Skip to content
यात्राको शिष्टाचार र यसका नियमहरू

यात्राको शिष्टाचार र यसका नियमहरू

समस्त प्रशंसा अल्लाहको लागि जो सारा संसारका पालनकर्ता हुनुहुन्छ, र दरूद एवं सलाम होस् हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि, उहाँका सन्तान र सबै साथीहरू माथि। तत्पश्चातः यो सानो लेख, यात्राका आचरण र त्यसका आदेशहरूका बारेमा हो, यसमा, हामीले यात्रुलाई आवश्यक पर्ने प्रायः सबै कुराहरू स्पष्ट पार्ने आकांक्षा गरेका छौं। हामी अल्लाहसँग प्रार्थना गर्छौं कि उहाँ यसलाई आफ्नै लागि मात्र खालिस बनाउनुहोस्, र यसबाट सम्पूर्ण मुसलमानहरूलाई लाभ प्रदान गर्नुहोस्। पहिलो : यात्राको शिष्टाचार

Language: lang_ne
Prepared by: बहुभाषिक इस्लामी सामग्री सेवा संस्थाको प्राज्ञ परिषद
Version: 3.0

यात्राको शिष्टाचार र यसका नियमहरू समस्त प्रशंसा अल्लाहको लागि जो सारा संसारका पालनकर्ता हुनुहुन्छ, र दरूद एवं सलाम होस् हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि, उहाँका सन्तान र सबै साथीहरू माथि।

तत्पश्चातः

यो सानो लेख, यात्राका आचरण र त्यसका आदेशहरूका बारेमा हो, यसमा, हामीले यात्रुलाई आवश्यक पर्ने प्रायः सबै कुराहरू स्पष्ट पार्ने आकांक्षा गरेका छौं।

हामी अल्लाहसँग प्रार्थना गर्छौं कि उहाँ यसलाई आफ्नै लागि मात्र खालिस बनाउनुहोस्, र यसबाट सम्पूर्ण मुसलमानहरूलाई लाभ प्रदान गर्नुहोस्।

बहुभाषिक इस्लामी सामग्री सेवा संस्थाको प्राज्ञ परिषद

पहिलो : यात्राको शिष्टाचार

हज्ज वा यस्तै अन्य उपासनाका निमित्त यात्रा गर्नेहरूका लागि निम्न कुराहरूमा ध्यान राख्नुपर्छ।

१. उचित समय, सवारी साधन, यात्रा-साथी र बाटोहरू धेरै भए कुन बाटो जाने भनेर अल्लाहसित इस्तिखारा (सल्लाह) गर्नुपर्छ, यसरी नै यसका बारेमा अनुभव भएका र सत्कर्मीहरूसित सल्लाह लिनु पनि उचित हुन्छ, जहाँसम्म हज र उम्रा सम्बन्धी कुरा छ; यी निःसन्देह उत्तम कार्य हुन् जसमा कुनै शङ्का छैन, इस्तखारा गर्ने तरिका: दुई रक्अत नमाज पढेर, नबी (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा प्रमाणित (इस्तिखाराको) दुआ गर्नु पर्छ।

२. हज र उम्रा गर्ने व्यक्तिले आफ्नो हज र उम्रा मार्फत अल्लाहको खुशी र उहाँको निकटता प्राप्त गर्ने उद्देश्य राख्नुपर्छ, र उसले सांसारिक लाभ, घमण्ड, उपाधि प्राप्त गर्ने, वा देखाउने र प्रतिष्ठा खोज्ने उद्देश्यबाट सावधान रहनुपर्छ; किनभने यसले कर्मलाई निष्फल र अस्वीकार्य बनाउँछ। अल्लाहले भन्नु भएको छ : {भनिदेऊ म तिमीहरूजस्तै एक मनुष्य मात्र हुँ । मतर्फ प्रकाशना आउँछ कि तिमीहरू सबैका पूज्य एक मात्र छन् । अतः जोकोही आफ्ना रबसित भेटको आशा राख्दछ उसले सत्कर्म गर्नुपर्छ, र आफ्ना रबको उपासनामा कसैलाई साझेदार बनाउनु हुँदैन ।} [अल कहफ: ११०] हदीसे कुद्सीमा भनिएको छ: म सबै साक्षीहरू भन्दा साझेदारीदेखि नि:स्पृह छु, जसले कुनै काममा मलाई छोडेर अरूलाई साझेदार बनायो, म त्यसलाई र उसको साझेदारीलाई छोड्छु। [1] [1] यसलाई इमाम मुस्लिमले हदीस नं. (२९८५) मा वर्णन गर्नुभएको छ।

३. हज र उम्रा गर्ने व्यक्तिले हज र उम्राका नियमहरूका बारेमा जान्नु पर्छ, यात्रा गर्न निस्किनु भन्दा पहिला यात्राका नियमहरू थाहा पाउनु पर्छ; नत्र कुनै वाजिब छुट्ने अथवा कुनै हराम (अवैध) काममा पर्न सक्ने सम्भावना हुन्छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ: "अल्लाह जसको लागि भलाई चाहनु हुन्छ उसलाई दीन (इस्लाम धर्म) का बारेमा ज्ञान दिनु हुन्छ।" [२] [३] यो हदीसलाई इमाम बुखारीले (३११६) नम्बर र इमाम मुस्लिमले (१००) नम्बरमा वर्णन गर्नु भएको छ।

४. हज र उम्रा गर्ने व्यक्तिले हज र उम्राका लागि हलाल धन छान्नुपर्छ, किन भने अल्लाह पवित्र हुनु हुन्छ र पवित्र धन बाहेक कबुल गर्नु हुन्न; साथै, हराम (अवैध) धन दुआ कबुल नहुने कारण बन्छ।

५. हरेक प्रकारका पाप र अवज्ञाबाट तौबा (पश्चात्ताप) गर्नु पर्छ, यदि मान्छेहरूको (हक) अन्यायका साथ लिएको भए फर्काउनु र उनीहरूसँग माफी माग्नु आवश्यक छ, चाहे त्यो प्रतिष्ठा (इज्जत), धन, वा अन्य कुनै कुरासँग सम्बन्धित किन नहोस्।

६. यात्रीका लागि वसीयत (इच्छापत्र) लेखेको राम्रो हुन्छ, र आफुले पाउने वा आफ्नो जिम्मामा दिनु पर्ने सबै बारे पनि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ: कुनै पनि मुसलमान व्यक्ति जससँग वसीयत गर्नुपर्ने कुनै कुरा छ भने उसले दुई रात बिताउनु हुँदैन — यस हालतमा केशि वसीयत लेखेर नराखेको नहोस। [३] वसीयतमाथि गवाह राख्नुपर्छ, र आफ्नो ऋण तिर्नु पर्छ, आफूसित भएका अंश वा धरोहरहरूलाई उनीहरूको हकदारहरूलाई फर्काउनु पर्छ, वा त्यसलाई राख्नको लागि अनुमति लिनु पर्छ । [३] यो हदीसलाई इमाम बुखारीले बुखारी शरीफमा (२७३८) नम्बर र इमाम मुस्लिमले (१६२७) नम्बरमा वर्णन गर्नु भएको छ ।

७. यात्राका लागि निस्किन लागेको मान्छेले सकेसम्म सज्जन साथी खोज्ने प्रयास गर्नुपर्छ, साथै त्यो साथी इस्लामी ज्ञान (शरई इल्म) हासिल गर्ने व्यक्तिहरूमध्ये होस् भनि प्रयास गर्नुपर्छ। यसले उसको सफलतामा मद्दत गर्छ र यात्रा, हज तथा उम्रामा गल्ती हुनबाट जोगाउँछ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कथनका अनुसार: "मान्छे आफ्नो साथीको धर्ममा हुन्छ, अत: मान्छेले कसलाई साथी बनाउनु पर्छ भनेर आफै विचार गरे हुन्छ ।"[४] नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यस भनाइका अनुसार पनि: "मोमिन बाहेक कसैलाई साथी नबनाऊ र तिम्रो खाना संयमी बाहेकले नखाओस् ।" [५] [४] यसलाई इमाम अबू दाऊदले हदीस नम्बर (४८३३) मा वर्णन गर्नुभएको छ। [५ ] यसलाई इमाम अबू दाऊदले (४८३२) नम्बरमा, र तिर्मिजीले (२३९५) नम्बरमा उल्लेख गर्नुभएको छ।

८. यात्रामा जाने व्यक्तिको लागि आफ्नो परिवार, आफन्त, छिमेकी र साथीभाइसित विदाइ लिनु राम्रो हो। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जो कोही यात्रा गर्न चाहन्छ, उसले आफु पछाडि छोडेर जाने आफ्ना परिवार वा प्रियजनलाई: 'अस्तौदिउकुम अल्लाहुल्लज़ी ला युज़ीउ वदाइअहु' भन्नुपर्छ।" [६] (अर्थात: म तिमीहरूलाई अल्लाहको जिम्मा लगाउँछु जसको जिम्मा लागेका चिजहरू नष्ट हुँदैनन्। ) नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब उहाँका कुनै साथी यात्रा गर्न चाहन्थे, उहाँले उनीहरूलाई बिदा गर्नुहुन्थ्यो।, र भन्नुहुन्थ्यो: "अस्तौदिउ अल्लाह दीनक व अमानतक व ख़वातिम अमलक।" [७] (अर्थात: म तिम्रो धर्म तिम्रो अमानत (नासो) र तिम्रो कर्महरूको अन्त्यलाई अल्लाहको जिम्मा लगाउँछु ।) यात्रामा जाने व्यक्तिले जब मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) सित कुनै सल्लाह (वसीयत) माग्थ्यो भने, उहाँले भन्नुहुन्थ्यो: "ज़व्वदक अल्लाहु तक्वा, व ग़फर ज़म्बक, व यस्सर लकल्खैर हैषुमा कुन्त।" [८] (अर्थात: तिमी जहाँ भए पनि अल्लाहले तिमीलाई तक्वा (संयमता) प्रदान गरून्, र तिम्रा पापहरू क्षमा गरून् र तिम्राे लागि भलो कुरा सजिलो होस्।) अल्लाहका नबी(सल्लल्लाहु अलैहि वसल्लम) तिर एक जना मान्छे आयो, जो यात्रा गर्न चाहन्थ्यो । अत: उसले भन्यो : हे अल्लाहका रसूल ! (सल्लल्लाहु अलैहि वसल्लम) मलाई वसिय्यत गर्नु होस्। सो उहाँले भन्नुभयो : "तिमीलाई म अल्लाहको भय र संयमताको वसीयत गर्छु, र हरेक उच्च ठाउँमा अल्लाहु अक्बर भन्नु।" जब त्यो व्यक्ति गए, तब उहाँले भन्नुभयो: "हे अल्लाह! उसका लागि धरती खुम्च्याइ दिनुहोस् र यसमाथि यात्रा हलुङ्गो बनाइ दिनुहोस्।" [९] [६] यसलाई इमाम तब्रानीले हदीस नं. (८२३) मा वर्णन गर्नुभएको छ। [७] यसलाई इमाम अहमदले आफ्नो मुस्नदको हदीस नं. (४५२४) मा वर्णन गर्नुभएको छ। [८] यसलाई इमाम तिर्मिजीले हदीस नं. (३४४४) मा वर्णन गर्नुभएको छ। [९] यसलाई इमाम अहमदले आफ्नो मुस्नदको हदीस नं. (९७२४)मा वर्णन गर्नुभएको छ।

९. यात्रामा घन्टी, बाजागाजा र कुकुर साथमा लिएर जान राम्रो हुँदैन। हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) को हदीसका आधारमा कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यस्तो यात्री दलमा फरिश्ताहरू साथ हुँदैनन् जसमा कुकुर र घण्टी हुन्छ।" [१०] [१०] यसलाई इमाम मुस्लिमले हदीस नं. (२११३) मा वर्णन गर्नुभएको छ।

१०. यदि कसैसँग एक भन्दा धेरै श्रीमतीहरू छन् भने तीमध्ये कुनै एकलाई लिएर जान लाग्दा कसलाई लिएर जाने भनेर चिठ्ठा लेखेर नाम निकाल्नुपर्दछ, जसको नाम निस्किन्छ उसलाई साथ लिएर जानुपर्छ, हजरत आइशा (रजियल्लाहु अन्हा) को हदीसका अनुसार, उहाँ भन्नुहुन्छ: "अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जब कुनै यात्राको योजना बनाउनु हुन्थ्यो, आफ्नी श्रीमतीहरू बीच चिठ्ठा निकाल्नु हुन्थ्यो, अनि जसको नाम तीमध्ये निस्किन्थ्यो उनलाई आफ्नो साथमा लिएर जानु हुन्थ्यो।[११] [११] यो हदीसलाई इमाम बुखारीले (२५९३) नम्बर र इमाम मुस्लिमले (२७७०) नम्बरमा वर्णन गर्नु भएको छ।

११. यदि सम्भव भएमा, यात्राको लागि बिहीबारको बिहानको सुरुवातमै निस्कनु सुन्नत (मनपर्ने काम) हो किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस्तै गर्नुहुन्थ्यो। कअब बिन मालिक (रजियल्लाहु अन्हु) भन्नुहुन्छ: "रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) जब यात्रामा निस्कनुहुन्थ्यो, तब प्रायः बिहीबारको दिनमै निस्कनुहुन्थ्यो।" [१२] [१२] यसलाई इमाम बुखारीले हदीस नम्बर (२९४९) मा नक्कल गर्नु भएको छ।

१२. यात्रा वा अन्य बेलामा पनि निस्किन लाग्दा घरबाट निस्किने दुआ पढ्नु राम्रो हुन्छ, अत: निस्किन लाग्दा यसो भन्नुपर्छ: "बिस्मिल्लाह, तवक्कल्तु अलल्लाह, व ला हौल वला कुव्वत इल्ला बिल्लाह, अल्लाहुम्म इन्नी अऊज़ु बिक अन् अदिल्ल औ उदल्ल, औ अज़िल्ल औ उज़ल्ल, औ अज़लिम औ उज़लम, औ अजह्लु औ युज्हल अलैय्य।" [१३] (अल्लाहको नामले (यो काम सुरु गर्छु), मैले अल्लाहमा भरोसा राखें, र अल्लाहबाहेक कुनै शक्ति र सामर्थ्य छैन। हे अल्लाह! म तिमीबाट शरण माग्छु — कि म बाटो बिराऊँ वा कसैले मलाई बिराउने बनाओस्, म चिप्लिऊँ वा मलाई चिप्ल्याइयोस्, म अन्याय गरूँ वा ममाथि अन्याय गरियोस्, म अज्ञान देखिऊँ वा ममाथि अज्ञानता देखाइयोस्।) [१३] यसलाई इमाम अबू दाऊदले हदीस नम्बर (५०९४) मा वर्णन गर्नुभएको छ।

१३. उसका लागि आफ्नो सवारी साधनमा चढ्न लाग्दा यात्राको दुआ पढ्नु मुस्तहब हो—चाहे त्यो सवारी, गाडी, जहाज, वा अरू कुनै सवारी साधन होस्, अत: उसले भन्ने: "अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाहु अकबर - अनि भन्ने: {सुब्हानल्लज़ी सख्खर लना हाज़ा वमा कुन्ना लहू मुक्रिनीन, व इन्ना इला रब्बिना लमुनकलिबून} [अज़-ज़ुख्रुफ : १४] अल्लाहुम्म इन्ना नसअलुक फी सफरिना हाजल्-बिर्र वत-तक्वा, व मिनल्-अमलि मा तर्ज़ा। अल्लाहुम्म हव्विन 'अलैनास्सफर, वत्वी 'अन्ना बुउ्दहु। अल्लाहुम्म अन्तस्साहिबु फिस्सफर, वल्खलीफतु फ़िल-अह्ल। अल्लाहुम्म इन्नी अउजु बिक मिन व'अषाइस्सफर [१४], वकआबतिल मन्ज़र [१५], व सूइल मुन्कलबि [१६] फिल्मालि वल-अह्ल....."[१७] (अनुवाद : "अल्लाह सबैभन्दा महान् हुनुहुन्छ, अल्लाह सबैभन्दा महान् हुनुहुन्छ, अल्लाह सबैभन्दा महान् हुनुहुन्छ। {पवित्र हुनुहुन्छ उहाँ (अल्लाह) जसले यो (सवारी) हामीलाई वशमा गर्न दिनुभयो, र हामी त यसलाई नियन्त्रण गर्न सक्दैनौं, अनि निश्चय नै हामी हाम्रा पालनकर्तातर्फ फर्कने छौं} [अज़-ज़ुख़रुफ़: १४] हे अल्लाह, हामी तपाईसित हाम्रो यो यात्रामा सत्कर्म, तक्वा, र तपाईँलाई मनपर्ने कार्यहरू माग्छौँ। हे अल्लाह, हामीमाथि यो यात्रा सजिलो गरिदिनुहोस्, र यसको दूरी हामीबाट घटाइदिनुहोस्। हे अल्लाह, तपाईँ हामीसँग यात्रामा साथ दिने साथी हुनुहुन्छ, र हाम्रो घरमा हाम्रा परिवारको संरक्षक हुनुहुन्छ। हे अल्लाह, म तपाईँसित यात्राको कठिनाइ, दुःखद दृश्यहरू, र धन तथा परिवारमा खराब परिणामहरूबाट तपाईँको शरण माग्दछु।" [१४] (وعثاء السفر): "वअषाइ स्सफर" को अर्थ यात्राको कठिनाइ वा कष्ट हो। अल्इफ्साह अन् मआनि अस्सिहाह (४/२८४) [१५] चिन्ताका कारण रूप बिग्रिएको र मन टुटेको अवस्था। अल्इफ्साह अन् मआनि अस्सिहाह (४/२८४) [१६ ] (المنقلب): "अल-मुन्कलब" भनेको फर्किनु। अल्इफ्साह अन् मआनि अस्सिहाह (४/२८४) [१७] यसलाई इमाम अहमदले आफ्नो मुस्नदमा (६३७४) मा वर्णन गर्नुभएको छ ।

१४. यात्रीका लागि एक्लै यात्रा राम्रो मानिएको छैन। नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कथनका आधारमा: "यदि मान्छेहरूले एक्लै हिँड्नमा के खराबी छ भन्ने कुरा जो मलाई थाहा छ थाहा पाउने हो भने कुनै यात्री रातमा एक्लै यात्रा गर्ने थिएन।" [१८] [१८] यसलाई इमाम बुखारीले (२९९८) नम्बरमा नक्कल गर्नु भएको छ।

१५. यात्रीहरूले एक जनालाई अमीर (जिम्मेवार) बनाउनुपर्छ; यस उद्देश्यले कि उनीहरूमा एकता रहोस्, यो उनीहरूमा सहमती ल्याउनका लागि पनि हो, अनि उनीहरूले चाहेको पूरा गर्नका लागि सहयोगी पनि हुन्छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जब तीन जना यात्राका लागि निस्किए भने उनीहरूले आफूमध्येको एक जनालाई अमीर (जिम्मेवार) बनाउनु पर्छ।" [१९] [१९] यसलाई इमाम अबू दाऊदले (२६०८) नम्बरमा वर्णन गर्नुभएको छ।

१६. यसरी नै अल्लाहले अनिवार्य गर्नु भएका आदेशहरू पुरा गर्न र अवैध कुराहरूबाट बच्ने प्रयास हुनुपर्छ, र उच्च आचरणहरू अपनाउनु पर्छ, अनि आवस्यक परेकाहरूलाई मद्दत र सहयोग गर्नुपर्छ, ज्ञान चाहने वाला र सिकाउनु पर्ने वालालाई सिकाउनु पर्छ, आफ्नो मालमा दाता हुनुपर्छ, अनि माल आफ्नो लाभका काम र साथीहरूको खाँचो र आवस्यकतामा खर्च गर्नु पर्छ।

१७. बाटो खर्च र यात्रामा चाहिने कुराहरू बढाएर राख्नुपर्छ, किनभने कहिले काहीँ आवश्यकताहरू उत्पन्न हुन सक्छन् र परिस्थितिहरू भिन्नै हुन सक्छन्।

१८. यो सबैमा, मान्छेले हाँसिलो अनुहारका साथ मन चोखो राख्नुपर्छ र आफ्ना साथीहरूलाई खुसी बनाउने प्रयास गर्नुपर्छ, यसरी ऊ प्रिय व्यक्ति बन्न सक्छ।

१९. आफ्ना सहयात्रीहरूको कठोर व्यवहार र आफ्ना सोच विपरीत हुँदा धैर्य गर्नुपर्छ, तर उनीहरूका साथमा उत्तम तरिकाले व्यवहार गर्नुपर्छ ताकि उनीहरूबीच सम्मानित र आदरणीय मानियोस्।

२०. यात्रीहरू स्थानमा उत्रिदा सबै एकापसमा नजिकिएर बस्नु राम्रो हुन्छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) का केही साथीहरू यात्रामा कुनै ठाउँमा बसे भने, पहाडी खोँचहरू र उपत्यकाहरूमा छुट्टिएर बस्ने गर्थे। त्यसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यसरी तिमीहरू यो पहाडी खोँचहरू र उपत्यकाहरूमा छुट्टिएर बस्नु वास्तवमा शैतानको तर्फबाट हो ।" [२०] त्यसपछि उनीहरू जब कुनै ठाउँमा बसे भने एक अर्कासित टाँसिएर बस्थे, यहाँसम्म कि यदि तिनीहरूलाई कुनै कपडाले छोपिदिने हो भने सबैलाई ढाक्न सकिन्थ्यो। [२०] यो हदीसलाई इमाम अहमदले आफ्नो मुस्नदको हदीस नं. (१७७३६) मा वर्णन गर्नुभएको छ।

२१. यात्रामा वा कुनै ठाउँमा उत्रिँदा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा प्रमाणित गरिएका दुआहरू पढ्नु मुस्तहब (राम्रो) हो। "अऊजु बिकलेमातिल्लाहित ताम्माति मिन शर्रि मा खलक" (अर्थात्: म सृष्टि गरिएका वस्तुहरूको दुष्टताबाट अल्लाहका वचनहरूद्वारा शरण चाहन्छु।) [२१] यदि उसले यी वाक्यहरू भन्यो भने उक्त ठाउँ छोडेर जानसम्म उसलाई कुनै कुराले दु:ख दिँदैन। [२१] यसलाई इमाम मुस्लिमले हदीस नं. (२७०८) मा वर्णन गर्नुभएको छ।

२२. उकालो चढ्दा "अल्लाहु अक्बर" भन्नु मुस्तहब हो। यसरी नै यदि ओरालो झर्दै छ वा घाटी तिर ओर्लिंदैछ भने "सुब्हानल्लाह" पढ्नु मुस्तहब हो। हजरत जाबिर (रजियल्लाहु अन्हु) भन्नुहुन्छ: "जब हामी उकालो चढ्थ्यौँ "अल्लाहु अक्बर" भन्थ्यौँ र जब ओर्लिन्थ्यौँ "सुब्हानल्लाह" भन्थ्यौँ।" [२२] उहाँहरू ठुलो आवाजमा तक्बीर भन्नु हुन्थेन, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "हे मानिसहरू! आफूलाई शान्त पार। तिमीहरूले न त बहिरोलाई बोलाइरहेका छौ, न त अनुपस्थितलाई। निःसन्देह, उहाँ (अल्लाह) तिमीहरूसँगै हुनुहुन्छ — निःसन्देह उहाँ सुन्ने र नजिक हुनुहुन्छ।" [२३] [२२] यसलाई इमाम बुखारीले हदीस नम्बर (२९९४) मा नक्कल गर्नु भएको छ। [२३] यसलाई इमाम बुखारीले हदीस नम्बर (२९९३) मा नक्कल गर्नु भएको छ।

२३. यात्रा गर्दा राती र विशेषगरी रातको सुरुमा नै हिँड्नु राम्रो हुन्छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको आधारमा: "रातीको समयमा यात्रा गर्दै गर्नुस्, किनकि रातीमा धरती खुम्च्याइन्छ ।" [२४] [२४] यसलाई इमाम अबू दाऊदले हदीस नम्बर (२५७१) मा वर्णन गर्नुभएको छ।

२४. यात्राको बेलामा धेरै भन्दाधेरै दुआ गर्नु राम्रो हुन्छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "तीन प्रकारका दुआहरू अवश्य स्वीकार गरिन्छन्, तिनमा कुनै शंका छैन: पिडित व्यक्तिको दुआ, यात्रामा रहेको व्यक्तिको दुआ, र आमाबाबुले आफ्ना सन्तानका लागि गरेको दुआ।" [२५] [२५] यसलाई इमाम अहमदले आफ्नो मुस्नदको हदीस नं. (१०७७१) मा वर्णन गर्नुभएको छ।

***

दोस्रो: यात्राक्रममा पवित्रता

यात्रा गर्ने व्यक्तिले आफ्नो पवित्रताको ख्याल राख्नुपर्छ — उसले सानो अपवित्रता (हदसे अस्गर)को लागि वुजु गर्नुपर्छ, र जनाबत (ठूलो अपवित्रता) भएको खण्डमा गुस्ल गर्नुपर्छ।

यदि पानी पाइएन वा मात्र खानपिनको लागि थोरै छ भने उसले तयम्मुम(१) गरे हुन्छ।

तयम्मुमको तरिका: माटोमा हातले मसारेर आफ्नो मुख र हत्केलामा स्पर्श गर्ने।

तयम्मुमद्वारा हासिल भएको पवित्रता अस्थायी हुन्छ, जब पानी पाइन्छ, तयम्मुमको प्रभाव समाप्त हुन्छ र अनिवार्य रूपमा पानी प्रयोग गर्नु पर्छ, यदि कसैले जनाबत (ठूलो अपवित्रता) को कारण तयम्मुम गरेको छ र पछि पानी भेट्छ भने, उसले स्नान गर्नुपर्छ, यदि कसैले शौचको कारण तयम्मुम गरेको छ र पछि पानी प्राप्त गर्छ भने, उसले वुजू गर्नु आवश्यक हुन्छ। हदीसमा उल्लेख छ: "पवित्र माटो मुसलमानको लागि वुजूको साधन हो चाहे उसले १० वर्षसम्मै पानी नपाओस् र जब पानी पाउँछ अल्लाहको भय राखोस् र आफ्नो छालामा पानी पुर्याओस्।" [२६] [२६] यसलाई इमाम बज्जारले आफ्नो मुस्नदको हदीस नं. (१००६८) मा वर्णन गर्नुभएको छ।

खुफ्फैन (छालाको मोजा) माथि स्पर्श कुरआन, सन्नत र अह्ले सुन्नतको सर्वसम्मत निर्णयद्वारा साबित छ।

खुफ्फैन (र यस्ता मिल्दाजुल्दा चीजहरू) मा मसह गर्नको लागि केहि शर्तहरू रहेका छन् :

१- खुफ्फैन वा मोजाहरू मसह गर्न मिल्ने र पवित्र हुनुपर्छ।

२- यिनलाई पवित्रता (गुस्ल र वुजू) भएको हालतमा लगाएको हुनु पर्छ।

३- यी (खुफ्फैन) वुजूमा धुन अनिवार्य भएको (खुट्टाको) भाग ढाक्ने हुनुपर्छ।

४- मसह, सानो अपवित्रता (जस्तै: वुजू टुट्दा) मा मात्र हुनुपर्छ; जनाबत (ठूलो अपवित्रता) वा स्नान अनिवार्य हुने अवस्थाहरूमा मसह गर्न मिल्दैन ।

५- मसह, तोकिएको समय सम्म मात्र गर्नुपर्छ, जो स्थायी बासिन्दाका लागि एक दिन एक रात (२४ घण्टा) र यात्रुका लागि तीन दिन तीन रात (७२ घण्टा) हो । सही मतअनुसार, यो अवधि हदस (अपवित्रता) पछि पहिलो पटक मसह गरेको क्षणबाट सुरु हुन्छ र स्थायी बासिन्दाका लागि २४ घण्टामा तथा यात्रुका लागि ७२ घण्टामा समाप्त हुन्छ।

मसह तीन वटा कारणले अमान्य हुन्छ:

१- यदि जनाबत जस्तै नुहाउन अनिवार्य गराउने कुनै कारण उत्पन्न भयो भने, मसह अमान्य हुन्छ, र पूर्ण स्नान गर्नैपर्छ।

२- यदि मसह गरेपछि खुफ्फैन (मोजा) खोलियो भने।

३- शरई रुपमा तोकिएको समयावधि पुरा भएपछि मसह बातिल (अमान्य) हुन्छ ।

***

तेस्रो: यात्रामा नमाज कस्र (१) गर्ने नियमहरू:

यात्राक्रममा पूरा नमाज पढेको भन्दा कस्र गरेको नै उत्तम हुन्छ; तर यात्रीले चार रक्अत वाला नमाज पुरा पढ्यो भने उसको नमाज सही भयो, तर उसले उत्तमता विपरीत गर्यो।

मुसाफिरले (यात्रा गर्ने व्यक्तिले) आफ्नो गाउँ वा सहरका सबै घरहरू पार गरेर बाहिर निस्किएपछि मात्रै नमाज छोट्याउन (क़सर गर्न) सक्छ। यो अधिकतर इस्लामी विद्वानहरूको मत हो।

यदि अश्रको समय सुरु भए पछि यात्रामा निस्केको छ भने उसले त्यो नमाजको कस्र गर्नुपर्दछ; किनकि उसले त्यो नमाजको समय निस्किनु भन्दा पहिला यात्रा आरम्भ गरेको छ।

जोहर र अश्र अनि मग्रिब र इशाको नमाजलाई आवश्यक रहेको खण्डमा एक साथ पढ्नु यात्रीका लागि सुन्नत हो, जब यात्रामा थकाइ र लामो दूरीको यात्रा रहेको हुन्छ, यस अवस्थामा उसको लागि सहज हुने हिसाबले पहिला वा पछि जम्मा गरेर पढ्न सक्छ।

यदि यात्रीलाई एकैसाथ पढ्ने आवश्यकता छैन भने जम्मा नगरेको ठीक, जस्तै मानौँ कुनै ठाउँमा बसेको छ र त्यो ठाउँबाट अर्को नमाजको समय सुरु भए पछि मात्र निस्किनु छ भने जम्मा गरेर नपढेको राम्रो हुन्छ; किनकि यसको आवश्यकता छैन। त्यसै भएर नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले हज्जतुल् विदामा (बिदाई हजमा) मिनामा हुनु भएको बेलामा आवश्यक नभएकाले दुई नमाजहरू जम्मा गर्नु भएन।

र नफिल (स्वेच्छिक) नमाजहरू, यात्रीले स्थायी जस्तै पढ्न सक्छ, अर्थात् दिउँसोको नमाज, तहज्जुद, वित्र र अन्य नफिल नमाजहरू, तर जोहर, मग्रिब र इशाको रवातिब (सुन्‍नत मुअक्कदा) नमाजहरू, यात्रामा नपढ्नु नै सुन्नत हो।

यात्राको क्रममा जहाज, गाडी, डुङ्गा वा अन्य सवारीसाधनमा बसेकै अवस्थामा नै नाफ़िल (सुन्‍नत/स्वेच्छिक) नमाज़ पढ्न मिल्छ। तर फरज (अनिवार्य) नमाज़को लागि झर्नै पर्छ, सिवाय असमर्थताको अवस्थामा।

यात्रीले स्थायी (मुकिम) इमामको पछाडि नमाज पढ्दा सही हुन्छ, र यात्रीले इमाम सँगै पूरा नमाज पढ्नु पर्छ, चाहे उसले पूरै नमाज इमामसँगै पाएको होस्, वा एक रक्अत, वा त्योभन्दा कम पाएको होस्, यहाँसम्म कि यदि उसले अन्तिम तशह्हुदमा (सलाम फेर्नु अघि) मात्रै इमामलाई भेट्यो भने पनि, नमाज पूरा पढ्नुपर्छ, यही नै विद्वानहरूको सही मत हो।

***

चौथो: हज, उम्रा वा यात्राबाट फर्किने शिष्टाचार

मान्छेले अनावश्यक रूपमा यात्रामा लामो समय नबसीकन सकेसम्म चाँडै फर्केको राम्रो हुन्छ, किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "यात्रा पीडाको एउटा अंश हो, जसले तिमीहरूको खानपिन र निद्रालाई बाधा पुर्‍याउँछ, त्यसैले तिमीहरूमध्ये जब कसैको आवश्यकता पूरा हुन्छ, ऊ सकेसम्म चाँडै आफ्ना परिवारकहाँ फर्कियोस्।" [२७] [२७] यो हदीसलाई इमाम बुखारीले (१८०४) नम्बर र इमाम मुस्लिमले (१९२७) नम्बरमा वर्णन गर्नु भएको छ।

जब कुनै व्यक्ति आफ्नो शहर फर्किन लाग्छ, सवारी साधनमा चढ्दा यात्राको दुआ पढ्नु पर्छ, साथै, यो पनि थप्नु पर्छ: "आइबून, ताइबून, आबिदून, लिरब्बिना हामिदून" [२८] (अर्थात: "हामी फर्कनेवाला छौं, तौबा गर्नेवाला छौं, अल्लाहको उपासना गर्नेवाला छौं, र हाम्रा पालनकर्ताको प्रशंसा गर्नेवाला छौं।") [२८] यो हदीसलाई इमाम बुखारीले (१७९७) नम्बर र इमाम मुस्लिमले (१३४२) नम्बरमा वर्णन गर्नु भएको छ।

यात्राबाट फर्कँदा ती दुआ पढेको राम्रो हुन्छ जो नबी (सल्लल्लाहु अलैहि व सल्लम) द्वारा प्रमाणित छन्, किनभने जब उहाँ कुनै युद्ध, हज वा उम्राबाट फर्किनुहुन्थ्यो, उँचाइमा पुग्दा तीन पटक "अल्लाहु अकबर" भन्नुहुन्थ्यो, त्यसपछि यो दुआ पढ्नुहुन्थ्यो: "ला इलाह इल्लल्लाहु वह्दहु ला शरीक लह, लहुल् मुल्कु व लहुल् हम्दु, वहुव अला कुल्लि शैयिन कदीर। आइबून, ताइबून, आबिदून, साजिदून, लिरब्बिना हामिदून। सदकल्लाहु वअदह, व नसर अब्दह, व हज़मल् अह्जाब वह्दह।" [२९] (अर्थात: "अल्लाह बाहेक कुनै उपास्य छैन, उहाँ एक्लो हुनुहुन्छ, उहाँको कोही साझी छैन। राज उहाँकै हो, प्रशंसा पनि उहाँका लागि नै हो, र उहाँ सबै कुरामा सक्षम हुनुहुन्छ। हामी फर्कनेवाला छौं, तौबा गर्नेवाला छौं, अल्लाहको उपासना गर्नेवाला छौं, उहाँलाई सज्दा गर्नेवाला छौं, र हाम्रो पालनकर्ताको प्रशंसा गर्नेवाला छौं। अल्लाहले आफ्नो वाचा पूरा गर्नुभयो,आफ्नो भक्तको मद्दत गर्नुभयो, र एक्लै शत्रुहरूलाई पराजित गर्नुभयो।") [२९] यसलाई इमाम बुखारीले (४११६) नम्बरमा नक्कल गर्नु भएको छ।

आफ्नो शहर देखे पछि यो दुआ पढ्नु मुस्तहब (राम्रो) हो: "आइबून, ताइबून, आबिदून, लिरब्बिना हमिदून" [३०] (अर्थ: "हामी फर्कनेवाला छौं, तौबा गर्नेवाला छौं, अल्लाहको उपासना गर्नेवाला छौं, र हाम्रो पालनकर्ताको प्रशंसा गर्नेवाला छौं।") यसलाई आफ्नो शहरभित्र प्रवेश गर्ने बेला सम्म लगातार दोहोर्याउँदै गरेको राम्रो हुन्छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) पनि यस्तै गर्नु हुन्थ्यो। [३०] यो हदीसलाई इमाम बुखारीले बुखारी शरीफमा (१७९७) नम्बर र इमाम मुस्लिमले (१३४२) नम्बरमा वर्णन गर्नु भएको छ।

यदि यात्रा लामो समयको लागि भएको छ र कुनै विशेष आवश्यकता छैन भने उसले रातको समयमा आफ्नो परिवारमा फर्किनु हुँदैन — जबसम्म उसले तिनीहरूलाई त्यसको जानकारी नदिएको होस् र रातमा आउने समय नबताएको होस्, किनकि नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले यसो गर्नबाट मनाहि गर्नु भएको छ, हजरत जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) भन्नुहुन्छ: "नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले मान्छेलाई राती आफ्नो परिवारमा आउनबाट मनाही गर्नु भएको छ।", [३१] यसमा भएको रहस्य अर्को कथनले पनि स्पष्ट गर्छ: "कपाल नकोरेकी महिलाले कोरीबाँटी गरी हालोस् [३२] र लोग्ने बाहिर भएकी महिलाले सरसफाइ गरी हालोस्।" [३३] अर्को एक कथनमा यसरी छ: "अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मानिसलाई राति अचानक आफ्ना परिवारकहाँ प्रवेश गर्न मनाही गर्नुभएको छ, शंका गर्ने वा तिनीहरूको कमजोरी खोज्ने उद्देश्यले।" [३१] यसलाई इमाम मुस्लिमले हदीस नं. (७१५) मा वर्णन गर्नुभएको छ। [३२] (‌الشعثة) शअ्षह: जसले लामो समयदेखि तेल नलगाएकी र कपाल नकोरेकी होस् र (الاستحداد) इस्तेह्दाद: भनेको हदीद प्रयोग गर्नु हो (अर्थात् सरसफाइ गर्नु) र (المغيبة) मुगीबह: भनेको जसको लोग्ने बाहिर रहेको थियो। तहरीर फि शरही मुस्लिम - इस्फहानी (पृ.न.२९२) [३३] यसलाई इमाम नसयीले हदीस नम्बर (९०९९) मा नक्कल गर्नु भएको छ। [३४] यसलाई इमाम मुस्लिमले हदीस नं. (७१५) मा वर्णन गर्नुभएको छ।

यात्राबाट फर्किने व्यक्तिले आफ्नो घर नजिकको मस्जिदबाट सुरु गरेर त्यहाँ दुई रकाअत नमाज पढ्नु सुन्नत हो; नबी (सल्लल्लाहु अलैहि व सल्लम) पनि यसै गर्नु हुन्थ्यो।

यात्राबाट फर्कने व्यक्तिले आफ्नो परिवारका बालबालिका र छिमेकीहरूलाई प्रेमभावको व्यवहार गर्नु सुन्नत हो र उनीहरूले उसको स्वागत गर्दा राम्रो व्यवहार गर्नु सुन्नत हो, इब्ने अब्बास (रजियल्लाहु अन्हुमा) ले भन्नुभएको छ: जब नबी (सल्लल्लाहु अलैहि व सल्लम) मक्का आउनुभयो, अब्दुल मुत्तलिबका बच्चाहरू उहाँको स्वागत गर्न गए, उहाँले एकजनालाई आफ्नो अगाडि र अर्कोलाई पछाडि बोक्नु भयो। अब्दुल्लाह बिन जाफर (रजियल्लाहु अन्हुमा) ले पनि यसबारे भन्नुभएको छ: "नबी( सल्लल्लाहु अलैहि व सल्लम) कुनै यात्राबाट फर्किनु भयो, उहाँले हाम्रो स्वागत गर्नु भयो, र हामीले पनि उहाँको स्वागत गर्यौं। हसन र हुसैन पनि सँगै थिए, र हामीमध्ये एकजनालाई उहाँले अगाडि र अर्कालाई पछाडि बोकेर मदीना प्रवेश गर्नु भयो।" [३५] यसलाई इमाम मुस्लिमले हदीस नं. (२४२८) मा वर्णन गर्नुभएको छ।

उपहार दिनु सुन्नत हो, किनभने यसले मनलाई खुसी बनाउँछ र दुश्मनी हटाउँछ। सौगात स्वीकार गर्नु र त्यसको लागि प्रशंसा व्यक्त गर्नु पनि सुन्नत हो, तर त्यसलाई शरई अवरोध बिना अस्वीकार गर्नु मनाही गरिएको छ। यसै कारणले, नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ: "एकापसमा उपहार देऊ, किनभने यसले माया बढाऊ।" उपहार मुसलमानहरूबीच माया बढाउने कारणमध्येको एउटा कारण हो। [३६] यसलाई इमाम बैहकीले आफ्नो सुनने कुब्राको हदीस नं. (११९४६) मा वर्णन गर्नुभएको छ।

यात्री आफ्नो शहर आउँदा अङ्कमाल गर्नु सुन्नत हो, नबी (सल्लल्लाहु अलैहि व सल्लम) का सहाबाबाट साबित छ जस्तो कि हजरत अनस (रजियल्लाहु अन्हु) भन्नु हुन्छ : "सहाबाहरू जब आपसमा भेट्थे हात मिलाउने गर्थे र कुनै यात्राबाट फर्किंदा अँगालो हाल्थे।" [३७] [३७] यसलाई इमाम तब्रानीले औसातको हदीस नं. (९७) मा वर्णन गर्नुभएको छ।

अल्लाहले हाम्रो नबी मुहम्मदमाथि दरूद र सलाम (दया र शान्ति) अवतरण गरून्।