نبذة في العقيدة الإسلامية (شرح أصول الإيمان)
*
These files are generated automatically from the book's text; their layout may differ from the printed edition.
इस्लामिक आस्थाको संक्षिप्त परिचय
लेखक: अल- शेख अल्लामा
मोहम्मद बिन सालेह अल-उसैमिन
अल्लाहले उहाँलाई, उहाँका आमाबाबु, र सबै मुस्लिमलाई क्षमा गरून्।
अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु ।
भूमिका
सम्पूर्ण प्रशंसा अल्लाह कै लागी हुन, हामी उहाँकै प्रशंसा गर्छौं, उहाँको सहायता माग्दछौँ र उहाँसँग क्षमायाचना गर्दछौँ। र हामी आफ्ना आत्मका खराबी र हाम्रा दुष्कर्महरूको हानिकारक परिणामहरूबाट अल्लाहको शरण लिन्छौं। जसलाई अल्लाहले मार्गदर्शन गर्नुहुन्छ, त्यसलाई कसैले पनि पथभ्रष्ट बनाउन सक्दैन, र जसलाई उहाँले पथप्रदर्शन गर्नुहुँदैन, त्यसलाई कसैले पनि सही मार्ग देखाउन सक्दैन। म गवाही दिन्छु कि अल्लाह बाहेक अरू कुनै ईश्वर र उपास्य छैन, उहाँ एक्लै हुनुहुन्छ, र उहाँको कुनै साझेदार छैन, म गवाही दिन्छु कि मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) उहाँका सेवक र पैगम्बर हुनुहुन्छ, अल्लाहको आशीर्वाद र शान्ति उहाँमाथि, उहाँको परिवार, उहाँका साथीहरू, र उनीहरूलाई भलाइमा अनुसरण गर्नेहरू माथि रही रहोस ।
तत्पश्चात: तौहीद (एकेश्वरवाद) को ज्ञान सम्पूर्ण ज्ञानहरूमध्ये सबैभन्दा सम्मानित, सबैभन्दा मूल्यवान्, र महत्त्वपूर्ण र अनिवार्य प्रयोजन हो; किनभने यो ज्ञान सर्वशक्तिमान् अल्लाहसँग सम्बन्धित छ, उहाँका नामहरू, गुणहरू, र उहाँका सेवकहरूमाथि उहाँका अधिकारहरू बारे ज्ञान सगँ सम्बद्ध छ। साथै, यो ज्ञान सर्वशक्तिमान अल्लाहको मार्गको कुन्जी हो, र उहाँका नियमहरूको आधारशिला पनि हो।
त्यसै कारणले गर्दा: पैगम्बरहरू सर्वसम्मत रूपमा यस ज्ञानतर्फ आमन्त्रण गर्न सहमत थिए। सर्वशक्तिमान अल्लाह भन्नुहुन्छ: र, हामीले तिमीभन्दा पहिले जति पनि रसूल पठायौं उनीहरू सबैलाई यही वही (वाणी) गर्यौं कि म बाहेक अन्य कोही पूज्य छैन । अतः केवल मेरै उपासना गर। (अल् अम्बियाः २५)
र उहाँले आफू एक हुने तथ्यको पुष्टि स्वयं गर्नु भएको छ, र उहाँका स्वर्गदूत र विद्वानहरूले पनि यसको पुष्टि गरेका छन्। अल्लाहले भन्नुहुन्छ: {अल्लाहबाहेक कोही पूज्य छैनन् भन्ने कुराको साक्षी स्वयं अल्लाह, फरिश्ताहरू एवं ज्ञानवानहरू दिन्छन् । उनी निसाफ कायमकर्ता हुन् । उनीबाहेक कोही पूज्य छैन । उनी प्रभुत्वशाली एवं तत्त्वदर्शी छन् ।} (आले इम्रानः १८)
यसै एकेश्वरवादको महान सिद्धान्तलाई आत्मसात गर्ने हामी मुसलमानहरूका लागि शिक्षा, अध्यापन, मनन र विश्वासका माध्यमबाट यस सिद्धान्तप्रति गहन अध्ययन अनिवार्य छ। यसले व्यक्तिले धार्मिक विश्वासलाई सत्य र दृढ आधारमा सन्तुष्टि र आत्मसमर्पण साथ स्थापित गर्न सहयोग गर्छ र फलस्वरूप, त्यसको परिणामबाट उसलाई खुसी प्राप्त हुन्छ।
अल्लाहले नै सफलता प्रदान गर्नु हुन्छ।
लेखक
इस्लाम धर्म
इस्लाम धर्म: यो त्यो एकमात्र धर्म हो जसलाई परमेश्वर अल्लाहले मानवजातिको मार्गदर्शनका लागि पवित्र पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) मार्फत पठाउनुभएको हो। अल्लाहले इस्लामलाई सम्पूर्ण मानवजातिको लागि परिपूर्ण गरी सबै धर्महरूको समापकको रूपमा स्थापित गर्नुभएको छ, र यसै धर्ममार्फत उहाँले सम्पूर्ण मानवजातिको लागि आफ्नो अनुग्रह पूरा गर्नुभएको छ र यसलाई नै मानवजातिको लागि एकमात्र स्वीकार्य धर्म घोषित गर्नुभएको छ। त्यसैले, इस्लाम बाहेक अन्य कुनै धर्म स्वीकृत हुनेछैन। { मुहम्मद स. तिमीहरूमध्ये कुनै पुरुषका पिता होइनन् तर उनी अल्लाहका रसूल एवं नबीहरूका समापक (अन्तिम नबी) हुन् । र, अल्लाह प्रत्येक वस्तुका ज्ञाता हुन् । } (अल् अहजाबः ४०)
अल्लाहले भन्नुभएको छ: {आज मैले तिमीहरूको धर्म (जीवन पद्धति) लाई तिमीहरूका निम्ति पूर्ण गरेको छु र तिमीहरूप्रति आफ्नो अनुग्रह पूरा गरेको छु अनि तिमीहरूका लागि धर्म स्वरूप इस्लामलाई रोजेको छु ।} (अल् माइदाः ३)
अल्लाहले भन्नुभएको छ : {अल्लाहद्वारा स्वीकृत एकमात्र धर्म इस्लाम नै हो।} (आले इम्रानः १९)
अल्लाहले भन्नुभएको छ : {र, जो व्यक्तिले इस्लाम धर्मबाहेक अन्य कुनै धर्म ग्रहण गर्दछ, उसको त्यो धर्म कदापि स्वीकार्य हुनेछैन र ऊ "आखिरतमा" ठूलो क्षति बेहोर्नेहरूमध्ये हुनेछ} (आले-इमरान: ८५) ।
र अल्लाहले सम्पूर्ण मानवजाति लाई इस्लाम धर्म अवलम्बन गर्न आदेश दिनुभएको छ र आफ्ना पैगम्बरलाई सम्बोधन गर्दै भन्नुभएको छ:" {हे मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) भनिदेऊ– हे मनुष्य हो ! म तिमीहरू सबैतर्फ त्यस अल्लाहद्वारा पठाइएको रसूल हुँ जसकालागि आकाशहरू तथा धर्तीको शासन रहेको छ । उहाँबाहेक अरू कुनै पूज्य छैन। उहाँले नै जीवन प्रदान गर्नुहुन्छ र मृत्यु दिनुहुन्छ। त्यसैले, अल्लाहमाथि तथा उहाँका त्यस उम्मी रसूल (सल्लल्लाहु अलैहि वसल्लम)माथि ईमान राख, जो अल्लाह र उहाँका वाणीहरूमाथि ईमान राख्छन्। र उनकै अनुसरण गर जसले गर्दा तिमीहरूले मार्गदर्शन प्राप्त गर्न सक्नेछौ ।} [अल् अअराफः १५८ ।]
र सही मुस्लिममा उल्लेख छ: अबू हुरैरा (रदियल्लाहु अन्हु) बाट वर्णन गरिएको छ कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो: "(अल्लाहको कसम) जसको हातमा मुहम्मदको आत्मा छ, यस "उम्मत" (समुदाय) को कुनै पनि व्यक्ति, चाहे यहूदी होस् वा इसाई, मेरो बारेमा सुन्छ र मेरो माध्यमबाट पठाइएको कुरामा विश्वास नगरी मर्छ, भने ऊ नरकवासी हुनेछ।"
र उहाँ (सल्लल्लाहु अलैहि वसल्लम)प्रति विश्वास गर्नु भन्नाले केवल उहाँद्वारा प्रस्तुत सन्देशलाई सत्य मान्नु मात्र होइन, बरु त्यसलाई हृदयंगम गरी पूर्ण रूपमा आत्मसात् गर्नु हो। यही कारणले, अबू तालिबले नबी (सल्लल्लाहु अलैहि वसल्लम)को सन्देशलाई सत्य मानेर र यसलाई सर्वोत्तम धर्म ठाने पनि उहाँ विश्वासी (मुमिन) बन्न सक्नुभएन।
इस्लाम धर्म: अघिल्ला धर्महरूमा समावेश गरिएका सम्पूर्ण सद्गुणहरूलाई आत्मसात् गर्दै, तिनलाई पूर्णता प्रदान गर्ने तथा सबै कालखण्ड, स्थान र समुदायका लागि सर्वोत्तम मार्गदर्शनको रूपमा स्थापित भएको छ। अल्लाहले आफ्ना पैगम्बरहरूलाई सम्बोधन गर्दै यसरी भन्नुभएको छ: {हे सन्देष्टा ! हामीले तिमीमाथि सत्यकासाथ ग्रन्थ अवतरित गर्यौँ, जसले पहिलेका ग्रन्थहरूको पुष्टि गर्दछ, र जो तिनीहरुको संरक्षक पनि हो ।} (अल् माइदा: ४८)
यस सिद्धान्तलाई प्रत्येक काल, स्थान र राष्ट्रका लागि मान्य/योग्य मान्नुको अर्थ यो हो कि यसको पालनाले कुनै पनि कालखण्ड, भौगोलिक क्षेत्रमा देशको हितमा बाधा पुर्याउँदैन, बरु सबैका हितमा योगदान पुर्याउँछ। यसको अर्थ यो होइन कि समय, स्थान वा राष्ट्रअनुसार यसमा मनपरी ढंगले परिवर्तन गर्न सकिन्छ।
इस्लाम धर्म सत्य धर्म हो जसमा सर्वशक्तिमान अल्लाहले आफ्ना आज्ञापालन गर्ने र आत्मसमर्पण गर्ने विश्वासीहरूलाई सदा सहायता गर्ने र यस धर्मलाई अन्य सबै धर्ममाथि श्रेष्ठ बनाउन वाचा गर्नुभएको छ। सर्वशक्तिमान अल्लाहले भन्नुहुन्छ: {उनै हुन् जसले आफ्ना रसूललाई मार्गदर्शन एवं सत्य धर्मकासाथ पठाए ताकि त्यसलाई उनले सम्पूर्ण धर्महरूमाथि प्रभुत्व प्रदान गरून् चाहे बहुदेववादीहरूलाई यो जतिसुकै अप्रिय किन नहोस् ।} [सूरह सफ:९]
र अल्लाहले भन्नुभएको छ : {तिमीहरूमध्ये जो मानिस ईमान ल्याउँछन् र सत्कर्म गर्छन्, अल्लाहले उनीहरूसँग वाचा गर्नुभएको छ कि उहाँले उनीहरूलाई पृथ्वीमा खलीफा (उत्तराधिकारी) बनाउनुहुनेछ, जसरी उहाँले उनीहरूभन्दा अघि भएका मानिसहरूलाई खलीफा बनाउनु भयो। साथै, उहाँले उनीहरूका लागि त्यस धर्मलाई दृढतापूर्वक स्थापित गर्नुहुनेछ, जसलाई उहाँले उनीहरूकालागि रोज्नुभएको छ। र, उहाँले उनीहरूको डरको अवस्थालाई शान्तिको अवस्थामा परिणत गरिदिनुहुनेछ। उनीहरूले मेरो उपासना मात्र गर्नेछन् र मेरो साथ कसैलाई साझेदार बनाउने छैनन्। त्यसपछि जो कृतघ्न हुन्छन्, तिनीहरू नै वास्तविक अवज्ञाकारी हुन्।} [सुरह नूर:५५]
इस्लाम धर्म विश्वास र कानुन व्यवस्था दुवैको समग्र पद्धति हो। यो आफ्ना सिद्धान्त र नियमहरूमा पूर्णतया परिपूर्ण मानिन्छ:
१- इस्लाम धर्मले सर्वशक्तिमान अल्लाहको एकेश्वरवादी सिद्धान्तलाई अनुसरण गर्न आदेश दिन्छ र बहुदेववादलाई निषेध गर्दछ।
२- इस्लाम धर्मले इमानदारीको आदेश दिन्छ र झूट बोल्न निषेध गर्दछ।
३- इस्लाम धर्मले न्यायको आदेश दिन्छ र उत्पीडन र दमनलाई निषेध गर्छ। न्यायको अर्थ समानता अर्थात् समान वस्तुहरू बीच बराबरी र भिन्न वस्तुहरू बीच भिन्नता गर्नु हो। तसर्थ न्यायको अर्थ समानता मात्र होइन र केही व्यक्तिहरूले इस्लामलाई पूर्ण समानतावादी धर्मको रूपमा व्याख्या गर्ने गरेको भए पनि यो धारणा गलत हो। किनभने विभिन्न कुराहरू प्रति समान व्यवहार गर्नु नै अन्याय हो, र इस्लामले यस्तो अन्यायलाई कदापि स्वीकार गर्दैन। यसरी गर्ने व्यक्तिलाई कुनै पनि हालतमा प्रशंसा योग्य भन्न सकिन्न।
४-इस्लाम धर्मले ईमानदारीको आदेश दिन्छ र विश्वासघातबाट रोक्दछ।
५- इस्लाम धर्मले प्रतिज्ञा वा वचनबद्धताहरू पूरा गर्न आदेश दिन्छ र धोखाधडी निषेध गर्दछ।
६- इस्लाम धर्मले आमाबाबुप्रति असल व्यवहार गर्न आदेश दिन्छ र उहाँहरूको अनादर र अवज्ञा गर्न निषेध गर्दछ।
७- इस्लाम धर्मले आफन्तहरूप्रति दयालु व्यवहार गर्न आदेश दिन्छ र खराब व्यवहार गर्न निषेध गर्छ।
८- इस्लाम धर्मले छिमेकीहरूप्रति राम्रो व्यवहार गर्न आदेश दिन्छ र उनीहरूप्रति नराम्रो व्यवहार गर्नबाट रोक्छ।
सामान्यतया भन्नुपर्दा इस्लामले सबै राम्रो आचरणको आज्ञा दिन्छ र सबै थरीको खराब बानी व्यहोरालाई निषेध गर्छ, साथै सबै प्रकारका राम्रो कार्यको आदेश दिन्छ र सबै खराब कर्मबाट रोक्दछ।
अल्लाहले भन्नुभएको छ : { वास्तवमा अल्लाहले न्याय, परोपकार र नातेदारहरूलाई (हक) दिन आदेश दिन्छन्, र अश्लीलता, दुष्कर्म तथा अत्याचारबाट मनाही गर्छन् । उनी तिमीहरूलाई उपदेश दिन्छन् ताकि तिमीहरू शिक्षा ग्रहण गर । } (अन्नहलः ९०)
इस्लामका आधारभूत स्तम्भहरू:
इस्लामका आधारभूत स्तम्भहरू भन्नाले पाँचवटा आधारहरूलाई बुझाउँछ,जसमा इस्लामको भवन निर्माण गरिएको छ। ती आधारहरुको वर्णन इब्न उमर (रजि.) बाट वर्णित हदीसमा गरिएको छ, जसमा पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "इस्लाम पाँच कुराहरूमा आधारित छ: अल्लाहको एकत्व (एकेश्वरवाद) लाई स्वीकार गर्नु (वा अर्को वर्णनअनुसार ): यो साक्षी दिनु कि अल्लाह बाहेक अरू कुनै पूज्य छैन, र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) उहाँका भक्त र रसूल हुन्; नमाज स्थापित गर्नु, जकात दिनु, रमजानको रोजा राख्नु, र हज गर्नु।" एक व्यक्तिले इब्न उमरसँग सोधे: "पहिले हज र त्यसपछि रमजानको रोजा?" उहाँले उत्तर दिनुभयो: "होइन, पहिले रमजानको रोजा र त्यसपछि हज।" इब्न उमरले भने मैले यसरी नै पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम )बाट सुनेको छु।
१- अल्लाह बाहेक अरू कोही सत्य ईश्वर छैन, र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका बन्दा (भक्त) र रसूल हुनुहुन्छ भन्ने तथ्यमा पूर्ण रूपमा दृढ़ विश्वास राख्नु र बोलीले यसको पुष्टि गर्नु हो। साथै, यो विश्वासलाई यति दृढ़तापूर्वक व्यक्त गर्नुपर्छ कि मानौँ उसले आफ्नै आँखाले यसलाई प्रत्यक्ष रूपमा अवलोकन गरिरहेको छ। यस गवाही वचनमा दुईवटा तथ्य भए तापनि एकै आधारस्तम्भ बनाइनुको कारण यो हो कि:
पहिलो: किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहबाट सन्देश पुर्याउने दूत हुनुहुन्छ। त्यसकारण, उहाँलाई अल्लाहको भक्त र रसूलको रूपमा स्वीकार गर्नु ले "लाइला हिल्ला अल्लाह" (एकेश्वरवाद) को साक्ष्यलाई पूर्ण बनाउँछ।
दोश्रो: किनभने यी दुई शाहदत (गवाही) नै कर्महरूको शुद्धता र स्वीकृतिको आधार हुन्। कुनै पनि कर्म शुद्ध र स्वीकार्य हुँदैन जबसम्म त्यसमा अल्लाहप्रति इखलास (निष्ठा) र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अनुकरण हुँदैन।
यसरी अल्लाहप्रति निष्ठाले (इखलास) "लाइला हिल्ला अल्लाह" को साक्षीलाई पूर्ण बनाउँछ, र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अनुसरण ले "मोहम्मदुर रसूलुल्लाह" को साक्षीलाई पूर्ण बनाउँछ।
यस महान शहादतको फलस्वरूप हाम्रो हृदय र आत्मा सृष्टिकर्ता बाहेक अरुको दासत्वबाट मुक्त हुन्छ र हामी अल्लाहका सन्देशवाहक बाहेक अरुको अनुसरण गर्नबाट जोगिन्छौ।
२- नमाज कायम गर्नु: नमाज भनेको निरन्तर र विशेष विधिद्वारा निर्धारित समयमा परिपूर्ण तरिकाले गरिने अल्लाह सर्वशक्तिमानको उपासना हो।
नमाजको लाभ: यसबाट मानसिक शान्ति, आँखाको शीतलता (खुशी, सन्तुष्टि) प्राप्त हुनुका साथै अशिष्ट तथा दुष्कर्मबाट मुक्ति पाइन्छ।
३- जकातको भुक्तानी: यो पनि अल्लाहको उपासना हो, जुन जकात योग्य सम्पत्तिमा निश्चित रकम तिरेपछि पूरा हुन्छ।
जकातका लाभ: जकातले हृदयलाई कंजुस्याइँ जस्ता खराब बानीहरूबाट शुद्ध पार्छ र साथै यसले मुस्लिम समुदायको आवश्यकता पूरा गर्छ।
४- रमजानको उपवास: यो पनि एउटा ईश्वरीय उपासना हो, जुन रमजान महिनाका दिनहरूमा खाना, पेय पदर्थ, मनोकांक्षा र इच्छाहरूबाट आफूलाई रोकेर पूरा गरिन्छ।
उपवासको लाभ: यसले हामीलाई आफ्नो इच्छालाई नियन्त्रण गरेर, मनोकांक्षा त्याग्न र अल्लाह खुसी हुने कर्म गर्न सिकाउँछ।।
५- हज: यो पनि अल्लाह तआलाको उपासना हो, जुन हजको अनुष्ठान पूरा गर्ने उद्देश्यले मक्का गएर पूरा गरिन्छ।
हजको लाभ: अल्लाह तआलाको आज्ञापालन र आज्ञाकारी बनाउन आफूलाई सकेसम्म आर्थिक र शारीरिक संघर्षको लागी आफ्नो हृदयलाई तयार पार्नु। तसर्थ, हज गर्नु पनि अल्लाहको मार्गमा एक प्रकारको जिहाद गर्नु जस्तै हो।
हामीले माथि उल्लेख गरेका र उल्लेख गर्न नसकेका इस्लामका आधारहरु को अभ्यासबाट प्राप्त हुने परिणामले फलस्वरुप मुस्लिम समुदायलाई पवित्र, शुद्ध र अल्लाहको धर्ममा दृढ समुदाय बनाउँछ साथै सम्पूर्ण मानव जाति सगँ न्यायपूर्ण र सत्य व्यहार गर्न बाध्य पार्छ । किनभने इस्लामका अन्य सम्पूर्ण कानूनहरू त्यतिबेला मात्र पूर्ण रूपमा यथोचित हुन्छन् जब उल्लिखित आधारभूत सिद्धान्तहरूको पालना निष्ठापूर्वक गरिन्छ। यसैगरी, कुनै पनि समुदायको समग्र अवस्था उसको धार्मिक स्थितिमा निर्भर रहन्छ। अतः जसरी कुनै समुदाय धार्मिक मामिलामा भ्रष्ट हुन्छ, त्यसैगरी त्यस समुदायमा भ्रष्टाचार र अन्य विकृतिहरू पनि बढ्दै जान्छन्।
जो कोहि यसको व्याख्या बुझ्न् इच्छुक छ, उसले अल्लाहको यो भनाइ पढोस: { र, यदि ती नगरबासीहरूले ईमान ल्याएका भए तथा ईशभय राखेका भए हामीले उनीहरूमाथि आकाश र पृथ्वीका बरदानहरू खोलिदिन्थ्यौं तर तिनीहरूले अस्वीकार गरे । अनि तिनीहरूका कुकर्मको कारणले गर्दा हामीले तिनीहरूलाई समातिहाल्यौं । के नगरबासीहरू राती तिनीहरू सुतिरहेकै अवस्थामा हाम्रो प्रकोप आइपुग्नबाट निश्चिन्त छन् ? वा के नगरबासीहरू दिउँसै तिनीहरू खेलिरहेकै अवस्थामा हाम्रो प्रकोप आइपुग्नबाट निश्चिन्त छन् ? के तिनीहरू अल्लाहको जुक्तिबाट निश्चिन्त छन् ? अनि अल्लाहको जुक्तिबाट त नोक्सान बेहोर्नेहरू मात्र निश्चिन्त रहने गर्छन् । } [अल-आराफ: ९६-९९]
अतीतका पाना पल्टाएर हेर्नुहोस्, इतिहास बुद्धिमानहरूको लागि पाठ र शिक्षाको स्रोत हो, र जसको हृदय खुला छ उनीहरूको लागि अन्तर्दृष्टि हो, र अल्लाह नै सहारा हुनुहुन्छ।
इस्लामी आस्थाको आधारहरू
इस्लाम धर्म: जस्तो कि हामीले पहिले नै स्पष्ट पारेका छौँ, यो एक विश्वास प्रणाली र शासन व्यवस्था हो। हामीले यसका केही नियमहरूको बारेमा संकेत गरेका छौँ र यसका आधारभूत स्तम्भहरूको उल्लेख गरेका छौँ जुन यसका नियमहरूको आधार मानिन्छन्।
इस्लामि आस्था अल्लाह, उहाँका फरिस्ताहरू, उहाँका ग्रन्थहरू, उहाँका सन्देशवाहकहरू, अन्तिम दिन, र राम्रो र खराब भाग्यमा आधारित विश्वास पद्धति हो।
पवित्र कुरआन र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नतमा यी सिद्धान्तहरूको प्रमाण मौजुद छ,
अल्लाहले पवित्र कुरआनमा भन्नुहुन्छ : { सत्कर्म यो होइन कि तिमी आफ्नो अनुहार पूर्व वा पश्चिमतिर फर्काऊ, बरु सत्कर्म यो हो कि मानिसहरू अल्लाह, आखिरतको दिन, फरिश्ताहरू, ईश–ग्रन्थ तथा नबीहरूमाथि आस्थावान होऊन् । } [अल-बकारा: १७७] र भाग्यको बारेमा भनिएको छ: {हामीले प्रत्येक वस्तु निर्धारित रूपमा सृष्टि गरेका छौं । र हाम्रो आदेश केवल एक पटक आँखा झिमिक्क गर्ने बेला जतिमै पूरा हुन्छ} [अल-कमर: ४९-५०]
हदीसहरूमा छ कि जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई हज्रत जिब्रील अ.स ले आस्थाको बारेमा सोध्नुभयो, तब यस प्रश्नको जवाफमा उनले भन्नुभयो: आस्था भनेको अल्लाह, उहाँका फरिस्ताहरू, उहाँका ग्रन्थहरू, उहाँका दूतहरू, अन्तिम दिन, राम्रो र खराब भाग्यमा ईमान ल्याउनु हो।
सर्वशक्तिमान अल्लाहप्रति आस्था
अल्लाह प्रति आस्थामा चारवटा कुराहरू समावेश छन्।
१: अल्लाह तआलाको अस्तित्वमा विश्वास।
अल्लाह तआला अस्तित्वलाई जन्मजात प्रवृत्ति, बुद्धि, शरियत र भौतिक ज्ञानले प्रमाणित गर्दछ ।
(क) अल्लाहको अस्तित्वको जन्मजात प्रवृत्ति द्वारा प्रमाण: अल्लाहको अस्तित्वको प्रमाण स्वरूप मानवमा जन्मजात एउटा प्राकृतिक प्रवृत्ति पाइन्छ। यस प्रवृत्तिका कारण प्रत्येक प्राणी आफ्नो सृष्टिकर्ताप्रति आस्तिक हुन्छ। यस विश्वासमा कुनै बाहिरी प्रभाव वा शिक्षाको आवश्यकता पर्दैन। यो प्राकृतिक प्रवृत्ति केवल त्यतिखेर बिग्रन्छ जब मानव हृदयमा कुनै बाह्य प्रभाव पर्न गई यसलाई विचलित पार्छ। पैगम्बर [उहाँ माथि शान्ति होस्] को भनाइ अनुसार, प्रत्येक बच्चा जन्मजात रुपमा स्वच्छ प्रवृत्ति र प्रकृतिक स्वभाव सहित जन्मन्छ। तर, उसका आमाबुवाले उसलाई यहुदी, इसाई वा पारसी बनाउँछन्।
(ख) अल्लाहको अस्तित्वलाई बौद्धिक रूपमा प्रमाणित गर्ने सन्दर्भमा, ब्रह्माण्डमा विद्यमान सम्पूर्ण सृष्टिहरू, चाहे प्राचीन हुन् वा नवीन, अवश्य नै एक सृष्टिकर्ताबाट उत्पन्न भएका हुन्। यो तथ्य स्वतः सिद्ध हुन्छ किनकि कुनै पनि सृष्टिले आफुले आफैंलाई सिर्जना गर्न असम्भव छ। यसरी, संयोगवश पनि सृष्टिको उत्पत्ति सम्भव छैन।
यसैगरी, कुनै पनि वस्तु स्वयं आफ्नै सृष्टिकर्ता हो भन्ने धारणा अतार्किक हो। किनभने कुनै पनि वस्तु आफैंलाई सिर्जना गर्न सक्दैन। अस्तित्वमा आउनुअघि, त्यो वस्तु अस्तित्वहीन थियो। अतः कसरी एउटा अस्तित्वहीन वस्तु सृष्टिकर्ता हुन सक्छ त?
त्यसरी नै कुनै पनि वस्तुको अस्तित्व संयोगवश वा दुर्घटनावश सम्भव छैन। प्रत्येक नयाँ वस्तुको अस्तित्वमा आउनका लागि निश्चित सृष्टिकर्ता हुनैपर्छ । र किनभने यस जटिल प्रणालीको अस्तित्व, यसको विभिन्न तत्वहरूबीचको सामंजस्यपूर्ण सम्बन्ध, यसका कारणहरू र प्रभावहरू, साथै प्राणीहरूबीचको घनिष्ठ अन्तरसम्बन्धलाई विचार गर्दा यसको अस्तित्व केवल संयोगको परिणाम हो भन्ने कुरा मिथ्या र असम्भाव्य साबित हुन्छ । किनकि संयोगले उत्पन्न भएको कुनै पनि वस्तु मुलतः क्रमबद्ध र व्यवस्थित हुनै सक्दैन भने यस जटिल प्रणालीको उत्पत्ति र विकास क्रम कसरी यति व्यवस्थित हुन सक्छ त?"
तसर्थ यस संसारका प्राणीहरू आफैं वा संयोगवश उत्पन्न हुन असम्भव छ भन्ने तथ्यले यो प्रमाणित हुन्छ कि यी सबैको एक सृष्टिकर्ता अवश्य छन्। त्यो सृष्टिकर्ता अल्लाह ता'आला हुनुहुन्छ जो सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ता र (रब) पालनकर्ता हुनुहुन्छ ।
अल्लाह तआलाले यस बौद्धिक प्रमाण र सटीक तर्कलाई सुरह तूरमा यसरी उल्लेख गरेका छन्: {के यिनीहरूको सृष्टि विना आधार नै भएको हो ? वा यिनीहरू आफैं स्रष्टा हुन् ?} (अत्तूरः ३५) अर्थात्, तिनीहरू कुनै सृष्टिकर्ता बिना जन्मिएका होइनन्, न त तिनीहरूले आफैंलाई सृष्टि गरेका हुन्। यो तथ्यले प्रष्ट रूपमा प्रमाणित गर्दछ कि तिनीहरूको सृष्टिकर्ता अवश्य नै छ, र त्यो सृष्टिकर्ता अल्लाह सर्वशक्तिमान हुन्। यही कारण हो कि जब हजरत जुबेर बिन मुतअम (रजि.) ले अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सुरह अल-तुरका यी आयतहरू पढ्दै गरेको सुन्नुभयो: { के यिनीहरूको सृष्टि विना आधार नै भएको ? वा यिनीहरू आफैं स्रष्टा हुन् ? वा आकाशहरू तथा पृथ्वीलाई यिनीहरूले सृष्टि गरेका हुन् ? बरु यिनीहरू विश्वास नै राख्दैनन् ।के तिम्रा पालनकर्ताको खजाना यिनीहरूको नियन्त्रणमा छ ? वा यिनीहरू नै नियन्त्रक हुन् ? } (अत्तूरः ३५-३६)
जुबैर त्यस समय मूर्तिपूजक थिए। उनले भने: "मेरो मन उड्न लागेको जस्तो भयो, र त्यही मेरो हृदयमा पहिलो पटक ईमान प्रवेश भएको क्षण थियो।
थप व्याख्याको लागि यहाँ एउटा उदाहरण प्रस्तुत गरिँदैछ: यदि कसैले तपाईंलाई एउटा विशाल र मजबुत महलको बारेमा बताउँछ, जसको चारैतिर हरियालीले भरिपूर्ण सुन्दर बगैँचाहरू छन्, त्यसको बीचबाट शीतल नदीहरू बगिरहेका छन्, महलमा कोमल र नाजुक बिछौनाहरू र सजिएको सिंहासन छ, र त्यो महल विभिन्न प्रकारका आकर्षक र मनमोहक सजावटका वस्तुहरूले सुशोभित छ। र फेरि तपाईंलाई उसले भन्यो भने कि यो सम्पूर्ण दरबार र यसमा रहेका सबै उत्कृष्ट चीजहरू स्वयम आफैं उत्पन्न भएर वा संयोगवश अस्तित्वमा आएका हुन् भने, तपाईं यसलाई न केवल विश्वासका साथ अस्वीकार गर्नुहुनेछ, बरु यस कथनलाई मूर्खता भन्नुहुनेछ। यो उदाहरणपछि के यो विशाल ब्रह्माण्ड र यसमा रहेका पृथ्वी, आकाश र यसको अद्भूत र अनुपम प्रणाली तथा व्यवस्था कुनै आविष्कारक बिना, संयोगवश वा दुर्घटनाको फलस्वरूप उत्पन्न भएको भन्ने विचारको कुनै औचित्य बाँकी रहन्छ?
(ग) अल्लाह तआलाको अस्तित्वप्रति शरयी (कानुनी) तर्कहरू: निस्सन्देह, सबै आकाशीय पुस्तकहरू अल्लाहको अस्तित्वका प्रमाण हुन्। यी पुस्तकहरूमा सम्पूर्ण सृष्टिको हितका लागि उल्लेख गरिएका आदेशहरू नै यसको स्पष्ट प्रमाण हुन्। निश्चय नै, यी ग्रन्थहरू त्यस्तो एक परम ज्ञानवान्, तत्त्वदर्शी र सर्वशक्तिमान परमेश्वर तर्फबाट अवतरित भएका हुन्, जसले प्राणीहरूको सम्पूर्ण हितलाई पूर्णरूपले जान्नुहुन्छ। र यी आकाशीय पुस्तकहरूमा ब्रह्माण्डसँग सम्बन्धित प्रस्तुत गरिएका तथ्यहरू, जसलाई विज्ञानले सत्य प्रमाणित गरिसकेको छ, स्वयंमा एक स्पष्ट प्रमाण हो कि यी ग्रन्थहरू एक सर्वशक्तिमान परमेश्वरबाट अवतरित भएका हुन्, जसले आफूले जानकारी दिनुभएको प्रत्येक विषयवस्तु सिर्जना गर्ने पूर्ण सामर्थ्य राख्नुहुन्छ
(घ) अल्लाहको अस्तित्व सम्बन्धित प्रत्यक्ष प्रमाणहरू दुई प्रकारका छन् :
पहिलो प्रकार: यो हो कि हामी प्रार्थना गर्नेहरूको प्रार्थनाको स्वीकृति र संकटमा परेका व्यक्तिहरूलाई प्राप्त भएका राहतलाई प्रत्यक्ष रूपले देख्न र सुन्न गर्छौं। यी घटनाहरूले स्पष्ट रूपमा अल्लाह तआलाको अस्तित्वको पुष्टि गर्छन्। अल्लाह तआलाले भन्नुहुन्छ: {र ‘‘नूह ’’ ले यसभन्दा अगाडि हामीलाई पुकारेका थिए। त्यसबेला हामीले उनको प्रार्थना स्वीकार गर्यौं। } [अल-अन्बिया: ७६] अर्को ठाउँमा भनिएको छ: {स्मरण गर, जब तिमीहरूले आफ्नो पालनकर्तासित सहायता मागिरहेथ्यौ, तब महान अल्लाहले तिम्रो पुकार स्वीकृत गर्नुभयो।} [अल-अन्फाल : ३८] ।
सहीह बुखारीमा अनस इब्न मालिक (रदियल्लाहु अन्हु) बाट वर्णित छ कि एक गाउँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए, जब उहाँ शुक्रबारको खुत्बा दिइरहनुभएको थियो। उसले भन्यो, "या रसूलल्लाह! धन-सम्पत्ति नष्ट भएको छ र परिवारजन भोकले ग्रस्त छन्, त्यसैले अल्लाहसँग वर्षाका लागि दुआ गरी दिनुहोस्। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना हात उठाई प्रार्थना गर्नुभयो। तत्काल पहाडजस्ता बादल मडारिन थाले, र उहाँ मीनबरबाट नओर्लिदै मैले उहाँको दाह्रीबाट पानीका थोपा चुहिरहेको देखेँ, (अर्थात् तुरुन्तै वर्षा हुन थाल्यो)।
अर्को शुक्रबार त्यही गाउँले वा अर्काे व्यक्तिले आएर भन्यो, "या रसूलल्लाह! घरहरू भत्किएका छन् र धन-सम्पत्ति डुबेको छ, त्यसैले अल्लाहसँग वर्षा रोक्न प्रार्थना गर्नुहोस्। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हात उठाई प्रार्थना गर्नुभयो, "अल्लाहुम्म, हवालैना वला अलैना" (अर्थात्, हे अल्लाह! वर्षा हामीबाट हटाएर हाम्रो वरिपरि गरी दिनुहोस्) अनि उहाँ जुन दिशातिर इशारा गर्नुहुन्थ्यो, त्यही दिशाबाट बादल हट्थ्यो।
र अहिलेसम्म पनि प्रार्थनाको शर्तहरू पूरा गरी अल्लाहमा सत्या आश्रय लिएर अल्लाहसँग निष्ठापूर्वक प्रार्थना गर्नेहरूको प्रार्थना सुनिन्छ भन्ने कुरा सर्वव्याप्त छ।
दोस्रो प्रकार : नबीहरूद्वारा प्रदर्शित चमत्कारहरू हो, जसलाई अरबीमा ‘मोजिजा’ भनिन्छ र जसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानिसहरूले देखे सुनेका हुन्छन्, यी चमत्कारहरू यी सन्देशवाहकहरूलाई पठाउने ईश्वरको अस्तित्वको एउटा अटल प्रमाण हुन्, किनकि यस्ता चमत्कारहरू सामान्य मानवीय क्षमताभन्दा परका घटना हुन्, जुन अल्लाह तआलाले आफ्ना रसूलहरूलाई समर्थन गर्न र उनीहरूको सत्यतालाई प्रमाणित गर्न प्रदान गर्नुभएको थिए।
यसको उदाहरणको रुपमा मोसेस (अलेहिस्सलाम) को चमत्कारलाई लिन सकिन्छ। जब अल्लाहतालाले उहाँलाई आफ्नो लट्ठी नदीमा हिर्काउन आदेश दिए, उहाँले त्यसो गर्नुभयो र तत्काल समुद्र १२ भागमा विभाजित भई सुख्खा बाटो बन्न पुग्यो र दुवैतिर समुद्रको पानी पहाडजस्तै अग्लो भएर उभियो। अल्लाह तआलाले कुर्आन मा भन्नुहुन्छ: {अनि हामीले मूसालाई वह्य गर्यौं– आफ्नो लट्ठी समुद्रमा हिर्काऊ । अनि नदी फाट्यो र त्यसको प्रत्येक भाग ठूलो पहाड जस्तो हुन पुग्यो} [अश-शुअरा: ६३]
दोस्रो उदाहरण हज्रत ईसा (अलेहिस्सलाम)को चमत्कार हो, उहाँले अल्लाह तआलाको आदेशद्वारा मृतहरूलाई जीवित पार्नु हुन्थ्यो र तिनीहरूलाई चिहानबाट बाहिर निकाल्नु हुन्थ्यो , अल्लाहले उहाँ बारे भन्नुहुन्छ: {र म जिवित गर्छु मृतकहरुलाई अल्लाहको आदेशद्वारा} (आले-इमरान: ८५) । र आर्को ठाउँमा भन्नु भयोः {र जब तिमी मेरो आदेशद्वारा मृतकलाई उठाउथ्यौ।} [अल्-माइदा : १०४] ।
तेस्रो उदाहरण: पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)को चमत्कार हो, उहाँले चन्द्रमालाई दुई भागमा विभाजन गर्नु भएको थियो। जब कुरैशले रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) सगँ चमत्कारको माग गरे तब उहाँले चन्द्रमा तर्फ इशारा गर्नुभयो अनि चन्द्रमा दुई टुक्रामा विभाजित भयो, यसको बारेमा अल्लाहले भन्नुहुन्छ: { महाप्रलयको घडी निकट आइपुग्यो र चन्द्रमा फुट्यो । तैपनि यिनीहरू कुनै पनि निशानी देख्दा विमुख हुन्छन् र भन्छन्– यो त चलिरहेको जादू हो ।} (अल्-कमर : ४९ )
यी सबै चमत्कार तथा निशानीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देखिने वा सुनिने तथ्यहरु सँग सम्बन्धित छन्। परमेश्वर अल्लाहले आफ्ना सन्देशवाहकहरूलाई समर्थन गर्न र मद्दत गर्न यस्ता चमत्कारहरू प्रदान गर्नुभएको थियो। यी सबै चमत्कारहरूले निश्चित रूपमा परमेश्वर अल्लाहको अस्तित्वलाई प्रमाणित गर्दछन्।
(२) अल्लाहप्रतिको आस्थासँग सम्बन्धित दोस्रो महत्त्वपूर्ण कुरा यो हो कि सर्वशक्तिमान अल्लाहको प्रभुत्वमा विश्वास गर्नु भनेको उहाँ एक हुनुहुन्छ र उहाँको न कुनै साझेदार छ न त कोही सहयोगी भन्ने तथ्यमा दृढ विश्वास गर्नु हो।
रब्ब शब्दले सम्पूर्ण ब्रह्माण्डको एकमात्र सृष्टिकर्ता, स्वामी र शासकलाई जनाउँछ। यसको अर्थ हो कि संसारको सृष्टि, स्वामित्व र शासन सबै अल्लाह ता'आलाको एकल अधिकार हो। अल्लाह ता'आला बाहेक कुनै अन्य सृष्टिकर्ता, मालिक वा शासक छैन। महान् अल्लाहले भन्नुहुन्छ: {निस्सन्देह, सृष्टि र आदेश शासन अल्लाहकै लागि हो।} (अल् अअराफः ५४) र अर्को ठाउँमा भनिएको छ: {अल्लाह नै तिमीहरूका पालनकर्ता हुन् र साम्राज्य उनकै हो । र, अल्लाहबाहेक तिमीहरूले जसलाई पुकार्दछौ तिनीहरू एउटा खजूरको बीऊको बोक्रासमेतको मालिक होइनन् ।} (सूरह फातिर : १)
सृष्टि जगतमा कसैले पनि कहिल्यै महान् अल्लाहको प्रभुत्व अस्वीकार गरेका छैन सिवाय ती मानिसहरू बाहेक जो घमण्डले ग्रस्त थिए, तर तिनीहरूले स्वयम जे भन्थे आफै त्यसमा आस्था राख्दैन थिए, जस्तो कि फिरओनले आफ्नो समुदायलाई गरेको सम्बोधनबाट स्पष्ट हुन्छ: उसले भन्यो: { म तिमीहरूको सबैभन्दा ठूलो रब हुँ। } [अल-नाजिआत: २४], र उसले यो पनि भन्यो: { हे दरबारियाहरू ! म आफू बाहेक कसैलाई तिम्रो रब देख्दिन, } [अल कसस :३८ ] तर फिरओनको यो दाबी वास्तविक आस्थामा आधारित थिएन। महान् अल्लाहले त्यसप्रति भन्नुहुन्छ: { र, उनीहरूले अत्याचार र अहङ्कारका कारण ती (आयतहरू वा चिन्हहरू) लाई अस्वीकार गरे, जबकि उनीहरूको अन्तर्मन तिनीहरूप्रति विश्वस्त थिए } [अल-नमल: १४] त्यसैगरी, मोसेस (अलेहिस्सलाम) ले फिरऔनलाई भने, जस्तो कि महान् अल्लाहले कुरआनमा यस बारेमा जानकारी दिएका छन्: मोसेसले फिरऔनलाई भने– {कि यो त तिमीलाई थाहा भइसकेको छ कि आकाश र धर्तीको पालनकर्ताले नै तिमीहरूलाई देखाउन र सम्झाउनको निम्ति (चमत्कार) उतारेको छन्, हे फिरऔन म ठान्दछु कि निःसन्देह तिमी नष्ट भइहाल्नेछौ} [अल-इस्रा १०२] त्यसैले, हामी देख्छौं कि अरबका बहुदेववादीहरू पनि बहुदेववादमा संलग्न हुँदाहुँदै अल्लाहको प्रभुत्वलाई स्वीकार गर्थे। महान् अल्लाह भन्नुहुन्छ: { (ती बहुदेववादीहरू लाई) सोध्नुस् – यदि तिमीहरू जानकारी राख्छौ भने, पृथ्वी तथा त्यसमा रहेका चिजहरू कसका हुन् ? तिनीहरूले भन्नेछन्– अल्लाहका । भन्नुहोस् – फेरि तिमीहरू उपदेश किन ग्रहण गर्दैनौ त ? सोध्नुस् – सात आकाश तथा महान् सिंहासनका स्वामी को हुन् त ? तुरुन्तै भन्नेछन्– अल्लाह ! भन्नुहोस् – फेरि तिमीहरू किन डराउँदैनौ त ? सोध्नुस् – यदि तिमीहरू जानकारी राख्छौ भने, सम्पूर्ण चिजहरूको अख्तियार कसको हातमा छ, र उनी को हुन् जसले शरण दिन्छन् तर उनको दाँजोमा कसैले शरण दिन सक्दैन ? तिनीहरूले भन्नेछन्– अल्लाह ! भन्नुहोस् – फेरि तिमीहरू कहाँबाट जादूपीडित हुन्छौ त ?} [अल् मूमिनूनः ११५] ।
आर्को स्थानमा अल्लाहले भन्नुभएको छ : { तपाईंले उनीहरूलाई "आकाश र पृथ्वी कसले सृष्टि गर्यो?" भनी प्रश्न गर्नुभयो भने, निश्चय नै उनीहरूले उत्तर दिनेछन्, "तिनीहरूलाई अत्यन्त प्रभुत्वशाली, सर्वज्ञ (अल्लाह) ले सृष्टि गर्नुभएको हो } (अज्जुखरूफः ९),
त्यसैगरी अल्लाहले भन्नुभएको छ : { यदि तपाईंले उनीहरूसित सोध्नु भयो भने कि, ‘‘उनीहरूलाई कसले सृष्टि गर्यो?’’ त उनीहरूले अवश्य भन्नेछन् कि, ‘‘अल्लाहले।’’ त यिनीहरू कहाँ (विमुख भई) भौतारिराखेका छन्? } (अज्जुखरूफः ८७),
अल्लाहको आदेश ब्रह्माण्डीय र धार्मिक दुवै पक्षलाई समेट्छ। जस्तै उहाँले ब्रह्माण्डलाई चलाउनुहुन्छ र त्यसमा आफ्नो इच्छा, विशिष्ट ज्ञान र तत्वदर्शिता अनुसार निर्णय गर्नुहुन्छ, त्यसैगरी उहाँले मानिसहरूको लागि इबादतहरू (उपासना-आराधना) र सामाजिक लेनदेन (मुआमालाहरू) को नियमहरू पनि निर्धारण गर्नुभएको छ। यी सबै उहाँको ज्ञान र तत्वदर्शिता अनुसार छन्। अतः जो कसैले अल्लाहसँग अरू कसैलाई उपासना (इबादत) सम्बन्धी नियम बनाउने अधिकार दिन्छ, वा व्यवहार तथा लेनदेन (मुआमलात) सम्बन्धी आदेश दिने र फैसला गर्ने अधिकारी मान्छ, उसले अल्लाहसँग शिर्क (साझेदार ठहराउने अपराध, बहुदेववाद) गर्दछ र वास्तवमा, यस्तो व्यक्तिले सत्य ईमान धारण गरेको कुरा प्रमाणित हुनेछैन ।
(३) अल्लाहप्रतिको आस्थासँग सम्बन्धित तेस्रो महत्त्वपूर्ण कुरा महान् अल्लाहको ईश्वरत्व र पूज्यत्वमा विश्वास गर्नु हो: अर्थात्, उहाँ एक्लै वास्तविक ईश्वर हुनुहुन्छ र उहाँसँग कुनै साझेदार छैन भन्ने सत्यलाई स्वीकार गर्नु हो। अरबी शब्द "इलाह"को अर्थ "मालुहू" हो, अर्थात् यस्तो इश्वर जसको उपासना प्रेम र श्रद्धापूर्वक गरिन्छ ।
महान् अल्लाहले भन्नुहुन्छ: { र तिमीहरूका ईश्वर एउटै ईश्वर हुन् । उनीबाहेक कोही उपास्य छैन । उनी अत्यन्त करुणामय एवं परम दयालु छन् ।} [ बकरा-१६३] थप भन्नुहुन्छ: {अल्लाहबाहेक कोही पूज्य छैनन् भन्ने कुराको साक्षी स्वयं अल्लाह, फरिश्ताहरू एवं ज्ञानवानहरू दिन्छन् । उनी निसाफ कायमकर्ता हुन् । उनीबाहेक कोही पूज्य छैन । उनी प्रभुत्वशाली एवं तत्त्वदर्शी छन् ।} [ आल-इम्रान१८] र जो कोही अल्लाहसँग अर्को ईश्वर ठहर्याउँछ र उसको उपासना (इबादत) गर्छ, त्यसको ईश्वरत्व पूर्णतः मिथ्या हुन्छ। महान् अल्लाहले भन्नुहुन्छ: { यो यस कारणले कि अल्लाह नै नितान्त सत्य हुन्, र उनलाई छोडी तिनीहरू जुन चिजलाई पुकार्छन् त्यो असत्य हो । र, निश्चय नै अल्लाह सर्वोच्च तथा महान् छन् । } [ हज:६२] र कसैलाई उपास्य भन्दैमा उसलाई ईश्वरीय अधिकार प्राप्त हुँदैन। महान् अल्लाहले (लात, उज़्जा र मनात ) बारे यसरी भनेका छन्: { वास्तवमा यी तिमीहरूले र तिमीहरूका पुर्खाहरूले राखेका केही नाम मात्र हुन् । यसबारेमा अल्लाहले कुनै प्रमाण अवतरित गरेका छैनन् ।} [ अन-नज्म २३]
र अल्लाहले सन्देशवाहक हूद (अलैहिस्सलाम) बारे भन्नुहुन्छ कि हूदले आफ्नो समुदायलाई भने: {के तिमीहरू मसँग यस्ता नामहरूको बारेमा वादविवाद गर्छौ जुन तिमीहरू र तिम्रा पूर्वजहरूले रचेका छन् जसकालागि अल्लाहले कुनै प्रमाण अवतरण गरेकै छैनन् ?} [ अल-आराफ ७१]
थप अल्लाहले सन्देशवाहक युसुफ (अलैहिस्सलाम) बारे भन्नुहुन्छ कि उहाँले उहाँसँगै कारागार मा बन्द भएका दुईजना व्यक्तिलाई भने : { हे मेरा कारागारका दुवै साथी हो ! के अनेक पालनकर्ताहरू राम्रा हुन् वा केवल एक अल्लाह जसलाई सबैमाथि प्रभुत्व प्राप्त छ ? अल्लाहबाहेक तिमीहरू ज–जसको पूजा गर्छौ तिनीहरू केवल नाम हुन् जुन तिमीहरू तथा तिम्रा पुर्वजहरूले रचेका हुन् । अल्लाहले त्यसकोलागि कुनै प्रमाण अवतरण गरेका छैनन् । } [ यूसुफ ३९-४०]
तसर्थ हरेक सन्देशवाहकले आफ्ना समुदायलाई भन्थे कि: {अल्लाहको उपासना गर । उनीबाहेक तिमीहरूको अन्य कोही उपास्य छैन।} (अल् अअराफः ५९) तर बहुदेववादीहरुले यो तथ्यलाई अस्वीकार गरे र महान् अल्लाहलाई छोडी अन्यलाई ईश्वर बनाए र तिनीहरूलाई अल्लाहका साझेदार ठानी पूजा गर्न थाले, साथै तिनैबाट सहायता माग्थे तथा संकटको समयमा उद्धारको याचन गर्ने गर्थे।
महान् अल्लाहले बहुदेववादीहरूले मिथ्या ईश्वर ठहराएका कुरालाई दुईवटा तार्किक प्रमाणद्वारा खण्डन गर्नुभएको छ:
पहिलो तर्क: जसलाई मानिसहरूले ईश्वर बनाएका छन् तिनीहरूमा ईश्वरत्वको कुनै गुण छैन, वास्तवमा तिनीहरू स्वयं सृष्ट गरिएको हुन्, सृष्टिकर्ता होइनन्। तिनीहरूले आफ्ना उपासकहरूलाई कुनै लाभ दिन सक्दैनन्, न त उनीहरूबाट कुनै हानि हटाउन सक्छन्। तिनीहरू जीवन दिन वा मृत्यु दिन सक्षम छैनन्। तिनीहरूको स्वर्गलोक (आकाश) मा कुनै अधिकार छैन, न त त्यसमा कुनै भागीदारी नै छ।।
महान् अल्लाहले भन्नुहुन्छ: { तिनीहरूले अल्लाह बाहेक अरुलाई पूज्य बनाएका छन्, जसले कुनै कुराको सृष्टि गर्दैनन्, बरु तिनीहरू स्वयम् सृष्टि गरिएका छन् ! उनीहरूलाई नत आफ्नो हानिको अधिकार प्राप्त छ नत लाभको । र उनीहरूलाई नत मृत्युको अधिकार प्राप्त छ नत जीवनको । र नत पुनः जीवित भई उठ्ने कुराको । } [अल-फुरकान ३]
अर्को ठाउँमा अल्लाहले भन्नुहुन्छ: { भनिदेऊ– अल्लाहबाहेक तिमीले ठानेका उपास्ययहरूलाई बोलाऊ । उनीहरू आकाशहरू तथा धर्तीमा एउटा कण बराबरको चिजमाथि पनि कुनै अधिकार राख्दैनन् र न यी दुवैमा उनको कुनै साझेदारी रहेको छ र न तिनीहरू– मध्ये कोही अल्लाहको सहयोगी नै हो । अल्लाहकहाँ सिफारिश उसैको लागि लाभदायक हुनेछ जसको लागि उनले अनुमति दिनेछन् ।} [ सबा-२२-२३] अरु एक ठाउँमा भन्नुहुन्छ: { के तिनीहरू त्यस्तालाई साझेदार ठहराउँछन्, जो कुनै कुराको सृष्टि गर्न सक्दैनन्, र स्वयं नै सृष्टि गरिएका हुन् ? र, तिनीहरु न तिनीहरूको मद्दत गर्ने सामर्थ्य राख्दछन् न स्वयंलाई नै सहयोग पुर्याउन सक्छन्।} [आराफ-१९१-१९२]
जब यी झूटा इश्वरहरूको अवस्था यस्तै हो भने, तिनीहरूलाई उपास्यका रूपमा ग्रहण गर्नु अत्यन्तै मूर्खतापूर्ण कार्य हो र पूर्णतः निराधार तथा असत्यको पराकाष्ठा हो।
दोस्रो तर्क: ती मूर्तिपूजकहरूले स्वीकार गर्थे कि महान् अल्लाह मात्र सृष्टिकर्ता र पालनकर्ता हुन्, जसको हातमा हरेक वस्तुको नियन्त्रण छ, र उनैले शरण प्रदान गर्दछन्। उनको तुलनामा कसैले कसैलाई शरण दिन सक्दैन। (पूर्वरूपले नै यी सम्पूर्ण तथ्यको स्वीकारोक्तिले) उनीहरूलाई अल्लाहलाई एकमात्र उपास्य मान्न बाध्य पार्छ, जसरी उनीहरूले अल्लाहलाई एकमात्र प्रभु र पालनकर्ता मानेका छन्। महान् अल्लाहले यसै कुरालाई स्पष्ट पार्दै भन्नुभएको छ: { हे मानव ! आफ्ना त्यस ‘रब’ (सृष्टिकर्ता) को उपासना गर जसले तिमी र तिमीभन्दा अघिका मानिसहरूको सृष्टि गरे, आशा छ कि तिमीहरू (नरकबाट) बच्न सक्नेछौ ।(उनै हुन्) जसले तिम्रोलागि धर्तीलाई बिछ्यौना र आकाशलाई छाना बनाए र आकाशबाट पानी बर्षाए अनि त्यसबाट तिमीहरूको भरण पोषणका लागि फलफूलहरू उत्पन्न गरे । अतः जानी–जानी (कसैलाई) अल्लाहको समकक्षी नबनाऊ । }(अल-बकरा: २१-२२)
र अर्को ठाउँमा महान् अल्लाहले भन्नुहुन्छ: { "र यदि तिनीहरूलाई सोधियोस् कि यिनीहरूलाई कसले सृष्टि गरेको हो भने, अवश्य पनि तिनीहरू जवाफ दिनेछन्, "अल्लाहले!" । फेरि यिनीहरू कहाँ बहकाइदैछन् ? } [अज-जुख्रुफ: ८७
एक अर्को ठाउँमा महान् अल्लाहले भन्नुहुन्छ: { भनिदेऊ– तिमीहरूलाई आकाश तथा पृथ्वीबाट कसले खाद्यान्न प्रदान गर्छ ? कान तथा आँखाहरूमाथि कसको अधिकार रहेको छ ? कसले निर्जीवबाट सजीव तथा सजीवबाट निर्जीवलाई सृजना गर्छ र कसले संसारका कार्यहरू सञ्चालन गर्छ ? तिनीहरूले तुरून्तै भन्नेछन्– अल्लाहले ! अनि सोध– त्यसो भए तिमीहरू किन डराउँदैनौ ? उनै अल्लाह तिमीहरूका वास्तविक पालनकर्ता हुन् । अनि सत्यपछि पथभ्रष्टताबाहेक अरू के नै बाँकी रहन्छ र ? अनि ! तिमीहरू किन असल बाटोबाट टाढिदै गएका छौ ??} [यूनुस ३१-३२]
(४) अल्लाहप्रतिको आस्थासँग सम्बन्धित चौथो महत्त्वपूर्ण कुरा भनेको अल्लाहको नाम र विशेषताहरूप्रति आस्था राख्नु हो :
यसको तात्पर्य भनेको, महान् अल्लाहले आफ्नो पुस्तक (कुरआन) तथा उहाँका रसूलको सुन्नतमा आफ्नै लागि प्रमाणित गर्नुभएको नामहरू र विशेषताहरूलाई कुनै प्रकारको हेरफेर, इन्कार, कसैसँग तुलना नगरी र विकृत व्याख्या नगरी यथावत् स्वीकार गर्नु हो। महान् अल्लाहले भन्नुहुन्छ: { अल्लाहका सुन्दर नामहरू छन्, त्यसैले तिनीहरूद्वारा उहाँलाई पुकार। अनि ती व्यक्तिहरूलाई छोडिदेऊ, जो उहाँका नामहरूमा विकृत अर्थ लगाउँछन्। तिनीहरूले गर्ने गरेका कार्यको सजायँ तिनीहरूले चाँडै नै पाउनेछन् । }[ आराफ-१८०] अर्को ठाउँमा महान् अल्लाहले भन्नुहुन्छ: {आकाशहरू तथा धर्तीमा उनैको गुण सर्वोच्च रहेको छ र उनी प्रभुत्वशाली एवं तत्वदर्शी छन् । } [सूरह रूम: २७] थप भन्नुहुन्छ: {अल्लाहजस्तो अरू कोही छैन र उनी सर्वश्रोता एवं सर्वद्रष्टा छन् ।}[ सूर-११]
यस मुद्दामा दुई समूहहरु भ्रमताको शिकार भएका छन ।
पहिलो समूह "मुअत्तिलाह" हो: यी व्यक्ति ती हुन्, जसले अल्लाह तआलाका नाम र विशेषताहरूलाई पूर्ण रूपमा अस्वीकार गर्छन्, वा तिनमध्ये केहीलाई अस्वीकार गर्छन्। उनीहरूको धारणा अनुसार, यदि यी नाम र विशेषताहरू स्वीकार गरिएमा, तिनको वास्तविकता सृष्ट जगतजस्तै हुनेछ। अर्थात्, उनीहरू अल्लाहलाई सृष्टि समान तुल्याउने डरले उहाँका गुणहरूलाई नकार्छन्। तर, निम्न कारणहरूका आधारमा उनीहरूको यो दाबी पूर्ण रूपमा मिथ्या र असत्य छ,:
पहिलो कारण: यसले गलत निष्कर्षहरू (लाज़िम) लाई जन्म दिन्छ, जस्तै अल्लाहको वचनमा विरोधाभास उत्पन्न गराउनु। यसको कारण के हो भने, अल्लाहले आफ्नो लागि नाम र विशेषताहरू प्रमाणित गर्नुभएको छ, साथै उहाँजस्तो कुनै अस्तित्व नभएको कुरा पनि प्रमाणित गर्नुभएको छ। यदि अल्लाहका नाम र विशेषताहरू स्वीकार गर्दा उहाँलाई सृष्टि समान मान्नुपर्ने हुन्थ्यो भने, त्यसले अल्लाहको वचनमा विरोधाभास ल्याउने थियो। किनभने यस अवस्थामा, कुरआनको एक भागले अर्को भागलाई झूटा ठहर्याउने थियो, जुन कि असम्भव छ।
दोस्रो कारण: दुई वस्तुको नाम वा विशेषता मिल्दोजुल्दो भए पनि तिनीहरू अनिवार्य रूपमा पूर्णतः समान हुनुपर्छ भन्ने कुरा जरुरी हुँदैन। उदाहरणस्वरूप, दुई व्यक्ति दुवै सुन्ने, देख्ने र बोल्ने क्षमता राख्छन्, तर यसले उनीहरूको मानवीय क्षमताहरू तथा सुन्ने, देख्ने र बोल्ने क्षमतामा पूर्ण समानता रहेको प्रमाणित गर्दैन।
त्यसैगरी, जनावरहरूका पनि हात, खुट्टा र आँखा हुन्छन्, तर मिल्दोजुल्दो नाम हुनुका कारणले ती सबैको स्वरूप, विशेषता र प्रकार एकै हुनुपर्छ भन्ने कुरो आवश्यक छैन।
त्यसैले यदि सृष्टिहरूमा मिल्दोजुल्दो नाम र विशेषताहरू हुदाहुदै भिन्नता देखिन्छ भने, सृष्टिकर्ता (अल्लाह) र सृष्टि (मानव तथा अन्य प्राणीहरू) बीचको भिन्नता अझ स्पष्ट र अपार हुन स्वभाविक हो।
दोस्रो समूह "मुशब्बेहा" हो: यीनीहरू ती हुन् जसले अल्लाहका नाम र विशेषताहरूलाई सृष्टिको विशेषता र गुणहरूसँग समान ठहर्याउँछन्। उनीहरूको धारणा अनुसार, यही ग्रन्थहरूको अर्थको वास्तविक मर्म हो। उनीहरूको भनाइ अनुसार अल्लाहले आफ्ना सेवकहरूसँग त्यस्तै गरी सम्बोधन गर्नुहुन्छ, जस्तै तिनीहरूले बुझ्न सक्छन्। तर, यो धारणा पनि निम्न कारणहरूले असत्य र निराधार छ:
पहिलो कारण: अल्लाहलाई उहाँका सिर्जित प्राणीहरूसँग तुलना गर्नु र समान ठहर्याउनु तर्क र शरीयत दुबै आधारमा अमान्य र अस्वीकार्य छ, र यो पूर्ण रूपमा असम्भव छ कि कुरआन र सुन्नतको पाठहरूको अर्थ गलत वा असत्य होस्। ।
दोस्रो कारण: निस्सन्देह, महान् अल्लाहले मानिसहरूसँग तिनीहरूले मूल अर्थमा बुझ्ने भाषामा कुरा गर्नुभएको छ। तर, त्यो अर्थको वास्तविकता र सार, जुन अल्लाह र उहाँको गुणहरूसँग सम्बन्धित छ, उहाँको आफ्नै ज्ञानमा छ ।
तसर्थ, अल्लाहले आफू सबै कुरा सुन्ने भनेर बताउनुभएको छ। सुन्नु भन्ने शब्दको आधारभूत अर्थ (जसको मतलब ध्वनि बुझ्नु हो) त हामीलाई थाहा छ। तर अल्लाह कसरी सुन्नु हुन्छ र उहाँसँग सम्बन्धित यस गुणको वास्तविकता भन्ने कुरा हामीले बुझ्न सक्दैनौँ। किनभने सुन्ने गुणको वास्तविकता सृष्टिहरू बिचमै फरक-फरक छ भने, सृष्टिकर्ता र सिर्जित प्राणीको बीचमा त झनै स्पष्ट र विशाल हुन्छ।
त्यसैगरी, यदि अल्लाहले आफू अर्शमा (आकाशको सिंहासनमा) विराजमान छू भनेर आफ्नो बारेमा जानकारी दिनुभएको छ भने, "विराजमान हुनु" भन्ने शब्दको मूल अर्थ त बुझ्न सकिन्छ, तर अल्लाह सिंहासनमा विराजमान हुनु भन्ने कुराको वास्तविकता हामीलाई थाहा छैन; किनभने "विराजमान हुनु" भन्ने कुराको वास्तविक अर्थ सृष्टिहरूको सन्दर्भमा फरक हुन्छ। उदाहरणका लागि स्थिर सिंहासनमा स्थापित हुनु र चञ्चल तथा कठोर ऊँटको पीठमा स्थापित हुनु समान हुँदैन। जब सिर्जित प्राणीको सन्दर्भमा एकै अर्थको वास्तविकता फरक हुन सक्छ भने, सृष्टिकर्ता र सृष्टिहरूको सन्दर्भमा यो भिन्नता अझै ठूलो र अपार हुन्छ।
माथि उल्लेख गरे अनुसार महान् अल्लाहमा विश्वास गर्नाले प्राप्त हुने ठुला फलहरू यस प्रकार छन्:
पहिलो: अल्लाहको तौहीद (एकेश्वरवाद) आस्तिक र व्यवहारिक रूपमा पूर्ण तरिकाले स्थापित हुन्छ, जसअन्तर्गत व्यक्ति उहाँबाहेक अरू कसैमा आशा राख्दैन, अरू कसैसित डराउँदैन, र उहाँबाहेक अरू कसैको उपासना गर्दैन।
दोस्रो: महान् अल्लाह प्रति पूर्ण प्रेम र भव्य सम्मान प्रकट हुन्छ, जुन उहाँका सुन्दर नामहरू (अस्माउल हुस्ना) र सर्वोच्च विशेषताहरू (सिफातुल उल्या) अनुरूप हुन्।
तेस्रो: उहाँको आदेशहरू पालन गरेर र उहाँले निषेध गर्नुभएको कुराहरू बाट टाढा भएर उहाँको उपासना पूर्ण रूपमा स्थापित हुन्छ ।
*
फरिस्ताहरु प्रति आस्था राख्नु
फरिश्ताहरू महान् अल्लाहले सृष्टि गर्नुभएको अदृश्य प्राणी हुन् र उहाँका निष्ठावान उपासक हुन्। तिनीहरूमा कुनै पनि प्रकारको प्रभुत्व वा ईश्वरीय गुण वा विशेषता हुँदैन। महान् अल्लाहले तिनीहरूलाई नूर (प्रकाश) बाट सृष्टि गर्नुभएको छ र आफ्नो आदेश पालन गर्ने पूर्ण क्षमता तथा शक्ति प्रदान गर्नुभएको छ। महान् अल्लाहले भन्नुहुन्छ: { आकाशहरू तथा धरतीका सम्पूर्ण प्राणीहरू उनै अल्लाहका लागि छन्। र, उनीसमक्ष रहने (फरिश्ता) हरूले आफूलाई ठूलो ठानेर न त उहाँको उपासनाबाट विमुख हुन्छन्, न त उनीहरू थकित नै हुन्छन्। उनीहरू रातदिन (अल्लाहको) महिमागान गर्छन् र कहिल्यै निरुत्साहित हुँदैनन् } [ अन्बिया: १९-२०]
र फरिश्ताहरूको संख्या अत्यन्त धेरै छ, जसको यथार्थ संख्या अल्लाह बाहेक अरू कसैलाई थाहा छैन। बुखारी र मुस्लिम मा अनस (रअ) बाट वर्णित मिराज (आकाश जगतको यात्रा) को हदीसमा उल्लेख भएअनुसार: नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई आकाशमा अवस्थित बैतुल मअमूर देखाइएको थियो। यस पवित्र स्थलमा प्रत्येक दिन सत्तरी हजार फरिश्ताहरू नमाज पढ्ने गर्दछन्। उनीहरू एकपटक यहाँबाट नमाज पढेर निस्केपछि उनीहरूको पुनः कहिलै त्यस स्थानमा नमाज पढ्न पालो आउदैन।
फरिस्ताहरू प्रति आस्था राख्नुले चार कुराहरू बुझिन्छ:
(१) यस संसारमा फरिस्ताहरुको अस्तित्व छ भन्ने तथ्यमा विश्वास राख्नु।
(२) फरिश्ताहरू मध्ये जसको नाम हामीलाई शास्त्रीय ग्रन्थहरूमार्फत थाहा छ, तिनीहरूप्रति विस्तृत रूपमा आस्था राख्नु ,जस्तै जिब्रील (अ.स), र जसको नाम हामीलाई थाहा छैन, तिनीहरूप्रति संक्षिप्त रूपमा आस्था राख्नु।
(३) फरिस्ताहरुको जुन विशेषताहरू शास्त्रीय ग्रन्थहरूमार्फत हामीलाई थाहा छ त्यसलाई स्विकार गर्नु, जस्तो कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हजरत जिब्रील अ.स को विशेषताहरूको बारेमा बताउनुभएको छ: मैले जिब्रील (अलैहिस्सलाम) लाई उहाँको वास्तविक सृजित रूपमा देखेको थिएँ। उहाँका छ सयवटा पखेटा थिए र उहाँको पखेटाले सम्पूर्ण आकाशलाई ढाकेको थियो ।
र कहिलेकाहीँ फरिस्ताहरु अल्लाहको आदेश अनुसार मानव रूपमा पनि जाहेर हुन्छन् । जसरी हजरत जिब्रील (अलैहिस्सलाम) को बारेमा ज्ञात छ कि जब अल्लाहले उहाँलाई हजरत मरयम (अलैहिस्सलाम) को सामु पठाउनुभयो, उहाँ एक साधारण मानवको रूपमा उहाँकहाँ उपस्थित हुनुभयो। त्यसैगरी, एकपटक हजरत जिब्रील (अलैहिस्सलाम) पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा उपस्थित हुनुभयो। त्यस समय रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना सहाबाहरूसँग बसिरहनुभएको थियो। उहाँ (जिब्रील अलैहिस्सलाम) एक व्यक्तिको रूपमा आए, जसको लुगा अत्यन्त सेतो थियो र जसको कपाल असाधारण रूपमा कालो थियो। उनको यात्रा गरेर आएको कुनै चिन्ह देखिँदैनथ्यो, र सहाबाहरू मध्ये कसैले पनि उनलाई चिन्न सकेनन्। उनी नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सामु बसेर आफ्नो घुँडा उहाँको घुँडासँग मिलाए र आफ्ना हातहरू आफ्नै तिघ्रामाथि राखे। त्यसपछि उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई इस्लाम, इमान, एहसान, कियामतको दिन र त्यसका चिन्हहरूबारे प्रश्न गरे। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ती सबै प्रश्नहरूको उत्तर दिनुभयो, त्यसपछि जिब्रील (अलैहिस्सलाम) फर्किनु भयो। पछि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबाहरूलाई सम्बोधन गर्दै भन्नुभयो, "यिनी जिब्रील (अलैहिस्सलाम) थिए, तिमीहरूलाई तिम्रो धर्म सिकाउन आएका थिए।
त्यसैगरी अल्लाहले हजरत इब्राहिम र हजरत लूत (अलैहिमा स्सलाम) कहाँ पठाउनुभएका फरिश्ताहरू पनि मानव रुपमा नै आएका थिए।
(४) चौथो: फरिश्ताहरूमा विश्वास गर्नुको अर्थ उनीहरूले अल्लाह तआलाको आदेशअनुसार गर्ने कार्यहरूमा विश्वास गर्नु हो। फरिश्ताहरू दिनरात अल्लाहको तस्बीह र उपासना निरन्तर रूपमा बिना कुनै थकान वा अलसता गर्दछन्।
र केही फरिश्ताहरूलाई विशेष कार्यहरू सुम्पिएको छ, जस्तै:
जिब्राइल (अलैहिस्सलाम), अल्लाहको वही (प्रकाश) ल्याउने प्रमुख फरिश्ता, जसलाई अल्लाहले नबीहरू र रसूलहरूसम्म आफ्नो सन्देश पुर्याउन पठाउनुहुन्छ।
मिकाइल (अलैहिस्सलाम) माथी वर्षा र वनस्पतिको जिम्मेवारी छ ।
इस्राफील (अलैहिस्सलाम) माथी महाप्रलयको र मानवलाई पुन: जीवित पार्ने समयमा सूर(ध्वनि निकाल्ने एक प्रकारको वस्तु) फुक्ने जिम्मेवारी छ।
यिनै फरिस्ताहरु मध्ये,मलकुल मौत (मृत्युका फरिश्ता) पनि छ, जस माथि मृत्युको समय मानिसहरूको प्राण लिने जिम्मेवारी छ ।
"मालिक" नामक फरिस्ता छ, जस माथि नर्क प्रति जिम्मेवारी छ ।
र आमाको गर्भमा भ्रूण (अर्थात बच्चा) को जिम्मेवार रहेका फरिस्ताहरु पनि छन् , जब बच्चाले आमाको गर्भमा चार महिनाको अवधि पूरा गर्छ, अल्लाहले एउटा फरिस्ता पठाउनुहुन्छ जसले उसको जीवनवृत्ति, मृत्यु, कर्म र उसको भाग्य वा दुर्भाग्यलाई लिखितमा ल्याउँछ ।
यिनै फरिस्ताहरु मध्ये ती छन् जसलाई मानिसहरूको कार्यहरू सुरक्षित राख्ने र लेख्ने जिम्मा दिइएको छ। प्रत्येक व्यक्तिका लागि दुई फरिश्ता हुन्छन्: एक दायाँतर्फ र अर्को बायाँतर्फ।
त्यसैगरी मृतकसँग सोधपुछ गर्ने फरिस्ताहरु पनि छन्, जब मृतकलाई चिहानमा राखिन्छ, त्यसपछि दुईवटा फरिस्ताहरु आउँछन् जो उससँग उसको रब, उसको धर्म र उसको पैगम्बरको बारेमा सोध्छन्।
फरिस्ताहरु प्रति आस्था राख्नुले प्राप्त हुने ठुला फलहरू यस प्रकार छन्:
पहिलो: फरिस्ताहरु प्रति आस्था राख्नुले अल्लाहको महिमा, श्रेष्ठता, असीम शक्ति र सर्वव्यापी राज्यको ज्ञान। याद रहोस् सृष्टिको महानता नै सृष्टिकर्ताको महानताको प्रमाण हो।
दोस्रो: अल्लाहले मानिसहरू (बनी आदम) प्रति गर्नुभएको कृपा र विशेष हेरचाह प्रति कृतज्ञता प्रकट गर्नु, किनभने उहाँले फरिश्ताहरूलाई मानिसहरूको रक्षा गर्ने, कर्महरूको लेखाजोखा, र अन्य आवश्यक कुराहरूको जिम्मेवारी दिनु भएको छ।
तेस्रो: फरिश्ताहरूमा आस्था राख्नुले तिनीहरूप्रति प्रेम र श्रद्धाको भावना उत्पन्न गराउँछ। किनभने तिनीहरू महान् अल्लाहले तोक्नुभएको जिम्मेवारीप्रति पूर्ण रूपमा समर्पित रहन्छन् ।
केहि भ्रमित मानिसहरूले फरिश्ताहरूको शारीरिक अस्तित्वलाई नकारेका छन् र भनेका छन् कि फरिश्ताहरू भनेको सृष्टिमा निहित शुभ शक्तिहरू मात्र हुन्। यो भनाइ अल्लाहको किताब (कुरआन), उनको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को सुन्नत, र सम्पूर्ण मुस्लिमहरुको सर्वसम्मत विचार विरुद्ध हो। यो अल्लाह र उनको रसूलरसूल (सल्लल्लाहु अलैहि व सल्लम) को शिक्षालाई झुठ्याउने कार्य हो।
अल्लाहले भन्नुहुन्छ: { सम्पूर्ण प्रशंसाहरू अल्लाहकै लागि छन्, जो आकाशहरू र धरतीको स्रष्टा हो । उनी दुई–दुई, तीन–तीन, चार–चार पखेटा भएका फरिश्ताहरूलाई सन्देशवाहक बनाउनेवाला हुन्। } [फातिर: १]
र अर्को ठाउँमा भनिएको छ: { र यदि तिमीले त्यो स्थिति देखन पाउने थियौ जब फरिश्ताहरू अविश्वासीहरूको मुख र पिठ्यूँमा प्रहार गर्दै प्राण लुछ्दछन् ।} [अल-अन्फाल: ५०]।
र थप अर्को ठाउँमा भनिएको छ: { कठै, त्यो समय तिमीले देख्न पाउने भए जब अत्याचारीहरू मृत्युवेदनामा हुनेछन् र फरिश्ताहरू आफ्ना हात फैलाउँदै भन्नेछन् त्याग आफ्ना प्राणहरू !} [ अल-अनाम : ९३]
र अर्को ठाउँमा महान् अल्लाहले भन्नुहुन्छ: { यहाँसम्म कि जब तिनीहरूका हृदयबाट डर निकालिनेछ तब तिनीहरूले सोध्नेछन्– तिमीहरूका पालनकर्ताले के भने ? उनीहरूले भन्नेछन्– नितान्त सत्य । र उनी सर्वोच्च एवं महान छन् । }[सबा: २३]
र स्वर्गवासीको बारेमा भनिएको छ: { फरिश्ताहरू प्रत्येक गेटबाट तिनीहरूकहाँ आउनेछन् र भन्नेछन्, तिमीहरूले गरेको धैर्यको कारण तिमीहरूमाथि शान्ति होस् । अनि, कति उत्कृष्ट छ त्यो आखिरतको घर ! } [रअद: २३-२४]
सहीह बुखारीमा हजरत अबू हुरैरा (रजि.) ले उल्लेख गर्नुभएको हदीसअनुसार, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यसो भन्नुभएको छ: “जब अल्लाहले आफ्ना कुनै भक्तलाई प्रेम गर्नुहुन्छ भने उहाँले जिब्रिल (अलैहिस्सलाम) लाई आदेश दिनुहुन्छ, ‘निश्चय नै यो मेरो भक्त मलाई प्रिय छ, त्यसैले तिमी पनि उसलाई प्रेम गर।’ अनि जिब्रिल (अलैहिस्सलाम) ले पनि त्यस भक्तलाई प्रेम गर्न थाल्नुहुन्छ। त्यसपछि जिब्रिल (अलैहिस्सलाम) ले सम्पूर्ण आकाशवासीलाई सन्देश दिन्छन्: ‘यस व्यक्तिले अल्लाहको प्रेम प्राप्त गरेको छ, त्यसैले तिमीहरू पनि उसलाई प्रेम गर।’ अनि सम्पूर्ण आकाशवासीले पनि त्यस व्यक्तिलाई प्रेम गर्न थाल्छन् र यसरी पृथ्वी बासीमा उसको लागि स्वीकृति र प्रेमभाव राखिदिन्छ।”
र सहिह बुखारीमै आर्को हदीसमा हजरत अबू हुरैरा (रजि.) ले उल्लेख गरे अनुसार, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यसो भन्नुभएको छ: "शुक्रबारको दिन, फरिस्ताहरु मस्जिदका हरेक ढोकाहरूमा उभिन्छ्न र हरेक मस्जिदमा आउने उपासकहरूको नाम दर्ता गर्छन्। त्यसपछि, जब इमाम खुत्बाको लागि मिम्बर मा उभिन्छ, फरिस्ताहरू पनि आफ्नो रजिष्टरहरू बन्द गरेर मस्जिदमा ( उपदेश सुन्न) उपस्थित हुन्छन्।"
यी प्रमाणहरुले स्पष्ट रूपमा यो प्रमाणित हुन्छ कि फरिश्ताहरू शारीरिक अस्तित्व भएका हुन्, केवल मात्र अभौतिक शुभ शक्तिहरू होइनन् जस्तो कि भ्रमित मानिसहरूले भनेका छन्। यी प्रमाणहरुको आधारमा नै सम्पूर्ण मुस्लिमहरू बिच फरिश्ताहरूको भौतिक अस्तित्व रहेको तथ्य प्रति सर्वसम्मत विचार छ।
*
ईश्वरीय ग्रन्थहरू प्रति आस्था राख्नु।
कुतुब: किताबको बहु वचन हो, जसको अर्थ लेखिएको वस्तु हुन्छ ।
यहाँ ग्रन्थहरू भन्नाले ती पुस्तकहरू हुन् जुन अल्लाहले आफ्ना रसूलहरू माथि मानवजातिको लागि दया र मार्गदर्शनको रूपमा अवतरित गरेका छन्। यी पुस्तकहरू मानिसहरूलाई संसार र परलोक दुवैमा सुख र कल्याण प्राप्त गर्ने मार्ग देखाउनका लागि प्रदान गरिएका छन्।
ग्रन्थहरू प्रति आस्था राख्नुमा निम्न चार कुराहरु समावेश हुन्छन् :
पहिलो: यी ग्रन्थहरू सत्यता साथ अल्लाहबाट अवतरित भएको तथ्यलाई स्वीकार गर्नु।
दोस्रो: ती दिव्य ग्रन्थहरू जुन अल्लाहले आफ्ना पैगम्बरहरू तर्फ अवतरित गर्नुभएको छ, तिनीहरूमध्ये जसको नाम हामीलाई बताइएको छ, तिनमा विस्तृत रूपमा विश्वास गर्न अनिवार्य छ। जस्तै, पवित्र कुरआन, जुन नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) तर्फ अवतरित भएको थियो; तौरेत, जुन हजरत मोसेस (अलैहिस्सलाम) तर्फ अवतरित गरिएको थियो; इन्जील, जुन हजरत ईसा (अलैहिस्सलाम) तर्फ अवतरित गरिएको थियो; र जबूर, जुन हजरत दाऊद (अलैहिस्सलाम) तर्फ अवतरित गरिएको थियो। त्यस्तै, ती सहीफा (शास्त्रीय ग्रन्थ) जसबारे हामीलाई स्पष्ट ज्ञान छैन, तिनमा सामान्य रूपमा विश्वास राख्नु अनिवार्य हुन्छ।
तेस्रो: ग्रन्थहरूमा वर्णित सत्य सन्देश वा सुचनाहरूमा विश्वास गर्नु, जस्तो कुरआनमा उल्लेख भएका सुचनाहरू, साथै पहिलेका ग्रन्थहरूमा वर्णित परिवर्तन वा विकृति नगरिएको सत्य सुचनाहरूमा विश्वास गर्नु।
चौथो: यी पुस्तकहरूमा उल्लेखित रद्द नगरिएका आज्ञाहरूको पालन गर्नु, चाहे हामीलाई यी आदेशहरु पछाडी रहेको तत्त्वज्ञान बुझ्न आओस् वा न आओस् , याद रहोस्, पवित्र कुरआनको अवतरणसँगै अघिल्ला सबै धर्मग्रन्थहरू खारेज भइसकेका छन्। अल्लाहले भन्नुहुन्छ: { हे सन्देष्टा ! हामीले तिमीमाथि सत्यकासाथ ग्रन्थ अवतरित गर्यौँ, जसले पहिलेका ग्रन्थहरूको पुष्टि गर्दछ, र जो तिनीहरुको संरक्षक पनि हो । } [अल-माइदवह: ४८] अर्थात्, कुरआनले अघिल्ला किताबहरूलाई सत्यापन गर्दछ र तिनी माथि अधिकार राख्दछ।
अतः, अघिल्ला ग्रन्थहरूमा उल्लेखित कुनै पनि आज्ञालाई तबसम्म मान्य मान्न सकिँदैन जबसम्म त्यस आज्ञाको सत्यता कुरआनद्वारा प्रमाणित हुदैंन।
ईश्वरीय ग्रन्थहरूमा विश्वासले धेरै महत्त्वपूर्ण फलहरू प्राप्त हुन्छ, जसमध्ये केही यस प्रकार छन्:
पहिलो: भक्तहरू माथी अल्लाहले गर्नु भएका कृपा र उपकारको ज्ञान् हुन्छ कि आफ्नो कृपा स्वरुप उहाँले हरेक समुदाय र उम्मतको मार्गदर्शनको लागि एउटा ग्रन्थ अवतरित गर्नुभयो।
दोस्रो: यसबाट अल्लाहको शरीयत (ईश्वरीय व्यवस्था) मा अन्तर्निहित ज्ञान र बुद्धिमत्ताको बोध हुन्छ जस अनुसार उहाँले हरेक समुदायका लागि तिनको विशिष्ट परिस्थितिअनुसार उपयुक्त शरीयत निर्धारण गर्नुभएको कुरा स्पष्ट हुन्छ। अल्लाहले भन्नुहुन्छ: { हामीले तिनीहरूमध्ये सबैकालागि एउटा धर्म–विधान एवं कार्यप्रणाली तय गरेका छौं ।} [अल-माइदाह: ४८]
तेस्रो: अल्लाहको कृपा स्वरूप ईश्वरीय ग्रन्थहरूमा विश्वास राख्नुले उहाँप्रति कृतज्ञताको भावना उत्पन्न गर्छ ।
*
पैगम्बर/ सन्देशवाहकहरू प्रति आस्था राख्नु ।
रुसुल: रसुलको बहुवचन हो,जसको अर्थ सन्देशवाहक अर्थात् दूत हो, जसलाई कुनै कुरा वस्तु पुर्याउन पठाइन्छ।
यहाँ "रसूल" भन्नाले त्यस्ता मानवहरू बुझिन्छ जसलाई अल्लाहले आफ्नो शरीयत (ईश्वरीय व्यवस्था) को प्रकाशना दिएका छन् र उनीहरूलाई यसको प्रचारप्रसार गर्न पनि आदेश दिएका छन्।
पहिलो रसूल हजरत नूह (अलैहिस्सलाम) हुनुहुन्छ भने अन्तिम रसूल हजरत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) हुनुहुन्छ।
महान् अल्लाहले भन्नुहुन्छ: { (हे सन्देष्टा !) हामीले तिमीमाथि त्यसरी नै ‘वह्य’ (प्रकाशना) गरेका छौं जसरी हामीले नूह एवं उनी पछिका सन्देष्टाहरूमाथि ‘वह्य’ (प्रकाशना) गरेका थियौँ ।} [ अन-निसा १६३]
सहिह बुखारीमा, हजरत अनस बिन मालिक (रजि) बाट वर्णन गरिएको छ, पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभयो: न्यायको दिन मानिसहरू हजरत आदम (अलैहिस्सलाम) समक्ष गई आफ्नो सिफारिस गरिदिन अनुरोध गर्नेछन्। तर उहाँले आफ्नो असमर्थता व्यक्त गर्दै भन्नुहुनेछ: "तिमीहरू हजरत नूह (अलैहिस्सलाम) कहाँ जाऊ, जो अल्लाह तआलाका प्रथम रसूल हुनुहुन्छ।" त्यसपछि उहाँले सम्पूर्ण हदीस वर्णन गरे।
र पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को बारेमा अल्लाहले भन्नुहुन्छ: { मुहम्मद तिमीहरूमध्ये कुनै पुरुषका पिता होइनन् तर उनी अल्लाहका रसूल एवं नबीहरूका समापक (अन्तिम नबी) हुन् ।} [अहजाब-४०]
कुनै पनि यस्तो समुदाय छैन जहाँ कुनै नबी वा रसूल नआएका हुन्। बरु, अल्लाह तआलाले केहीलाई नयाँ शरीयतका साथ रसूलको रूपमा पठाउनुभयो भने, केहीलाई अघिल्लो शरीयतलाई नवीकरण गर्ने नबीको रूपमा पठाउनुभयो। महान् अल्लाहले भन्नुहुन्छ: {निसन्देह, हामीले प्रत्येक समुदायमा एउटा रसूल पठायौं (यो सन्देश दिन) कि अल्लाहको उपासना गर्नु र तागूत (झूटा पुज्यहरू ) बाट टाढा बस्नु।} [ नहल:३६]
आर्को श्लोकमा भन्नुहुन्छ: { र, कुनै समुदाय यस्तो छैन जसतर्फ सचेतक पठाइएको नहोस् । } [ फातिर:३४]
त्यसैगरी भन्नुहुन्छ { हामीले तौरात अवतरित गर्यौँ जसमा मार्गदर्शन एवं ज्योति थियो । सम्पूर्ण सन्देष्टाहरू जो आज्ञाकारी थिए, यसै अनुसार यहूदीहरूबीच फैसला गर्ने गर्थे । } [अल-माइदाह: ४४]।
सबै दूतहरू मानव जातिबाट चयन गरिएका प्राणी हुन्। तिनीहरूमध्ये कसैमा पनि प्रभुत्व र पूज्यत्वको विशेषताहरू पाइदैन, हजरत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) मा समेत त्यस प्रकारको विशेषताहरु पाइँदैन, जो अल्लाहको सबैभन्दा धेरै नजिक र सबै दूतहरूका प्रमुख र अल्लाहको दृष्टिमा सबैभन्दा सर्वश्रेष्ठ हुनुहुन्छ, महान् अल्लाहले भन्नुहुन्छ: { (हे मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)) भनिदेऊ– म न स्वयंको लाभको अधिकार राख्दछु, न हानि हटाउने शक्ति नै, अल्लाहले चाहेको बाहेक। यदि म परोक्ष (गैब) को ज्ञान राख्ने भए, मैले धेरै लाभ संकलन गर्ने थिएँ, र मलाई कुनै कष्टले पनि छुने थिएन। तर, म त केवल ईमानदारीपूर्वक विश्वास गर्नेहरूका लागि एक स्पष्ट सचेतक र शुभ सन्देशवाहक मात्र हूँ। } [अल-आराफ: १८८]
थप अर्को ठाउँमा भन्नुहुन्छ: { (हे मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)) भनिदेऊ– म तिमीहरूकालागि न कुनै हानि पुर्याउने सामर्थ्य राख्छु न कुनै लाभ पुर्याउने नै । भनिदेऊ– मलाई अल्लाहबाट कसैले पनि बचाउन सक्दैन र न म उनीबाहेक अरु कुनै शरण पाउन सक्छु । } [ जिन-२१-२२]
र सबै सन्देशवाहकहरूमा पनि मानव स्वभावका विशेषताहरू पाइन्छन्, जस्तै रोग, मृत्यु, खाना र पानीको आवश्यकता तथा अन्य मानवीय आवश्यकताहरू। त्यसैले, हजरत इब्राहिम (अलैहिस्सलाम) ले महान् अल्लाहको विशेषताहरूको बारेमा यसरी भन्नुभएको थियो: { अनि, उनले नै मलाई खुवाउँछन् र पिलाउँछन् । र, जब म बिरामी हुन्छु उनले नै मलाई निको पार्छन् । अनि, उनले नै मलाई मृत्यु दिनेछन् र पुनः जीवित पार्नेछन् । } [शुअरा : ७९-८१]
र नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको थियो: "वास्तवमा, म एक मानव हुँ, जसरी तिमीहरु बिर्सन्छौ, म पनि बिर्सन्छु। त्यसैले जब म बिर्सन्छु मलाई सम्झाउने गर"।
त्यसैगरी अल्लाहले रसूलहरूको उच्चतम स्थान र प्रशंसा बारे वर्णन गर्दै उहाँहरूलाई सबैभन्दा उत्कृष्ट उपासकको रूपमा वर्णन गर्नुभएको छ। जस्तो कि हजरत नूह (अलैहिस्सलाम) बारे महान् अल्लाहले भन्नुहुन्छ: {निस्सन्देह नूह (हाम्रा) कृतज्ञ भक्त थिए ।} [अल-इसरा: ३] त्यसरीनै (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को सम्बन्धमा, महान् अल्लाहले भन्नुहुन्छ: {अत्यन्तै धन्य छन् उनी (अल्लाह), जसले आफ्ना भक्तमाथि फुरकान (सत्य र असत्यको कसौटी) अवतरण गर्नुभयो, ताकि उहाँ सम्पूर्ण मानवजातिका लागि सचेतक बनुन्।} [अल-फुरकान: १]
त्यस्तै गरी, हजरत इब्राहिम, इस्हाक र याकूब (अलैहिम अस्सलाम) को सम्बन्धमा यस प्रकार भनिएको छ: { र, हाम्रा भक्तहरु इब्राहीम, इस्हाक, तथा यअ्कूबलाई स्मरण गर जो सक्षम तथा दूरदर्शी थिए । उनीहरूलाई हामीले एउटा विशेष कार्य अर्थात्, आखिरतको स्मरण गराउने कार्यका लागि चयन गरेका थियौं । र, यिनीहरू सबै हामीकहाँ चयन गरिएका सत्कर्मीहरु मध्येका भक्त हुन् । } [ साद् ४५-४७]
र हजरत ईसा इब्न मरयम (अलैहिस्सलाम) को बारे मा भनिएको छ: {उहाँ केवल एउटा भक्त हुनुहुन्थ्यो, जसलाई हामीले अनुग्रह प्रदान गर्यौं, र इस्राईलका सन्तानहरूको लागि उहाँलाई एक नमूना बनायौं।} [अज्-जुख्रुफ ५९]
सन्देशवाहकहरू प्रति आस्था राख्नुमा निम्न चार चीजहरू समावेश छन्:
पहिलो: यो विश्वास गर्नु कि सन्देशवाहकहरूको दूतत्व पूर्ण रूपमा सत्य हो र उनीहरूको सन्देश परमेश्वर (अल्लाह) बाट आएको हो। जो कुनै व्यक्तिले कुनै एक सन्देशवाहकको दूतत्व वा सन्देशलाई अस्वीकार गर्छ, उसले वास्तवमा सबै सन्देशवाहकहरूको सन्देशलाई नकारेको मानिन्छ। जस्तो कि महान् अल्लाहले भन्नुहुन्छ: { नूहका समुदायले सन्देशवाहकहरूलाई अस्विकार गरे} [ शुअरा: १०५], यस श्लोकमा अल्लाहले नूह (अलैहिस्सलाम) को समुदायलाई सबै सन्देशवाहकहरूलाई अस्वीकार गर्ने समुदाय घोषित गर्नुभयो । जबकि उनीहरूले नूह (अलैहिस्सलाम) लाई अस्वीकार गरेका थिए र तबसम्म हजरत नूह (अलैहिस्सलाम) बाहेक अरू कुनै सन्देशवाहक आएका पनि थिएनन् । र यस अनुसार, ती ईसाईहरू जसले हजरत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई अस्वीकार गरे र उहाँको अनुशरण गरेनन्, तिनीहरूले वास्तवमा हजरत ईसा इब्न मरियम (अलैहिस्सलाम) लाई समेत अस्वीकार गरेको र उहाँको अनुसरण नगरेको मानिनेछ। जबकि विशेष गरी, हजरत ईसा (अलैहिस्सलाम) ले तिनीहरूलाई नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को आगमन बारे शुभ समाचार दिनुभएको थियो, र उहाँको शुभ समाचारको अर्थ यही हो कि उहाँ तिनीहरूको लागि पठाइएका रसूल हुनुहुनेछ, जसद्वारा महान् अल्लाहले तिनीहरूलाई भ्रमबाट बचाउनु हुनेछन् र सीधा मार्गतर्फ मार्गदर्शन गर्नु हुनेछन्।
दोस्रो: ती सन्देशवाहकहरू जसको नाम हामीलाई बताइएको छ, तिनीहरूलाई नामसहित स्वीकार गर्नु अनिवार्य छ। उदाहरणका लागि, हजरत मुहम्मद, इब्राहिम, मूसा, ईसा, र नूह (अलैहिमुस्सलाम)। र यी पाँच सन्देशवाहकहरू सम्पूर्ण सन्देशवाहकहरू मा महान हुन् । महान् अल्लाहले तिनीहरूको नाम दुई स्थानमा उल्लेख गर्नुभएको छ। पवित्र कुरआनमा भनिएको छ: { र, (हे नबी (सल्लल्लाहु अलैहि वसल्लम)!) स्मरण गर त्यो प्रतिज्ञालाई जुन हामीले सबै नबीहरूसित, तिमीसित, नूह, इब्राहीम, मोसेस र मर्यम–पुत्र ईसासित लिएका थियौं । सबैसंग हामीले दृढ वचन लिएका थियौं । } [ जुख्रुफ:७] र अर्को ठाउँमा अल्लाहले भन्नुहुन्छ : { अल्लाहले तिमीहरूकालागि त्यही धर्म निर्धारित गरेका छन् जसको आदेश उनले नूहलाई दिएका थिए । अनि, जसको प्रकाशना (हे मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)!) हामीले तिमीतर्फ गरेका छौं, र जसको आदेश हामीले इब्राहीम, मोसेस तथा ईसालाई दिएका थियौं कि धर्मलाई स्थापित गर र यसमा मतभेद नगर । (हे मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)! ) बहुदेववादीहरूलाई त्यो कुरा अति कठिन छ जुनतर्फ तिनीहरूलाई आह्वान गर्छौ । अल्लाह जसलाई चाहन्छन् स्वयंका निम्ति चयन गर्छन्, र जो उनीतर्फ फर्कन्छ उसलाई उनी मार्गदर्शन गर्छन्। } [अल-शूरा १३]
यी सन्देशवाहकहरू बाहेक, जसको नाम हामीलाई थाहा छैन, तिनीहरू प्रति सामान्य रूपमा आस्था राख्न जरुरी छ, महान् अल्लाहले भन्नुहुन्छ: { र, तिमीभन्दा पहिले हामीले रसूलहरू पठायौं । उनीहरूमध्ये केहीका वृत्तान्त तिमीलाई बताएका छौं र केहीको वृत्तान्त तिमीलाई बताएका छैनौं। } [ गाफिर : ७८]
तेस्रो: तिनीहरूका बारेमा प्रमाणिक रूपमा आएका समाचारहरूलाई सत्य मान्नु।
चौथो: हामी तर्फ पठाइएका अन्तिम रसूल, हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को शरियातअनुसार कर्म गर्नु अनिवार्य छ। उहाँ सम्पूर्ण मानवजातिको लागि पठाइएका थिए। परमेश्वर अल्लाहले भन्नुभएको छ: { होइन, तिम्रा पालनकर्ताको कसम ! जबसम्म आपसी झै–झगडामा तिनीहरूले तिमीलाई न्यायधीश बनाउँदैनन् र तिमीले गरेको फैसलाप्रति आफ्नो मनमा द्विविधारहित स्थिति पाउँदैनन् तथा पूर्ण रूपमा समर्पित हुँदैनन्, तबसम्म तिनीहरू साँचो आस्थावान हुन सक्दैनन्। } [अल-निसा: ६५]
सन्देशवाहकहरू प्रति आस्था राख्नुले प्राप्त हुने प्रतिफलहरू मध्ये केही यस प्रकारका छन्:
पहिलो: सन्देशवाहकहरू प्रति आस्था राख्नुले अल्लाहको अनुग्रह, उपकार, र भक्तहरूमाथि उहाँको कृपाको ज्ञान प्राप्त हुन्छ। अल्लाहले आफ्ना भक्तहरूलाई मार्गदर्शन दिन सन्देशवाहकहरू पठाउनुभयो, जसले तिनीहरूलाई उपासना गर्ने सही तरिका सिकाए। किनकि यी ज्ञानहरू केवल बुद्धिको बलले प्राप्त गर्न सम्भव छैन।
दोस्रो: यस सम्बन्धमा अल्लाहको महान् आशीर्वाद र अनुग्रहप्रति कृतज्ञता व्यक्त गर्न प्रेरणा प्राप्त हुन्छ।
तेस्रो: प्रत्येक सन्देशवाहकलाई प्रेम गर्नु र उहाँहरूको उच्च प्रशंसा गर्ने भाव प्राप्त हुन्छ । किनभने उहाँहरू सबै अल्लाहका सन्देशवाहक हुनुहुन्छ। उहाँहरूले अल्लाहको उपासना गर्नुभयो, ईश्वरीय सन्देशको प्रचार प्रसार गर्नुभयो र मानवजातिलाई उपदेश दिनुभयो।
दुर्भाग्यवश, विरोधीहरूले आफ्ना रसूलहरूलाई झुटो ठान्दै सन्देशवाहक मानव जातिको हुन सक्दैनन् भन्ने दाबी गरे। अल्लाहले तिनीहरूको यो दाबी उल्लेख गरी यसलाई खण्डन गर्दै यसो भन्नुभएको छ: { र, मानिसहरूसमक्ष मार्गदर्शनको आगमनपश्चात् तिनीहरूले ईमान ल्याउनुमा केवल तिनीहरूको यो भनाइ बाधक बन्यो– के अल्लाहले एउटा मानवलाई रसूल बनाएर पठाएका छन् त ? भनिदेऊ– यदि धर्तीमा फरिश्ताहरू निश्चिन्त भई हिंड्डुल तथा बसोबास गरेका भए हामीले तिनीहरूसमक्ष आकाशबाट कुनै फरिश्तालाई नै रसूल बनाएर पठाउने थियौं । } [अल-इस्रा: ९४-९५]
अल्लाहले विरोधीहरुको झूटो दाबीको खण्डन गर्नुभएको छ र स्पष्ट रूपमा भन्नुभएको छ कि पृथ्वीका बासिन्दाहरू मानव हुन्, र तिनीहरूकै मार्गदर्शनका लागि रसूलहरू (सन्देशवाहकहरू) पठाइएका हुन्। त्यसकारण, यी रसूलहरू मानवजातिबाटै हुनु अनिवार्य हुन्छ। यदि पृथ्वीका बासिन्दाहरू फरिश्ता भएको भए, निश्चय नै अल्लाह सर्वशक्तिमानले आकाशबाट फरिश्तालाई नै दूतको रूपमा पठाउनुहुन्थ्यो। पवित्र कुरआनमा अल्लाहले रसुलहरूलाई झुठो ठान्नेहरूको कुरा उल्लेख गर्दै भन्नुभएको छ: { तिनीहरूले (आफूतिर पठाइएका सन्देशवाहकलाई) भने– “तिमीहरू त हामीजस्तै मानव हौ। तिमीहरूको चाहना हामीलाई हाम्रा पूर्वजहरूले उपासना गर्दै आएका वस्तुहरूबाट हटाउनु मात्र हो। त्यसो भए, हामीसमक्ष स्पष्ट प्रमाण प्रस्तुत गर।” तिनीहरूका रसूलहरूले भने– “हामी वास्तवमा तिमीहरूजस्तै मानव हौं, तर अल्लाह आफ्ना भक्तहरूमध्ये जसलाई चाहन्छन्, उसमाथि आफ्नो अनुग्रह प्रदान गर्नुहुन्छ। र, अल्लाहको आज्ञाबिना कुनै स्पष्ट प्रमाण प्रस्तुत गर्नु हाम्रो अधिकारमा छैन।} [इब्राहिम : १०-११]
*
अन्तिम दिन/ महाप्रलयको दिन प्रति आस्था राख्नु।
अन्तिम दिन भन्नाले पुनः जीवित हुने दिनलाई जनाउँछ, जसमा मानिसहरूलाई उनीहरूको कर्मको आधारमा पुरस्कृत वा दण्डित गर्नका लागि पुनः जीवित गरिनेछ।
यस दिनलाई अन्तिम दिन यस कारणले भनिन्छ कि त्यस दिनपछि अर्को कुनै दिन हुने छैन, किनभने सबै स्वर्गवासीहरू र नरकवासीहरू आआफ्नो निश्चित स्थानमा पुगिसकेका हुनेछन्।
अन्तिम दिन प्रति आस्था राख्नुमा निम्न तीन कुराहरू सम्मिलित छन्:
पहिलो: पुनः जीवित हुने तथ्यमा विश्वास गर्नु हो, जुन दोस्रो पटक सूर (सिङ) फुकिँदा हुनेछ। त्यसबेला सबै मानिसहरू नाङ्गो खुट्टा, जुत्ता नलगाएको, नाङ्गो शरीर, कपडा नलगाएको र खतना नगरिएको अवस्थामा विश्वका पालनकर्ता (अल्लाह) समक्ष उभिनेछन्। अल्लाहले भन्नुभएको छ: { जसरी हामीले प्रथम पटक सृष्टि गरेका थियौं (त्यसरी नै) त्यसलाई दोहोर्याउनेछौं । यो हाम्रो जिम्मामा रहेको वाचा हो । हामी यसलाई अवश्य नै पूरा गर्नेछौं । }[अम्बिया: १०४]
पुनः जीवित हुने आस्था एक सही र प्रमाणित तथ्य हो। यस विषयको पुष्टि पवित्र कुरआन, सहि हदीस, र सम्पूर्ण मुस्लिम उम्मतको सर्वसम्मत धारणा (इज्मा) बाट हुन्छ।
अल्लाहले भन्नुहुन्छ: {त्यसपछि तिमीहरू अवश्य मर्नेछौ, र त्यसपछि महाप्रलयको दिन तिमीहरूलाई (पुनः जीवित पारी) उठाइनेछ।} [अल-मुमिनुन १५-१६]
र नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "कियामतको दिन, मानिसहरूलाई नाङ्गो खुट्टा, नाङ्गो शरीर र खतना नगरिएको अवस्थामा भेला गरिनेछ।" ( सही बुखारी र मुस्लिम )
र यस कुरामा सम्पूर्ण मुस्लिम समुदायको सहमति छ कि पुनः जीवित हुने तथ्य र परलोक (आखिरत) अवश्यम्भावी छ। साथै, यो अल्लाहको सर्वज्ञता र तत्वदर्शिता अनुरूप पनि हो, कि अल्लाहले मानवजातिको लागि पुनः जीवित हुने एक दिन निर्धारण गर्नुभएको छ, जसमा मानिसहरूलाई सन्देशवाहकहरू मार्फत अनिवार्य गरिएको विधि अनुसार प्रतिफल दिइनेछ। अल्लाहले भन्नुभएको छ: {अतः के हामीले तिमीहरूलाई व्यर्थ सृष्टि गरेका छौं ? र, तिमीहरू हामीतर्फ फर्केर आउने छैनौ भनी ठानेका छौ ? } [अल-मुमिनुन: ११५] र अल्लाहले आफ्नो नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्नुभएको छ : { हे नबी (सल्लल्लाहु अलैहि वसल्लम) ! विश्वास गर कि जसले तिमीमाथि कुरआन अनिवार्य गरेका छन् उनले तिमीलाई एउटा उत्तम परिणामसम्म अवश्य पुर्याउनेछन् । }[ अल-कसस ८५]
दोस्रो: कर्मको हिसाब-किताब र प्रतिफल प्रति विश्वास राख्नु। प्रत्येक व्यक्तिको कर्मको हिसाब-किताब गरिनेछ, र उसलाई सोही अनुसार प्रतिफल प्राप्त हुनेछ। यो कुरा कुरान, सुन्नत र मुस्लिम समुदायको सर्वसम्मत धारणाबाट प्रमाणित हुन्छ।
अल्लाहले भन्नुहुन्छ: { निस्सन्देह हामीतिर नै तिनीहरू फर्किनेछन्। र, तिनीहरूको हिसाब हाम्रै जिम्मा छ ।} [अल- गाशियह २५-२६] अर्को ठाउँमा भनिएको छ: { (हे सन्देष्टा !) त्यस वह्यको अनुसरण गर जुन तिम्रो पालनकर्ताबाट तिमीमाथि अवतरित गरिएको छ । उनीबाहेक कोही उपास्य छैन । र, बहुदेववादीहरूलाई बेवास्ता गर। } [अल-अनाम: १६०] अर्को ठाउँमा, महान् अल्लाहले भन्नुहुन्छ: { र, महाप्रलयको दिन हामी ठीकसंग जोख्ने तराजु राखिदिनेछौं । अनि कसैमाथि अलिकति पनि अन्याय हुने छैन । र, एउटा रायोको दाना बराबर (कर्म) भए पनि हामी त्यसलाई ल्याउनेछौं । र, हिसाब लिनकालागि हामी पर्याप्त छौं । } [ अन्बिया ४७]
त्यसैगरी, हजरत अब्दुल्लाह इब्न उमर (रदियल्लाहु अन्हुमा) बाट वर्णित छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "कियामतको दिन, अल्लाहले विश्वासीलाई आफ्नो नजिक ल्याउनुहुनेछ र उसलाई सबैको नजरबाट ओझेलमा राखी सोध्नुहुनेछ, ‘के तिमीलाई यो पाप थाहा छ? के तिमीलाई यो पाप थाहा छ?’ विश्वासीले उत्तर दिनेछ, ‘हो प्रभु।’ यहाँसम्म कि जब उसले पाप स्वीकार गरेको कारणले आफू बर्बाद भएको महसुस गर्नेछ, तब अल्लाहले भन्नुहुनेछ: ‘मैले तिम्रा पापहरूलाई संसारमा गोप्य राखेको थिए, आज मैले तिम्रो यी सबै पापहरू क्षमा गर्दछु।’ त्यसपछि उसलाई उसको असल कर्महरूको लेखा दिइनेछ। तर काफिरहरू र कपटीहरूलाई सबै सबैको अगाडि बोलाइनेछ, र भनिनेछ: ‘यी नै ती मानिसहरू हुन् जसले आफ्नो पालनकर्तालाई अस्वीकार गरे। निश्चय नै अत्याचारीहरूमाथि अल्लाहको अभिशाप छ।’” (सही बुखारी र मुस्लिम)
र यो नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट सही स्रोत द्वारा प्रमाणित छ कि उहाँले भन्नुभएको छ: "यदि कसैले सत्कर्म गर्ने इच्छा राख्छ र त्यसलाई वास्तविक रूपमा पूरा गर्छ, भने अल्लाहले उसको लागि दशदेखि सात सय गुणासम्म, वा अझ बढी पुण्य लेखिदिनुहुन्छ। तर, यदि कसैले कुनै दुष्कर्म गर्ने चाहना राख्छ र त्यसलाई वास्तविक रूपमा गर्छ भने, अल्लाहले उसको कर्मपत्रमा केवल एक पाप मात्र लेख्नुहुन्छ।"
र मुसलमानहरू बीच यस कुरामा सर्वसम्मति रहेको छ कि प्रत्येक व्यक्तिको कर्मका आधारमा हिसाब गरिन्छ र त्यसअनुसार प्रतिफल दिइन्छ। साथै, यो आस्था अल्लाहको सर्वज्ञता र तत्वदर्शिता अनुरूप पनि हो, किनकि उहाँले आकाशीय ग्रन्थहरू अवतरण गर्नुभएको छ, रसूलहरूलाई पठाउनुभएको छ, र मानव जातिलाई ती ग्रन्थहरूले ल्याएको सत्यलाई स्वीकार गर्न तथा अनिवार्य कर्तव्यहरू पूरा गर्न आदेश दिनुभएको छ। त्यसैगरी, जसले यस सत्यको विरोध गर्दछ, तिनीहरूविरुद्ध लडाइँ गर्न आदेश दिइएको छ, र तिनीहरूको रगत, सन्तान र धनसम्पत्तिलाई वैध गरिएको छ। यदि यी सबै कार्यहरूको लेखाजोखा भएन, तथा कसैलाई पनि उसको कर्म अनुसार प्रतिफल दिइएन, भने यी सबै ईश्वरीय आदेशहरू बेकार र अर्थहीन ठहरिनेछन्। जबकि सारा संसारका प्रभु हरेक व्यर्थ कुराबाट पर हुनुहुन्छ, अल्लाहले यस तथ्यबारे यसरी भन्नुभएको छ: { अनि हामीले जसकहाँ सन्देष्टाहरू पठाइएका थिए तिनीहरूलाई अवश्य नै सोध्नेछौं र हामीले निश्चय नै सन्देष्टाहरूलाई पनि सोध्नेछौं । अनि हामी पूर्ण जानकारीका साथ तिनीहरूका सारा वृत्तान्त बयान गर्नेछौं र हामी (तिनीहरूका कर्म बारे ) कहिले अज्ञान रहेको छैनौँ । } [अल-आराफ: ६-७]
तेस्रो: स्वर्ग र नर्कप्रति आस्था राख्नु कि यी दुवै मानिसका अनन्त गन्तव्य हुनेछन्।
स्वर्ग (जन्नत) त्यो आनंदमय निवासस्थान हो, जसलाई अल्लाहले आस्थावान तथा धर्मपरायण (मुत्तक़ी) विश्वासीको लागि तयार गर्नुभएको छ। ती आस्थावान् जसले अल्लाहले तिनीहरूलाई विश्वास गर्न अनिवार्य ठहराउनुभएको कुरामा आस्था राखे, र अल्लाह तथा उहाँका रसूलको आज्ञापालन गरे, पूर्ण रूपमा अल्लाहका लागि इख्लास (निष्ठा) राखे र उहाँका रसूलको अनुसरण गरे। त्यहाँ त्यस्तो अनगिन्ती सुख-सुविधाहरु छन्, "जसलाई कुनै आँखाले देखेको छैन, कुनै कानले सुनेको छैन, न कुनै मानव मनले कल्पना नै गर्न सकेको छ। अल्लाहले यसबारे भनेका छन्: { निस्सन्देह जसले ईमान ल्याए र सत्कर्म गरे उनीहरू नै सर्वश्रेष्ठ प्राणी हुन्ह। यस्ता व्यक्तिहरूको इनाम उनका पालनकर्तासमक्ष सदा रहने स्वर्ग हो, जसको तलतिरबाट नदि बगिरहेका हुनेछन्, जहाँ उनीहरू सदासर्वदा रहनेछन् । अल्लाह उनीहरुसँग प्रसन्न र राजी भए जो सधैं आफ्नो पालनकर्तासित डराए ।} [अल-बैयीनह: ७-८] आर्को ठाउँमा अल्लाहले भन्नुभएको छ: { (अनि अल्लाह बाहेक) कसैले पनि थाहा छैन कि उनीहरूको आँखाको शान्ति (र खुशी) को लागि के के तयार गरिएको छ, यो उनीहरूको कर्महरूको प्रतिफल हो।} (अस-सज्दा: १७)
र नरक दण्डको वासस्थान हो, जुन अल्लाहले ती अन्यायी काफिरहरूका लागि तयार गर्नुभएको छ, जसले उहाँ र उहाँका सन्देशवाहकहरूलाई अस्वीकार गरे। त्यहाँ विभिन्न प्रकारका कठोर सजायहरू र अत्यन्त कष्टदायक यातनाहरू रहनेछन्, ती यातनाहरू यति भयावह हुनेछन् कि कुनै पनि हृदयले त्यसको कल्पना गर्न सक्दैनन्। अल्लाहले भन्नुहुन्छ: { र, त्यस अग्निको भय राख जुन काफिरहरूका निम्ति तयार गरिएको छ । } [आल इमरान: १३१] अल्लाहले अर्को स्थानमा भन्नुभएको छ: {र भनिदेऊ— यो नितान्त सत्य (कुरआन) तिम्रा पालनकर्ताको तर्फबाट आएको हो। त्यसैले, जसले चाहन्छ, त्यसलाई स्वीकार गरोस्, र जसले चाहँदैन, अस्वीकार गरोस्। निश्चय नै हामीले अत्याचारीहरूका लागि यस्तो अग्नि तयार गरेका छौँ, जसको ज्वालाहरूले तिनीहरूलाई चारैतिरबाट घेरि राख्ने छन्। जब तिनीहरूले सहायता माग्नेछन्, तब तिनीहरूलाई पग्लिएको तामा झैँ उम्लँदो पानी प्रदान गरिनेछ, जसले तिनीहरूको अनुहारलाई पोलिदिनेछ । कति निकृष्ट पेय हो यो! र कति तुच्छ विश्रामस्थल हो नरक!”} [ अल-कहफ: २९] । र अल्लाहले अर्को स्थानमा थप भन्नुभएको छ: { “निश्चय नै अल्लाहले काफिरहरूलाई धिक्कार्नुभएको छ र तिनीहरूका लागि नरकको आगो तयार गर्नुभएको छ, जसमा तिनीहरू सदा सर्वदा रहनेछन्। त्यहाँ तिनीहरूले कुनै पनि समर्थक वा सहायक पाउने छैनन्। त्यस दिन तिनीहरूका अनुहारहरू आगोमा उल्ट्याइ-पल्ट्याइ गरिनेछ, अनि तिनीहरूले भन्नेछन्— 'हाय! यदि हामीले अल्लाह र उहाँका रसूलको आज्ञापालन गरेको भए, (कति राम्रो हुन्थ्यो!)”} [अल-अहजाब : ६४-६६]
आखिरत (मृत्यु पछिको जीवन) मा विश्वास गर्नुका धेरै परिणामहरू छन्, जसमध्ये केही यस प्रकार छन्:
पहिलो: त्यो दिनको पुरस्कार र प्रतिफल को आशामा आज्ञाकारिताप्रति आकर्षण र इच्छा उत्पन्न हुन्छ।
दोस्रो: त्यस दिनको सजाय (नरक) को डरले पापबाट टाढा रहन र पापमा नरमाउन प्रेरित गर्छ।
तेस्रो: यस संसारमा गुमाएका चीजहरूको दुःखबाट विश्वासीलाई सान्त्वना हुन्छ, किनकि उसले परलोकको सुख र त्यहाँ प्राप्त हुने प्रतिफलको आशा गर्दछ।
अविश्वासीहरूले मृत्युपश्चात् पुन जीवित हुने तथ्यलाई अस्वीकार गर्दछन्, यो भ्रम साथ कि यसो हुन सम्भव छैन।
तर उनिहरुको यो दाबी असत्यमा आधारित छ, जसको असत्यता शरियत, इन्द्रियबोध (अनुभव), र तार्किक रुपले प्रमाणित हुन्छ ।
शरियत मार्फत पुन जीवित हुने तथ्यलाई अस्वीकार गर्नेहरुको खण्डन - अल्लाहले पवित्र कुरआनमा भन्नुहुन्छ: { काफिरहरूले मृत्युपश्चात् पुनः जीवित गरिँदैनन् भनी ठानेका छन्। भनिदेऊ— “किन उठाइँदैनौं? मेरो पालनकर्ताको कसम! निश्चय नै तिमीहरू अवश्य उठाइनेछौ,। अनि तिमीहरूलाई तिमीहरूले गरेका कार्यहरूबारे बताइनेछ र यो अल्लाहको लागि सरल छ ।} [अल-तगाबुन: ७] र सबै आकाशिय ग्रन्थ हरू यस विषयमा एकमत छन्।
इन्द्रिय तथा भौतिक बोधद्वारा पुनः जीवित हुने तथ्यलाई अस्वीकार गर्नेहरूको खण्डन: अल्लाहले यही संसारमा मृतकहरूलाई जीवन दिएर आफ्ना भक्तजनहरूलाई देखाउनुभएको छ। यसको पाँच उदाहरणहरू सुरा अल-बकारामा उल्लेख गरिएको छ, जुन निम्नानुसार छन्:
पहिलो उदाहरण: जब मोसेस (अलैहिस्सलाम) का समुदायका मानिसहरूले भने— “हे मोसेस ! जबसम्म हामी अल्लाहलाई प्रत्यक्ष देख्दैनौं, हामी तपाईंको (रिसालत) दूतत्व प्रति विश्वास गर्ने छैनौं।” [सूरह अल-बकराह: ५५] त्यसपछि अल्लाहले तिनीहरूलाई मारेर , फेरि जिवित पार्नु भयो, यहीँ घटना पछि अल्लाहले बनी इस्राईललाई सम्बोधन गर्दै भन्नुभयो: { र, स्मरण गर जब तिमीहरूले भनेका थियौ– हे मोसेस हामी अल्लाहलाई साक्षात नदेखेसम्म तिमीमाथि कदापि विश्वास गर्दैनौं र हेर्दाहेर्दै तिमीहरूमाथि बज्रपात भयो । (तिमीहरू) निष्प्राण भएपछि पुनः हामीले तिमीहरूलाई जीवित तुल्यायौं ताकि तिमीहरू कृतज्ञ होऊ । }[अल-बकरा: ५५-५६]
दोस्रो उदाहरण: त्यो मृतकको घटना हो, जसको हत्या सम्बन्धी जिम्मेवारी बनी इस्राईलमध्ये कसैले पनि स्वीकार गरेन। त्यसपछि, अल्लाहले तिनीहरूलाई एउटा गाई वध गर्न आदेश दिनुभयो र त्यसको मासुको एउटा टुक्राले मृतकलाई हान्न भन्नुभयो, ताकि उसले आफ्नो हत्याराको पहिचान गर्न सकोस्। अल्लाहले यस घटनालाई यसरी वर्णन गर्नुभएको छ: { र, (स्मरण गर) जब तिमीहरूले एकजनाको हत्या गरी आपसमा झगडा तथा एक–अर्कामाथि दोषारोपण गर्न थाल्यौ । तर, तिमीहरूले जुन कुरा लुकाइरहेका थियौ अल्लाह त्यो प्रकट गर्नेवाला थिए ।अनि हामीले भन्यौं– उक्त लाशलाई त्यस (वध गरिएको गाई) को एउटा चोकटाले हिर्काऊ (ऊ जीवित भइहाल्नेछ) । यसरी अल्लाहले मुर्दालाई जीवित पारी तिमीहरूलाई आफ्नो चमत्कारहरू देखाउँछन् । आशा छ तिमीहरू विवेक प्रयोग गर्नेछौं । } [अल-बकारा: ७२-७३]
तेस्रो उदाहरण: त्यो कथासँग सम्बन्धित छ जसमा बनी इस्राईलको एउटा समुह, जसमा कयौं हजार मानिसहरू थिए, मृत्युको डरले आफ्नो गाउँबाट भागेका थिए, अल्लाहले उनीहरूलाई मृत्युबाट कोहि भाग्न सक्दैन भन्ने कुरा स्पष्ट पार्न उनिहरु सबैलाई मृत्युको निद्रा सुताइदिनु भयो, अल्लाहले यस घटनाको उल्लेख पवित्र कुरआनमा यसरी गरेका छन्: { के तिमीहरूले ती मानिसहरुलाई देखेनौ जो हजारौंको संख्यामा भएतापनि मृत्युको डरले आफ्नो घरबार छोडेर भागेका थिए ? अनि, अल्लाहले भने– मरि हाल । अल्लाहले तिनीहरूलाई पुनः जीवित पारे । निःसन्देह, अल्लाह मानवजातिमाथि कृपा गर्नुहुन्छ, तर अधिकांश मानिसहरू कृतज्ञ हुँदैनन्। } [अल-बकरा: २४३]
चौथो उदाहरण: त्यो कथासँग सम्बन्धित छ, जसमा एउटा व्यक्ति कुनै सुनसान र उजाड बस्तीबाट गुज्र्यो, बस्तीको उजाड अवस्था देखेर त्यो व्यक्ति अल्लाहले यस बस्तीका बासिन्दाहरूलाई न्यायको दिन कसरी पुनः जीवित गर्नु हुनेछ भन्ने कुराप्रति आश्चर्यमा पर्यो। अतः अल्लाहले उसलाई एक सय वर्षसम्म मृत राखे, त्यसपछि उसलाई जीवित गर्नुभयो, अल्लाहले यस घटनालाई पवित्र कुरआनमा यसरी उल्लेख गरेका छन्: { अथवा (उदाहरणको लागि) त्यस व्यक्तिलाई हेर, जो एउटा यस्तो नगर हुँदै प्रस्थान गर्दै थियो, जसका घरहरू छानासहित भत्केर घोप्टो परेका थिए। उनले भने– यस नगरको विनाशपश्चात् यसलाई अल्लाहले कसरी जीवित पार्लान् ?, त्यसपछि अल्लाहले उक्त व्यक्तिलाई एक सय वर्षको लागि मृत बनाइदिनुभयो। अनि फेरि उनलाई जीवित पारेर उठाउनुभयो र सोध्नुभयो, “ तिमी (त्यस अवस्थामा) कति समयसम्म रह्यौ त ? उसले भन्यो– एकदिन वा एकदिनको केही अंशसम्म (रहें होला) । अल्लाहले भने– होइन, बरु तिमी एक सय वर्ष (मृत अवस्थामा) रह्यौ । आफ्नो भोजन र पेय पदार्थतर्फ हेर । तिनीहरू सडेका पनि छैनन् । तर, आफ्नो गधातर्फ हेर, (त्यो त मरेर सडिसकेको छ)। हामीले तिमीलाई मानिसहरूका लागि निशानी बनाउन यस्तो गरेका हौं । र (गधाको) हड्डीहरूलाई हेर, हामी कसरी तिनीहरूका ढाँचा खडा गर्छौं र तिनीहरूमा मासु चढाउँछौं ( र जीवित पार्छौ) ! जब सबै कुरा उनको सामु स्पष्ट भयो, तब उनले पुकार्दै भने, “निश्चय नै, मैले थाहा पाएँ कि अल्लाह हरेक कुरामा सर्वशक्तिमान् हुनुहुन्छ।” } [अल-बकराह: २५९]
पाँचौं उदाहरण: यो इब्राहिम (अलैहिस्सलाम) को सत्य कथा हो, जब उनले अल्लाहले मृतलाई कसरी जीवित गर्नुहुन्छ भनेर देखाउन अल्लाह सगँ अनुरोध गरे। अल्लाहले उनलाई चारवटा चराहरू काट्न र तिनीहरूको टुक्राहरूलाई आफ्नो वरिपरिका पहाडहरूमा राखेर तिनीहरूलाई बोलाउन आदेश दिए। पछि जब उनले तिनीहरूलाई बोलाए, ति चराहरूको टुक्राहरू जोडिएर इब्राहिम (अलैहिस्सलाम) को तर्फ दौडेर आए। यस घटनाबारे अल्लाहले भन्नु भएको छ: { र, जब इब्राहीम (अलैहिस्सलाम) ले अल्लाहसित भने, "‘हे मेरो पालनकर्ता ! मलाई देखाउनुहोस् कि तपाईंले मृतकहरूलाई कसरी जीवित पार्नुहुन्छ ?" अल्लाहले भने, " के तिमीलाई विश्वास छैन ?" उनले भने, "हो, अवश्य विश्वास गर्छु, तर मेरो आत्मसन्तुष्टिका लागि मात्र यो निवेदन गरेको हुँ ।" अल्लाहले भन्नुभयो, (त्यसोभए) "चारवटा चराहरू समातेर ल्याऊ र तिनलाई टुक्रा–टुक्रा गरिहाल, फेरि तिनका एक–एक टुक्रा प्रत्येक पहाडमा राखिहाल। अनि तिनलाई बोलाऊ, तिनीहरू तिमी तर्फ दगुर्दै आउनेछन्। र, जानिराख अल्लाह अति प्रभुत्वशाली एवं तत्वदर्शी छन् । } [बकराह:२६०]
यी प्रत्यक्ष र वास्तविक उदाहरणहरूले मृतलाई जीवित गरिन्छ भन्ने तथ्यलाई प्रमाणित गर्दछ। यसअघि नै येशू (ईसा) पुत्र मरियमद्वारा अल्लाहको आदेश अनुसार मृतलाई जीवित गरी उनीहरूलाई चिहानबाट निकाल्ने विषयमा अल्लाहले उनलाई प्रदान गर्नुभएका चिन्हहरू बारे उल्लेख गरिसकेका छौं।
बौद्धिक प्रमाणद्वारा पुनः जीवित हुने तथ्यलाई अस्वीकार गर्नेहरूको खण्डन दुई तरिकाले गर्न सकिन्छ :
पहिलो: निस्सन्देह, महान् अल्लाह ले आकाश, पृथ्वी र यसमा स्थित सम्पूर्ण वस्तुहरूलाई पहिलो पटक बिना कुनै पूर्वअस्तित्व वा उदाहरणको सृष्टि गर्नु भयो। यसबाट यो तथ्य प्रष्ट हुन्छ कि जसरी महान् अल्लाहले पहिलो पटक जीवको सृष्टि गर्नु भयो, त्यसैगरी तिनीहरूलाई पुनः जीवन दिने कार्यमा पनि उहाँ उत्तम र अधिक सक्षम हुनुहुन्छ। महान् अल्लाहले भन्नुहुन्छ: { उनी नै हुन् जसले सृष्टिको आरम्भ गरे र उनैले त्यसको पुनः आवृत्ति गर्नेछन्। र, यो कार्य उनीका लागि अझ सरल छ।} [ रूम: २७] अर्को ठाउँमा अल्लाहले भन्नुहुन्छ: { जसरी हामीले प्रथम पटक सृष्टि गरेका थियौं (त्यसरी नै) त्यसलाई दोहोर्याउनेछौं । यो हाम्रो जिम्मामा रहेको वाचा हो । हामी यसलाई अवश्य नै पूरा गर्नेछौ। } [अल-अन्बिया: १०४] र जसले कुहिएका हड्डीहरूलाई पुनः जीवित गर्न सकिने कुरालाई अस्वीकार गर्छ, अल्लाहले त्यस्तो भ्रम राख्नेहरूलाई खण्डन गर्न आदेश दिदैँ यसरी भन्नुभएको छ: { भनी देऊ— उनी नै हुन् जसले तिनीहरूलाई पहिलोपटक सृष्टि गर्नुभयो, र उनैले तिनीहरूलाई पुनः जीवित पार्नु हुनेछ। उहाँ प्रत्येक सृष्टिको बारेमा पूर्ण ज्ञाता हुनुहुन्छ।} [ यासीन: ७९]
दोस्रो: पृथ्वी मृत र सुक्खा अवस्थामा रहन्छ, जहाँ कुनै हरियो रूख हुँदैन। तर जब वर्षा हुन्छ, पृथ्वी हरियाली र जीवन्त हुन्छ, र त्यसमा विभिन्न प्रकारका सुन्दर जीवहरूको उत्पत्ति हुन्छ। अतः जसले मृत पृथ्वीलाई पुनः जीवन प्रदान गर्न सक्छ, उहाँले मृतहरूलाई पनि पुनः जीवित गर्न सक्नुहुन्छ। अल्लाहले भन्नुभएको छ: { र, यो पनि अल्लाहका निशानीहरूमध्ये हो कि तिमी भूमिलाई निर्जीव जस्तो देख्छौ, अनि जब हामी त्यसमाथि पानी बर्साउँछौं तब त्यो जीवित तथा उर्वर हुन्छ । निश्चय नै जसले त्यसलाई जीवित पारे, उनैले मृतहरुलाई पनि जीवित पार्नेछन् । निस्सन्देह उनी हरेक कार्यको सामर्थ्य राख्दछन् । } [अल-फुस्सिलत ३९] र, अर्को ठाउँमा अल्लाहले भन्नुभएको छ: { र, हामीले आकाशबाट बरकतयुक्त पानी वर्षायौं, अनि त्यसद्वारा बगैंचाहरू तथा काटिने अन्नहरू उमार्यौं। साथै, खजूरका अग्ला-अग्ला वृक्षहरू पनि, जसमा एकमाथि अर्को झुण्डिएका फलका झुप्पाहरू छन्— भक्तहरूको आजीविकाका लागि। अनि, हामीले त्यही पानीद्वारा निर्जीव भूमिलाई पुनः जीवन प्रदान गर्यौं। यसरी नै (तिमीहरूलाई चिहानबाट) बाहिर निकालिनेछ। } [काफ: ९-११]
र अन्तिम दिन प्रति आस्था राख्नु साथ, मृत्यु पछि हुने सबै घटनाहरू प्रति आस्था राख्न पनि अनिवार्य हुन्छ, जस्तै:
(१) (फित्नतुल कब्र) अर्थात् चिहानमा हुने परिक्षा: मृत्युपश्चात् दफन गरिसकेपछि मृतकलाई उसको पालनकर्ता, धर्म, र सन्देशवाहकको बारेमा प्रश्न सोधिन्छ। त्यस समय अल्लाहले विश्वासीहरूलाई दृढ वचनद्वारा स्थिरता प्रदान गर्नुहुनेछ, र मृतकले भन्नेछ: "मेरो पालनकर्ता अल्लाह हुन्, मेरो धर्म इस्लाम हो, र मेरो नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) हुन्। र यस विपरित, अल्लाहले अत्याचारीहरूलाई मार्गदर्शन गर्नुहुने छैन, तसर्थ काफिरहरुले प्रश्नको उत्तरमा भन्नेछन: हाय, हाय! मलाई केही थाहा छैन, र त्यसैगरी पाखण्डी वा धर्ममा शंका गर्ने व्यक्तिले भन्नेछ: 'मलाई केही थाहा छैन। मैले केवल मानिसहरूलाई यसबारे बोल्दै सुनेँ, र मैले पनि त्यही दोहोर्या ।
(२) चिहानमा दफन गरेपश्चात् हुने सुख आनन्द वा दण्ड प्रति आस्था राख्नु: चिहानमा हुने दण्ड, अन्यायीहरू, कपटीहरू र काफिरहरूको निमित्त तोकिएको छ। अल्लाहले भन्नुहुन्छ: {यदि तिमीले त्यो समय देख्न सक्ने भए ( तिमीले त्यसको गम्भीरता अवश्य देख्थ्यौ), जब अत्याचारीहरू मृत्यु वेदनामा हुनेछन् र फरिश्ताहरू आफ्ना हात फैलाउँदै भन्नेछन् त्याग आफ्ना प्राणहरू ! आज अल्लाहविरुद्ध असत्य कुरा भनेकाले र उनका आयतहरूका बारेमा उद्दण्डता देखाएकाले तिमीहरूलाई अपमानजनक यातना दिइनेछ } [अल-अनाम:९३]
र अल्लाहले फिरौनका अनुयायीहरूको बारेमा भन्नुभएको छ: {उनीहरूलाई बिहान र साँझ आगोमा उपस्थित गराइन्छ, र जब कयामत आउँछ, (भनिन्छ:) "फिरौनका अनुयायीहरूलाई सबैभन्दा कडा यातनामा हाल।"} ( ग़ाफिर: ४६)
र सहिह मुस्लिममा हजरत जैद बिन साबित (रजियल्लाहु अन्हु) बाट वर्णित छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'मैले चिहानमा हुने यातनाबारे जे सुन्दै आएको छु, यदि म अल्लाहसँग तिमीहरूलाई त्यसलाई सुनाइदिनका लागि प्रार्थना गर्ने हो भने, तिमीहरू एकअर्काका मृतकलाई चिहानमा गाड्न छाडिदिन्थ्यौ। त्यसपछि उहाँले आफ्ना सहाबाहरू तर्फ अनुहार फर्काएर भन्नुभयो: 'चिहानको यातनाबाट अल्लाहको शरण माग।' सहाबाहरूले भने: 'हामी चिहानको यातनाबाट अल्लाहको शरण चाहन्छौं।' तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'तिमीहरू बाहिरी र भित्री सबै प्रकारका आजमाइ (परीक्षा) बाट अल्लाहको शरण माग।' सहाबाहरूले भने: 'हामी बाहिरी र भित्री दुवै प्रकारका आजमाइबाट अल्लाहको शरण चाहन्छौं।' फेरी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'दज्जालको सङ्कटबाट अल्लाहको शरण माग।' सहाबाहरूले भने: 'हामी दज्जालको सङ्कटबाट अल्लाहको शरण चाहन्छौं।
र जहाँसम्म चिहानमा गाडिएपछि प्राप्त हुने आशिष् र आनन्दको कुरा छ, त्यो केवल विश्वासीहरूका लागि हुनेछ। महान् अल्लाहले भन्नुभएको छ: {वास्तवमा जुन व्यक्तिहरूले भने– हाम्रा पालनकर्ता अल्लाह हुन् अनि त्यसैमा कायम रहे । उनीहरूकालागि फरिश्ताहरू यो भन्दै अवतरित हुनेछन्– तिमीहरू नडराऊ दुःखी पनि नहोऊ, बरु त्यस स्वर्गमा रमाऊ, जसको वाचा तिमीहरूसँग गरिएको थियो।'} [फुस्सिलत: ३०]
र अर्को ठाउँमा भन्नुभएको छ: { यदि यस्तो होइन भने, जब प्राण घाँटीसम्म आइपुग्छ, र त्यतिखेर तिमीहरू हेरिरहेका हुन्छौ, र, हामी तिमीहरूको तुलनामा त्यस व्यक्तिको अझ बढी निकट हुन्छौँ, तर तिमीहरू हामीलाई देख्दैनौ। फेरि, यस्तो किन हुँदैन? यदि तिमीहरू (कसैको) अधीनमा (जवाफदेह) छैनौ भने, त्यस प्राणलाई फर्काऊ, यदि यस कुरामा तिमीहरू सच्चा हौ भने। अनि, यदि ऊ (अल्लाहको) निकटता प्राप्त व्यक्तिहरूमध्ये छ भने (उसका लागि) आनन्द, सुगन्ध, र वैभवपूर्ण स्वर्ग रहनेछ। } [अल-वाकिआह: ८३-८९]
र हजरत बरा बिन आजिब (रजियल्लाहु अन्हु) द्वारा वर्णित एक हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले विश्वासीको बारेमा भन्नुभएको छ: 'जब विश्वासीले आफ्नो चिहानमा फरिश्ताहरूको प्रश्नको उत्तर दिनेछ, तब आकाशबाट आवाज आउनेछ — "मेरो भक्तले सत्य बोलेको छ। त्यसको लागि स्वर्गको बिछ्यौना बिछ्याइदेउ, उसलाई स्वर्गको वस्त्र पहिराइदेउ, र उसका लागि स्वर्गको ढोका खोलिदेउ।" अनि, उसलाई स्वर्गको बतास र सुगन्ध महसुस हुन थाल्नेछ, र उसको चिहान उसको दृष्टिले देख्न सक्ने हदसम्म फराकिलो गरिदिइनेछ।'(अहमद)
"केही पथभ्रष्ट समूहहरू चिहानमा हुने यातना र सुखको यथार्थतालाई अस्वीकार गर्दै भ्रमित भएका छन्। उनीहरू यस विषयमा शंका उत्पन्न गर्दै भन्छन् कि यी कुरा प्रत्यक्ष वास्तविकताको विपरीत भएकाले सम्भव छैन। उनीहरू भन्छन्: "यदि कुनै मृतकलाई उसको चिहान खोलेर हेरियो भने, ऊ पहिलेजस्तै देखिन्छ, न त चिहान फराकिलो भएको देखिन्छ, न साँघुरिएको।"
यस्तो धारणा धर्मशास्त्रीय विधि, भौतिक प्रमाण, र तर्क अनुसार पूर्ण रूपमा अमान्य छ।
जहाँसम्म धर्मशास्त्रीय विधिद्वारा प्रमाणित गर्ने कुरा छ, यसअघि नै चिहानमा हुने सजाय र सुखको बारेमा प्रमाणित गर्ने पाठहरू उल्लेख भइसकेका छन्।
र सहिह अल-बुखारीमा हजरत अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हु) बाट वर्णित हदीस अनुसार, जब पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) मदीनाको कुनै बगैंचाबाट बाहिर निस्कनुभयो, उहाँले दुई व्यक्तिको आवाज सुन्नुभयो, जो आफ्नो चिहानमा यातना भोगिरहेका थिए। त्यसपछि अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हु) ले पूरै हदीस उल्लेख गर्नुभयो, जसअनुसार ती यातना भोगिरहेका मध्ये एक जना पिसाब गर्दा स्वच्छता कायम राख्दैनथ्यो भने अर्को व्यक्ति चुक्लीखोर थियो।"
भौतिक प्रमाणअनुसार बुझ्ने हो भने यो कुरा सबैलाई थाहा छ कि सुत्ने व्यक्तिले कहिलेकाहीँ सपना देख्छ कि ऊ विशाल, फराकिलो, र आनन्दमय ठाउँमा छ र अनेक आशीर्वादबाट लाभान्वित भैरहेको छ। कहिलेकाहीँ ऊ डरलाग्दो, साँघुरो, र पीडादायी ठाउँमा भएको अनुभव गर्छ, जसले गर्दा ऊ भयभीत भएर ब्युँझन्छ, जबकी ऊ आफ्नै घरको ओछ्यानमा हुन्छ । निद्रा भनेको 'मृत्युकी बहिनी' हो। त्यसैले, अल्लाहले निद्रालाई मृत्यु भन्नुभएको छ, उहाँले कुरआन मा भन्नुहुन्छ : {ती अल्लाह नै हुन् जसले मृत्युको बेला प्राणहरूलाई पूर्णतः ग्रस्त गर्छन्, र न मरेकाहरूको प्राण निन्द्रामा (ग्रस्त गर्छन्) । अनि जसमाथि उहाँले मृत्युको फैसला लागू गर्छन् उसको प्राण आफूकहाँ रोकेर राख्छन् । र, बाँकी प्राणहरूलाई एउटा निश्चित समयकालागि छोडिदिन्छन् । }[अल-जुमर: ४२]
तर्कसंगत रूपमा उनीहरूलाई जवाफ दिने हो भने: निद्रामा मानिसले यथार्थसँग मेल खाने सत्य सपना देख्छ, र सम्भवतः उसले पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) लाई उहाँकै वास्तविक स्वरूपमा देख्न सक्छ, र जस कसैले उहाँलाई उहाँकै स्वरूपमा देख्छ, उसले वास्तविक रूपमा नै देखेको हुन्छ। जबकि, निद्रामा रहेको व्यक्ति आफ्नो कोठामा ओछ्यानमै हुन्छ, र उसले देखेको दृश्य वास्तविक रूपमा त्यहाँ हुँदैन। यदि यी सबै चीजहरू सांसारिक अवस्थामा सम्भव छन् भने, तिनीहरू परलोकमा किन सम्भव हुन सक्दैनन् ?
जहाँ सम्म उनीहरुको यो दाबी को कुरा छ कि यदि मृतकको चिहानलाई खोलियो भने उसलाई उही अवस्थामा पाइनेछ, र चिहान फराकिलो वा साँघुरो भएर परिवर्तन भएको पाइँदैन, यसको जवाब धेरै पक्षहरूबाट दिन सकिन्छ, जसमध्ये केही यस प्रकार छन्:
पहिलोः शरीयतमा लेखिएका कुरालाई यस्ता झुटा र भ्रामक शंकाको साथ तुलना गर्नु बिल्कुलै अमान्य छ । र यी शङ्काहरूका साथ शरीयतको विरोध गर्ने व्यक्तिले यदि शरीयतमा निहित तर्कहरूको बारेमा ठीकसँग मनन गर्ने हो भने उसले शंकाको अमान्यता स्पष्ट रुपले बुझ्नेछ । कविले कति राम्रो भनेका छन्:
कति व्यक्तिहरू छन् जसले सत्यको आलोचना गर्छन्,
तर तिनीहरूको दोष त विकृत बुझाइमा लुकेको हुन्छ।
दोस्रो: बर्जख (मृत्यु पछिको जीवन) को अवस्था अदृश्यसँग सम्बन्धित छ, जसलाई इन्द्रियद्वारा बुझ्न सम्भव छैन। यदि तिनीहरूको वास्तविकता इन्द्रियद्वारा जान्न सम्भव हुन्थ्यो भने, अदृश्यमा आस्था राख्नुको कुनै महत्त्व नै रहँदैन। यसरी त अदृश्यमा विश्वास गर्न र जानाजानी यसको वास्तविकता अस्वीकार गर्न दुवै एकै समान हुनेछन्।
तेस्रो: चिहानमा हुने दण्ड, राहत र त्यसमा हुने फराकिलोपन वा साँघुरोपन केवल मृतकले नै अनुभव गर्छ। मृतक बाहेक अन्य कसैले पनि यी स्थितिहरूको अनुभव गर्न सक्दैन। यसको उदाहरण ठीक त्यस्तै हो जस्तो कुनै व्यक्तिले सुतेको समयमा अत्यन्त साँघुरो, अँध्यारो, डरलाग्दो वा आकर्षक र फराकिलो ठाउँ देख्दछ, तर ऊ वास्तविकतामा आफ्नो कोठाको ओछ्यानमा हुन्छ, र उसको कोठामा सँगै सुत्ने व्यक्ति उक्त सम्पूर्ण स्थितिहरूबाट पूर्ण रूपमा अनजान हुन्छ। यसको अर्को स्पष्ट उदाहरण भनेको पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) माथि वही (ईश्वरीय सन्देश) अवतरण हुने समय हो। उहाँ आफ्ना सहाबाहरूको माझ हुनुहुन्थ्यो, तर त्यो वही केवल उहाँले मात्र सुन्न सक्नुहुन्थ्यो, जबकि सहाबाहरूले त्यसलाई सुन्न सक्दैनथे। त्यसैगरी, कहिलेकाहीँ फरिश्ता रूप धारण गरी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सगँ कुराकानी गर्थ्यो, तर सहाबाहरू न त फरिश्तालाई देख्थे, न त उनको कुरा सुन्न सक्थे।
चौथो: मानव जाति र सृष्टिको बोध क्षमता सीमित छ। जति बोध क्षमता अल्लाहले उनीहरूलाई प्रदान गर्नुभएको छ, सोही सीमा भित्र मात्र उनीहरूले बुझ्न सक्छन्। उनीहरू हरेक अस्तित्वलाई बुझ्न सक्दैनन्। उदाहरणका लागि सात आकाश, पृथ्वी, र त्यसमा विद्यमान सबै वस्तुहरू वास्तविक रूपमा अल्लाहको तस्बीह (महिमा-गान) गर्दैछन्, जुन अल्लाहले आफ्नो इच्छाअनुसार कहिलेकाहीँ आफ्ना केही भक्तहरू लाई सुनाइ दिनु हुन्छ। तथापि, यो हामीबाट गुप्त रहन्छ। यसबारे अल्लाहले पवित्र कुरानमा यसरी भन्नुभएको छ: {सात आकाश, पृथ्वी र तिनमा रहेका सबै वस्तुहरूले अल्लाहको तस्बीह (महिमा-गान) गर्छन्, र कुनै पनि चीज छैन जसले उहाँको प्रशंसासहित तस्बीह नगरेको होस्, तर तिमीहरूले तिनीहरूको तस्बीह बुझ्दैनौ। } [अल-इस्रा: ४४] यस्तै गरी, शैतान र जिन्नहरू पृथ्वीमा आउजाउ गरिरहन्छन्। जिन्नहरू पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा उपस्थित भए, उहाँको तिलावत (कुरआन पाठ)ध्यानपूर्वक सुने, र आफ्ना जातिलाई त्यस सन्देशलाई लिएर चेतावनी दिन फर्किए। तैपनि, तिनीहरू हामीबाट अदृश्य छन्। यस सम्बन्धमा अल्लाहले यसरी भन्नुभएको छ: { हे आदमका सन्तानहरू! शैतानले तिमीहरूलाई त्यही प्रकारले परीक्षामा नपारोस् जसरी उसले तिम्रा बाबुआमालाई तिनीहरूको वस्त्र खोस्दै स्वर्गबाट निष्कासित गराएको थियो, ताकि उसले दुवैलाई एक-अर्काको गुप्ताङ्ग देखाओस्। ऊ र उसका साथीहरूले तिमीहरूलाई त्यहाँबाट हेर्छन्, जहाँबाट तिमीहरू उनीहरूलाई देख्न सक्दैनौ। हामीले शैतानलाई ती व्यक्तिहरूका संरक्षक–मित्र बनाएका छौँ, जसले ईमान स्विकार गर्दैनन्। } [अल-आराफ: २७] यसले स्पष्ट हुन्छ कि सृष्टिहरू हरेक अस्तित्वलाई बुझ्न सक्दैनन्, त्यसैले प्रमाणित भएका परोक्ष (ग़ैबी) विषयवस्तुहरूलाई, केवल बुझ्न नसकेको आधारमा, अस्वीकार गर्न ठिक होइन।
*
भाग्यमाथि आस्था राख्नु
कद्र (भाग्य): कद्र अर्थात् भाग्य भन्नाले अल्लाहले आफ्नो सर्वज्ञता र तत्वदर्शिता अनुसार सम्पूर्ण सृष्टिको भाग्यलाई पूर्वनिर्धारित गर्नुलाई जनाउँछ।
भाग्य प्रति आस्था राख्नुले चार कुराहरू समावेश गर्दछ:
पहिलो: यो आस्था राख्नु हो कि महान् अल्लाह अनादि र अनन्त रूपमा हरेक विषयवस्तु बारे समग्र र विस्तृत रूपमा पूर्ण ज्ञाता हुनुहुन्छ। चाहे त्यो विषय उहाँका आफ्नै कार्यहरूसँग सम्बन्धित होस् अथवा उहाँका भक्तहरू का कर्म र कार्यहरूसँग।
दोस्रो: अल्लाहले सबै कुरा (लौहे महफूज) सुरक्षित पाटीमा लेख्नुभएको छ भन्ने तथ्यमा विश्वास गर्नु, यी दुई कुराको बारेमा अल्लाहले कुरआनमा भन्नुहुन्छ: { के तिमीलाई थाहा भएन कि अल्लाह आकाश तथा पृथ्वीका सम्पूर्ण चिजहरूबारे ज्ञान राख्दछन् । यी सबै लिपिबद्ध छन् । र, यो कार्य अल्लाहकालागि अति सहज रहेकोछ । } [अल-हज: ७०]।
र सहीह मुस्लिममा अब्दुल्लाह इब्न अम्र इब्न अल-आस (रदियल्लाहु अन्हु) बाट वर्णन गरिएको छ कि उहाँले भन्नुभयो: मैले रसुल (सल्लल्लाहु अलैहि वसल्लम)) लाई यसो भन्दै सुँनें: "अल्लाहले सृष्टिहरूको भाग्य आकाशहरू र पृथ्वी सृष्टि गर्नु भन्दा पचास हजार वर्ष अघि नै लेख्नुभएको थियो।"
तेस्रो: यो आस्था राख्नु कि ब्रह्माण्डमा हुने सम्पूर्ण कुरा केवल अल्लाहको इच्छा अनुसार मात्र अस्तित्वमा आउँछ, चाहे त्यो उहाँका आफ्नै कार्यहरूसँग सम्बन्धित होस् वा सृष्टिहरूका कर्म र कार्यहरूसँग। यस सम्बन्धमा, अल्लाहले आफ्ना कार्यहरूसँग सम्बन्धित विषयमा यसरी भन्नुभएको छ: { र, तिम्रा पालनकर्ता जे चाहन्छन् सृष्टि गर्छन् र जसलाई चाहन्छन् चयन गर्छन् । } [अल-कसस: ६८] एक आर्को ठाउँमा भन्नुभएको छ: { र महान् अल्लाहले जे चाहानुहुन्छ, सो गर्नुहुन्छ। } [इब्राहिम: २७] त्यसैगरी अल्लाहले भन्नुहुन्छ: { उहाँनै त हुनुहुन्छ जसले तिमीहरूलाई आमाको गर्भमा जसरी चाहन्छन् आकार दिन्छन् } [आल-इमरान: ६] । र सृष्टिहरूको कर्म र कार्यको बारेमा अल्लाहले भन्नुहुन्छ: { यदि अल्लाहले चाहेको भए तिनीहरूलाई तिमीहरू माथी प्रभुत्व प्रदान गर्ने थिए अनि तिनीहरु तिमीहरू विरुद्ध लड्ने थिए। } [अल-निसा: ९०] अर्को ठाउँमा भन्नुहुन्छ: { र यदि अल्लाहले चाहनु भएको भए, तिनीहरूले यस्तो कार्य गर्ने थिएनन्। अतः तिनीहरूलाई र तिनीहरूले जे जति मनगढन्ते कुराहरू गर्दछन्, ती सबैलाई छाडिदेऊ। } [अल-अनाम: ११२]
चौथो: यो आस्था राख्नु कि सम्पूर्ण सृष्टि अल्लाहद्वारा सिर्जना गरिएको हो हो र तिनीहरूको अस्तित्व, गुणहरू, र क्रियाहरू सबै उहाँकै सिर्जना हुन्। यस सम्बन्धमा अल्लाहले यसरी भन्नुभएको छ: {अल्लाह नै हरेक वस्तुको सृष्टिकर्ता हुन् र उनी नै हरेक कुराको संरक्षक हुन्।} [अल-जुमर: ६२] आर्को ठाउँमा भन्नु भएको छ: { र, उहाँले (अल्लाहले) हरेक वस्तुलाई सृष्टि गर्नुभयो र त्यसलाई उचित क्रममा निर्धारित गर्नुभयो। } [अल-फुरकान: २] र अल्लाहले नबी इब्राहिम (अलैहिस्सलाम) को बारेमा उल्लेख गर्दै भन्नुभयो कि उनले आफ्नो समुदायलाई भने: { जबकि तिमीहरूलाई तथा तिमीहरूले बनाउने वस्तुहरूलाई अल्लाहले नै सृष्टि गरेका हुन् ? } [ सफ्फात: ९६]
र माथि उल्लेखित विवरण बमोजिम भाग्य प्रति आस्था राख्नुमा र मानिसमा इच्छाशक्ति अनुसार चयनात्मक कार्यहरू गर्न सक्ने क्षमता रहेको कुरामा कुनै विरोधाभास छैन, धर्मशास्त्र विधि र वास्तविक अनुभूतिले यस कुराको पुष्टि गर्दछ।
धर्मशास्त्रीय प्रमाण: अल्लाहले आफ्नो इच्छा र निर्णय सम्बन्धमा भन्नुभएको छ: {अतः जसले चाहोस् (सत्कर्म गरेर) आफ्नो पालनकर्ता कहाँ राम्रो बासस्थान बनाओस् ।} [अल-नबा: ३९] र एक आर्को ठाउँमा महान् अल्लाहले भन्नुहुन्छ: { तसर्थ आफ्नो खेतीमा जुन तरिकाले चाहन्छौं, जाऊ र आफ्नो निम्ति सत्कर्म अगाडि पठाऊ।} [अल-बकराह: २२३] र मानव क्षमताको बारेमा भन्नु भएको छ : { यथासम्भव अल्लाहको भयराख, र सुन्दै तथा मान्दै जाऊ । } [अल-तगाबुन: १६] त्यसैगरी भन्नुहुन्छ: { अल्लाहले कसैलाई उसको क्षमताभन्दा बढी जिम्मेवारी दिदैनन्। उसले कमाएको पूण्य उसैको लागि हो र उसले बटुलेको पाप (को दण्ड) उसैले भोग्नुपर्नेछ । } [अल-बकरह: २८६]
वास्तविक अनुभूतिगत प्रमाण: प्रत्येक व्यक्तिलाई थाहा छ कि ऊसँग केही न केही इच्छा र शक्ति छ, जसको कारणले उसले कुनै कार्य गर्न वा नगर्न छनौट गर्न सक्छ, र उसले इच्छित कार्यहरू जस्तै हिँड्नु र अनैच्छिक कार्यहरू जस्तै काम्नुमा फरक पनि छुट्याउन सक्छ, तर पनि भक्तको इच्छा र शक्ति अल्लाहको इच्छा र शक्तिमा निर्भर हुन्छ, जस्तो कि अल्लाहले भन्नुहुन्छ: {तिमीहरूमध्ये जो कोही सीधा मार्गमा हिँड्न चाहन्छ, (त्यो मार्ग रोज्न सक्छ) तर तिमीईंहरूले चाहेको कुरा सर्वशक्तिमान अल्लाह, जो संसारहरूको पालनकर्ता हुनुहुन्छ, उहाँको इच्छा बिना हुन सक्दैन। } [ अल-तक्वीर:२८-१९] र किनभने सम्पूर्ण ब्रह्माण्ड अल्लाहको स्वामित्वमा छ; त्यसैले उहाँको राज्यमा उहाँको ज्ञान र इच्छा बिना कुनै पनि कुरा हुन सक्दैन।
र भागमा विश्वासले, जसरी हामीले माथि वर्णन गरिसकेका छौं, मानिसलाई आफूले छोडेका कर्तव्यहरू वा गरेका पापहरूको लागि बहाना दिने अधिकार दिँदैन। त्यसैले मानिसले आफ्नो दुष्कर्म प्रति भाग्यलाई प्रमाणको रूपमा प्रयोग गर्नु गलत हुन्छ, र यसको खण्डन निम्न कारणहरूले गरिन्छ:
पहिलो: अल्लाहले भन्नुहुन्छ: { बहुदेववादीहरूले भन्नेछन्– यदि अल्लाहले चाहेको भए न हामीले साझेदार ठहर्याउने थियौं न हाम्रा पुर्खाहरुले नै, र न हामीले कुनै चिजलाई अवैध ठहर्याउने थियौं । यसभन्दा पहिलेका मानिसहरूले पनि यसरी नै झुठो ठहर गरेका थिए । अन्ततः तिनीहरूले हाम्रो यातनाको स्वाद चाखे । भनिदेऊ– के तिमीहरूसँग कुनै ज्ञान छ ? छ भने हामीसमक्ष प्रस्तुत गर । तिमीहरू त केवल भ्रमको अनुसरण गर्छौ र अड्कल मात्र गर्छौ । } [अल-अनाम: १४८] अतः यदि उनीहरूको लागि भाग्यको आधारमा कुनै बहाना सही भएको भए, अल्लाहले उनीहरूलाई उनीहरुको दुष्कर्मको यातना दिनु हुनु हुन्थेन ।
दोस्रो: अल्लाहले भन्नुहुन्छ: { ईशदूतहरू शुभ–सूचक तथा सचेतक बनाइएर पठाइएका थिए, ताकि रसूलहरूपश्चात् मानिसहरूलाई अल्लाहविरुद्ध केही भन्ने ठाउँ नरहोस् । र, अल्लाह अति प्रभुत्वशाली एवं तत्वदर्शी छन् । } [अल-निसा:१६५] यसैगरी, यदि नियति विपक्षीहरूको तर्कको आधार बन्न सक्थ्यो भने, अल्लाहले दूतहरूलाई पठाएर तिनीहरूको तर्कलाई अमान्य तुल्याउनु हुनु हुन्थेन। किनकि, सन्देशवाहकहरू पठाइसकेपछि यदि कुनै विरोध उत्पन्न हुन्छ भने, त्यो अल्लाहले निर्धारण गरेको भाग्य अनुसार मात्र हुने गर्दछ।
तेस्रो: बुखारी र मुस्लिममा हजरत अली बिन अबी तालिब (रदियल्लाहु अन्हु) बाट वर्णित हदीस छ कि, पैगम्बर (सल्लल्लाहु अलैही वसल्लम) ले भन्नुभयो: अल्लाहले तिमीहरूमध्ये सबैको ठेगाना स्वर्ग वा नर्क भनेर लेखि सक्नु भएको छ। यो सुनेर सहाबाहरुको समूहका एक व्यक्तिले सोधे: हे अल्लाहका रसूल! के हामी यहीँ माथी विश्वास गरौं ? पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: होइन, कार्य गर, किनभने सबैका लागि सजिलो बनाइएको छ, त्यसपछि उहाँले यो आयत पढ्नुभयो: { अतः जसले खर्च गर्यो र ईशभय राख्यो } [अल-लैल: ५] यो सहिह बुखारीका शब्दहरू हुन् । र सहिह मुस्लिमका शब्दहरू यस प्रकार छन्: प्रत्येक व्यक्तिको लागि त्यो कार्यलाई सजिलो बनाइएको छ जसको लागि उसलाई सृष्टि गरिएको हो । यस हदीसमा पैगम्बर (सल्लल्लाहु अलैही वसल्लम) ले कार्य गर्न आदेश दिनुभएको छ र भाग्यमा मात्र भरोसा गर्ने देखी निषेध गर्नुभएको छ।
चौथो: निस्सन्देह, अल्लाहले भक्तलाई आदेशहरू पालना गर्न र वर्जित कुराहरु बाट बच्न आदेश दिनुभएको छ, साथै उहाँले मानवलाई उसको क्षमता भन्दा धेरै काम गर्न बाध्य गर्नुभएको छैन। अल्लाहले भन्नुहुन्छ: { अतः यथासम्भव अल्लाहको भयराख। } [अल तगाबुन: १६] अन्य एक ठाउँमा अल्लाहले भन्नुहुन्छ: { अल्लाह कुनै पनि प्राणिलाई उसको शक्ति भन्दा धेरै (कर्म गर्न) बाध्य गर्नु हुदैन } [अल-बकरा: २८६] र यदि कोही व्यक्ति कुनै कर्म गर्न बाध्य हुन्थ्यो भने, ऊ प्रत्येक त्यस्तो कार्य गर्न बाध्य हुन्थ्यो जसबाट उसले छुटकारा पाउन असम्भव थियो। तर यो तर्क निराधार छ। यदि कसैबाट अज्ञानतावश, भूलवश वा अज्ञानतामा कुनै कुकर्म हुन्छ भने, उसलाई कुनै पाप लाग्दैन, किनकि उक्त अवस्थामा मानिस क्षमा योग्य हुन्छ।
पाँचौँ: अल्लाहले तोक्नु भएको भाग्य एक रहस्य हो, जसको ज्ञान निर्धारित कुरा घटेपछि मात्र हुन सक्छ। मानिसमा कुनै कार्य गर्ने इच्छा, सो कार्य गर्नु भन्दा पहिले नै आउँदछ, त्यसकारण, उसको इच्छा अल्लाहल्लाहले तोक्नु भएको भाग्यसम्बन्धी ज्ञानमा आधारित हुँदैन। यस्तो अवस्थामा, उसले भाग्य लाई आफ्नो कर्मको प्रमाणको रूपमा प्रस्तुत गर्न सक्दैन, किनकि कुनै व्यक्तिले थाहा नै नपाएको भाग्यलाई बहाना बनाउन मुर्खता हो।
छैटौं: हामीले देख्छौं कि मानिस सांसारिक मामिलाहरूमा प्रत्येक राम्रो र हितकारी वस्तु प्राप्त गर्न उत्सुक हुन्छ, र जबसम्म उसले त्यो प्राप्त गर्दैन तबसम्म त्यसको आशामा रहन्छ। जबकि, ऊ अप्रिय अथवा अहितकारी वस्तुहरूतर्फ लाग्दैन र त्यसप्रति भाग्यलाई दोष पनि लाउँदैन। फेरि, उसको लागि धर्मको मामिलामा लाभदायक विषयहरूबाट विमुख भएर पीडादायी कुराहरूमा संलग्न हुनु र भाग्यलाई दोष दिनु कसरी उचित हुन सक्छ? के यि दुवै मामिला समान होइनन् र?
यस विषयलाई थप स्पष्ट पार्न, हामीले यहाँ यो उदाहरण प्रस्तुत गर्दैछौं।
यदि कुनै व्यक्तिको अगाडि दुई मार्ग छन्प, हिलो मार्ग: जसको अन्त्य एक यस्तो शहरमा हुन्छ जहाँ अराजकता छ—हत्या, लुटपाट, इज्जतको अपमान, डर, र भोकमरी छ। दोस्रो मार्ग: जसको अन्त्य एक यस्तो शहरमा हुन्छ जहाँ पूर्ण व्यवस्था, स्थायी शान्ति, सुखमय जीवन, र मानिसहरूको ज्यान, इज्जत, तथा सम्पत्तिको सम्मान छ। यस्तो अवस्थामा व्यक्तिले कुन बाटो रोज्नेछ?
निश्चित रूपमा, मानिसले दोस्रो मार्ग रोज्ने छ, जुसले उसलाई शान्ति, व्यवस्था, र सुरक्षित जीवनतर्फ लैजाने छ। कुनै पनि बुद्धिमान व्यक्ति अराजकता, डर, हत्या, र अन्यायले परिपूर्ण शहरतर्फ जाने मार्ग लाग्ने छैन, र त्यसपछि "यो मेरो भाग्य (क़द्र) थियो" भनेर बहाना पनि बनाउने छैन। त्यसो हुँदा, जब संसारको मामिलामा ऊ राम्रो र सुरक्षित मार्ग रोज्छ, किन उसले परलोकको लागि स्वर्गको सट्टा नर्कको बाटो अपनाउँछ र त्यसपछि भाग्य (क़द्र) लाई बहाना बनाउँछ?
अर्को उदाहरण: हामी देख्छौं जब डाक्टरले बिरामीलाई कुनै औषधि सेवनको आदेश दिन्छ, बिरामीले इच्छा नहुँदा पनि औषधि सेवन गर्छ, यसैगरी कुनै हानिकारक खुराक छाड्न आदेश दिन्छ भने त्यसप्रति इच्छा भएको बाबजुद पनि त्यागिदिन्छ, रोगीले यस्तो आफ्नो सुरक्षा र उपचारको लागि गर्छ, र यो सबै प्रक्रियामा उसले आफ्नो बिराम प्रति भाग्यलाई बहाना बनाई औषधि सेवन गर्ने वा हानिकारक खान त्याग गर्न छोड्दैन । फेरि मानिसले अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैही वसल्लम)को आदेशलाई अवज्ञा गरेर, अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले निषेध गरेका कुराहरू अपनाएर लिखित नियतिलाई दोष दिनु कसरी सही हुन सक्छ?
सातौं: यदि भाग्यलाई तर्कको रूपमा प्रयोग गरेर अनिवार्य कर्तव्यलाई छाड्ने व्यक्ति माथी यदि कोहि व्यक्तिलो दमन, अत्याचार गरेर उसको धन सम्पत्ति लुट्छ वा उसको मान सम्मानमा ठेस पुर्याउ छ अनि फेरि भाग्यलाई प्रमाण बनाउदै भन्छ कि " मलाई यस बारे दोष न देउ, यो सबै त भाग्यमा लेखिएको थियो, किनकि मेरो दमन र दुर्व्यवहार न्यायसंगत छ।" उसले निश्चित रूपमा यो तर्कलाई स्वीकार गर्ने छैन। फेरि किन उसले अरूले गरेको अत्याचारमा भाग्यको प्रमाणलाई बहाना मान्दैन ,तर आफ्नै पापका लागि भाग्यलाई बहाना बनाउँछ र अल्लाहको आदेश उल्लंघन गर्छ?
यस सम्बन्धमा एउटा घटना यसरी वर्णित छ: अमिरुल मुमिनीन हजरत उमर बिन अल-खत्ताब (रदियल्लाहु अन्हु) समक्ष एक चोरको मामिला प्रस्तुत गरियो। तब हजरत उमर (रदियल्लाहु अन्हु) ले उसको हात काट्ने आदेश दिनुभयो। त्यस चोरले भने: "हे अमिरुल मुमिनीन! नम्र हुनुहोस्, किनभने मैले यो चोरी अल्लाहले तोक्नु भएको भाग्यको कारण मात्र गरेको हुँ।" यो सुनेर हजरत उमर (रदियल्लाहु अन्हु) ले भन्नुभयो: "हामी पनि तिम्रो हात अल्लाहले लेखिदिनु भएको भाग्यको कारण नै काट्दै छौं।"
तकदीर अर्थात भाग्य प्रति आस्था राख्नुका फाइदाहरु धेरै छन् जसमध्ये:
पहिलो: कुनै साधन अपनाउँदा केवल त्यसमा भरोसा गर्नुको सट्टा केवल अल्लाह तआला माथि भरोसा राख्नु आवश्यक छ, किनकि सबै कुरा अल्लाहको आदेश र इच्छाले हुने गर्दछ।
दोस्रो: कुनै पनि लक्ष्य प्राप्त गर्दा आफूमा घमण्ड गर्नु हुँदैन, किनभने लक्ष्य प्राप्ति अल्लाह तआलाको तर्फबाट एक वरदान हो, जसलाई अल्लाहले सफलता स्वरूप तक्दीरमा लेखिदिनु भएको छ। र यसको विपरीत, मानिस स्वयंमा घमण्ड गरेर स्वार्थमा लिप्त हुँदा, ऊ अल्लाहको तर्फबाट प्राप्त आशीर्वादको कृतज्ञता गर्नबाट विमुख हुन्छ।
तेस्रो: महान् अल्लाहको इच्छा अनुसार मानिसलाई जे जस्तो आइपर्छ, त्यसमा सन्तुष्ट र प्रसन्न रहनु पर्छ। जब व्यक्तिले कुनै प्रिय वस्तु गुमाउँछ अथवा कुनै अप्रिय घटना घट्छ, तब ऊ भाग्यमा आस्था राख्न फलस्वरुप असन्तुष्ट र क्रोधको शिकार हुँदैन। किनकि उसलाई यो ज्ञान हुन्छ कि यी सबै अल्लाहको आदेशले हुन्छ, जो आकाश र पृथ्वीका मालिक र सृष्टिकर्ता हुनुहुन्छ, र उहाँको आदेश पुरा भएरै हुन्छ। अल्लाहले यस बारे भन्नुहुन्छ: { पृथ्वीमा वा स्वयं तिमीहरूमाथि जे सङ्कट आउँछ त्यसलाई हामीले प्रकट गर्नु भन्दा पहिले नै एउटा विशेष पुस्तकमा त्यो अङ्कित छ । यो अल्लाहकोलागि एकदमै सहज छ । (यसो गर्नुको उद्देश्य यो छ) कि तिमीहरू आफूले गुमाएको वस्तुप्रति दुःखित नहोऊ र अल्लाहले तिमीहरूलाई प्रदान गरेका वस्तुहरूप्रति घमण्ड नगर । र, अल्लाह यस्ता घमण्डी एवं सेखी व्यक्तिलाई मन पराउँदैनन् ...} [अल-हदीद: २२-२३] र पैगम्बर (सल्ललाहु अलैही वसल्लम) ले भन्नुभएको छ: "मोमिन (विश्वासी) को कुरा आश्चर्यजनक छ, उसको लागि सबै कुरा कुशल हुन्छ, र यो कुनै अरूको लागि हुँदैन। यदि उसलाई सुख प्राप्त हुन्छ भने उसले कृतज्ञता जनाउँछ र यो उसको लागि राम्रै हुन्छ, र यदि उसलाई कष्ट प्राप्त हुन्छ भने उसले धैर्यता धारण गर्छ र यो पनि उसको लागि राम्रै हुन्छ।"
तक्दिरको सिलसिलामा दुई समूहहरू भ्रमको शिकार भई पथभ्रष्ट भएका छन् :
(१) जबरिया: यस नामको समूहले यस धारणामा विश्वास गर्दछ कि मानिस आफ्नो प्रत्येक कर्ममा बाध्य हुन्छ र उसमा कुनै इच्छाशक्ति र क्षमता हुँदैन।
(२) कदरिया: यो नामक समूहले यस कुरामा विश्वास राख्छ कि मानिस स्वयंको इच्छा र शक्तिको साथ आफ्नो कर्ममा स्वतन्त्र छ र उसको कार्यमा अल्लाहको इच्छा र शक्तिको कुनै प्रभाव हुँदैन।
"जबरिया"को सिद्धान्तलाई धर्मशास्त्र विधि र वास्तविक अनुभूति दुवैद्वारा अस्वीकार गरिएको छ।
धर्मशास्त्रीय विधिको दृष्टिकोणले हेर्दा अल्लाहले मानिसमा इच्छाशक्ति र कार्यक्षमता प्रदान गर्नुभएको छ, साथै उहाँले कार्यहरूलाई पनि उसैले गरेको कार्यको रूपमा उल्लेखि गर्नुभएको छ, अल्लाहले भन्नुहुन्छ: { तिमीहरूमध्ये कोही यो संसार चाहन्छ र कोही परलोकको अभिलाषि छ । } [आल-इमरान:१५३] र अर्को ठाउँमा भनिएको छ: "र, भनिदेऊ– यो नितान्त सत्य (कुरआन) तिम्रा पालनकर्ता को तर्फबाट रहेको छ । अनि, अब जसले चाहन्छ विश्वास गरोस्, र जसले चाहन्छ अस्वीकार गरोस्। हामीले अत्याचारीहरूकालागि यस्तो अग्नि तयार गरेका छौं जसको ज्वालाले तिनीहरूलाई लपेट्नेछ । } [अल-कहफ २९] र एक अन्य ठाउँमा अल्लाहले भन्नुहुन्छ: { जसले सत्कर्म गर्छ आफ्नै फाइदाकोलागि गर्छ र जसले कुकर्म गर्छ, त्यसको दुष्परिणाम उसैमाथि आउनेछ । र, तिम्रा पालनकर्ता भक्तहरूमाथि कत्ति पनि अत्याचार गर्दैनन् । } [फुस्सिलत: ४६]
वास्तविक अनुभूतिगत जबरियाको खण्डन: प्रत्येक मानिसको आफ्नो स्वैच्छिक कार्यहरू हुन्छन्, जसलाई उसले आफ्नै मनसायले गर्छ, जस्तै: खानु, पिउनु र किनबेच गर्नु आदि, र गैर-स्वैच्छिक कार्यहरू जुन उसको नियत विना हुन्छ, जस्तै: ज्वरोको तीव्रताबाट शरीर काँप्नु र माथिबाट तल झर्नु, इत्यादि यी दुइ बीचको भिन्नता उसलाई राम्ररी थाहा हुन्छ। पहिलो अवस्थामा, ऊ आफ्नो इच्छाले कुनै बाध्यता बिना नै स्वतन्त्र रूपमा कार्य गर्दछ । तर दोस्रो अवस्थामा, ऊ बाध्य हुन्छ र त्यो कार्य गर्न नचाहेको भए पनि उसमाथि घटित हुन्छ।
कदरिया समूहको सिद्धान्त धर्मशास्त्रीय विधि र तार्किक सन्दर्भ दुवैको अस्वीकृत गरिएको छ:
धर्मशास्त्रीय विधिको दृष्टिकोणबाट हेर्ने हो भने निस्सन्देह, महान् अल्लाह हरेक कुराको सृष्टिकर्ता हुन्, र हरेक कुरा उनको इच्छाले हुन्छ। अल्लाहले आफ्नो किताबमा स्पष्ट पार्नुभएको छ कि मानिसको कर्म कार्य उहाँको इच्छाद्वारा मात्र हुन्छन्। अल्लाहले भन्नुहुन्छ: { र, यदि अल्लाहले चाहेको भए तिनीहरूले रसूलहरू पश्चात् स्पष्ट निशानीहरू पुगेपछि आपसमा झगडा गर्ने थिएनन् । परन्तु, तिनीहरूबीच मतभेद भयो अनि तिनीहरूमध्ये केही आस्थावान भए भने केहीले कुफ्र (अनास्था प्रदर्शन) गरे । अल्लाहले चाहेको भए तिनीहरू आपसमा झगडा गर्ने थिएनन् । तर, अल्लाह जे चाहन्छन् त्यो गर्दछन् । } [अल-बकरह: २५३] अर्को ठाउँमा, अल्लाहले भन्नुहुन्छ: {र, यदि हामीले चाहेको भए प्रत्येक व्यक्तिलाई उसको सत्मार्ग प्रदान गर्ने थियौं । तर, हामीतर्फबाट हामीले नरकलाई जिन्न र मानवद्वारा भर्नेछौं भन्ने वचन सिद्ध भइसकेको छ । } [ सज्दा १३]
र तार्किक आधारमा बुझ्ने हो भने वास्तवमा, सम्पूर्ण ब्रह्माण्ड अल्लाहको स्वामित्वमा रहेको छ, र मानव पनि यसै ब्रह्माण्डको एक अंश हो। त्यसैले, मानिस स्वयं अल्लाहको स्वामित्वमा रहेको छ, त्यसैले यो सम्भव छैन कि कुनै पनि दासले आफ्नो मालिकको सम्पत्तिमा उसको अनुमति र इच्छा बिना कुनै क्रियाकलाप गर्न सकोस्।
*
इस्लामी आस्थाका लक्ष्य र उद्देश्यहरू
लक्ष्यको विभिन्न अर्थहरू हुन्छन्, जसमध्ये दुई वटा निम्नानुसार छन्: १. लक्ष्य जुन निशाना बनाउन राखिन्छ । २. त्यो चीज जुन इच्छित र अभिप्रेत छ।
इस्लामी आस्थाका लक्ष्यहरू: इस्लामी आस्थाको उद्देश्यहरू र महान लक्ष्यहरू, जुन यसलाई मान्नुको परिणामस्वरूप प्राप्त हुन्छन्, धेरै र विविध छन्। तिनीहरू मध्ये केही यस प्रकार छन्:
पहिलो: नीयत र उपासना केवल अल्लाहका लागि शुद्ध राख्नु: किनभने केवल उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ, उहाँको कुनै साझेदार छैन। त्यसैले, उद्देश्य (नीयत) र उपासना (इबादत) केवल उहाँकै लागि हुनु अनिवार्य छ।
दोस्रो: इस्लामी आस्था विहीन मन र विचारलाई अनिश्चितता तथा अव्यवस्थित सोचबाट मुक्त गर्नु: किनभने इस्लामी आस्था र विश्वास नभएको हृदय या त विश्वासविहीन भएर केवल भौतिक वस्तुहरूको पूजा गर्ने हुन्छ, अथवा भ्रमपूर्ण विश्वास र अन्धविश्वासमा भुलेको हुन्छ।
तेस्रो: मन र आत्माको शान्ति: इस्लामी आस्थामा विश्वास गर्ने व्यक्ति कुनै पनि आत्मिक र मानसिक चिन्ताबाट पीडित हुँदैन, किनकि यस आस्थाले उसको र सत्य सृष्टिकर्ता बीच बलियो सम्बन्ध निर्माण हुन्छ, त्यसैले ऊ अल्लाहलाई आफ्नो प्रभु, व्यवस्थापक र विधिविधान निर्धारण गर्ने पालनकर्ता को रूपमा स्वीकारेर सन्तुष्ट हुन्छ। फलस्वरूप उसको हृदय आफ्नो ईश्वरको न्याय र फैसलाबाट सन्तुष्ट रहन्छ र इस्लामको सत्यताको सिलसिलामा उसको हृदय खुला हुन्छ र उसले इस्लामको विकल्प खोज्दैन।
चौथो: इस्लामी आस्थाले मानिसलाई अल्लाहको इबादत (उपासना) वा सृष्टिहरूसँगको व्यवहारमा कुनै किसिमको विचलन वा विकृति हुनबाट जोगाउँछ। किनभने यसका आधारभूत सिद्धान्तहरूमध्ये एक हो—सन्देशवाहकहरूप्रति विश्वास राख्नु, जसले सही उद्देश्य र शुद्ध कार्यप्रणालीको अनुसरण गर्न मार्गदर्शन गर्छ।
पाँचौं: इस्लामी आस्थाले मानिसलाई दृढ र गम्भीर बनाउँछ, जसले गर्दा ऊ कुनै पनि पुण्य कार्य गर्ने अवसरलाई खेर जान दिँदैन, बरु त्यसलाई सदुपयोग गर्छ। साथै, कुनै पनि पापको ठाउँ देखेमा त्यसबाट टाढा रहन्छ, किनभने यस आस्थाको आधारभूत सिद्धान्तहरूमा पुनःजीवित हुने र कर्मअनुसारको प्रतिफलमा विश्वास राख्ने जस्ता महत्वपूर्ण आस्था पनि समावेश छ।
महान् अल्लाहले भन्नुहुन्छ: { सबैको लागि तिनीहरूको कर्म अनुसार स्तरहरू छन्, र तिम्रो पालनकर्ता यी कर्महरूबाट बेखबर छैन। } [अल-अनाम: १३२] यसरीनै, पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) ले मानिसहरूलाई यो लक्ष्य हासिल गर्न प्रोत्साहित गर्नुभएको छ। उहाँले भन्नुहुन्छ, "एउटा बलियो र बहादुर आस्थावान अल्लाहको नजिक कमजोर इमानवाला भन्दा धेरै प्रिय र उत्तम छ र हरेक विश्वासीमा कल्याण र भलाइ हुन्छ।" फेरी भन्नुभयो, "त्यो चिजको लोभ गर जसले तिमीलाई लाभ दिन्छ। र यसका लागि अल्लाहसँग मद्दत माग र आजित न बन, र यदि तिमीलाई कुनै अप्ठ्यारो आइपर्छ भने यस्तो नभन कि 'यदि मैले यसो यसो गरेको भए यसरी हुने थियो'। बरु, यो भन कि 'अल्लाहले यहीँ भाग्यमा लेख्नुभएको थियो र उहाँले जे चाहानु भयो गर्नुभयो'। किनभने ('यदि') भन्नाले शैतानको कार्यको ढोका खोल्छ।" (मुस्लिम)
छैटौं: इस्लामी आस्थाले बलियो समुदायको निर्माणमा सहयोग गर्दछ, जुन आफ्नो धर्मको स्थापना र यसको आधारहरूको सुदृढीकरणका लागि सबै प्रकारका बलिदान दिन तयार रहन्छ, र यस मार्गमा आउने कुनै पनि कठिनाइको पर्वाह गर्दैन। यस बारेमा अल्लाहले भन्नुहुन्छ: { वास्तवमा आस्थावान त ती व्यक्तिहरू हुन् जसले अल्लाह तथा उनका रसूलमाथि ईमान ल्याए, अनि उनीहरूले कुनै शङ्कामा परेनन्, र आफ्नो धन–सम्पत्ति र ज्यानसमेत लगाएर अल्लाहको मार्गमा जिहाद गरे, उनीहरू नै सच्चा हुन् । } [अल-हुजुरात: १५]
सातौं : इस्लामी आस्थामा विश्वास गर्नुले व्यक्तिगत र सामूहिक सुधार मार्फत दुनियाँ र परलोकमा सफलता र महान् अल्लाह बाट पुरस्कार र सम्मान प्राप्त हुन्छ। यसबारेमा अल्लाहले भन्नुहुन्छ: { पुरुष होस् वा महिला जसले ईमान स्वीकार गरे र सत्कर्म गरे, हामीले अवश्य नै उसलाई पवित्र जीवनयापन गराउनेछौं, र उनीहरूले गरेका कार्यहरूको उत्तम प्रतिदान प्रदान गर्नेछौं। } [अल-नहल: ९७]
यी इस्लामी आस्थाका केही उद्देश्यहरू हुन्, हामी अल्लाहबाट यी उद्देश्यहरूलाई हामी र समस्त मुसलमानहरूका लागि साकार पारिदिन प्रार्थना गर्दछौं; उहाँ दयालु र महिमामय हुनुहुन्छ, र समस्त प्रशंसा अल्लाह, संसारका पालनकर्ताको लागि हो।
र अल्लाहले हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) लाई, उनका परिवारलाई, र उनका सबै साथीहरूलाई आशिष् प्रदान गरुन्।
यो पुस्तक लेखक
मोहम्मद बिन सालिह अल-उसैमिन को कलमद्वारा समापन भएको हो।
Related books
All books
नयाँ मुस्लिमको लागि संक्षिप्त उपयोगी पुस्तिका32 languagesनयाँ मुस्लिमको लागि संक्षिप्त उपयोगी पुस्तिका
संकलन मुहम्मद अश्-शहरी १४४१-२०२० बिस्मिल्ला हिर्रहमा निर्रहीम (अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु) । भूमिका
तीन मूल सिद्धान्त र त्यसका प्रमाणहरू73 languagesतीन मूल सिद्धान्त र त्यसका प्रमाणहरू
यस पुस्तकमा मुस्लिमले जान्नैपर्ने; अल्लाह, उहाँको नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) र इस्लाम धर्मको ज्ञान र पहिचान जस्ता आधारभूत सिद्धान्तहरूलाई समेटिएको छ। यसले ईमान र असल कर्महरू निर्माण गर्न यी सिद्धान्तहरूको महत्त्वलाई कुरआन र हदीसको प्रकाशमा स्पष्ट पारेको छ।
इस्लाम अल्लाहका सबै दूतहरूको धर्म हो।85 languagesइस्लाम अल्लाहका सबै दूतहरूको धर्म हो।
इस्लामको अर्थ भनेको सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ता र पालनकर्ता अल्लाहसामु आफूलाई समर्पण गर्नु तथा प्रेम र आदरका साथ उहाँको पालन गर्नु हो । इस्लामको आधार भनेको अल्लाहमा विश्वास गर्नु, उहाँ नै हाम्रो सृष्टिकर्ता हुनुहुन्छ र उहाँ बाहेक अरू सबै उहाँका सिर्जना हुन्, केवल उहाँ नै पूजनीय र उपास्य हुनुहुन्छ र उहाँको कोही साझेदार वा प्रतिद्वन्द्वी छैन, उहाँका सुन्दर नामहरू र उच्चतम गुणहरू छन्, उहाँ हरेक दृष्टिले एकदम सम्पन्न र परिपूर्ण हुनुहुन्छ, उहाँ नत कसैबाट जन्मिनुभएको हो नत कोही उहाँबाट जन्मेको हो, उहाँ जस्तो र उहाँ बराबर कोही छैन, उहाँभित्र नत कुनै सृष्टि निहित छ नत उहाँ कुनै सृष्टिभित्र…
الدروس المهمة لعامة الأمة78 languagesالدروس المهمة لعامة الأمة
يهدف الكتاب إلى تعليم المسلمين أساسيات دينهم بطريقة مبسطة وشاملة. يتناول مجموعة من الدروس المهمة مثل قراءة الفاتحة وقصار السور، وأركان الإسلام والإيمان، وأقسام التوحيد والشرك، وشروط وأركان وواجبات الصلاة، بالإضافة إلى مبطلاتها، مع بيان مختصر لشروط الوضوء وفروضه ونواقضه. كما يسلط الضوء على التحلي بالأخلاق الإسلامية والآداب الشرعية، ويقدم إرشادات لطيفة حول تجهيز الميت والصلاة عليه ودفنه.