिना उहाँसमक्ष कसले सिफारिस गर्न सक्छ? उहाँ तिनीहरूको अगाडि र पछाडि रहेको सबै कुरा जान्नुहुन्छ। अनि उहाँले चाहनुभएको बाहेक तिनीहरूले उहाँको ज्ञानबाट कुनै पनि कुरा समेट्न सक्दैनन्। उहाँको कुर्सी आकाशहरू र पृथ्वीमाथि फैलिएको छ। ती दुवैको संरक्षण गर्न उहाँलाई कुनै थकान हुँदैन। उहाँ नै सबैभन्दा उच्च र सबैभन्दा महान् हुनुहुन्छ।" [अल् बकरह: २५५] अतः जसको महिमा यस्तो छ र जसका सृष्टिहरूयस्तो खालको छ, उहाँ कसरी तिनीहरूमध्ये कसैमा अवस्थित हुन सक्नुहुन्छ? वा कसैलाई आफ्नो सन्तान बनाउन सक्नुहुन्छ? अथवा कसैलाई उहाँसँगै पूजनीय ईश्वर ठहराउन सकिन्छ?
११- अल्लाह, आफ्ना बन्दाहरूमाथि अत्यन्त दयालु र कृपालु हुनुहुन्छ। त्यसैले उहाँले रसूलहरू पठाउनुभयो र किताबहरू अवतरण गर्नुभयो।
अल्लाह, आफ्ना बन्दाहरूमाथि अत्यन्त दयालु र कृपालु हुनुहुन्छ। उहाँको आफ्ना बन्दाहरूमाथिको दयामध्ये एक यो पनि हो कि उहाँले तिनीहरूतर्फ रसूलहरू पठाउनुभयो र तिनीहरूमाथि किताबहरू अवतरण गर्नुभयो, ताकि तिनीहरूलाई कुफ्र र शिर्कका अन्धकारहरूबाट निकालेर तौहीद र मार्गदर्शनको ज्योतितर्फ ल्याउन सकियोस्। अल्लाह तआलाले भन्नुभएको छ: “उहाँ नै हुनुहुन्छ, जसले आफ्ना बन्दामाथि स्पष्ट आयतहरू अवतरण गर्नुहुन्छ, ताकि उहाँले तिमीहरूलाई अन्धकारहरूबाट निकालेर उज्यालोतर्फ ल्याऊन्। निश्चय नै अल्लाह तिमीहरूमाथि अत्यन्त दयालु र कृपालु हुनुहुन्छ।” [अल् हदीदः ९]
अल्लाहले भन्नुभएको छः “(हे नबी!) हामीले तपाईंलाई सम्पूर्ण संसारका लागि दयाको प्रतीक बनाएर मात्र पठाएका छौँ।” [अल् अम्बियाः १०७] अल्लाहले आफ्ना नबीलाई बन्दाहरूलाई यो जानकारी दिन आदेश दिनुभयो कि निश्चय नै उहाँ अत्यन्त क्षमाशील र अति दयालु हुनुहुन्छ। अल्लाह तआलाले भन्नुभएको छ: “(हे रसूल!) मेरा बन्दाहरूलाई खबर दिनुहोस् कि निश्चय नै म अत्यन्त क्षमाशील, अति दयालु हुँ।” [अल् हिज्रः ४९] उहाँको दया र कृपाकै कारण उहाँ आफ्ना बन्दाहरूबाट दुःख–कष्ट हटाउनुहुन्छ र तिनीहरूमाथि कल्याण अवतरण गर्नुहुन्छ। अल्लाह तआलाले भन्नुभएको छ: “यदि अल्लाहले तिमीलाई कुनै दुःख–कष्ट पुर्याउनुभयो भने, उहाँबाहेक त्यसलाई हटाउने कोही छैन। यदि उहाँले तिम्रो लागि कुनै भलाइ चाहनुभयो भने, उहाँको अनुग्रहलाई रोक्न सक्ने कोही छैन। उहाँ आफ्ना बन्दाहरूमध्ये जसलाई चाहनुहुन्छ, आफ्नो अनुग्रह प्रदान गर्नुहुन्छ। उहाँ अत्यन्त क्षमाशील, अति दयालु हुनुहुन्छ।” [यूनुसः १०७]
१२- अल्लाह नै दयालु पालनकर्ता हुनुहुन्छ। कियामतको दिन उहाँले सबै सृष्टिलाई तिनीहरूका चिहानबाट पुनर्जीवित गरेर उठाउनुहुनेछ र प्रत्येक व्यक्तिलाई उसले गरेका असल वा खराब कर्मअनुसार प्रतिफल दिनुहुनेछ। त्यसैले जसले ईमानको अवस्थामा रहेर सत्कर्म गरेको छ, उसका लागि स्थायी सुख–सुविधा हुनेछ। र जसले कुफ्र गर्यो र दुष्कर्महरू गर्यो, उसका लागि आखिरतमा कठोर यातना हुनेछ।
अल्लाह नै दयालु पालनकर्ता हुनुहुन्छ। कियामतको दिन उहाँले सबै सृष्टिलाई तिनीहरूका चिहानबाट पुनर्जीवित गरेर उठाउनुहुनेछ। त्यसपछि प्रत्येक व्यक्तिलाई उसले गरेका असल वा खराब कर्मअनुसार प्रतिफल दिनुहुनेछ। त्यसैले जसले ईमानको अवस्थामा रहेर सत्कर्म गरेको छ, उसका लागि स्थायी सुख–सुविधा हुनेछ। र जसले कुफ्र गर्यो तथा दुष्कर्महरू गर्यो, उसका लागि कियामतको दिन ठूलो यातना हुनेछ। अल्लाह, जो पवित्र र सर्वोच्च हुनुहुन्छ, उहाँको पूर्ण न्याय, असीम बुद्धिमत्ता र आफ्ना सृष्टिमाथिको दयाको एक अभिव्यक्ति यो हो कि उहाँले यस संसारलाई कर्म गर्ने स्थान बनाउनुभयो र अर्को एउटा संसार स्थापना गर्नुभयो, जहाँ हिसाब–किताब, प्रतिफल र पुरस्कार हुनेछ, ताकि सत्कर्मीले आफ्नो सत्कर्मको प्रतिफल पाओस् र दुष्कर्मी, अत्याचारी तथा सीमा नाघ्नेले आफ्नो अत्याचार र दुष्कर्मको सजाय पाओस्। यस विषयलाई केही मानिसहरूले असम्भव ठान्न सक्ने भएकाले, अल्लाहले पुनर्जीवन (बअस) अवश्य हुने सत्य हो, यसमा कुनै शङ्का छैन भन्ने प्रमाणित गर्ने धेरै प्रमाणहरू स्थापित गर्नुभएको छ। अल्लाह तआलाले भन्नुभएको छ: “उहाँका निशानीहरूमध्ये एउटा यो पनि हो कि तिमीले भूमिलाई सुक्खा र निर्जीव देख्छौ। तर जब हामी त्यसमाथि पानी वर्षाउँछौँ, तब त्यो हराभरा हुँदै चलायमान हुन्छ र फुल्न–फैलिन थाल्छ। निश्चय नै जसले त्यसलाई जीवन प्रदान गर्नुभयो, उहाँले नै मृतकहरूलाई पनि अवश्य जीवित पार्नुहुनेछ। निःसन्देह उहाँ प्रत्येक कुरामाथि पूर्ण शक्ति राख्नुहुन्छ।” [फुस्सिलतः ३९] अल्लाहले भन्नुभएको छः “हे मानिसहरू! यदि तिमीहरू पुनर्जीवनको बारेमा शङ्कामा छौ भने (विचार गर), निश्चय नै हामीले तिमीहरूलाई माटोबाट सृष्टि गर्यौँ, त्यसपछि वीर्यको थोपाबाट, त्यसपछि रगतको जमेको टुक्राबाट, त्यसपछि पूर्ण रूपमा बनेको वा अपूर्ण रूपमा बनेको मासुको डल्लोबाट, ताकि हामी तिमीहरूका लागि (आफ्नो शक्ति) स्पष्ट गरिदिऊँ। अनि हामीले जे चाहन्छौँ, त्यसलाई निश्चित अवधिसम्म गर्भाशयहरूमा राख्छौँ। त्यसपछि हामी तिमीहरूलाई शिशुको रूपमा बाहिर निकाल्छौँ। त्यसपछि (हामी तिमीहरूलाई हुर्काउँछौँ) ताकि तिमीहरू आफ्नो पूर्ण युवावस्थामा पुग्न सक। तिमीहरूमध्ये कसैको (त्यसभन्दा अघि नै) मृत्यु हुन्छ र तिमीहरूमध्ये कसैलाई अत्यन्त वृद्धावस्थासम्म पुर्याइन्छ, ताकि उसले पहिले जानेका कुरा पनि नजान्ने होस्। अनि तिमीले भूमिलाई निर्जीव देख्छौ, तर जब हामी त्यसमाथि पानी वर्षाउँछौँ, तब त्यो हलचल गर्न थाल्छ, फुल्न–फैलिन थाल्छ र प्रत्येक प्रकारका मनमोहक वनस्पतिहरू उमार्छ।” [अल् हज्जः ५] यस आयतमा अल्लाहले पुनर्जीवन (बअस) सत्य हो भन्ने कुराका तीनवटा बौद्धिक प्रमाणहरू उल्लेख गर्नुभएको छ, ती हुन्:
१- अल्लाहले मानिसलाई पहिलोपटक माटोबाट सृष्टि गर्नुभयो। त्यसैले जसले उसलाई माटोबाट सृष्टि गर्नुभयो, उहाँ त्यसलाई फेरि माटो भइसकेपछि पुनः जीवन दिन पूर्ण रूपमा सक्षम हुनुहुन्छ।
२- जसले वीर्यको थोपाबाट मानिसलाई पूर्ण मानवको रूपमा सृष्टि गर्नुभयो, उहाँ मानिसको मृत्युपछि उसलाई पुनः जीवन दिन पनि पूर्ण रूपमा सक्षम हुनुहुन्छ।
३- जसले मृत भइसकेको भूमिलाई वर्षाको माध्यमबाट जीवन प्रदान गर्नुभयो, उहाँ मृत्युपछि मानिसहरूलाई पनि पुनः जीवन दिन सक्षम हुनुहुन्छ। यस आयतमा कुरआनको चमत्कारको ठूलो प्रमाण छ। किनकि यो आयत — जुन धेरै लामो पनि छैन — ले एउटा महान् विषय (पुनर्जीवन) सम्बन्धी तीनवटा प्रभावशाली बौद्धिक प्रमाणहरू कसरी समेटेको छ!
अल्लाहले भन्नुभएको छः “जुन दिन हामी आकाशलाई लेखिएको अभिलेखको पत्र झैँ बेर्नेछौँ। जसरी हामीले पहिलो पटक सृष्टिको सुरुवात गरेका थियौँ, त्यसरी नै हामी त्यसलाई फेरि दोहोर्याउनेछौँ। यो हाम्रो जिम्मामा रहेको प्रतिज्ञा हो। निश्चय नै हामी यसलाई पूरा गर्नेछौँ।” [अल् अम्बियाः १०४] अल्लाहले भन्नुभएको छः “उसले हाम्रो लागि एउटा उदाहरण प्रस्तुत गर्यो र आफ्नो सृष्टिलाई बिर्सियो। उसले भन्यो: ‘यी हड्डीहरू जब कुहिएर धुलो भइसकेका छन् भने, यिनलाई कसले जीवित पार्न सक्छ?’ भनिदिनुहोस्, ‘जसले तिनीहरूलाई पहिलो पटक सृष्टि गर्नुभयो, उहाँले नै तिनीहरूलाई फेरि जीवित पार्नुहुनेछ। उहाँ प्रत्येक सृष्टिको बारेमा पूर्ण ज्ञान राख्नुहुन्छ।” [यासीनः ७८] अल्लाहले भन्नुभएको छः “के तिमीहरूको सृष्टि बढी कठिन छ कि आकाशको? उहाँले त्यसलाई निर्माण गर्नुभयो। उहाँले त्यसको उचाइ बढाउनुभयो र त्यसलाई व्यवस्थित (सन्तुलित) बनाउनुभयो। उहाँले त्यसको रातलाई अन्धकारमय बनाउनुभयो र त्यसको दिनको उज्यालो निकाल्नुभयो। त्यसपछि उहाँले पृथ्वीलाई फैलाउनुभयो। उहाँले त्यसबाट यसको पानी र यसको चरन (वनस्पति) निकाल्नुभयो। उहाँले पहाडहरूलाई मजबुत रूपमा गाडिदिनुभयो।” [अन्नाजिआतः २७-३२] अतः अल्लाहले स्पष्ट पार्नुभएको छ, मानिसको सृष्टि आकाश, पृथ्वी र तिनमा भएका कुराहरूको सृष्टिभन्दा कठिन छैन। त्यसैले जो आकाशहरू र पृथ्वीलाई सृष्टि गर्न सक्षम हुनुहुन्छ, उहाँ मानिसलाई दोस्रोपटक पुनः सृष्टि गर्न असक्षम हुन सक्नुहुन्न।
१३- अल्लाहले आदमलाई माटोबाट सृष्टि गर्नुभयो र त्यसपछि उहाँका सन्तानहरूलाई वृद्धि र विस्तार हुने व्यवस्था गर्नुभयो। त्यसैले मूल रूपमा सबै मानिसहरू समान छन्। कुनै जातिलाई अर्को जातिमाथि र कुनै समुदायलाई अर्को समुदायमाथि कुनै श्रेष्ठता छैन, सिवाय तक्वा (अल्लाहको भय र आज्ञापालन) को आधारमा।
अल्लाहले आदमलाई माटोबाट सृष्टि गर्नुभयो र त्यसपछि उहाँका सन्तानहरूलाई वृद्धि र विस्तार हुने व्यवस्था गर्नुभयो। त्यसैले मूल रूपमा सबै मानिसहरू समान छन्। कुनै जातिलाई अर्को जातिमाथि र कुनै समुदायलाई अर्को समुदायमाथि कुनै श्रेष्ठता छैन, सिवाय तक्वाको आधारमा, अल्लाहले भन्नुभएको छ: “हे मानिसहरू! निश्चय नै हामीले तिमीहरूलाई एक पुरुष र एक स्त्रीबाट सृष्टि गरेका छौँ, र तिमीहरूलाई जाति–जाति तथा कबीला–कबीला बनाएका छौँ, ताकि तिमीहरू एक–अर्कालाई चिन्न सक। निश्चय नै अल्लाहको दृष्टिमा तिमीहरूमध्ये सबैभन्दा सम्मानित व्यक्ति त्यो हो, जो सबैभन्दा बढी तक्वा (अल्लाहको भय राख्ने र उहाँका आदेशहरूको पालन गर्ने) भएको छ। निश्चय नै अल्लाह सबै कुरा जान्ने र सबै कुराबाट पूर्ण रूपमा अवगत हुनुहुन्छ।” [अल् हुजुरातः १३] अल्लाहले भन्नुभएको छः “अल्लाहले तिमीहरूलाई माटोबाट सृष्टि गर्नुभयो, त्यसपछि वीर्यको थोपाबाट, अनि तिमीहरूलाई जोडी–जोडी बनाउनुभयो। कुनै स्त्रीले गर्भ धारण गर्दिन र न त उसले जन्म दिन्छे, तर त्यो उहाँको ज्ञानमै हुन्छ। कुनै दीर्घायु व्यक्तिलाई आयु प्रदान गरिनु वा उसको आयु घटाइनु पनि एउटा अभिलेखमा लेखिएको हुन्छ। निश्चय नै यो अल्लाहका लागि अत्यन्त सजिलो छ।” [फातिरः ११] अल्लाहले भन्नुभएको छः “उहाँ नै हुनुहुन्छ, जसले तिमीहरूलाई माटोबाट सृष्टि गर्नुभयो, त्यसपछि वीर्यको थोपाबाट, त्यसपछि रगतको जमेको टुक्राबाट। अनि उहाँले तिमीहरूलाई शिशुको रूपमा बाहिर निकाल्नुहुन्छ, त्यसपछि तिमीहरू आफ्नो पूर्ण शक्तिको अवस्थामा पुग, अनि त्यसपछि तिमीहरू वृद्ध बन। तिमीहरूमध्ये कोही यसभन्दा पहिले नै मृत्यु हुन्छ र ताकि तिमीहरू निश्चित गरिएको अवधिसम्म पुग्न सक। र ताकि तिमीहरूले बुझ्न सक।” [गाफिरः ६७] र अल्लाह तआलाले यो स्पष्ट पार्नुभएको छ कि उहाँले मसीह (ईसा अलैहिस्सलाम) लाई पनि आफ्नो सृष्टिसम्बन्धी आदेशद्वारा सृष्टि गर्नुभयो, जसरी उहाँले आदम (अलैहिस्सलाम) लाई माटोबाट आफ्नो आदेशद्वारा सृष्टि गर्नुभएको थियो। अल्लाह तआलाले भन्नुभएको छ: “निश्चय नै अल्लाहको नजरमा ईसाको उदाहरण आदमको जस्तै छ। उहाँले उनलाई माटोबाट सृष्टि गर्नुभयो, त्यसपछि उहाँले उसलाई भन्नुभयो: ‘भइहाल्’, अनि त्यो भइहाल्यो।” [आलि इमरान: ५९] यसअघि अनुच्छेद नम्बर (२) मा उल्लेख गरिसकिएको छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि सबै मानिसहरू समान छन् र तक्वा (अल्लाहको भय र आज्ञापालन) बाहेक कसैलाई पनि कसैमाथि कुनै श्रेष्ठता प्राप्त छैन।
१४- प्रत्येक नवजात शिशु प्राकृतिक स्वभाव (फित्रत) माथि जन्मिन्छ।
“प्रत्येक नवजात शिशु फित्रत (प्राकृतिक स्वभाव) माथि जन्मिन्छ।” अल्लाह तआलाले भन्नुभएको छ: “अतः (हे नबी!) तपाईं आफ्नो अनुहारलाई एकाग्रतापूर्वक सीधा धर्मतर्फ कायम राख्नुहोस्। यही अल्लाहको त्यो प्राकृतिक स्वभाव (फित्रत) हो, जसमा उहाँले मानिसहरूलाई सृष्टि गर्नुभएको छ। अल्लाहको सृष्टिमा कुनै परिवर्तन छैन। यही नै सीधा धर्म हो, तर अधिकांश मानिसहरू जान्दैनन्।” [अर-रूम: ३०]। हनीफियत भनेको खलील (अल्लाहका मित्र) इब्राहीम अलैहिस्सलामको धर्म हो। अल्लाह तआलाले भन्नुभएको छ: “त्यसपछि हामीले तपाईंमाथि यो प्रकाशना गर्यौँ कि तपाईं एकनिष्ठ भई इब्राहीमको धर्मको अनुसरण गर्नुहोस्। अनि उनी मुश्रिकहरूमध्ये थिएनन्।” [अन्नहलः १२३] रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: “कुनै पनि नवजात शिशु यस्तो छैन, जो फित्रत (प्राकृतिक स्वभाव) माथि जन्मँदैन। त्यसपछि उसका आमाबुबाले नै उसलाई यहूदी, इसाई वा मजुसी (अग्निपूजक) बनाउँछन्। जसरी जनावरले पूर्ण र स्वस्थ बच्चा जन्माउँछ, के तिमीहरूले त्यसमा कुनै अंग काटिएको देख्छौ?” त्यसपछि अबू हुरैरह रजियल्लाहु अन्हुले भन्नुहुन्छ: “अल्लाहको त्यो प्राकृतिक स्वभाव (फित्रत) लाई कायम राख्नुहोस्, जसमा उहाँले मानिसहरूलाई सृष्टि गर्नुभएको छ। अल्लाहको सृष्टिमा कुनै परिवर्तन छैन। यही नै सीधा धर्म हो, तर अधिकांश मानिसहरू जान्दैनन्।” [अर्रूमः ३०] सहीह बुखारी: हदीस नं. (४७७५) रसूल ﷺ ले भन्नुभएको छ: “सुन! निश्चय नै मेरा पालनकर्ताले मलाई आदेश दिनुभएको छ, उहाँले आज मलाई सिकाउनुभएका ती कुराहरू तिमीहरूलाई पनि सिकाऊँ, जुन तिमीहरूलाई थाहा थिएन। मैले आफ्ना कुनै बन्दालाई प्रदान गरेको सबै सम्पत्ति हलाल (वैध) छ। निश्चय नै मैले मेरा सबै बन्दाहरूलाई एकनिष्ठ (हनीफ) स्वभावमा सृष्टि गरेको छु। तर शैतानहरू तिनीहरूकहाँ आए र तिनीहरूलाई उनीहरूको धर्मबाट विचलित गरिदिए। मैले उनीहरूका लागि हलाल गरेका कुराहरू उनीहरूका लागि हराम बनाए र उनीहरूलाई मसँग त्यस्ता कुराहरूलाई साझेदार ठहराउन आदेश दिए, जसको पक्षमा मैले कुनै प्रमाण अवतरण गरेको छैन।” यसलाई मुस्लिमले वर्णन गरेका छन्। (हदीस नं. २८६५)
१५- कुनै पनि मानिस जन्मँदा पापी हुँदैन, न त उसले अरू कसैको पापको भार बोकेर जन्मिन्छ।
कुनै पनि मानिस जन्मँदा पापी हुँदैन, न त उसले अरू कसैको पापको भार बोकेर जन्मिन्छ। अल्लाह तआलाले हामीलाई जानकारी दिनुभएको छ, जब आदम (अलैहिस्सलाम) ले अल्लाहको आदेशको उल्लङ्घन गर्दै आफू र उहाँकी पत्नी हव्वाले त्यस रूखबाट खाए, तब उहाँ पछुताउनुभयो, तौबा गर्नुभयो र अल्लाहसँग क्षमा माग्नुभयो। त्यसपछि अल्लाहले उहाँलाई केही पवित्र वचनहरू सिकाउनुभयो, उहाँले ती वचनहरू उच्चारण गर्नुभयो, अनि अल्लाहले उहाँ दुवैको तौबा स्वीकार गर्नुभयो। अल्लाह तआलाले भन्नुभएको छ: “हामीले भन्यौँ, ‘हे आदम! तिमी र तिम्री पत्नी जन्नतमा बसोबास गर र त्यहाँबाट जहाँ चाहे पनि प्रशस्त रूपमा खाऊ। तर यस रूखको नजिक नजानू, नत्र तिमीहरू अत्याचारीहरूमध्ये पर्नेछौ।’ तर शैतानले उनीहरू दुवैलाई त्यस (रूख) को कारणले चिप्लाइदियो र उनीहरू जुन (सुख–सुविधा) मा थिए, त्यसबाट बाहिर निकालिदियो। अनि हामीले भन्यौँ: ‘तिमीहरू तल झरिहाल, तिमीहरू एकअर्काका शत्रु हुनेछौ। तिमीहरूका लागि पृथ्वीमा निश्चित समयसम्म बसोबास र जीवनयापनको व्यवस्था हुनेछ।’ त्यसपछि आदमले आफ्ना पालनहारबाट केही वचनहरू प्राप्त गरे, अनि अल्लाहले उनको तौबा स्वीकार गर्नुभयो। निश्चय नै उहाँ अत्यन्त तौबा स्वीकार गर्ने, अति दयालु हुनुहुन्छ। “हामीले भन्यौँ, ‘तिमीहरू सबै यहाँबाट तल झर। त्यसपछि जब तिमीहरूकहाँ मेरो तर्फबाट मार्गदर्शन आउनेछ, तब जसले मेरो मार्गदर्शनको अनुसरण गर्नेछ, उसलाई न कुनै डर हुनेछ, न त उनीहरू शोकाकुल हुनेछन्।’” [अल् बकरह: ३५-३८] अल्लाहले आदम अलैहिस्सलामको तौबा स्वीकार गरिसक्नुभएको हुनाले उहाँ अब त्यस पापको भार बोक्ने व्यक्ति रहनुभएन। त्यसैले उहाँका सन्तानहरूले पनि तौबाद्वारा मेटिइसकेको पापको उत्तराधिकार प्राप्त गर्दैनन्। मूल सिद्धान्त यही हो कि कुनै पनि व्यक्तिले अर्को व्यक्तिको पापको भार बोक्दैन। अल्लाह तआलाले भन्नुभएको छ: “प्रत्येक व्यक्तिले जे कर्म गर्छ, त्यसको परिणाम उसैलाई हुन्छ। कुनै पनि पाप बोक्ने व्यक्तिले अर्को व्यक्तिको पापको भार बोक्नेछैन। त्यसपछि तिमीहरू सबैको फर्कने ठाउँ तिमीहरूका पालनहारतर्फ नै हो। अनि उहाँले तिमीहरूलाई ती कुराहरूको बारेमा जानकारी दिनुहुनेछ, जसमा तिमीहरू मतभेद गर्थ्यौ।” [अल् अन्आमः १६४]
अल्लाहले भन्नुभएको छः “जसले सही मार्ग अपनाउँछ, उसले आफ्नो हितकै लागि सही मार्ग अपनाउँछ। जो मार्गभ्रष्ट हुन्छ, त्यो आफ्नो हानिकै लागि मार्गभ्रष्ट हुन्छ। कुनै पनि पाप बोक्ने व्यक्तिले अर्को व्यक्तिको पापको भार बोक्नेछैन। हामी कुनै पनि रसूल पठाउनुअघि (कसैलाई) सजाय दिनेवाला छैनौँ।” [अल् इस्राः १५] अल्लाहले भन्नुभएको छः “कुनै पनि पापको भार बोक्ने व्यक्तिले अर्को व्यक्तिको पापको भार बोक्नेछैन। यदि पापको भारी बोकेको कुनै व्यक्तिले आफ्नो भार बोक्नका लागि कसैलाई बोलायो भने, त्यसबाट केही पनि बोकिनेछैन, चाहे त्यो उसको नजिकको नातेदार नै किन नहोस्। तपाईंले त केवल तिनीहरूलाई चेतावनी दिनुहुन्छ, जो प्रोक्षमा आफ्ना पालनकर्तासँग डराउँछन् र नमाज कायम गर्छन्। जसले आफूलाई पवित्र बनाउँछ, उसले आफ्नै हितका लागि आफूलाई पवित्र बनाउँछ। अनि सबैको फर्कने ठाउँ अल्लाहतर्फ नै हो।” [फातिरः १८]
१६- मानिसहरूको सृष्टिको उद्देश्य केवल एकमात्र अल्लाहको उपासना (इबादत) गर्नु हो।
१६- मानिसहरूको सृष्टिको उद्देश्य केवल एकमात्र अल्लाहको उपासना (इबादत) गर्नु हो। अल्लाह तआलाले भन्नुभएको छ: “मैले जिन्न र मानवलाई केवल मेरो उपासना गर्नकै लागि सृष्टि गरेको हुँ।” [अज्जारियातः ५६]
१७- मानवलाई—पुरुष होस् वा महिला—सम्मानित गरेको छ, उनीहरूका सबै अधिकारहरूको सुनिश्चितता गरेको छ र प्रत्येक व्यक्तिलाई आफ्ना सबै छनोट, कर्म तथा व्यवहारप्रति जिम्मेवार बनाएको छ। साथै, आफूलाई वा अरूलाई हानि पुर्याउने कुनै पनि कार्यको जिम्मेवारी पनि उसैले वहन गर्नुपर्ने व्यवस्था गरेको छ।
इस्लामले मानवलाई—पुरुष होस् वा महिला—सम्मानित गरेको छ। अल्लाह तआलाले मानवलाई पृथ्वीमा आफ्नो प्रतिनिधि (खलीफा) बनाउनका लागि सृष्टि गर्नुभएको हो। अल्लाह तआलाले भन्नुभएको छ: “र (हे नबी! सम्झनुहोस्) जब तपाईंका पालनकर्ताले फरिश्ताहरूलाई भन्नुभयो: ‘निश्चय नै म पृथ्वीमा एक प्रतिनिधि (खलीफा) नियुक्त गर्नेछु।’” [अल् बकरह: ३०]
यो सम्मान आदमका सबै सन्तानका लागि हो। अल्लाह तआलाले भन्नुभएको छ: “निश्चय नै हामीले आदमका सन्तानलाई सम्मानित गरेका छौँ, उनीहरूलाई स्थल र समुद्रमा यात्रा गर्ने सामर्थ्य दिएका छौँ, उनीहरूलाई पवित्र र उत्तम रोजी प्रदान गरेका छौँ र हामीले सृष्टि गरेका धेरै प्राणीहरूमाथि उनीहरूलाई विशेष श्रेष्ठता प्रदान गरेका छौँ।” [अल् इस्राः ७०] अल्लाहले भन्नुभएको छः “निश्चय नै हामीले मानिसलाई सबैभन्दा उत्तम बनावटमा सृष्टि गरेका छौँ।” [अत्तीनः ४]
अल्लाहले मानिसलाई अल्लाहबाहेक अरू कुनै उपास्य, नेता वा आज्ञापालनीय व्यक्तिको अन्धानुकरण गर्ने अनुयायी बन्न निषेध गर्नुभएको छ। अल्लाह तआलाले भन्नुभएको छ: “मानिसहरूमध्ये केही यस्ता छन्, जसले अल्लाहबाहेक अरूलाई उहाँको बराबरीमा ठान्छन् र उनीहरूलाई अल्लाहलाई जस्तै प्रेम गर्छन्। तर ईमानवालाहरूको प्रेम अल्लाहप्रति अझ बढी दृढ हुन्छ। यदि अत्याचार गर्नेहरूले सजाय देख्ने बेलामा यो देख्न पाएका भए कि सम्पूर्ण शक्ति अल्लाहकै हो र निश्चय नै अल्लाह सजाय दिनमा अत्यन्त कठोर हुनुहुन्छ! त्यस बेला ती अगुवाहरू, जसको अनुसरण गरिएको थियो, आफ्ना अनुयायीहरूबाट पूर्ण रूपमा अलग हुनेछन्। उनीहरूले सजाय देख्नेछन् र उनीहरूबीचका सबै सम्बन्धहरू विच्छेद हुनेछन्।” [अल् बकरह: १६५-१६६] अल्लाह तआलाले कियामतको दिन असत्यका अनुयायीहरू र तिनका अगुवाहरूको अवस्था स्पष्ट पार्दै भन्नुभएको छ: “घमण्ड गर्नेहरूले कमजोर ठानिएकाहरूलाई भन्नेछन्: ‘के हामीले तिमीहरूकहाँ मार्गदर्शन आइसकेपछि त्यसबाट तिमीहरूलाई रोकेका थियौँ? बरु तिमीहरू आफै अपराधी थियौ।’ कमजोर ठानिएकाहरूले घमण्ड गर्नेहरूलाई भन्नेछन्: ‘बरु तिमीहरूको रातदिनको षड्यन्त्र (कारण थियो), जब तिमीहरूले हामीलाई अल्लाहलाई अस्वीकार गर्न र उहाँसँग साझेदारहरू ठहराउन आदेश दिन्थ्यौ।’ अनि जब उनीहरूले सजाय देख्नेछन्, तब उनीहरू मनमनै पश्चात्ताप लुकाउनेछन्। हामीले काफिरहरूको घाँटीमा सिक्रीहरू हालिदिनेछौँ। उनीहरूले जे कर्म गर्दै आएका थिए, के त्यसैको प्रतिफल मात्र पाउने होइनन् र?” [सबाः ३२-३३]
कियामतको दिन अल्लाह (सुब्हानहु व तआला) को पूर्ण न्यायको एउटा पक्ष यो पनि हुनेछ कि उहाँले मार्गभ्रष्टतातर्फ आह्वान गर्नेहरू र भ्रामक अगुवाहरूलाई आफ्ना पापहरूको भार मात्र होइन, उनीहरूले ज्ञानविना मार्गभ्रष्ट पारेका मानिसहरूका पापहरूको केही भार पनि बोकाउनुहुनेछ। अल्लाह तआलाले भन्नुभएको छ: “ताकि उनीहरूले कियामतको दिन आफ्ना पापहरूको सम्पूर्ण भार बोकून्, साथै ती मानिसहरूका पापहरूको केही भार पनि, जसलाई उनीहरूले ज्ञानविना मार्गभ्रष्ट पारेका थिए। सावधान! उनीहरूले बोकिरहेको त्यो भार कति नै नराम्रो छ।” [अन्नहलः २५]
इस्लामले मानिसका लागि यस संसार र परलोक दुवैमा उसका सम्पूर्ण अधिकारहरूको सुनिश्चितता गरेको छ। इस्लामले सुनिश्चित गरी स्पष्ट पारेका सबैभन्दा महान् अधिकारहरूमध्ये एक हो; मानिसहरूमाथि अल्लाहको अधिकार र अल्लाहले मानिसहरूप्रति प्रतिज्ञा गर्नुभएको अधिकार। मुआज रजियल्लाहु अन्हुले वर्णन गरेका छन्, उनले भने: “म नबी ﷺ को पछाडि (एउटै सवारीमा) बसेको थिएँ। उहाँले भन्नुभयो: ‘हे मुआज!’ मैले भनेँ: ‘म उपस्थित छु, तपाईंको सेवामा हाजिर छु।’ त्यसपछि केही समयपछि फेरि भन्नुभयो: ‘हे मुआज!’ मैले भनेँ: ‘म उपस्थित छु, तपाईंको सेवामा हाजिर छु।’ यसरी उहाँले तीन पटक भन्नुभयो। त्यसपछि उहाँले सोध्नुभयो: ‘के तिमीलाई थाहा छ, बन्दाहरूमाथि अल्लाहको अधिकार के हो?’ मैले भनेँ: ‘अल्लाह र उहाँका रसूललाई नै बढी थाहा छ।’ उहाँले भन्नुभयो: ‘बन्दाहरूमाथि अल्लाहको अधिकार यो हो कि उनीहरूले केवल उहाँकै इबादत गरून् र उहाँसँग कुनै कुरालाई साझेदार नठहराऊन्।’ त्यसपछि उहाँ केही समय अघि बढ्नुभयो र फेरि भन्नुभयो: ‘हे मुआज!’ मैले भनेँ: ‘म उपस्थित छु, तपाईंको सेवामा हाजिर छु।’ उहाँले भन्नुभयो: ‘के तिमीलाई थाहा छ, यदि बन्दाहरूले यस्तो गरे भने उनीहरूप्रति अल्लाहले प्रतिज्ञा गर्नुभएको अधिकार के हो?’ उहाँले भन्नुभयो: ‘उहाँले उनीहरूलाई सजाय दिनुहुनेछैन।" सहीह बुखारी हदीस नं. (६८४०)।
इस्लामले मानिसका लागि उसको सत्य धर्म, उसका सन्तान, उसको सम्पत्ति र उसको इज्जत–आबरूको संरक्षणको सुनिश्चितता गरेको छ। नबी ﷺ ले भन्नुभयो: “निश्चय नै अल्लाहले तिमीहरूका रगत (जीवन), सम्पत्ति र इज्जतलाई तिमीहरूमाथि हराम गर्नुभएको छ, जसरी तिमीहरूको यो दिन, यो महिना र यो पवित्र सहर पवित्र छन्।” सहीह बुखारी हदीस नं. (६५०१)। रसूल ﷺ ले यो महान् प्रतिज्ञा (घोषणा) विदाई हजमा सार्वजनिक गर्नुभएको थियो, जसमा एक लाखभन्दा बढी सहाबाहरू उपस्थित थिए। उहाँले यही अर्थलाई विदाई हजको कुर्बानी गर्ने दिन पनि दोहोर्याउनुभयो र यसलाई अझ पुष्टि गर्नुभयो।
इस्लामले मानिसलाई उसका सम्पूर्ण छनोटहरू, कर्महरू र व्यवहारहरूको जिम्मेवार बनाएको छ। अल्लाह तआलाले भन्नुभएको छ: “हामीले प्रत्येक मानिसको कर्मलाई उसको घाँटीमा बाँधिदिएका छौँ। र कियामतको दिन हामी उसको लागि एउटा किताब निकाल्नेछौँ, जसलाई उसले खुला अवस्थामा भेट्नेछ। (उसलाई भनिनेछ:) ‘आफ्नो किताब पढ। आज तिमी स्वयं आफ्नो हिसाब लिनका लागि पर्याप्त छौ।’” [सूरतुल् इस्राः १३] अर्थात्, मानिसले गरेको राम्रो वा नराम्रो जुनसुकै कर्म होस्, अल्लाहले त्यसलाई उसैसँग सम्बन्धित राख्नुहुन्छ, जुन उसलाई छोडेर अरूतर्फ जाँदैन। उसलाई अरू कसैको कर्मको हिसाब लिइनेछैन, न त अरू कसैलाई उसको कर्मको कारणले हिसाब गरिनेछ। अल्लाह तआलाले भन्नुभएको छ: “हे मानिस! निश्चय नै तिमी आफ्नो पालनहारतर्फ पुग्नका लागि निरन्तर प्रयास गर्दैछौ, अनि अन्ततः तिमी उहाँलाई भेट्नेछौ।” [अल् इन्शिकाकः ६] अल्लाहले भन्नुभएको छ: “जसले असल कर्म गर्छ, त्यसको लाभ उसैलाई हुन्छ; र जसले नराम्रो कर्म गर्छ, त्यसको हानि पनि उसैलाई हुन्छ। अनि तपाईंका पालनकर्ता आफ्ना बन्दाहरूमाथि कहिल्यै अन्याय गर्नेवाला हुनुहुन्न।” [फुस्सिलतः ४६]
इस्लामले मानिसलाई आफूलाई वा अरूलाई हानि पुर्याउने कुनै पनि कार्यको जिम्मेवार बनाएको छ। अल्लाह तआलाले भन्नुभएको छ: “जसले कुनै पाप कमाउँछ, उसले वास्तवमा त्यसलाई आफ्नै विरुद्ध कमाउँछ र अल्लाह सर्वज्ञ, अत्यन्त बुद्धिमान् हुनुहुन्छ।” [अन्निसाः १११] अल्लाहले भन्नुभएको छः “त्यसैले हामीले इस्राएलका सन्तानहरूलाई आदेश दियौं; जसले कुनै व्यक्तिको हत्या गर्छ, जबकि त्यो हत्या हत्याको बदला वा पृथ्वीमा उपद्रव फैलाएको कारणले होइन भने, उसले मानौँ सम्पूर्ण मानिसहरूको हत्या गरेजस्तै हो र जसले एक जनालाई बचाउँछ, उसले सबै मानवजातिलाई बचाएको जस्तै हो।” [अल् माइदाः ३२] रसूल ﷺ ले भन्नुभएको छ: “जुनसुकै व्यक्तिलाई अन्यायपूर्वक हत्या गरिन्छ, त्यसको पापको केही अंश आदमका पहिलो छोरामाथि पनि हुन्छ, किनकि हत्याको प्रचलन सुरु गर्ने पहिलो व्यक्ति उनी नै थिए।” सही मुस्लिम हदीस नं. (५१५०)।
१८- इस्लामले कर्म, जिम्मेवारी, प्रतिफल र पुरस्कारको दृष्टिले पुरुष र महिलालाई समान बनाएको छ।
१८- इस्लामले कर्म, जिम्मेवारी, प्रतिफल र पुरस्कारको दृष्टिले पुरुष र महिलालाई समान बनाएको छ, अल्लाहले भन्नुभएको छ: “जसले राम्रो कर्महरू गर्छ, चाहे त्यो पुरुष होस् वा महिला, यदि ऊ ईमानवाला हो भने, यस्ता व्यक्तिहरू जन्नतमा प्रवेश गर्नेछन् र उनीहरूमाथि रत्तीभर पनि अन्याय गरिनेछैन।” [अन्निसाः १२४] अल्लाहले भन्नुभएको छः “जसले राम्रो कर्म गर्छ, चाहे त्यो पुरुष होस् वा महिला र ऊ ईमानवाला हो भने, हामी उसलाई अवश्य नै उत्तम जीवन प्रदान गर्नेछौँ र उनीहरूले गरेका सबैभन्दा राम्रा कर्मअनुसार उनीहरूलाई उनीहरूको प्रतिफल प्रदान गर्नेछौँ।” [अन्नहलः ९७] अल्लाहले भन्नुभएको छः “जसले कुनै नराम्रो कर्म गर्छ, उसलाई त्यसको बराबर नै प्रतिफल दिइनेछ। जसले राम्रो कर्म गर्छ, चाहे त्यो पुरुष होस् वा महिला र ऊ ईमानवाला हो भने, यस्ता व्यक्तिहरू जन्नतमा प्रवेश गर्नेछन्, जहाँ उनीहरूलाई कुनै हिसाबबिना जीविका प्रदान गरिनेछ।” [गाफिरः ४०] अल्लाहले भन्नुभएको छः “निश्चय नै मुस्लिम पुरुषहरू र मुस्लिम महिलाहरू, ईमानवाला पुरुषहरू र ईमानवाली महिलाहरू, आज्ञाकारी पुरुषहरू र आज्ञाकारी महिलाहरू, सत्यवादी पुरुषहरू र सत्यवादी महिलाहरू, धैर्य गर्ने पुरुषहरू र धैर्य गर्ने महिलाहरू, विनम्रता अपनाउने पुरुषहरू र विनम्रता अपनाउने महिलाहरू, दान गर्ने पुरुषहरू र दान गर्ने महिलाहरू, रोजा राख्ने पुरुषहरू र रोजा राख्ने महिलाहरू, आफ्ना गुप्ताङ्गरूको रक्षा गर्ने पुरुषहरू र रक्षा गर्ने महिलाहरू तथा अल्लाहलाई धेरै सम्झना गर्ने पुरुषहरू र सम्झना गर्ने महिलाहरूका लागि अल्लाहले क्षमा र महान् प्रतिफल तयार पार्नुभएको छ।” [अल् अहजाबः ३५]
१९- इस्लामले महिलालाई सम्मान गरेको छ र महिलाहरूलाई पुरुषहरूको समकक्ष ठहराएको छ। साथै, सक्षम पुरुषमाथि पालनपोषणको जिम्मेवारी अनिवार्य गरेको छ। त्यसैले छोरीको पालनपोषण बुवामाथि, आमा यदि छोरा वयस्क र सक्षम छ भने छोरामाथि र पत्नीको पालनपोषण पतिमाथि अनिवार्य हुन्छ।
इस्लामले महिलाहरूलाई पुरुषहरूको समकक्ष ठहराएको छ। नबी ﷺ ले भन्नुभयो: “निश्चय नै महिलाहरू पुरुषहरूकै समान (उनीहरूका समकक्ष) हुन्।” तिर्मिजी: हदीस नं. (११३)।
इस्लामले महिलालाई सम्मान गरेको प्रमाणमध्ये एउटा यो पनि हो कि इस्लामले सक्षम सन्तानमाथि आफ्नी आमाको पालनपोषणको जिम्मेवारी अनिवार्य गरेको छ। नबी ﷺ ले भन्नुभयो: “दान गर्ने व्यक्तिको माथिल्लो हात (अर्थात् जसलाई खर्च गरिन्छ, उनीहरूमध्ये प्राथमिकताका हिसाबले) तिम्री आमा र बुबा, तिम्री बहिनी र तिम्रो भाइ, त्यसपछि तिम्रा नजिकका नातेदारहरू र त्यसपछि क्रमशः तिमीसँग नजिक हुनेहरू हुन्।” (अहमद) आमा बुवाको स्थान र महत्त्वको विवरण अनुच्छेद नं. (२९) मा आउनेछ।
इस्लामले महिलालाई सम्मान गरेको प्रमाणमध्ये अर्को कुरा यो हो कि सक्षम पतिमाथि आफ्नी पत्नीको पालनपोषणको जिम्मेवारी अनिवार्य गरेको छ। अल्लाह तआलाले भन्नुभएको छ: “सम्पन्न व्यक्तिले आफ्नो सम्पन्नताअनुसार खर्च गरोस् र जसको जीविका सीमित छ, उसले अल्लाहले उसलाई प्रदान गर्नुभएको अनुसार खर्च गरोस्। अल्लाहले कुनै पनि व्यक्तिलाई उहाँले प्रदान गर्नुभएको क्षमताभन्दा बढी जिम्मेवारी दिनुहुन्न। चाँडै नै अल्लाहले कठिनाइपछि सहजता ल्याउनुहुनेछ।” [अत्तलाकः ७] एक जना व्यक्तिले नबी ﷺ लाई सोध्यो: “पतिमाथि पत्नीको अधिकार के हो?” उहाँले भन्नुभयो: “जब तिमी खान्छौ, उसलाई पनि खुवाऊ; जब तिमी लुगा लगाउँछौ, उसलाई पनि लुगा लगाऊ; उसको अनुहारमा नहान र उसलाई अपमानजनक शब्दहरू नभन।” यसलाई इमाम अहमदले वर्णन गरेका छन्। रसूल ﷺ ले पतिहरूमाथि महिलाहरूका केही अधिकारहरू स्पष्ट पार्दै भन्नुभएको छ: “तिमीहरूमाथि उनीहरूको अधिकार यो हो कि उनीहरूका लागि उचित तरिकाले भोजन र लुगाको व्यवस्था गर्नु।” सहीह मुस्लिम। नबी ﷺ ले भन्नुभयो: “जसको पालनपोषणको जिम्मेवारी उसमाथि छ, तिनीहरूलाई बेवास्ता गर्नु नै मानिसको पापी हुनका लागि पर्याप्त छ।” यसलाई इमाम अहमदले वर्णन गरेका छन्। खत्ताबीले भनेका छन्: उहाँको भनाई (मैँयकूत) को अर्थ हो: जसको जीविका र पालनपोषणको जिम्मेवारी उसको जिम्मामा छ।मानौं दान गर्ने व्यक्तिलाई भनिएको छ: आफ्नो परिवारको आवश्यक पालनपोषण पूरा गरेपछि बाँकी रहेको अतिरिक्त सम्पत्तिबाट मात्र दान गर, जसबाट तिमी पुण्यको आशा गर्छौ। किनकि यदि तिमीले आफ्ना आश्रितहरूको आवश्यकतालाई बेवास्ता गर्यौ भने, त्यही दान पनि तिम्रो लागि पापको कारण बन्न सक्छ।
इस्लामले महिलालाई सम्मान गरेको प्रमाणमध्ये अर्को कुरा यो हो कि छोरीको पालनपोषणको जिम्मेवारी बुवामाथि अनिवार्य गरेको छ। अल्लाह तआलाले भन्नुभएको छ: “आमाहरूले आफ्ना बच्चाहरूलाई पूरा दुई वर्षसम्म स्तनपान गराऊन्, यदि कसैले स्तनपानको अवधि पूरा गर्न चाहन्छ भने। सन्तानका पितामाथि प्रचलित उचित तरिकाअनुसार उनीहरूको भोजन र लुगाको व्यवस्था गर्नु जिम्मेवारी हो।” [अल् बकरह: २३३] अल्लाह तआलाले स्पष्ट पार्नुभएको छ कि जसको सन्तान जन्मिएको छ, त्यसमाथि आफ्ना सन्तानलाई प्रचलित उचित तरिकाअनुसार भोजन र वस्त्र उपलब्ध गराउने जिम्मेवारी छ। अल्लाह तआलाले भन्नुभएको छ: “यदि उनीहरूले तिमीहरूका लागि स्तनपान गराए भने, उनीहरूलाई उनीहरूको पारिश्रमिक प्रदान गर।” [अत्तलाकः ६] अल्लाहले पितामाथि सन्तानलाई स्तनपान गराउने पारिश्रमिक (खर्च) को जिम्मेवारी अनिवार्य गर्नुभएको छ। यसबाट स्पष्ट हुन्छ कि सन्तानको पालनपोषणको खर्च पिताको जिम्मेवारी हो र सन्तान भन्नाले छोरा र छोरी दुवै समावेश हुन्छन्। तल आउने हदीसमा पत्नी र सन्तानको खर्च पितामाथि अनिवार्य हुने कुराको प्रमाण पाइन्छ। आयशा (रजियल्लाहु अन्हा) बाट वर्णन छ, हिन्द (रजियल्लाहु अन्हा) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई भनिन्: “अबू सुफियान कञ्जुस व्यक्ति हुन्। त्यसैले मलाई उहाँको सम्पत्तिबाट (मेरो र मेरा सन्तानको आवश्यकताका लागि) लिनुपर्ने आवश्यकता पर्छ।” उहाँले भन्नुभयो: “तिमीले आफ्नो र आफ्ना सन्तानको लागि प्रचलित उचित तरिकाअनुसार जति पर्याप्त हुन्छ, त्यति लिनू।” यसलाई बुखारीले वर्णन गरेका छन्। नबी ﷺ ले छोरीहरू र दिदीबहिनीहरूको पालनपोषणमा खर्च गर्ने पुण्यको बारेमा स्पष्ट पार्नुभएको छ। रसूल ﷺ ले भन्नुभयो: “जसले दुई छोरीहरू, वा तीन छोरीहरू, वा दुई बहिनीहरू, वा तीन बहिनीहरूको पालनपोषण गर्छ, जबसम्म उनीहरू आत्मनिर्भर हुँदैनन् वा उनीहरूको मृत्यु हुँदैन, म र ऊ यी दुई औँलाजस्तै (निकट) हुनेछौँ।” सिलसिला अस्-सहीहा: २९६।
२०- मृत्यु भनेको सधैँका लागि समाप्ति हुनु होइन, बरु यो कर्म गर्ने स्थान (संसार) बाट प्रतिफल प्राप्त गर्ने स्थान (परलोक) तर्फको स्थानान्तरण हो। मृत्युले शरीर र आत्मा दुवैलाई समेट्छ। आत्माको मृत्यु भनेको शरीरबाट त्यसको अलग हुनु हो, त्यसपछि कियामतको दिन पुनर्जीवनपछि त्यो फेरि शरीरमा फर्काइनेछ। मृत्यु भएपछि आत्मा अर्को कुनै शरीरमा प्रवेश गर्दैन र न त अर्को शरीरमा स्थानान्तरित हुन्छ।
मृत्यु भनेको सधैँका लागि समाप्ति होइन। अल्लाह तआलाले भन्नुभएको छ: “भनिदिनुहोस्, ‘तिमीहरूलाई नियुक्त गरिएको मृत्युका दूतले तिमीहरूको प्राण लिनेछन्, त्यसपछि तिमीहरू आफ्ना पालनकर्तातर्फ फर्काइनेछौ।’” [अस्सजिदाः ११] मृत्युले शरीर र आत्मा दुवैलाई समेट्छ। आत्माको मृत्यु भनेको शरीरबाट त्यसको अलग हुनु हो, त्यसपछि कियामतको दिन पुनर्जीवनपछि आत्मा फेरि शरीरमा फर्काइनेछ। अल्लाह तआलाले भन्नुभएको छ: “अल्लाहले मानिसहरूको प्राण उनीहरूको मृत्युको समयमा कब्जा गर्नुहुन्छ, र जो मरेका हुँदैनन्, उनीहरूको प्राण निद्राको समयमा (कब्जा गर्नुहुन्छ)। त्यसपछि जसको मृत्युको निर्णय उहाँले गर्नुभएको हुन्छ, त्यसलाई रोक्नुहुन्छ र अरूलाई तोकिएको समयसम्मका लागि फिर्ता पठाउनुहुन्छ। निश्चय नै यसमा सोचविचार गर्ने मानिसहरूका लागि धेरै निशानीहरू छन्।” [अज्जुमरः ४२] रसूल ﷺ ले भन्नुभयो: “निश्चय नै जब रूह निकालिन्छ, तब आँखाको दृष्टि पनि त्यसैलाई पछ्याउँछ।” (मुस्लिम: ९२०) मृत्युपछि मानिस कर्म गर्ने संसारबाट प्रतिफल (बदला) पाइने संसारतर्फ सर्छ। अल्लाह तआलाले भन्नुभएको छ: “तिमीहरू सबैको फर्कने ठाउँ उहाँतर्फ नै हो। अल्लाहको वाचा सत्य छ। निश्चय नै उहाँले नै पहिलोपटक सृष्टि गर्नुहुन्छ, त्यसपछि त्यसलाई पुनः जीवित पार्नुहुन्छ, ताकि ईमान ल्याउने र सत्कर्म गर्नेहरूलाई न्यायपूर्वक प्रतिफल दिन सकून्। तर जसले कुफ्र गरे, उनीहरूका लागि कुफ्र गर्दै आएको कारण उम्लिरहेको तातो पानी पिउन हुनेछ र पीडादायी यातना हुनेछ।” [यूनुसः ४]
मृत्युपछि रूह अर्को शरीरमा प्रवेश गर्दैन, न त अर्को शरीरमा पुनर्जन्म लिन्छ। त्यसैले आवागमन (पुनर्जन्म) को आस्थालाई न त बुद्धिले समर्थन गर्छ, न इन्द्रिय अनुभवले र न नै कुनै नबी (अलैहिमुस्सलाम) बाट वर्णित कुनै प्रमाणले यस विश्वासको पुष्टि गर्दछ।
२१- इस्लामले ईमानका महान् आधारहरूमा विश्वास गर्न आह्वान गर्दछ। ती हुन्: अल्लाहमाथि ईमान, उहाँका फरिश्ताहरूमाथि ईमान, अल्लाहले अवतरित गर्नुभएका दिव्य ग्रन्थहरू जस्तै तौरात, इन्जील, जबूर (तिनमा परिवर्तन हुनुभन्दा अघि) र कुरआनमाथि ईमान, सबै नबी तथा रसूलहरू (अलैहिमुस्सलाम) माथि ईमान, र उनीहरूमध्ये अन्तिम नबी तथा रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि ईमान। साथै, आखिरत (परलोक) को दिनमाथि ईमान र तक्दिर (राम्रो र नराम्रो दुवै) अल्लाहकै निर्णय र पूर्वनिर्धारण हो भन्ने कुरामाथि ईमान। हामी जान्दछौँ कि यदि सांसारिक जीवन नै अन्तिम गन्तव्य हुन्थ्यो भने, जीवन र सम्पूर्ण अस्तित्व निरर्थक हुने थियो।
इस्लामले ईमानका ती महान् आधारहरूमाथि विश्वास गर्न आह्वान गर्दछ, जसतर्फ सबै नबी तथा रसूलहरू (अलैहिमुस्सलाम) ले आह्वान गर्नुभएको थियो। ती आधारहरू यी हुन्:
पहिलो: अल्लाहमाथि ईमान; उहाँ नै यस सम्पूर्ण ब्रह्माण्डका पालनकर्ता, सृष्टिकर्ता, रोजी प्रदान गर्ने र सम्पूर्ण व्यवस्था सञ्चालन गर्ने हुनुहुन्छ भन्ने विश्वास गर्नु। साथै, उपासनाको एकमात्र अधिकारी पनि उहाँ नै हुनुहुन्छ भन्ने ईमान राख्नु। उहाँबाहेक अरू सबैको उपासना असत्य (बातिल) हो, र उहाँबाहेक पूजिने प्रत्येक पूज्य पनि असत्य (बातिल) हो। त्यसैले उपासना केवल उहाँकै लागि योग्य छ र उहाँबाहेक अरू कसैको उपासना स्वीकार्य हुँदैन। यस विषयका प्रमाणहरू यसअघि अनुच्छेद नम्बर (८) मा उल्लेख गरिसकिएको छ।
अल्लाहले यी महान् आधारहरूलाई पवित्र कुरआनका धेरै ठाउँमा विभिन्न आयतहरूमा उल्लेख गर्नुभएको छ। तीमध्ये एउटा उहाँको यो भनाइ हो: “रसूलले आफ्नो पालनहारबाट आफूलाई अवतरित गरिएको कुरामाथि ईमान ल्याए, र ईमानवालाहरूले पनि। सबैले अल्लाह, उहाँका फरिश्ताहरू, उहाँका पुस्तकहरू र उहाँका रसूलहरूमाथि ईमान ल्याए। (उनीहरू भन्छन्:) ‘हामी उहाँका कुनै पनि रसूलबीच भेदभाव गर्दैनौँ।’ अनि उनीहरूले भने: ‘हामीले सुन्यौँ र आज्ञापालन गर्यौँ। हे हाम्रो पालनहार! हामी तिम्रो क्षमा चाहन्छौँ, र अन्ततः फर्केर जानुपर्ने ठाउँ तिमीतर्फ नै हो।’” [अल् बकरह: २८५] अल्लाहले भन्नुभएको छः “सत्कर्म (नेकी) केवल आफ्नो अनुहार पूर्व वा पश्चिमतर्फ फर्काउनु मात्र होइन, बरु साँचो सदाचार त त्यस व्यक्तिको हो, जसले अल्लाह, आखिरतको दिन, फरिश्ताहरू, अल्लाहका पुस्तकहरू र नबीहरूमाथि ईमान ल्यायो; आफ्नो धनप्रतिको प्रेम हुँदाहुँदै पनि आफन्तहरू, टुहुराहरू, गरिबहरू, बाटोमा अलपत्र परेकाहरू, माग्नेहरू र दासमुक्तिका लागि खर्च गर्यो; नमाज कायम गर्यो, जकात दियो; वाचा गर्दा आफ्नो वाचा पूरा गर्नेहरू र कठिनाइ, दुःख तथा युद्धको समयमा धैर्य धारण गर्नेहरू हुन्। यिनै मानिसहरू सच्चा हुन् र यिनै नै तक्वावान् हुन्।” [अल् बकरह: १७७] अल्लाह तआलाले यी आधारहरूमाथि ईमान ल्याउन आह्वान गर्नुभएको छ र स्पष्ट पार्नुभएको छ कि जसले यिनको इन्कार गर्छ, ऊ वास्तवमै ठूलो भ्रष्टतामा परेको हुन्छ। अल्लाह तआलाले भन्नुभएको छ: “हे ईमानवालाहरू! अल्लाहमाथि, उहाँका रसूलमाथि, उहाँले आफ्ना रसूलमाथि अवतरण गर्नुभएको पुस्तकमाथि र यसअघि अवतरण गर्नुभएको पुस्तकहरूमाथि ईमान ल्याओ। जसले अल्लाह, उहाँका फरिश्ताहरू, उहाँका पुस्तकहरू, उहाँका रसूलहरू र आखिरतको दिनलाई इन्कार गर्छ, त्यो निश्चय नै धेरै टाढाको मार्गभ्रष्टतामा परेको छ।” [अन्निसाः १३६] हदीसमा उमर बिन अल-खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गर्नुहुन्छ: “एक दिन हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा बसिरहेका थियौँ। त्यत्तिकैमा एक जना व्यक्ति हामीकहाँ आए। उनको लुगा अत्यन्त सेतो थियो, कपाल अत्यन्त कालो थियो। उनीमा यात्राको कुनै चिन्ह देखिँदैनथ्यो, तर हामीमध्ये कसैले पनि उनलाई चिन्दैनथ्यौँ। उनी आएर नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सामुन्ने बसे। आफ्ना घुँडाहरू नबी (सल्लल्लाहु अलैहि वसल्लम) का घुँडासँग जोडेर आफ्ना दुवै हात आफ्नै तिघ्रामाथि राखे र भने: ‘हे मुहम्मद! मलाई इस्लामको बारेमा बताइदिनुहोस्।’ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: ‘इस्लाम भनेको यो हो कि तिमीले अल्लाहबाहेक कुनै सत्य पूज्य छैन र मुहम्मद अल्लाहका रसूल हुन् भन्ने गवाही देऊ, नमाज कायम गर, जकात देऊ, रमजानको रोजा राख र यदि सामर्थ्य छ भने बैतुल्लाह (काबा) को हज गर।’ ती व्यक्तिले भने: ‘तपाईंले सत्य भन्नुभयो।’ उमर (रजियल्लाहु अन्हु) भन्नुहुन्छ: हामी अचम्ममा पर्यौँ, किनकि उनी स्वयं प्रश्न पनि गरिरहेका थिए र उत्तरलाई सत्य पनि ठहराइरहेका थिए। त्यसपछि उनले भने: ‘अब मलाई ईमानको बारेमा बताइदिनुहोस्।’ उहाँले भन्नुभयो: ‘ईमान भनेको अल्लाह, उहाँका फरिश्ताहरू, उहाँका पुस्तकहरू, उहाँका रसूलहरू, आखिरतको दिन र राम्रो तथा नराम्रो—दुवै तक्दिर अल्लाहकै तर्फबाट हो भन्ने कुरामा ईमान ल्याउनु हो।’ ती व्यक्तिले भने: ‘तपाईंले सत्य भन्नुभयो।’ त्यसपछि उनले भने: ‘अब मलाई इह्सानको बारेमा बताइदिनुहोस्।’ उहाँले भन्नुभयो: ‘इह्सान भनेको तिमीले अल्लाहको उपासना यसरी गर्नु हो, मानौँ तिमी उहाँलाई देखिरहेका छौ। यदि तिमीले उहाँलाई देखिरहेका छैनौ भने पनि (यो विश्वास राख) कि उहाँले तिमीलाई अवश्य देखिरहनुभएको छ।’ (सहीह मुस्लिम: ८) यस हदीसमा जिब्रिल (अलैहिस्सलाम) रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आउनुभयो र उहाँलाई धर्मका तीन तह—इस्लाम, ईमान र इह्सान—का बारेमा सोध्नुभयो। रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले ती सबै प्रश्नहरूको उत्तर दिनुभयो। त्यसपछि उहाँले आफ्ना सहाबीहरू (रजियल्लाहु अन्हुम) लाई भन्नुभयो कि यी जिब्रिल (अलैहिस्सलाम) थिए, जो तिमीहरूलाई तिमीहरूको धर्म सिकाउन आएका थिए। यसबाट स्पष्ट हुन्छ कि इस्लाम अल्लाहबाट आएको दिव्य सन्देश हो, जसलाई जिब्रिल (अलैहिस्सलाम) ले रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) सम्म पुर्याउनुभयो। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसलाई मानिसहरूसम्म पुर्याउनुभयो, अनि उहाँका सहाबीहरू (रजियल्लाहु अन्हुम) ले त्यसलाई सुरक्षित राखी आफ्नापछि आउने मानिसहरूसम्म पुर्याए।
दोस्रो: फरिश्ताहरूमाथि ईमान। फरिश्ताहरू अदृश्य संसारका प्राणी हुन्, जसलाई अल्लाहले विशेष स्वरूपमा सृष्टि गर्नुभएको छ र उनीहरूलाई महान् जिम्मेवारीहरू सुम्पनुभएको छ। उनीहरूका सबैभन्दा महान् जिम्मेवारीहरूमध्ये एउटा अल्लाहका दिव्य सन्देशहरू नबी तथा रसूलहरू (अलैहिमुस्सलाम) सम्म पुर्याउनु हो। फरिश्ताहरूमध्ये सबैभन्दा महान् जिब्रिल (अलैहिस्सलाम) हुन्। जिब्रिल (अलैहिस्सलाम) ले नबी तथा रसूलहरू (अलैहिमुस्सलाम) समक्ष वह्य (ईश्वरीय प्रकाशना) लिएर आउने कुराको प्रमाण अल्लाह तआलाको यो वचन हो: “उहाँले आफ्ना बन्दाहरूमध्ये आफूले चाहनुभएकामाथि आफ्नै आदेशद्वारा फरिश्ताहरूलाई वह्य लिएर पठाउनुहुन्छ (यो आदेश दिँदै): ‘मानिसहरूलाई सचेत गर कि मबाहेक कुनै सत्य पूज्य छैन, त्यसैले मसँग डराऊ।’” [अन्नहलः २] अल्लाहले भन्नुभएको छः “निश्चय नै यो (कुरआन) सम्पूर्ण संसारका पालनहारबाट अवतरित गरिएको हो। यसलाई विश्वसनीय रूह (जिब्रिल) ले लिएर आएका हुन्। तपाईंको हृदयमा, ताकि तपाईं चेतावनी दिनेहरूमध्ये हुन सक्नुहोस्। स्पष्ट अरबी भाषामा। निश्चय नै यसको उल्लेख अघिल्ला (दिव्य) ग्रन्थहरूमा पनि छ।” [अश्शुअराः १९२-१९६]
तेस्रो: अल्लाहले अवतरण गर्नुभएका दिव्य ग्रन्थहरू जस्तै तौरात, इन्जील, जबूर (तिनमा परिवर्तन हुनुभन्दा अघि) र कुरआनमाथि ईमान ल्याउनु। अल्लाह तआलाले भन्नुभएको छ: “हे ईमानवालाहरू! अल्लाहमाथि, उहाँका रसूलमाथि, उहाँले आफ्ना रसूलमाथि अवतरण गर्नुभएको पुस्तकमाथि र यसअघि अवतरण गर्नुभएका पुस्तकहरूमाथि ईमान ल्याओ। जसले अल्लाह, उहाँका फरिश्ताहरू, उहाँका पुस्तकहरू, उहाँका रसूलहरू र आखिरतको दिनलाई इन्कार गर्छ, त्यो निश्चय नै धेरै टाढाको मार्गभ्रष्टतामा परेको छ।” [अन्निसाः १३६] अल्लाहले भन्नुभएको छः “उहाँले तपाईंमाथि सत्यसहित यो पुस्तक (कुरआन) अवतरण गर्नुभयो, जो यसअघि अवतरित भएका पुस्तकहरूको पुष्टि गर्ने हो। र उहाँले तौरात र इन्जील पनि अवतरण गर्नुभएको थियो। यसअघि मानिसहरूका लागि मार्गदर्शनका रूपमा (तौरात र इन्जील अवतरण गर्नुभएको थियो), अनि उहाँले सत्य र असत्यबीच छुट्याउने (कुरआन) पनि अवतरण गर्नुभयो। निश्चय नै जसले अल्लाहका आयतहरूको इन्कार गर्छन्, उनीहरूका लागि कठोर यातना छ। अल्लाह सबैमाथि प्रभुत्वशाली तथा बदला लिनुहुने हुनुहुन्छ।” [आलि इमरान: ३-४] अल्लाहले भन्नुभएको छः “रसूलले आफ्नो पालनहारबाट आफूमाथि अवतरित गरिएको कुरामाथि ईमान ल्याए, र ईमानवालाहरूले पनि। सबैले अल्लाह, उहाँका फरिश्ताहरू, उहाँका पुस्तकहरू र उहाँका रसूलहरूमाथि ईमान ल्याए। (उनीहरू भन्छन्:) ‘हामी उहाँका कुनै पनि रसूलबीच भेदभाव गर्दैनौँ।’ अनि उनीहरूले भने: ‘हामीले सुन्यौँ र आज्ञापालन गर्यौँ। हे हाम्रो पालनहार! हामी तिम्रो क्षमा चाहन्छौँ र अन्ततः फर्केर जानुपर्ने ठाउँ तिमीतर्फ नै हो।” [अल् बकरह: २८५] अल्लाहले भन्नुभएको छ: “भनिदिनुहोस्: ‘हामी अल्लाहमाथि ईमान ल्याएका छौँ र हामीमाथि अवतरित गरिएको कुरामाथि तथा इब्राहीम, इस्माईल, इस्हाक, याकुब र उनका सन्तानहरूमाथि अवतरित गरिएको कुरामाथि पनि; अनि मूसा, ईसा र अन्य नबीहरूलाई उनीहरूका पालनहारबाट प्रदान गरिएको कुरामाथि पनि ईमान ल्याएका छौँ। हामी उनीहरूमध्ये कुनै एकबीच पनि भेदभाव गर्दैनौँ र हामी केवल अल्लाहकै आज्ञाकारी (मुस्लिम) हौँ।” [आलि इमरान: ८४]
चौथो: सबै नबी तथा रसूलहरू (अलैहिमुस्सलाम) माथि ईमान ल्याउनु। सबै नबी तथा रसूलहरू (अलैहिमुस्सलाम) माथि ईमान ल्याउनु अनिवार्य छ। साथै, उनीहरू सबै अल्लाहका तर्फबाट पठाइएका रसूल हुन्, जसले आफ्ना-आफ्ना समुदायलाई अल्लाहका सन्देश, उहाँको धर्म र उहाँको शरीअत पुर्याएका हुन् भन्ने दृढ विश्वास राख्नु पनि आवश्यक छ। अल्लाह तआलाले भन्नुभएको छ: “भन: ‘हामी अल्लाहमाथि ईमान ल्याएका छौँ र हामीमाथि अवतरित गरिएको कुरामाथि, साथै इब्राहीम, इस्माईल, इस्हाक, याकुब र उनका सन्तानहरूमाथि अवतरित गरिएको कुरामाथि पनि; अनि मूसा, ईसा र अन्य नबीहरूलाई उनीहरूका पालनहारबाट प्रदान गरिएको कुरामाथि पनि ईमान ल्याएका छौँ। हामी उनीहरूमध्ये कुनै एकबीच पनि भेदभाव गर्दैनौँ, र हामी उहाँकै आज्ञाकारी (मुस्लिम) हौँ।” [अल् बकरह: १३६] अल्लाहले भन्नुभएको छः “रसूलले आफ्नो पालनहारबाट आफूमाथि अवतरित गरिएको कुरामाथि ईमान ल्याए र ईमानवालाहरूले पनि। सबैले अल्लाह, उहाँका फरिश्ताहरू, उहाँका पुस्तकहरू र उहाँका रसूलहरूमाथि ईमान ल्याए। (उनीहरू भन्छन्:) ‘हामी उहाँका कुनै पनि रसूलबीच भेदभाव गर्दैनौँ।’ अनि उनीहरूले भने: ‘हामीले सुन्यौँ र आज्ञापालन गर्यौँ। हे हाम्रो पालनहार! हामी तिम्रो क्षमा चाहन्छौँ र अन्ततः फर्केर जानुपर्ने ठाउँ तिमीतर्फ नै हो।” (अल्-बकरह: २८५) अल्लाहले भन्नुभएको छः “भनिदिनुहोस्: ‘हामी अल्लाहमाथि ईमान ल्याएका छौँ र हामीमाथि अवतरित गरिएको कुरामाथि तथा इब्राहीम, इस्माईल, इस्हाक, याकुब र उनका सन्तानहरूमाथि अवतरित गरिएको कुरामाथि पनि; अनि मूसा, ईसा र अन्य नबीहरूलाई उनीहरूका पालनहारबाट प्रदान गरिएको कुरामाथि पनि ईमान ल्याएका छौँ। हामी उनीहरूमध्ये कुनै एकबीच पनि भेदभाव गर्दैनौँ र हामी केवल अल्लाहकै आज्ञाकारी (मुस्लिम) हौँ।” [आलि इमरान: ८४]
साथै, सबै नबी तथा रसूलहरूमध्ये अन्तिम नबी तथा रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि ईमान ल्याउनु पनि आवश्यक छ। अल्लाह तआलाले भन्नुभएको छ: “(स्मरण गर) जब अल्लाहले नबीहरूबाट प्रतिज्ञा लिनुभयो: ‘मैले तिमीहरूलाई पुस्तक र हिकमत (ज्ञान) जे दिए पनि, त्यसपछि तिमीहरूसँग भएको कुराको पुष्टि गर्ने कुनै रसूल तिमीहरूकहाँ आए भने, तिमीहरूले उहाँमाथि अवश्य ईमान ल्याउनुपर्नेछ र उहाँलाई अवश्य सहयोग गर्नुपर्नेछ।’ अल्लाहले भन्नुभयो: ‘के तिमीहरूले यो स्वीकार गर्यौ र यस सम्बन्धमा मेरो दृढ प्रतिज्ञा लियौ?’ उनीहरूले भने: ‘हामीले स्वीकार गर्यौँ।’ उहाँले भन्नुभयो: ‘तब साक्षी बस, र म पनि तिमीहरूसँग साक्षी रहनेहरूमध्ये छु।” [आलि इमरान: ८१]
त्यसैले इस्लामले सबै नबी तथा रसूलहरू (अलैहिमुस्सलाम) माथि समग्र रूपमा ईमान ल्याउन अनिवार्य ठहराएको छ। साथै, उनीहरूमध्ये अन्तिम नबी तथा रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि ईमान ल्याउनु पनि अनिवार्य गरेको छ। अल्लाह तआलाले भन्नुभएको छ: “भनिदिनुहोस्: ‘हे किताबधारीहरू! तिमीहरू कुनै (सही आधार) मा छैनौ, जबसम्म तिमीहरूले तौरात, इन्जील र तिमीहरूका पालनहारबाट तिमीहरूमाथि अवतरित गरिएको (कुरआन) लाई स्थापित गर्दैनौ।’” [अल् माइदाः ६८] अल्लाहले भन्नुभएको छः “भनिदिनुहोस्: ‘हे किताबवालाहरू! हामी र तिमीहरूबीच समान रहेको एउटा कुरातर्फ आऊँ—हामी अल्लाहबाहेक अरू कसैको उपासना नगरौँ, उहाँसँग कुनै कुरालाई साझेदार नठहराऔँ, र हामीमध्ये कसैले पनि अल्लाहबाहेक एकअर्कालाई प्रभु नबनाऔँ।’ यदि तिनीहरू विमुख हुन्छन् भने भनिदिनुहोस्: ‘साक्षी बस, हामी मुस्लिम हौँ।” [आलि इमरान: ६४]
जसले कुनै एक नबीलाई इन्कार गर्छ, उसले वास्तवमा सबै नबी तथा रसूलहरू (अलैहिमुस्सलाम) लाई इन्कार गरेको ठहर्छ। त्यसैले अल्लाह तआलाले नूह (अलैहिस्सलाम) का समुदायमाथि आफ्नो निर्णय सुनाउँदै भन्नुभएको छ: “नूहका समुदायले रसूलहरूलाई झूटो ठहराए।” [अश्शुअराअः १०५] नूह (अलैहिस्सलाम) भन्दा अघि कुनै रसूल आएका थिएनन् भन्ने यो सर्वविदित छ। तर पनि, जब उहाँका समुदायले उहाँलाई झूटो ठहराए, तब उनीहरूको यो इन्कार सबै नबी तथा रसूलहरूको इन्कार ठहरियो। किनभने सबै नबीहरूको आह्वान एउटै थियो र उनीहरूको उद्देश्य पनि एउटै थियो।
पाँचौँ: आखिरतको दिन अर्थात् कियामतको दिनमाथि ईमान ल्याउनु। यस सांसारिक जीवनको अन्त्यमा अल्लाह तआलाले फरिश्ता इस्राफील (अलैहिस्सलाम) लाई आदेश दिनुहुनेछ, अनि उहाँले सूर फुक्नुहुनेछ। त्यसपछि अल्लाहले चाहनुभएका बाहेक सबै बेहोस भई मृत्युको शिकार हुनेछन्। अल्लाह तआलाले भन्नुभएको छ: “जब सूर फुकिनेछ, तब आकाशहरूमा रहेका र पृथ्वीमा रहेका सबैजना बेहोस भई ढल्नेछन्, अल्लाहले चाहनुभएका बाहेक। त्यसपछि फेरि अर्को पटक सूर फुकिनेछ, अनि एक्कासि उनीहरू सबै उठेर हेरिरहेका हुनेछन्।” [अज्जुमरः ६८] जब आकाशहरूमा रहेका र पृथ्वीमा रहेका सबैजना—अल्लाहले चाहनुभएका बाहेक—मृत्युको शिकार हुनेछन्, तब अल्लाह तआलाले आकाशहरू र पृथ्वीलाई बेर्नुहुनेछ, जसरी उहाँले भन्नुभएको छ: “जुन दिन हामी आकाशलाई यसरी बेर्नेछौँ, जसरी लिखतका पानाहरू बेरेर बन्द गरिन्छन्। जसरी हामीले पहिलोपटक सृष्टिको सुरुआत गरेका थियौँ, त्यसरी नै हामी त्यसलाई पुनः सृष्टि गर्नेछौँ। यो हाम्रो जिम्मामा रहेको प्रतिज्ञा हो। निश्चय नै हामी यो कार्य गर्नेछौँ।” [अल् अम्बियाः १०४] अल्लाहले भन्नुभएको छः “उनीहरूले अल्लाहको जस्तो महिमा गर्नुपर्ने थियो, त्यस्तो महिमा गरेनन्। कियामतको दिन सम्पूर्ण पृथ्वी उहाँको मुट्ठीमा हुनेछ र आकाशहरू उहाँको दाहिने हातमा बेरेका हुनेछन्। उहाँ पवित्र र सर्वोच्च हुनुहुन्छ, उनीहरूले उहाँसँग साझेदार ठहराउने सबै कुराभन्दा।” [अज्जुमरः ६७] रसूल ﷺ ले भन्नुभयो: “अल्लाहले कियामतको दिन आकाशहरूलाई बेर्नुहुनेछ, त्यसपछि तिनलाई आफ्नो दाहिने हातमा लिनुहुनेछ र भन्नुहुनेछ: ‘म नै बादशाह हुँ। ती अत्याचारीहरू कहाँ छन्? ती घमण्डीहरू कहाँ छन्?’ त्यसपछि उहाँले पृथ्वीहरूलाई आफ्नो अर्को हातमा बेर्नुहुनेछ र भन्नुहुनेछ: ‘म नै बादशाह हुँ। ती अत्याचारीहरू कहाँ छन्? ती घमण्डीहरू कहाँ छन्?’” (मुस्लिम)
त्यसपछि अल्लाह तआलाले फरिश्तालाई फेरि एकपटक सूर फुक्न आदेश दिनुहुनेछ। तब एक्कासि सबै उठेर हेरिरहेका हुनेछन्। अल्लाह तआलाले भन्नुभएको छ: “त्यसपछि फेरि अर्को पटक सूर फुकिनेछ, अनि एक्कासि उनीहरू उठेर हेरिरहेका हुनेछन्।” [अज्जुमरः ६८] जब अल्लाह तआलाले सम्पूर्ण सृष्टिलाई पुनर्जीवित गर्नुहुनेछ, तब उहाँले तिनीहरूलाई हिसाब–किताबका लागि जम्मा गर्नुहुनेछ। अल्लाह तआलाले भन्नुभएको छ: “जुन दिन पृथ्वी चिरिएर उनीहरू छिट्टै बाहिर निस्कनेछन्। यो तिनीहरूलाई एकत्र गर्नु हाम्रो लागि अत्यन्त सजिलो कुरा हो।” [काफः ४४] अल्लाहले भन्नुभएको छः “जुन दिन सबैजना खुला रूपमा उपस्थित हुनेछन्। तिनीहरूको कुनै पनि कुरा अल्लाहबाट लुकेको हुनेछैन। (त्यस दिन भनिनेछ:) ‘आजको शासन–सत्ता कसको हो?’ (उत्तर हुनेछ:) ‘एकमात्र, सबैमाथि प्रभुत्वशाली अल्लाहकै हो।’” [गाफिरः १६] यस दिन अल्लाह तआलाले सबै मानिसहरूको हिसाब–किताब लिनुहुनेछ, प्रत्येक पीडितलाई उसमाथि अन्याय गर्ने व्यक्तिबाट न्याय दिलाउनुहुनेछ, र हरेक व्यक्तिलाई उसले गरेका कर्मअनुसार प्रतिफल दिनुहुनेछ। अल्लाह तआलाले भन्नुभएको छ: “आज प्रत्येक व्यक्तिलाई उसले गरेका कर्मअनुसार प्रतिफल दिइनेछ। आज कुनै अन्याय हुने छैन। निश्चय नै अल्लाह हिसाब लिनमा अत्यन्त शीघ्र हुनुहुन्छ।” [गाफिरः १७] अल्लाहले भन्नुभएको छः “निश्चय नै अल्लाहले राईको दानाजति पनि अन्याय गर्नुहुन्न। यदि कुनै असल कर्म हुन्छ भने उहाँ त्यसको प्रतिफल धेरै गुणा बढाइदिनुहुन्छ र आफ्नो तर्फबाट महान् प्रतिफल प्रदान गर्नुहुन्छ।” [अन्निसाः ४०] “अतः जसले राईको दानाजति पनि असल कर्म गरेको हुनेछ, उसले त्यसलाई देख्नेछ। जसले राईको दानाजति पनि खराब कर्म गरेको हुनेछ, उसले त्यसलाई पनि देख्नेछ।” [अज्जलजलाः ७-८] अल्लाहले भन्नुभएको छः “र हामी कियामतको दिन न्यायपूर्ण तराजुहरू स्थापना गर्नेछौँ। त्यसैले कुनै पनि व्यक्तिमाथि अलिकति पनि अन्याय गरिनेछैन। यदि (कुनै कर्म) तोरीको दानाजति पनि भए, हामी त्यसलाई पनि उपस्थित गर्नेछौँ र हिसाब लिनेका रूपमा हामी नै पर्याप्त छौँ।” [अल् अम्बियाः ४७]
पुनर्जीवन र हिसाब–किताबपछि प्रतिफलको चरण आउनेछ। जसले असल कर्म गरेको हुनेछ, उसका लागि कहिल्यै समाप्त नहुने स्थायी सुख–सुविधा हुनेछ र जसले दुष्कर्म तथा कुफ्र गरेको हुनेछ, उसका लागि यातना हुनेछ। अल्लाह तआलाले भन्नुभएको छ: “त्यस दिन सम्पूर्ण शासन–सत्ता अल्लाहकै हुनेछ। उहाँले तिनीहरूबीच फैसला गर्नुहुनेछ। त्यसपछि जसले ईमान ल्याए र सत्कर्म गरे, तिनीहरू आनन्दमय जन्नतहरूमा हुनेछन्। “तर जसले कुफ्र गरे र हाम्रा आयतहरूलाई झूटो ठहराए, तिनीहरूका लागि अपमानजनक यातना हुनेछ।” [अल् हज्जः ५६-५७] हामीलाई थाहा छ कि यदि यही सांसारिक जीवन नै अन्तिम जीवन हुन्थ्यो भने, जीवन र सम्पूर्ण अस्तित्व निरर्थक हुने थियो। अल्लाह तआलाले भन्नुभएको छ: “के तिमीहरूले यो ठानेका छौ कि हामीले तिमीहरूलाई व्यर्थमा सृष्टि गरेका हौँ, र तिमीहरू हामीतर्फ फर्काइने छैनौ?” [अल् मुमिनूनः ११५]
छैटौँ: तक्दीर (भाग्य) माथि ईमान ल्याउनु। यसको अर्थ यो हो कि अल्लाहले यस ब्रह्माण्डमा भइसकेका, भइरहेका र भविष्यमा हुने सबै कुराको पूर्ण ज्ञान राख्नुहुन्छ भन्नेमा ईमान ल्याउनु, र अल्लाहले आकाशहरू र पृथ्वीको सृष्टि गर्नुअघि नै यी सबै कुरा लेखिसक्नुभएको थियो भन्नेमा विश्वास गर्नु। अल्लाह तआलाले भन्नुभएको छ: “अदृश्यका साँचाहरू उहाँकै साथ छन्; उहाँबाहेक तिनलाई कसैले जान्दैन। उहाँले स्थल र समुद्रमा भएका सबै कुरा जान्नुहुन्छ। कुनै पात पनि उहाँको ज्ञानबिना झर्दैन। पृथ्वीका अन्धकारभित्र रहेको कुनै दाना, कुनै हरियो (ताजा) वा कुनै सुक्खा वस्तु—यी सबै स्पष्ट अभिलेखमा (लौह महफूज़मा) लेखिएका छन्।” [अल् अनआमः ५९] अल्लाहले आफ्नो ज्ञानद्वारा हरेक कुरालाई पूर्ण रूपमा घेर्नुभएको छ। अल्लाह तआलाले भन्नुभएको छ: “अल्लाह नै हुनुहुन्छ जसले सात आकाशहरू र तिनीजस्तै पृथ्वीहरू सृष्टि गर्नुभयो। उहाँको आदेश तिनका बीचमा अवतरण हुँदै रहन्छ, ताकि तिमीहरूले जान्न सक कि अल्लाह हरेक कुरामाथि पूर्ण शक्ति राख्नुहुन्छ र अल्लाहले आफ्नो ज्ञानद्वारा हरेक कुरालाई पूर्ण रूपमा घेर्नुभएको छ।” [अत्तलाकः १२] यस ब्रह्माण्डमा अल्लाहको इच्छा, चाहना र सृष्टिबिना कुनै पनि कुरा घट्दैन। उहाँले नै हरेक कुराको निर्णय गर्नुभएको छ, त्यसलाई चाहनुभएको छ, सृष्टि गर्नुभएको छ, र त्यसका कारणहरू पनि सहज बनाइदिनुभएको छ। अल्लाह तआलाले भन्नुभएको छ: “उही (अल्लाह) हुनुहुन्छ, जसको लागि आकाशहरू र पृथ्वीको सम्पूर्ण अधिराज्य छ। उहाँले कुनै सन्तान ग्रहण गर्नुभएको छैन, न त उहाँको अधिराज्यमा कुनै साझेदार नै छ। उहाँले हरेक वस्तुको सृष्टि गर्नुभयो र त्यसका लागि उचित माप, व्यवस्था र तक्दीर निर्धारण गर्नुभयो।” [अल् फुर्कानः २] यी सबैमा उहाँको गहन र पूर्ण बुद्धिमत्ता (हिकमत) निहित छ, जसलाई मानिसहरूले पूर्ण रूपमा बुझ्न सक्दैनन्। अल्लाह तआलाले भन्नुभएको छ: “यो त अत्यन्त गहन र पूर्ण हिकमत हो, तर चेतावनीहरूले (इन्कार गर्नेहरूलाई) कुनै लाभ पुर्याएनन्।” [अल् कमरः ५] अल्लाहले भन्नुभएको छः “उहाँ नै हुनुहुन्छ जसले सृष्टिको प्रारम्भ गर्नुहुन्छ, त्यसपछि त्यसलाई पुनः जीवित गर्नुहुन्छ र यो उहाँका लागि अझ सजिलो छ। आकाशहरू र पृथ्वीमा सर्वोच्च गुणहरू उहाँकै लागि हुन्। उहाँ नै सबैमाथि प्रभुत्वशाली, अत्यन्त बुद्धिमान हुनुहुन्छ।” [अर्रूमः २७] अल्लाह तआलाले आफूलाई हिकमत (पूर्ण बुद्धिमत्ता) को गुणले वर्णन गर्नुभएको छ र आफूलाई अल-हकीम (अत्यन्त बुद्धिमान) भन्नुभएको छ। अल्लाह तआलाले भन्नुभएको छ: “अल्लाह, फरिश्ताहरू र ज्ञान भएका व्यक्तिहरूले यस कुराको गवाही दिएका छन् कि अल्लाहबाहेक कुनै सत्य पूज्य छैन। उहाँ न्याय कायम राख्नुहुन्छ। उहाँबाहेक कुनै सत्य पूज्य छैन। उहाँ नै सबैमाथि प्रभुत्वशाली, अत्यन्त बुद्धिमान हुनुहुन्छ।” [आलि इमरान: १८] अल्लाह तआलाले कियामतको दिन ईसा (अलैहिस्सलाम) ले अल्लाहसँग यसरी सम्बोधन गर्ने कुरा उल्लेख गर्दै भन्नुभएको छ: “यदि तपाईंले तिनीहरूलाई यातना दिनुहुन्छ भने, निश्चय नै तिनीहरू तपाईंका बन्दाहरू हुन्। र यदि तपाईंले तिनीहरूलाई क्षमा गर्नुहुन्छ भने, निश्चय नै तपाईं नै सबैमाथि प्रभुत्वशाली र अत्यन्त बुद्धिमान हुनुहुन्छ।” [अल् माइदाः ११८] अल्लाह तआलाले मूसा (अलैहिस्सलाम) लाई तूर पर्वतको छेउमा बोलाउँदा यसरी भन्नुभयो: “हे मूसा! निश्चय नै म अल्लाह हुँ, सर्वशक्तिमान र अत्यन्त बुद्धिमान।” [अन्नमलः ९]
अल्लाह तआलाले कुरआनलाई पनि हिकमतयुक्त (पूर्ण बुद्धिमत्ताले भरिएको) भनेर वर्णन गर्नुभएको छ। अल्लाह तआलाले भन्नुभएको छ: “अलिफ–लाम–रा। यो एउटा यस्तो किताब हो, जसका आयतहरू सुदृढ बनाइएका छन्, त्यसपछि तिनलाई विस्तारपूर्वक वर्णन गरिएको छ—त्यो (अल्लाह) का तर्फबाट, जो अत्यन्त बुद्धिमान र सबै कुराको पूर्ण जानकार हुनुहुन्छ।” [हूदः १] अल्लाहले भन्नुभएको छः “यी सबै ती हिकमतपूर्ण शिक्षाहरू हुन्, जुन तिम्रा पालनहारले तिमीलाई वह्यद्वारा प्रदान गर्नुभएको छ। अल्लाहसँग अर्को कुनै पूज्य नठहराऊ, नत्र तिमी निन्दित र तिरस्कृत भई जहन्नममा फालिनेछौ।” [अल् इस्राः ३९]
२२- नबीहरू (अलैहिमुस्सलाम) अल्लाहको तर्फबाट मानिसहरूसम्म पुर्याउने सन्देशका सम्बन्धमा निष्पाप (मासुम) तथा सुरक्षित हुन्छन्। त्यसैगरी, बुद्धिले अस्वीकार गर्ने वा स्वस्थ र स्वाभाविक विवेकले अस्वीकार्य ठहर्याउने हरेक कुराबाट पनि उनीहरू सुरक्षित हुन्छन्। नबीहरू नै अल्लाहका आदेशहरू उहाँका बन्दाहरूसम्म पुर्याउने जिम्मेवारी पाएका हुन्छन्। उनीहरूमा रब्बुत्व वा उलूहियतका कुनै पनि विशेषता हुँदैनन्। बरु, उनीहरू अन्य मानिसहरूजस्तै मानव हुन्, जसलाई अल्लाह तआलाले आफ्ना सन्देशहरू वह्यीमार्फत प्रदान गर्नुहुन्छ।
नबीहरू (अलैहिमुस्सलाम) अल्लाहको तर्फबाट मानिसहरूसम्म पुर्याउने सन्देशका सम्बन्धमा निष्पाप (मासुम) तथा सुरक्षित हुन्छन्; किनकि अल्लाहले आफ्ना सृष्टिमध्ये उत्कृष्ट व्यक्तिहरूलाई आफ्ना सन्देशहरू पुर्याउनका लागि छनोट गर्नुहुन्छ। अल्लाह तआलाले भन्नुभएको छ: {अल्लाहले फरिश्ताहरू र मानिसहरूमध्येबाट आफ्ना सन्देशवाहकहरू छनोट गर्नुहुन्छ। निश्चय नै, अल्लाह सर्वश्रोता र सर्वद्रष्टा हुनुहुन्छ।} [अल् हज्जः ७५] अल्लाहले भन्नुभएको छ: {निश्चय नै, अल्लाहले आदम, नूह, इब्राहीमका परिवार र इमरानका परिवारलाई सम्पूर्ण संसारहरूमाथि छनोट गर्नुभएको छ।} [आलि इमरान: ३३] अल्लाहले भन्नुभएको छ: {अल्लाहले भन्नुभयो: “हे मूसा! निश्चय नै, मैले आफ्ना सन्देशहरूद्वारा र आफ्नो वार्तालापद्वारा तिमीलाई मानिसहरूमाथि छनोट गरेको छु। अतः मैले तिमीलाई दिएको कुरा ग्रहण गर र कृतज्ञहरूमध्ये बन।”} [अल् अअराफः १४४] रसूलहरू (अलैहिमुस्सलाम) लाई आफूहरूमाथि अवतरित हुने कुरा ईश्वरीय वह्यी हो भन्ने थाहा हुन्छ र उनीहरूले वह्यी लिएर अवतरित हुने फरिश्ताहरूलाई देख्छन्। अल्लाह तआलाले भन्नुभएको छ: {उहाँ अदृश्यको ज्ञाता हुनुहुन्छ; अतः उहाँले आफ्नो अदृश्य ज्ञान कसैलाई पनि प्रकट गर्नुहुन्न। तर उहाँले छनोट गर्नुभएको रसूल बाहेक; किनभने उहाँले उसका अगाडि र पछाडि निगरानी गर्नेहरू नियुक्त गर्नुहुन्छ। ताकि उहाँले जानुन, उनीहरूले आफ्ना पालनकर्ताका सन्देशहरू पुर्याइसकेका छन्। उहाँले उनीहरूसँग भएका सबै कुरालाई आफ्नो ज्ञानले घेर्नुभएको छ र हरेक कुराको संख्या गनेर राख्नुभएको छ।} [अल् जिन्नः २६-२७] अल्लाहले उनीहरूलाई आफ्ना सन्देशहरू पुर्याउन आदेश दिनुभएको छ। अल्लाह तआलाले भन्नुभएको छ: {हे रसूल! तपाईंका पालनकर्ताबाट तपाईंमाथि अवतरित गरिएको सन्देश पुर्याउनुहोस्। यदि तपाईंले त्यसो गर्नुभएन भने, तपाईंले उहाँको सन्देश पुर्याउनुभएको हुनेछैन। अल्लाहले तपाईंलाई मानिसहरूबाट सुरक्षा प्रदान गर्नुहुनेछ। निश्चय नै, अल्लाहले काफिर समुदायलाई मार्गदर्शन गर्नुहुन्न।} [अल् माइदाः ६७] अल्लाहले भन्नुभएको छ: {रसूलहरूलाई शुभ समाचार सुनाउने र चेतावनी दिनेहरूका रूपमा पठाइयो, ताकि रसूलहरू आएपछि मानिसहरूसँग अल्लाहविरुद्ध कुनै तर्क बाँकी नरहोस्। अल्लाह सर्वशक्तिमान्, सर्वज्ञ हुनुहुन्छ।} [अन्निसाः १६५]
रसूलहरू (अलैहिमुस्सलाम) अल्लाहसँग अत्यन्तै डराउँछन् र उहाँको भय सबैभन्दा बढी राख्छन्। त्यसैले उनीहरूले उहाँका सन्देशहरूमा न केही थप्छन्, न त त्यसबाट केही घटाउँछन्। अल्लाह तआलाले भन्नुभएको छ: {यदि उनले हाम्रो बारेमा कुनै कुरा आफैँ बनाएर भनेका भए, तब हामी अवश्य नै उनलाई दाहिने हातले समात्थ्यौँ। त्यसपछि हामी अवश्य नै उनको हृदयको मुख्य धमनी काटिदिन्थ्यौँ। त्यसपछि तिमीहरूमध्ये कसैले पनि उहाँलाई रोक्न सक्ने थिएन।} [अल् हाक्काः ४४-४७] इब्ने कसीर रहिमहुल्लाहले भनेका छन्: यसलाई अझ शुद्ध, प्रवाहपूर्ण, स्पष्ट र मूल अर्थसँग नजिक हुने गरी यसरी परिमार्जन गर्न सकिन्छ: अल्लाह तआला भन्नुहुन्छ: {وَلَوْ تَقَوَّلَ عَلَيْنَا} अर्थात्, मुहम्मद ﷺ ले—यदि उनीहरूले दाबी गरेझैँ—हाम्रो बारेमा आफैँबाट कुनै कुरा बनाएर भनेका भए; अर्थात्, सन्देशमा केही थपेका वा त्यसबाट केही घटाएका भए, अथवा आफ्नै तर्फबाट कुनै कुरा बनाएर त्यसलाई हाम्रोतर्फ सम्बद्ध गरेका भए—तर वास्तविकता त्यस्तो होइन—हामी उनलाई तुरुन्तै सजाय दिने थियौँ। त्यसैले उहाँले भन्नुभएको छ: {لَأَخَذْنَا مِنْهُ بِالْيَمِينِ} यसको अर्थबारे एक व्याख्या यस्तो छ: “हामी उनलाई दाहिने हातले समातेर दण्ड दिने थियौँ”, किनकि दाहिने हातले प्रहार गर्नु अझ बलियो हुन्छ। अर्को व्याख्याअनुसार यसको अर्थ हो: “हामी उनको दाहिने हातबाट समात्ने थियौँ।” अल्लाहले भन्नुभएको छ: {जब अल्लाहले भन्नुभयो: “हे मरियमका छोरा ईसा! के तिमीले मानिसहरूलाई ‘अल्लाहबाहेक मलाई र मेरी आमालाई दुई उपास्य बनाऊ’ भनेका थियौ?” उनले भने: “तपाईं पवित्र हुनुहुन्छ! मेरो अधिकारमा नभएको कुरा भन्नु मेरो लागि उचित छैन। यदि मैले त्यस्तो कुरा भनेको भए, तपाईंलाई अवश्य नै त्यसको ज्ञान हुने थियो। तपाईं मेरो मनमा भएको कुरा जान्नुहुन्छ, तर म तपाईंको मनमा भएको कुरा जान्दिनँ। निश्चय नै, तपाईं नै सबै अदृश्य कुराहरूका पूर्ण ज्ञाता हुनुहुन्छ। मैले उनीहरूलाई तपाईंले मलाई आदेश दिनुभएको कुराबाहेक अरू केही भनेको थिइनँ—‘अल्लाहको उपासना गर, जो मेरा र तिमीहरूका पालनकर्ता हुनुहुन्छ।’ र म उनीहरूमाझ रहुन्जेल उनीहरूमाथि साक्षी थिएँ। तर जब तपाईंले मलाई उठाउनुभयो, तब तपाईं नै उनीहरूमाथि निगरानी राख्नु हुन्थ्यो। तपाईं हरेक कुराका साक्षी हुनुहुन्छ।} [अल् माइदाः ११६-११७]
अल्लाहले आफ्ना नबीहरू र रसूलहरू (अलैहिमुस्सलाम) माथि गर्नुभएको अनुग्रहहरूमध्ये एउटा यो हो कि उहाँले आफ्ना सन्देशहरू पुर्याउने क्रममा उनीहरूलाई दृढ राख्नुहुन्छ। अल्लाह तआलाले भन्नुभएको छ: {उनले भने: “म अल्लाहलाई साक्षी राख्छु र तिमीहरू पनि साक्षी बस, तिमीहरूले अल्लाहबाहेक जसलाई साझेदार ठहराएका छौ, म त्यसबाट पूर्णतः विमुख छु। उहाँबाहेकका ती सबैसँग मिलेर तिमीहरू सबैले मेरो विरुद्ध षड्यन्त्र गर, अनि मलाई कुनै समय पनि नदेऊ। निश्चय नै, मैले आफ्ना र तिमीहरूका पालनकर्ता अल्लाहमाथि भरोसा गरेको छु। कुनै पनि जीवजन्तु यस्तो छैन, जसको शिरको अगाडिको भाग उहाँको नियन्त्रणमा नहोस्। निश्चय नै, मेरा पालनकर्ता सीधा मार्गमा हुनुहुन्छ।} [हूदः ५४-५६] अल्लाहले भन्नुभएको छः {हे पैगम्बर! हामीले तपाईंतर्फ पठाएको वह्य (सन्देश) बाट यी काफिरहरू तपाईंलाई विचलित गराउन खोज्छन्, ताकि तपाईंले यसबाहेक अरू कुरा हाम्रो नाममा बनाएर भन्नुहोस्। यदि तपाईंले त्यसो गर्नुभएको भए, उनीहरूले तपाईंलाई अवश्य नै घनिष्ठ मित्र बनाउने थिए। यदि हामीले तिमीलाई दृढ बनाएका नभए, तिमी उनीहरूतर्फ अलिकति भए पनि झुक्न लाग्ने थियौ। त्यसो भएको भए, हामीले तिमीलाई यस जीवनमा दोब्बर र मृत्युपछि पनि दोब्बर सजायको स्वाद चखाउने थियौँ। त्यसपछि तिमीले हाम्रो विरुद्ध आफ्नो लागि कुनै सहयोगी पाउने थिएनौ।} [अल् इस्राः ७३-७५] यी आयतहरू र यिनभन्दा अगाडिका आयतहरू यस कुराका साक्षी तथा स्पष्ट प्रमाण हुन् कि कुरआन संसारका पालनकर्ता अल्लाहबाट अवतरित भएको हो। किनकि यदि यो रसूल मुहम्मद ﷺ को आफ्नै रचना भएको भए, उहाँलाई सम्बोधन गर्दै यस प्रकारका कुराहरू यसमा समावेश हुने थिएनन्।
अल्लाह सुब्हानहु व तआलाले आफ्ना रसूलहरूलाई मानिसहरूबाट सुरक्षा प्रदान गर्नुहुन्छ। अल्लाह तआलाले भन्नुभएको छ: {हे रसूल! तपाईंका पालनकर्ताबाट तपाईंमाथि अवतरित गरिएको कुरा पुर्याउनुहोस्। यदि तपाईंले त्यसो गर्नुभएन भने, तपाईंले उहाँको सन्देश पुर्याउनुभएको हुँदैन। र अल्लाहले तपाईंलाई मानिसहरूबाट सुरक्षा प्रदान गर्नुहुन्छ। निश्चय नै, अल्लाहले काफिर समुदायलाई मार्गदर्शन गर्नुहुन्न।} [अल् माइदाः ६७] अल्लाहले भन्नुभएको छः {उनीहरूलाई नूहको वृत्तान्त सुनाउनुहोस्, जब उनले आफ्ना समुदायलाई भने: “हे मेरा समुदाय! यदि मेरो यहाँ रहनु र अल्लाहका आयतहरूद्वारा तिमीहरूलाई सम्झाउनु तिमीहरूका लागि भारी परेको छ भने, मैले अल्लाहमाथि नै भरोसा गरेको छु। अतः तिमीहरू आफ्ना सम्पूर्ण योजना र आफ्ना साझेदारहरूलाई एकत्रित गर; त्यसपछि तिमीहरूको योजना तिमीहरूका लागि अस्पष्ट वा अन्योलपूर्ण नरहोस्। अनि मेरो विरुद्ध आफ्नो निर्णय कार्यान्वयन गर र मलाई कुनै मोहलत नदेओ।”} [यूनुसः ७१] अल्लाह तआलाले मूसा (अलैहिस्सलाम) को भनाइबारे जानकारी दिँदै भन्नुभएको छ: {ती दुवैले भने: “हे हाम्रा पालनकर्ता! हामीलाई डर छ कि उसले हामीमाथि ज्यादती गर्नमा हतार गर्नेछ वा सीमालङ्घन गर्नेछ।” उहाँले भन्नुभयो: “तिमीहरू दुवै नडराऊ। निश्चय नै, म तिमीहरू दुवैसँगै छु; म सुनिरहेको र देखिरहेको छु।”} [ताहाः ४५-४६] यसरी अल्लाह तआलाले स्पष्ट पार्नुभएको छ कि उहाँले आफ्ना रसूलहरू (अलैहिमुस्सलाम) लाई उनीहरूका शत्रुहरूबाट सुरक्षा प्रदान गर्नुहुन्छ। त्यसैले उनीहरूका शत्रुहरूले उनीहरूलाई कुनै हानि पुर्याउन सक्दैनन्। त्यसैगरी, सत्यस्वरूप अल्लाह सुब्हानहु व तआलाले आफ्नो वह्यीको संरक्षण गर्नुहुन्छ र त्यसमा न केही थपिन्छ, न त त्यसबाट केही घटाइन्छ भन्ने कुरा स्पष्ट पार्नुभएको छ। अल्लाह तआलाले भन्नुभएको छ: {निश्चय नै, हामीले नै यो उपदेश (कुरआन) अवतरण गरेका हौँ र निश्चय नै, हामी नै यसको संरक्षण गर्नेछौँ।} [अल् हिज्रः ९]
सन्देष्टाहरू (अलैहिमुस्सलाम) तर्क वा नैतिकताविपरीत हुने हरेक कुराबाट निष्कलङ्क छन्। सर्वशक्तिमान् अल्लाहले आफ्ना नबी मुहम्मद ﷺ को प्रशंसा गर्दै भन्नुभएको छ: {निश्चय नै, तपाईं महान नैतिक चरित्रका हुनुहुन्छ।} [अल् कलमः ४] उहाँले उहाँको बारेमा यो पनि भन्नुभएको छ: (हे मक्कावासीहरू!) "तिमीहरूका साथी (मुहम्मद ﷺ) कुनै दिवाना होइनन्।" [अत्तकवीरः २२] ताकि उनीहरूले आफ्नो यो महान् जिम्मेवारी उत्तम रूपमा पूरा गर्न सकून्। नबीहरू (अलैहिमुस्सलाम) ती व्यक्तिहरू हुन्, जसलाई अल्लाहका बन्दाहरूलाई उहाँका आदेशहरू पुर्याउने जिम्मेवारी दिइएको छ। उनीहरूमा प्रभुत्व वा ईश्वरत्वको कुनै विशेषता हुँदैन; बरु उनीहरू पनि अन्य मानिसहरूजस्तै मानव नै हुन्। अल्लाहले आफ्ना सन्देशहरू उनीहरूमाथि वह्यीमार्फत अवतरण गराउनुहुन्छ। अल्लाहले भन्नुभएको छ: {उनीहरूका रसूलहरूले भने: “हामी त तिमीहरूजस्तै मानव मात्र हौँ। तर अल्लाहले आफ्ना बन्दाहरूमध्ये जसलाई चाहनुहुन्छ, उहाँमाथि विशेष अनुग्रह गर्नुहुन्छ। अल्लाहको अनुमति बिना तिमीहरूसामु कुनै प्रमाण प्रस्तुत गर्ने अधिकार हामीलाई छैन। त्यसैले ईमानवालाहरूले अल्लाहमाथि नै भरोसा गर्नुपर्छ।”} [इब्राहीमः ११] अल्लाहले आफ्ना रसूल मुहम्मद ﷺ लाई आफ्ना समुदायलाई सम्बोधन गर्दै भन्न आदेश दिनुभएको छ: {भनिदिनुहोस्: “म तिमीहरूजस्तै एक मानव मात्र हुँ। मलाई वह्यी गरिन्छ कि तिमीहरूको पूज्य एउटै मात्र पूज्य हुनुहुन्छ। अतः जो व्यक्ति आफ्ना प्रभुसँग भेट हुने आशा राख्छ, उसले सत्कर्म गरोस् र आफ्नो प्रभुको उपासनामा कसैलाई पनि साझेदार नबनाओस्।”} [अल् कहफः ११०]
२३- इस्लामले प्रमुख इबादतहरूका माध्यमबाट केवल अल्लाहको उपासना गर्न आह्वान गर्छ। ती प्रमुख इबादतहरू यस प्रकार छन्: नमाज: नमाजमा उभिनु, रुकू गर्नु, सज्दा गर्नु, अल्लाहको जिक्र गर्नु, उहाँको प्रशंसा गर्नु र उहाँसँग दुआ माग्नु पर्दछ। मानिसले प्रत्येक दिन पाँचपटक नमाज पढ्छ। नमाजमा धनी र गरिब, शासक र शासित सबै एउटै पङ्क्तिमा उभिन्छन्। यसरी नमाजले उनीहरूबीचका भेदभावहरू मेटाउँछ। जकात: अल्लाहले तोक्नुभएका शर्त र परिमाणअनुसार धनीहरूको धनसम्पत्तिमा निश्चित अंश अनिवार्य गरिन्छ। यो रकम प्रत्येक वर्ष गरिब तथा अन्य हकदारहरूलाई प्रदान गरिन्छ। रोजा: रमजान महिनाको दिनमा रोजा भङ्ग गर्ने कुराहरूबाट आफूलाई रोक्नु हो। रोजाले मानिसमा इच्छाशक्ति र धैर्यको विकास गर्छ। हज: सक्षम र सामर्थ्यवान् व्यक्तिले जीवनमा एकपटक पवित्र मक्कास्थित बैतुल्लाहको धार्मिक यात्रा गर्नु हो। हजका क्रममा संसारभरिका मानिसहरू परमपवित्र सृष्टिकर्ताको उपासनातर्फ समान भावले उन्मुख हुन्छन्। यस अवसरमा उनीहरूबीचका भिन्नता र सांसारिक पहिचानहरू मेटिन्छन्।
इस्लामले विभिन्न महान् इबादतहरूमार्फत अल्लाहको उपासना गर्न आह्वान गर्दछ। यी महान् इबादतहरू अल्लाहले सबै नबी तथा रसूलहरू (अलैहिमुस्सलाम) माथि अनिवार्य गर्नुभएको थियो। तीमध्ये प्रमुख इबादतहरू निम्न छन्:
पहिलो: नमाज स्थापना गर्नु, अल्लाहले मुस्लिमहरूका लागि नमाज अनिवार्य गर्नुभएको छ, जसरी उहाँले सबै नबी तथा रसूलहरू (अलैहिमुस्सलाम) का लागि पनि अनिवार्य गर्नुभएको थियो। अल्लाहले आफ्ना खलील (अति प्रिय) नबी इब्राहीम (अलैहिस्सलाम) लाई तवाफ गर्नेहरू तथा नमाज पढ्ने, रुकूअ र सज्दा गर्नेहरूका लागि आफ्नो घर (काबा) लाई पवित्र राख्न आदेश दिनुभयो। अल्लाह तआलाले भन्नुभएको छ: {जब हामीले यस घर (काबा) लाई मानिसहरूका लागि बारम्बार फर्केर आउने स्थान र शान्तिको स्थल बनायौँ। इब्राहीमको स्थानलाई नमाज पढ्ने ठाउँ बनाऊ। अनि हामीले इब्राहीम र इस्माईललाई आदेश दियौँ कि तिमीहरू दुवैले मेरो घरलाई तवाफ गर्नेहरू, एतिकाफमा बस्नेहरू तथा रुकूअ र सज्दा गर्नेहरूका लागि पवित्र राख।} [अल्-बकरह: १२५] अल्लाहले मूसा (अलैहिस्सलाम) माथि पनि नमाज अनिवार्य गर्नुभएको थियो। मूसा (अलैहिस्सलाम) लाई पहिलो पटक सम्बोधन गर्दा अल्लाह तआलाले भन्नुभएको छ: {निश्चय नै, म नै तिम्रो रब हुँ। त्यसैले तिम्रा जुत्ता फुकाल, निश्चय नै तिमी पवित्र तुवा उपत्यकामा छौ। मैले तिमीलाई चयन गरेको छु। अतः तिमीलाई जे वह्य गरिँदैछ, त्यसलाई ध्यानपूर्वक सुन। निश्चय नै, म नै अल्लाह हुँ। मबाहेक कोही सत्य पूज्य छैन। त्यसैले मेरो उपासना गर र मेरो स्मरणका लागि नमाज कायम गर।} [ताहाः १२-१४] मसीह ईसा (अलैहिस्सलाम) ले पनि बताउनुभएको छ, अल्लाहले उहाँलाई नमाज र जकातको आदेश दिनुभएको थियो। अल्लाह तआलाले उहाँका बारेमा भन्नुभएको छ: {उहाँले मलाई जहाँ भए पनि बरकतयुक्त बनाउनुभएको छ र जबसम्म म जीवित रहन्छु, उहाँले मलाई नमाज र जकातको आदेश दिनुभएको छ।} [मरयम: ३१] इस्लाममा प्रत्येक व्यक्तिले दिनमा पाँच पटक नमाज पढ्छ। नमाज भनेको खडा हुनु, रुकूअ र सज्दा गर्नु, अल्लाहको जिक्र गर्नु, उहाँको प्रशंसा गर्नु तथा उहाँसँग दुआ गर्नु हो। अल्लाह तआलाले भन्नुभएको छ: {सबै नमाजहरूको हिफाजत गर र विशेष गरी बीचको नमाजको। अनि अल्लाहका लागि विनम्रतापूर्वक खडा होऊ।} [अल् बकरह: २३८] अल्लाहले भन्नुभएको छः {सूर्य ढल्नेदेखि रातको अँध्यारो छाउनेसम्म नमाज कायम गर र फज्रमा कुरआनको पाठ पनि। निश्चय नै, (फरिश्ता) फज्रको कुरआन-पाठमा उपस्थिति हुन्छ।} [अल् इस्राः ७८] नबी ﷺ ले भन्नुभयो: (रुकूअमा आफ्ना रबको महिमा गर र सज्दामा दुआ गर्न भरपूर प्रयास गर, किनकि त्यो अवस्था दुआ स्वीकार गरिने बढी सम्भावनायुक्त हुन्छ।) (सहीह मुस्लिम)
दोस्रो: जकात दिनु, अल्लाहले मुस्लिमहरूका लागि जकात अनिवार्य गर्नुभएको छ, जसरी उहाँले यसअघिका नबी तथा रसूलहरू (अलैहिमुस्सलाम) का लागि पनि अनिवार्य गर्नुभएको थियो। जकात भनेको अल्लाहले निर्धारण गर्नुभएको सर्त र परिमाणअनुसार धनको निश्चित अंश हो, जुन निश्चित परिमाणभन्दा बढी सम्पत्ति भएका व्यक्तिहरूमाथि अनिवार्य हुन्छ र वर्षमा एक पटक गरिब तथा अन्य हकदारहरूलाई प्रदान गरिन्छ। अल्लाह तआलाले भन्नुभएको छ: {तिनीहरूको धनबाट सदका (जकात) लेऊ, जसद्वारा तिमीले उनीहरूलाई पवित्र र शुद्ध पार्नेछौ, अनि उनीहरूका लागि दुआ गर। निश्चय नै, तिम्रो दुआ उनीहरूका लागि शान्तिको कारण हो। अल्लाह सर्वश्रोता र सर्वज्ञ हुनुहुन्छ।} [अत्ताैबाः १०३] जब नबी ﷺ ले मुआज़ (रजियल्लाहु अन्हु) लाई यमनतर्फ पठाउनुभयो, तब उहाँले उनलाई भन्नुभयो: «निश्चय नै, तिमी त्यस्ता मानिसहरूकहाँ जाँदैछौ, जो किताबवाला हुन्। त्यसैले उनीहरूलाई यस कुराको साक्षी दिन आह्वान गर कि अल्लाहबाहेक कोही सत्य पूज्य छैन र म अल्लाहका रसूल हुँ। यदि उनीहरूले यस कुरामा तिम्रो आज्ञा माने भने, उनीहरूलाई जानकारी देऊ कि अल्लाह अज़्ज व जल्लले उनीहरूमाथि प्रत्येक दिन र रातमा पाँच नमाज अनिवार्य गर्नुभएको छ। यदि उनीहरूले यस कुरामा पनि तिम्रो आज्ञा माने भने, उनीहरूलाई जानकारी देऊ कि अल्लाह अज़्ज व जल्लले उनीहरूको धनमा सदका (जकात) अनिवार्य गर्नुभएको छ, जुन उनीहरूका धनीहरूबाट लिइनेछ र उनीहरूकै गरिबहरूलाई दिइनेछ। यदि उनीहरूले यस कुरामा पनि तिम्रो आज्ञा माने भने, उनीहरूका उत्कृष्ट धनसम्पत्ति लिनबाट बच। र पीडित व्यक्तिको दुआदेखि डराऊ, किनकि त्यस दुआ र अल्लाह अज़्ज व जल्लबीच कुनै पर्दा हुँदैन।» (तिर्मिजी: ६२५)
तेस्रो: रोजा राख्नु, अल्लाह तआलाले मुस्लिमहरूका लागि रोजा अनिवार्य गर्नुभएको छ, जसरी उहाँले यसअघिका नबी तथा रसूलहरू (अलैहिमुस्सलाम) का लागि पनि रोजा अनिवार्य गर्नुभएको थियो। अल्लाह तआलाले भन्नुभएको छ: {हे ईमानवालाहरू! तिमीहरूमाथि रोजा अनिवार्य गरिएको छ, जसरी तिमीहरूभन्दा अघिकाहरूमाथि अनिवार्य गरिएको थियो, ताकि तिमीहरू तक्वा अपनाऊ।} [अल्-बकरह: १८३] रोजा भनेको रमजान महिनाको दिनमा रोजा भङ्ग गर्ने कुराहरूबाट विरत (टाढा) रहनु हो। रोजाले मनमा दृढ इच्छाशक्ति र धैर्यको विकास गर्छ। नबी ﷺ ले भन्नुभयो: «अल्लाह अज़्ज व जल्ल भन्नुहुन्छ: ‘रोजा मेरो लागि हो र म नै यसको प्रतिफल दिनेछु। उसले मेरो खातिर आफ्नो कामेच्छा, आफ्नो खाना र आफ्नो पेय पदार्थ त्याग्छ। रोजा ढाल हो। रोजेदारका लागि दुईवटा खुसी छन्: एउटा खुसी रोजा खोल्दा हुन्छ र अर्को खुसी आफ्नो रबलाई भेट्दा हुन्छ।’» सहीह बुखारी हदीस नं. (७४९२)।
चौथो: हज गर्नु, अल्लाहले मुस्लिमहरूका लागि हज अनिवार्य गर्नुभएको छ, जसरी उहाँले यसअघिका नबी तथा रसूलहरू (अलैहिमुस्सलाम) का लागि पनि हज अनिवार्य गर्नुभएको थियो। अल्लाहले आफ्ना खलील नबी इब्राहीम (अलैहिस्सलाम) लाई हजको घोषणा गर्न आदेश दिनुभयो। अल्लाह तआलाले भन्नुभएको छ: {मानिसहरूमा हजको घोषणा गर। उनीहरू तिमीकहाँ पैदल आउनेछन् र दुब्ला-पातला ऊँटहरूमाथि सवार भएर टाढाटाढाका सबै बाटाहरूबाट आउनेछन्।} [अल् हज्जः २७] अल्लाहले उहाँलाई हज गर्न आउनेहरूका लागि प्राचीन घर (काबा) लाई पवित्र राख्न आदेश दिनुभयो। अल्लाह तआलाले भन्नुभएको छ: {जब हामीले इब्राहीमका लागि यस घरको स्थान निश्चित गरिदियौँ, मेरो साथमा कुनै कुरालाई साझेदार नबनाऊ र मेरो घरलाई तवाफ गर्नेहरू, नमाजका लागि खडा हुनेहरू तथा रुकूअ र सज्दा गर्नेहरूका लागि पवित्र राख।} [अल् हज्जः २६]
हज भनेको सक्षम र सामर्थ्यवान् व्यक्तिले जीवनमा एकपटक निर्धारित कार्यहरू पूरा गर्न मक्का मुकर्रमामा रहेको अल्लाहको घर (काबा) तर्फ जानु हो। अल्लाह तआलाले भन्नुभएको छ: {मानिसहरूमध्ये जो त्यहाँसम्म पुग्ने सामर्थ्य राख्छ, उसका लागि अल्लाहको खातिर यस घरको हज गर्नु अनिवार्य छ। जसले कुफ्र गर्छ, निश्चय नै अल्लाह सम्पूर्ण संसारबाट निरपेक्ष हुनुहुन्छ।} [आलि इमरान: ९७] हजमा मुस्लिम हाजीहरू एउटै स्थानमा भेला हुन्छन् र पवित्र तथा महान् सृष्टिकर्ता अल्लाहको इबादतमा निष्ठावान् हुन्छन्। सबै हाजीहरूले हजका विधिहरू एउटै तरिकाले सम्पन्न गर्छन्। यस क्रममा उनीहरूबीचको वातावरण, संस्कृति र जीवनस्तरको भिन्नता समाप्त हुन्छ।
२४- इस्लाममा इबादतहरूलाई विशिष्ट बनाउने सबैभन्दा महान् विशेषताहरूमध्ये एउटा यो हो कि तिनका विधि, समय र सर्तहरू अल्लाह सुब्हानहु व तआलाले निर्धारण गर्नुभएको छ र उहाँका रसूल ﷺ ले तिनलाई मानिसहरूसम्म पुर्याउनुभएको छ। आजसम्म पनि मानिसहरूले तिनमा न कुनै वृद्धि गरेका छन्, न कुनै कमी। यी सबै महान् इबादतहरूतर्फ सबै नबी तथा रसूलहरू (अलैहिमुस्सलाम) ले आह्वान गरेका थिए।
इस्लाममा इबादतहरूलाई विशिष्ट बनाउने सबैभन्दा महान् विशेषताहरूमध्ये एउटा यो हो कि तिनका विधि, समय र सर्तहरू अल्लाह सुब्हानहु व तआलाले निर्धारण गर्नुभएको छ र उहाँका रसूल ﷺ ले तिनलाई मानिसहरूसम्म पुर्याउनुभएको छ। आजसम्म पनि मानिसहरूले तिनमा न कुनै वृद्धि गरेका छन्, न कुनै कमी। यी सबै महान् इबादतहरूतर्फ सबै नबी तथा रसूलहरू (अलैहिमुस्सलाम) ले आह्वान गरेका थिए। अल्लाहले भन्नुभएको छ: {आज मैले तिमीहरूका लागि तिमीहरूको दीनलाई पूर्ण गरिदिएको छु, तिमीहरूमाथि आफ्नो अनुग्रह पूरा गरिदिएको छु र तिमीहरूका लागि इस्लामलाई दीनका रूपमा रोजेको छु।} [अल् माइदाः ३] अल्लाहले भन्नुभएको छः {त्यसैले तिमीलाई जुन कुरा वह्यद्वारा प्रदान गरिएको छ, त्यसलाई दृढतापूर्वक समातिराख। निश्चय नै, तिमी सीधा मार्गमा छौ।} [अज्जुखरुफः ४३] अल्लाह तआलाले नमाजका बारेमा भन्नुभएको छ: {जब तिमीहरूले नमाज पूरा गरिसक्छौ, तब उभिँदा, बस्दा र आफ्ना करवटहरूमा अल्लाहको जिक्र गर। अनि जब तिमीहरू सुरक्षित अवस्थामा पुग्छौ, तब नमाज कायम गर। निश्चय नै, नमाज मोमिनहरूमाथि निर्धारित समयमा अनिवार्य गरिएको छ।} [अन्निसाः १०३] अल्लाह तआलाले जकातका हकदारहरूका बारेमा भन्नुभएको छ: {निश्चय नै, सदकाहरू गरिबहरू, दरिद्रहरू, तिनको व्यवस्थापनमा खटिएका कर्मचारीहरू, जसका हृदयहरूलाई इस्लामतर्फ आकर्षित गरिँदैछ, दासहरूलाई मुक्त गर्न, ऋणीहरूका लागि, अल्लाहको मार्गमा तथा यात्रामा परेका व्यक्तिहरूका लागि हुन्। यो अल्लाहको तर्फबाट अनिवार्य गरिएको व्यवस्था हो। अल्लाह सर्वज्ञ र अत्यन्त तत्वदर्शी हुनुहुन्छ।} [अत्ताैबाः ६०] अल्लाह तआलाले रोजाको बारेमा भन्नुभएको छ: {रमजान त्यो महिना हो, जसमा कुरआन अवतरण गरिएको हो, जसमा मानिसहरूका लागि मार्गदर्शन तथा सत्य र असत्य छुट्याउने स्पष्ट प्रमाणहरू छन्। अतः तिमीहरूमध्ये जसले यो महिना पाउँछ, उसले यस महिनाको रोजा राखोस्। जो बिरामी छ वा यात्रामा छ, उसले अन्य दिनहरूमा त्यसको सङ्ख्या पूरा गरोस्। अल्लाह तिमीहरूमाथि सहजता चाहनुहुन्छ, कठिनाइ चाहनुहुन्न। ताकि तिमीहरूले निर्धारित सङ्ख्या पूरा गर र उहाँले तिमीहरूलाई जुन मार्गदर्शन दिनुभएको छ, त्यसका लागि अल्लाहको महानता बयान गर, ताकि तिमीहरू कृतज्ञ बन।} [अल्-बकरह: १८५] अल्लाह तआलाले हज्जको बारेमा भन्नुभएको छ: {हजका महिनाहरू निर्धारित छन्। अतः जसले ती महिनाहरूमा हज गर्ने संकल्प गर्छ, उसले हजको अवधिमा न अश्लील कुरा गरोस्, न पापपूर्ण कार्य गरोस् र न विवाद गरोस्। तिमीहरूले जति पनि राम्रो काम गर्छौ, अल्लाह त्यसलाई जान्नुहुन्छ। यात्राका लागि आवश्यक सामग्री साथमा लैजाऊ; निश्चय नै, सबैभन्दा उत्तम यात्रा-सामग्री तक्वा हो। हे बुद्धिमान् मानिसहरू! मसँग डर मान।} [अल्-बकरह: १९७] यी सबै महान् इबादतहरूतर्फ सबै नबी तथा रसूलहरू (अलैहिमुस्सलाम) ले आह्वान गरेका थिए।
२५- इस्लामका रसूल मुहम्मद बिन अब्दुल्लाह (ﷺ) इब्राहीम (अलैहिस्सलाम) का छोरा इस्माईल (अलैहिस्सलाम) का सन्तान हुनुहुन्छ। उहाँको जन्म सन् ५७१ ईस्वीमा मक्कामा भएको थियो। त्यहीँ उहाँलाई रसूल बनाएर पठाइयो र त्यसपछि उहाँले मदिनातर्फ हिजरत गर्नुभयो। उहाँले आफ्ना समुदायसँग मूर्तिपूजासम्बन्धी कार्यहरूमा सहभागिता जनाउनुभएन, तर उनीहरूसँग महान् तथा सद्गुणपूर्ण कार्यहरूमा सहभागी हुनुहुन्थ्यो। उहाँलाई रसूल बनाएर पठाइनुअघि नै उहाँ उच्च नैतिक चरित्रका हुनुहुन्थ्यो र उहाँका समुदायका मानिसहरूले उहाँलाई ‘अल-अमीन’ (विश्वसनीय) भनेर सम्बोधन गर्थे। अल्लाहले उहाँलाई चालीस वर्षको उमेरमा रसूल बनाएर पठाउनुभयो र महान् आयतहरू (चमत्कारहरू) द्वारा उहाँलाई समर्थन गर्नुभयो। तीमध्ये सबैभन्दा महान् पवित्र कुरआन हो। यो नबीहरूका आयतहरूमध्ये सबैभन्दा महान् आयत हो र आजसम्म कायम रहेका नबीहरूका आयतहरूमध्ये बाँकी रहेको आयत हो। जब अल्लाहले उहाँका लागि दीन (धर्म) लाई पूर्ण गर्नुभयो र रसूल ﷺ ले त्यसलाई पूर्ण रूपमा मानिसहरूसम्म पुर्याउनुभयो, तब उहाँको निधन भयो। उहाँको उमेर त्रिसट्ठी वर्ष थियो र उहाँलाई मदिना मुनव्वरामा दफन गरियो। रसूल मुहम्मद ﷺ सम्पूर्ण नबी तथा रसूलहरूमध्ये अन्तिम रसूल हुनुहुन्छ। अल्लाहले उहाँलाई मार्गदर्शन र सत्य दीनसहित पठाउनुभयो, ताकि उहाँले मानिसहरूलाई मूर्तिपूजा, कुफ्र र अज्ञानताको अन्धकारबाट तौहीद र ईमानको प्रकाशतर्फ निकाल्न सकून्। अल्लाहले उहाँका बारेमा साक्षी दिनुभएको छ कि उहाँले आफ्नै अनुमतिले मानिसहरूलाई उहाँतर्फ आह्वान गर्न पठाउनुभएको हो।
इस्लामका रसूल मुहम्मद बिन अब्दुल्लाह (ﷺ) इब्राहीम (अलैहिस्सलाम) का छोरा इस्माईल (अलैहिस्सलाम) का सन्तान हुनुहुन्छ। उहाँको जन्म सन् ५७१ ईस्वीमा मक्कामा भएको थियो। त्यहीँ उहाँलाई रसूल बनाएर पठाइयो र त्यसपछि उहाँले मदिनातर्फ हिजरत गर्नुभयो। उहाँले आफ्ना समुदायसँग मूर्तिपूजासम्बन्धी कार्यहरूमा सहभागिता जनाउनुभएन, तर उनीहरूसँग महान् तथा सद्गुणपूर्ण कार्यहरूमा सहभागी हुनुहुन्थ्यो। उहाँलाई रसूल बनाएर पठाइनुअघि नै उहाँ उच्च नैतिक चरित्रका हुनुहुन्थ्यो। अल्लाह तआलाले उहाँका बारेमा भन्नुभएको छ: {निश्चय नै, तिमी महान् नैतिक चरित्रमा छौ।} [अल् कलमः ४] अल्लाहले उहाँलाई चालीस वर्षको उमेरमा रसूल बनाएर पठाउनुभयो र महान् आयतहरू (चमत्कारहरू) द्वारा उहाँलाई समर्थन गर्नुभयो। तीमध्ये सबैभन्दा महान् पवित्र कुरआन हो। उहाँका रसूल ﷺ ले भन्नुभयो: «सबै नबीहरूलाई त्यस्ता चमत्कारहरू दिइएको थियो, जसका कारण मानिसहरूले ईमान ल्याए। तर मलाई दिइएको विशेष कुरा भनेको त्यो वह्य हो, जुन अल्लाहले ममाथि अवतरण गर्नुभएको छ। त्यसैले म आशा गर्दछु कि कियामतको दिन मेरा अनुयायीहरू सबै नबीहरूका अनुयायीहरूमध्ये सबैभन्दा धेरै हुनेछन्।» (सहीह बुखारी) महान् कुरआन उहाँका रसूल ﷺ माथि अल्लाहले अवतरण गर्नुभएको वह्य हो। अल्लाह तआलाले यसको बारेमा भन्नुभएको छ: {यो त्यो किताब हो, जसमा कुनै शङ्का छैन। यो तक्वा अपनाउनेहरूका लागि मार्गदर्शन हो।} [अल्-बकरह: २] अल्लाह तआलाले यसको बारेमा भन्नुभएको छ: {के उनीहरूले कुरआनमा गहिरो चिन्तन गर्दैनन्? यदि यो अल्लाहबाहेक अरू कसैको तर्फबाट भएको भए, उनीहरूले यसमा धेरै विरोधाभासहरू पाउने थिए।} [अन्निसाः ८२] अल्लाहले जिन्न र मानिसहरूलाई कुरआनजस्तै केही ल्याउन चुनौती दिनुभयो। अल्लाह तआलाले भन्नुभएको छ: {भनिदेऊ: यदि मानिस र जिन्न सबै मिलेर यस कुरआनजस्तै केही ल्याउन एकजुट भए पनि, उनीहरूले यसको जस्तै केही ल्याउन सक्ने छैनन्, चाहे उनीहरूले एक-अर्कालाई सहयोग नै किन नगरून्।} [अल् इस्राः ८८] अल्लाहले उनीहरूलाई कुरआनजस्तै दसवटा सूरा ल्याउन चुनौती दिनुभयो। अल्लाह तआलाले भन्नुभएको छ: {वा उनीहरू भन्छन्, ‘उसले यो आफैँ बनाएको हो।’ भनिदेऊ: ‘त्यसो भए तिमीहरु त्यसैजस्ता बनाइएका दसवटा सूरा ल्याऊ र अल्लाहबाहेक जसलाई सक्छौ, सहयोगका लागि बोलाऊ, यदि तिमीहरू सत्यवादी हौ भने।’} (हूदः १३) बरु, अल्लाहले उनीहरूलाई कुरआनजस्तै एउटा मात्र सूरा ल्याउन चुनौती दिनुभयो। अल्लाह तआलाले भन्नुभएको छ: {हामीले आफ्ना बन्दामाथि अवतरण गरेको कुराबारे तिमीहरूलाई कुनै शङ्का छ भने, त्यसैजस्तै एउटा मात्र सूरा ल्याऊ र अल्लाहबाहेक आफ्ना सबै सहयोगीहरूलाई बोलाऊ, यदि तिमीहरू सत्यवादी हौ भने।} [अल्-बकरह: २३]
कुरआन नबीहरूका चमत्कारहरूमध्ये आजसम्म बाँकी रहेको एकमात्र चमत्कार हो। जब अल्लाहले आफ्ना रसूल ﷺ का लागि धर्मलाई पूर्ण गर्नुभयो र उहाँले सन्देश पूर्ण रूपमा पुर्याउनुभयो, तब रसूल ﷺ को निधन भयो। त्यसबेला उहाँको उमेर ६३ वर्ष थियो। उहाँलाई मदीना मुनव्वरामा दफन गरियो।
रसूल मुहम्मद ﷺ नै सम्पूर्ण नबीहरू र रसूलहरूको समापक (अन्तिम नबी) हुनुहुन्छ। अल्लाह तआलाले भन्नुभएको छ: {मुहम्मद तिमीहरूमध्काये कुनै पुरुषका पिता होइनन्, तर उहाँ अल्लाहका रसूल र नबीहरूका अन्तिम हुनुहुन्छ। अल्लाह हरेक कुराबारे सर्वज्ञ हुनुहुन्छ।} (अल् अहजाबः ४०) अबू हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: «म र मभन्दा अघिका नबीहरूको उदाहरण एउटा यस्तो मानिसको जस्तै हो, जसले एउटा घर बनायो र त्यसलाई सुन्दर तथा आकर्षक बनायो, तर एउटा कुनामा एउटा इँटाको ठाउँ खाली छोड्यो। त्यसपछि मानिसहरू त्यस घरको वरिपरि घुम्न थाले र त्यसको सुन्दरताबाट प्रभावित हुँदै भन्न थाले: ‘यहाँ यो इँटा किन नराखिएको होला?’ उहाँले भन्नुभयो: ‘म नै त्यो इँटा हुँ र म नै नबीहरूको अन्तिम हुँ।’» (सहीह बुखारी) इन्जीलमा मसीह (अलैहिस्सलाम) ले मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को आगमनको शुभसूचना दिँदै भन्नुभएको छ: (“जुन ढुङ्गालाई निर्माणकर्ताहरूले अस्वीकार गरेका थिए, त्यही भवनको मुख्य ढुङ्गा बनेको छ। के तिमीहरूले कहिल्यै किताबहरूमा पढेका छैनौ: ‘येशूले उनीहरूलाई भन्नुभयो, प्रभुको तर्फबाट यही भएको हो र यो हाम्रो आँखामा अचम्मलाग्दो छ।’”) आज विद्यमान तौरातमा अल्लाहले मूसा (अलैहिस्सलाम) लाई भन्नुभएको कुरा उल्लेख गरिएको छ: “म उनीहरूका लागि उनीहरूका दाजुभाइहरूमध्ये तिमी जस्तै एक जना नबी खडा गर्नेछु र मेरो वचन उसको मुखमा राख्नेछु। अनि मैले उसलाई जे आदेश दिनेछु, उसले उनीहरूलाई त्यही कुरा बताउनेछ।”
रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई अल्लाहले मार्गदर्शन र सत्य धर्मसहित पठाउनुभयो। उहाँ सत्यमा हुनुहुन्छ भनी अल्लाहले साक्षी दिनुभएको छ। उहाँलाई आफ्नै अनुमतिले त्यसतर्फ आह्वान गर्ने व्यक्तिका रूपमा पठाउनुभएको कुरा पनि प्रमाणित नुभएको छ। अल्लाह तआलाले भन्नुभएको छ: {तर अल्लाहले तपाईंमाथि अवतरण गर्नुभएको कुरआनको साक्षी दिनुहुन्छ। उहाँले यसलाई आफ्नो ज्ञानअनुसार अवतरण गर्नुभएको हो र फरिश्ताहरूले पनि यसको साक्षी दिन्छन्। अनि साक्षीका रूपमा अल्लाह नै पर्याप्त हुनुहुन्छ।} [अन्निसाः १६६] अल्लाहले भन्नुभएको छः {उहाँ नै हुनुहुन्छ, जसले आफ्ना रसूललाई मार्गदर्शन र सत्य धर्मसहित पठाउनुभएको हो, ताकि उहाँले त्यसलाई सबै धर्महरूमाथि प्रभुत्वशाली बनाउनुहोस् र साक्षीका रूपमा अल्लाह नै पर्याप्त हुनुहुन्छ।} [अल् फतहः २८] अल्लाहले उहाँलाई मार्गदर्शनसहित पठाउनुभयो, ताकि उहाँले मानिसहरूलाई मूर्तिपूजा, कुफ्र र अज्ञानताका अन्धकारहरूबाट तौहीद र ईमानको प्रकाशतर्फ डोर्याउन्। अल्लाह तआलाले भन्नुभएको छ: अल्लाहले आफ्नो प्रसन्नताको अनुसरण गर्नेहरूलाई यसद्वारा शान्तिका मार्गहरूतर्फ मार्गदर्शन गर्नुहुन्छ र आफ्नो अनुमतिले उनीहरूलाई अन्धकारहरूबाट प्रकाशतर्फ निकाल्नुहुन्छ र उनीहरूलाई सीधा मार्गतर्फ मार्गदर्शन गर्नुहुन्छ।} [अल् माइदाः १६] अल्लाहले भन्नुभएको छः {अलिफ्-लाम्-रा। यो एउटा किताब हो, जसलाई हामीले तपाईंमाथि अवतरण गरेका छौं, ताकि तपाईंले आफ्ना पालनकर्ताको अनुमतिले मानिसहरूलाई अन्धकारहरूबाट प्रकाशतर्फ, अर्थात् सर्वशक्तिमान् र प्रशंसनीय अल्लाहको मार्गतर्फ निकाल्नुहोस्।} [इब्राहीमः १]
२६- रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले ल्याउनुभएको इस्लामी शरीअत दिव्य सन्देशहरू र रब्बानी शरीअतहरूको अन्तिम शरीअत हो। यो परिपूर्ण शरीअत हो, जसमा मानिसहरूको धर्म र सांसारिक जीवन दुवैको कल्याण निहित छ। यसले विशेष रूपमा मानिसहरूको धर्म, जीवन, धनसम्पत्ति, बुद्धि र सन्तानको संरक्षण गर्दछ। यो अघिल्ला सबै शरीअतहरूलाई निरस्त गर्ने शरीअत हो, जसरी अघिल्ला शरीअतहरूले पनि एक-अर्कालाई निरस्त गर्दै आएका थिए।
रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले ल्याउनुभएको इस्लामी शरीअत दिव्य सन्देशहरू र रब्बानी शरीअतहरूको अन्तिम शरीअत हो। अल्लाहले यस शरीअतद्वारा दीनलाई पूर्ण गर्नुभयो र रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को आगमनद्वारा मानिसहरूमाथि आफ्नो अनुग्रह पूर्ण गर्नुभयो। अल्लाह तआलाले भन्नुभएको छ: {आज मैले तिमीहरूका लागि तिमीहरूको दीन पूर्ण गरिदिएको छु, तिमीहरूमाथि आफ्नो अनुग्रह पूर्ण गरिदिएको छु र तिमीहरूका लागि इस्लामलाई दीनका रूपमा रोजेको छु।} [अल् माइदाः ३]
इस्लामी शरीअत परिपूर्ण शरीअत हो, जसमा मानिसहरूको दीन र सांसारिक जीवन दुवैको कल्याण निहित छ। यसले अघिल्ला शरीअतहरूमा रहेका सबै मूलभूत कुराहरूलाई समेट्दै तिनलाई अझ परिपूर्ण बनाएको छ। अल्लाह तआलाले भन्नुभएको छ: {निश्चय नै, यो कुरआनले सबैभन्दा सीधा र उत्तम मार्गतर्फ मार्गदर्शन गर्छ र सत्कर्म गर्ने ईमानवालाहरूका लागि ठूलो प्रतिफल रहेको शुभसूचना दिन्छ।} [अल् इस्राः ९] इस्लामी शरीअतले अघिल्ला समुदायहरूमाथि रहेका कठिन बोझ र बन्धनहरू मानिसहरूबाट हटाइदिएको छ। अल्लाह तआलाले भन्नुभएको छ: {ती मानिसहरू, जो उम्मी नबी र रसूलको अनुसरण गर्छन्, जसलाई उनीहरूले आफ्नो साथमा रहेको तौरात र इन्जीलमा लेखिएको पाउँछन्। उहाँले उनीहरूलाई सत्कर्मको आदेश दिनुहुन्छ, दुष्कर्मबाट रोक्नुहुन्छ, उनीहरूका लागि पवित्र तथा असल चीजहरूलाई हलाल गर्नुहुन्छ र अपवित्र तथा खराब चीजहरूलाई हराम गर्नुहुन्छ। उहाँले उनीहरूमाथि रहेका बोझहरू र उनीहरूमाथि लगाइएका बन्धनहरू हटाउनुहुन्छ। अतः जो मानिसहरू उहाँमाथि ईमान ल्याए, उहाँको सम्मान गरे, उहाँलाई सहयोग गरे र उहाँसँग अवतरित गरिएको प्रकाशको अनुसरण गरे, तिनीहरू नै सफल हुनेहरू हुन्।} [अल् अअराफः १५७]
इस्लामी शरीअत अघिल्ला सबै शरीअतहरूलाई निरस्त गर्ने शरीअत हो। अल्लाह तआलाले भन्नुभएको छ: {हामीले तपाईंमाथि सत्यसहित यो किताब अवतरण गरेका छौँ, जसले यसअघि अवतरित भएका किताबहरूको पुष्टि गर्छ र तिनको संरक्षक पनि हो। त्यसैले तपाईं उनीहरूबीच अल्लाहले अवतरण गर्नुभएको कुराअनुसार फैसला गर्नुहोस् र तपाईंमाथि अवतरित सत्यलाई छोडेर उनीहरूका इच्छाहरूको अनुसरण नगर्नुहोस्। हामीले तिमीहरूमध्ये प्रत्येकका लागि एउटा शरीअत र एउटा मार्ग तय गरेका छौँ। यदि अल्लाहले चाहनुभएको भए, उहाँले तिमीहरू सबैलाई एउटै समुदाय बनाउन सक्नुहुन्थ्यो; तर उहाँले तिमीहरूलाई आफूले प्रदान गर्नुभएको कुरामार्फत परीक्षा लिन चाहनुभयो। त्यसैले सत्कर्महरूमा एक-अर्काभन्दा अघि बढ। तिमीहरू सबैको फर्किने ठाउँ अल्लाहतर्फ नै हो। त्यसपछि तिमीहरू जुन विषयमा मतभेद गर्ने गर्दथ्यौ, उहाँले तिमीहरूलाई त्यसबारे अवगत गराउनुहुनेछ।} [अल् माइदः ४८] कुरआन करीममा समेटिएको शरीअत यसअघि अवतरित भएका दिव्य किताबहरूको पुष्टि गर्दै, तिनमाथि निर्णायक रक्षकका रूपमा र तिनमा रहेका पूर्ववर्ती शरीअतहरूलाई निरस्त गर्ने गरी आएको हो।
२७- अल्लाह सुब्हानहु व तआलाले रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले ल्याउनुभएको इस्लामबाहेक कुनै अन्य दीन स्वीकार गर्नुहुन्न। जसले इस्लामबाहेक अन्य कुनै दीनलाई अपनाउँछ, त्यसबाट त्यो दीन कहिल्यै स्वीकार गरिनेछैन।
रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को आगमनपछि अल्लाह सुब्हानहु व तआलाले रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले ल्याउनुभएको इस्लामबाहेक कुनै अन्य दीन स्वीकार गर्नुहुन्न। जसले इस्लामबाहेक अन्य कुनै दीन खोज्छ, त्यसबाट त्यो कहिल्यै स्वीकार गरिनेछैन। अल्लाहले भन्नुभएको छ: {जसले इस्लामबाहेक अन्य कुनै दीन खोज्छ, त्यसबाट त्यो कहिल्यै स्वीकार गरिनेछैन, र ऊ आख़िरतमा घाटा व्यहोर्नेहरूमध्ये हुनेछ।} [आलि इमरान: ८५] अल्लाहले भन्नुभएको छः {निश्चय नै, अल्लाहको दृष्टिमा स्वीकार्य दीन इस्लाम नै हो। जसलाई किताब प्रदान गरिएको थियो, उनीहरूले ज्ञान उनीहरूसमक्ष आइसकेपछि मात्र आपसमा हठ र विद्रोहका कारण मतभेद गरे। जसले अल्लाहका आयतहरूलाई अस्वीकार गर्छ, निश्चय नै, अल्लाह शीघ्र हिसाब लिनुहुन्छ।} [आलि इमरान: १९] यो इस्लाम नै इब्राहीम (अलैहिस्सलाम) को धर्म हो। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {आफूलाई मूर्ख बनाउने व्यक्तिबाहेक अरू को इब्राहीमको मिल्लतबाट विमुख हुन सक्छ र? निश्चय नै, हामीले उनलाई यस संसारमा चयन गरेका थियौँ, र निश्चय नै, परलोकमा उनी सत्कर्मीहरूमध्ये हुनेछन्।} [अल्-बकरह: १३०] अल्लाहले भन्नुभएको छः {जसले अल्लाहसामु आफूलाई समर्पित गरेको छ, सत्कर्मी बनेको छ र एकनिष्ठ भएर इब्राहीमको मिल्लतको अनुसरण गरेको छ, त्यसभन्दा उत्तम दीन भएको अरू को हुन सक्छ र? र अल्लाहले इब्राहीमलाई आफ्नो घनिष्ठ मित्र बनाउनुभएको छ।} [अन्निसाः १२५] अल्लाहले रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई यो भन्न आदेश दिनुभयो: {भन्नुहोस्: “निश्चय नै, मेरा पालनकर्ताले मलाई सीधा मार्गतर्फ, सुदृढ दीनतर्फ र इब्राहीमको एकनिष्ठ मिल्लततर्फ मार्गदर्शन गर्नुभएको छ। र उनी मुश्रिकहरूमध्ये थिएनन्।”} [अल् अनआमः १६१]
२८- कुरआन करीम त्यो किताब हो, जसलाई अल्लाहले रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि अवतरण गर्नुभएको हो। यो सम्पूर्ण संसारका पालनकर्ताको वाणी हो। अल्लाहले मानिस र जिन्नलाई यसको जस्तै कुनै किताब वा यसको एउटा सूराजस्तै केही ल्याउन चुनौती दिनुभएको छ, र यो चुनौती आजसम्म पनि कायम छ। कुरआन करीमले करोडौँ मानिसहरूलाई अलमलमा पार्ने धेरै महत्त्वपूर्ण प्रश्नहरूको उत्तर दिन्छ। महान् कुरआन आजसम्म त्यही अरबी भाषामा सुरक्षित छ, जुन भाषामा यो अवतरण भएको थियो। यसको एउटा अक्षर पनि घटेको छैन। यो मुद्रित तथा प्रकाशित रूपमा उपलब्ध छ। यो एउटा महान् र चमत्कारपूर्ण किताब हो, जसलाई पढ्न तथा यसको अर्थहरूको अनुवाद पढ्न योग्य छ। त्यसैगरी, रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत, उहाँका शिक्षाहरू र उहाँको जीवनचरित्र पनि सुरक्षित छन् र विश्वसनीय वर्णनकर्ताहरूको शृङ्खलामार्फत हामीसम्म आइपुगेका छन्। ती रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बोल्नुभएको अरबी भाषामै मुद्रित छन् र धेरै भाषाहरूमा अनुवाद गरिएका छन्। कुरआन करीम र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत नै इस्लामका आदेश र विधानहरूको एकमात्र स्रोत हुन्। त्यसैले इस्लामलाई त्यससँग सम्बद्ध व्यक्तिहरूका व्यक्तिगत व्यवहारबाट ग्रहण गरिँदैन; बरु यसलाई दिव्य वही—महान् कुरआन र नबवी सुन्नत—बाट ग्रहण गरिन्छ।
कुरआन करीम त्यो किताब हो, जसलाई अल्लाहले अरबी रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि अरबी भाषामा वही गर्नुभएको हो। यो सम्पूर्ण संसारका पालनकर्ताको वाणी हो। अल्लाह तआलाले भन्नुभएको छ: {निश्चय नै, यो सम्पूर्ण संसारका पालनकर्ताबाट अवतरित ग्रन्थ हो। जसलाई अमानतदार रूह (जिब्रील) ले अवतरण गराएका हुन्। तपाईंको हृदयमाथि, ताकि तपाईं चेतावनी दिनेहरूमध्ये हुनुहोस्। स्पष्ट अरबी भाषामा।} [अश्-शुअरा: १९२–१९५] अल्लाहले भन्नुभएको छः {निश्चय नै, तपाईंलाई कुरआन सर्वज्ञ तथा प्रज्ञावान्को तर्फबाट प्रदान गरिँदैछ।} [अन्नमलः ६] यो कुरआन अल्लाहको तर्फबाट अवतरित भएको हो र यसअघि अवतरित भएका दिव्य किताबहरूको पुष्टि गर्ने हो। अल्लाहले भन्नुभएको छ: {यो कुरआन अल्लाहबाहेक अरू कसैद्वारा रचिएको हुन सक्दैन। बरु, यो यसअघि अवतरित भएका किताबहरूको पुष्टि गर्ने र किताबका विषयवस्तुहरूलाई स्पष्ट रूपमा व्याख्या गर्ने हो। नि:सन्यदेह, यो सम्पूर्ण संसारका पालनकर्ताको तर्फबाट हो।} [यूनुसः ३७] यहूदी र ईसाईहरूले आफ्नो धर्मका विषयमा जुन धेरै कुरामा मतभेद गरेका थिए, कुरआन करीमले तीमध्ये धेरै समस्याहरूको समाधान प्रस्तुत गर्दछ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {निस्सन्देह, यो कुरआनले बनी इस्राईललाई उनीहरूले जसमा मतभेद गरिरहेका छन्, त्यसका अधिकांश कुराहरूको वास्तविकता बताउँछ।} [अन्नमलः ७६] कुरआनमा अल्लाह सुब्हानहु व तआला, उहाँको दीन र उहाँको प्रतिफलसँग सम्बन्धित वास्तविकताहरूको ज्ञान गराउने यस्ता प्रमाण र तर्कहरू समेटिएका छन्, जसद्वारा सम्पूर्ण मानवजातिमाथि प्रमाण स्थापित हुन्छ। अल्लाह तआलाले भन्नुभएको छ: {निश्चय नै, हामीले यस कुरआनमा मानिसहरूका लागि हरेक प्रकारका उदाहरण प्रस्तुत गरेका छौँ, ताकि उनीहरूले उपदेश ग्रहण गरून्।} [अज्जुमरः २७] अल्लाहले भन्नुभएको छ: {हामीले तपाईंमाथि यो किताब अवतरण गरेका छौँ, जसमा हरेक कुराको स्पष्ट विवरण, मार्गदर्शन, दया र मुस्लिमहरूका लागि शुभसूचना छ।} (अन्नहलः ८९)
कुरआन करीमले करोडौँ मानिसहरूलाई अलमलमा पार्ने धेरै महत्त्वपूर्ण प्रश्नहरूको उत्तर दिन्छ। कुरआन करीमले अल्लाहले आकाशहरू र पृथ्वीलाई कसरी सृष्टि गर्नुभयो भन्ने कुरा स्पष्ट पार्छ। अल्लाह तआलाले भन्नुभएको छ: {के काफिरहरूले देखेनन् कि आकाशहरू र पृथ्वी एकसाथ जोडिएका थिए, अनि हामीले तिनलाई अलग गरिदियौँ, र पानीबाट हरेक जीवित चीज सृष्टि गर्यौँ? के उनीहरू ईमान ल्याउँदैनन्?} [अल् अम्बियाः ३०] अल्लाहले मानिसलाई कसरी सृष्टि गर्नुभयो, त्यसबारे अल्लाह तआलाले भन्नुभएको छ: {हे मानिसहरू! यदि तिमीहरू पुनरुत्थानको बारेमा शङ्कामा छौ भने, निश्चय नै हामीले तिमीहरूलाई माटोबाट, त्यसपछि वीर्यबाट, त्यसपछि अलकाबाट, अनि पूर्ण र अपूर्ण आकारको मासुको डल्लोबाट सृष्टि गरेका छौँ, ताकि हामी तिमीहरूका लागि स्पष्ट पारौँ। हामी गर्भाशयहरूमा हामीले चाहेको कुरालाई निश्चित समयसम्म राख्छौँ। त्यसपछि हामी तिमीहरूलाई शिशुका रूपमा बाहिर निकाल्छौँ, अनि तिमीहरू आफ्नो पूर्ण शारीरिक अवस्थासम्म पुग। तिमीहरूमध्ये कसैको मृत्यु हुन्छ र तिमीहरूमध्ये कोही यस्तो वृद्धावस्थामा पुर्याइन्छ, जहाँ ज्ञान प्राप्त गरिसकेपछि पनि उसले केही कुरा जान्न नसक्ने हुन्छ। तिमी पृथ्वीलाई सुख्खा र निर्जीव देख्छौ; तर जब हामी त्यसमा पानी वर्षाउँछौँ, तब त्यो चलायमान हुन्छ, फुल्छ र हरेक प्रकारका मनमोहक वनस्पति उम्राउँछ।} (अल्-हज्ज: ५)। मानिसको अन्तिम गन्तव्य कहाँ हो? र यस सांसारिक जीवनपछि सत्कर्मी र दुष्कर्मीहरूको परिणाम के हुन्छ? यी सबै विषयमा अनुच्छेद नं. (२०) मा प्रमाणहरू उल्लेख भइसकेका छन्। साथै, यो ब्रह्माण्ड यत्तिकै संयोगवश अस्तित्वमा आएको हो कि यसको पछाडि कुनै महान् र सम्मानित उद्देश्य छ? अल्लाहले भन्नुभएको छ: {के उनीहरूले आकाशहरू र पृथ्वीको राज्यसत्ता तथा अल्लाहले सृष्टि गर्नुभएका सम्पूर्ण वस्तुहरूमा विचार गर्दैनन्? सायद उनीहरूको म्याद नजिक आइसकेको हुन सक्छ। त्यसपछि उनीहरू यस (कुरआन) बाहेक अरू कुन कुरामा ईमान ल्याउनेछन्?} [अल् अअराफः १८५] अल्लाहले भन्नुभएको छ: {के तिमीहरूले यो ठानेका छौ कि हामीले तिमीहरूलाई व्यर्थमा सृष्टि गरेका हौँ र तिमीहरूलाई हामीकहाँ फर्काइनेछैन?} [अल् मुमिनूनः ११५]
कुरआन आजसम्म त्यही भाषामा सुरक्षित छ, जुन भाषामा यो अवतरित भएको थियो। अल्लाह तआलाले भन्नुभएको छ: {निश्चय नै, हामीले नै यो कुरआन अवतरण गरेका हौँ र निश्चय नै, हामी नै यसको संरक्षण गर्नेछौँ।} [अल् हिज्रः ९] यसबाट एउटा अक्षर पनि घटेको छैन र यसमा कुनै विरोधाभास, कमी वा परिवर्तन हुनु असम्भव छ। अल्लाह तआलाले भन्नुभएको छ: {के उनीहरू कुरआनमा गहिरो चिन्तन गर्दैनन्? यदि यो अल्लाहबाहेक अरू कसैको तर्फबाट भएको भए, उनीहरूले यसमा धेरै विरोधाभासहरू पाउने थिए।} [अन्निसाः ८२] यो मुद्रित तथा प्रकाशित रूपमा उपलब्ध छ। यो एक महान्, चमत्कारपूर्ण किताब हो, जसलाई पढ्न वा सुन्न अथवा यसको अर्थहरूको अनुवाद पढ्न योग्य छ। त्यसैगरी, रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत, उहाँका शिक्षाहरू र उहाँको जीवनचरित्र पनि सुरक्षित छन् र विश्वसनीय वर्णनकर्ताहरूको शृङ्खलामार्फत हामीसम्म आइपुगेका छन्। ती रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बोल्नुभएको अरबी भाषामै मुद्रित छन् र धेरै भाषाहरूमा अनुवाद गरिएका छन्। कुरआन करीम र रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत नै इस्लामका आदेश तथा विधानहरूको एकमात्र स्रोत हुन्। त्यसैले इस्लामलाई यससँग सम्बद्ध व्यक्तिहरूका व्यवहारबाट ग्रहण गरिँदैन; बरु, यसलाई त्रुटिरहित दिव्य वही—महान् कुरआन र नबवी सुन्नत—बाट ग्रहण गरिन्छ। कुरआनको सम्बन्धमा अल्लाह तआलाले भन्नुभएको छ: {निस्सन्देह, जसले उपदेश उनीहरूसमक्ष आएपछि त्यसको इन्कार गरे, उनीहरूलाई अवश्य दण्ड दिइनेछ। निश्चय नै, यो एक शक्तिशाली किताब हो। यसका अगाडिबाट न असत्य यसमा प्रवेश गर्न सक्छ, न पछाडिबाट नै। यो प्रज्ञावान् र प्रशंसनीय अल्लाहबाट अवतरित भएको हो।} [फुस्सिलतः ४१-४२] सर्वशक्तिमान् अल्लाहले रसूलको सुन्नतका सम्बन्धमा पनि भन्नुभएको छ, यो अल्लाहको तर्फबाट आएको वही हो: {रसूलले तिमीहरूलाई जे दिनुभएको छ, त्यो ग्रहण गर, र उहाँले तिमीहरूलाई जुन कुराबाट रोक्नुभएको छ, त्यसबाट रोकिऊ। र अल्लाहसँग डराऊ। निश्चय नै, अल्लाह दण्ड दिनमा कठोर हुनुहुन्छ।} [अल् हश्रः ७]
२९- इस्लामले आमाबुबा मुस्लिम नभए पनि उनीहरूसँग सद्व्यवहार गर्न तथा आफ्ना सन्तानको उचित हेरचाह र पालनपोषण गर्न आदेश दिन्छ।
इस्लामले आमाबुबासँग सद्व्यवहार गर्न आदेश दिन्छ। अल्लाह तआलाले भन्नुभएको छ: {तिम्रो पालनकर्ताले आदेश दिनुभएको छ, उहाँबाहेक अरू कसैको उपासना नगर र आमाबुबासँग सद्व्यवहार गर। यदि तिनीहरूमध्ये एक जना वा दुवै जना तिम्रो सामु वृद्धावस्थामा पुग्छन् भने तिनीहरूलाई ‘उफ्’ समेत नभन, न त तिनीहरूलाई झपार; बरु तिनीहरूसँग सम्मानपूर्वक कुरा गर।} [अल् इस्राः २३] अल्लाहले भन्नुभएको छः {हामीले मानिसलाई आफ्ना आमाबुबासँग सद्व्यवहार गर्न आदेश दिएका छौँ। उसकी आमाले उसलाई कमजोरीमाथि कमजोरी सहँदै गर्भमा बोकिन् र उसको दूध छुटाउने अवधि दुई वर्षको हो। अतः तिमी मप्रति र आफ्ना आमाबुबाप्रति कृतज्ञ बन। अन्ततः मतिर नै फर्केर आउनु छ।} [लुकमानः १४] अल्लाहले भन्नुभएको छः {हामीले मानिसलाई आफ्ना आमाबुबासँग सद्व्यवहार गर्न आदेश दिएका छौँ। उसकी आमाले उसलाई कष्टका साथ गर्भमा बोकिन् र कष्टकै साथ जन्माइन्। उसको गर्भधारण र दूध छुटाउने अवधि तीस महिना हो। अन्ततः जब ऊ आफ्नो पूर्ण परिपक्वतामा पुग्छ र चालीस वर्षको हुन्छ, तब उसले भन्छ: “हे मेरा पालनकर्ता! मलाई प्रेरणा दिनुहोस्, ताकि मैले ममाथि र मेरा आमाबुबामाथि गर्नुभएको आफ्नो अनुग्रहप्रति कृतज्ञ हुन सकूँ र तपाईंलाई मन पर्ने सत्कर्म गर्न सकूँ। मेरा सन्तानलाई पनि मेरो लागि सदाचारी बनाइदिनुहोस्। निश्चय नै, म तपाईंतिर तौबा गर्छु र निश्चय नै, म मुस्लिमहरूमध्ये हुँ।”} (अल् अहकाफः १५) अबू हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गर्नुभएको छ: एक जना मानिस अल्लाहका रसूल ﷺ कहाँ आएर सोध्यो, “हे अल्लाहका रसूल! मेरो राम्रो व्यवहार र संगतको सबैभन्दा बढी हकदार को हो?” उहाँ ﷺ ले भन्नुभयो, “तिम्री आमा।” उसले सोध्यो, “त्यसपछि को?” उहाँ ﷺ ले भन्नुभयो, “त्यसपछि तिम्री आमा।” उसले फेरि सोध्यो, “त्यसपछि को?” उहाँ ﷺ ले भन्नुभयो, “त्यसपछि तिम्री आमा।” उसले फेरि सोध्यो, “त्यसपछि को?” उहाँ ﷺ ले भन्नुभयो, “त्यसपछि तिम्रा बुबा।” (सहीह मुस्लिम)
आमाबुबा मुस्लिम हुन् वा गैर-मुस्लिम, दुवै अवस्थामा उनीहरूसँग सद्व्यवहार गर्न आदेश दिइएको छ। अस्मा बिन्त अबू बक्र (रजियल्लाहु अन्हा) ले भन्नुभयो: “मेरी आमा मुश्रिका अवस्थामा, कुरैश र उनीहरूका सहयोगीहरूसँग भएको सन्धिको समयमा, आफ्ना छोरासँगै मकहाँ आइन्, जुन बेला उनीहरूले नबी ﷺ सँग सन्धि गरेका थिए। मैले नबी ﷺ सँग यसबारे सोधेँ र भनेँ: ‘मेरी आमा मकहाँ आएकी छिन् र उनी मसँग सद्व्यवहार चाहन्छिन्। के मैले उनीसँग सम्बन्ध कायम राखूँ?’ उहाँ ﷺ ले भन्नुभयो: ‘हो, आफ्नी आमासँग सम्बन्ध कायम राख।’” (सहीह बुखारी) बरु, यदि आमाबुबाले आफ्नो सन्तानलाई इस्लामबाट कुफ्रतर्फ फर्काउन प्रयास गरे र त्यसका लागि जोड दिए भने पनि, यस्तो अवस्थामा इस्लामले सन्तानलाई उनीहरूको आज्ञापालन नगर्न, अल्लाहमाथि ईमान कायम राख्न, उनीहरूसँग सद्व्यवहार गर्न र सांसारिक व्यवहारमा उनीहरूसँग राम्रो तरिकाले साथ दिन आदेश दिएको छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {यदि तिनीहरू दुवैले तिमीलाई मेरो साझेदार ठहराउन दबाब दिन्छन्, जुन कुराको तिमीलाई कुनै ज्ञान छैन, भने तिनीहरूको आज्ञापालन नगर। तर संसारमा उनीहरूसँग सद्व्यवहारकासाथ साथ देऊ र मतिर फर्कने व्यक्तिको मार्ग अनुसरण गर। त्यसपछि तिमीहरू सबैको फर्केर आउने ठाउँ मतिर नै हो। अनि तिमीहरूले गर्दै आएका कर्महरूबारे म तिमीहरूलाई अवगत गराउनेछु।} [लुकमानः १५]
इस्लामले मुस्लिमलाई आफ्ना मुश्रिक आफन्तहरू वा अन्य गैर-मुस्लिमहरूसँग, यदि उनीहरू उसँग युद्धरत छैनन् भने, सद्व्यवहार गर्न निषेध गर्दैन। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {जसले धर्मको विषयमा तिमीहरूसँग युद्ध गरेका छैनन् र तिमीहरूलाई तिम्रा घरहरूबाट निकालेका छैनन्, उनीहरूसँग सद्व्यवहार गर्न र न्यायपूर्ण व्यवहार गर्नबाट अल्लाहले तिमीहरूलाई रोक्नुहुन्न। निश्चय नै, अल्लाह न्याय गर्नेहरूलाई प्रेम गर्नुहुन्छ।} [अल् मुम्तहिनाः ८]
इस्लामले सन्तानको उचित हेरचाह र पालनपोषण गर्न आदेश दिन्छ। इस्लामले आमाबुबालाई दिने सबैभन्दा महत्वपूर्ण आदेशमध्ये एक हो—उनीहरूले आफ्ना सन्तानलाई उनीहरूमाथि आफ्ना पालनकर्ताको अधिकारहरूबारे सिकाउनुपर्छ। जसरी नबी ﷺ ले आफ्ना काकाका छोरा अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) लाई भन्नुभएको थियो: “हे बालक! के म तिमीलाई केही यस्ता कुराहरू नसिकाऊँ, जसबाट अल्लाहले तिमीलाई लाभ प्रदान गर्नुहुनेछ?” मैले भनेँ: “अवश्य।” उहाँ ﷺ ले भन्नुभयो: “अल्लाहका आदेशहरूको हिफाजत गर, उहाँले तिम्रो हिफाजत गर्नुहुनेछ। अल्लाहका आदेशहरूको हिफाजत गर, तिमीले उहाँलाई आफ्नो अगाडि पाउनेछौ। सुख र समृद्धिको अवस्थामा उहाँलाई चिन्नू, उहाँले कठिनाइको अवस्थामा तिमीलाई चिन्नुहुनेछ। जब तिमी केही माग्छौ, अल्लाहसँग माग; र जब तिमी सहयोग चाहन्छौ, अल्लाहसँगै सहयोग माग।” अहमदले यसलाई रिवायत गरेका छन् (४/२८७)।
अल्लाहले आमाबुबालाई आफ्ना सन्तानलाई उनीहरूको धर्म र सांसारिक जीवनका लागि लाभदायक कुराहरू सिकाउन आदेश दिनुभएको छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {हे ईमानवालाहरू! आफूलाई र आफ्ना परिवारलाई त्यस्तो आगोबाट बचाऊ, जसको इन्धन मानिसहरू र ढुङ्गाहरू हुन्। त्यसमा कठोर र शक्तिशाली फरिश्ताहरू नियुक्त छन्, जो अल्लाहले दिएको आदेशको अवज्ञा गर्दैनन् र उनीहरूलाई जे आदेश दिइन्छ, त्यही गर्छन्।} [सूरह तहरीमः ६] अली (रजियल्लाहु अन्हु) ले यस आयतको सम्बन्धमा भन्नुभएको छ: {आफूलाई र आफ्ना परिवारलाई आगोबाट बचाऊ।} उहाँले भन्नुभयो: “उनीहरूलाई शिष्टाचार सिकाऊ र उनीहरूलाई शिक्षा देऊ।” नबी ﷺ ले आमाबुबालाई आफ्ना सन्तानलाई नमाज सिकाउन र त्यसमा अभ्यस्त बनाउन आदेश दिनुभएको छ। नबी ﷺ ले भन्नुभयो: “आफ्ना सन्तानहरू सात वर्षका भएपछि उनीहरूलाई नमाज पढ्न आदेश देऊ।” (अबू दाऊद) नबी ﷺ ले भन्नुभयो: “तिमीहरूमध्ये प्रत्येक जना जिम्मेवार अभिभावक हो र प्रत्येक जनासँग उसको जिम्मेवारीबारे सोधिनेछ। शासक आफ्नो प्रजाको जिम्मेवार अभिभावक हो र उससँग आफ्नो प्रजाबारे सोधिनेछ। पुरुष आफ्नो परिवारको जिम्मेवार अभिभावक हो र उससँग आफ्नो परिवारबारे सोधिनेछ। महिला आफ्नो पतिको घरकी जिम्मेवार अभिभावक हुन् र उनीसँग आफ्नो जिम्मेवारीबारे सोधिनेछ। सेवक आफ्नो मालिकको सम्पत्तिको जिम्मेवार अभिभावक हो र उससँग आफ्नो जिम्मेवारीबारे सोधिनेछ। अतः तिमीहरूमध्ये प्रत्येक जना जिम्मेवार अभिभावक हो र प्रत्येक जनासँग उसको जिम्मेवारीबारे सोधिनेछ।” सहीह इब्न हिब्बान, हदीस नं. ४४९०।
इस्लामले बुबालाई आफ्ना सन्तान र परिवारको भरणपोषण गर्न आदेश दिएको छ। यसबारे केही कुरा यसअघि अनुच्छेद नं. (१८) मा उल्लेख भइसकेको छ। नबी ﷺ ले सन्तानमाथि खर्च गर्नुको महत्त्व र पुण्य स्पष्ट गर्दै भन्नुभएको छ: “मानिसले खर्च गर्ने दिनारहरूमध्ये सबैभन्दा उत्तम दिनार त्यो हो, जुन उसले आफ्ना परिवारमाथि खर्च गर्छ; त्यसपछि त्यो दिनार, जुन उसले अल्लाहको मार्गमा आफ्नो सवारीसाधनमाथि खर्च गर्छ; र त्यसपछि त्यो दिनार, जुन उसले अल्लाहको मार्गमा आफ्ना साथीहरूमाथि खर्च गर्छ।” अबू किलाबाले भने: “उहाँ ﷺ ले परिवारबाट कुरा सुरु गर्नुभयो।” त्यसपछि अबू किलाबाले भने: “त्यस्ता साना सन्तानमाथि खर्च गर्ने मानिसभन्दा ठूलो पुण्य पाउने अरू को हुन सक्छ, जसले उनीहरूलाई परनिर्भर हुनबाट जोगाउँछ, वा अल्लाहले उनीहरूलाई त्यसको माध्यमबाट लाभ पुर्याउनुहुन्छ र उनीहरूलाई आत्मनिर्भर बनाउनुहुन्छ?” सहीह मुस्लिम हदीस नं. (९९४)।
३०- इस्लामले शत्रुहरूसँग समेत बोली र व्यवहारमा न्याय गर्न आदेश दिन्छ।
सर्वशक्तिमान् अल्लाह आफ्ना बन्दाहरूमाझ आफ्ना कार्यहरू र व्यवस्थापनमा पूर्ण न्याय र निष्पक्षताका साथ व्यवहार गर्नुहुन्छ। उहाँले आदेश दिनुभएका र निषेध गर्नुभएका कुराहरूमा तथा उहाँले सृष्टि गर्नुभएका र निर्धारण गर्नुभएका सबै कुरामा पूर्ण न्याय र सीधा मार्गमा हुनुहुन्छ। अल्लाह तआलाले भन्नुभएको छ: {अल्लाहले साक्षी दिनुभएको छ कि उहाँबाहेक अरू कुनै सत्य पूज्य छैन। फरिश्ताहरू र ज्ञानवानहरूले पनि न्याय कायम राख्दै यसको साक्षी दिएका छन्। उहाँबाहेक अरू कुनै सत्य पूज्य छैन। उहाँ सर्वशक्तिमान्, सर्वज्ञानी र प्रज्ञावान् हुनुहुन्छ।} [आलि इमरान: १८] अल्लाहले न्याय गर्न आदेश दिनुभएको छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {भनिदेऊ: “मेरा पालनकर्ताले न्याय गर्न आदेश दिनुभएको छ।”} [अल् अअराफः २९] सबै रसूल र नबीहरू (अलैहिमुस्सलाम) न्यायको सन्देश लिएर आएका थिए। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {निश्चय नै, हामीले आफ्ना रसूलहरूलाई स्पष्ट प्रमाणहरूसहित पठायौँ र उनीहरूसँग किताब तथा तराजु अवतरण गरायौँ, ताकि मानिसहरूले न्याय कायम गरून्।} [अल् हदीदः २५] ‘तराजु’ भन्नाले बोली र व्यवहारमा न्यायलाई जनाउँछ।
इस्लामले शत्रुहरूसँग समेत बोली र व्यवहारमा न्याय गर्न आदेश दिन्छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {हे ईमानवालाहरू! न्यायमा दृढतापूर्वक कायम रहने र अल्लाहका लागि साक्षी दिने बन, चाहे त्यो साक्षी आफ्नै विरुद्धमा होस्, वा आमाबुबा र आफन्तहरूको विरुद्धमा। व्यक्ति धनी होस् वा गरिब, दुवैको हकमा अल्लाह नै बढी हकदार हुनुहुन्छ। अतः न्याय गर्नबाट विचलित हुने गरी आफ्नो इच्छाको पछि नलाग। यदि तिमीहरू साक्षीमा कुरा बङ्ग्याउँछौ वा साक्षी दिनबाट पन्छिन्छौ भने, निश्चय नै तिमीहरूले गर्ने सबै कामबारे अल्लाह पूर्ण रूपमा जानकार हुनुहुन्छ।} [अन्निसाः १३५] अल्लाहले भन्नुभएको छः {कुनै समुदायले तिमीहरूलाई मस्जिदुल हरामबाट रोक्यो भन्दै उनीहरूप्रतिको वैरभावले तिमीहरूलाई सीमा नाघ्न प्रेरित नगरोस्। नेकी र तक्वाको काममा एकअर्कालाई सहयोग गर, तर पाप र अत्याचारका काममा एकअर्कालाई सहयोग नगर। अल्लाहसँग डराऊ। निश्चय नै, अल्लाह कठोर दण्ड दिनुहुन्छ।} [अल् माइदाः २] अल्लाहले भन्नुभएको छः {हे ईमानवालाहरू! अल्लाहका लागि न्यायमा दृढतापूर्वक कायम रहने र न्यायपूर्वक साक्षी दिने बन। कुनै समुदायप्रतिको वैरभावले तिमीहरूलाई न्याय गर्नबाट विचलित नगरोस्। न्याय गर; यही तक्वाको सबैभन्दा निकट छ।} [अल् माइदाः ८] के आजका राष्ट्रहरूका कानुनहरूमा वा मानिसहरूका धर्महरूमा यस्तो आदेश पाइन्छ र—आफ्नै विरुद्धमा, आफ्ना आमाबुबा र आफन्तहरूका विरुद्धमा समेत सत्यको साक्षी दिन र सत्य बोल्न, तथा शत्रु र मित्र दुवैसँग न्याय गर्न आदेश दिने?
र नबी ﷺ ले सन्तानहरूबीच न्याय गर्न आदेश दिनुभएको छ। आमिरले बयान गर्नुभयो: मैले नुअमान बिन बशीर (रजियल्लाहु अन्हुमा) लाई मिम्बरमा उभिएर भन्नुभएको सुनेँ: “मेरा बुबाले मलाई एउटा उपहार दिनुभयो। त्यसपछि अम्राह बिन्त रवाहाले भन्नुभयो: ‘तपाईंले अल्लाहका रसूल ﷺ लाई साक्षी नबनाएसम्म म यसमा सहमत हुन्नँ।’ त्यसपछि उहाँ अल्लाहका रसूल ﷺ कहाँ जानुभयो र भन्नुभयो: ‘मैले अम्राह बिन्त रवाहाबाट जन्मेको मेरो छोरालाई एउटा उपहार दिएको छु र उनले तपाईंलाई यसमा साक्षी बनाउन आग्रह गरेकी छन्।’ उहाँ ﷺ ले सोध्नुभयो: ‘के तिमीले आफ्ना अरू सबै सन्तानलाई पनि यस्तै उपहार दिएका छौ?’ उहाँले भन्नुभयो: ‘होइन।’ उहाँ ﷺ ले भन्नुभयो: ‘त्यसो भए अल्लाहसँग डराऊ र आफ्ना सन्तानहरूबीच न्याय गर।’” नुअमानले भने: “त्यसपछि उहाँ फर्किनुभयो र आफ्नो दिएको उपहार फिर्ता लिनुभयो।” सहीह बुखारी हदीस नं. (२५८७)।
यसको कारण के हो भने, मानिसहरू र राष्ट्रहरूको व्यवस्था न्यायबिना कायम रहन सक्दैन। मानिसहरूले आफ्ना दीन, जीवन, सन्तान, इज्जत, धनसम्पत्ति र मातृभूमिको सुरक्षा पनि न्यायबिना सुनिश्चित भएको महसुस गर्न सक्दैनन्। यही कारणले गर्दा, जब मक्काका काफिरहरूले मक्कामा मुस्लिमहरूलाई निकै सताए, तब नबी ﷺ ले उनीहरूलाई हबशातर्फ हिजरत गर्न आदेश दिनुभयो र यसको कारण बताउँदै भन्नुभयो कि त्यहाँ एक न्यायी राजा छन्, जसको राज्यमा कसैमाथि अन्याय हुँदैन।
३१- इस्लामले सम्पूर्ण सृष्टिसँग सद्व्यवहार गर्न, उच्च नैतिकता अपनाउन र उत्कृष्ट कर्महरू गर्न आदेश दिन्छ।
इस्लामले सम्पूर्ण सृष्टिसँग सद्व्यवहार गर्न आदेश दिन्छ। अल्लाह तआलाले भन्नुभएको छ: {निश्चय नै, अल्लाहले न्याय, सद्व्यवहार र आफन्तहरूलाई उनीहरूको हक दिन आदेश दिनुहुन्छ।} [अन्नहलः ९०] अल्लाहले भन्नुभएको छः {जो सुख र दुःख दुवै अवस्थामा खर्च गर्छन्, क्रोधलाई संयमित राख्छन् र मानिसहरूलाई क्षमा गर्छन्। अल्लाह सदाचारीहरूलाई प्रेम गर्नुहुन्छ।} [आलि इमरान: १३४] अल्लाहका रसूल मुहम्मद ﷺ ले भन्नुभयो: “निश्चय नै, अल्लाहले प्रत्येक कुरामा सद्व्यवहार गर्न आदेश दिनुभएको छ। त्यसैले जब तिमीहरू हत्या गर्छौ, तब पनि राम्रो तरिकाले हत्या गर; र जब तिमीहरू जनावर जिबह गर्छौ, तब राम्रो तरिकाले जिबह गर। तिमीहरूमध्ये प्रत्येकले आफ्नो छुरी धारिलो पारोस् र आफ्नो जिबह गरिने जनावरलाई सहजता प्रदान गरोस्।” सहीह मुस्लिम हदीस नं. (१९५५)।
इस्लामले उच्च नैतिक गुणहरू र उत्तम कर्महरू अपनाउन आह्वान गर्छ। अल्लाह तआलाले अघिल्ला धर्मग्रन्थहरूमा वर्णित नबी मुहम्मद ﷺ का विशेषताहरूबारे भन्नुभएको छ: {जो उम्मी नबी-रसूलको अनुसरण गर्छन्, जसलाई उनीहरूले आफूसँग रहेको तौरात र इन्जीलमा लिखित पाउँछन्; उहाँले उनीहरूलाई सत्कर्मको आदेश दिनुहुन्छ, दुष्कर्मबाट रोक्नुहुन्छ, उनीहरूका लागि पवित्र तथा उत्तम वस्तुहरू हलाल गर्नुहुन्छ र अपवित्र वस्तुहरू हराम गर्नुहुन्छ, तथा उनीहरूमाथि रहेका बोझ र बन्धनहरू हटाउनुहुन्छ। अतः जो उहाँमाथि ईमान ल्याए, उहाँको सम्मान गरे, उहाँलाई सहयोग गरे र उहाँसँग अवतरण गरिएको प्रकाशको अनुसरण गरे, तिनै सफल हुनेहरू हुन्।} [अल् अअराफः १५७] रसूल ﷺ ले भन्नुभयो: “हे आयशा! निश्चय नै, अल्लाह कोमल हुनुहुन्छ र कोमलतालाई प्रेम गर्नुहुन्छ। उहाँले कोमलताका कारण त्यति प्रदान गर्नुहुन्छ, जति कठोरताका कारण प्रदान गर्नुहुन्न; र कोमलताबाहेक अन्य कुनै कुराका कारण पनि त्यति प्रदान गर्नुहुन्न।” सहीह मुस्लिम हदीस नं. (२५९३)। रसूल ﷺ ले भन्नुभयो: “निस्सन्देह, अल्लाहले तिमीहरूका लागि आमाहरूको अवज्ञा गर्नु, छोरीहरूलाई जिउँदै गाड्नु, हकदारलाई उसको अधिकार नदिनु र आफूले पाउन नहुने कुरा माग्नु निषेध गर्नुभएको छ। साथै, उहाँले तिमीहरूका लागि निरर्थक गफगाफ गर्नु, धेरै प्रश्न गर्नु र धनसम्पत्ति खेर फाल्नु मन पराउनुभएको छैन।” (सहीह बुखारी: २४०८) रसूल ﷺ ले भन्नुभयो: “तिमीहरू ईमान नल्याएसम्म स्वर्गमा प्रवेश गर्नेछैनौ र तिमीहरू एकअर्कालाई प्रेम नगरेसम्म पूर्ण रूपमा ईमान ल्याउनेछैनौ। के म तिमीहरूलाई यस्तो कुरा नबताऊँ, जुन तिमीहरूले गर्यौ भने एकअर्कालाई प्रेम गर्न थाल्नेछौ? आपसमा सलाम फैलाऊ।” सहीह मुस्लिम हदीस नं. (५४)।
३२- इस्लामले इमानदारी, अमानत पूरा गर्ने, पवित्रता, विनम्रता, साहस, उदारता, खाँचोमा परेकाहरूलाई सहयोग गर्ने, दुःखीहरूलाई राहत दिने, भोकाहरूलाई खाना खुवाउने, छिमेकीसँग सद्व्यवहार गर्ने, आफन्तसँग सम्बन्ध कायम राख्ने र जनावरहरूप्रति दयालु हुनेजस्ता प्रशंसनीय नैतिक गुणहरू अपनाउन आदेश दिन्छ।
इस्लामले प्रशंसनीय नैतिक गुणहरू अपनाउन आदेश दिन्छ। अल्लाहका रसूल ﷺ ले भन्नुभयो: “मलाई त केवल उत्तम नैतिक गुणहरूलाई पूर्णता दिनका लागि पठाइएको हो।” सहीहुल अदबुल् मुफ्रद हदीस नं. (२०७)। रसूल ﷺ ले भन्नुभयो: “निश्चय नै, तिमीहरूमध्ये मलाई सबैभन्दा प्रिय र कियामतको दिन मेरो सबैभन्दा नजिक हुनेहरू ती हुन्, जसको नैतिकता सबैभन्दा उत्तम छ। र तिमीहरूमध्ये मलाई सबैभन्दा अप्रिय तथा कियामतको दिन मबाट सबैभन्दा टाढा हुनेहरू धेरै कुरा गर्ने, बोलाइमा बनावटीपन देखाउने र घमण्डपूर्वक कुरा गर्नेहरू हुन्।” उनीहरूले सोधे: “धेरै कुरा गर्ने र बोलाइमा बनावटीपन देखाउनेहरूलाई त हामीले बुझ्यौँ, तर ‘अल-मुतफयिहिकून’ को अर्थ के हो?” उहाँ ﷺ ले भन्नुभयो: “घमण्डीहरू।” सिलसिलतुस्सहीहा हदीस नं. (७९१)। अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गर्नुभएको छ: “नबी ﷺ न त अश्लील हुनुहुन्थ्यो, न अश्लील कुरा गर्नुहुन्थ्यो। उहाँ ﷺ भन्नुहुन्थ्यो: ‘तिमीहरूमध्ये सबैभन्दा उत्तम ती हुन्, जसको नैतिकता सबैभन्दा उत्तम छ।’” सहीह बुखारी हदीस नं. (३५५९)। यस्ता अन्य धेरै आयतहरू र हदीसहरू पनि छन्, जसले इस्लामले सामान्य रूपमा उच्च नैतिक गुणहरू र सद्कर्महरू अपनाउन प्रोत्साहन दिन्छ भन्ने कुरा स्पष्ट गर्छन्।
इस्लामले आदेश गरेका कुराहरूमध्ये सत्यता पनि हो। अल्लाहका रसूल ﷺ ले भन्नुभयो: “तिमीहरू सत्यतालाई अपनाऊ, किनकि सत्यताले सत्कर्मतर्फ डोर्याउँछ र सत्कर्मले स्वर्गतर्फ डोर्याउँछ। मानिस निरन्तर सत्य बोलिरहन्छ र सत्यको खोजी गरिरहन्छ, यहाँसम्म कि अल्लाहको सामु उसलाई सत्यवादीका रूपमा लेखिन्छ।” सहीह मुस्लिम हदीस नं. (२६०७)।
इस्लामले आदेश गरेका कुराहरूमध्ये अमानत पूरा गर्नु पनि हो। अल्लाह तआलाले भन्नुभएको छ: {निश्चय नै, अल्लाहले तिमीहरूलाई अमानतहरू तिनका हकदारहरूलाई फिर्ता गर्न आदेश दिनुहुन्छ।} [अन्निसाः ५८]
इस्लामले आदेश दिएका कुराहरूमध्ये पवित्रता कायम राख्नु पनि हो। अल्लाहका रसूल ﷺ ले भन्नुभयो: “तीन प्रकारका मानिसहरूलाई सहयोग गर्नु अल्लाहमाथि हक हो।” उहाँ ﷺ ले तिनीहरूमध्ये एक जनाको उल्लेख गर्दै भन्नुभयो: “त्यो व्यक्ति, जसले पवित्रता कायम राख्ने उद्देश्यले विवाह गर्छ।” सुननुत्तिर्मिजी हदीस नं. (१६५५)। रसूल सल्लल्लाहो अलैहे वसल्लम को दुआहरूमध्ये एउटा दुआ यस्तो थियो, उहाँ ﷺ भन्नुहुन्थ्यो: “हे अल्लाह! म तपाईंसँग मार्गदर्शन, तक्वा, पवित्रता र आत्मनिर्भरता माग्छु।” सहीह मुस्लिम हदीस नं. (२७२१)।
इस्लामले आदेश दिएका कुराहरूमध्ये लज्जा पनि हो। अल्लाहका रसूल ﷺ ले भन्नुभयो: “लज्जाशीलताले सधैँ भलाइ नै ल्याउँछ।” सहीह बुखारी हदीस नं. (६११७)। रसूल ﷺ ले भन्नुभयो: “प्रत्येक दीनको एउटा विशेष नैतिकता हुन्छ, र इस्लामको नैतिकता लज्जाशीलता हो।” यसलाई बैहकीले शअबुल ईमानमा वर्णन गरेका छन् (६/२६१९)।
इस्लामले आदेश दिएका कुराहरूमध्ये साहस पनि एक हो। अनस (रजियल्लाहु अन्हु) ले भन्नुभयो: “नबी ﷺ मानिसहरूमध्ये सबैभन्दा सुन्दर, सबैभन्दा साहसी र सबैभन्दा उदार हुनुहुन्थ्यो। एक रात मदीनावासीहरू डराए। त्यसपछि नबी ﷺ उनीहरूभन्दा अघि नै घोडामा चढेर त्यहाँ पुगिसक्नुभएको थियो।” सहीह बुखारी हदीस नं. (२८२०)। अल्लाहका रसूल ﷺ कायरताबाट अल्लाहको शरण माग्नुहुन्थ्यो। उहाँ ﷺ भन्नुहुन्थ्यो: “हे अल्लाह! म कायरताबाट तपाईंको शरण माग्छु।” सहीह बुखारी हदीस नं. (६३७४)।
इस्लामले आदेश दिएका कुराहरूमध्ये उदारतापूर्वक खर्च गर्नु र दानशीलता पनि हुन्। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {जो मानिसहरू अल्लाहको मार्गमा आफ्ना धनसम्पत्ति खर्च गर्छन्, तिनीहरूको उदाहरण एउटा यस्तो दानाजस्तै हो, जसले सातवटा बाला उमार्छ र प्रत्येक बालामा एक सय दाना हुन्छ। अल्लाह जसलाई चाहनुहुन्छ, त्यसका लागि अझ धेरै वृद्धि गर्नुहुन्छ। अल्लाह असीम उदारता भएका, सर्वज्ञ हुनुहुन्छ।} [अल् बकरह: २६१] अल्लाहका रसूल ﷺ को नैतिक गुणमध्ये दानशीलता पनि एक थियो। इब्न अब्बास (रजियल्लाहु अन्हुमा) ले भन्नुभयो: “नबी ﷺ मानिसहरूमध्ये सबैभन्दा बढी भलाइ गर्ने र सबैभन्दा उदार हुनुहुन्थ्यो। रमजानमा उहाँ अझ बढी उदार हुनुहुन्थ्यो, जब जिब्रिल (अलैहिस्सलाम) उहाँलाई भेट्न आउनुहुन्थ्यो। जिब्रिल (अलैहिस्सलाम) रमजानको प्रत्येक रात उहाँलाई भेट्नुहुन्थ्यो र रमजान समाप्त नभएसम्म नबी ﷺ सँग कुरआनको दोहोर्याइ गर्नुहुन्थ्यो। जब जिब्रिल (अलैहिस्सलाम) उहाँलाई भेट्नुहुन्थ्यो, तब उहाँ ﷺ बहिरहने हावाभन्दा पनि बढी भलाइ गर्ने र उदार हुनुहुन्थ्यो।” सही बुखारी हदीस नं. (१९०२)।
इस्लामले आदेश दिएका कुराहरूमध्ये आवश्यकतामा परेकाहरूलाई सहयोग गर्नु, विपत्तिमा परेकाहरूलाई उद्धार गर्नु, भोकाहरूलाई खाना खुवाउनु, छिमेकीसँग सद्व्यवहार गर्नु, आफन्तसँग नातासम्बन्ध कायम राख्नु र जनावरहरूप्रति दयालु व्यवहार गर्नु पनि पर्दछन्। अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) बाट वर्णित छ: एक जना मानिसले नबी ﷺ लाई सोध्यो: “इस्लामका कुन कार्य सबैभन्दा उत्तम हो?” उहाँ ﷺ ले भन्नुभयो: “खाना खुवाउनु र आफूले चिनेका तथा नचिनेका सबैलाई सलाम गर्नु।” सहीह बुखारी हदीस नं. (१२)। रसूल ﷺ ले भन्नुभयो: “एक जना मानिस बाटोमा हिँडिरहेको बेला उसलाई निकै तिर्खा लाग्यो। उसले एउटा इनार भेट्टायो, त्यसमा ओर्लेर पानी पियो र बाहिर निस्कियो। त्यसपछि उसले एउटा कुकुरलाई तिर्खाले हाँफिरहेको र माटो चाटिरहेको देख्यो। उसले भन्यो: ‘यस कुकुरलाई पनि म जस्तै निकै तिर्खा लागेको रहेछ।’ त्यसपछि ऊ इनारमा ओर्लियो, आफ्नो जुत्तामा पानी भर्यो, त्यसलाई मुखले समातेर माथि आयो र कुकुरलाई पानी पिलायो। अल्लाहले उसको यस कार्यको कदर गर्नुभयो र उसलाई क्षमा गर्नुभयो।” सहाबाहरूले सोधे: “हे अल्लाहका रसूल! के जनावरहरूप्रति दया गरेबापत पनि हामीलाई पुण्य मिल्छ?” उहाँ ﷺ ले भन्नुभयो: “हो, हरेक जीवित प्राणीप्रति दया गरेबापत पुण्य छ।” सहीह इब्ने हिब्बान हदीस नं. (५४४)। रसूल ﷺ ले भन्नुभयो: “विधवा र गरिबको हेरचाह तथा पालनपोषणमा लाग्ने व्यक्ति अल्लाहको मार्गमा जिहाद गर्ने व्यक्ति वा रातभर नमाज पढ्ने र दिनभर रोजा बस्ने व्यक्ति जस्तै हो।” सहीह बुखारी हदीस नं. (५३५३)।
इस्लामले आफन्तहरूको अधिकारमा विशेष जोड दिन्छ र नातेदारहरूसँग सम्बन्ध कायम राख्न अनिवार्य ठहराउँछ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {नबी ईमानवालाहरूका लागि उनीहरूका आफ्नै प्राणभन्दा पनि बढी हकदार हुनुहुन्छ र उहाँका पत्नीहरू उनीहरूका आमाहरू हुन्। र अल्लाहको किताबअनुसार नातेदारहरू आपसमा एकअर्काभन्दा बढी हकदार छन्—अन्य ईमानवालाहरू र मुहाजिरहरूभन्दा। तर तिमीहरूले आफ्ना मित्रहरूसँग कुनै भलाइ गर्न सक्छौ। यो कुरा किताबमा लिखित रहेको छ।} [अल् अहजाबः ६] उहाँले नातासम्बन्ध तोड्नबाट चेतावनी दिनुभयो र यसलाई पृथ्वीमा उपद्रव मच्चाउनुसँग जोड्नुभयो। अल्लाह तआलाले भन्नुभएको छ: {त्यसो भए, यदि तिमीहरू विमुख भयौ भने, के तिमीहरू पृथ्वीमा उपद्रव मच्चाउने र आफ्ना नातासम्बन्धहरू तोड्ने सम्भावना छ? यिनीहरू नै ती मानिसहरू हुन्, जसलाई अल्लाहले धिक्कार्नुभएको छ। त्यसैले उहाँले उनीहरूलाई बहिरो बनाउनुभयो र उनीहरूका आँखाहरू अन्धा पारिदिनुभयो।} [मुहम्मदः २२-२३] अल्लाहका रसूल ﷺ ले भन्नुभयो: “नातासम्बन्ध तोड्ने व्यक्ति स्वर्गमा प्रवेश गर्नेछैन।” सहीह मुस्लिम हदीस नं. (२५५६)। जस-जस आफन्तसँग नातासम्बन्ध कायम राख्नु अनिवार्य छ, उनीहरूमा आमाबुबा, दाजुभाइ, दिदीबहिनी, काका, फुपू, मामा र खाला (सानीमा) पर्छन्।
इस्लामले छिमेकीको अधिकारमा विशेष जोड दिन्छ, छिमेकी काफिर नै भए पनि। अल्लाह तआलाले भन्नुभएको छ: {अल्लाहको उपासना गर र उहाँसँग कुनै कुरालाई साझेदार नबनाऊ। आमाबुबासँग सद्व्यवहार गर, साथै आफन्तहरू, अनाथहरू, गरिबहरू, नजिकका छिमेकी, टाढाका छिमेकी, साथमा रहने साथी, बाटोमा परेको यात्रु र तिमीहरूको अधिकारमा रहेका मानिसहरूसँग पनि सद्व्यवहार गर। निश्चय नै, अल्लाह घमण्ड गर्ने र बढाइँ गर्ने व्यक्तिलाई प्रेम गर्नुहुन्न।} [अन्निसाः ३६] रसूल ﷺ ले भन्नुभयो: “जिब्रिल (अलैहिस्सलाम) ले मलाई छिमेकीका सम्बन्धमा निरन्तर उपदेश दिइरहनुभयो, यहाँसम्म कि मैले ठानेँ, उहाँले छिमेकीलाई उत्तराधिकारी नै बनाइदिनुहुनेछ।” सहीह अबू दाऊद हदीस नं. (५१५२)।
३३- इस्लामले पवित्र तथा असल चीजहरू खान र पिउन अनुमति दिन्छ र हृदय, शरीर तथा घरको शुद्धता कायम राख्न आदेश दिन्छ। त्यसैले इस्लामले विवाहलाई पनि अनुमति दिएको छ, जसको आदेश नबीहरूले दिएका थिए। उनीहरूले सबै असल कुराहरूको आदेश दिन्थे।
इस्लामले खानपानका पवित्र तथा उत्तम वस्तुहरू हलाल गरेको छ। अल्लाहका रसूल ﷺ ले भन्नुभयो: “हे मानिसहरू! निश्चय नै, अल्लाह पवित्र हुनुहुन्छ र उहाँले पवित्रबाहेक अरू केही स्वीकार गर्नुहुन्न। निश्चय नै, अल्लाहले ईमानवालाहरूलाई त्यही कुराको आदेश दिनुभएको छ, जुन उहाँले रसूलहरूलाई आदेश दिनुभएको थियो। उहाँले भन्नुभएको छ: {हे रसूलहरू! पवित्र तथा उत्तम वस्तुहरू खाऊ र सत्कर्म गर। निश्चय नै, तिमीहरूले गर्ने कर्मबारे म राम्ररी जानकार छु।} उहाँले भन्नुभएको छ: {हे ईमानवालाहरू! हामीले तिमीहरूलाई प्रदान गरेका पवित्र तथा उत्तम वस्तुहरू खाऊ र अल्लाहप्रति कृतज्ञ बन, यदि तिमीहरू उहाँकै उपासना गर्छौ भने।} त्यसपछि उहाँ ﷺ ले एक जना मानिसको चर्चा गर्नुभयो, जो लामो यात्रा गर्छ, कपाल अस्तव्यस्त र शरीर धुलोले लिप्त भएको अवस्थामा आकाशतिर आफ्ना दुवै हात उठाएर ‘हे मेरा पालनकर्ता! हे मेरा पालनकर्ता!’ भनी प्रार्थना गर्छ। तर उसको खाना हराम छ, उसको लुगा हराम छ, उसको पेय हराम छ र ऊ हरामबाटै पोषित भएको छ। यस्तो अवस्थामा उसको प्रार्थना कसरी स्वीकार होस् र?” सहीह मुस्लिम हदीस नं. (१०१५)। अल्लाहले भन्नुभएको छः {भनिदेऊ: “अल्लाहले आफ्ना बन्दाहरूका लागि प्रदान गर्नुभएको शोभा र जीविकाका पवित्र तथा उत्तम वस्तुहरूलाई कसले हराम गरेको छ?” भनिदेऊ: “यी वस्तुहरू सांसारिक जीवनमा ईमानवालाहरूका लागि हुन् र कियामतको दिन त विशेष रूपमा उनीहरूकै लागि हुनेछन्।” यसरी नै हामी जान्ने मानिसहरूका लागि आयतहरूलाई विस्तृत रूपमा स्पष्ट गर्छौँ।} [अल् अअराफः ३२]
इस्लामले हृदय, शरीर र घरलाई पवित्र राख्न आदेश दिएको छ। त्यसैले इस्लामले विवाहलाई हलाल गरेको छ, जसरी अघिल्ला नबी तथा रसूलहरू (अलैहिमुस्सलाम) ले पनि यसको आदेश दिनुभएको थियो। किनकि उनीहरूले हरेक पवित्र र उत्तम कुराको आदेश दिनुहुन्थ्यो। अल्लाहले भन्नुभएको छ: {अल्लाहले तिमीहरूका लागि तिमीहरूकै बीचबाट जोडीहरू बनाउनुभएको छ र तिमीहरूका जोडीहरूबाट छोराछोरी तथा नातिनातिनीहरू प्रदान गर्नुभएको छ। अनि तिमीहरूलाई पवित्र तथा उत्तम जीविकाका वस्तुहरू प्रदान गर्नुभएको छ। के उनीहरू असत्यमा ईमान ल्याउँछन् र अल्लाहका अनुग्रहहरूको इन्कार गर्छन्?} [अन्नहलः ७२] अल्लाहले भन्नुभएको छः {आफ्ना वस्त्रहरू शुद्ध राख।} {अपवित्रताबाट टाढा रह। [अल् मुद्दस्सिरः ४-५] रसूल ﷺ ले भन्नुभयो: “जसको हृदयमा रत्तीभर पनि घमण्ड छ, ऊ स्वर्गमा प्रवेश गर्नेछैन।” एक जना मानिसले सोध्यो: “मानिसलाई आफ्नो लुगा राम्रो र आफ्नो जुत्ता राम्रो होस् भन्ने मन पर्छ नि?” उहाँ ﷺ ले भन्नुभयो: “निश्चय नै, अल्लाह सुन्दर हुनुहुन्छ र सुन्दरतालाई प्रेम गर्नुहुन्छ। घमण्ड भनेको सत्यलाई अस्वीकार गर्नु र मानिसहरूलाई तुच्छ ठान्नु हो।” सहीह मुस्लिम हदीस नं. (९१)।
३४- इस्लामले अल्लाहसँग शिर्क गर्नु, कुफ्र गर्नु, मूर्तिहरूको उपासना गर्नु, ज्ञानबिना अल्लाहका बारेमा कुरा गर्नु, सन्तानको हत्या गर्नु, सम्मानित जीवनको हत्या गर्नु, पृथ्वीमा उपद्रव फैलाउनु, जादू गर्नु, प्रत्यक्ष तथा अप्रत्यक्ष अश्लील कार्यहरू गर्नु, व्यभिचार र समलैङ्गिक यौनाचार गर्नुजस्ता मूल हराम कार्यहरूलाई निषेध गरेको छ। यसले ब्याज लिनु, मरेको जनावरको मासु तथा मूर्तिहरूका लागि जिबह गरिएको जनावरको मासु खानु, सुँगुरको मासु तथा अन्य सबै अपवित्र र खराब वस्तुहरू खानु, अनाथको धन खानु, नापतौलमा कमी गर्नु र नातासम्बन्ध तोड्नुलाई पनि हराम गरेको छ। सबै नबीहरू (अलैहिमुस्सलाम) यी सबै हराम कार्यहरू निषेधित भएको कुरामा एकमत थिए।
इस्लामले शिर्क, कुफ्र, मूर्तिहरूको उपासना गर्नु, ज्ञानबिना अल्लाहका बारेमा कुरा गर्नु र सन्तानको हत्या गर्नेजस्ता मूल हराम कार्यहरूलाई निषेध गरेको छ। अल्लाह तआलाले भन्नुभएको छ: {भनिदेऊ: “आऊ, म तिमीहरूलाई तिमीहरूका पालनकर्ताले तिमीहरूमाथि हराम गर्नुभएका कुराहरू सुनाउँछु: उहाँसँग कुनै कुरालाई साझेदार नबनाऊ; आमाबुबासँग सद्व्यवहार गर; गरिबीको डरले आफ्ना सन्तानहरूको हत्या नगर—हामी तिमीहरूलाई र उनीहरूलाई जीविका प्रदान गर्छौँ; प्रत्यक्ष वा अप्रत्यक्ष सबै अश्लील कार्यहरूको नजिक नजाऊ; र अल्लाहले सम्मानित ठहराउनुभएको प्राणलाई सत्य अधिकारबिना हत्या नगर। यी कुराहरू नै उहाँले तिमीहरूलाई आदेश दिनुभएको हो, ताकि तिमीहरू बुझ।”} {अनाथको धनसम्पत्तिको नजिक नजाऊ, सिवाय त्यस्तो तरिकाले जुन सबैभन्दा उत्तम हो, जबसम्म ऊ परिपक्व अवस्थामा पुग्दैन। नाप तथा तौल न्यायपूर्वक पूरा गर। हामी कुनै प्राणलाई उसको क्षमताभन्दा बढी भार दिँदैनौँ। जब तिमीहरू कुरा गर्छौ, न्यायपूर्वक कुरा गर, चाहे त्यो आफन्तकै सम्बन्धमा किन नहोस्। अल्लाहसँग गरेको प्रतिज्ञा पूरा गर। यही कुरा उहाँले तिमीहरूलाई आदेश दिनुभएको हो, ताकि तिमीहरू उपदेश ग्रहण गर।} [अल् अनआमः १५१, १५२] अल्लाहले भन्नुभएको छः {भनिदेऊ: “मेरा पालनकर्ताले त केवल अश्लील कार्यहरू—चाहे ती प्रत्यक्ष हुन् वा अप्रत्यक्ष—पाप, अन्यायपूर्वक गरिने अत्याचार, अल्लाहसँग त्यस्तो कुरालाई साझेदार बनाउनु, जसको कुनै प्रमाण उहाँले अवतरण गर्नुभएको छैन, र अल्लाहका बारेमा त्यस्ता कुरा भन्नु, जसको तिमीहरूलाई ज्ञान छैन—यी सबै निषेध गर्नुभएको छ।”} [अल् अअराफः ३३]
इस्लामले सम्मानित प्राणको हत्या गर्न निषेध गरेको छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {अल्लाहले हत्या गर्न निषेध गर्नुभएको कुनै पनि प्राणलाई अनाहक हत्या नगर। जो व्यक्ति अन्यायपूर्वक मारिन्छ, त्यसको उत्तराधिकारीलाई हामीले बदला लिने अधिकार प्रदान गरेका छौँ। तर उसले हत्याको मामिलामा सीमा नाघ्नु हुँदैन। निश्चय नै, उसलाई सहायता गरिएको छ।} [अल् इस्राः ३३] अल्लाहले भन्नुभएको छः {उनीहरू ती हुन्, जसले अल्लाहसँगै कुनै अर्को पूज्यलाई पुकार्दैनन्, अल्लाहले हत्या गर्न निषेध गर्नुभएको कुनै प्राणलाई उचित अधिकारबिना हत्या गर्दैनन् र व्यभिचार गर्दैनन्। जसले यी कार्यहरू गर्छ, उसले पापको दण्ड भोग्नेछ।} [अल् फुर्कानः ६८]
इस्लामले पृथ्वीमा भ्रष्टाचार फैलाउन निषेध गरेको छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {पृथ्वीमा सुधार भइसकेपछि उपद्रव नफैलाऊ।} [अल् अअराफः ५६] अल्लाहले नबी शुऐब (अलैहिस्सलाम) ले आफ्ना समुदायका मानिसहरूलाई सम्बोधन गरेको कुरा उल्लेख गर्दै भन्नुभएको छ: {हे मेरा समुदाय! अल्लाहको इबादत गर, उहाँबाहेक तिम्रा लागि अरू कुनै पूज्य छैन। निश्चय नै, तिमीहरूका पालनकर्ताबाट तिमीहरूकहाँ स्पष्ट प्रमाण आइसकेको छ। त्यसैले नाप र तौल पूरा गर, मानिसहरूका वस्तुहरूको मूल्यमा कमी नगर र पृथ्वीमा सुधार गरिसकेपछि त्यसमा उपद्रव नफैलाऊ। यदि तिमीहरू मोमिन हौ भने, यही तिमीहरूका लागि उत्तम हो।} [अल् अअराफः ८५]
इस्लामले जादूलाई हराम गरेको छ। अल्लाहले भन्नुभएको छ: {तिम्रो दाहिने हातमा भएको (लठ्ठी) फ्याँक, त्यसले उनीहरूले बनाएका कुराहरूलाई निलिहाल्नेछ। उनीहरूले बनाएको कुरा त जादूगरको चाल मात्र हो। र जादूगर जहाँबाट आए पनि सफल हुँदैन।} [ताहाः ६९] रसूल ﷺ ले भन्नुभयो: “सात विनाशकारी पापहरूबाट बच। सहाबाहरूले सोधे: ‘हे अल्लाहका रसूल! ती के-के हुन्?’ उहाँले भन्नुभयो: ‘अल्लाहसँग शिर्क गर्नु, जादू गर्नु, अल्लाहले हत्या गर्न निषेध गर्नुभएको प्राणलाई अनाहक हत्या गर्नु, ब्याज खानु, अनाथको धन खानु, युद्धको मैदानबाट भाग्नु र पवित्र, ईमानवाला तथा निर्दोष महिलाहरूमाथि व्यभिचारको आरोप लगाउनु।’” सहीह बुखारी हदीस नं. (६८५७)।
इस्लामले प्रत्यक्ष वा अप्रत्यक्ष सबै प्रकारका अश्लील कार्यहरू, व्यभिचार तथा समलैंगिक यौनाचारलाई हराम गरेको छ। यस अनुच्छेदको सुरुवातमै यससका प्रमाणहरू उल्लेख भइसकेको छ। साथै, इस्लामले ब्याजलाई पनि हराम गरेको छ। अल्लाहले भन्नुभएको छ: {हे ईमानवालाहरू! अल्लाहसँग डराऊ र यदि तिमीहरू वास्तवमै ईमानवाला हौ भने ब्याजबाट बाँकी रहेको रकम छोडिदेऊ। यदि तिमीहरूले त्यसो गरेनौ भने अल्लाह र उहाँका रसूलतर्फबाट तिमीहरूविरुद्ध युद्धको घोषणा भएको कुरा जान। तर यदि तिमीहरूले तौबा गर्यौ भने तिमीहरूलाई आफ्नो मूलधन मात्र प्राप्त गर्ने अधिकार छ। न तिमीहरूले कसैमाथि अन्याय गर, न तिमीहरूमाथि अन्याय गरियोस्। [अल् बकरह: २७८-२७९] पाप गर्नेहरूलाई अल्लाहले त्यस्तो युद्धको धम्की दिनुभएको छैन, जस्तो ब्याज खानेहरूलाई दिनुभएको छ; किनकि ब्याजले धर्म, मातृभूमि, धनसम्पत्ति र जीवनको विनाश निम्त्याउँछ।
इस्लामले मरेको जनावरको मासु, मूर्ति तथा देवीदेवताका लागि बलि दिइएको जनावरको मासु र सुँगुरको मासु खान हराम गरेको छ। अल्लाहले भन्नुभएको छ: {तिमीहरूका लागि मरेको जनावर, रगत, सुँगुरको मासु, अल्लाहबाहेक अरू कसैको नाममा चढाइएको पशु, घाँटी थिचिएर मरेको, चोट लागेर मरेको, अग्लो ठाउँबाट खसेर मरेको, सिङले हानेर मरेको र जङ्गली जनावरले खाएको जनावर—यी सबै हराम गरिएका छन्; तर तिमीहरूले जीवितै भेटेर विधिपूर्वक जबह गरेको बाहेक। त्यस्तै, ढुङ्गाका वेदीहरूमा बलि चढाइएको पशु र बाणद्वारा भाग्य निर्धारण गर्नु पनि हराम गरिएको छ। यो घोर अवज्ञा हो।} [अल् माइदाः ३]
इस्लामले मदिरा पिउन तथा अन्य सबै अपवित्र र घृणित पदार्थहरू सेवन गर्न हराम गरेको छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {हे ईमानवालाहरू! निश्चय नै मदिरा, जुवा, मूर्तिहरूका वेदीहरू र भाग्य निर्धारण गर्ने तीरहरू शैतानका कामहरूमध्ये अपवित्र वस्तुहरू हुन्। त्यसैले तिनबाट पूर्ण रूपमा बच, ताकि तिमीहरू सफल हुन सक। शैतानले त मदिरा र जुवामार्फत तिमीहरूबीच शत्रुता र द्वेष उत्पन्न गर्न, अनि तिमीहरूलाई अल्लाहको स्मरण र नमाजबाट रोक्न चाहन्छ। त्यसो भए, के तिमीहरू अब यसबाट रोकिनेछौ?} [अल् माइदाः ९०-९१] अघिल्लो (३१) नम्बरको अनुच्छेदमा अल्लाह तआलाले तौरेतमा वर्णित रसूल ﷺ का विशेषतामध्ये उहाँले उनीहरूका लागि घृणित तथा अपवित्र वस्तुहरू हराम गर्नुहुने कुरा उल्लेख गरिएको छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {जो उम्मी रसूल नबीको अनुसरण गर्छन्, जसको उल्लेख उनीहरूले आफ्नो तौरेत र इन्जीलमा लिखित पाउँछन्। उहाँले उनीहरूलाई सत्कर्म गर्न आदेश दिनुहुन्छ, दुष्कर्म गर्नबाट रोक्नुहुन्छ, उनीहरूका लागि पवित्र वस्तुहरू हलाल गर्नुहुन्छ, अपवित्र तथा घृणित वस्तुहरू हराम गर्नुहुन्छ र उनीहरूमाथि रहेका बोझ तथा बन्धनहरू हटाउनुहुन्छ।} [अल् अअराफः १५७]
इस्लामले अनाथको धन खान हराम गरेको छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {अनाथहरूलाई उनीहरूको सम्पत्ति प्रदान गर। नराम्रो वस्तुलाई राम्रो वस्तुसँग नबदल र उनीहरूको सम्पत्तिलाई आफ्नो सम्पत्तिसँग मिसाएर नखाऊ। निश्चय नै, यो ठूलो पाप हो।} [अन्निसाः २] अल्लाहले भन्नुभएको छः {निश्चय नै, जो मानिसहरू अन्यायपूर्वक अनाथहरूको धन खान्छन्, उनीहरूले वास्तवमा आफ्नो पेटमा आगो भरिरहेका छन् र चाँडै नै दन्किरहेको आगोमा प्रवेश गर्नेछन्।} [अन्निसाः १०]
इस्लामले नापतौलमा कमी गर्न हराम गरेको छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {नापतौलमा कमी गर्नेहरूका लागि ठूलो विनाश छ। जो मानिसहरूले अरूबाट नापेर लिँदा पूरा नापेर लिन्छन्। तर जब उनीहरूले अरूलाई नापेर वा तौलेर दिन्छन्, तब नापतौलमा कमी गर्छन्। {के उनीहरूले सोच्दैनन् कि उनीहरू पुनर्जीवित गरिनेछन्?} [अल् मुतफ्फिफीनः १-४]
इस्लामले नातागोता तोड्न र नातासम्बन्ध विच्छेद गर्न हराम गरेको छ। यससम्बन्धमा कुरआन र हदीसका केही प्रमाणहरू अनुच्छेद नं. (३१) मा उल्लेख भइसकेका छन्। सम्पूर्ण नबी तथा रसूलहरू यी सबै हराम कुराहरू निषेधित भएको विषयमा एकमत थिए।
३५- इस्लामले झूट बोल्ने, धोका दिने, विश्वासघात गर्ने, छलकपट गर्ने, ईर्ष्या गर्ने, दुष्ट षड्यन्त्र गर्ने, चोरी गर्ने र अन्याय गर्ने जस्ता निन्दनीय आचरणहरूलाई निषेध गरेको छ। साथै, यसले हरेक खराब चरित्र र दुर्गुणलाई निषेध गरेको छ।
इस्लामले समग्रमा सबै प्रकारका निन्दनीय आचरणबाट रोक्छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {मानिसहरूप्रति घृणा र अवहेलना देखाउँदै आफ्नो गाला बाङ्गो नगर र धर्तीमा घमण्ड गर्दै नहिँड। निश्चय नै, अल्लाह कुनै घमण्डी र अहंकारीलाई मन पराउनुहुन्न।} [लुकमानः १८] नबी ﷺ ले भन्नुभयो: “निश्चय नै, तिमीहरूमध्ये मलाई सबैभन्दा प्रिय र कियामतको दिन मेरो सबैभन्दा नजिक हुनेहरू ती हुन्, जसको नैतिकता सबैभन्दा उत्तम छ। र तिमीहरूमध्ये मलाई सबैभन्दा अप्रिय तथा कियामतको दिन मबाट सबैभन्दा टाढा हुनेहरू धेरै कुरा गर्ने, बोलाइमा बनावटीपन देखाउने र घमण्डपूर्वक कुरा गर्नेहरू हुन्।” उनीहरूले सोधे: “धेरै कुरा गर्ने र बोलाइमा बनावटीपन देखाउनेहरूलाई त हामीले बुझ्यौँ, तर ‘अल-मुतफयिहिकून’ को अर्थ के हो?” उहाँ ﷺ ले भन्नुभयो: “घमण्डीहरू।” सिलसिलतुस्सहीहा हदीस नं. (७९१)।
इस्लामले झूट बोल्न निषेध गरेको छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {निश्चय नै, अल्लाहले सीमा नाघ्ने र झूट बोल्ने व्यक्तिलाई मार्गदर्शन गर्नुहुन्न।} [गाफिरः २८] रसूल ﷺ ले भन्नुभयो: «झूटबाट बच, किनकि झूटले दुष्कर्मतर्फ डोर्याउँछ र दुष्कर्मले नरकतर्फ डोर्याउँछ। मानिस झूट बोलिरहन्छ र झूट बोल्ने प्रयास गरिरहन्छ, यहाँसम्म कि ऊ अल्लाहको नजरमा झूटो लेखिन्छ।» सहीह मुस्लिम हदीस नं. (२६०७)। रसूल ﷺ ले भन्नुभयो: «मुनाफिकको तीनवटा चिन्ह छन्: जब उसले कुरा गर्छ, झूट बोल्छ; जब उसले वाचा गर्छ, वाचा तोड्छ; र जब उसलाई अमानत सुम्पिन्छ, उसले विश्वासघात गर्छ।» सहीह बुखारी हदीस नं. (६०९५)।
इस्लामले छलकपट र धोखाधडी गर्न निषेध गरेको छ। अबू हुरैरह रजियल्लाहु अन्हुबाट वर्णित छ, अल्लाहका रसूल ﷺ एकपटक खाद्यान्नको थुप्रोको छेउबाट गुज्रनुभयो र त्यसमा आफ्नो हात हाल्नुभयो। उहाँका औँलाहरू भिजे। उहाँले भन्नुभयो, “हे खाद्यान्नका मालिक! यो के हो?” उसले भन्यो, “हे अल्लाहका रसूल! त्यसमा पानी परेको थियो।” उहाँले भन्नुभयो, “त्यसलाई खाद्यान्नको माथिल्लो भागमा किन राखेनौ, ताकि मानिसहरूले देख्न सकून्? जसले हामीलाई धोका दिन्छ, ऊ हामीमध्ये होइन।” सहीह मुस्लिम हदीस नं. (१०२)
इस्लामले विश्वासघात, बेइमानी र छलकपट गर्न निषेध गरेको छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {हे ईमानवालाहरू! अल्लाह र रसूलसँग विश्वासघात नगर, र जानाजान आफ्ना अमानतहरूमा पनि विश्वासघात नगर।} [अल् अनफालः २७] अल्लाहले भन्नुभएको छ: {जो अल्लाहसँग गरेको वाचा पूरा गर्छन् र वाचा भङ्ग गर्दैनन्।} [अर्रअदः २०] रसूलुल्लाह ﷺ आफ्ना सेनाहरूलाई युद्धका लागि प्रस्थान गर्दा भन्नुहुन्थ्यो: "अल्लाहको मार्गमा जिहाद गर, तर चोरी नगर, धोका नदेऊ, अंगभंग नगर र बालबालिकाको हत्या नगर।” सहीह मुस्लिम हदीस नं. (१७३१)। रसूल ﷺ ले भन्नुभयो: “चारवटा गुण जसमा हुन्छन्, ऊ पूर्ण रूपमा मुनाफिक हुन्छ; र जसमा तीमध्ये कुनै एउटा गुण हुन्छ, उसमा त्यो गुण नछोडेसम्म निफाकको एउटा गुण रहिरहन्छ: जब उसलाई अमानत सुम्पिइन्छ, ऊ विश्वासघात गर्छ; जब कुरा गर्छ, झूट बोल्छ; जब वाचा गर्छ, वाचा भङ्ग गर्छ; र जब विवाद गर्छ, मर्यादा नाघ्छ।” सहीह बुखारी हदीस नं. (३४)।
इस्लामले ईर्ष्या गर्न निषेध गरेको छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {के उनीहरू अल्लाहले आफ्ना अनुग्रहबाट मानिसहरूलाई प्रदान गर्नुभएको कुराप्रति ईर्ष्या गर्छन्? निश्चय नै, हामीले इब्राहीमका सन्तानलाई किताब र हिक्मत प्रदान गरेका थियौँ र उनीहरूलाई ठूलो राज्यसत्ता पनि प्रदान गरेका थियौँ।} [अन्निसाः ५४] अल्लाहले भन्नुभएको छः {किताबवालाहरूमध्ये धेरैजसो चाहन्छन् कि तिमीहरूले ईमान ल्याइसकेपछि पनि तिमीहरूलाई फेरि कुफ्रतर्फ फर्काइदिऊन्, सत्य उनीहरूका लागि स्पष्ट भइसकेपछि पनि, उनीहरूभित्र रहेको ईर्ष्याका कारण। त्यसैले अल्लाह आफ्नो आदेश नल्याउन्जेल क्षमा गर र बेवास्ता गर। निश्चय नै, अल्लाह सबै कुरामाथि सामर्थ्यवान् हुनुहुन्छ।} [अल् बकरह: १०९] रसूल ﷺ ले भन्नुभयो: “तिमीहरूभन्दा अघिका जातिहरूको रोग तिमीहरूमा पनि प्रवेश गरिसकेको छ—ईर्ष्या र द्वेष। यो विनाशकारी छ। म यो भन्दिनँ कि यसले कपाल खौरन्छ, बरु यसले धर्मलाई खौरिदिन्छ। जसको हातमा मेरो प्राण छ, उहाँको कसम! तिमीहरू ईमान नल्याउन्जेल जन्नतमा प्रवेश गर्न सक्दैनौ, र तिमीहरू एकअर्कालाई प्रेम नगरेसम्म पूर्ण ईमानवाला हुन सक्दैनौ। के म तिमीहरूलाई त्यस्तो कुरा नबताऊँ, जसलाई अपनाएपछि तिमीहरूबीच आपसी प्रेम कायम हुनेछ? तिमीहरूबीच सलाम फैलाऊ।” सुनन तिर्मिजी हदीस नं. (२५१०)।
इस्लामले दुष्ट षड्यन्त्र र कपटपूर्ण चालबाजी गर्न निषेध गरेको छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {त्यसैगरी, हामीले प्रत्येक बस्तीमा त्यहाँका अपराधीहरूका ठूला व्यक्तिहरूलाई नियुक्त गरेका छौँ, ताकि उनीहरूले त्यहाँ षड्यन्त्र गरून्। तर उनीहरूले आफैँविरुद्ध नै षड्यन्त्र गर्छन्, जबकि उनीहरूलाई यसको अनुभूति हुँदैन।} [अल् अनआमः १२३] सर्वशक्तिमान् अल्लाहले हामीलाई जानकारी दिनुभएको छ कि यहूदीहरूले मसीह (अलैहिस्सलाम) लाई हत्या गर्न खोजे र उहाँविरुद्ध षड्यन्त्र गरे, तर अल्लाहले उनीहरूको षड्यन्त्रलाई विफल पारिदिनुभयो। साथै, अल्लाहले स्पष्ट पार्नुभएको छ कि दुष्ट षड्यन्त्रको दुष्परिणाम अन्ततः त्यसका कर्ताहरूमाथि नै पर्छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {जब ईसाले उनीहरूमा कुफ्र देख्नुभयो, उहाँले भन्नुभयो: “अल्लाहको मार्गमा मेरा सहयोगी को हुन्?” हवारीहरूले भने: “हामी अल्लाहका सहयोगी हौँ। हामी अल्लाहमाथि ईमान ल्याएका छौँ। र तपाईं साक्षी रहनुहोस् कि हामी मुस्लिम हौँ।” हे हाम्रा पालनकर्ता! हामीले तपाईंले अवतरित गर्नुभएको कुरामाथि ईमान ल्याएका छौँ र रसूलको अनुसरण गरेका छौँ। अतः हामीलाई साक्षीहरूमध्ये लेख्नुहोस्। उनीहरूले षड्यन्त्र गरे, र अल्लाहले पनि उनीहरूको षड्यन्त्रको प्रतिकार गर्नुभयो। अल्लाह सबैभन्दा उत्तम योजना बनाउने हुनुहुन्छ। जब अल्लाहले भन्नुभयो: “हे ईसा! म तिमीलाई पूर्ण रूपमा आफ्नो अधीनमा लिनेछु, तिमीलाई आफूतिर उठाउनेछु, तिमीलाई काफिरहरूबाट पवित्र पार्नेछु र तिम्रो अनुसरण गर्नेहरूलाई काफिरहरूमाथि कयामतको दिनसम्म श्रेष्ठता प्रदान गर्नेछु। त्यसपछि तिमीहरू सबैको फर्किने ठाउँ मतिर नै हुनेछ, अनि तिमीहरूबीच तिमीहरूले मतभेद गरेका विषयहरूमा म फैसला गर्नेछु।”} [आलि इमरान: ५२-५५] अल्लाहले जानकारी दिनुभएको छ, नबी सालेह (अलैहिस्सलाम) का मानिसहरूले उहाँको हत्या गर्ने षड्यन्त्र गरेका थिए। उनीहरूले षड्यन्त्र गरे, तर अल्लाहले उनीहरूको षड्यन्त्रलाई विफल पारिदिनुभयो र उनीहरू तथा उनीहरूको सम्पूर्ण समुदायलाई विनाश गर्नुभयो। अल्लाहले भन्नुभएको छ: {उनीहरूले भने: “अल्लाहको कसम खाएर एकअर्कासँग प्रतिज्ञा गरौँ कि हामी उसलाई र उसको परिवारलाई रातमा आक्रमण गर्नेछौँ। त्यसपछि हामी उसको संरक्षकलाई भन्नेछौँ, ‘हामीले उसको परिवारको विनाश भएको देखेका छैनौँ, र निश्चय नै हामी सत्य बोलिरहेका छौँ।’” उनीहरूले षड्यन्त्र गरे, र हामीले पनि उनीहरूको षड्यन्त्रको प्रतिकार गर्यौँ, तर उनीहरूलाई यसको कुनै अनुभूति थिएन। त्यसैले हेर, उनीहरूको षड्यन्त्रको परिणाम कस्तो भयो! हामीले उनीहरू र उनीहरूका सम्पूर्ण जातिलाई विनाश गरिदियौँ।} [अन्नमलः ४९-५१]
इस्लामले चोरी गर्न निषेध गरेको छ। अल्लाहका रसूल ﷺ ले भन्नुभएको छ: «व्यभिचारीले व्यभिचार गर्दा ऊ ईमानवाला हुँदैन; चोरले चोरी गर्दा ऊ ईमानवाला हुँदैन; र मदिरा पिउनेले मदिरा पिउँदा ऊ ईमानवाला हुँदैन। त्यसपछि पनि तौबाको अवसर खुला रहन्छ।” सहीह बुखारी हदीस नं. (६८१०)।
इस्लामले अत्याचार गर्न निषेध गरेको छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {निश्चय नै, अल्लाहले न्याय, सदाचार र आफन्तहरूलाई उनीहरूको हक प्रदान गर्न आदेश दिनुहुन्छ तथा अश्लील कार्य, अनुचित कार्य र अत्याचार गर्नबाट निषेध गर्नुहुन्छ। उहाँले तिमीहरूलाई उपदेश दिनुहुन्छ, ताकि तिमीहरूले सम्झिराख।} [अन्नहलः ९०] रसूल ﷺ ले भन्नुभयो: “निश्चय नै, अल्लाहले मलाई वह्य गर्नुभएको छ कि तिमीहरू विनम्र बन, ताकि कसैले कसैमाथि अत्याचार नगरोस् र कसैले कसैमाथि घमण्ड नगरोस्।” सहीह अबू दाऊद हदीस नं. (४८९५)।
इस्लामले अन्याय गर्न निषेध गरेको छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {अल्लाहले अन्याय गर्नेहरूलाई मन पराउनुहुन्न।} [आलि इमरान: ८५] अल्लाहले भन्नुभएको छ: {निश्चय नै, अत्याचारीहरू सफल हुने छैनन्।} [अल् अनआमः २१] अल्लाहले भन्नुभएको छ: {अत्याचारीहरूका लागि उहाँले पीडादायी यातना तयार पार्नुभएको छ।} [अल् इन्सानः ३१] रसूल ﷺ ले भन्नुभयो: "तीन व्यक्तिहरूको दुआ अस्वीकार गरिँदैन: न्यायप्रिय शासक, रोजा राखेको व्यक्ति—उसले रोजा नखोलुञ्जेलसम्म—र उत्पीडित व्यक्तिको दुआ। उसको दुआ बादलमाथि उठाइन्छ र त्यसका लागि आकाशका ढोकाहरू खोलिन्छन्। अनि रब्ब अज़्ज व जल्ल भन्नुहुन्छ: “मेरो इज्जतको कसम! म अवश्य नै तिम्रो सहायता गर्नेछु, चाहे केही समयपछि नै किन नहोस्।” यसलाई मुस्लिम (२७४९) ले केही संक्षिप्त र सामान्य भिन्नतासहित, तिर्मिजी (२५२६) ले पनि सामान्य भिन्नतासहित तथा अहमद (८०४३) ले यही शब्दावलीमा वर्णन गरेका छन्। जब अल्लाहका रसूल मुहम्मद ﷺ ले मुआजलाई यमनतर्फ पठाउनुभयो, उहाँले उनलाई भन्नुभएका कुराहरूमध्ये एउटा यस्तो थियो: «उत्पीडित व्यक्तिको श्रापबाट बच, किनकि उसको र अल्लाहको बीचमा कुनै पर्दा हुँदैन।» सहीह बुखारी हदीस नं. (१४९६)। रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “सुन! जसले कुनै मुआहिदमाथि अत्याचार गर्छ, उसको हक घटाउँछ, उसको क्षमताभन्दा बढी भार थोपर्छ वा उसको इच्छाविपरीत उसबाट कुनै कुरा लिन्छ, कियामतको दिन म स्वयं उसको विरुद्ध दाबी गर्नेछु।” सुनने अबि दाऊद हदीस नं. (३०५२)। तपाईंले देख्नुभएकै छ, इस्लामले हरेक खराब चरित्र तथा अन्यायपूर्ण वा अनुचित व्यवहार गर्न निषेध गर्दछ।
३६- इस्लामले ब्याज, हानि, अनिश्चितता, अन्याय वा छलकपट समावेश भएका आर्थिक कारोबारहरू तथा समाज, समुदाय र व्यक्तिहरूमा विपत्ति र व्यापक हानि निम्त्याउने कारोबारहरू गर्न निषेध गरेको छ।
इस्लामले ब्याज, हानि, अनिश्चितता, अन्याय वा छलकपट समावेश भएका आर्थिक कारोबारहरू गर्न निषेध गरेको छ। साथै, समाज, समुदाय र व्यक्तिहरूमा विपत्ति तथा व्यापक हानि निम्त्याउने आर्थिक कारोबारहरूबाट पनि इस्लामले रोक्छ। यस अनुच्छेदको सुरुवातमै ब्याज, अन्याय, ठगी तथा धरतीमा भ्रष्टाचार फैलाउन निषेध गर्ने आयतहरू र हदीसहरू उल्लेख भइसकेका छन्। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {जसले मोमिन पुरुष तथा मोमिन महिलाहरूलाई उनीहरूले नगरेको कुनै कामका कारण दुःख दिन्छन्, उनीहरूले निश्चय नै ठूलो मिथ्यारोपण र स्पष्ट पापको बोझ बोकेका छन्।} [अल् अहजाबः ५८] अल्लाहले भन्नुभएको छः {जसले सत्कर्म गर्छ, त्यसको लाभ उसैलाई हुन्छ र जसले दुष्कर्म गर्छ, त्यसको दुष्परिणाम पनि उसैलाई हुन्छ। तपाईंका पालनकर्ता आफ्ना बन्दाहरूमाथि कदापि अन्याय गर्नुहुन्न।} [फुस्सिलतः ४६] सुन्नतमा आएको छ: “अल्लाहका रसूल ﷺ ले यस्तो फैसला गर्नुभएको छ कि न त कसैलाई हानि पुर्याउनुपर्छ र न त हानि पुर्याएर त्यसको बदला लिनुपर्छ।” (सुनन अबि दाऊद) रसूल ﷺ ले भन्नुभयो: “जो व्यक्ति अल्लाह र अन्तिम दिनमाथि ईमान राख्छ, उसले आफ्नो छिमेकीलाई दुःख नदेओस्। जो व्यक्ति अल्लाह र अन्तिम दिनमाथि ईमान राख्छ, उसले आफ्नो पाहुनाको सत्कार गरोस्। र जो व्यक्ति अल्लाह र अन्तिम दिनमाथि ईमान राख्छ, उसले राम्रो कुरा बोलोस् वा चुप लागोस्।” अर्को रिवायतमा छ: “उसले आफ्नो छिमेकीसँग राम्रो व्यवहार गरोस्।” सहीह मुस्लिम हदीस नं. (४७)। रसूल ﷺ ले भन्नुभयो: “एउटी महिलालाई एउटा बिरालोका कारण यातना दिइयो। उनले त्यसलाई थुनेर राखिन्, यहाँसम्म कि त्यो मर्यो र त्यसै कारण उनी नरकमा प्रवेश गरिन्। उनले त्यसलाई थुनेर राखेको अवस्थामा न त खान दिइन्, न पानी पिलाइन्, न त त्यसलाई छोडिन्, ताकि त्यसले जमिनमा पाइने साना जीवहरू खान सकोस्।” सहीह बुखारी हदीस नं. (३४८२)। यो त एउटा बिरालोलाई दुःख दिने व्यक्तिको अवस्था हो। त्यसो भए, जसले मानिसहरूलाई नै दुःख पुर्याउँछ, उसको अवस्था कस्तो होला? इब्न उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गर्नुभएको छ: अल्लाहका रसूल ﷺ मिम्बरमा चढ्नुभयो र उच्च स्वरमा पुकार्दै भन्नुभयो: “हे आफ्नो जिब्रोले मात्र इस्लाम स्वीकार गरेका तर ईमान अझै हृदयमा प्रवेश नगरेका मानिसहरू! मुस्लिमहरूलाई दुःख नदेऊ, उनीहरूलाई दोष नलगाऊ र उनीहरूका गोप्य कमजोरीहरू नखोज। किनकि जसले आफ्नो मुस्लिम भाइका कमजोरीहरू खोज्छ, अल्लाहले पनि उसका कमजोरीहरू खोज्नुहुनेछ। र जसका कमजोरीहरू अल्लाहले खोज्नुहुन्छ, उहाँले उसलाई अपमानित गर्नुहुनेछ, चाहे ऊ आफ्नै घरभित्र लुकेको भए पनि।” इब्न उमर (रजियल्लाहु अन्हुमा) ले एक दिन काबातर्फ हेरेर भन्नुभयो: “तिमी कति महान् छौ र तिम्रो पवित्रता कति महान् छ! तर अल्लाहको दृष्टिमा एक मोमिनको पवित्रता तिमीभन्दा पनि महान् छ।” यसलाई तिर्मिजीले हदीस नं. (२०३२) मा र इब्न हिब्बानले हदीस नं. (५७६३) मा वर्णन गरेका छन्। रसूल ﷺ ले भन्नुभयो: “जो व्यक्ति अल्लाह र अन्तिम दिनमाथि ईमान राख्छ, उसले आफ्नो छिमेकीलाई दुःख नदेओस्। जो व्यक्ति अल्लाह र अन्तिम दिनमाथि ईमान राख्छ, उसले आफ्नो पाहुनाको सत्कार गरोस्। र जो व्यक्ति अल्लाह र अन्तिम दिनमाथि ईमान राख्छ, उसले राम्रो कुरा बोलोस् वा चुप लागोस्।” सहीह बुखारी हदीस नं. (६०१८)। अबू हुरैरह (रजियल्लाहु अन्हु) बाट वर्णित छ, नबी ﷺ ले भन्नुभयो: “के तिमीहरूलाई थाहा छ, दिवालिया व्यक्ति को हो?” सहाबाहरूले भने: “हे अल्लाहका रसूल! हामीमध्ये दिवालिया व्यक्ति त्यो हो, जससँग न दिरहम हुन्छ, न कुनै सम्पत्ति।” उहाँले भन्नुभयो: “मेरो उम्मतमा वास्तविक दिवालिया त्यो हो, जो कियामतको दिन नमाज, रोजा र जकात लिएर आउनेछ, तर उसले कसैलाई गाली गरेको, कसैको इज्जतमाथि आक्षेप लगाएको र कसैको सम्पत्ति खाएको हुनेछ। त्यसपछि उसको सत्कर्महरूमध्ये केही यसलाई र केही अर्कोलाई दिइनेछन्। यदि उसले तिर्नुपर्ने अधिकारहरू पूरा गर्नुअघि नै उसका सत्कर्महरू समाप्त भए भने, पीडितहरूका पापहरूमध्ये केही पाप उसमाथि हालिनेछन्, त्यसपछि उसलाई नरकमा फालिनेछ।” यसलाई मुस्लिम (२५८१), तिर्मिजी (२४१८) र अहमद (८०२९) ले वर्णन गरेका छन्; हदीसको यो शब्दा अहमदको हो।
रसूलुल्लाह ﷺ ले भन्नुभयो: “बाटोमा मानिसहरूलाई दुःख दिने एउटा रूखको हाँगा थियो। एक जना मानिसले त्यसलाई हटाइदिए, त्यसैले उनलाई जन्नतमा प्रवेश गराइयो।” यसलाई बुखारी (६५२) ले यही अर्थमा, मुस्लिम (१९१४) ले उस्तै अर्थमा, तथा इब्न माजह (३६८२) र अहमद (१०४३२) ले यही शब्दावलीमा वर्णन गरेका छन्। बाटोबाट मानिसहरूलाई दुःख दिने वस्तु हटाउनु जन्नतमा प्रवेशको कारण बन्छ; त्यसो भए मानिसहरूलाई दुःख दिने र उनीहरूको जीवनमा अशान्ति तथा बिगार ल्याउने व्यक्तिको अवस्था कस्तो होला!
३७- इस्लामले विवेकको संरक्षण गर्न र त्यसलाई बिगार्ने सबै कुरालाई, जस्तै मदिरा सेवनलाई, हराम गरेको छ। इस्लामले विवेकलाई उच्च स्थान दिएको छ र त्यसलाई शरिअतका आदेश–निषेध लागू हुने आधार बनाएको छ। साथै, यसले विवेकलाई अन्धविश्वास र मूर्तिपूजाका बन्धनहरूबाट मुक्त गरेको छ। इस्लाममा कुनै त्यस्ता गोप्य धार्मिक रहस्य वा विशेष धार्मिक प्रावधानहरू छैनन्, जुन एउटा वर्गका लागि मात्र सीमित होऊन्। यसका सबै आदेश, प्रावधान र विधिविधान स्वस्थ विवेकसँग मेल खान्छन् र न्याय तथा बुद्धिमत्ताको मागअनुरूप छन्।
इस्लाम विवेकको संरक्षण गर्न र त्यसको महत्त्व उच्च बनाउन आएको हो। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {निश्चय नै, कान, आँखा र हृदय—यी सबैका बारेमा सोधिनेछ।} [अल् इस्राः ३६] मानिसका लागि आफ्नो विवेकको संरक्षण गर्नु अनिवार्य छ। त्यसैले इस्लामले मदिरा र लागूपदार्थलाई हराम गरेको छ। मदिरा निषेधसम्बन्धी कुरा अनुच्छेद नं. (३४) मा उल्लेख भइसकेको छ। कुरआनका धेरै आयतहरूको अन्त्य सर्वशक्तिमान् अल्लाहको यस भनाइबाट हुन्छ: {ताकि तिमीहरूले बुझ।} [अल् बकरह: २४२] अल्लाहले भन्नुभएको छः {र यो संसारको जीवन त खेल र मनोरञ्जन मात्र हो। तर अल्लाहसँग डराउनेहरूका लागि आखिरत नै उत्तम छ। के तिमीहरू बुझ्दैनौ?} [अल् अनआमः ३२] अल्लाहले भन्नुभएको छः {निश्चय नै, हामीले यसलाई अरबीमा कुरआन अवतरित गरेका छौँ, ताकि तिमीहरूले बुझ्न सक।} [यूसुफः २] सर्वशक्तिमान् अल्लाहले स्पष्ट पार्नुभएको छ कि मार्गदर्शन र हिक्मतबाट केवल विवेकशील मानिसहरूले मात्र लाभ उठाउँछन्; उनीहरू नै बुद्धिमान् र समझदार हुन्। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {उहाँले जसलाई चाहनुहुन्छ, हिक्मत प्रदान गर्नुहुन्छ। जसलाई हिक्मत प्रदान गरिन्छ, उसलाई निश्चय नै धेरै ठूलो भलाइ प्रदान गरिएको हुन्छ। केवल बुद्धिमान्हरूले नै उपदेश ग्रहण गर्छन्।} [अल् बकरह: २६९]
यसै कारण इस्लामले विवेकलाई धार्मिक दायित्व लागू हुने आधार बनाएको छ। अल्लाहका रसूल ﷺ ले भन्नुभएको छ: «तीन प्रकारका व्यक्तिहरूबाट कलम उठाइएको छ: सुतिरहेको व्यक्तिबाट, जबसम्म ऊ ब्युँझिँदैन; बालकबाट, जबसम्म ऊ बालिग हुँदैन; र पागल व्यक्तिबाट, जबसम्म उसको बुद्धि ठीक हुँदैन।” यसलाई बुखारीले हदीस नं. (५२६९) भन्दा अघि यही अर्थमा मुअल्लक रूपमा जज्म (दृढता) का साथ उल्लेख गरेका छन्। अबू दाउद (४४०२) ले यसलाई मुस्नद रूपमा यही शब्दावलीमा, तिर्मिजी (१४२३) ले, नसाईले 'अस्सुननुल कुब्रा' (७३४६) मा, अहमद (९५६) ले सामान्य भिन्नतासहित र इब्न माजह (२०४२) ले संक्षिप्त रूपमा वर्णन गरेका छन्। इस्लामले विवेकलाई अन्धविश्वास र मूर्तिपूजाका बन्धनहरूबाट मुक्त गरेको छ। सर्वशक्तिमान् अल्लाहले आफ्ना तर्फबाट आएको सत्यलाई अस्वीकार गर्दै अन्धविश्वासमा अडिग रहेका अघिल्ला समुदायहरूको अवस्थाबारे जानकारी दिँदै भन्नुभएको छ: {यसरी नै हामीले तिमीभन्दा अघि कुनै बस्तीमा कुनै चेतावनी दिने रसूल पठाउँदा, त्यहाँका सम्पन्न व्यक्तिहरूले भने: “निश्चय नै, हामीले आफ्ना पुर्खाहरूलाई एउटा मार्गमा पाएका छौँ र हामी उनीहरूकै पदचिह्न पछ्याउनेछौँ।”} [अज्जुखरुफः २३] सर्वशक्तिमान् अल्लाहले खलीलुल्लाह इब्राहीम (अलैहिस्सलाम) ले आफ्ना जातिका मानिसहरूलाई भनेको कुरा उल्लेख गर्दै भन्नुभएको छ: {“यी मूर्तिहरू के हुन्, जसको उपासनामा तिमीहरू निरन्तर लागिरहन्छौ?”} {उनीहरूले भने: “हामीले आफ्ना पुर्खाहरूलाई यिनैको पूजा गरिरहेको पाएका छौँ।”} [अल् अम्बियाः ५२-५३] इस्लाम आयो र मानिसहरूलाई मूर्तिपूजा त्याग्न, आफ्ना पुर्खाहरूबाट विरासतमा पाएका अन्धविश्वासहरू छोड्न तथा रसूलहरूको मार्ग अनुसरण गर्न आदेश दियो।
इस्लाममा कुनै रहस्य वा कुनै एउटा वर्गका मानिसहरूका लागि मात्र विशेष गरिएका धार्मिक विधानहरू छैनन्। अल्लाहका रसूल ﷺ का काकाका छोरा तथा उहाँकी छोरीका पति अली बिन अबू तालिब (रजियल्लाहु अन्हु) लाई सोधियो: “के अल्लाहका रसूल ﷺ ले तपाईंहरूलाई अरू मानिसहरूलाई नदिएको कुनै विशेष कुरा दिनुभएको थियो?” उहाँले भन्नुभयो: “अल्लाहका रसूल ﷺ ले हामीलाई अरू मानिसहरूलाई नदिएको कुनै विशेष कुरा दिनुभएको छैन, सिवाय मेरो यस तरबारको म्यानमा रहेको एउटा लिखतको।” त्यसपछि उहाँले एउटा लिखत निकाल्नुभयो, जसमा लेखिएको थियो: “अल्लाहले गैरुल्लाहका लागि बलि चढाउने व्यक्तिलाई धिक्कार्नुभएको छ। अल्लाहले जमिनका सीमाचिह्नहरू परिवर्तन गर्ने व्यक्तिलाई धिक्कार्नुभएको छ। अल्लाहले आफ्ना आमाबुबालाई धिक्कार्ने व्यक्तिलाई धिक्कार्नुभएको छ। अल्लाहले धर्ममा नयाँ कुरा उत्पन्न गर्ने व्यक्तिलाई आश्रय दिने व्यक्तिलाई धिक्कार्नुभएको छ।” सहीह मुस्लिम हदीस नं. (१९७८)। इस्लामका सबै विधान र धार्मिक नियमहरू स्वस्थ बुद्धिसँग मेल खान्छन् र न्याय तथा प्रज्ञाको मागअनुरूप छन्।
३८- झूटा धर्मका अनुयायीहरूले ती धर्महरूमा रहेका विरोधाभासहरू तथा बुद्धिले अस्वीकार गर्ने कुराहरू बुझ्न नसक्दा, धर्मगुरुहरूले उनीहरूलाई धर्म बुद्धिभन्दा माथि रहेको र धर्मलाई बुझ्न तथा आत्मसात् गर्न बुद्धिको कुनै भूमिका नरहेको भ्रममा पार्छन्। यसको विपरीत, इस्लामले धर्मलाई बुद्धिको मार्गलाई उज्यालो पार्ने प्रकाशका रूपमा प्रस्तुत गरेको छ। झूटा धर्मका अनुयायीहरू मानिसले आफ्नो बुद्धि त्यागेर उनीहरूको अन्धअनुसरण गरोस् भन्ने चाहन्छन्; तर इस्लाम मानिसले आफ्नो बुद्धिलाई जागृत र प्रयोग गरोस्, ताकि उसले वस्तुहरूको वास्तविकतालाई यथार्थ रूपमा बुझ्न सकोस् भन्ने चाहन्छ।
झूटा धर्मका अनुयायीहरूले ती धर्महरूमा रहेका विरोधाभासहरू तथा बुद्धिले अस्वीकार गर्ने कुराहरू बुझ्न नसक्दा, धर्मगुरुहरूले उनीहरूलाई धर्म बुद्धिभन्दा माथि रहेको र धर्मलाई बुझ्न तथा आत्मसात् गर्न बुद्धिको कुनै भूमिका नरहेको भ्रममा पार्छन्। यसको विपरीत, इस्लामले धर्मलाई बुद्धिको मार्गलाई उज्यालो पार्ने प्रकाशका रूपमा प्रस्तुत गरेको छ। झूटा धर्मका अनुयायीहरू मानिसले आफ्नो बुद्धि त्यागेर उनीहरूको अन्धअनुसरण गरोस् भन्ने चाहन्छन्; तर इस्लाम मानिसले आफ्नो बुद्धिलाई जागृत र प्रयोग गरोस्, ताकि उसले वस्तुहरूको वास्तविकतालाई यथार्थ रूपमा बुझ्न सकोस् भन्ने चाहन्छ। अल्लाह तआला भन्नुहुन्छ: {यसरी नै हामीले आफ्ना आदेशद्वारा तिमीतर्फ एउटा आत्मा (वही) पठायौँ। तिमीलाई न त किताब के हो भन्ने थाहा थियो, न ईमान के हो भन्ने; तर हामीले त्यसलाई एउटा प्रकाश बनायौँ, जसद्वारा हामी आफ्ना बन्दाहरूमध्ये जसलाई चाहन्छौँ, मार्गदर्शन गर्छौँ। निश्चय नै तिमीले सोझो मार्गतर्फ मार्गदर्शन गर्छौ।} [अश्शूराः ५२] अतः ईश्वरीय वह्यीमा यस्ता प्रमाणहरू र तर्कहरू समावेश छन्, जसले स्वस्थ बुद्धिलाई आफूले जान्न र त्यसमा ईमान ल्याउन चाहेका वास्तविकताहरूतर्फ मार्गदर्शन गर्छन्। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {हे मानिसहरू! निश्चय नै तिमीहरूका पालनकर्ताबाट तिमीहरूकहाँ एउटा स्पष्ट प्रमाण आएको छ र हामीले तिमीहरूतर्फ एउटा प्रस्ट प्रकाश अवतरण गरेका छौँ।} [अन्निसाः १७४] अतः सर्वशक्तिमान् अल्लाह चाहनुहुन्छ कि मानिस हिदायत, ज्ञान र सत्यको प्रकाशमा जीवन बिताओस्; तर शैतान र तागूतहरू चाहन्छन् कि मानिस कुफ्र, अज्ञानता र पथभ्रष्टताको अन्धकारमा रहिरहोस्। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {अल्लाह ईमान ल्याएका मानिसहरूका संरक्षक हुनुहुन्छ। उहाँले उनीहरूलाई अन्धकारहरूबाट प्रकाशतर्फ निकाल्नुहुन्छ। र जसले कुफ्र गर्छन्, उनीहरूका संरक्षक तागूतहरू हुन्; तिनीहरूले उनीहरूलाई प्रकाशबाट अन्धकारतर्फ निकाल्छन्।} [अल् बकरह: २५७]
३९- इस्लामले सही ज्ञानलाई महत्त्व दिन्छ, स्वार्थ र पूर्वाग्रहबाट मुक्त वैज्ञानिक अनुसन्धान गर्न प्रोत्साहित गर्छ तथा हामीलाई आफ्नै अस्तित्व र हाम्रो वरिपरिको ब्रह्माण्डका बारेमा विचार, चिन्तन र मनन गर्न आह्वान गर्छ। सही वैज्ञानिक अनुसन्धानबाट प्राप्त निष्कर्षहरू इस्लामसँग विरोधाभास हुँदैनन्।
इस्लामले सही ज्ञानलाई ठूलो महत्त्व दिन्छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {अल्लाहले तिमीहरूमध्ये ईमान ल्याएका मानिसहरू तथा ज्ञान प्रदान गरिएकाहरूको दर्जा उच्च पार्नुहुन्छ। तिमीहरूले गर्ने सबै कार्यहरूबारे अल्लाह पूर्ण रूपमा जानकार हुनुहुन्छ।} [अल् मुजादिलाः ११] अल्लाहले विद्वानहरूको साक्षीलाई सबैभन्दा महान् विषयमा आफ्नो साक्षी र आफ्ना फरिश्ताहरूको साक्षीसँगै उल्लेख गर्नुभएको छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: अल्लाहले साक्षी दिनुभएको छ कि उहाँबाहेक कोही सत्य पूज्य छैन। फरिश्ताहरू र ज्ञानवानहरूले पनि न्याय कायम राख्दै यसको साक्षी दिएका छन्। उहाँबाहेक कोही सत्य पूज्य छैन। उहाँ सर्वशक्तिमान्, अत्यन्त तत्त्वदर्शी हुनुहुन्छ। [आलि इमरान: १८] यसले इस्लाममा विद्वानहरूको उच्च स्थानलाई स्पष्ट पार्छ। साथै, सर्वशक्तिमान् अल्लाहले आफ्ना नबी मुहम्मद ﷺ लाई ज्ञानबाहेक अरू कुनै कुरामा वृद्धि माग्न आदेश दिनुभएको छैन। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {भन: “हे मेरा पालनकर्ता! मेरो ज्ञानमा वृद्धि गरिदिनुहोस्।”} [ताहाः ११४] रसूल ﷺ ले भन्नुभयो: “जो व्यक्ति ज्ञान प्राप्त गर्ने उद्देश्यले कुनै मार्गमा हिँड्छ, अल्लाहले उसका लागि स्वर्गतर्फ जाने मार्ग सहज बनाइदिनुहुन्छ। निश्चय नै, ज्ञानको खोजी गर्ने व्यक्तिप्रति प्रसन्नता व्यक्त गर्दै फरिश्ताहरूले आफ्ना पखेटाहरू बिछ्याउँछन्। आकाश र पृथ्वीमा भएका सबै प्राणीहरूले, यहाँसम्म कि पानीमा रहेका माछाहरूले समेत, ज्ञानको खोजी गर्ने व्यक्तिका लागि क्षमायाचना गर्छन्। निश्चय नै, विद्वानको श्रेष्ठता उपासकमाथि त्यस्तै छ, जस्तो पूर्णिमाको चन्द्रमाको श्रेष्ठता अन्य सबै ताराहरूमाथि हुन्छ। निश्चय नै, विद्वानहरू नबीहरूका उत्तराधिकारी हुन्। नबीहरूले दीनार र दिर्हमको उत्तराधिकार बनाएका छैनन्; बरु उनीहरूले ज्ञानको उत्तराधिकार बनाएका छन्। त्यसैले जसले त्यो ज्ञान ग्रहण गर्यो, उसले ठूलो भाग प्राप्त गर्यो।” अबू दाऊद (३६४१), तिर्मिजी (२६८२), इब्न माजह (२२३) र अहमद (२१७१५) ले यस हदीसलाई उद्धृत गरेका छन्। यहाँ प्रयोग गरिएको शब्दावली इब्न माजहको रिवायतअनुसार हो।
इस्लामले स्वार्थ र पूर्वाग्रहबाट मुक्त भएर वैज्ञानिक अनुसन्धान गर्न प्रोत्साहित गर्छ तथा हामीलाई आफ्नै अस्तित्व र हाम्रो वरिपरिको ब्रह्माण्डबारे विचार र चिन्तन गर्न आह्वान गर्छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: चाँडै नै हामी उनीहरूलाई क्षितिजहरूमा र उनीहरूकै आफ्नै अस्तित्वमा रहेका हाम्रा निशानीहरू देखाउनेछौँ, यहाँसम्म कि उनीहरूका लागि यो स्पष्ट हुनेछ कि यो नै सत्य हो। के तिम्रा पालनकर्ताको हरेक कुरामाथि साक्षी हुनु नै पर्याप्त छैन र? [फुस्सिलतः ५३] अल्लाहले भन्नुभएको छः {के उनीहरूले आकाशहरू र पृथ्वीको साम्राज्य तथा अल्लाहले सृष्टि गर्नुभएका सबै वस्तुहरूबारे विचार गर्दैनन् र? अनि सम्भवतः उनीहरूको निर्धारित समय नजिक आइसकेको हुन सक्छ। त्यसपछि यस कुरापछि उनीहरू कुन वचनमा ईमान ल्याउनेछन्?} [अल् अअराफः १८५] अल्लाहले भन्नुभएको छः {के उनीहरू पृथ्वीमा घुमफिर गरेनन्, ताकि उनीहरूले हेर्न सकून् कि उनीहरूभन्दा अघिका मानिसहरूको परिणाम कस्तो भयो? उनीहरू शक्तिमा उनीहरूभन्दा बढी बलवान थिए, उनीहरूले पृथ्वीलाई आबाद गरे र आफूहरूले बसोबास गरेको भन्दा बढी त्यसलाई आबाद गरे। उनीहरूका रसूलहरू पनि उनीहरूकहाँ स्पष्ट प्रमाणहरू लिएर आए। अतः अल्लाह उनीहरूमाथि अन्याय गर्नेवाला हुनुहुन्थेन; बरु उनीहरू स्वयं आफ्नै माथि अन्याय गरिरहेका थिए।} [अर्रूमः ९]
वैज्ञानिक अनुसन्धानबाट प्राप्त सही निष्कर्षहरू इस्लामसँग विरोधाभास हुँदैनन्। यसको एउटा मात्र उदाहरण हामी प्रस्तुत गर्नेछौँ, जसका बारेमा कुरआनले एक हजार चार सय वर्षभन्दा पनि पहिले सूक्ष्म विवरणहरू उल्लेख गरेको थियो, जबकि आधुनिक विज्ञानले ती कुराहरूलाई धेरै पछि मात्र पहिचान गर्यो। यसरी वैज्ञानिक अनुसन्धानका निष्कर्षहरू महान् कुरआनमा उल्लिखित कुरासँग मेल खान आए। त्यो उदाहरण आमाको गर्भमा भ्रूणको सृष्टिसँग सम्बन्धित छ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {निश्चय नै, हामीले मानिसलाई माटोको सारबाट सृष्टि गरेका छौँ। {त्यसपछि हामीले त्यसलाई सुरक्षित स्थानमा वीर्यको थोपाका रूपमा राख्यौँ।} {त्यसपछि हामीले वीर्यको थोपालाई रगतको डल्लोमा परिणत गर्यौँ, अनि रगतको डल्लोलाई मासुको लोथ्रोमा परिणत गर्यौँ। त्यसपछि मासुको लोथ्रोलाई हड्डीमा परिणत गर्यौँ र हड्डीहरूलाई मासुले ढाकिदियौँ। त्यसपछि हामीले उसलाई अर्को स्वरूपमा उत्पन्न गर्यौँ। अतः सबैभन्दा उत्तम सृष्टिकर्ता अल्लाह अत्यन्त बरकतवाला हुनुहुन्छ।} [अल् मुमिनूनः १२-१४]
४०- अल्लाहले कुनै व्यक्तिले गरेको कर्मलाई स्वीकार गर्नुहुन्न र परलोकमा त्यसको प्रतिफल पनि दिनुहुन्न, जबसम्म उसले अल्लाहमाथि ईमान ल्याएर उहाँको आज्ञापालन गर्दैन र उहाँका सबै रसूलहरूलाई सत्य ठान्दैन। अल्लाहले उहाँले विधान गर्नुभएकोबाहेक कुनै पनि इबादत स्वीकार गर्नुहुन्न। त्यसैले मानिसले कसरी अल्लाहसँग कुफ्र गरेर उहाँबाट प्रतिफलको आशा गर्न सक्छ? अल्लाहले कुनै व्यक्तिको ईमान स्वीकार गर्नुहुन्न, जबसम्म उसले सबै नबीहरूमाथि ईमान ल्याउँदैन र मुहम्मद ﷺ को रिसालतमा पनि ईमान ल्याउँदैन।
अल्लाह तआलाले कुनै व्यक्तिको कर्म स्वीकार गर्नुहुन्न र परलोकमा त्यसको प्रतिफल पनि दिनुहुन्न, जबसम्म उसले अल्लाहमाथि ईमान ल्याएर उहाँको आज्ञापालन गर्दैन र उहाँका रसूलहरूलाई सत्य ठान्दैन। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {जसले यस सांसारिक जीवनको तत्काल प्राप्त हुने सुख चाहन्छ, हामीले जसका लागि जे चाहन्छौँ, त्यसलाई यसैमा शीघ्र प्रदान गर्छौँ। त्यसपछि हामीले उसको लागि जहन्नम तयार गरेका छौँ, जहाँ ऊ अपमानित र धपाइएको अवस्थामा प्रवेश गर्नेछ। {जसले आख़िरत चाहन्छ र त्यसका लागि आवश्यक प्रयास गर्छ, साथै ऊ आस्थावान पनि छ भने, त्यस्ता व्यक्तिहरूको प्रयासको कदर गरिनेछ।} [अल् इस्राः १८-१९] अल्लाहले भन्नुभएको छः {अतः जसले ईमानको अवस्थामा सत्कर्महरू गर्छ, उसको प्रयासको कदर गरिनेछ, र निश्चय नै हामी त्यसलाई लेखेर राख्नेछौँ।} [अल् अम्बियाः ९४] अल्लाह तआलाले बन्दाहरूका इबादतहरूमध्ये उहाँले निर्धारित गर्नुभएको बाहेक अरू कुनै इबादत स्वीकार गर्नुहुन्न। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {अतः जसले आफ्ना पालनकर्तासँगको भेटको आशा राख्छ, उसले सत्कर्म गर्नुपर्छ र आफ्ना पालनकर्ताको इबादतमा कसैलाई साझेदार नबनाओस्।} [अल् कहफः ११०] यसबाट स्पष्ट हुन्छ, कुनै कर्म सत्कर्म तब मात्र हुन्छ, जब त्यो अल्लाहले निर्धारित गर्नुभएको कर्ममध्ये होस् र त्यसको कर्ता आफ्नो कर्ममा अल्लाहप्रति निष्ठावान् होस् तथा अल्लाहमाथि ईमान राख्ने र उहाँका नबीहरू तथा रसूलहरूलाई सत्य मान्ने व्यक्ति होस्। तर जसको कर्म यसबाहेकको हुन्छ, त्यसका बारेमा सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: {उनीहरूले गरेका कर्मतर्फ हामी ध्यान दिनेछौँ र त्यसलाई छरिएको धुलोजस्तै बनाइदिनेछौँ।} [अल् फुर्कानः २३] अल्लाहले भन्नुभएको छः {त्यस दिन केही अनुहारहरू झुकेका हुनेछन्।} {तिनीहरू कर्मशील र थकित हुनेछन्।} {तिनीहरू दन्किरहेको तातो आगोमा प्रवेश गर्नेछन्।} [अल् गाशियाः २-४] यी अनुहारहरू कर्म गरेर झुकेका र थकित भएका हुनेछन्। तर उनीहरूले अल्लाहको मार्गदर्शनबिना कर्म गरेका हुनाले अल्लाहले उनीहरूको अन्तिम गन्तव्य आगो बनाउनुभएको छ। किनकि उनीहरूले अल्लाहले निर्धारित गर्नुभएको तरिकाअनुसार कर्म गरेका थिएनन्; बरु उनीहरूले असत्य इबादतहरू गर्दै आएका थिए र आफ्ना लागि झूटा धर्महरू आविष्कार गर्ने पथभ्रष्टताका अगुवाहरूको अनुसरण गरेका थिए। अतः अल्लाहकहाँ स्वीकार्य सत्कर्म त्यही हो, जुन रसूल ﷺ ले ल्याउनुभएको मार्गअनुरूप हुन्छ। त्यसैले मानिसले कसरी अल्लाहसँग कुफ्र गर्छ र फेरि उहाँबाट पुरस्कारको आशा राख्न सक्छ?
अल्लाहले मानिसहरूमध्ये कसैको ईमान स्वीकार गर्नुहुन्न, जबसम्म उसले सबै नबीहरूमाथि ईमान ल्याउँदैन र मुहम्मद ﷺ को रिसालतमा ईमान ल्याउँदैन। यसबारे केही प्रमाणहरू हामीले यसअघि अनुच्छेद नं. (२०) मा उल्लेख गरिसकेका छौँ। सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: “रसूलले आफ्नो पालनहारबाट आफूलाई अवतरित गरिएको कुरामाथि ईमान ल्याए, र ईमानवालाहरूले पनि। सबैले अल्लाह, उहाँका फरिश्ताहरू, उहाँका पुस्तकहरू र उहाँका रसूलहरूमाथि ईमान ल्याए। (उनीहरू भन्छन्:) ‘हामी उहाँका कुनै पनि रसूलबीच भेदभाव गर्दैनौँ।’ अनि उनीहरूले भने: ‘हामीले सुन्यौँ र आज्ञापालन गर्यौँ। हे हाम्रो पालनहार! हामी तिम्रो क्षमा चाहन्छौँ, र अन्ततः फर्केर जानुपर्ने ठाउँ तिमीतर्फ नै हो।’” [अल् बकरह: २८५] अल्लाहले भन्नुभएको छः “हे ईमानवालाहरू! अल्लाहमाथि, उहाँका रसूलमाथि, उहाँले आफ्ना रसूलमाथि अवतरण गर्नुभएको पुस्तकमाथि र यसअघि अवतरण गर्नुभएका पुस्तकहरूमाथि ईमान ल्याओ। जसले अल्लाह, उहाँका फरिश्ताहरू, उहाँका पुस्तकहरू, उहाँका रसूलहरू र आखिरतको दिनलाई इन्कार गर्छ, त्यो निश्चय नै धेरै टाढाको मार्गभ्रष्टतामा परेको छ।” [अन्निसाः १३६] अल्लाहले भन्नुभएको छः {जब अल्लाहले नबीहरूबाट यो प्रतिज्ञा लिनुभयो कि “मैले तिमीहरूलाई किताब र हिक्मत प्रदान गरेपछि तिमीहरूसँग भएको कुरालाई सत्य ठहराउने कुनै रसूल तिमीहरूकहाँ आएमा, तिमीहरूले अवश्य उसमाथि ईमान ल्याउनू र उसको अवश्य सहायता गर्नू।” उहाँले भन्नुभयो: “के तिमीहरूले स्वीकार गर्यौ र यसबारे मेरो प्रतिज्ञाको भार लियौ?” उनीहरूले भने: “हामीले स्वीकार गर्यौँ।” उहाँले भन्नुभयो: “त्यसो भए साक्षी बस, र म पनि तिमीहरूसँग साक्षीहरूमध्ये छु।”} [आलि इमरान: ८१]
४१- सबै ईश्वरीय सन्देशहरूको उद्देश्य एउटै हो: सत्य धर्मले मानिसलाई उच्च स्तरमा पुर्याओस्, ताकि ऊ सम्पूर्ण संसारका पालनकर्ता अल्लाहको निष्कपट बन्दोस् र मानिसको दासत्व, भौतिक वस्तुहरूको दासत्व तथा अन्धविश्वासको दासत्वबाट मुक्त होस्। अतः इस्लामले—तपाईंले देख्नुभएझैँ—व्यक्तिहरूलाई पवित्र ठान्दै उनीहरूको वास्तविक हैसियतभन्दा माथि उठाउँदैन र उनीहरूलाई पालनकर्ता वा पूज्य बनाउँदैन।
सबै दिव्य सन्देशहरूको उद्देश्य: साँचो धर्मले मानवलाई संसारका पालनकर्ता अल्लाहको विशुद्ध बन्दा बनाओस् र उसलाई मानव, भौतिक वस्तु तथा अन्धविश्वासको दासत्वबाट मुक्त गरोस्। अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “दीनार, दिरहम, कतिफा र खमीसा (महँगा वस्त्र) को दास बर्बाद होस्। उसलाई दिइयो भने ऊ खुसी हुन्छ र दिइएन भने ऊ खुसी हुँदैन।” सहीह बुखारी हदीस नं. (६४३५)। एक सामान्य व्यक्ति केवल परमेश्वरको अधीनमा हुन्छ; ऊ धन, हैसियत, पद वा जनजातिको दास हुँदैन। यस कथाले पाठकलाई सन्देश प्राप्त गर्नुअघि मानिसहरू कस्तो अवस्थामा थिए र सन्देश प्राप्त गरेपछि उनीहरूमा कस्तो परिवर्तन आयो भन्ने कुरा स्पष्ट पार्छ।
“जब प्रारम्भिक मुस्लिमहरू हबशातर्फ हिजरत गरेर गए, त्यहाँका राजा; नजाशीले उनीहरूलाई सोध्दै भने: “यो कस्तो धर्म हो, जसका कारण तिमीहरूले आफ्ना समुदायका मानिसहरूलाई छोड्यौ, तर न मेरो धर्ममा प्रवेश गर्यौ, न त यी अन्य समुदायहरूमध्ये कसैको धर्ममा नै प्रवेश गर्यौ?” जाफर बिन अबी तालिबले उनलाई भने: “हे राजन्! हामी अज्ञानताको अवस्थामा रहेको एउटा समुदाय थियौँ। हामी मूर्तिहरूको पूजा गर्थ्यौँ, मरेका जनावरको मासु खान्थ्यौँ, अश्लील तथा घृणित कार्यहरू गर्थ्यौँ, नातागोता तोड्थ्यौँ र छिमेकीहरूसँग दुर्व्यवहार गर्थ्यौँ। हामीमध्ये शक्तिशालीले कमजोरलाई खान्थ्यो। हामी त्यही अवस्थामा थियौँ, जबसम्म अल्लाहले हामीमध्येबाट हाम्रै एक जना रसूल पठाउनुभएन। हामी उहाँको वंश, सत्यवादिता, अमानतदारी र पवित्र चरित्रलाई चिन्दथ्यौँ। उहाँले हामीलाई अल्लाहतर्फ आह्वान गर्नुभयो, ताकि हामी उहाँलाई एकमात्र उपास्य मानेर उहाँकै उपासना गरौँ र हामी तथा हाम्रा पुर्खाहरूले उहाँबाहेक पूजा गर्दै आएका ढुङ्गा र मूर्तिहरूलाई त्यागौँ। उहाँले हामीलाई सत्य कुरा बोल्न, अमानतहरू सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न, नातागोता कायम राख्न, छिमेकीसँग राम्रो व्यवहार गर्न र निषिद्ध कार्य तथा रक्तपातबाट आफूलाई रोक्न आदेश दिनुभयो। उहाँले हामीलाई अश्लील कार्यहरू, झूटो कुरा, अनाथको सम्पत्ति खानु र पवित्र स्त्रीमाथि व्यभिचारको आरोप लगाउनबाट निषेध गर्नुभयो। उहाँले हामीलाई अल्लाहकै मात्र उपासना गर्न र उहाँसँग कुनै पनि कुरालाई साझेदार नबनाउन आदेश दिनुभयो। साथै, उहाँले हामीलाई नमाज कायम गर्न, जकात दिन र रोजा बस्न आदेश दिनुभयो।” रावीले भने: “त्यसपछि उनले राजासमक्ष इस्लामका विभिन्न शिक्षाहरू उल्लेख गरे। हामीले उहाँलाई सत्य मानेर उहाँमाथि ईमान ल्यायौँ र उहाँले ल्याउनुभएको शिक्षाको अनुसरण गर्यौँ। त्यसपछि हामीले केवल अल्लाहकै उपासना गर्यौँ र उहाँसँग कुनै पनि कुरालाई साझेदार बनाएनौँ। उहाँले हाम्रा लागि जे निषेध गर्नुभयो, हामीले त्यसलाई निषेध मान्यौँ र उहाँले हाम्रा लागि जे हलाल गर्नुभयो, हामीले त्यसलाई हलाल मान्यौँ..। यसलाई अहमद (१७४०) ले सामान्य भिन्नतासहित र अबू नुऐमले 'हिल्यतुल औलिया' (१/११५) मा संक्षिप्त रूपमा वर्णन गरेका छन्। इस्लाम—तपाईंको सम्झ अनुसार—कुनै व्यक्तिलाई पवित्र ठहराउँदैन र उसको वास्तविक हैसियतभन्दा माथि उठाउँदैन; न त उसलाई पालनकर्ता वा उपास्य बनाउँछ। अल्लाहले भन्नुभएको छ: {“भनिदिनुहोस्, ‘हे किताबवालाहरू! हामी र तिमीहरूबीच समान रहेको एउटा साझा कुरातर्फ आऊँ; हामी अल्लाहबाहेक कसैको उपासना नगरौँ, उहाँसँग कुनै पनि कुरालाई साझेदार नबनाऔँ र हामीमध्ये कसैले अल्लाहबाहेक अरू कसैलाई पालनकर्ता नबनाऔँ। त्यसपछि यदि उनीहरू विमुख भए भने भनिदिनुहोस्, ‘हामी मुस्लिम हौँ भन्ने कुराका साक्षी बस।’”} [आलि इमरान: ६४] अल्लाह तआलाले भन्नुभएको छ: {“र उहाँले तिमीहरूलाई न त स्वर्गदूतहरूलाई र न नबीहरूलाई पालनकर्ता बनाउन आदेश दिनुहुन्छ। के उहाँले मुस्लिम भइसकेपछि तिमीहरूलाई कुफ्र गर्न आदेश दिनुहुन्छ?”} [आलि इमरान: ८०] रसूलुल्लाह ﷺ ले भन्नुभएको छ: “मलाई त्यसरी प्रशंसा नगर, जसरी ईसाईहरूले मरियमका छोराको प्रशंसा गरेका थिए। निश्चय नै, म त केवल उहाँको दास हुँ। त्यसैले मलाई ‘अल्लाहका दास र उहाँका रसूल’ भन।” सहीह बुखारी हदीस नं. (३४४५)।
४२- इस्लाममा अल्लाहले तौबाको व्यवस्था गर्नुभएको छ। तौबा भनेको मानिसले आफ्ना पालनकर्तातर्फ फर्केर पाप त्याग्नु हो। इस्लामले त्यसअघि गरिएका सम्पूर्ण पापहरूलाई मेटाइदिन्छ र तौबाले पनि त्यसअघि गरिएका पापहरूलाई मेटाइदिन्छ। त्यसैले मानिसले गरेका पापहरूबारे कुनै व्यक्तिसामु स्वीकारोक्ति गर्नु आवश्यक छैन।
अल्लाहले इस्लाममा तौबाको व्यवस्था गर्नुभएको छ। तौबा भनेको मानिसले आफ्ना पालनकर्तातर्फ फर्केर पाप त्याग्नु हो। अल्लाह तआलाले भन्नुभएको छ: {हे मोमिनहरू! तिमीहरू सबै अल्लाहसमक्ष तौबा गर, ताकि तिमीहरू सफलता प्राप्त गर्न सक।} [अन्नूरः ३१] अल्लाह तआलाले भन्नुभएको छ: {“के उनीहरूलाई थाहा छैन, आफ्ना बन्दाहरूको तौबा स्वीकार गर्ने र उनीहरूले गरेका सदकाहरू स्वीकार गर्ने अल्लाह नै हुनुहुन्छ? निश्चय नै, अल्लाह नै तौबा स्वीकार गर्ने, अत्यन्त दयालु हुनुहुन्छ।”} [अत्ताैबाः १०४] अल्लाह तआलाले भन्नुभएको छ: {“उहाँ नै हुनुहुन्छ, जसले आफ्ना बन्दाहरूको तौबा स्वीकार गर्नुहुन्छ, उनीहरूका दुष्कर्महरू क्षमा गर्नुहुन्छ र उनीहरूले गर्ने सबै कर्मबारे जान्नुहुन्छ।”} [अश्शूराः २५] रसूलुल्लाह ﷺ ले भन्नुभएको छ: अल्लाह आफ्ना मोमिन बन्दाले तौबा गर्दा त्यसभन्दा पनि बढी प्रसन्न हुनुहुन्छ, जति कुनै व्यक्ति उजाड तथा बाँझो भूमिमा आफ्नो सवारीमाथि सवार भएर यात्रा गरिरहेको अवस्थामा आफ्नो खाना र पानीसहितको सवारी हराएपछि त्यसलाई पुनः भेट्टाउँदा प्रसन्न हुन्छ। त्यो व्यक्ति आफ्नो सवारी खोज्दै यताउता भौँतारिन्छ, तर भेट्टाउन सक्दैन। अन्ततः तिर्खाले व्याकुल भएर मृत्यु निश्चित ठानी ऊ आफू बसेकै ठाउँमा फर्किन्छ र एउटा रूखमुनि सुत्न जान्छ। उसले मृत्युको प्रतीक्षा गर्दै आफ्नो टाउको त्यसै रूखमुनि राख्छ। त्यत्तिकैमा अचानक उसको सवारी उसकै छेउमा आइपुगेको देख्छ, जसमा उसको खाना र पानी पनि हुन्छ। त्यसपछि उसले आफ्नो सवारी र त्यसमा रहेको खाना–पानी भेट्टाउँदा जति प्रसन्नता अनुभव गर्छ, अल्लाह आफ्ना मोमिन बन्दाले तौबा गर्दा त्यसभन्दा पनि बढी प्रसन्न हुनुहुन्छ। सहीह मुस्लिम हदीस नं. २७४४।
इस्लामले अघिल्ला पापहरू मेटाइदिन्छ र तौबाले पनि त्यसअघि गरिएका पापहरू मेटाइदिन्छ। अल्लाह तआलाले भन्नुभएको छ: काफिरहरूलाई भनिदिनुहोस्: “यदि उनीहरू कुफ्रबाट रोकिन्छन् भने, उनीहरूले विगतमा गरेका पापहरू क्षमा गरिनेछन्; तर यदि उनीहरू फेरि कुफ्रतर्फ फर्कन्छन् भने, विगतका मानिसहरूको उदाहरण त उनीहरूका सामु छँदै छ।” [अल् अनफालः ३८] अल्लाहले इसाईहरूलाई पनि तौबा गर्न आह्वान गर्नुभयो। उहाँले भन्नुभयो: {“के उनीहरू अल्लाहसमक्ष तौबा गर्दैनन् र उहाँसँग क्षमायाचना गर्दैनन्? जबकि अल्लाह अत्यन्त क्षमाशील, परम दयालु हुनुहुन्छ।”} [अल् माइदाः ७४] अल्लाहले सबै पापी तथा अपराधीहरूलाई तौबातर्फ प्रोत्साहित गर्दै भन्नुभएको छ: भनिदिनुहोस्: “हे मेरा ती बन्दाहरू, जसले आफ्नै विरुद्ध ज्यादती गरेका छन्! अल्लाहको दयाबाट निराश नहोऊ। निश्चय नै, अल्लाहले सबै पापहरू क्षमा गर्नुहुन्छ। निश्चय नै, उहाँ अत्यन्त क्षमाशील, परम दयालु हुनुहुन्छ।” [अज्जुमरः ५३] जब अम्र बिन आस رضي الله عنه ले इस्लाम ग्रहण गर्ने दृढ सङ्कल्प गर्नुभयो, तब उहाँलाई इस्लाम ग्रहण गर्नुअघि आफूले गरेका पापहरू क्षमा नहुने हुन् कि भन्ने चिन्ता लाग्यो। त्यस समयको आफ्नो अवस्था वर्णन गर्दै अम्र رضي الله عنه ले भन्नुभयो: “जब अल्लाहले मेरो हृदयमा इस्लामको दृढ भावना उत्पन्न गराउनुभयो, तब म नबी ﷺ समक्ष गएँ र उहाँसँग बैअत गर्न चाहें। उहाँ ﷺ ले मेरो सामु आफ्नो हात बढाउनुभयो। मैले भनेँ: ‘हे अल्लाहका रसूल! मेरा अघिल्ला पापहरू क्षमा नगरिने हो भने म तपाईंसँग बैअत गर्दिनँ।’ उहाँ ﷺ ले भन्नुभयो: ‘हे अम्र! के तिमीलाई थाहा छैन, हिजरतले त्यसअघि गरिएका पापहरू मेटाइदिन्छ? हे अम्र! के तिमीलाई थाहा छैन कि इस्लामले त्यसअघि गरिएका सम्पूर्ण पापहरू मेटाइदिन्छ?’” मुस्लिम (१२१) ले यसलाई विस्तृत रूपमा उस्तै अर्थका शब्दहरूमा वर्णन गरेका छन्, जबकि अहमद (१७८२७) ले यही शब्दावलीमा रिवायत गरेका छन्।
४३- इस्लाममा मानिस र अल्लाहबीचको सम्बन्ध प्रत्यक्ष हुन्छ; त्यसैले मानिस र अल्लाहबीच मध्यस्थकर्ताको आवश्यकता पर्दैन। इस्लामले मानिसलाई अल्लाहको उपासना, प्रभुत्व तथा ईश्वरत्वमा कसैलाई साझेदार बनाउन निषेध गरेको छ।
इस्लाममा मानिसले आफ्ना पापहरू कुनै व्यक्तिसामु स्वीकार गर्नु आवश्यक छैन। इस्लाममा मानिस र अल्लाहबीचको सम्बन्ध प्रत्यक्ष हुन्छ; त्यसैले मानिस र अल्लाहबीच मध्यस्थकर्ताको आवश्यकता पर्दैन। अनुच्छेद (३६) मा उल्लेख गरिएझैँ, अल्लाह तआलाले सबै मानिसलाई तौबा गर्न र उहाँतर्फ फर्कन आह्वान गर्नुभएको छ। साथै, उहाँले मानिसहरूलाई उहाँ र आफ्ना बन्दाहरूबीच अगमवक्ता वा स्वर्गदूतहरूलाई मध्यस्थकर्ता बनाउनसमेत निषेध गर्नुभएको छ। अल्लाह तआलाले भन्नुभएको छ: {“न त उहाँले तिमीहरूलाई स्वर्गदूतहरू र नबीहरूलाई पालनकर्ता बनाउन आदेश दिनुहुनेछ। के उहाँले तिमीहरूलाई मुस्लिम भइसकेपछि पनि कुफ्र गर्न आदेश दिनुहुनेछ?”} [आले इम्रानः ८०] इस्लामले मानिसहरूलाई अल्लाहको उपासना, प्रभुत्व वा ईश्वरत्वमा साझेदार बनाउन निषेध गरेको छ। साथै, अल्लाह तआलाले इसाईहरूका सम्बन्धमा भन्नुभएको छ: “तिनीहरूले अल्लाहलाई छोडेर आफ्ना विद्वानहरू, धर्मगुरुहरू तथा मरियमका छोरा मसीहलाई आफ्ना पालनकर्ता बनाएका छन्। जबकि उनीहरूलाई एउटै अल्लाहको उपासना गर्ने आदेश दिइएको थियो; उहाँबाहेक अरू कुनै सत्य पूज्य छैन। तिनीहरूले उहाँसँग साझेदार ठहराएका कुराहरूबाट उहाँ पवित्र र उच्च हुनुहुन्छ।” [अत्ताैबाः ३१] अल्लाहले काफिरहरूको यस कार्यको खण्डन गर्नुभएको छ, उनीहरूले आफू र उहाँबीच मध्यस्थहरू बनाएका छन्। अल्लाह तआलाले भन्नुभएको छ: {“जानिराख, शुद्ध दीन अल्लाहकै लागि हो। अनि जसले उहाँबाहेक अरूलाई संरक्षक बनाएका छन्, उनीहरू भन्छन्: ‘हामी त केवल यस उद्देश्यले उनीहरूको उपासना गर्छौँ कि उनीहरूले हामीलाई अल्लाहको नजिक पुर्याइदिऊन्।’ निश्चय नै, उनीहरूबीच जुन विषयमा मतभेद गरिरहेका छन्, त्यसको फैसला अल्लाहले कियामतको दिन गर्नुहुनेछ। निश्चय नै, अल्लाहले झूट बोल्ने र कृतघ्न काफिरलाई मार्गदर्शन गर्नुहुन्न।”} [अज्जुमरः ३] अल्लाह तआलाले स्पष्ट पार्नुभएको छ, जाहिलियतकालका मूर्तिपूजकहरूले आफू र अल्लाहबीच मध्यस्थहरू बनाउने गर्थे र भन्थे कि यी मध्यस्थहरूले उनीहरूलाई अल्लाहको अझ निकट बनाइदिन्छन्।
यदि अल्लाहले मानिसहरूलाई आफू र आफ्ना बन्दाहरूबीच मध्यस्थका रूपमा नबीहरू वा स्वर्गदूतहरूलाई लिनसमेत निषेध गर्नुभएको छ भने, उनीहरूबाहेक अरूलाई मध्यस्थ बनाउनु झन् बढी निषेधित हुन्छ। विशेषतः नबीहरू तथा रसूलहरू स्वयं अल्लाहको निकटता प्राप्त गर्नमा सबैभन्दा अग्रसर थिए। अल्लाह तआलाले नबीहरू तथा रसूलहरूको अवस्थाबारे जानकारी दिँदै भन्नुभएको छ: {“निश्चय नै, उनीहरू सत्कर्म गर्नमा अग्रसर हुने गर्थे, आशा र भयका साथ हामीलाई पुकार्ने गर्थे र हामीसामु विनम्र तथा भयभीत रहने गर्थे।”} [अल् अम्बियाः ९०] अल्लाह तआलाले भन्नुभएको छ: "उनीहरू जसलाई पुकार्छन्, उनीहरू स्वयं आफ्ना पालनकर्ताको निकटता प्राप्त गर्ने माध्यम खोज्छन्—उनीहरूमध्ये को उहाँको सबैभन्दा निकट हुन्छ भनेर। उनीहरू उहाँको दयाको आशा गर्छन् र उहाँको दण्डदेखि डराउँछन्। निश्चय नै, तपाईंका पालनकर्ताको दण्ड सधैँ डर मान्न योग्य छ।" [अल् इस्राः ५७] अर्थात्, तिमीहरूले अल्लाहलाई छोडेर जसलाई पुकार्छौ—चाहे ती नबीहरू हुन् वा सत्पुरुषहरू—उनीहरू स्वयं अल्लाहको निकटता प्राप्त गर्न प्रयत्न गर्छन्, उहाँको दयाको आशा राख्छन् र उहाँको यातनाबाट डराउँछन्। त्यसैले उनीहरूलाई अल्लाहलाई छोडेर कसरी पुकार्न सकिन्छ?
४४- यस सन्देशको अन्त्यमा हामी स्मरण गराउँछौँ, मानिसहरू फरक-फरक समय, राष्ट्रियता र देशमा रहे पनि, वास्तवमा सम्पूर्ण मानवजाति विचार र अभिप्रायमा भिन्न तथा वातावरण र कार्यमा विविध छन्। त्यसैले उनीहरूलाई मार्गदर्शन गर्ने मार्गदर्शक, उनीहरूलाई एकताबद्ध गर्ने व्यवस्था र उनीहरूका मामिलाको संरक्षण तथा व्यवस्थापन गर्ने शासकको आवश्यकता हुन्छ। महान् रसूलहरू (अलैहिमुस्सलाम) ले अल्लाह तआलाबाट प्राप्त वह्यीका माध्यमबाट यही जिम्मेवारी पूरा गर्नुभयो, मानिसहरूलाई भलाइ र धार्मिकताको मार्ग देखाउनुभयो, उनीहरूलाई अल्लाहको शरीअतमा एकताबद्ध गर्नुभयो र उनीहरूबीच सत्य तथा न्यायका साथ फैसला गर्नुभयो। यसरी, ती रसूलहरूप्रति मानिसहरूको प्रतिक्रियाको अवस्था र उनीहरूको समय अल्लाहका सन्देशहरूसँग जति निकट थियो, त्यहीअनुसार उनीहरूका मामिलाहरू पनि ठीक हुँदै गए। अन्ततः अल्लाहले आफ्ना सबै सन्देशहरूलाई रसूल मुहम्मद ﷺ को सन्देशद्वारा पूर्णता प्रदान गर्नुभयो, त्यसलाई कियामतसम्मका लागि स्थायी बनाउनुभयो र मानिसहरूका लागि मार्गदर्शन, दया, प्रकाश तथा उहाँतर्फ पुग्ने सीधा मार्गको पथप्रदर्शक बनाउनुभयो।
यस सन्देशको अन्त्यमा हामी स्मरण गराउँछौँ, मानिसहरू फरक-फरक समय, राष्ट्रियता र देशमा रहे पनि, वास्तवमा सम्पूर्ण मानवजाति विचार र अभिप्रायमा भिन्न तथा वातावरण र कार्यमा विविध छन्। त्यसैले उनीहरूलाई मार्गदर्शन गर्ने मार्गदर्शक, उनीहरूलाई एकताबद्ध गर्ने व्यवस्था र उनीहरूका मामिलाको संरक्षण गर्ने शासकको आवश्यकता हुन्छ। महान् रसूलहरू (अलैहिमुस्सलाम) ले सर्वोच्च अल्लाहबाट प्राप्त वह्यीका माध्यमबाट यही कार्य पूरा गर्नुभयो—मानिसहरूलाई भलाइ र धार्मिकताको मार्गमा मार्गदर्शन गर्नुभयो, उनीहरूलाई अल्लाहको शरीअतमा एकताबद्ध गर्नुभयो र उनीहरूबीच सत्य तथा न्यायका साथ फैसला गर्नुभयो। यसरी, ती रसूलहरूप्रति मानिसहरूको प्रतिक्रियाको अवस्था र उनीहरूको युग अल्लाहका सन्देशहरूसँग जति निकट थियो, त्यहीअनुसार उनीहरूका मामिलाहरू पनि ठीक हुँदै गए। जब भ्रम बढ्यो, अज्ञानता व्याप्त भयो र मूर्तिपूजा फैलियो, तब अल्लाहले आफ्ना नबी मुहम्मद ﷺ लाई मार्गदर्शन र सत्य दीनसहित पठाउनुभयो, ताकि उहाँले मानिसहरूलाई कुफ्र, अज्ञानता र मूर्तिपूजाको अन्धकारबाट ईमान र मार्गदर्शनको प्रकाशतर्फ ल्याउनुहोस्।
४५- त्यसैले, हे मानिस! म तिमीलाई आह्वान गर्छु, तिमी कुनै परम्परा वा अन्धअनुकरणमा नलागी, निष्कपट र सत्यनिष्ठ भएर अल्लाहसामु उभिई उहाँप्रति समर्पित होऊ। सुन, तिम्रो मृत्यु भएपछि तिमी आफ्ना पालनकर्ताकै सामु फर्केर जानेछौ। त्यसैले आफ्नै अस्तित्व तथा आफूवरिपरिका सृष्टिका निशानीहरूमा विचार गर। इस्लाम स्वीकार गर, यसबाट तिमी आफ्नो सांसारिक जीवन र आख़िरत दुवैमा सुख तथा सफलता प्राप्त गर्नेछौ। यदि तिमी इस्लाममा प्रवेश गर्न चाहन्छौ भने, तिमीले केवल यस कुराको साक्षी दिनुपर्छ, अल्लाहबाहेक अरू कुनै सत्य पूज्य छैन र मुहम्मद ﷺ अल्लाहका रसूल हुनुहुन्छ; साथै, अल्लाहबाहेक जसको पूजा गरिन्छ, ती सबैबाट आफूलाई विमुख भएको घोषणा गर्नुपर्छ। अनि हामी यस कुरामा ईमान राख्छौँ कि अल्लाहले कब्रमा रहेका सबैलाई पुनः जीवित पार्नुहुनेछ तथा हिसाब–किताब र कर्मको प्रतिफल सत्य हो। जब तिमीले यस साक्षीलाई हृदयदेखि स्वीकार गरी साक्षी दिन्छौ, त्यसपछि तिमी मुस्लिम भइसकेका हुनेछौ। त्यसपछि तिमीले अल्लाहले निर्धारित गर्नुभएको तरिकाअनुसार उहाँको उपासना गर्नुपर्छ; नमाज कायम गर, जकात दिऊ, रोजा राख र सामर्थ्य भए हज गर।
त्यसैले हे मानिस! म तिमीलाई आह्वान गर्दछु, अल्लाहका लागि निष्कपट भावनाका साथ, अन्धअनुकरण र परम्परागत बानीबाट मुक्त भई दृढतापूर्वक उभिऊ, जसरी अल्लाह तआलाले आफ्नो यस भनाइमार्फत तिमीलाई आह्वान गर्नुभएको छ: {भनिदिनुहोस्: “म तिमीहरूलाई केवल एउटै कुराको उपदेश दिन्छु; तिमीहरू दुई–दुई जना वा एक–एक जना भई अल्लाहका लागि निष्कपटतापूर्वक उभिएर विचार गर। तिमीहरूका साथी मुहम्मद ﷺ मा कुनै पागलपन छैन। उहाँ त केवल तिमीहरूलाई कठोर यातना आउनुअघि चेतावनी दिने व्यक्ति हुनुहुन्छ।”} [सबाः ४६] यो कुरा जानिराख, तिम्रो मृत्युपछि तिमी आफ्ना पालनकर्ताकहाँ फर्केर जानेछौ। अल्लाह तआलाले भन्नुभएको छ: {“मानिसका लागि उसले स्वयं गरेको प्रयासबाहेक अरू केही छैन।”} (३९) “उसको प्रयास शीघ्र नै प्रत्यक्ष देखाइनेछ।” (४०) “त्यसपछि उसलाई त्यसको पूर्णतम प्रतिफल दिइनेछ।” (४१) “निश्चय नै, तपाईंका पालनकर्ताकहाँ नै अन्तिम गन्तव्य हो।” (४२) [अन्नज्मः ३९-४२] आफ्नै अस्तित्वभित्र र आफूवरिपरिका क्षितिजहरूमा विचार गर। अल्लाह तआलाले भन्नुभएको छ: {“के उनीहरूले आकाशहरू र पृथ्वीको विशाल साम्राज्य तथा अल्लाहले सृष्टि गर्नुभएका सम्पूर्ण वस्तुहरूबारे विचार गरेनन्? अनि सम्भवतः उनीहरूको निर्धारित मृत्युको समय नजिकै आइसकेको छ। त्यसपछि यस कुरापछि उनीहरू कुन वाणीमाथि ईमान ल्याउनेछन्?”} [अल् अअराफः १८५]
इस्लाम ग्रहण गर, तिमीले यस सांसारिक जीवन र आख़िरत दुवैमा सुख प्राप्त गर्नेछौ। यदि तिमी इस्लाममा प्रवेश गर्न चाहन्छौ भने, तिमीले केवल यो साक्षी दिनुपर्छ : अल्लाहबाहेक कोही सत्य पूज्य छैन र मुहम्मद ﷺ अल्लाहका रसूल हुनुहुन्छ। जब रसूलुल्लाह ﷺ ले मुआज رضي الله عنه लाई इस्लामको आह्वान गर्न यमनतर्फ पठाउनुभयो, तब उहाँले उनलाई भन्नुभयो: “तिमी किताबवालाहरूको एउटा समुदायमा जाँदैछौ। त्यसैले उनीहरूलाई यस कुराको साक्षी दिन आह्वान गर, अल्लाहबाहेक अरू कुनै सत्य पूज्य छैन र म अल्लाहका रसूल हुँ। यदि उनीहरूले यो कुरा स्वीकार गरे भने, उनीहरूलाई बताऊ, अल्लाहले उनीहरूमाथि दिनरातमा पाँच पटक नमाज अनिवार्य गर्नुभएको छ। यदि उनीहरूले यो कुरा पनि स्वीकार गरे भने, उनीहरूलाई बताऊ, अल्लाहले उनीहरूका धनाढ्यहरूबाट लिएर उनीहरूकै गरिबहरूलाई प्रदान गरिने सदका अनिवार्य गर्नुभएको छ। यदि उनीहरूले यो कुरा पनि स्वीकार गरे भने, उनीहरूको सम्पत्तिमध्ये सबैभन्दा राम्रो भाग लिने कुराबाट आफूलाई जोगाऊ।” सहीह मुस्लिम हदीस नं. १९। अल्लाहबाहेक जसको पूजा गरिन्छ, ती सबैबाट आफूलाई विमुख भएको घोषणा गर। अल्लाहबाहेक जसको पूजा गरिन्छ, ती सबैबाट विमुख हुनु नै इब्राहीम अलैहिस्सलामको धर्म ‘हनिफियत’ हो। अल्लाह तआलाले भन्नुभएको छ: {“निश्चय नै, इब्राहीम र उहाँसँग रहेका मानिसहरूमा तिमीहरूका लागि उत्तम आदर्श छ। जब उनीहरूले आफ्ना जातिलाई भने: ‘निश्चय नै, हामी तिमीहरूबाट तथा अल्लाहबाहेक तिमीहरूले जसको पूजा गर्छौ, ती सबैबाट पूर्णतः विमुख छौँ। हामीले तिमीहरूको कुफ्रलाई अस्वीकार गरेका छौँ। र जबसम्म तिमीहरू एकमात्र अल्लाहमाथि ईमान ल्याउँदैनौ, तबसम्म हामी र तिमीहरूबीच सधैँका लागि शत्रुता र वैरभाव प्रकट भइसकेको छ।’”} [अल् मुम्तहिनाः ४] चिहानमा रहेका मानिसहरूलाई अल्लाहले पुनः जीवित पार्नुहुनेछ भन्ने कुरामा ईमान राख। अल्लाह तआलाले भन्नुभएको छ: "यो यसकारण हो कि अल्लाह नै सत्य हुनुहुन्छ, उहाँले मृतकहरूलाई जीवित पार्नुहुन्छ र उहाँ हरेक कुरामाथि सर्वशक्तिमान् हुनुहुन्छ। निश्चय नै, कियामतको घडी अवश्य आउनेछ, जसको आगमनमा कुनै शङ्का छैन; र निश्चय नै, अल्लाहले चिहानहरूमा रहेका सबैलाई पुनः जीवित पार्नुहुनेछ।”} [अल् हज्जः ६-७] हिसाब–किताब तथा कर्मअनुसारको प्रतिफल निःसन्देह सत्य हो। अल्लाह तआलाले भन्नुभएको छ: {“अल्लाहले आकाशहरू र पृथ्वीलाई सत्य तथा यथार्थ उद्देश्यका साथ सृष्टि गर्नुभएको छ, ताकि प्रत्येक प्राणीले आफूले गरेका कर्मअनुसार पूर्ण प्रतिफल पाओस् र उनीहरूमाथि कत्ति पनि अन्याय नगरियोस्।”} [अल् जासियाः २२]
यसरी तिमीले यो साक्षी दिएपछि मुस्लिम बनेका छौ। त्यसपछि तिमीले अल्लाहले शरीअतमा निर्धारित गर्नुभएका इबादतहरू, जस्तै नमाज, जकात र रोजा तथा यदि त्यहाँसम्म पुग्ने सामर्थ्य छ भने हज आदि पनि अदा गर्दै अल्लाहको इबादत गर्नुपर्छ।
१४४१/११/१९ हिजरी मितिको संस्करण
लेख: प्राध्यापक डा. मुहम्मद बिन अब्दुल्लाह अस्सुहैम
इस्लामिक अध्ययन विभागका पूर्व प्राध्यापक
शिक्षा कलेज, किङ साउद विश्वविद्यालय
रियाद, साउदी अरब
Related books
All books
इस्लामको संक्षिप्त परिचय कुर्आन र हदीसको प्रकाशमा59 languagesइस्लामको संक्षिप्त परिचय कुर्आन र हदीसको प्रकाशमा
बिस्मिल्ला हिर्रहमा निर्रहीम (अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु) । इस्लाम (प्रमाणरहित संस्करण)[१] (१) यस पुस्तकको अर्को प्रतिलिपि पनि उपलब्ध छ, जसमा प्रत्येक कुराको प्रमाण कुर्आन र हदीसबाट प्रस्तुत गरिएको छ, तपाइँ यसलाई निम्न लिङ्क मार्फत हेर्न सक्नुहुन्छ: http://islamhouse.com/ar/books/२८३००७१ इस्लामको संक्षिप्त परिचयमा आधारित यो एक महत्त्वपूर्ण पुस्तिका हो । जसमा इस्लाम धर्मका महत्वपूर्ण सिद्धान्तहरू, शिक्षाहरू र विशेषताहरूलाई इस्लामको दुई मौलिक र भरपर्दो श्रोत; कुर्आन र हदीसको प्रकाशमा वर्णन गरिएको छ । यो पुस्तिकाले मुस्लिम र गैर(मुस्लिम सबैलाई तिनीहरूको आफ्नै…
इस्लाम अल्लाहका सबै दूतहरूको धर्म हो।85 languagesइस्लाम अल्लाहका सबै दूतहरूको धर्म हो।
इस्लामको अर्थ भनेको सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ता र पालनकर्ता अल्लाहसामु आफूलाई समर्पण गर्नु तथा प्रेम र आदरका साथ उहाँको पालन गर्नु हो । इस्लामको आधार भनेको अल्लाहमा विश्वास गर्नु, उहाँ नै हाम्रो सृष्टिकर्ता हुनुहुन्छ र उहाँ बाहेक अरू सबै उहाँका सिर्जना हुन्, केवल उहाँ नै पूजनीय र उपास्य हुनुहुन्छ र उहाँको कोही साझेदार वा प्रतिद्वन्द्वी छैन, उहाँका सुन्दर नामहरू र उच्चतम गुणहरू छन्, उहाँ हरेक दृष्टिले एकदम सम्पन्न र परिपूर्ण हुनुहुन्छ, उहाँ नत कसैबाट जन्मिनुभएको हो नत कोही उहाँबाट जन्मेको हो, उहाँ जस्तो र उहाँ बराबर कोही छैन, उहाँभित्र नत कुनै सृष्टि निहित छ नत उहाँ कुनै सृष्टिभित्र…
सुखमय जीवनका लागि उपयोगी साधनहरू62 languagesसुखमय जीवनका लागि उपयोगी साधनहरू
शेख अब्दुर्रहमान बिन नासिर अस्सादीको पुस्तिका ‘सुखमय जीवनका लागि उपयोगी साधनहरू’ ले गहिरो ईमानमा आधारित दृष्टिकोणबाट असल खुशीका कारणहरूलाई सम्बोधन गर्दछ । यसले पाठकलाई ईमान, असल कर्म, अल्लाहको स्मरण, सन्तोष, उहाँका अनुग्रहहरूमा चिन्तन, परोपकार, अल्लाहमाथि भरोसा, धैर्य र परिस्थितिहरूको सही मूल्यांकनद्वारा आन्तरिक शान्तितर्फ डोऱ्याउँछ। यसले उत्कृष्ट शैलीमा जीवनका उतारचढावहरूको बावजुद एक शान्त, सन्तुलित र सुखमय जीवनको नक्सा तपाईंको हातमा राख्छ।
कुरआन र हदीसको प्रकाशमा हज, उमरह र जियारतससँग सम्बन्धित धेरै प्रावधानहरूको अनुसन्धान र व्याख्या46 languagesकुरआन र हदीसको प्रकाशमा हज, उमरह र जियारतससँग सम्बन्धित धेरै प्रावधानहरूको अनुसन्धान र व्याख्या
यस पुस्तकले हज, उमरह र जियारतसँग सम्बन्धित धेरै प्रावधानहरूलाई कुरआन र हदीसको प्रकाशमा व्याख्या गरेको छ। यसले हज र उमरहका अनिवार्य कुराहरू, एहरामको अवस्थामा निषेधित कार्यहरू र मस्जिदे नब्वीको जियारत गर्दा अपनाउने शिष्टाचारहरूलाई स्पष्ट पारेको छ। साथै यी अनुष्ठानहरूमा गरिने ’बिदअत’हरू विरुद्ध सचेत गरेको छ।