Skip to content

"तिमीहरू सत्य बोल्ने गर, किनकि सत्यले धर्मको बाटो तर्फ डोर्‍याउँछ र धार्मिकताले स्वर्गमा पुर्‍याउँछ

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"तिमीहरू सत्य बोल्ने गर, किनकि सत्यले धर्मको बाटो तर्फ डोर्‍याउँछ र धार्मिकताले स्वर्गमा पुर्‍याउँछ। मानिस निरन्तर सत्य बोल्छ र सत्यको खोजीमा रहन्छ, यहाँसम्म कि ऊ अल्लाहकहाँ ‘सिद्दीक’ (सत्यवादी) लेखिन्छ। तिमीहरू झूटबाट बच, किनकि झूटले पापको बाटो देखाउँछ र पापले नरकमा लैजान्छ। मानिस निरन्तर झूट बोल्छ र झूटमै लागिरहन्छ, यहाँसम्म कि ऊ अल्लाहकहाँ ‘झूटा’ लेखिन्छ।"

«عَلَيْكُمْ بِالصِّدْقِ، فَإِنَّ الصِّدْقَ يَهْدِي إِلَى الْبِرِّ، وَإِنَّ الْبِرَّ يَهْدِي إِلَى الْجَنَّةِ، وَمَا يَزَالُ الرَّجُلُ يَصْدُقُ وَيَتَحَرَّى الصِّدْقَ حَتَّى يُكْتَبَ عِنْدَ اللهِ صِدِّيقًا، وَإِيَّاكُمْ وَالْكَذِبَ، فَإِنَّ الْكَذِبَ يَهْدِي إِلَى الْفُجُورِ، وَإِنَّ الْفُجُورَ يَهْدِي إِلَى النَّارِ، وَمَا يَزَالُ الرَّجُلُ يَكْذِبُ وَيَتَحَرَّى الْكَذِبَ حَتَّى يُكْتَبَ عِنْدَ اللهِ كَذَّابًا».

मुत्तफकुन अलैहि
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सत्य बोल्न आदेश दिनुभएको छ, किनकि सत्यले असल कर्मतर्फ मार्गदर्शन गर्छ, र धार्मिकताले असल काममा दृढ रहने व्यक्तिलाई स्वर्गतर्फ पुर्‍याउँछ भनी उहाँले स्पष्ट गर्नुभएको छ। मानिस बाह्य तथा आन्तरिक रूपमा सधैं सत्यनिष्ठ र इमानदार रहिरहँदा, अन्ततः उसले ‘सिद्दीक’ भन्ने उपाधि प्राप्त गर्छ। ‘सिद्दीक’ भन्नाले इमानदारीको सर्वोच्च स्थानलाई जनाउँछ। त्यसपछि उहाँले मिथ्या र असत्य बोल्ने बानीबारे चेतावनी दिनुभयो; किनभने यसले सत्य र निष्ठाबाट टाढा लैजान्छ तथा दुष्टता, पाप एवं अनैतिकतातर्फ धकेल्छ, जसको अन्तिम परिणाम नर्क हो। मानिस निरन्तर झूट बोल्दै जान्छ, यहाँसम्म कि ऊ अल्लाहको लेखमा 'महाझूटा' (कज्जाब) भएको लेखिन्छ।

हदीसका केही फाइदाहरू

सत्यता र इमानदारी एक उत्कृष्ट चरित्र हो, जुन प्रयासबाट प्राप्त हुन्छ। मानिस सधैं सत्य बोल्छ र सत्यको खोजीमा रहन्छ, यहाँसम्म कि इमानदारी उसको स्वाभाविक गुण बन्दछ र ऊ अल्लाहकहाँ ‘सिद्दीक’ (सत्यवान) लेखिन्छ।

झूट बोल्नु एक निन्दनीय र निकृष्ट स्वभाव हो, जसलाई मानिसले लामो समयसम्म बोली र व्यवहारमा झूटको अभ्यास गरेर विकास गर्दछ, यहाँसम्म कि यो उसको स्वभाव र चरित्र नै बन्छ। फलस्वरुप अल्लाहकहाँ उसलाई महाझूटाहरूमध्ये लेखिन्छ।

सत्य शब्दको प्रयोग केवल बोलीको सत्यता (अर्थात् असत्यको विपरित) मा मात्र सीमित नभई, यसले नियतको शुद्धता अर्थात् 'इख्लास' (सत्यनिष्ठा), सत्कर्म गर्ने दृढ सङ्कल्प र कर्महरूको सत्यतालाई समेत समेट्छ। कर्ममा सत्यताको न्यूनतम मापदण्ड भनेको व्यक्तिको बाह्य र आन्तरिक (गोप्य र प्रकट) अवस्था एकनास हुनु हो। यसका अतिरिक्त, भय र आशा आशा र अन्य आध्यात्मिक मामिलाहरूमा पनि सत्यता अनिवार्य हुन्छ। तसर्थ, जसले आफूलाई यी सम्पूर्ण गुणहरूले सुशोभित गर्छ, ऊ ‘सिद्दीक’ (परम सत्यवादी) को दर्जामा पुग्छ; र जसले यीमध्ये केही गुणहरू मात्र प्राप्त गर्दछ, ऊ ‘सादिक’ (सत्यवादी) कहलाउँछ।

श्रोतहरू

सही बुखारी (8/ 25) (6094).

सही मुस्लिम (4/ 2013) (2607).

थप (8)

توضيح الأحكام من بلوغ المرام.

لعبد الله البسام (7/ 479).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (10/ 313).

فتح ذي الجلال والإكرام.

لابن عثيمين (6/ 417).

سبل السلام بشرح بلوغ المرام.

لمحمد الصنعاني (2/ 686).