الدروس المهمة لعامة الأمة
सर्वसाधारणका लागि महत्त्वपूर्ण पाठहरू सम्मानीय शेख र वरिष्ठ विद्वान बिस्मिल्ला हिर्रहमा निर्रहीम (अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु) लेखककाे भूमिका सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि हुन्, जो सारा संसारका पालनकर्ता हुनुहुन्छ र असल परिणाम धर्मीहरूको लागि हो । दरूद एवं सलाम (कृपा र शान्ति) अवतरण होस् उहाँको भक्त; रसूल (सन्देष्टा) र हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि तथा उहाँका घरपरिवार र उहाँका सम्पूर्ण सहाबा (साथी) हरूमाथि ।
These files are generated automatically from the book's text; their layout may differ from the printed edition.
सर्वसाधारणका लागि महत्त्वपूर्ण पाठहरू
सम्मानीय शेख र वरिष्ठ विद्वान
अब्दुल अजीज बिन अब्दुल्लाह बिन बाज (रहिमहुल्लाह)
लेखककाे भूमिका
सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि हुन्, जो सारा संसारका पालनकर्ता हुनुहुन्छ र असल परिणाम धर्मीहरूको लागि हो । दरूद एवं सलाम (कृपा र शान्ति) अवतरण होस् उहाँको भक्त; रसूल (सन्देष्टा) र हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि तथा उहाँका घरपरिवार र उहाँका सम्पूर्ण सहाबा (साथी) हरूमाथि ।
अम्मा बाअ्द (तत्पश्चात) :
सर्वसाधारणले इस्लाम धर्मको बारेमा जान्नैपर्ने केही कुराहरूको व्याख्या गर्ने जमर्को गरेको छु र मैले यसको नाम राखेको छु : 'सर्वसाधारणका लागि महत्त्वपूर्ण पाठहरू' ।
यो पुस्तक मुस्लिमहरूका लागि लाभान्वित होस्, मेरो सानो प्रयास स्वीकार होस् भनेर अल्लाहसँग प्रार्थना गर्दछु, वास्तवमा, उहाँ अति दयालु र कृपालु हुनुहुन्छ ।
अब्दुल अजीज बिन अब्दुल्लाह बिन बाज सर्वसाधारणका लागि महत्त्वपूर्ण पाठहरू [१] [१] (फतावा र विभिन्न लेखहरू : ३/२८८-२९८)
पहिलो पाठ: सूरह फातिहा र साना सूरहहरू
सूरह फातिहा र सूरह ‘जल्जला’ देखि सूरह ‘नास’ सम्मका ससाना सूरहहरू शुद्ध तरिकाले पढ्न सिकाउनु, कण्ठस्थ पार्न लगाउनु र आवश्यक कुराहरूको व्याख्या गर्नु ।
दाेस्रो पाठ: इस्लामका स्तम्भहरू
इस्लामका पाँच स्तम्भहरूको व्याख्या गर्नु, जसमध्ये पहिलो र सबैभन्दा ठूलो हो : ‘ला इलाह इल्लल्लाहु मुहम्मदुर्रसूलुल्लाह’ को अर्थ, शर्तहरू र अभिलाषासहित गवाही दिनु । 'ला इलाह' को अर्थ : अल्लाह बाहेकका सम्पूर्ण पूज्यलाई अस्वीकार गर्नु र 'इल्लल्लाह' को अर्थ : सम्पूर्ण उपासनाहरू केवल अल्लाहको लागि गर्नु हो, उहाँको कोही साझेदार छैन । ‘ला इलाह इल्लल्लाह’ का शर्तहरूयस प्रकार छन् : १) यस्तो ज्ञान (इल्म) जुन अज्ञानता विपरित होस् । २) यस्तो भरोसा (यकीन) जुन शंका विपरित होस् । ३) यस्तो एख्लास (तौहीद) जुन बहुदेववाद (शिर्क) विपरित होस् । ४) यस्तो सत्यता (सिद्क) जुन झूट विपरित होस् । ५) यस्तो प्रेम (महब्बत) जुन घृणा विपरित होस् । ६) यस्तो आज्ञापालन (इन्कियाद) जुन अनाज्ञाकारिता विपरित होस् । ७) यस्तो स्वीकृती (कबुल) जुन अस्वीकार विपरित होस् । ८) र अल्लाह बाहेक पूजा गरिने सबै झूटा देवताहरूलाई अस्वीकार गर्नु । यी सर्तहरू निम्न दुई पङ्क्तिहरूमा समेटिएको छ :
ज्ञान, विश्वास, निष्ठा, सत्यता, प्रेम, समर्पण र स्वीकृती अनि आठौं शर्त थपिएको छ; अल्लाह बाहेक सबै झूटा देवताहरूलाई अस्वीकार गर्नु ।
साथै, 'मुहम्मद अल्लाहका रसूल हुन्' भन्ने गवाहीको अर्थ र अभिलाषाहरू व्याख्या गर्नु, जुन यस प्रकार छन्: उहाँले भनेको कुरामा विश्वास गर्नु, उहाँको आदेशको पालना गर्नु, उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहनु तथा अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को तरिका अनुसार अल्लाहको उपासना गर्नु । त्यसपछि विद्यार्थीलाई इस्लामका बाँकी स्तम्भहरू व्याख्या गर्नु, जुन यस प्रकार छन्: १] नमाज पढ्ने। २] जकात दिने। ३] रमजानको उपवास राख्ने। ४] सक्षम व्यक्तिले अल्लाहको घरको हज (तीर्थयात्रा) गर्ने ।
तेस्रो पाठ: इमानका आधारहरू
ती छ वटा छन्: अल्लाह, उहाँका फरिश्ता (स्वर्गदूत) हरू, उहाँका पुस्तकहरू, उहाँका दूतहरू, अन्तिम दिन तथा राम्रो-नराम्रो भाग्यमाथि आस्था राख्नु । राम्रो-नराम्रो भाग्य दुवै अल्लाहको तर्फबाट हो ।
चौथो पाठ: तौहीद र शिर्क का प्रकारहरू
तौहीद ३ प्रकारका छन् : तौहीद रूबुबीयत, तौहीद उलूहीयत र तौहीद अस्मा व सिफात ।
तौहीद रूबुबीयत : अल्लाहले सबै कुरालाई सृष्टि, व्यवस्था र नियंत्रण गर्नुहुन्छ र यसमा उहाँको कोही साझेदार छैन भनेर आस्था राख्नु ।
२. तौहीद उलूहीयत : अल्लाह नै वास्तविक उपास्य हुनुहुन्छ र उहाँको कोही साझेदार छैन भनेर आस्था राख्नु । "लाह इलाह इल्लल्लाह" को अर्थ पनि यही हो । किनकि अल्लाह बाहेक अरू कोही साँचो ईश्वर छैन । नमाज, रोजा र अन्य उपासनाहरू केवल अल्लाहका लागि इमानदारीपूर्वक गरिनुपर्छ र तीमध्ये अलिकति पनि अरू कसैलाई समर्पित गर्न अनुमति छैन ।
३. तौहीद अस्मा व सिफात : अल्लाहले आफ्नो लागि जुन अस्मा व सिफात (नाम र विशेषता) हरू कुर्आनमा र उहाँको दूतले हदीसमा प्रमाणित गर्नुभएको छ, ती कुराहरूमाथि जस्ताको त्यसतै कुनै थपघट, इन्कार, अर्थ परिवर्तन र हेरफेर नगरिकन आस्था राख्नु । अल्लाहले भन्नुभएको छ : भनिदिनुस्, अल्लाह एक हुनुहुन्छ । अल्लाह निरपेक्ष हुनुहुन्छ । न उहाँबाट कोही जन्मेको छ नत उहाँ कसैबाट जन्मनु भएको हो । उहाँ जस्तो कोही छैन । (अल् इख्लासः १-४) अल्लाहले भन्नुभएको छ : "उहाँ जस्तो कोही छैन र उहाँ सर्वश्रोता र सर्वद्रष्टा हुनुहुन्छ ।” (अश्-शूरा : ११) केही विद्वानहरूले तौहीद का केवल दुई प्रकारहरू वर्णन गरेका छन् र ‘तौहीद अस्मा व सिफात’ लाई ‘तौहीद रूबुबीयत’ मा समावेश गरेका छन् । यसमा कुनै आपत्ति छैन; किनकि दुवै विभाजनमा उद्देश्य स्पष्ट छ ।
शिर्कका तीन प्रकार छन्: शिर्के अक्बर, शिर्के अस्गर र शिर्के खफी ।
शिर्के अक्बर (ठूलो शिर्क): को अवस्थामा मर्ने व्यक्तिका सारा कर्महरू व्यर्थ हुनेछन् र उसले सदा नर्कमा बस्नुपर्ने हुन्छ, अल्लाहले भन्नुभएको छ: "यदि उनीहरूले पनि शिर्क गरे भने, तिनीहरूका सबै कर्महरू व्यर्थ हुने थिए ।" (सूरह अनआ'म् :८८) अल्लाहले भन्नुभएको छ: मुश्रिकहरूले अल्लाहका मस्जिदहरूलाई आबाद गर्नु उचित होइन, जबकि उनीहरू आफैं कुफ्रको अवस्थामा छन् । तिनीहरूका कर्महरू व्यर्थ भए र तिनीहरू सधैं नर्कमा रहनेछन् । (सूरह तौबा: १७) जसले त्यसो गर्दा मृत्युवरण गर्छ उसलाई क्षमा गरिनेछैन र उसको लागि स्वर्ग निषेध छ, अल्लाहले भन्नुभएको छ: "निस्सन्देह, अल्लाहले आफ्नो साथ साझेदार बनाउनेलाई क्षमा गर्दैनन् र यस बाहेक जसलाई चाहन्छन् क्षमा गर्छन्।" (अन्निसाः ४८) अल्लाहले भन्नुभएको छ: "वास्तवमा, जसले अल्लाहसँग शिर्क गर्छ, अल्लाहले उसको लागि स्वर्गलाई निषेध गरेको छ, उसको बासस्थान नर्क हो र अत्याचारीहरूका कोही सहयोगी हुनेछैन ।" (अल् माइदाः ७२)
मृतकहरू र मूर्तिहरूलाई पुकार्नु, उनीहरूसँग बिन्ती गर्नु, उनीहरूलाई भाकल (मन्नत) गर्नु र उनीहरूको लागि जनावरहरू काट्नु पनि ठूलो शिर्कका प्हरकाररू हुन् ।
सानो शिर्क: हरेक कार्य जसलाई किताब र सुन्नतमा शिर्क भनिएको छ, तर यो ठूलो शिर्कको रूपमा होइन, जस्तै देखावटीको लागि उपासना गर्ने, अल्लाह बाहेक अरू कसैको कसम खाने र 'अल्लाहले जे चाहन्छ र फलाना व्यक्तिले जे चाहन्छ' भन्ने आदि । किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "मलाई तिमीहरूबाट सबैभन्दा बढी डर लाग्ने कुरा शिर्के अस्गर (सानो शिर्क) हो ।" यसको बारेमा सोध्दा उहाँले भन्नुभयो: 'रिया' (देखावटी) ।" [2] यो हदीस इमाम अहमद, तब्रानी र बैहकीले महमूद बिन लबीद अन्सारी (रजियल्लाहु अन्हु) द्वारा राम्रो इस्नाद सहित उल्लेख गरेका छन् । तब्रानीले महमूद बिन लबीदसित, उनले राफे बिन खदीजसित, उनले नबी (सल्लल्लाहु अलैहि व सल्लम) बाट वर्णन गरेका छन् । [२] यस हदीसलाई इमाम अहमदले (५/४२८), तब्रानीले "अल-कबीर" (४/३३८) मा र अल-बैहक़ीले "शुअबिल् ईमान" (१४/३५५) मा उल्लेख गरेका छन् । "मज्मउ' अल-जवाइद" (१/१२१) मा भनिएको छ: "यसलाई अहमदले वर्णन गरेका छन् र यसका वर्णन गर्ने वाला सबै व्यक्ति सही (विश्वसनीय) हदीसका रावी (वर्णनकर्ता) हरू हुन् ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: ""जसले अल्लाह बाहेक अरू कुनै चीजको कसम खायो उसले शिर्क गर्यो।" [३] यो हदीसलाई इमाम अहमदले उमर बिन अल-खत्ताब (रजियल्लाह अन्हुमा) बाट सही इस्नादका साथ वर्णन गरेका छन् । यो हदीस अबू दाऊद र तर्मिजीले सही सनदका साथ इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले अल्लाह बाहेक अरू कसैको कसम खायो, उसले कुफ्र वा शिर्क गर्यो ।" [4] रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले जे चाहन्छ र फलानोले जे चाहन्छ, भन्ने कुरा नभन, बरु भन: अल्लाहले जे चाहन्छ र त्यसपछि फलानोले जे चाहन्छ ।" [5] यो हदीसलाई अबू दाऊदले हुजैफा इब्न अल-यमान (रजियल्लाहु अन्हु) बाट सही सनदको साथ वर्णन गरेका छन् । [३] यसलाई इमाम अहमदले वर्णन गरेका छन् (१/४७) [४] यसलाई अबू दाऊदले (३२५१) नम्बरमा र तिर्मिजीले (१५३५) नम्बरमा वर्णन गरेका छन् । [५] यसलाई अबू दाऊदले (४९८०) नम्बरमा र अहमदले (५/३८४) नम्बरमा वर्णन गरेका छन् ।
सानो शिर्कले कसैलाई मुर्तद (धर्मत्यागी) बनाउँदैन न त यसको कारणले कोही सधैंभरि नर्कमा रहनेछ, तर यो तौहीदको आवश्यक पूर्णताको विपरीत हो ।
तेस्रो प्रकार: शिर्के खफी (गुप्त शिर्क); यसको प्रमाण नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यो भनाइ हो : "के म तिमीहरूलाई दज्जाल भन्दा पनि बढी खतरनाक कुराको बारेमा नभनूँ ?" साथीहरूले भने: हो, बताइ दिनुहोस् हे अल्लाहका रसूल! उहाँले भन्नुभयो: “यो शिर्के खफी (गुप्त शिर्क) हो, एक जना व्यक्ति प्रार्थना गर्न उभिन्छ र कसैले उसलाई हेरिरहेको देखेर आफ्नो प्रार्थनालाई राम्रोसँग पढ्न थाल्छ ।" [6] इमाम अहमदले यो हदीस आफ्नो "मस्नद" मा अबू सईद खुदरी (रजियल्लाहु अन्हु) बाट वर्णन गरेका छन् । [6] यसलाई इब्ने माजाले (४२०४) नम्बरमा र इमाम अहमदले (३/३०) मा वर्णन गरेका छन् ।
शिर्कलाई केवल दुई प्रकारमा विभाजन गर्न सकिन्छ:
ठूलो र सानो । अनि शिर्के खफी (गुप्त शिर्क) दुवैमा सामान्य हुन्छ; शिर्के खफी, ठूलो शिर्कमा पनि हुन्छ, जस्तै : मुनाफिकको शिर्क; किनभने उनीहरू केवल देखावटीको लागि इस्लाम स्वीकार गर्छन् र आफ्ना मिथ्या आस्थाहरू लुकाउँछन् अनि आफ्नो ज्यान जोगाउन मुस्लिम भएको नाटक गर्छन् ।
त्यसैगरी, सानो शिर्कमा पनि शिर्के खफी हुन्छ, जस्तै : रिया (देखावटी) जुन महमूद बिन लबीद अन्सारी र अबू सईद अल-खुदरी को हदीसमा अघि उल्लेख भैसकेको छ । सत्य मार्गदर्शन अल्लाहको हातमा छ ।
पाँचौं पाठ: इहसान
इहसानको मात्र एउटा रुक्न (स्तम्भ) हो : तपाईंले अल्लाहको उपासना यसरी गर्नु, मानौं तपाईंले उहाँलाई देखिरहनु भएको छ । यदि तपाईंले उहाँलाई देख्न सक्नुहुन्न भने (कल्पना गर) उहाँले तपाईंलाई अवश्य देखिरहनुभएको छ ।
छैटौं पाठ: नमाजका शर्तहरू
यी नौ वटा छन्:
१. इस्लाम, २. बुद्धि, ३. विवेक, ४. पवित्र हुने, ५. अशुद्धता (फोहोर) हटाउने, ६. गुप्तांग ढाक्ने, ७. समय प्रवेश गर्ने, ८. किब्लातर्फ फर्किने, ९. नीयत गर्ने ।
सातौं पाठ: नमाजका अर्कान (आधार) हरू
नमाजका चौध स्तम्भहरू यस प्रकार छन्:
१. सम्भव भएसम्म उभिएर सलाह पढ्नु । २. तकबीर-ए-तहरीमा भन्नु । ३. सुरा फातिहा पढ्नु । ४. रुकू गर्नु । ५. रुकूपछि सीधा उभिनु । ६. सात अंगहरूमा सज्दा गर्नु । ७. सज्दाबाट टाउको उठाउनु । ८. दुई सज्दाको बीचमा बस्नु । ९. नमाजका सबै कार्यहरूमा सन्तुष्टि (सुकुन) कायम राख्नु । १०. सबै स्तम्भहरूलाई क्रमबद्ध रूपमा गर्नु । ११. अन्तिम तशहहुद पढ्नु । १२. अन्तिम तशहहुदको लागि बस्नु । १३. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि दया पठाउनु । १४. दुवै (दायाँ-बायाँ) सलाम गर्नु ।
आठौं पाठ: नमाजका वाजिब कार्यहरू
यी आठ छन्:
१. तकबीर तहरीमा बाहेक सबै तकबीरहरू, २. इमाम र मुन्फरिद (एक्लो नमाज पढ्ने) ले ‘समिअल्लाहु लिमन् हमिदह’ भन्नु, ३. सबैले ‘ रब्बना व लकल् हम्द’ भन्नु, ४. रुकूअमा ‘सुब्हान रब्बियल् अजीम’ भन्नु, ५. सज्दामा ‘सुब्हान रब्बियल् आअ्ला’ भन्नु, ६. दुई सज्दाको बीचमा ‘रब्बिग्फिर्ली’ भन्नु, ७. पहिलो तशहहुद पढ्नु, ८. पहिलो तशहहुदको लागि बस्नु ।
नवौं पाठ: तशह्हुदको वर्णन
तशह्हुद यो हो:
‘अत्तहिय्यातु लिल्लाहि, वस्सलवातु, वत्तैय्यिबातु, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन्, अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह् ।’ अर्थ : आर्थिक, शारीरिक र भौतिक सम्पूर्ण उपासनाहरू अल्लाहकै लागि हुन् । हे नबी, अल्लाहले तपाईं माथि शान्ति, दया र आशीर्वाद अवतरण गरून् । हामी र अल्लाहका सच्चा भक्तहरूमाथि पनि शान्ति प्राप्ति होस् । म गवाही दिन्छु, अल्लाह बाहेक अरू कोही सत्य ईश्वर छैनन् र म गवाही दिन्छु, मुहम्मद उहाँका सेवक र सन्देष्टा हुनुहुन्छ ।
त्यसपछि नबी (सल्लल्लाहु अलैहि व सल्लम) माथि दरूद पढ्नु र बरकतकाे लागि दुआ गर्नु र दरूद याे हो : ‘अल्लाहुम्म सल्लि अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा सल्लैत अला इब्राहीम्, व अला आलि इब्राहीम इन्नक हमीदुम्मजीद् । अल्लाहुम्म बारिक् अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा बारक्त अला इब्राहीम, व अला आलि इब्राहीम, इन्नक हमीदुम्मजीद्’ । अर्थः हे अल्लाह ! मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) र उहाँका परिवारहरूमाथि दया र आशीर्वाद अवतरण गर्नुहोस्, जसरी तपाईंले इब्राहीम र उहाँका परिवारहरूलाई दिनुभएको छ, किनकि तपाईं प्रशंसा योग्य र अत्यन्तै परोपकारी हुनुहुन्छ । हे अल्लाह ! मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) र उहाँका परिवारहरूलाई बर्कत (प्रशस्त र निरन्तर बढोत्तरी) दिनुहोस्, जसरी तपाईंले इब्राहीम र उहाँका परिवारहरूलाई बर्कत दिनुभएको छ, किनकि तपाईं प्रशंसा योग्य र अत्यन्तै परोपकारी हुनुहुन्छ ।
त्यसपछि अन्तिम तशह्हुदमा नर्क र कबरको यातना, जीवन र मृत्युको परीक्षण तथा मसीह दज्जालको फित्ना (परीक्षण) बाट अल्लाहको शरण माग्नु पर्छ । त्यसपछि आफुले मनपरएको दुआ माग्नु विशेषगरि प्रमाणित दुआहरू पढ्नु, जस्तै :
"अल्लाहुम्म अइन्नी अला जिक्रिक, व शुक्रिक व हुस्नि इबादतिक। अल्लाहुम्म इन्नी जलम्तु नफ्सी जुल्मन् कसीरन् वला यग्फिरूज्जुनूब इल्ला अन्त, फग्फिर्ली मग्फिरतम्मिन् इन्दिक वर्रहम्नी इन्नक अन्तल् गफूर्रुहीम।" अर्थ : हे अल्लाह! तपाईंको जिक्र र तपाईंको शुक्र र तपाईंको उत्तम उपासनाको लागि मेरो मद्दत गरिदिनुहोस् । हे अल्लाह ! मैले आफूमाथि धेरै अन्याय गरेकोछु, तपाईं बाहेक अरू कसैले पापहरू क्षमा गर्न सक्दैनन्, त्यसैले आफ्नो विशेष कृपाले मलाई माफ गरिदिनुहोस् र ममाथि दया गर्नुहोस् । निश्चय नै तपाईं क्षमाशील र अति दयालु हुनुहुन्छ ।
जोहर, असर, मगरिब र इशाको सलाह हो भने पहिलो तशह्हुदमा आत्तहिय्यात पढेपछि तेस्रो रकअतको लागि उभिनु पर्छ र यदि नबी (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरुद पनि पढ्छ भने राम्रो हो, किनकि आम हदीसले यसको पुष्टि हुन्छ र त्यसपछि तेस्रो रकअतको लागि उभिनु पर्छ ।
दशौँ पाठ: नमाजका सुन्नतहरू
ती यस प्रकार छन्:
१. सना पढ्नु
२. उभिएको बेलामा दाहिने हातको हत्केला बाँया हातमा राखेर छाती माथि राख्नु, रुकूअ भन्दा पहिला र रुकूअ पछि पनि ।
३. तकबीरे तहरीमा, रुकुको लागि झुक्दा, रुकुबाट टाउको उठाउँदा र पहिलो तशह्हुदपछि तेस्रो रकातको लागि उठ्दा हातका औंलाहरू जोडेर काँध वा कान बराबर हात उठाउनु ।
४. रुकूअ र सज्दामा एक पटक भन्दा बढी तस्बीह पढ्नु ।
५.रूकूअबाट उठेपछि "रब्बाना वलाका अल-हम्द" भन्दा बढी पढ्नु र दुई सज्दाको बीचमा एक पटक भन्दा बढी (क्षमा) को दुआ गर्नु ।
६. रुकूअमा टाउकोलाई पिठ्युँ बराबर राख्नु ।
७. सज्दामा कुहिनाेलाई छेउबाट, पेटलाई तिघ्राबाट र तिघ्रालाई बाछोबाट टाढा राख्नु ।
८. सज्दाको अवस्थामा दुवै हात जमिनबाट माथि उठाएर राख्नु ।
९. पहिलो तशहुद र दुई सज्दाको बीचमा नमाज पढ्ने व्यक्तिले आफ्नो देब्रे खुट्टा भुइँमा ओछ्याएर बस्नु र दाहिने खुट्टा उठाउनु पर्छ ।
१०. तीन वा चार रकात नमाजको अन्तिम तशहुदमा तवर्रुक गर्नु, अर्थात् : आफ्नो नितम्बमा बस्ने, देब्रे खुट्टालाई दाहिने खुट्टा मुनि राख्ने र दाहिने खुट्टालाई उभिरहेको राख्ने ।
११. पहिलो र दोस्रो तशह्हुदमा बसेको समयदेखि तशह्हुदको अन्त्यसम्म चाेर औंलाले इशारा गर्नु र दुआ गर्दा त्यसलाई हल्लाउनु ।
१२. पहिलो तशह्हुदमा, मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम), उहाँको परिवार, इब्राहीम (अलैहिस्सलाम) र उहाँका परिवारका निम्ति दरूद पठाउनु ।
१३. अन्तिम तशह्हुदमा दुआ पढ्नु ।
१४.फज्रको नमाज, जुमाको नमाज, दुवै ईदको नमाज, इस्तिस्का (पानी माग्ने) नमाज तथा माग्रिब र इशा नमाजका सुरुका दुई रकअतमा उच्च आवाजसाथ कुर्आन पढ्नु ।
१५. जुहर, असर, मग्रिबको तेस्रो रकअत र ईशाको अन्तिम दुई रकअतहरूमा बिस्तारै (मसिनो स्वरमा) पढ्नु सुन्नत हो ।
१६. सूरह फातिहा बाहेक कुर्आनबाट अरू केही पढ्नु सुन्नत हो । नमाजका बाँकी सुन्नतहरूलाई पनि ध्यानमा राख्नु पर्छ, उदाहरणका लागि: रूकूअबाट उठेपछि इमाम, मुक्तादी र व्यक्तिले "रब्बना व लकल-हम्द" भन्दा बढी भन्नु सुन्नत हो । त्यसैगरी, रूकूअ गर्दा औँलाहरू फिँजाएर गोडामा राख्नु सुन्नत हो ।
एघारौं पाठ: नमाजलाई भङ्ग गर्ने कुराहरू
यी आठ छन्:
१. सलाह पढ्दा थाहा हुँदाहुँदै जानाजानी बोल्नु, तर बिर्सेर वा अज्ञानताले बोल्ने व्यक्तिको प्रार्थना अमान्य हुँदैन ।
२. हाँस्नु ।
३. खानु ।
४. पिउनु ।
५. गुप्तांग खुल्नु ।
६. किब्ला दिशाबाट धेरै फर्कनु ।
७. नमाजमा अत्यधिक असंबद्ध कार्यहरू गर्नु ।
८.पवित्रता भङ्ग हुनु ।
बारहौँ पाठ: वुजूका शर्तहरू
यी दश हुन्:
१. इस्लाम, २. अकल (समझदारी), ३. विवेक (तमिज), ४. नियत, ५. वुजू पूरा नहुञ्जेल नियत कायम राख्ने, ६. वुज़ू तोड्ने कारण अन्त्य हुनु, ७. वुज़ू गर्नु अघि पानी वा ढुङ्गाले पवित्रता गर्नु, ८. पानी पवित्र र हलाल हुनु, ९. पानीलाई छालासम्म पुग्नबाट रोक्ने बाधाहरू हटाउनु, १०. स्थायी बिरामीको लागि नमाजको समय हुनु ।
तेर्हौं पाठ: वुजूका फर्जहरू
यी छ वटा छन्:
१. मुख धुनु, यसैमा कुल्ला गर्नु र नाकमा पानी पुर्याएर सफा गर्नु पनि छ । २. दुवै हात कुहिनासम्म धुनु । ३. सम्पूर्ण टाउको मसह गर्नु (पुछ्नु), जसमा दुवै कान पुछ्नु समावेश छ । ४. दुवै खुट्टा गोलीगाँठासम्म धुनु । ५. क्रमशः वुजू गर्नु । ६. लगातार वुजू पुरा गर्नु । अनुहार, दुवै हात र दुवै खुट्टा तीन-तीन पटक धुनु मुस्तहब हो, त्यसैगरी मुख कुल्ला गर्नु र नाकमा तीन पटक पानी हाल्नु मुस्तहब हो । यद्यपि, एक पटक गर्नु अनिवार्य हो । टाउकोमा एक पटक मात्र मसह (स्पर्श) गर्नुपर्छ, दोहोर्याउनु मुस्तहब होइन, किनभने हदीसमा यसरी नै प्रमाणित छ ।
चौधौं पाठ: वुजू भङ्ग गर्ने कार्यहरू
यी छ वटा छन्:
१. पिसाब वा दिसाको मार्गबाट केही निस्कनु । २. शरीरबाट अत्यधिक अशुद्ध (नजिस) पदार्थ निस्कनु । ३. निद्रा वा अन्य कारणले बुद्धि गुमाउनु । ४. हातले प्रत्यक्ष रुपमा अगाडि र पछाडिको गुप्तांग छुनु । ५. ऊँटको मासु खानु । ६. इस्लामबाट मुर्तद (धर्मत्यागी) हुनु । अल्लाहले हामी सम्पूर्ण मुस्लिमहरूलाई यसबाट बचाऊन् ।
महत्वपूर्ण सूचना: मृतकलाई नुहाउने सन्दर्भमा: सही धारणा के छ भने नुहाउने व्यक्तिको वुजू भङ्ग हुँदैन र यो नै अधिकाशं विद्वानहरूको भनाइ हो; किनभने यसको कुनै प्रमाण छैन, यदि नुहाउने व्यक्तिको हातले मृतकको गुप्तांगलाई कुनै बाधा बिना छुन्छ भने वुजू गर्नु अनिवार्य हुन्छ ।
त्यसैले मृतकलाई नुहाउने व्यक्तिले उनको गुप्तांगलाई बाधा बिना छुनु हुँदैन । त्यसैगरी विद्वानहरूको सबैभन्दा सही विचार अनुसार, महिलालाई छुँदा वुजू भंग हुँदैन, चाहे त्यो कामवासनाले होस् वा नहोस्, जबसम्म त्यसबाट केही निस्कँदैन, किनकि नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्ना पत्नीहरू मध्ये कुनैलाई चुम्बन गर्नुभएको थियो, अनि त्यसपछि वुजू नगरी नमाज पढ्नुभएको थियो ।
सूरह अन-निसा र सुरा अल-माइदामा अल्लाहको भनाइको सन्दर्भमा: "वा तपाईंले महिलाहरूलाई छुनु भएको छ?" (अन्निसा : ४३) (अल्माइदा : ६) त्यसैले, विद्वानहरूको सही दृष्टिकोण अनुसार, यसको अर्थ सम्भोग हो । यो इब्न अब्बास (रजियल्लाहु अन्हु) र धेरै सलफ तथा खलफहरूको दृष्टिकोण हो । अल्लाहले सही कुराको शक्ति दिनुहुन्छ ।
पन्ध्रौं पाठ: प्रत्येक मुस्लिम शरिया नैतिकताले सजिएको हुनुपर्छ
जसमध्ये केही यस प्रकार छन्: १. सत्यता, २. इमानदारीता, ३. पवित्रता, ४. विनम्रता, ५. साहस, ६. उदारता, ७. वफादारी, ८. अल्लाहले निषेध गर्नु भएका सबै कुराहरूबाट टाढा रहनु, ९. छिमेकीको साथ राम्रो व्यवहार गर्नु, १०. सकेसम्म पीडित व्यक्तिहरूको सहयोग गर्नु आदि इत्यादि उत्कृष्ट आचारण अपनाउनु जुन जुन कुर्आन र हदीसबाट प्रमाणित छन् ।
सोर्हौँ पाठ: इस्लामिक शिष्टाचार अपनाउनु
जसमध्ये केही यस प्रकार छन्: १. सलाम गर्नु । २. मुस्कुराउनु । ३. दाहिने हातले खानु र पिउनु । ४. खाना सुरु गर्दा "बिस्मिल्लाह" र खाएपछि "अलहम्दुलिल्लाह" भन्नु । ५. हाच्छिउँ पछि "अलहम्दुलिल्लाह" भन्नु । ६. हाच्छिउँ गर्नेले "अलहम्दुलिल्लाह" भनेपछि जवाफमा "यर्हमुकल्लाह" भन्नु । ७. बिरामीलाई भेट्नु । ८. जनाजामा सहभागी भई नमाज र दफनमा सहयोग गर्नु । ९. मस्जिद वा घरमा प्रवेश गर्दा वा बाहिर निस्कँदा, यात्रा गर्दा, आमाबाबु, आफन्त, छिमेकी, वृद्धवृद्धा र बालबालिकासँग भेट्दा इस्लामी शिष्टाचार अपनाउनु, बच्चा जन्मेपछि बधाई दिनु, विवाहको शुभकामना दिनु, पीडामा सान्त्वना दिनु, लुगा लगाउँदा र फुकाल्दा, जुत्ता लगाउँदा र फुकाल्दा इस्लामिक शिष्टाचारको पालना गर्नु ।
सत्रहौँ पाठ: शिर्क र अन्य पापहरूबाट सावधान गराउनु
तीमध्ये सात विनाशकारी पापहरू छन्, जुन यस प्रकार छन्: १. अल्लाहसँग अरूलाई साझेदार बनाउनु । २. जादू गर्नु । ३. अल्लाहले निषेध गरेको व्यक्तिको अनाहक ज्यान लिनु । ४. ब्याज खानु । ५. अनाथको सम्पत्ति खानु । ६. युद्धभूमिबाट भाग्नु । ७. निर्दोष, पवित्र, आस्थावान आस्थावान महिलालाई लाञ्छना लगाउनु ।
यी मध्ये केही पापहरू यस प्रकार छन्: १. आमाबाबुको अवज्ञा गर्नु । २. नातागोता तोड्नु । ३. झूठो साक्षी दिनु । ४. झूटो कसम खानु । ५. छिमेकीलाई दु:ख दिनु । ६. मानिसहरूको ज्यान, सम्पत्ति र इज्जतसंग खेलवाड गर्नु । ७. मादक पदार्थ सेवन गर्नु । ८. जुवा खेल्नु । ९. गीबत (अरुको कुरा काट्नु) । १०. चुक्ली गर्नु (एकअर्काबीच आगो लगाउनु) र अल्लाह वा उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले निषेध गर्नुभएको अन्य थुप्रै कुराहरू ।
अठारौं पाठ: जनाजह, सलाह र दफन गर्नु
यसको विवरण:
पहिलो : मृत्यु नजिकिएको व्यक्तिलाई "ला इलाह इल्लल्लाह" पढ्न भन्नु; किनभने नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्कोनुभएको छ : "आफ्नो मृतकहरूलाई "ला इलाह इल्लल्लाह" पढ्न तलकीन गर ।" [७] (मुस्लिम) यो हदीसमा मृतक भन्नाले मृत्यु नजिकिएको मान्छे हो, जसमा मृत्युको संकेत देखा परेको छ । [७] मुस्लिम: ९१६-९१७ ।
दोस्रो: जब मृत्यु निश्चित भयो भने मृतकको दुवै आँखा बन्द गर्नुपर्छ र उसको बङ्गारा बाँध्नुपर्छ, किनभने हदीसमा त्यस्तै वर्णन गरिएको छ ।
तेस्रो: मुस्लिम लाशलाई नुहाउनु अनिवार्य छ, तर युद्धमा शहीद भएको व्यक्तिलाई न त नुहाउनु पर्छ न त उसको अन्त्येष्टिको प्रार्थना नै पढ्नु पर्छ, बरु उसलाई उनले लगाएको लुगामै दफन (गाड्नु) पर्छ, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उहुद युद्धमा भएका सहिदहरूलाई न त नुहाउनु भयो नत उनको जनजाको सलाह पढ्नुभयो ।
मृतकलाई नुहाउँदा पहिला उसको गुप्तांग छोप्नुपर्छ र उसलाई अलिकति माथि उठाएर उसको पेटलाई बिस्तारै थिच्नुपर्छ । त्यसपछि नुहाउने व्यक्तिले आफ्नो हातमा कपडा वा दस्ताना लगाएर त्यसलाई पखाल्नु पर्छ । त्यसपछि नमाजको लागि वोजू गरे झैं वोजू गराउनु पर्छ । त्यसपछि टाउको र दाह्रीलाई पानी र बेरी वा यस्तै कुनै चीज मिसाएर धुनुपर्छ । त्यसपछि दायाँ र बायाँ भाग धुनुपर्छ र त्यसरी नै उसलाई दोस्रो र तेस्रो पटक पनि धुनुपर्छ र प्रत्येक पटक उसको पेट दबाउनुपर्छ, यदि केही बाहिर निस्कियो भने त्यसलाई धुनुपर्छ । त्यसपछि पनि केही निस्कियो भने कपास वा अन्य कुनै चीज मल्द्वारमा राख्नु पर्छ । त्यसपछि पनि फोहोर बन्द भएन भने सुख्खा माटो वा कुनै आधुनिक चीजले बन्द गर्नुपर्छ ।
चौथो: मृतकलाई नुहाउने तरिका
त्यसपछि उसको वुजु दोहोर्याउनु पर्छ, यदि ऊ तीन पटकमा पनि शुद्ध हुँदैन भने पाँच वा सात पटक वुजु गर्नुपर्छ । त्यसपछि ओसिलोपनलाई कपडाले पुछ्नुपर्छ । सज्दा गर्ने ठाउँहरू र जोर्नीहरूमा अत्तर लगाउनुपर्छ र यदि सम्पूर्ण शरीरमा अत्तर लगाइयो भने यो झन् राम्रो हो । कफनमा सुगन्धित धुवाँ (वा अत्तर) दिनुपर्छ । यदि उसको जुँगा वा नङ लामो छ भने तिनीहरूलाई काट्नुपर्छ र त्यस्तै छोडियो भने कुनै हानि छैन । तर कपाल कोर्नु हुँदैन, गुप्तांगको रौं खौरनु हुँदैन र खतना गर्नु हुँदैन, किनकि यसको कुनै प्रमाण छैन । महिलाको कपाल तीनवटा चुल्ठोमा बाँधेर उनको पछाडि छोड्नुपर्छ ।
पाँचौं: मृतकलाई कफन दिनु
पुरुषलाई तीनवटा सेतो कपडामा कफन दिनु उत्तम हो, जसमा कमीज र अमामा (पगडी) नहोस् जसरी नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई दिइएको थियो । यदि मृतकलाई कमिज, तहबन्द र चादरमा कफन दिइयो भने केही फरक पर्दैन ।
महिलालाई पाँचवटा कपडामा कफन दिनु पर्छ: कमिज, घुम्टो, शिर बन्द र दुईवटा चादर । सानो बच्चालाई एकदेखि तीनवटा लुगामा र सानी केटीलाई एउटा कमिज र दुईवटा चादरमा कफन दिनु पर्छ ।
हुनत पुरुष, महिला र बालबालिकाको लागि सिङ्गो शरीर ढाक्ने एउटा मात्र लुगा आवश्यक छ । तर यदि मृतक इहरामको अवस्थामा हो भने उसलाई पानी र बैरीले नुहाउनु पर्छ अनि उसलाई आफ्नो इहरामका दुई कपडा वा अन्य कुनै दुई कपडामा कफन दिइनेछ । उसको टाउको र अनुहार ढाकिने छैन । त्यसैगरी उसलाई अत्तर लगाइने छैन, किनकि उसलाई कयामतको दिन "लब्बैक अल्लाहुम्मा लब्बैक" भन्दै इहरामको अवस्थामा उठाइनेछ, जुन नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सही हदीसबाट प्रमाणित छ । अनि इहरामको अवस्थामा मृत्यु हुने महिला हो भने उनलाई सामान्य महिलाहरू जस्तै कफन लगाइनेछ, तर उनलाई अत्तर लगाइने छैन, उनको अनुहार घुम्टोले ढाकिने छैन र उनको हात पन्जाले ढाकिने छैन । तर उसको अनुहार र हातहरू कफनमा बेरिएका हुनेछन्, जसरी महिलालाई कफन लगाउने तरिकामा वर्णन गरिएको छ ।
६) मृतकलाई नुहाउने, जनाजाको नमाज पढाउने र दफन गर्ने (गाड्ने) सबैभन्दा बढी हकदार को हो ?
मृतकले वसियत (इच्छापत्र) गरेको व्यक्ति, त्यसपछि बुवा, हजुरबा र पुरुषको सबैभन्दा नजिकको नातेदार ।
महिलालाई नुहाउन सबैभन्दा बढी अधिकार त्यो महिलालाई हुन्छ जसलाई मृतकले वसीयत (इच्छापत्र) गरेको हुन्छ, त्यसपछि आमालाई, त्यसपछि हजुरआमालाई, त्यसपछि उनको सबैभन्दा नजिकको महिलालाई । पति र पत्नीले एकअर्कालाई नुहाउन अनुमति छ, किनभने अबु बकर सिद्दीक (रजियल्लाहु अन्हु) लाई उनकी श्रीमतीले र फातिमा (रजियल्लाहु अन्हा) लाई उनको श्रीमान; अली (रजियल्लाहु अन्हु) ले नुहाएका थिए ।
सातौं: जनाजाको नमाज पढ्ने तरिका
जनाजा (अन्त्येष्टि) को सलाहमा चार तकबीरहरू भन्नुपर्छ : १. पहिलो तकबीर भन्नुहोस् र त्यसपछि सुरह फातिहा पढ्नुहोस् । यदि त्यसपछि छोटो सुरा वा एक/दुई आयात (श्लोक) हरू पढियो भने झनै राम्रो, किनकि यस विषयमा इब्ने अब्बास (रजियल्लाहु अन्हु) बाट एक प्रामाणिक हदीस छ । २. दोस्रो तकबीर भन्नुहोस् र त्यसपछि तशह्हुद जस्तै दुरुद पढ्नुहोस् । ३. तेस्रो तकबीर भन्नुहोस् र त्यसपछि यो दुआ पढ्नुहोस्: "अल्लाहुम्मग्फिर लि हैयिना व मैयितिना, व शाहिदिना व गाइबिना, व सगीरिना व कबीरिना, व जकरिना व उन्साना, अल्लाहुम्म मन अह्-यैतहु मिन्ना फअह्यिहि अलल्- इस्लाम, व मन तवफ्फैतहू मिन्ना फतवफ्फहु अलल्-इमान, अल्लाहुम्मग् फिर्लहु वर्हम्हु व आफिही वाअ्फु अन्ह्, व अक्रिम् नुजुलहु, व वस्सिअ् मुद-खलहु, वग्सिल्-हु बिल्-मा इ वस्सल्जि वल् ब रद्, व नक्कि ही मिनल्-खताया कमा नक्कैतस्सौबल्-अब-य ज मिनद्दनस्, व अब्दिल्हु दारन् खैरम्-मिन् दारिह्, व अह्-लन् खैरम् मिन् अह्-लिह्, व जौजन् खैरम्मिन् जौजिह्, व अद्-खिल्हुल्-जन्नत, व अइज्हु मिन् अजाबिल् कब्र, व मिन् अजा बिन्नार् । वफ्सह लहू फी कबरिही, व नौव्विर लहू फीही, अल्लाहुम्म ला तुहर्रिम्मना अज्रहू वला तुजिल्लना बाअदहू ।" अर्थ : "हे अल्लाह! हाम्रा जीवित र मृतकहरूलाई, हाम्रा उपस्थित र अनुपस्थितहरूलाई, हाम्रा साना र वृद्धहरूलाई, हाम्रा पुरुष र महिलाहरूलाई क्षमा गर्नुहोस् । हे अल्लाह! हामीमध्ये जसलाई जीवित राख्नुहुन्छ, उसलाई इस्लाममा जीवित राख्नुहोस् र जसलाई मृत्यु दिनुहुन्छ उसलाई इमानमा मृत्यु दिनुहोस् । हे अल्लाह! यस मृतकलाई क्षमा गर्नुहोस्, ऊ माथि दया गर्नुहोस्, उसलाई दुर्भाग्यबाट मुक्त गर्नुहोस्, उसलाई क्षमा गर्नुहोस्, उसलाई स्वर्गको उच्च स्थानले सम्मानित गर्नुहोस्, उसको प्रवेशद्वार फराकिलो गर्नुहोस्, उसलाई पानी, बरफ, हिउँ र असिनाले धोइदिनुहोस्, उसलाई पापहरूबाट त्यसरी नै स्वच्छ र शुद्ध पार्नुहोस् जसरी सेतो कपडाबाट फोहर र दाग सफा गरिन्छ । उसलाई उसको घर भन्दा उत्तम घर, उसको परिवार भन्दा उत्तम परिवार र उसको पति/पत्नी भन्दा उत्तम पति/पत्नी दिनुहोस् । उसलाई स्वर्ग प्रदान गर्नुहोस् र उसलाई कब्र (चिहान) र नर्कको यातनाबाट बचाउनुहोस् । उसको चिहानलाई फराकिलो गर्नुहोस् र त्यसमा उसको लागि उज्यालो बनाइ दिनुहोस् । हे अल्लाह! हामीलाई उसको प्रतिफलबाट वञ्चित नगर्नुहोस् र त्यसपछि हामीलाई पथभ्रष्ट नगर्नुहोस् ।” त्यसपछि चौथो तकबीर भन्नुहोस् र आफ्नो दायाँतिर सलाम फेर्नुहोस् ।
प्रत्येक तकबीरको समयमा दुवै हात उठाउनु मुस्तहब हो, यदि मृतक महिला हो भने "अल्लाहुम्मग्फिर्लहा..... भन्नुहोस्, यदि दुईवटा जनाजाहरू छन् भने: अल्लाहुम्मग्फिर्लहुमा.... भन्नुहोस् र यदि मृतक नाबालिग छ भने तेस्रो तकबीरमा क्षमा याचनाको सट्टा यो दुआ भन्नुपर्छ: "अल्लाहुम्मज अल्हू फरतन् व जुख्रन लिवालिदैहि, वश्फी'अन मुजाबन्, अल्लाहुम्म सक्क़िल बिहि मुवाजिनहुमा, वआ'जिम बिहि अजूरहुमा, वअल्हिक़्हू बिसालिहिस्सलफिल् मुमिनीन, वजअल्हू फी किफालति इब्राहीम अलैहिस्सलाम, वकीहि बिरहमतिक अजाबल् जहीम।" अर्थ : "हे अल्लाह! उसलाई उसको आमाबाबुको लागि अघि पठाइएको पुण्य र स्वीकार्य गरिने मध्यस्थकर्ता बनाइ दिनुहोस् । हे अल्लाह! उसको आमाबाबुका तराजुहरू भारी बनाइदिनुहोस्, उनीहरुको पुण्य बढाईदिनुहोस्, उसलाई आस्थावान पूर्वजहरूको समूहमा सामेल गरिदिनुहोस् । उसलाई इब्राहीम (अलैहिस्सलाम) को जिम्मामा राखिदिनुहोस् र आफ्नो दयाले उसलाई नर्कको यातनाबाट बचाइ दिनुहोस् ।"
इमामले पुरुषको टाउकोको अगाडि र महिलाको बीचमा उभिनु सुन्नत हो । यदि धेरै अन्त्येष्टिहरू छन् भने पुरुष इमामको नजिक हुनुपर्छ र महिलाको अन्त्येष्टि किब्ला नजिक हुनुपर्छ । यदि तिनीहरूसँग बच्चाको अन्त्येष्टि छ भने बच्चाको अन्त्येष्टि महिला भन्दा पहिला, त्यसपछि महिला र त्यसपछि केटीको अन्त्येष्टि राख्नुपर्छ । महिलाको बीचको भाग पुरुषको टाउकोको अगाडि हुनुपर्छ र त्यसैगरी केटीको टाउको महिलाको टाउकोको अगाडि हुनुपर्छ र उनको बीचको भाग पुरुषको टाउकोको अगाडि हुनुपर्छ । सबै नमाजी (उपासक) हरू इमामको पछाडि उभिनु पर्छ । यदि कोही एक्लै छ र इमामको पछाडि ठाउँ पाएन भने उसले इमामको दाहिने तर्फ उभिनु पर्छ ।
आठौं: मृतकलाई दफन गर्ने तरिका
कब्रलाई पुरुषको आधा भाग गहिरो पार्नु र किब्लाको दिशामा लहद बनाउनु सुन्नत हो । मृतकलाई कब्रमा उसको दाहिनेपट्टि राख्नुपर्छ र कफनको गाँठो खोलेर त्यसको डोरीलाई त्यत्तिकै छोड्नुपर्छ; निकाल्नु हुँदैन । त्यसैगरी मृतकको अनुहार खोल्नु हुँदैन, चाहे पुरुष होस् वा महिला । त्यसपछि माथि काँचो इँटा राख्नु पर्छ र माटोले बन्द गर्नुपर्छ ताकि माटो मृतकसम्म नपुगोस् । यदि इँटाहरू उपलब्ध छैन भने अन्य कुनै चीज जस्तै तख्ता, ढुङ्गा वा काठ राख्न सकिन्छ ताकि माटो शवपेटीमा नखसोस् र त्यसपछि माटो हाल्नुपर्छ । माटो खन्याउँदा यो भन्नु मुस्तहब हो: 'बिस्मिल्लाह, वा अला मिल्लति रसूलिल्लाह' र माटो खन्याएपछि चिहानलाई एक हात माथि उठाएर समतल गर्नु पर्छ र सम्भव भएसम्म चिहानमा साना ढुङ्गाहरू राखेर पानी छर्कनुपर्छ ।
जनाजा (अन्त्येष्टि) का साथ आउनेहरूले दफन गरिसकेपछि चिहानको छेउमा उभिनु पर्छ र मृतकको लागि प्रार्थना गर्नु पर्छ, किनकि जब पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले मृतकलाई दफन गरिसकेपछि चिहानको छेउमा उभिनुहुन्थ्यो र भन्नुहुन्थ्यो: "आफ्नो भाइको लागि क्षमा माग्नुहोस् र उसको स्थिरताको लागि दुआ गर्नुहोस्, किनकि उसलाई अब प्रश्नहरू सोधिनेछ ।" [८] [८] (अबू दाऊद : ३२२१ र हाकिम : ३/३९९)
९) यदि कसैले जनाजाको नमाज पढ्न छुटाएको छ भने उसले दफन पछि जनाजाको नमाज पढ्न सक्छ ।
किनकि नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले यसो गर्नु भएको थियो, तर शर्त के छ भने यो एक महिना भित्र हुनुपर्छ । यदि यो भन्दा बढी ढिलो भयो भने यो नमाज पढ्न अनुमति छैन । किनभने अल्लाहका पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले गाडिएको एक महिना पछि चिहानमा नमाज पढ्नु भएको प्रमाणित छैन ।
१०) मृतकको परिवारले मानिसहरूका लागि खाना पकाउनु अनुमति छैन । जरीर बिन अब्दुल्लाह बजली (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन् : "हामीले मृतकको घरमा भेला हुनु र दफनपछि खाना पकाउनुलाई शोक मनाउने एक तरिका ठान्थ्यौँ ।" [९] इमाम अहमदले यसलाई हसन सनदका साथ वर्णन गरेका छन् । [९] (इब्ने माजा : १६१२ र इमाम अहमद : २/२०४) ।
मृतकको परिवार र उनीहरूका पाहुनाहरूको लागि खाना पकाउनुमा आपत्ति छैन, बरू उनका आफन्त र छिमेकीहरूले उनीहरूको लागि खाना पकाउनु शरीयतबाट प्रमाणित कुरा हो । किनभने जब जाफर बिन अबी तालिब (रजियल्लाहु अन्हु) सिरियामा शहीद हुनु भयो, तब पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो परिवारलाई जाफर (अल्लाह उहाँसँग प्रसन्न हुनुहोस्) को परिवारको लागि खाना तयार गर्न आदेश दिनुभयो र भन्नुभयो: "उनीहरूलाई विचलित पार्ने खबर आएको छ ।" [१०] [१०] मुस्लिम, अल्जनाइज (९७६), निसाई (२०३४), अबू दाउद, अल्जनाइज (३२३४), इब्ने माजा मा जाअ फिल्जनाइज (१५६९), अहमद (२/४४१) ।
मृतकको परिवारलाई उपहार स्वरूपमा दिइएका खानामा छिमेकीहरू आदिलाई निम्तो दिनुमा कुनै आपत्ति छैन र हाम्रो ज्ञान अनुसार, यस सम्बन्धमा कुनै खास समय तोकिएको छैन ।
एघारौं: महिलाले आफ्नो पति बाहेक अरू मृतकको लागि तीन दिनभन्दा बढी शोक मनाउनु जायज छैन,
किनभने पत्नीले आफ्नो पतिको लागि चार महिना दश दिनसम्म शोक गर्नु अनिवार्य छ, तर यदि उनी गर्भवती छिन् भने बच्चा जन्मिएसम्म शोक गर्नुपर्छ, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट त्यस्तै प्रमाणित छ ।
तर पुरुषले आफ्नो नातेदार वा प्रियजनको मृत्युमा शोक मनाउनु अनुमति छैन ।
१२) मानिसहरूले समय-समयमा चिहानहरूमा गएर चिहानवासीहरूको लागि प्रार्थना गर्नु, तिनीहरूको लागि दयाको याचना गर्नु, मृत्यु र त्यसपछि हुने कुराहरूलाई सम्झनु सुन्नत हो ।
किनभने पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "कब्रको जियारत (दर्शन) गर्नुहोस्, यसले तपाईंहरूलाई परलोकको सम्झना गराउँछ।" [११] (मुस्लिम) [११] इब्ने माजह : १५६९ र अल्बानीले सही भनेका छन् ।
नबी (सल्लल्लाहु अलाहि वसल्लम) आफ्ना साथीहरूलाई चिहानहरूमा जाँदा यो दुआ पढ्न सिकाउनुहुन्थ्यो: अस्सलामु अलैकुम अहलद्दियार मिन अल्मुमिनीन वलमुस्लिमीन, व इन्ना इन्शा अल्लाहु बिकुम लाहिकून, नसअलुल्लाह लना व लकुम अलआफिया, यरहमुल्लाहुल मुतक़द्दिमीना मिन्ना वल मुस्तअख़िरीन। "यस भूमिमा बस्ने आस्थावानहरू र मुस्लिमहरू! तपाईंहरूमाथि शान्ति होस्, यदि अल्लाहले चाहनुभयो भने, हामी अवश्य तपाईंहरूसँग भेट्नेछौं । हामी आफ्नो लागि र तपाईंहरूको लागि अल्लाहसंग शान्ति चाहन्छौं । अल्लाहले हाम्रा अग्रजहरू र पछि आउनेहरूमाथि दया गरून् ।" [१२] [१२] (मुस्लिम : ९७५)
यद्यपि, महिलाहरू का लागि चिहानहरूमा जानु अनुमति छैन; किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले चिहानहरू भ्रमण गर्ने महिलाहरूलाई श्राप दिनुभएको छ र तिनीहरूको भ्रमणबाट फित्ना (विपत्ति) हुने र तिनीहरुबाट धैर्यको बाँध टुट्ने डर हुन्छ । त्यसैगरी, महिलाहरूलाई चिहानमा जनाजाको पछि लाग्नु अनुमति छैन, किनकि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले पनि उनीहरूलाई त्यसो गर्नबाट निषेध गर्नुभएको छ । तर मस्जिद वा प्रार्थना स्थलमा मृतकको लागि नमाज अदा गर्नु पुरुष र महिला दुवैको लागि अनुमति छ ।
समाप्त हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम), उहाँका परिवार र साथीहरूमाथि दया र शान्ति रहोस् ।
Related books
All books
نبذة في العقيدة الإسلامية (شرح أصول الإيمان)75 languagesالإسلاميةالإيماننبذة في العقيدة الإسلامية (شرح أصول الإيمان)
رسالة لطيفة تتناول أصول العقيدة الإسلامية بأسلوب مبسط وميسر. تبدأ بمقدمة حول أهمية علم التوحيد، كونه أشرف العلوم وأجلّها، ثم تتناول مفهوم الدين الإسلامي وأركانه الخمسة: الشهادتان، والصلاة، والزكاة، والصوم، والحج. كما يشرح الإيمان بالله، وملائكته، وكتبه، ورسله، واليوم الآخر، ويؤكد على أهمية التوحيد في بناء دين المسلم بشكل سليم. الكتاب يهدف إلى تعزيز الفهم الصحيح للعقيدة الإسلامية وتطبيقها في حياة المسلم اليومية.
इस्लामको संक्षिप्त परिचय कुरआन र हदीसको प्रकाशमा71 languagesइस्लामको संक्षिप्त परिचय कुरआन र हदीसको प्रकाशमा
इस्लाम यो एउटा महत्त्वपूर्ण पुस्तक हो, जसमा इस्लामको संक्षिप्त परिचय प्रस्तुत गरिएको छ। यसमा इस्लामका आधारभूत सिद्धान्तहरू, शिक्षाहरू र यसको उत्कृष्ट विशेषताहरूलाई इस्लामका मूल तथा भरपर्दा स्रोत—पवित्र कुरआन र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत—को प्रकाशमा स्पष्ट रूपमा प्रस्तुत गरिएको छ। यो पुस्तक मुस्लिम तथा गैरमुस्लिम सबै जिम्मेवार (मुकल्लफ) व्यक्तिहरूलाई लक्षित गरी उनीहरूकै भाषामा तयार पारिएको हो, ताकि हरेक समय, स्थान र विभिन्न परिस्थिति तथा अवस्थाका मानिसहरूले यसबाट लाभ लिन सकून्। (पवित्र कुरआन र हदीसका प्रमाणहरू समावेश गरिएको संस्करण) १- इस्लाम सम्पूर्ण मानवजातिका लागि अल्लाहको…
इस्लामको संक्षिप्त परिचय कुर्आन र हदीसको प्रकाशमा61 languagesइस्लामको संक्षिप्त परिचय कुर्आन र हदीसको प्रकाशमा
बिस्मिल्ला हिर्रहमा निर्रहीम (अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु) । इस्लाम (प्रमाणरहित संस्करण)[१] (१) यस पुस्तकको अर्को प्रतिलिपि पनि उपलब्ध छ, जसमा प्रत्येक कुराको प्रमाण कुर्आन र हदीसबाट प्रस्तुत गरिएको छ, तपाइँ यसलाई निम्न लिङ्क मार्फत हेर्न सक्नुहुन्छ: http://islamhouse.com/ar/books/२८३००७१ इस्लामको संक्षिप्त परिचयमा आधारित यो एक महत्त्वपूर्ण पुस्तिका हो । जसमा इस्लाम धर्मका महत्वपूर्ण सिद्धान्तहरू, शिक्षाहरू र विशेषताहरूलाई इस्लामको दुई मौलिक र भरपर्दो श्रोत; कुर्आन र हदीसको प्रकाशमा वर्णन गरिएको छ । यो पुस्तिकाले मुस्लिम र गैर(मुस्लिम सबैलाई तिनीहरूको आफ्नै…
तीन मूल सिद्धान्त र त्यसका प्रमाणहरू73 languagesतीन मूल सिद्धान्त र त्यसका प्रमाणहरू
यस पुस्तकमा मुस्लिमले जान्नैपर्ने; अल्लाह, उहाँको नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) र इस्लाम धर्मको ज्ञान र पहिचान जस्ता आधारभूत सिद्धान्तहरूलाई समेटिएको छ। यसले ईमान र असल कर्महरू निर्माण गर्न यी सिद्धान्तहरूको महत्त्वलाई कुरआन र हदीसको प्रकाशमा स्पष्ट पारेको छ।