Skip to content
सही अकीदा (सिद्धान्त) र त्यसका विपरीत धारणाहरू

सही अकीदा (सिद्धान्त) र त्यसका विपरीत धारणाहरू

लेखः अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु । प्रस्तावना सम्पूर्ण किसिमका प्रशंसा एवं महिमागानहरू अल्लाहकै लागि हुन् । दरूद र सलाम (दया एवं शान्ति) अवतरित होस् अल्लाहको अन्तिम सन्देष्टा, सम्पूर्ण दूतहरूका समापक मुहम्मद (सल्लल्लाहु अलैहे वसल्लम) माथि, र उहाँका समस्त घरपरिवार तथा सहाबा (साथी) हरूमाथि ।

Language: lang_ne
Prepared by: आदरणीय शैख अब्दुल अजीज बिन अब्दुल्लाह इब्ने बाज रहेमहुल्लाह
Version: 1.0

सही अकीदा (सिद्धान्त) र त्यसका विपरीत धारणाहरू

लेखः

आदरणीय शैख अब्दुल अजीज बिन अब्दुल्लाह इब्ने बाज रहेमहुल्लाह

अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु ।

प्रस्तावना

सम्पूर्ण किसिमका प्रशंसा एवं महिमागानहरू अल्लाहकै लागि हुन् । दरूद र सलाम (दया एवं शान्ति) अवतरित होस् अल्लाहको अन्तिम सन्देष्टा, सम्पूर्ण दूतहरूका समापक मुहम्मद (सल्लल्लाहु अलैहे वसल्लम) माथि, र उहाँका समस्त घरपरिवार तथा सहाबा (साथी) हरूमाथि ।

अम्मा बाद (तत्पश्चात) : सही र विशुद्ध आस्था नै इस्लाम धर्मको मूल आधार रहेकोले आजको मन्तब्य यसैको सेरोफेरोमा केन्द्रित रहनेछ । सही र विशुद्ध आस्थामा आधारित रहेको सत्कर्म (कार्य र भनाइ) मात्र मान्य हुन्छ भन्ने कुरा सबैमा सर्वविदितै छ। यदि अकीदा (सिद्धान्त) गलत छ भने कुनै पनि कार्य र भनाइहरू स्वीकार्य हुने छैन । अल्लाहको भनाइ छ: "सम्पूर्ण पवित्र कुराहरू आज तिमीहरूका लागि हलाल गरिएका छन् । अहले किताब (यहूदी र ईसाई) हरूले जबह गरेको मासु तिमीहरूका लागि र तिमीहरूले जबह (हलाल) गरेको मासु उनीहरूका लागि हलाल छन् । पवित्र आस्थावान महिलाहरू तथा यहूदी र ईसाई पवित्र महिलाहरूसँग विवाह गर्न हलाल छ । यस शर्तमा कि तिमीहरूले उनीहरूलाई मेहर देऊ र विधि पुर्वक निकाह गर। खुल्लमखुल्ला वा तिनीहरूलाई मित्र बनाएर व्यभिचार नगर । यदि कसैले ईमान त्याग्छ भने त्यसका सबै कर्महरू बर्बाद हुन्छन् र आखिरत (मृत्यु पश्चातको जीवन) मा तिनीहरू नोक्सान बेहोर्नेहरूमध्ये हुने छन् ।" (अल्-माइदा: ५) अल्लाहको फर्मान छ: "तिमी र तिमीभन्दा अघिका रसूलहरूलाई वह्य (प्रकाशना) द्वारा सुचित गरिएको छ, यदि तिमीले शिर्क (बहुदेववाद) गर्यौ भने तिमीले गरेका सबै कर्महरू खेर जानेछन् र तिमी अवश्य नै घाटामा पर्नेवालाहरूमध्येका हुनेछौ ।" (अज्जुमर: ६५) कुरआनमा यस्ता धेरै श्लोक (प्रमाण) हरू छन् । अल्लाहको पवित्र र स्पष्ट ग्रन्थ कुरआन तथा उसको धरोहरी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को हदीसले प्रमाणीकरण गरेको छ कि ईमान (आस्था) निम्न ६ वटा कुराहरूमा आधारित छन्; अल्लाहमाथि, उहाँका फरिश्ताहरू, उहाँका किताबहरू, उहाँका रसूलहरू, कयामत (महाप्रलय) को दिन तथा राम्रो-नराम्रो भाग्यमाथि आस्था राख्नु । हो, यी छ वटा कुराहरू सही आस्था (ईमान) का आधारहरू हुन्, जुन अल्लाहले आफ्नो पवित्र पुस्तकमा अवतरण गर्नुभएको छ र त्यसैको तालिम दिन रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई पठाउनुभएको छ। गैब (अदृश्य) तथा अल्लाह र उहाँको रसूलले भन्नुभएका सबै कुराहरू यसै मूल आधार अन्तर्गत पर्दछन् । अतः यी कुराहरूप्रति अनिवार्य रूपमा ईमान ल्याउनु पर्छ । यी छवटा सिद्धान्तहरूको प्रमाण कुरआन र हदीसमा प्रशस्तै पाइन्छ, त्यसमध्ये केही यस प्रकार रहेका छन्, अल्लाहले भन्नुभएको छ: “तपाईले आफ्नो मुख पूर्व वा पश्चिमतिर फर्काउनु धर्म होइन, तर अल्लाह, कियामतको दिन, फरिश्ता, आकाशीय ग्रन्थ र सम्पूर्ण रसूलहरूमाथि विश्वास गर्नु ठूलो सत्कर्म हो ।” (अल् बकरह: १७७) अल्लाहले भन्नुभएको छ: "रसूल र मोमिनहरू (आस्थावानहरू) आफ्नो प्रतिपालकबाट अवतरित कुराहरूमा विश्वास गर्दछन् । यिनीहरू सबैजना अल्लाह, उहाँका फरिश्ता तथा सन्देष्टाहरूमाथि यो भन्दै ईमान ल्याए– हामी उहाँका रसूलहरूमा कुनै पनि फरक गर्दैनौं ।" (अल् बकरह: २८५) अल्लाहले भन्नुभएको छ: "हे मोमिनहरू ! अल्लाहमाथि, उहाँको रसूलमाथि, रसूलमाथि अवतरण गरिएको ग्रन्थमाथि र उहाँभन्दा पहिला अवतरण गरिएका ग्रन्थहरू सबैमाथि आस्था राख । जसले अल्लाह, फरिश्ताहरू, उहाँका ग्रन्थहरू, रसूलहरू र अन्तिम दिनको इन्कार गर्दछ, ऊ पथभ्रष्ट भई वास्तविक मार्गबाट धेरै टाढा पुगिसकेको हुन्छ ।" (अन्निसाः १३६) अल्लाहले भन्नुभएको छ: "हे रसूल, आकाश र पृथ्वीमा रहेका सम्पूर्ण कुराहरूलाई अल्लाह राम्ररी जान्नुहुन्छ भन्ने कुरा के तपाईंलाई थाहा छैन । वास्तवमा, यी सबै कुराहरू एउटा किताब (लौहे-महफूज) मा अंकित छ । यो सम्पूर्ण ज्ञान अल्लाहको निम्ति अत्यन्त सरल छ ।" (अल् हज्जः ७०) यी मूल आधारहरूलाई प्रमाणित गर्ने कैयौं सही हदीसहरू छन् । त्यसमध्ये सबैभन्दा अत्यन्तै प्रसिद्ध हदीसे जिब्रील हो । जसलाई इमाम मुस्लिमले आफ्नो सही मुस्लिममा उमर बिन् खत्ताबबाट वर्णन गरेका छन् । जिब्रील (अलैहिस्सलाम) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग ईमानको बारेमा प्रश्न गर्दा उहाँले जवाफमा भन्नुभयो: “ईमान भनेको अल्लाह, उहाँका फरिश्ताहरू, उहाँका पुस्तकहरू, उहाँका रसूल ( सन्देशवाहक) हरू, अन्तिम दिन तथा राम्रो-नराम्रो भाग्यमाथि आस्था राख्नु हो ।" [१] पूर्ण हदीस हदीससम्म । यस हदीसलाई इमाम बुखारी र मुस्लिमले अबू-हुरैरह (रजिअल्लाहु अन्हु) बाट वर्णन गरेका छन् । एउटा मुस्लिमले ईमानका यी छ वटा मूल आधारका साथ अल्लाहप्रति, अन्तिम दिन तथा गैब (अदृश्य) का अन्य मामिलाहरूमाथि अनिवार्य रूपमा विश्वास गर्नुपर्ने हुन्छ। (१) मुस्लिम: ईमान: (८), तिर्मिजी: ईमान: (२६१०), निसाई: ईमान: (४९९०), अबु-दाऊद: सुन्नह (४६९५), इब्ने माजह: मोकद्दे (६३) र अहमद: (१/२७) ।

सर्वशक्तिमान अल्लाहप्रति आस्था

अल्लाह नै सत्य पूज्य र उपासना योग्य हुनुहुन्छ र उहाँको उपासनामा अरू कोही साझेदार छैन भनेर आस्था राख्नु ।

अल्लाह बाहेक अरू कोही सत्य ईश्वर छैन जुन पूजा गर्ने योग्य होस् भनेर हामीले दृढ आस्था राख्नुपर्छ । किनभने उहाँ नै सम्पूर्ण प्राणीहरूका सृष्टिकर्ता, तिनीहरूको हितैषी, तिनीहरूको पालनपोषणकर्ता, तिनीहरूको वाह्य तथा आन्तरिक कुराहरूका सर्वज्ञाता हुनुहुन्छ । आज्ञाकारीहरूलाई पुरस्कार दिन र अवज्ञाकारीहरूलाई दण्ड दिन सक्षम हुनुहुन्छ। यसै उपासना र आराधनाको लागि अल्लाहले मानव र (दानव) जिन्नलाई सृष्टि गर्नुभएको छ । अल्लाहले भन्नुभएको छः "मैले जिन्न र मानवलाई केवल आफ्नो उपासनाको लागि सृष्टि गरेको छु ।" (अज्जारियातः ५६) "म उनीहरूबाट नत जीविका चाहन्छु नत यो चाहन्छु कि उनीहरूले मलाई खुवाउन् ।" (अज्जारियातः ५७) वास्तवमा, अल्लाह नै जीविका प्रदान गर्ने अति शक्तिशाली हुनुहुन्छ। (अज्जारियातः ५८) अल्लाहले भन्नुभएको छ: "हे मानव हो ! आफ्नो पालनकर्ताको उपासना गर, जसले तिमी र तिमीभन्दा अघिकालाई सृष्टि गर्नुभएको छ । आशा छ तिमीहरू सदाचारी (संयमी) बन्ने छौ ।" (अल् बकरह: २१) जसले तिमीहरूका लागि धर्तीलाई समतल ओछ्यान र आकाशलाई बलियो छाना बनाउनुभयो । उहाँले नै तिमीहरूको जीविकोपार्जनका लागि आकाशबाट पानी बर्साएर धर्तीबाट अनेक प्रकारका फलफूलहरू उमार्नुभयो । अतः जानीजानी अल्लाहसँग कसैलाई साझेदार नबनाऊ । (अल् बकरह: २२) यसै एकेश्वरवादलाई स्पष्ट पार्न, मानिसलाई एकेश्वरवादतर्फ आह्वान गर्न र यसको विरूद्ध चेतावनी दिन अल्लाहले सन्देष्टा र आकाशीय ग्रन्थहरू पठाउनुभयो । अल्लाहले भन्नुभएको छः “हामीले प्रत्येक समुदायमा रसूल पठायौं । (हे मानव हो) ताकि केवल अल्लाहको उपासना गर र उहाँ बाहेक सम्पूर्ण मिथ्या उपास्यदेखि टाढा रहने गर ।” (अन्नहलः ३६) अल्लाहले भन्नुभएको छ: "हामीले तपाईंभन्दा पहिले पठाइएका हरेक रसूललाई वह्य गर्यौः म बाहेक अरू कोही सत्य ईश्वर (पूज्य) छैन, त्यसैले मात्र मेरो उपासना गर।” (अल् अम्बियाः २५) अल्लाहले भन्नुभएको छ: "अलिफ. लाम. रा. । यो यस्तो किताब हो जसका आयत (श्लोक) हरू हरेक दृष्टिले ठोस र पूर्ण छन् । त्यसपछि तत्वदर्शी र सर्वज्ञाताको तर्फबाट स्पष्ट व्याख्या गरिएको छ ।" "अल्लाह बाहेक अरू कसैको उपासना नगर, किनकि म उहाँको तर्फबाट तिमीहरूलाई सावधान गर्ने र शुभ सन्देश दिनेवाला हुँ ।" (हूद: १-२) यस उपासनाको वास्तविकता भनेको भक्तले दुआ (प्रार्थना), डर, आशा, नमाज, व्रत, बलिदान, भाकल लगायत अन्य सम्पूर्ण उपासनाहरू उहाँकै लागि समर्पित गर्नुपर्छ । साथै उहाँको लागि अपार प्रेम, उहाँको महिमाप्रति श्रद्धा तथा उहाँको भयको साथमा आशा मिसिएको हुनुपर्छ। कुरआनका अधिकांश सूरहहरूमा यसलाई दर्शाइएको छ । अल्लाहले भन्नुभएको छ: "अल्लाहको भक्ति गर र उहाँसँग अन्य कसैलाई साझेदार नबनाऊ ।" "जानिराख ! अल्लाहकै लागि विशुद्ध र स्वच्छ धर्म (उपासना) हो ।" (अज्जुमर: २-३) अल्लाहले भन्नुभएको छ: "तिम्रो पालनकर्ताले आदेश दिनुभएको छ- उहाँबाहेक अरू कसैको भक्ति नगर ।" (अल् इस्राः २३) अल्लाहले भन्नुभएको छ: "त्यसैले अल्लाहलाई एकाग्रताकासाथ पुकार्नुहोस्, काफिरहरूले घृणा गरे तै पनि ।" (गाफिर: १४) बुखारी र मुस्लिममा मुआज (रजिअल्लाहु अन्हु) ले बर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "भक्तरूमाथि अल्लाहको अधिकार यो हो कि तिनीहरूले उहाँको उपासना गरुन् र उहाँको उपासनामा अरू कसैलाई साझेदार नगरुन् ।" [२] (२) बुखारी: जिहाद वस्-सियर (२७०१), मुस्लिम: ईमान: (३०), तिर्मिजी: ईमान: (२६४३), इब्ने माजा: : अज-जुहुद: (४२९६) र अहमद : (५/२३८) ।

इस्लामका पाँच महत्वपूर्ण स्तम्भहरू लगायत अल्लाहले आफ्ना भक्तहरूमाथि अनिवार्य गर्नुभएका सम्पूर्ण कुराहरूमा अनिवार्य रूपमा आस्था राख्नुपर्छ ।

इस्लामका पाँच महत्वपूर्ण स्तम्भहरू यस प्रकार रहेका छन्: अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुन् भन्ने कुराको गवाही दिनु, नमाज पढ्नु, जकात (दान) दिनु, रमजानको ब्रत बस्नु र सक्षम व्यक्तिले बैतुल्लाहको हज्ज गर्नु तथा इस्लामले अनिवार्य गरेका अन्य अनिवार्य कर्तव्यहरू।

यी स्तम्भहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा ठूलो तौहीद (मूलमन्त्र) अर्थात अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुन् भन्ने कुराको गवाही दिनु हो । किनभने जब अल्लाह बाहेक कोही सत्य ईश्वर छैन भने उपासना पनि उहाँकै हुनुपर्छ होइन र ? र उहाँको उपासनामा अरू कसैलाई साझेदार नबनाउनु नै तौहीदको अर्थ र भिलाषा हो । किनकि अल्लाह बाहेक अरू कोही सत्य ईश्वर छैन, यो नै लाइलाहा इल्लल्लाहको अर्थ हो। अतः अल्लाह बाहेक पुजा गरिने सबै कुरा, चाहे त्यो मानव होस्, फरिश्ता होस्, जिन्न होस् वा अरू केही होस्, सबै असत्य र मिथ्या हुन् । सत्य ईश्वर त मात्र अल्लाह हुनुहुन्छ। जसरी कि अल्लाहको फर्मान छः "वास्तवमा, अल्लाह नै नितान्त सत्य हुनुहुन्छ र उहाँ बाहेक जसलाई यिनीहरूले पुकार्दछन् सबै असत्य छन् ।" (अल्-हज: ६२) अल्लाहले मानव र जिन्नलाई आफ्नो उपासनाको लागि सृष्टि गर्नुभएको कुरा अघि उल्लेख भइसकेको छ । यसै एकेश्वरवादतर्फ आह्वान गर्नकै लागि अल्लाहले सन्देष्टा पठाउनुभएको र आकाशीय ग्रन्थहरू अवतरण गर्नुभएको कुरा पनि सर्वविदितै छ। त्यसैले यसको बारेमा राम्ररी सोच्नुहोस् र धेरै मनन् गर्नुहोस् । किनभने आज अधिकांश मुस्लिमहरू यस मौलिक सिद्धान्तबाट अनभिज्ञतालेगर्दा शिर्क (बहुदेववाद) गरिरहेका छन् र अल्लाह बाहेकको पूजामा होमिएका छन् । त अल्लाह नै मद्दत गर्नेवाला हो ।

सिङ्गो संसारको सृष्टिकर्ता, अन्नदाता तथा आफ्नो ज्ञान र क्षमताले उनीहरूको मामिलालाई व्यवस्थापन गर्ने अल्लाह नै हुनुहुन्छ भन्ने आस्था राख्नु ।

सिङ्गो संसारको सृष्टिकर्ता तथा अन्नदाता अल्लाह नै हुनुहुन्छ । उहाँ आफ्नो ज्ञान र शक्तिले जसरी चाहनुहुन्छ हेरफेर गर्नुहुन्छ । दुनियाँ र आखिरत (लोक परलोक) तथा सिङ्गो संसारको एक्लो मालिक हुनुहुन्छ । उहाँ बाहेक नत कोही सृष्टिकर्ता छ नत पूज्य नै । भक्हतरूलाई सुधार्न, तत्काल र भविष्यमा तिनीहरूको मुक्तिका लागि अल्लाहले सन्देष्टाहरू पठाउनुभयो र आकाशीय ग्रन्थहरू अवतरण गर्नुभयो । यी सम्पूर्ण विशेषताहरूमा कोही उहाँको साझेदार छैन भन्ने कुरालाई दृढतापूर्वक स्वीकार गर्नुपर्छ । अल्लाहले भन्नुभएको छ: "अल्लाह हरेक कुराको स्रष्टा हुनुहुन्छ र उहाँ नै सबै कुराको संरक्षक हुनुहुन्छ ।" (अज्जुमर: ६२) अल्लाहले भन्नुभएको छ: "निस्सन्देह तिमीहरूको पालनकर्ता अल्लाह हुनुहुन्छ, जसले सम्पूर्ण आकाशहरू तथा पृथ्वीलाई ६ दिनमा सृष्टि गर्नुभयो । फेरि आफ्नो अर्श (सिंहासन) मा आफ्नो शान अनुसार उच्च हुनुभयो । उहाँ रातका अन्धकारलाई दिनको प्रकाशबाट र दिनको प्रकाशलाई रातको अन्धकारबाट समाप्त पार्नुहुन्छ । ढिलो न गरिकन दुवै एक अर्काको पछाडि व्यवस्थित ढंगले आइपुग्छन् । अल्लाहले नै सूर्य, चन्द्र तथा ताराहरूलाई सृष्टि गर्नुभयो । हेर ! सम्पूर्ण सृष्टिहरू उहाँ कै हो र आदेश पनि । उहाँ सम्पूर्ण गुणहरूले परिपूर्ण, अति महान र सम्पूर्ण जगतको पालनकर्ता हुनुहुन्छ ।" (अल्-आराफ: ५४)

अल्लाहका अस्मा व सिफात (उत्कृष्ट नाम र उच्च विशेषता) हरूमाथि जस्ताको त्यसतै अर्थ परिवर्तन, अर्थ विहीन, कैफियत र हेरफेर नगरिकन आस्था राख्नु ।

अल्लाह तआलाले आफ्नो लागि जुन अस्मा व सिफात (उत्कृष्ट नाम र विशेषता) हरू कुरआनमा र उहाँको रसूलले हदीसमा प्रमाणित गर्नुभएको छ, ती कुराहरूमाथि तहरीफ (अर्थ परिवर्तन) नगरिकन, तातील (अर्थ विहीन) नगरिकन, तक्ईफ (कैफियत बयान) नगरिकन तथा तमसील (सृष्टि जस्तै नभनीकन) जस्ताको त्यसतै आस्था राख्नु तौहीद अस्मा वसि्सफात हो । हो, उहाँको व्यक्तित्वलाई सुहाउँदो अर्थलाई प्रमाणित गर्ने तर उहाँको नाम र विशेषता सृष्टिको नाम र विशेषतासँग नदाज्ने। अल्लाहले भन्नुभएको छ: “उहाँ जस्तो कोही पनि छैन, उहाँ सर्वश्रोता र सर्वद्रष्टा हुनुहुन्छ ।” (अश्शूराः ११) अल्लाहले भन्नुभएको छः "तसर्थ अल्लाहको उदाहरणहरू नदेऊ । किनकि अल्लाह जान्नुहुन्छ र तिमीहरूलाई थाहा छैन ।" (अन्-नहल: ७४) सहाबा (रसूल सल्लल्लाहु अलैहि वसल्लम) का साथीहरू तथा उनीहरूको अनुसरण गर्ने समस्त अह्ले सुन्नत वल-जमाअतको यही आस्था हो । यसै आस्थालाई इमाम अबुल-हसन अल-अशअरीले आफ्नो पुस्तक "अल-मका लात अन असहाबिल हदीस व अह्लिस-सुन्नह" मा वर्णन गरेका छन् तथा अन्य धर्मगुरूहरूले पनि उल्लेख गरेका छन् ।

इमाम अवजाई (रहेमहुल्लाह) ले वर्णन गरेका छन्: इमाम जुहरी र मक्हूलसित आयात अल-सिफात (अल्लाहका विशेषताहरू वर्णन गरिएका श्लोकहरू) को बारेमा सोधिएको थियो र उनीहरूले भने: त्यससमाथि जस्ताको त्यस्तै ईमान ल्याउनु पर्छ । अल-वालीद बिन मुस्लिम (रहेमहुल्लाह) ले वर्णन गरेका छन्: मालिक, अल-अवजाई, लैस बिन साद तथा सुफयान सौरीसित विशेषताका उदधृतको बारेमा सोधिएको थियो त तिनीहरू सबैले जवाफ दिए: त्यसको कैफियत वर्णन नगरिकन जस्ताको त्यस्तै ईमान ल्याउनु पर्छ । अल-अवजाई (रहेमहुल्लाह) ले वर्णन गरेका छन् : हामी, प्रशस्त ताबई (सहाबाका अनुयायी) हरू भएको युगमा भन्ने गर्थ्यौं : अल्लाह आफ्नो अर्श (हासन) माथि उच्च हुनुहुन्छ र हामी सुन्नतमा उल्लेख गरिएका गुणहरूमा जस्ताको त्यस्तै विश्वास गर्छौं। इमाम मलिकका अध्यापक; रबिअह बिन अबी अब्दुर्रहमान (रहेमहुमुल्लाह) लाई इस्तिवाको बारेमा सोधियो, उनले भने: "इस्तिवा अज्ञात छैन, कैफियत बुद्धि परको कुरा हो, अल्लाहले संदेश पठाउनु हुन्छ, रसूलले त्यसलाई स्पष्ट रूपमा पुर्याइदिनुहुन्छ र हाम्रो कर्तव्य भनेको त्यसमाथि विश्वास गर्नु हो ।" जब इमाम मलिक (रहेमहुल्लाह) लाई इस्तिवाको बारेमा सोधियो, उनले भने: "इस्तिवा थाहा छ, कैफियत थाहा छैन, यसमा विश्वास गर्नु अनिवार्य छ तर यसको बारेमा सोध्नु विदअत हो ।" त्यसपछि उहाँले प्रश्नकर्तालाई भने: म तिमीलाई नराम्रो मान्छे बाहेक केही देख्दिन र उसलाई बाहिर निकाल्न आदेश दिए ।

उम्मे सलमह (रजिअल्लाहु अन्हा) ले पनि यसै अर्थलाई पुष्टि गर्नुभएको छ । र इमाम अबू अब्दुर्रहमान इब्नुल मुबारक रहेमहुल्लाहले भनेका छन्: "हामी हाम्रा प्रतिपालकलाई राम्ररी चिन्छौं, उहाँ सातौं आकाशमाथि आफ्नो सिंहासनमाथि उच्च हुनुहुन्छ र उहाँ आफ्नो सृष्टिदेखि अलग्गै हुनुहुन्छ ।" यस विषयमा इमामहरूका भनाइहरू धेरै छन्, जसलाई यस सानो मन्तब्यमा बयान गर्न सकिँदैन । जो यसको बारेमा अधिक जानकारी चाहन्छ, उसले अहले- सुन्नत वल-जमाअतका विद्वानहरूको लेख र कृतिलाई अध्ययन गरुन्, जस्तैः अब्दुल्लाह बिन इमाम अहमद द्वारा लिखित पुस्तक "अस्-सुन्नह", महान इमाम मुहम्मद बिन खोजइमाद्वारा लिखित पुस्तक "अत-तौहीद", अबुल-कासिम अल-लाल्काई अत्तबरीद्वारा लिखित पुस्तक "अस्-सुन्नह", अबु बकर बिन अबी आसिमद्वारा लिखित पुस्तक "अस्-सुन्नह" तथा शैखुल्-इस्लाम इब्ने तैमियहको महत्वपूर्ण जवाफ, जुन 'हमात' का मानिसहरूका लागि लेखेका थिए । यो एक महान र अति उपयोगी जवाफ हो, जसमा उनले अहले- सुन्नत वल-जमाअतको आस्थालाई धर्म विद्हरूको भनाइका साथ व्याख्या गरेका छन्, अहले- सुन्नत वल-जमाअतले भनेको कुरालाई कुरआन, हदीस तथा तार्किक दुवै तरिकाले प्रमाणित गरेका छन् साथै विरोधीहरूको भनाइको खण्डन गरेका छन् । त्यसै गरी शैखुल्-इस्लाम इब्ने तैमियहको अर्को महत्वपूर्ण कृति 'अत-तदम्मुरिया' हो । जसमा उनले अहले- सुन्नत वल-जमाअतको आस्थालाई कुरआन, हदीस तथा तार्किक दुवै तरिकाले प्रमाणित गर्नका साथै विरोधीहरूको भनाइलाई यसरी खण्डन गरेका छन्, जसले सत्य र न्याय प्रेमीलाई सत्य विजयी भएको र असत्य घुंडा टेकेको छर्लङ्ग हुन्छ । जसले पनि आस्मा वस्सिफात (अल्लाह का उत्कृष्ट नाम र विशेषता) को अध्यायमा अहले- सुन्नत वल-जमाअतको विरोध गरेको छ, ऊ या त आफै कुरआन र हदीसका प्रमाणहरूको उल्लङ्घन गर्छ वा उसको भनाइमा स्पष्ट विरोधाभाष पाइन्छ ।

अस्मा वस्सिफात (उत्कृष्ट नाम र उच्च विशेषता) हरूप्रति अहले सुन्नत वल-जमाअतको आस्था के छ भने अल्लाह तआलाले आफ्नो लागि जुन नाम र विशेषताहरू कुरआनमा र उहाँको रसूलले हदीसमा प्रमाणित गर्नुभएको छ, ती कुराहरूमाथि जस्ताको त्यसतै आस्था राख्नु पर्छ । यसरी उनीहरू सृष्टिसँग तुलना गर्न, अर्थ परिवर्तन, हेरफेर र विशेषताहरूलाई इन्कार गर्न र उहाँलाई अस्तित्वहीन बनाउन इत्यादि सबै विरोधाभाषबाट जोगिए । साथै सबै प्रमाणहरूलाई कार्यन्वयन गरे । यो अल्लाहको सुन्नत (नियम) हो, जसले सत्यको अनुसरण गर्छ, शुद्ध मनले सत्यलाई पाउने प्रयास गर्छ, अल्लाहले उसलाई सत्यमा डोऱ्याउनुहुन्छ र सत्य देखाउनुहुन्छ, जस्तो कि अल्लाहले भन्नुभएको छ: "बरू हामीले सत्यद्वारा असत्यमाथि प्रहार गर्दछौं अनि सत्यले असत्यको टाउको कुल्चिदिन्छ र असत्य नष्ट भइहाल्छ ।" (अल्-अम्बिया: १८ अल्लाहको फर्मान छः "बहुदेववादीहरूले तपाईंसमक्ष जुनसुकै उदाहरण ल्याए पनि हामीले उनको उदाहरणभन्दा सही जवाफ र उत्तम व्याख्या बताउनेछौं ।" (अल्-फुर्कान: ३३) हाफिज इब्ने क्सीरले आफ्नो प्रसिद्ध तफ्सीरमा अल्लाहको भनाइ: "निस्सन्देह तिमीहरूका पालनकर्ता अल्लाह हुनुहुन्छ, जसले सम्पूर्ण आकाशहरू तथा पृथ्वीलाई ६ दिनमा सृष्टि गर्नुभयो । फेरि आफ्नो अर्श (सिंहासन) माथि आफ्नो शान अनुसार उच्च हुनुभयो" को व्यख्या गर्दै उल्लेख गरेका छन् । (अल्-आराफ: ५४) यो यस सन्दर्भको सबैभन्दा राम्रा व्याख्या भएकोले फाइदाको लागि यहाँ व्यक्त गर्नु सान्दर्भिक होला । उनले भनेका छन्: यस सम्बन्धमा मानिसहरूले विभिन्नखाले धारणाहरू व्यक्त गरेका छन्, यो त्यसलाई उल्लेख गर्ने ठाउँ होइन । बरू हामी यस सन्दर्भमा सलफ सालेहीन (सदाचारी पूर्वज) हरू जस्तैः मालिक, औजाई, सौरी, लैस बिन साद, शाफई, अहमद, इसहाक तथा मुस्लिमहरूका पुराना र नयाँ इमामहरूका सिद्धान्तलाई उस्तै स्वीकार्दछाैं जुन तरिकाले बयान गरिएको छ, अर्थात त्यसलाई जस्ताको त्यसतै कैफियत बयान नगरिकन, सृष्टिसँग तुलना नगरीकन तथा अर्थविहीन नगरिकन आस्था राख्नु । किनभने उहाँ आफ्नो सृष्टि जस्तो हुनुहुन्न । उहाँ जस्तो कोही पनि छैन, उहाँ सर्वश्रोता र सर्वद्रष्टा हुनुहुन्छ । बरू, यो कुरा इमामहरूको भनाइ जस्तै हो, इमाम बुखारीका गुरु नइम बिन हम्मादले भनेका छन्: जसले अल्लाहलाई सृष्टि अनुरूप मान्दछ, त्यो काफिर हो र जसले अल्लाहले वर्णन गरेको कुरालाई इन्कार गर्छ, त्यो पनि काफिर हो । अल्लाह र उहाँको रसूलले वर्णन गरेको कुरामा कुनै तशबीह (सृष्टिसँग समानता) छैन । अल्लाहले आफ्नो लागि जुन नाम र विशेषताहरू कुरआनमा र उहाँको रसूलले हदीसमा प्रमाणित गर्नुभएको छ त्यसलाई उहाँको महिमालाई सुहाउँदो तरिकाले मान्ने र हरेक कमीकमजोरीबाट (अवगुणबाट) अल्लाहलाई पवित्र ठान्नु नै सही मार्गदर्शन हो ।

फरिश्ताहरूमाथि (स्वर्गदूतहरूमाथि) आस्था राख्नु

फरिश्ताहरूको अस्तित्वमाथि सन्क्षिप्त र विस्तृत रूपमा आस्था राख्नु । अल्लाहले उनीहरूलाई आफ्नो उपासनाको लागि सृष्टि गर्नुभएको हो । र उनीहरूलाई पवित्र एवम् प्रतिष्ठित भक्त हुने विशेषताद्वारा विशेषित गर्नुभएको छ, उनी अल्लाहका आदेशहरूलाई कार्यन्वयन गर्न सतर्क रहन्छन् र कहिल्यै पनि उहाँको अवज्ञा गर्दैनन् । "उहाँ उनीहरूका अगाडि-पछाडिका सम्पूर्ण कुराहरू जान्नुहुन्छ । उनीहरू केवल त्यस व्यक्तिका लागि सिफारिश गर्नेछन् जोसित अल्लाह प्रसन्न हुनुहुन्छ । उनीहरू स्वयम् अल्लाहको डरले भयभीत छन् ।" (अल्-अम्बिया: २८) उनीहरू धेरै प्रकारका छन् : तिनीहरूमध्ये केहीलाई अल्लाहको अर्श (सिंहासन) उठाउने जिम्मेवारी सुम्पिएको छ, भने केहीलाई जन्नत र जहन्नम (स्वर्ग र नर्क) को निरीक्षण गर्ने तथा केहीलाई भक्तहरूका कर्महरूको संरक्षण गर्ने जिम्मेवारी सुम्पिएको छ । तिनीहरूमध्ये जसको नाम कुरआन र हदीसमा प्रमाणित छ उनीहरूमाथि विस्तृत रूपमा हामी विश्वास गर्छौं, जस्तैः जिब्रील, मीकाईल, मालिक; नर्कको निरीक्षक तथा इस्राफील जसलाई कियामतको दिन सूर (सिंगा) फुक्ने जिम्मेवारी सुम्पिएको छ । यो सही हदीसबाट प्रमाणित छ । आइशा (रजिअल्लाहु अन्हा) ले वर्णन गर्नुभएको छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि: "फरिश्ताहरूलाई प्रकाशबाट, जिन्नहरूलाई आगोको अगुल्टोबाट र आदमलाई तपाईंको लागि वर्णन गरिएको कुरा (माटो) बाट सृष्टि गरिएको छ ।" [3] मुस्लिमले आफ्नो सहीह (मुस्लिम) मा वर्णन गरेका छन् । (३) मुस्लिम: अज-जुहुद: (२९९६), अहमद: (६/१५३) ।

ग्रन्थहरूमाथि आस्था राख्नु

त्यसैगरी आकाशीय ग्रन्थहरूमा आस्था राख्नुपर्छ । महान अल्लाहले मानवजातिको मार्गदर्शन र सत्यको आह्वानका लागि रसूल (सन्देष्टा) हरूमाथि केही आकाशीय ग्रन्थहरू अवतरण गर्नुभएको थियो । अल्लाहले भन्नुभएको छः "हामीले हाम्रा रसूलहरूलाई स्पष्ट प्रमाणहरू दिएर पठायौं । उनीहरूतर्फ किताब र तराजु (तुला) अवतरित गर्यौं, ताकि मानिसहरू न्यायमा दृढ रहुन् ।" (अल् हदीदः २५) अल्लाहले भन्नुभएको छ: "सम्पूर्ण मानवजति एउटै समुदाय थियो । तसर्थ अल्लाहले नबीहरूलाई शुभ-सूचक तथा सचेतक बनाएर पठाउनुभयो । अनि मानिसहरूबीच हुने मतभेदलाई खतम पार्न उनीहरूलाई आकाशीय ग्रन्थहरू प्रदान गर्नुभयो ।" (अल् बकरह: २१३)

आकाशीय ग्रन्थहरूमध्ये अल्लाहले जुन ग्रन्थहरूलाई नामको साथ वर्णन गर्नुभएको छ, हामी त्यसमा विस्तृत रूपमा विश्वास गर्छौं, जस्तैः तौरात, जबूर, इन्जील र कुरआन । ती ग्रन्थहरूमध्ये कुरआन सर्वोत्कृष्ट, प्रभावशाली, अघिल्ला ग्रन्थहरूको पुष्टिकर्ता र अन्तिम ग्रन्थ हो । सम्पूर्ण समुदायहरूले कुरआनको अनुसरण गर्नुपर्छ । आफ्नो झैँ झगडामा कुरआन र रसूलबाट प्रमाणित हदीस अनुसार फैसला गर्नुपर्छ । किनभने अल्लाहले मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई मानव र जिन्न सबैका लागि सन्देष्टा बनाएर पठाउनु भएको थियो । यो कुरआन उहाँमाथि अवतरण गरिएको थियो ताकि उहाँ यसको आधारमा न्याय गरुन् ।र यसलाई अल्लाहले छातीमा उत्पन्न हुने शंका, रोगको उपचार र हरेक कुराको व्याख्या, आस्सथावानहरूको लागि मार्गदर्शन र करुणा बनाएको छ । अल्लाहले भन्नुभएको छ: "यो हामीले अवतरित गरेको पुस्तक बरकतयुक्त (कल्याणमय) छ । तसर्थ यसको अनुशरण गर । आशा छ तिमीहरूमाथि दया गरिनेछ ।" (अन्आम: १५५) अल्लाहले भन्नुभएको छ: "हामीले तपाईंमाथि यस्तो किताब अवतरित गरेका छौं, जसमा सबै कुराको व्याख्या, निर्देशन, मार्गदर्शन, दया र मुस्लिमहरूको लागि शुभ समाचार छ ।" (अन्नहलः ८९) अल्लाहको फर्मान छ: "हे रसूल ! भनिदिनुहोस्– "हे मानव हो ! म तिमीहरू सबैतर्फ त्यस अल्लाहद्वारा पठाइएको रसूल हुँ, जो आकाशहरू र पृथ्वीका स्वामी हुनुहुन्छ । उहाँबाहेक अरू कोही वास्तविक पूज्य छैन । उहाँ मृतलाई जीवित पार्नुहुन्छ र जीवितलाई मृत्यु दिनुहुन्छ । अतः अल्लाह तथा उहाँका नबी माथि ईमान ल्याऊ जो उम्मी (निर्क्षर) हुनुहुन्छ । उहाँ अल्लाह र उहाँका वाणीहरूमाथि ईमान राख्नुहुन्छ । उहाँको अनुशरण गर ताकि तिमीहरू (सही) मार्ग पाउन सक ।’’ (अल्-अअराफ: १५८) यस अर्थमा धेरै आयत (श्लोक) हरू वर्णित छन् ।

रसूल (सन्देष्टा) हरूमाथि आस्था राख्नु

त्यस्तै गरी, सन्देष्टाहरूमाथि समग्र र विस्तृत रूपमा आस्था राख्नुपर्दछ । हामी विश्वास गर्छौं, अल्लाहले प्रत्येक समुदायमा तिनीहरूमध्येबाट शुभसूचना दिने, चेतावनी दिने र सत्यको आह्वान गर्के एउटा सन्देष्टा (रसूल) पठाउनु भयो । जसले सन्देष्टामाथि ईमान ल्यायो, ऊ दुनियाँ र आखिरतमा सफल भयो र जसले तिनीहरूको विरोध गर्यो, ऊ असफल, निराश र नरकको भागिदार भयो । तिनीहरूमध्ये सर्वश्रेष्ठ र सम्पूर्ण सन्देष्टा (नबी-रसूल) हरूका समापक मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) हुनुहुन्छ । अल्लाहले भन्नुभएको छ: “हामीले अल्लाहको उपासना गर्न र सम्पूर्ण मिथ्या उपास्यदेखि टाढा रहने आह्वान गर्न प्रत्येक जाति तथा समुदायमा रसूल पठाएका छौं ।" (अन्नहलः ३६) अल्लाहको फर्मान छ: "शुभ-सूचना दिन तथा सचेत गर्न सन्देष्टाहरू पठाएका छौं । ताकि मानिसहरूले रसूलहरू पश्चात् अल्लाहको विरूद्धमा तर्क नपाउन् ।" (अन्निसाः १६५) अल्लाहको फर्मान छ: “मुहम्मद तिमीहरूमध्ये कुनै व्यक्तिका पिता होइनन्, तर उनी अल्लाहका रसूल र सम्पूर्ण रसूलहरूका समापक (अन्तिम रसूल) हुनुहुन्छ ।” (अल् अहजाबः ४०) सन्देष्टा (नबी-रसूल) हरूमध्ये जसको नाम कुरआन र हदीसबाट प्रमाणित छ तिनीहरूमाथि विस्तृत रूपमा आस्था राख्नुपर्दछ, जस्तैः नूह, हूद, सालेह, इब्राहीम इत्यादि (हाम्रो नबी र उनी सबैमाथि अल्लाहको अत्याधिक दया प्रशान्ति अवतरित होस्) ।

आखिरत (परलोक) माथि आस्था राख्नु

आखिरत (परलोक) माथि आस्था राख्नुको अभिलाषा भनेको:

मृत्यु पछि हुने ती सबै कुराहरूमा विश्वास गर्नु पर्छ, जसको बारेमा अल्लाह तथा उहाँको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले खबर दिनुभएको छ, जस्तै : चिहानको परीक्षण, यातना र आनन्द, हिसाब-किताबको दिनका कठिनाइहरू, सिरात (पुल) बाट सबैले गुज्रिनु पर्ने कुरा, ठूलो तराजुमा कर्मको लेखाजोखा, कर्म अनुसार प्रतिफल पाउने कुरा, जनतामाझ कर्मपत्र प्रकाशित गरिनेछ, आफ्नो कर्मपत्र या त आफ्नो दाहिने हातमा, वा देब्रे हातमा वा पछाडिबाट प्राप्त हुने कुरा इत्यादि । त्यसैगरी हाम्रो रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रदान गरिने हौज (कौसर), जन्नत (स्वर्ग) र जहन्नम (नर्क), आस्थावानहरूले अल्लाहको दर्शन गर्ने सौभाग्य, उहाँ तिनीहरूसँग बोल्नुहुन्छ आदि इत्यादि कुरआन र हदीसबाट प्रमाणित कुराहरूमा त्यसरी नै विश्वास र त्यसको समर्थन गर्नुपर्छ जसरी हदीसमा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट गर्नुभएको छ ।

भाग्यमाथि आस्था राख्नु

भाग्यमाथिको आस्थाले चार कुराहरूलाई समाविष्ट छ:

पहिलो: महान अल्लाहलाई अतीतमा घटेको र भविष्यमा हुने सबै कुराको ज्ञान छ । उहाँ आफ्ना भक्तहरूको अवस्थालाई राम्ररी जान्नुहुन्छ । उहाँ तिनीहरूको जीविकोपार्जन, उमेर, कर्म, क्रियाकलाप र तिनीहरूका अन्य सबै मामिलाहरू राम्ररी जान्नुहुन्छ । अल्लाहले भन्नुभएको छः "अल्लाह सर्वज्ञाता हुनुहुन्छ ।" (अल्-बकरह: २३१) अल्लाहले भन्नुभएको छ: "ताकि तिमीहरूले जान्न सक, अल्लाह हरेक कुराको सामर्थ्य राख्नुहुन्छ । उहाँले हरेक कुरालाई आफ्नो ज्ञानले घेर्नुभएको छ ।" (अत्तलाकः १२)

दोस्रो कुरा: उहाँले निर्धारित गरेका समस्त फैसला र भाग्यलाई लोहे-महफुज (सुरक्षित पाटी) मा लेख्नु भएको छ । उहाँले भन्नुभएको छ: "जमिनले (मृत्यु पश्चात) उनीहरूको (शरीरलाई खाएर) घटाउने कुरासमेत हामीलाई थाहा छ र हामीसँग एक सुरक्षित पुस्तक छ ।" (काफ: ४) अल्लाहले भन्नुभएको छ: "हामीले सबै कुराहरूलाई एक स्पष्ट किताबमा संकलन गरेका छौं ।" (यासीन: १२) अल्लाहको फर्मान छ: "हे रसूल, आकाश र पृथ्वीमा रहेका सम्पूर्ण कुराहरूलाई अल्लाह राम्ररी जान्नुहुन्छ भन्ने कुरा के तपाईंलाई थाहा छैन । वास्तवमा, यी सबै कुराहरू एउटा किताब (लौहे-महफूज) मा अंकित छ । यो सम्पूर्ण ज्ञान अल्लाहको निम्ति अत्यन्त सरल छ ।" (अल् हज्जः ७०)

तेस्रो कुरा: उहाँको प्रभावकारी इच्छामा विश्वास गर्नुपर्छ । उहाँले जे गर्न चाहनु भयो त्यो भयो, जे गर्न चाहनु भएन त्यो हुन सकेन । अल्लाहले भन्नुभएको छ: "वास्तवमा, अल्लाह जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ ।" (अल् हज्जः १८) अल्लाहले भन्नुभएको छ: "उहाँ जब केही गर्ने इच्छा गर्नुहुन्छ, तब उहाँले यति मात्र भन्न पर्याप्त हुन्छ, 'भइहाल' अनि त्यो भइहाल्छ ।" (यासीन : ८२) अल्लाहले भन्नुभएको छ: “तिम्रो चाहनाले केही हुने छैन तर अल्लाहले जे चाहनुहुन्छ त्यही नै हुन्छ । निश्चय नै अल्लाह सर्वज्ञ र तत्वदर्शी हुनुहुन्छ ।" (अल्-इन्सान: ३०)

चौथो कुरा: उहाँ नै सम्पूर्ण सृष्टिहरूका सृष्टिकर्ता हुनुहुन्छ । उहाँ बाहेक न त कोही सृष्टिकर्ता छ न त पालनकर्ता नै । अल्लाहले भन्नुभएको छ: "अल्लाह प्रत्येक वस्तुका सृष्टिकर्ता हुनुहुन्छ । उहाँ नै प्रत्येक वस्तुका संरक्षक हुनुहुन्छ ।" (अज्जुमर: ६२) अल्लाहको फर्मान छ: हे मानिसहरू ! तिमीमाथि जुन अनुकम्पा अल्लाहले गरेको छ, त्यसलाई स्मरण गर । के अल्लाह बाहेक कोही अरु स्रष्टा छ, जसले तिमीलाई आकाश र धरतीबाट जीविका प्रदान गर्दछ ? उस बाहेक कोही पूज्य छैन । त्यसो भए तिमी कता मार्गविचलित भइराखेका छौ ? (फातिरः ३) तकदीर (भाग्य) माथिको आस्थाले यी चार कुराहरूलाई समेटेको छ र यो नै अहले- सुन्नत वल-जमाअतको आस्था हो । तर केही विदअतीहरूले यीमध्ये केहीलाई इन्कार गरेका छन् ।

ईमान (आस्था) भनेको वचन र कर्म हो, यो पुण्य कर्मले बढ्छ र अवज्ञाले घट्छ

ईमान (आस्था) भनेको वचन र कर्म हो, जुन पुण्यले बढ्छ र अवज्ञाले घट्छ । यस अन्तर्गत यदि कुनै मुस्लिमले शिर्क र कुफ्र बाहेक व्यभिचार, चोरी, ब्याज खाने, रक्सी पिउने, आमाबाबुको अवज्ञाकारी र अन्य ठूला पापहरू गर्छ भने जबसम्म उसले त्यो ठूलो पापलाई जायज र हलाल ठान्दैन तबसम्म उसलाई काफिर अथवा मुर्तद (इस्लाम बाट खारेज) भन्न जायज छैन । किनभने सर्वशक्तिमान् अल्लाहले भन्नुभएको छ: “निश्चयनै अल्लाहले शिर्कलाई (बहुदेववादलाई) पटक्कै माफ गर्नुहुन्न, तर यस बाहेक जसलाई चाहनुहुन्छ माफ गर्नुहुनेछ ।" (अन्निसाः ४८) तथा मोतवातिर (ठूलो समूहद्वारा वर्णित हदीस) हदीसबाट प्रमाणित छ कि, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जसको हृदयमा रायोको दाना (गेडा) बराबर पनि ईमान हुन्छ, अल्लाहले त्यस व्यक्तिलाई नर्कबाट बाहिर ल्याउनुहुन्छ ।"

अल्लाहको लागि प्रेम गर्ने र उहाँकै लागि घृणा गर्ने तथा अल्लाहको लागि मित्रता गाँस्ने र उहाँकै लागि शत्रुता गर्ने

अल्लाहको लागि प्रेम गर्ने र उहाँकै लागि घृणा गर्ने तथा अल्लाहको लागि मित्रता गाँस्ने र उहाँकै लागि शत्रुता गर्ने भनेको आस्थाको एउटा पाटो हो । त्यसैले एउटा आस्थावानले अर्को आस्थावानसँग माया गर्छ अनि मित्रता गाँस्छ । यसको विपरीत काफिरहरूलाई घृणा गर्छ । स्मरण रहोस्, सबैभन्दा उत्कृष्ट आस्थावान रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबा (साथी) हरू हुन् । अतः अहले सुन्नत वल-जमाअतले सहाबाहरूलाई माया गर्छन् र उनीहरूसँग मित्रता गर्छन् । उनीहरू रसूल पछिका सबैभन्दा उत्कृष्ट आस्थावानहरू हुन् भनेर आस्था राख्छन् । किनभने रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "पुस्ताहरूमध्ये सबैभन्दा उत्कृष्ट मेरो पुस्ता हो, त्यसपछि तिनीहरूपछिका पुस्ता हुन् र त्यसपछि तिनीहरूपछिका पुस्ता हुन् ।" [4] (बुखारी मुस्लिम) सहाबाहरूको बारेमा अहले सुन्नत वल-जमाअतको आस्था र धारणा के छ भने तिनीहरूमध्ये सबैभन्दा उत्कृष्ट सहाबी अबु बकर सिद्दिक हुन् । त्यसपछि उमर फारुक, त्यसपछि उस्मान जुन-नुरैन र त्यसपछि अली अल-मुर्तजा (रजिअल्लाहु अन्हुम) हुन् । त्यसपछि अशरह मोबश-शरह (जन्नतको शुभ सूचना दिइएका) का १० मध्येका बाँकी सहाबाहरू र त्यसपछि अन्य बाँकी सहाबाहरू हुन् । त्यसैगरी अहले सुन्नत वल-जमाअतले सहाबाहरूबीच भएका झैं झगडा र विवादित कुराहरूबाट आफ्टानो मुखलाई बन्द राख्छन्, र यस सन्दर्भमा यो उनीहरूको इज्तेहाद (हक पाउने प्रयास) हो भनेर विश्वास राख्दछन् । त जसले सही कुरा पाए, उनले दुई वटा पुण्य पाउनेछ र जसले सही कुरा पाउन सकेन, उसले इज्तेहाद (हक पाउने प्रयास) गरेकोले एउटा पुण्य पाउनेछ । उनीहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि आस्था राख्ने अहले बैत (रसूलको परिवार) लाई माया गर्छन् र उनीहरूसँग मित्रता राख्छन् । त्यसैगरी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का सम्पूर्ण पत्नीहरू उम्महातुल-मुमेनीन (आस्थावानहरूकी आमा) लाई माया गर्छन् र अल्लाह उनीहरूसित राजी होउन् भनेर दुआ गर्छन् । तथा राफजी (शीआ) हरूसँग हाम्रो कुनै सम्बन्ध नरहेको घोषणा गर्छन् किनभने ती राफजी (शीआ) हरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबा (साथी) हरूलाई घृणा गर्छन्, अपमान गर्छन् र गालीगलौज गर्छन् तथा अहले बैत (रसूलको परिवार) लाई अल्लाहले जुन स्थानमा राख्नुभएको छ त्यसमा गुलू (अतिशयोक्ति) गर्छन् अनि हैसियतभन्दा माथि उठाउने गर्छन् । त्यसैगरी नवासिबसँग हाम्रो कुनै सम्बन्ध नरहेको घोषणा गर्छन्, किनभने तिनीहरू राफजी (शीआ) विपरीत अहले बैत (रसूलको परिवार) लाई निन्दा गर्छन्, अपमान गर्छन् र वचन वा कर्मद्वारा हानि पुर्याउँछन् । (४) बुखारी: अश्-शहादात (२५०९), मुस्लिम: फजा एलुस्-सहाबा: (२५३३), तिर्मिजी: अल-मनाकिब: (३८५९), इब्ने माजह: अल्-अह्काम: (२३६२) र अहमद: (१/४३४) ।

आजको यो छोटो बसाईमा मैले जति कुराहरू राख्ने मौका पाएँ,यो त्यही सही र विशुद्ध आस्था हो, जुन अल्लाहले आफ्नो रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई दिएर पठाउनुभएको थियो र यो नै फिर्का नाजिया (मोक्ष (सफलता) प्राप्त समूह) अहले सुन्नत वल-जमाअतको आस्था हो । यस जमाअतको (समूहको) बारेमा रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "मेरो उम्मत (समुदाय) को एक समूह सधैं सत्यमा विजयी रहनेछ, उनीहरूलाई निन्दा गर्नेहरूले उनीलाई कुनै हानि पुर्याउन सक्दैनन्, यहाँसम्म कि सर्वशक्तिमान अल्लाहको आदेश आउँछ ।" [५] रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयोः "यहूदीहरू ७१ वटा गुटमा विभाजित भए, ईसाईहरू बहत्तर गुटमा विभाजित भए र यो समुदाय ७३ गुटमा विभाजित हुनेछ, एक बाहेक सबै नरकमा जाने छन् । साथीहरूले भने: हे रसूल, सफलता प्राप्त समूह को हुन् ? उहाँले भन्नुभयो: जो म र मेरा साथीहरूको मार्गमा कायम रहनेछ ।" [६] यो आस्थामा अडिग रही यसको पूर्ण पालन गर्नु पर्दछ र यसको विरूद्ध कदम चल्नुबाट सावधान रहनुपर्छ । (५) मुस्लिम: इमारह: (१९२०), तिर्मिजी: अल-फेतन: (२२२९), अबु-दाऊद: अल-फेतन वल मलाहिम् (४२५२), इब्ने माजह: अल-फेतन: (३९५२) र अहमद: (५/२७९) । [६] इब्ने माजा: अल-फेतन: (३९९२) |

सही आस्थाबाट विचलित विमुख र यसको विरूद्ध हिंड्नेहरूको वर्णन

तिनीहरूका प्रजातिहरू (किसिमहरू)

यस आस्थाबाट विचलित हुनेहरू र यसको विरूद्धमा चल्नेहरू धेरै प्रकारका छन्, तिनीहरूमध्ये मूर्ति, प्रतिमा, फरिश्ता, औलिया (सन्त), जिन्न, रूख, बोटबिरुवा, ढुङ्गा माटो आदि इत्यादिलाई पूजा गर्नेहरू छन् । यी मानिसहरूले सन्देष्टाहरूको आह्वानलाई स्वीकार गरेनन्, बरू तिनीहरूले विरोध गरे र उनीहरूलाई दु:ख दिए । जसरी कुरैश र अन्य अरब समुदायहरूले हाम्रा सन्देष्टा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई दु:ख दिए । तिनीहरू आफ्ना आवश्यकताहरू पूरा गर्न, बिरामीहरूलाई निको पार्न र शत्रुहरूमाथि विजय दिन आफ्ना देवी-देवताहरूलाई गुहार्ने गर्थे अनि तिनीहरूका लागि बलिदान र भाकल गर्थे, त जब सन्देष्टाले यस कुरालाई अस्वीकार गर्नुभयो र तिनीहरूलाई केवल अल्लाहको उपासना गर्न आह्वान गर्नुभयो, त तिनीहरू छक्क परे र यसलाई अस्वीकार गरे र भने: "के उसले सम्पूर्ण उपास्यहरूलाई एकमा परिणत गरिदियो ? यो त आश्चर्यजनक कुरा हो ।" (साद: ५) रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दिनरात अहोरात्र एक सत्य ईश्वर; अल्लाहको उपासना गर्न र उहाँको उपासनामा अरू कसैलाई साझेदार नगर्न आह्वान गर्नुभयो । उनीहरूले पूजा गरिरहेका मिथ्या ईश्वरको वास्तविकता स्पष्ट गर्नुभयो त अल्लाहले उनीमध्ये कही मानिसहरूलाई मार्गदर्शन गर्नुभयो अनि उनीहरूले इस्लामलाई अंगीकार गरे । त्यसपछि इस्लामलाई अंगीकार गर्नेहरूको ओइरो नै लाग्यो । अल्लाहको दूत, उहाँका साथी र उनीहरूलाई अनुशरणकारीहरूको निरन्तर आह्वान, प्रयास र लामो संघर्षपछि इस्लाम यत्र तत्र सर्वत्र फैलियो । त्यसपछि परिस्थिति परिवर्तन भयो र धेरैजसो मानिसहरूमा अज्ञानता हावी भयो अनि अधिकांश मानिसहरू नबी र वलीहरूबारे अतिशयोक्ति गर्न थाले, उनीहरूलाई गुहार्न थाले र उनीहरूसँग मद्दत खोजे र यसरी उनीहरू पुनः इस्लाम पूर्व अनभिज्ञकाल झैं शिर्क र अन्य प्रकारका बहुदेववादमा लिप्त भए । वास्तवमा, तिनीहरूले 'लाइलाहा इल्लल्लाह' (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) को अर्थलाई मक्काका बहुदेववादी जस्तो पनि बुझ्न सकेनन् । र अल्लाह नै सहायता प्रदान गर्नेवाला छ ।

अज्ञानता, अल्प ज्ञान र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को युगदेखि टाढा हुँदै गएकोले यो शिर्क (बहुदेववाद) अझै हामीमाझ फैलिरहेको छ ।

पछि आउनेहरूको त्यही शंका हो, जुन अघिका मानिसहरूको थियो तथा केही कुफ्रिया आस्थाको वर्णन

पछि आउनेहरूको त्यही शंका हो जुन पहिलेकाहरूको थियो; र यो तिनीहरूको भनाइ हो: यिनीहरू अल्लाहकहाँ हाम्रा मध्यस्थकर्ताहरू हुन्, हामी तिनीहरूलाई अल्लाहको सामीप्यता प्राप्तिको लागि मात्र पूजा गर्छौं, तर अल्लाहले यस शंकालाई खण्डन गर्दै स्पष्ट पार्नुभएको छ, कि जसले अल्लाह बाहेक अरू कसैको उपासना गर्छ, त्यो जुनसुकै होस्, उसले शिर्क र कुफ्र गर्यो, जस्तै सर्वशक्तिमान अल्लाहले भन्नुभयो: "बहुदेववादीहरू अल्लाह बाहेक जुन देवी देवताहरूको पूजा गर्छन्, तिनीहरूले न लाभ पुर्याउन् सक्छन् न हानि नै । तिनीहरू भन्छन्ः यिनीहरू अल्लाहसित हाम्रा सिफारिस गर्नेछन् ।" (यूनुसः १८) अल्लाहले तिनीहरूको भनाइलाई खण्डन गर्दै भन्नुभयो: "हे रसूल ! यिनीहरूलाई भन्नुहोस्– के तिमीहरू अल्लाहको कोही साझेदार छ भन्ने कुरा उहाँलाई बताउँछौ जबकि उहाँ आकाशहरू र पृथ्वीमा कुनै साझेदारलाई जान्नुहुन्न । तिनीहरूले गरेको साझेदारहरूबाट उहाँ अति पवित्र र उच्च हुनुहुन्छ ।" (यूनुसः १८) अल्लाहले उक्त श्लोकमा स्पष्ट पार्नुभयो कि उहाँ बाहेक नबी र वलीहरू र अन्यकसैको उपासना गर्नु नै ठूलो शिर्क हो, यद्यपि तिनीहरूले यसलाई अरू केही नाम देउन् । अल्लाहले भन्नुभएको छ: "अल्लाह बाहेक अरूलाई आफ्नो औलिया (संरक्षक) बनाउनेहरूले तर्क दिन्छन्− यिनीहरूले हामीहरूलाई अल्लाहको सामीप्यता प्रदान गर्छन् यसै कारण हामीहरू यिनीहरूको पूजा गर्छौं ।" (अज्जुमरः ३) अल्लाहले तिनीहरूको भनाइलाई खण्डन गर्दै भन्नुभयो: "अल्लाहले तिनीहरूले गरेको विभेदबारे महाप्रलयको दिन निर्णय गर्नुहुनेछ । अल्लाह झूटा र काफिरलाई सीधा मार्ग देखाउनुहुन्न ।" (अज्जुमरः ३) तिनीहरूले अल्लाह बाहेकसित गरेको दुआ (बिन्ती), डर, आशा इत्यादि कुफ्र हो भनेर अल्लाहले स्पष्ट पार्नुभएको छ। यिनीहरूको ईश्वरले अल्लाहसँग नजिक गर्नेछन् भन्ने धारणा र आस्थालाई पनि गलत प्रमाणित गर्नुभएको छ ।

इस्लाम विरोधी आस्थाहरूमध्ये मार्क्स र लेनिन जस्ता नास्तिक तथा तिनीहरुका अनुयायीहरूको धारणा हो, र यो खुल्लमखुल्ला इस्लाम विपरीत र सन्देष्टाहरूले ल्याएका कुराहरू विरूद्ध भएको धारणा हो, चाहे उनीहरूले यसलाई समाजवाद, साम्यवाद, बासवाद वा अन्य नामहरू देउन् तर यो कुफ्र हो । किनभने यी नास्तिकहरूले अल्लाह (ईश्वर) को अस्तित्वमा विश्वास गर्दैनन् र यो जीवन एउटा वस्तु हो भन्छन् । त्यसैगरी यी नास्तिकहरूले कियामतको इन्कार, स्वर्ग र नर्कको इन्कार तथा सम्पूर्ण धर्महरूको इन्कार गर्छन् । तिनीहरूका पुस्तकहरूलाई अध्ययन गर्नेहरूका लागि यो कुराहरू सर्वविदितै छ । वास्तवमा, यो आस्था सम्पूर्ण आकाशीय धर्म विपरीत हो र यसले यसलाई मान्ने मानिसहरूलाई यस संसार र परलोकमा नराम्रो परिणामतर्फ लैजान्छ ।

इस्लाम विरोधी आस्थाहरूमध्ये बातनियह र सूफी (कबुरी) हरूको आस्था पनि हो, उनीहरूको आस्था अनुसार केही औलियाहरू यस संसारको व्यवस्थापन र मामिला नियन्त्रण गर्छन् र उनीहरूलाई अक्ताब, औताद र गौस इत्यादि मन गढनते नामले बोलाउँछन् । वास्तवमा यो खुल्लमखुल्ला शिक्र र कुफ्र हो । यो तौहीद रूबुबीयत (अल्लाहको प्रतिपालकत्व) मा सबैभन्दा घृणित शिर्क (बहुदेववाद) हो । इस्लाम पूर्वका अरबहरूको शिर्क (बहुदेववाद) भन्दा निन्दनीय र खतरनाक हो, किनभने अरबका काफिरहरूले प्रतिपालकत्वमा शिर्क गरेनन् उनीहरूले तौहीद उलूहीयत (उपासना) मा शिर्क गरेका थिए, त्यसैगरी तिनीहरू समृद्धिको अवस्थामा शिर्क गर्थे, तर कठिनाइको अवस्थामा मात्र अल्लाहको उपासना गर्थे । अल्लाहले भन्नुभएको छ: "जब बहुदेववादीहरू डुङ्गामा सवार हुन्छन्, तब एकाग्रताका साथ निष्ठापूर्वक अल्लाहलाई नै पुकार्दछन् । तर जब अल्लाहले तिनीहरूलाई भूमिमा उद्धार गर्नुहुन्छ, तब शिर्क गर्न थाल्छन् ।" (अन्कबूत: ६५) बहुदेववादीहरू तौहीद रूबुबीयत (प्रतिपालकत्व) लाई निष्ठापूर्वक अल्लाहको लागि स्वीकार गर्दथे । अल्लाहले भन्नुभएको छ: यदि तपाईले उनीहरूसित सोध्नु हुन्छ कि ‘‘उनीहरूलाई कसले सृष्टि गर्यो ?’’ त उनीहरूले अवश्य भन्नेछन् कि ‘‘अल्लाहले’’ । (अज्जुख्रुफ: ८७) र अल्लाहको फर्मान छः (तिनीहरूसँग) तपाईले भन्नुस् कि तिमीलाई आकाश र जमिनबाट जीविका कसले प्रदान गर्दछ वा तिम्रो कान र आँखामाथि कसको अख्तियारी छ र मृतकबाट प्राणवाला कसले बनाउँछ र प्राणवानबाट प्राणहीन कसले गर्दछ ? र त्यो को हो जसले सबै कामको योजना बनाउँछ ? त तिनीहरूले अवश्य भन्ने छन् ‘‘अल्लाह’’, तसर्थ भन्नुस् कि त्यसो भए तिमी (अल्लाहसँग) किन डर मान्दैनौ ? (यूनुसः ३१) यस अर्थमा धेरै आयत (श्लोक) हरू छन् ।

पछिका बहुदेववादीहरूले पहिलेभन्दा अधिक वृद्धि गरेका कुराहरू

पछिका बहुदेववादीहरू शिर्कमा पहिलेका भन्दा दुई कदम अगाडि छन्: एउटा: यिनीहरूले तौहीद रूबुबीयत (प्रतिपालकत्व) मा शिर्क गरे र दोस्रो: तिनीहरूले समृद्धि र कठिनाइ हरेक अवस्थामा शिर्क गरे । तिनीहरूसँग रहेको व्यक्तिलाई यो कुरा राम्ररी थाहा छ। अझै तिनीहरूको कर्तुत हेर्न चाहनुहुन्छ भने इजिप्टमा इमाम हुसैन, अल बदवी र अन्य चिहानहरूमा र अदनमा अल-एदारोसको चिहानमा, यमनमा अल-हादीको चिहानमा, सिरियामा इब्न अरबीको चिहानमा, इराकमा शेख अब्दुल कादिर अल- जिलानीको चिहानमा तथा अन्य प्रसिद्ध चिहान (मजार) हरूमा गएर हेर्नुहोस्, जसमा आम मानिसहरूले अतिशयोक्ति गरिरहेका छन् र अल्लाहको लागि गरिने उपासना, दुआ, भाकल इत्यादि सबै चिहान र मजारहरूको नाममा भैरहेका छन् । तिनीहरूले गरिरहेका शिर्कलाई इन्कार गर्ने र सम्पूर्ण दूतहरूको आह्वान (दावत) तिनीहरूलाई तौहीद बताउने कोही छैन । इन्ना लिल्लाही व इन्ना इलैहि राजेऊन । अल्लाहले तिनीहरूलाई सत्य बाटोमा फर्काउन, तिनीहरूका बीचमा सही धर्मगुरू र आह्वानकर्ताहरू बढाउन, मुस्लिम शासक, राजा र विद्वानहरूलाई यस बहुइश्वरवादसँग लड्न र यसका सम्पूर्ण माध्यमहरूलाई मेटाउन मद्दत गरुन् भनेर दुआ गर्दछु । उहाँ सर्वश्रोता र सर्वज्ञाता हुनुहुन्छ।

इस्लाम विरोधी आस्थाहरूमध्ये जहमीया, मोतजिला र उनीहरूको अनुसरण गर्ने (विदअती) हरूको आस्था हो । उनीहरू अल्लाहका विशेषताहरूलाई इन्कार र्गछन् र उहाँमा कुनै पनि विशेषता नरहेको दाबी गर्छन् । यसरी उनीहरू उहाँलाई अस्तित्वहीन र निर्जीवको रूपमा प्रस्तुत गर्छन् । अल्लाह उनीहरूको आरोपबाट पवित्र हुनुहुन्छ । त्यसैगरी इस्लाम विरोधी आस्थाहरूमध्ये अशाएरह हरूको आस्था हो । उनीहरूले अल्लाहका लागि केही सिमित विशेषताहरूलाई पुष्टि गर्छन् र केहीलाई अस्वीकार गर्छन् । उनीहरूले जसरी केही विशेषताहरूलाई पुष्टि गरेका छन् त्यसरी नै अस्वीकार गरेका विशेषताहरूलाई पनि पुष्टि गर्नुपर्छ । नत्र उनीहरू कुरआन, हदीस र अकली (बौद्धिक) दुवै प्रमाणलाई उल्लंघन गरिरहेका छन् र यसमा तिनीहरू एकअर्काको विरोधाभाष गर्छन् । अस्मा वस्सिफात (उत्कृष्ट नाम र उच्च विशेषता) हरूप्रति अहले सुन्नत वल-जमाअतको आस्था के छ भने अल्लाह तआलाले आफ्नो लागि जुन नाम र विशेषताहरू कुरआनमा र उहाँको रसूलले हदीसमा प्रमाणित गर्नुभएको छ, ती कुराहरूमाथि जस्ताको त्यसतै आस्था राख्नु पर्छ। यसरी उनीहरू सृष्टिसँग तुलना गर्न, अर्थ परिवर्तन, हेरफेर र विशेषताहरूलाई इन्कार गर्न र उहाँलाई अस्तित्वहीन बनाउन इत्यादि सबै विरोधाभाषबाट जोगिए । यो कुरा अघि उल्लेख भइसकेको छ । र यो नै संसार र परलोकमा सफलता, मुक्तिको बाटो र सुखमय जीवनको रहस्य हो । यो सीधा मार्ग हो, जुन यस उम्मत (राष्ट्र) का अग्रज, इमाम र पूर्ववर्तीहरूले आपनाएका थिए । स्मरण रहोस्, जबसम्म पछि आउनेहरूले पनि अग्रजहरूले अनुसरण गरे झैं कुरआन र हदीसको पालना गर्दैनन् र त्यसका विरोधी कुरालार्इ त्याग्दैनन् तबसम्म उनीहरूमा सुधार हुनेछैन ।

मात्र अल्लाहको उपासनाको अनिवार्यता र अल्लाहका शत्रुहरूमाथि विजयका कारणहरूको वर्णन

एउटा जिम्मेवार व्यक्तिले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कर्तव्य भनेको आफ्नो प्रतिपालकको उपासना हो । जो आकाशहरू, पृथ्वी र महान अर्श (सिंहासन) का स्वामी र स्रष्टा हुनुहुन्छ । उहाँले आफ्नो पवित्र पुस्तकमा भन्नुहुन्छ: "निस्सन्देह तिमीहरूको पालनकर्ता अल्लाह हुनुहुन्छ, जसले सम्पूर्ण आकाशहरू तथा पृथ्वीलाई ६ दिनमा सृष्टि गर्नुभयो । फेरि आफ्नो अर्श (सिंहासन) मा आफ्नो शान अनुसार उच्च हुनुभयो । उहाँ रातका अन्धकारलाई दिनको प्रकाशबाट र दिनको प्रकाशलाई रातको अन्धकारबाट समाप्त पार्नुहुन्छ । ढिलो न गरिकन दुवै एक अर्काको पछाडि व्यवस्थित ढंगले आइपुग्छन् । अल्लाहले नै सूर्य, चन्द्र तथा ताराहरूलाई सृष्टि गर्नुभयो । हेर ! सम्पूर्ण सृष्टिहरू उहाँ कै हो र आदेश पनि । उहाँ सम्पूर्ण गुणहरूले परिपूर्ण, अति महान र सम्पूर्ण जगतको पालनकर्ता हुनुहुन्छ ।" (अल्-आराफ : ५४) जिन्न र मानिसहरूलाई केवल आफ्नो उपासनाको लागि सृष्टि गर्नुभएको कुरालाई उहाँले आफ्नो ग्रन्थमा उल्लेख गर्नुभएको छ, उहाँले भन्नुभएको छ: "मैले जिन्न र मानवलाई केवल आफ्नो उपासनाको लागि सृष्टि गरेको छु ।" (अज्जारियातः ५६) हो, यो त्यही उपासना हो जसको लागि अल्लाहले जिन्न र मानवलाई सृष्टि गर्नुभएको हो । तौहीद लगायत नमाज, रोजा, जकात, हज्ज, रूकु, सज्दा, तवाफ, बलिदान, नज्र (भाकल), डर, आशा, सहायता, मद्दत इत्यादि र इबादतका सम्पूर्ण किसिमहरू उहाँको आज्ञापालन र उपासना अन्तर्गत पर्दछन् । त्यसैगरी कुरआन र हदीसबाट प्रमाणित सम्पूर्ण आदेशहरूको पालना गर्नु र निषेधित सम्पूर्ण कुराहरूबाट टाढा बस्नु भनेको उपासना अन्तर्गत पर्दछ । अल्लाहले जिन्न र मानिसहरूलाई यसै उपासनाको आदेश दिनुभयो जसको लागि यिनीहरूलाई सृष्टि गरिएको हो । यसै एकेश्वरवादको आह्वानको लागि उहाँले सम्पूर्ण दूतहरू पठाउनुभयो र आकाशीय ग्रन्थहरू अवतरण गर्नुभयो । अल्लाहले भन्नुभएको छ: "हे मानव हो ! आफ्नो पालनकर्ताको उपासना गर, जसले तिमी र तिमीभन्दा अघिकालाई सृष्टि गर्नुभएको छ । आशा छ तिमीहरू सदाचारी (संयमी) बन्ने छौ ।" (अल् बकरह: २१) अल्लाहले भन्नुभएको छ: "तिम्रो पालनकर्ताले आदेश दिनुभएको छ, उहाँ बाहेक अरू कसैको उपासना नगर र आमाबाबुसँग राम्रो व्यवहार गर ।" (अल् इस्राः २३) यस श्लोकमा 'कजा' शब्दको अर्थ आदेश जारी गरेको र उपदेश गरेको हो । अल्लाहको फर्मान छ: "उनीहरूलाई निष्ठापूर्वक मात्र अल्लाहको उपासना गर्न, एकाग्र भएर उसैको लागि धर्मलाई शुद्ध राख्न, नमाज पढ्न र जकात दिन आदेश दिइएको थियो । यो नै सिधा र ठोस धर्म हो ।" (अल्-बय्यिना: ५) यस अर्थमा कुरआनमा धेरै आयत (श्लोक) हरू छन् । अल्लाहले भन्नुभएको छ: "रसूलले तिमीहरूलाई जे दिनुहुन्छ, त्यो लिऊ र जुन कुराहरूलाई तिमीहरूका लागि निषेधित गर्नुहुन्छ, त्यसबाट टाढा रह । अल्लाहसँग डराऊ, किनकि अल्लाह कठोर यातना दिनुहुन्छ ।" (अल् हश्रः ७) अल्लाहले भन्नुभएको छ: "हे आस्थावानहरू ! अल्लाहको आज्ञापालन गर, उहाँका रसूल को आज्ञापालन गर तथा तिमीहरूमध्ये अधिकार र आदेश प्राप्त जिम्मेवार व्यक्तिको पनि । यदि तिमीहरू कुनै कुरामा मतभेद गर्छौ भने त्यसलाई अल्लाह र उनका रसूलतिर फर्काऊ यो साह्रै राम्रो कुरा हो, यदि तिमीहरू अल्लाह र अन्तिम दिनमा आस्था राख्छौ भने ।" (अन्-निसा: ५९) अल्लाहले भन्नुभएको छ: "जसले सन्देष्टाको आज्ञापालन गर्यो, वास्तवमा उसले अल्लाहको आज्ञापालन गर्यो ।" (अन्-निसा: ८०)

अल्लाहले भन्नुभएको छ : “हामीले प्रत्येक समुदायमा रसूल पठायौं । (हे मानव हो) ताकि केवल अल्लाहको उपासना गर र उहाँ बाहेक सम्पूर्ण मिथ्या उपास्यदेखि टाढा रहने गर ।” (अन्नहलः ३६) अल्लाहले भन्नुभएको छ: "हामीले तपाईंभन्दा पहिले पठाइएका हरेक रसूललाई वह्य गर्यौः म बाहेक अरू कोही सत्य ईश्वर (पूज्य) छैन, त्यसैले मात्र मेरो उपासना गर।” (अल् अम्बियाः २५) अल्लाहको फर्मान छ: "अलिफ. लाम. रा. । यो यस्तो किताब हो जसका आयत (श्लोक) हरू हरेक दृष्टिले ठोस र पूर्ण छन् । त्यसपछि तत्वदर्शी र सर्वज्ञाताको तर्फबाट स्पष्ट व्याख्या गरिएको छ ।" "अल्लाह बाहेक अरू कसैको उपासना नगर, किनकि म उहाँको तर्फबाट तिमीहरूलाई सावधान गर्ने र शुभ सन्देश दिनेवाला हुँ ।" (हूद: १-२)

यी स्पष्ट र ठोस आयतहरूले के प्रमाणित हुन्छ भने भक्तले मात्र अल्लाहको उपासना गर्नुपर्छ र उहाँको उपासनामा कसैलाई पनि साझेदार गर्नु हुँदैन । यो नै धर्मको मूल आधार, मानव र जिन्नको सृष्टिको अभिलाषा हो । यसै एकेश्वरवादको लागि दूतहरू पठाइयो साथै आकाशीय ग्रन्थहरू अवतरण गरियो । अतः सम्पूर्ण जिम्मेवार व्यक्तिले एकेश्वेरवादलाई राम्रोसँग बुझ्नुपर्छ, यस विषयलाई गहन अध्ययन गर्नुपर्छ र धेरैजसो भनाउँदा मुस्लिमहरूले गरेको गल्तीबाट सचेत हुनुपर्छ । धेरैजसो भनाउँदा मुस्लिमहरूले नबी र वलीहरूमा अतिशयोक्ति गरेका छन्, उनीहरूको चिहानलाई मजार, उर्स, मेला गर्ने ठाउँमा परिणत गरेका छन् र यसरी उनीहरूलाई आवश्यकताहरू पूरा गर्न, संकटबाट मुक्ति, बिरामीहरूलाई निको पार्न, र शत्रुहरूमाथि विजयको लागि सहयात जस्ता ठूलाठूला शिर्कहरू त्यहाँ भइरहेका छन् । बुखारी र मुस्लिममा वर्णित सही हदीसद्वारा त्यही कुरा प्रमाणित छ जसलाई कुरआनले सिद्ध गरेको छ, मुआज (रजिअल्लाहु अन्हु) ले बयान गरेका छन् कि, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई भन्नुभयो: “के तिमीलाई थाहा छ, सेवकहरूमाथि अल्लाहको र अल्लाहमाथि सेवकहरूको अधिकार के हो ? मुआजले भने: मैले भनें, अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ, अनि उहाँले भन्नुभयो: सेवकहरूमाथि अल्लाहको अधिकार के छ भने तिनीहरूले मात्र उहाँको उपासना गरून् र उहाँसँग कसैलाई पनि साझेदार नगरून् र अल्लाहमाथि सेवकहरूको अधिकार के छ भने, उहाँले शिर्क नगर्नेलाई यातना नदेउन् ।” [७] पूर्ण हदीससम्म । बुखारी र मुस्लिममा मुआज (रजिअल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जो अल्लाहको लागि प्रतिद्वन्दी ठहर (शिर्क) गर्दै मर्छ, ऊ नर्कमा जानेछ ।" [८] मुस्लिममा जाबिर (रजिअल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जो शिर्क नगरिकन अल्लाहलाई भेट्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ र जो उहाँसँग शिर्क गर्दागर्दै भेट्छ, ऊ नर्कमा जानेछ ।" [9] यस अर्थमा धेरै हदीसहरू छन् । र यो सबैभन्दा महत्त्वपूर्ण कुराहरूमध्ये एक हो । किनभने उहाँले आफ्ना रसूल मुहम्मदलाई एकेश्वरवादकै आह्वान र बहुदेववादबाट सचेत गर्न पठाउनु भएको थियो । उहाँले एकदमै राम्रोसँग एकेश्वरवादको आह्वान र बहुदेववादबाट सचेत गर्नुभयो । एकेश्वरवादको आह्वान गर्ने क्रममा उहाँले खेप्ने नसक्ने खालका दुःख र पिडाहरू भोग्नु पर्यो । तर उहाँ र उहाँका साथीहरू अल्लाहको खातिर धैर्य गरे यहाँसम्म कि अल्लाहले अरबद्वीपबाट सबै मूर्ति र प्रतिमाहरूको पूजालाई खतम पारदिनु भयो र इस्लामलाई आत्मसात गर्नेहरूको ओइरो नै लाग्यो । कअबाको वरपर र भित्रका मूर्तिहरू नष्ट गरियो । लात, उज्जा र मनात नामी ठूलाठूला प्रतिमालाई भत्काइयो । अरब जनजातिहरूका सबै मूर्ति र प्रतिमाहरू फ्यालियो अनि अरबद्वीपमा इस्लामको उदय भयो र जताततै इस्लाम फल्न र फुल्न थाल्यो । त्यसपछि मुस्लिमहरू एकेश्वरवादको आह्वान र जिहाद गर्न अरबद्वीपबाट बाहिर निस्के। अल्लाहले तिनीहरूद्वारा केही भाग्यमानी व्यक्तिहरूलाई इस्लाम आत्मसात गर्ने साहस दिनुभयो र तिनीहरूद्वारा संसारको धेरै भागहरूमा सत्य र न्याय निसाफ फैलाउनुभयो । यसरी तिनीहरू मार्गदर्शनका इमाम, सत्यका नेता,न्याय निसाफ र सुधारका अगुवाहरू भए । त्यसपछिका पुस्ताले तिनीहरूको अनुसरण गर्दो एकेश्वरवादको आह्वान र अल्लाहको बाटोमा आफ्नो जिउधन समेत जिहाद गर्न निस्के । अल्लाहको लागि दोषारोपण गर्नेको दोषको प्रवाह (भय) नगरीकन अहोरात्र खटे । त्यसैले अल्लाहले तिनीहरूलाई समर्थन र मद्दत गर्नुभयो । तिनीहरूलाई तिनीहरूको विरोध गर्नेहरूमाथि विजयी बनाउनुभयो । उहाँले आफ्नो यस श्लोकमा तिनीहरूसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुभयो: "हे ईमानवालाहरू ! यदि तिमीहरूले अल्लाहको मद्दत गर्छौ भने उहाँले पनि तिमीहरूको मद्दत गर्नु हुनेछ र तिमीहरूको खुट्टालाई दृढ बनाउनुहुनेछ ।" (मुहम्मद: ७) अल्लाहले भन्नुभएको छः "जसले अल्लाहको मद्दत गर्दछ, उहाँले उसलाई मद्दत गर्नुहुनेछ, किनकि अल्लाह सर्वशक्तिमान र अधिपत्यशाली हुनुहुन्छ ।" "यी ती मानिसहरू हुन्, जसलाई हामीले धरतीमा सत्ता प्रदान गर्यौं भने उनीहरू नमाज कायम गर्नेछन्, जकात दिनेछन्, भलाईको आदेश गर्नेछन् र कुकर्मबाट रोक्नेछन् र सबै कुराहरूको अन्तिम परिणाम अल्लाहको हातमा छ ।" (अल्-हज: ४०-४१) त्यसपछि मानिसहरू परिवर्तन भए, जिहादमा सुस्ती गर्न थाले अनि उदार भए । विलासी जीवनलाई प्राथमिकता दिए र आफ्ना इच्छापूर्ति पछि लागे । तिनीहरूमा अनेकौ किसिमका खराबीहरू देखा परे, तिनीहरू बाहेक जसलाई अल्लाहले बचाउनु भयो । तब अल्लाहले तिनीहरूको अवस्थालाई परिवर्तन गर्नुभयो र तिनीहरूले गरेको कर्तुतलेगर्दा तिनीहरूमाथि शत्रुहरूलाई प्रभावी गर्नु भयो । तपाईंको प्रतिपालक भक्तहरूमाथि अन्याय गर्नुहुन्न । सर्वशक्तिमानले भन्नुभयो: यो यसकारण कि अल्लाह यस्तो छैन कि कुनै कौममाथि कुनै अनुग्रह गरेर, फेरि त्यसलाई बदलिदेओस् जबसम्मकि उनीहरूले आफ्नो अवस्थालाई नबदलुन् । (अन्फाल्: ५३) अतः मुस्लिम शासक र जनता लगायत सबै मुस्लिमहरू अल्लाहतर्फ फर्कनुपर्छ, निष्ठापूर्वक मात्र उहाँको उपासना गर्नुपर्छ र उहाँको उपासनामा कसैलाई साझेदार गर्नु हँदैन, आफ्नो कमीकमजोरी र पापहरूका लागि तौबा (पश्चाताप) गर्नुपर्छ । अल्लाहका आदेशहरूको पालना अनि निषेधित कुराहरूबाट टाढा बस्नुपर्ने हुन्छ, एकअर्कालाई राम्रो कुराको प्रेरणा दिनुपर्छ अनि आपसी सहकार्य गर्नुपर्छ । (७) बुखारी: अल-इस्-तीजान (५९१२), मुस्लिम: ईमान: (३०), तिर्मिजी: ईमान: (२६४३), इब्ने माजह: अज-जोहुद: (४२९६) र अहमद: (५/२३८) । (८) बुखारी: तफसीरुल-कुरआन: (४२२७), मुस्लिम: ईमान: (९२) र अहमद: (१/३७४) । (९) बुखारी: अल-इल्म: (१२९), मुस्लिम: ईमान: (३२) र अहमद: (३/१५७) ।

त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको इस्लामी कानुन स्थापना गर्नु र मानिसहरूबीच सबै कुरामा शरिया (इस्लामी) कानुन अनुसार फैसला गर्नु हो । मानव निर्मित कानूनहरूलाई निलम्बन गर्नु र त्यस अनुसार फैसला नगर्नु, किनभने यो अल्लाहको नियम र विधिविधान विपरीत हो । सम्पूर्णलाई शरिया (इस्लामी) कानुन बमोजिम हिंड्न र कार्यन्वयन गर्न बाध्य पार्नुपर्छ । त्यसैगरी विद्वानहरूले पनि सर्वत्र ज्ञानको ज्योति छर्नुपर्छ र मानिसहरूमा इस्लामिक चेतना फैलाउनु पर्छ । असल कुराको आदेश दिनु र नराम्रो कुराबाट रोक्नु, धैर्य गर्नु र शासकहरूलाई त्यसो गर्न प्रोत्साहित गर्नुपर्छ इत्यादि । त्यसैगरी समाजवाद, बाथवाद, लेनिनवाद, राष्ट्रिय असहिष्णुता, शरीअत विरोधी मज्हब र अन्य विनाशकारी सिद्धान्तहरू विरूद्ध लड्नु आवश्यक छ । यसद्वारा, अल्लाहले मुस्लिमहरूका भ्रष्ट कुराहरूलाई ठीक गर्नुहुन्छ, उनीहरूमध्ये जो भ्रष्ट थियो, उनीहरूलाई पुनर्स्थापित गर्नुहुन्छ, उनीहरूको पुरानो महिमा पुनर्स्थापित गर्नुहुन्छ, उनीहरूलाई उनीहरूका शत्रुहरूमाथि मद्दत गर्नुहुन्छ र उनीहरूलाई पृथ्वीमा प्रभुत्व दिनुहुन्छ । सर्वशक्तिमानले भन्नुभएको छ र उहाँ सबैभन्दा सत्य कुरा भन्नेवाला हुनुहुन्छः "विश्वासीहरूलाई मद्दत गर्नु हाम्रो कर्तव्य हो ।" (अर्रूम: ४७) र अल्लाहको फर्मान छः "तिमीहरूमध्ये जसले ईमान ल्याए र सत्कर्म गरे अल्लाहले उनीहरूलाई पहिलेका मानिस झैं भूमिमा उत्तराधिकारी बनाउने, उनीहरूको लागि रोज्नुभएको इस्लाम धर्मलाई प्रभावशाली बनाउने र उनीहरूको भयलाई सुरक्षामा परिणत गर्ने प्रतिज्ञा गर्नुभएको छ । उनीहरू केवल मेरो उपासना गर्छन् र कसैलाई मेरो साझेदार बनाउदैनन् । जसले त्यसपछि इन्कार गर्छ, तिनीहरू नै अपराधी हुन् ।" (अन्-नूर: ५५) अल्लाहले भन्नुभएको छ: "निश्चय नै हामीले आफ्ना रसूलहरू र आस्थावानहरूलाई सांसारिक जीवनमा तथा जब साक्षीहरू उभिने छन् त्यस दिनमा मद्दत गर्नेछौं ।" (गाफिर: ५१) "जुन दिन अत्याचारीहरूलाई तिनीहरूको बहानाबाट कुनै फाइदा हुनेछैन र उनीहरूलाई श्राप दिइनेछ र तिनीहरूको बास­स्थान नराम्रो हुनेछ ।" (गाफिर: ५२)

हे अल्लाह ! मुस्लिम शासक र आम जनतालाई ठीक गरिदेऊ, तिनीहरूलाई धर्मको समझ देऊ, तिनीहरूलाई तकवा (धार्मपरायणता) मा एकताबद्ध गरि देऊ, सबैलाई आफ्नो सीधा मार्गमा डोर्याइ देऊ, तिनीहरूद्वारा सत्यलाई विजय र असत्यलाई पराजित गरिदेऊ, सबैलाई सुकार्य र तकवाको (संयमको) कार्यमा एकअर्कालाई सहयोग गर्न र त्यसमा धैर्य राख्न शक्ति देऊ । उहाँ हरेक काम गर्न सक्षम हुनुहुन्छ । अल्लाहको प्रार्थना र शान्ति अवतरित होस् उहाँको भक्त, उहाँका दूत र उहाँको सर्वश्रेष्ठ सृष्टि हाम्रा रसूल र हाम्रा नायक मुहम्मद बिन अब्दुल्लाहमाथि, र उहाँका परिवार, साथीहरू र उहाँको र्मागमा हिंड्नेहरूमाथि । वस्सलामो अलैकुम व रह्म्तुल्लाही व बरकातुहू ।