رسالة في الدماء الطبيعية للنساء
*
These files are generated automatically from the book's text; their layout may differ from the printed edition.
*
*
*
*
*
जब हजरत सफियाह (रजि०) लाई तवाफ-इफाज़ा (दसौ जिल्हीज्जाको दिन मिनाबाट मक्का फर्केर गरिने काबाको परिक्रमा) गरे पश्चात् महिनावारी भयो, नबी ﷺले उहाँलाई ‘अब तपाईँ जानुहोस्’ भन्नु भएको थियो' (सहीह बुखारी र मुस्लिम)।
*
*
*
महिलाहरूको प्राकृतिक रक्तस्राव सम्बन्धी पुस्तिका
लेखक: सम्माननीय शेख, वरिष्ठ विद्वान
मोहम्मद बिन सालेह अल-उषैमीन
अल्लाहले उहाँलाई, उहाँका आमाबाबु, र सबै मुस्लिमलाई क्षमा गरून् ।
शुरु अत्यन्त करुणामय, परम दयालु अल्लाहको नामबाट ।
सम्पूर्ण प्रशंसा अल्लाहका लागि हो, हामी उहाँको प्रशंसा गर्छौं, र उहाँसित सहायता माग्छौं, उहाँसितै क्षमायाचन गर्छौ, उहाँ सामु प्रायश्चित गर्छौं, र हाम्रा अन्तकरणका खराब प्रभावबाट तथा हाम्रा कर्महरूको दुष्परिणामहरूदखि सुरक्षा निमित्त अल्लाहको शरण लिन्छौं । जसलाई अल्लाहले मार्गदर्शन गर्नुहुन्छ, त्यसलाई पथभ्रष्ट गर्नेवाला कोही हुँदैन र जसलाई उहाँले मार्ग विचलित गर्नु हुन्छ, त्यसलाई कसैले पनि सही मार्ग देखाउन सक्दैन । म गवाही दिन्छु कि अल्लाह बाहेक अरू कुनै ईश्वर र उपास्य छैन, उहाँ एक्लै हुनुहुन्छ, र उहाँको कुनै साझेदार छैन, म यो पनि गवाही दिन्छु कि मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) उहाँका उपासक र दूत (सन्देशवाहक) हुनुहुन्छ । अल्लाहको कृपा उहाँमाथि, उहाँको परिवार माथि, उहाँका साथीहरू माथि, र उहाँको राम्रो अनुसरण गर्नेहरू माथि, न्यायको दिनसम्म, निरन्तर रहोस् ।
महिलालाई हुने रक्तस्राव, जस्तै महिनावारी, इस्तेहाज़ा (अनियमित रक्तस्राव), र निफास (प्रसुती रगत), ती महत्वपूर्ण कुराहरू हुन् जसको स्पष्टिकरण र त्यस बारे सही जानकारी हुनु र यस विषयमा उलमा(विद्वानहरू)का भिन्न मतहरू मध्ये कुन सही हो भनेर छुट्याउनु धेरै महत्त्वपूर्ण छ । यस विषयमा कुन धारणा प्राथमिकता दिन पर्ने छ र कुन धारणा कमजोर छ भन्ने निर्णय कुरआन र सुन्नतमा उल्लेख भएका कुराहरूको आधारमा गर्नुपर्छ ।
किनभने कुर्आन र सुन्नत नै दुई प्रमुख स्रोतहरू हुन्, जसको आधारमा अल्लाहका आदेशहरू निर्धारित गरिन्छन् । तिनकै माध्यमबाट अल्लाहले मानवजातिलाई आफ्नो उपासना र आज्ञाहरूको पालना गर्न आदेश दिनु भएको छ ।
कुर्आन र सुन्नतमा आधारित आदेशहरूको पालनाले हृदयमा शान्ति, मनमा उत्साह, र अन्तरात्मामा सन्तोष प्राप्त हुन्छ, साथै धार्मिक जिम्मेवारीबाट मुक्ति पाइन्छ ।
किनकि कुर्आन र सुन्नत बाहेक अरू कुनै स्रोतलाई मुलआधारको रुपमा लिन सकिँदैन, बरु ती स्रोतहरूकै पुष्टीकरणमा कुर्आन र सुन्नतको आवश्यकता पर्छ ।
अतः अल्लाहको वचन अर्थात् कुर्आन र रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत बाहेक अन्य कुनै पनि स्रोत प्रमाणको रूपमा मान्य ठहरिँदैन । त्यसै गरी, सही मतानुसार विद्वान "सहाबा" (रसूल सल्लल्लाहु अलैहि वसल्लमका साथीहरू) को कथनलाई पनि प्रमाणको रूपमा स्वीकार गर्न सकिन्छ, तर यसको लागि दुई मुख्य शर्तहरू छन् । पहिलो, ती कथनहरू कुर्आन र सुन्नत विपरीत हुन हुँदैन । दोस्रो, ती भनाइहरूमा कुनै सहाबीको कुरा अर्को सहाबीको कुरा विपरीत हुन भएन । यदि ती कथनहरू कुर्आन र सुन्नत विपरीत छन् भने, अनिवार्य रूपमा कुर्आन र सुन्नतमा उल्लेखित कुरा नै लिनु पर्छ । र यदि सहाबाहरूको (रसूल सल्लल्लाहु अलैहि वसल्लमका साथीहरूको ) भनाइ बिच मतभेद छ भने तुलनात्मक रूपमा सार्वधिक र प्रमुख धारणा तथा विचारलाई स्वीकार गर्नु पर्ने हुन्छ । अल्लाह तआलाले भन्नुहुन्छ: { सो यदि तिमीहरू बीच कुनै कुरामा विवाद भयो भने त्यो कुरालाई अल्लाह र उहाँका रसूल ﷺतर्फ ल्याऊ यदि तिमीहरू अल्लाह र आखिरतको दिनमाथि आस्था राख्छौ भने । यो नै उत्तम हो र अन्तिम निर्णयको लागि अधिक उपयुक्त छ। } (अन-निसा: ५९)
यस सानो पुस्तिकामा महिलालाई हुने रजस्वला र अन्य सबै प्रकारका रक्तस्रावहरू प्रति शरियतको नियम बारे आवश्यक जानकारी संक्षिप्त रूपमा प्रस्तुत गरिएको छ। यसलाई निम्न खण्डहरूमा विभाजित गरिएको छ:
पहिलो खण्ड: रजस्वलाको अर्थ र भेद ।
दोस्रो खण्ड: रजस्वलाको समय र अवधि ।
तेस्रो खण्ड: रजस्वला सम्बन्धी आपतकालीन अवस्थाहरू ।
चौथो खण्ड: रजस्वला सम्बन्धी शरियतका नियमहरू ।
पाँचौँ खण्ड: "इस्तेहाज़ा" (अनियमित रक्तस्राव) र यससम्बन्धी शरियतका आदेशहरू ।
छैठौँ खण्ड: "निफास" (सुत्केरी रगत) र यससम्बन्धी शरियतका कानूनहरू ।
सातौँ खण्ड: महिनावारी रोक्ने वा ल्याउने, गर्भाधारण रोक्ने वा गर्भपात गराउने औषधि वा उपचारहरूको प्रयोग ।
पहिलो खण्ड: महिनावारीको अर्थ र त्यसको रहस्य ।
अरबी भाषामा: "हैज" (महिनावारी) भनेको कुनै कुरा बग्नु र जारी हुनु हो ।
शरियतको परिभाषामा: यो महिलाहरूको शरीरमा कुनै रोग, चोटपटक, लड्नु, प्रसूता र कुनै कारण बिना प्राकृतिक रूपमा निश्चित समयमा देखा पर्ने रगत हो । त्यही भएर यो प्राकृतिक रगत भएको हुनाले, महिलाको अवस्था, वातावरण र मौसम अनुसार फरक-फरक हुन्छ; त्यसै कारण महिलाहरूमा यसबारे भिन्नता प्रस्टै देखिन्छ ।
यसमा भएको रहस्य : जब बच्चा आमाको गर्भमा हुन्छ, उसले बाहिरका बच्चाले जस्तो खाना खान सक्दैन, र बच्चालाई सबैभन्दा धेरै माया गर्ने सृष्टिले समेत उसलाई खाना पुर्याउन सक्दैन । त्यसैले अल्लाह तआलाले महिलाको शरीरमा यस्तो रक्त प्रवाहको व्यवस्था गर्नुभएको छ, जसले खान वा पाचनको आवश्यकता बिना गर्भमा रहेको बच्चालाई खाना दिन्छ । यो रगत नाइटोको माध्यमबाट बच्चाको शरीरमा प्रवेश गर्छ र बच्चाका नसाहरूमा फैलिएर उसलाई पोषण प्रदान गर्छ । सो अल्लाह तआला कति महिमावान हुनु हुन्छ जो सबैभन्दा उत्तम सृष्टिकर्ता हुनुहुन्छ ।
सो यही रहस्य हो रजस्वलामा, त्यसैले जब महिला गर्भवती हुन्छे, उसको मासिक घर्म बन्द हुन्छ र विरलै माहिनावारी हुन्छ । यसरी नै स्तनपान गराउने महिलाहरूमा पनि महिनावारी कम हुन्छ, विशेष गरी स्तनपानको आरम्भिक समयमा ।
दोस्रो खण्ड: महिनावारीको समय र अवधि बारे ।
यस खण्डमा दुई विषयमा छलफल गरिएको छ:
पहिलो: त्यो उमेर जसमा रजस्वला हुन्छ ,
दोस्रो: रजस्वला समयावधि
पहिलो विषय: सामान्यतया महिनावारी हुने उमेर बाह्र वर्षदेखि पचास वर्षसम्मको हुन्छ । तर, कुनै महिलाको अवस्था, वातावरण र हावापानी अनुसार यो उमेर अधि वा पछि पनि हुन सक्ने हुन्छ ।
यस विषयमा उलमा (विद्वानहरू) बीच मत भिन्नता रहेको छ कि के रजस्वला हुने सुनिश्चित उमेर छ, जसअघि वा त्यसपछि महिलालाई रजस्वला हुँदैन । साथै, उक्त उमेरभन्दा अघि वा पछि देखापर्ने रगत बिग्रेको रगत हो वा रजस्वला को हो ?
यस विषयमा विद्वानहरू बीच मतभेद छ । "दारमी"ले यी विभिन्न मतहरूलाई उल्लेख गरेर भनेका छन्: यी सबै धारणाहरू मेरो विचारमा चुक हुन् । किनकि यस विषयसँग सम्बन्धित सबै कुराको मापदण्ड वास्तविक अवस्थाको आधारमा हुनुपर्छ, तसर्थ जुनसुकै उमेरमा वा अवस्थामा जुन मात्रामा रगत देखा परे पनि, त्यसलाई महिनावारीकै रूपमा मान्नु पर्छ। (अल्लाह नै सर्वज्ञा हुनुहुन्छ । )
"दारिमी"ले भनेको कुरा नै सही हो, र "इब्न तैमियाह"ले पनि यही विचारलाई अपनाएका छन् । अतः महिलाले जुनसुकै उमेर वा समयमा रजस्वला देखी, त्यसलाई महिनावारीकै रूपमा मान्नु पर्छ, चाहे महिला नौ वर्षभन्दा कम उमेरकी होस् वा पचास वर्ष भन्दा बढी उमेरकी । यो किन भने, अल्लाह र उहाँका "रसूलﷺ"ले रजस्वला सम्बन्धी नियमहरू महिनावारी हुनुलाई आधार मानेर बनाउनु भएको छ, अल्लाह र उहाँका "रसूलﷺ"ले यसका लागि कुनै उमेर तोक्नु भएको छैन । यस्तो अवस्थामा जुन कारणले हुकुम लागू हुन्छ त्यसै तर्फ रुजु गर्नु पर्छ । रजस्वलाका लागि कुनै निश्चित उमेर तोक्नका लागि कुर्आन वा हदीसबाट कुनै प्रमाण चाहिन्छ जब कि यसका बारेमा कुनै सबुत छैन ।
र जहाँसम्म दोस्रो विषय, अर्थात् महिनावारीको अवधि (समयको सीमा) को प्रश्न छ:
यस विषयमा उलमा(विद्वानहरू) बीच निकै मतभेदहरू रहेका छन्, र करिब छ वा सात वटा फरक विचारहरू पाइन्छन् । "इमाम इब्नुल्-मुन्जिर" (रहिमहुल्लाह)ले भनेका छन् कि केही उलमाको विचारमा महिनावारीको न्यूनतम वा अधिकतम दिनहरूको कुनै निश्चित संख्या छैन ।
लेखकको धारणा यो हो कि "इब्नुल्-मुन्जिर"को उक्त विचार पहिल्यै "दारिमी" ले प्रस्तुत गरेको विचारसंग मिल्दोजुल्दो छ, र यही धारणा "इब्ने तैमियाह" को पनि हो । यो नै सही धारणा हो, किनभने यो कुर्आन, सुन्नत र तर्कमा आधारित छ ।
पहिलो प्रमाण: अल्लाहले भन्नुहुन्छ: {र उनीहरू तपाईंसित रजस्वलाको बारेमा सोध्छन्, भनिदिनु होस् “यो एक प्रकारको अपवित्रता हो ।” अनि, रजस्वलाको अवस्थामा स्त्रीहरूबाट अलग बस र पवित्र नहोउन्जेलसम्म तिनीहरू नजिक नजाऊ (अल-बकरा २:२२२), अल्लाहले यस आयतमा (श्रीमती सँग सम्भोग गर्न निषेधित अवधि) श्रीमती पवित्र नहोउन्जेलसम्म तोक्नु भएको छ, र अल्लाहले महिनावारीको अवधि एक दिन, दुई दिन, तीन दिन वा पन्ध्र दिन जस्ता कुनै निश्चित समय सीमा तोक्नुभएको छैन । यसबाट प्रष्ट हुन्छ कि उक्त नियम महिला रजस्वला भएको वा नभएको अवस्थालाई हेरेर मात्र लागू गरिनेछ । यही आधार अनुसार जब महिनावारी हुन्छ तब यो नियम लागू हुन्छ र जब त्यसबाट चोखिन्छे, यसका हुकुमहरू पनि हट्छन् ।
दोस्रो प्रमाण: सहीह मुस्लिममा प्रमाणित छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हजरत आइशा (रजियल्लाहु अन्हा) लाई भन्नुभएको थियो, जब उनी उमराहको इह्राममा थिइन् र महिनावारी शुरु भएको थियो: «तिमीले हाजीहरूले जसरी सबै धर्मकर्महरू गर, तर महिनावारी नरोकिउन्जेल (काबाको) परिक्रमा नगर्नू ।» उनी भन्छिन्: ‘जब कुर्बानीको दिन आयो, म चोखिएँ ।’
र सहीह बुखारी र सहीह मुस्लिम दुवैमा उल्लेख छ कि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आइशा (रजियल्लाहु अन्हा) लाई भन्नुभयो, «प्रतीक्षा गर, जब तिमी पवित्र हुन्छेउ, अनि उम्राहको इह्रामका लागि "तन्ईम" जानु ।» यसबाट स्पष्ट हुन्छ कि, नबी ﷺले महिनावारी भएकी महिलालाई काबाको परिक्रमा गर्नबाट रोक लगाउँदा कुनै निश्चित समय अवधि तोक्नु भएको थिएन, बरु उहाँले महिला पवित्र नहोउञ्जेल अवधिसम्म रोक लगाउनु भएको थियो । यसले प्रमाणित हुन्छ उक्त नियम महिला महिनावारी भएको वा नभएको अवस्थासित सम्बन्धित छ ।
तेस्रो प्रमाण: यो हो कि, यस विषयमा महिनावारीको समयसीमा प्रति शरियतका केही विद्वानहरुले गरेका अनुमानहरू र विवरणहरू कुर्आन वा हदीसमा उल्लेख गरिएका छैनन् । जबकि यस विषयलाई बुझ्न र स्पष्ट पार्न आवश्यक मात्र नभइ, अपरिहार्य नै छ । यदि यी कुराहरू मानिसहरूले बुझ्नै पर्ने वा त्यसै अनुसार अल्लाहको उपासना गर्नै पर्ने भएको भए, अल्लाह र उहाँका रसूलﷺले सबैका लागि स्पष्ट रूपमा यी कुराहरू बताउनुहुन्थ्यो होला, यसमा आधारित आदेशहरू जस्तैः नमाज, रोजा, विवाह, तलाक, पैतृक सम्पत्तिको भागबन्डा आदि आदेशहरूको महत्वका कारण ( खोली खोली बताउनु भए जसरी । ) जसरी अल्लाह र उहाँका रसूलﷺले नमाजको संख्या, समय, रुकू र सज्दाहरूका बारेमा खोलेर बताउनु भएको छ । जकात: यसको माल , मात्रा, परिमाण र खर्च गर्ने स्थान, यसरी नै रोजा: को अवधि र समय, हज र यिनका अतिरिक्त अन्य कुराहरूका बारे खोलेर बताउनु भएको छ । यहाँसम्म कि खाने , पिउने, सुत्ने, यौन सम्बन्ध राख्ने, बस्ने, घर भित्र प्रवेश गर्ने र बाहिर निस्कने, शौचालय प्रयोग गर्ने नियम्वर कति पटक शौचकर्म र सफाइ गर्ने र यसका बाहेकका साना ठूला कुराहरूका सम्बन्धमा पनि स्पष्ट विवरण दिइएको छ,जसद्वारा अल्लाह तआलाले आफ्नो दीन ( इस्लाम)लाई निपुण गर्नु भयो र त्यसका माध्यमबाट ईमान वालहरू माथि आफ्नो अनुग्रह पुरा गर्नु भयो । (यदि महिनावारीको समयवधिको ज्ञान पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्थ्यो भने, अवश्य पनि त्यसको स्पष्टिकरण गरिन्थ्यो होला ।) अल्लाहले कुर्आनमा भन्नुहुन्छ { र, हामीले तिमीमाथि यो ग्रन्थ अवतरित गरेका छौं जुन प्रत्येक कुरालाई स्पष्ट पार्ने र आज्ञाकारीहरूका लागि मार्गदर्शन, दया तथा शुभ–सूचना हो।} [अल-नहल् ८९] र अर्को आयतमा भन्नुहुन्छ {यो (कुरआन) रचिएको कुरा होइन, अपितु यसअघि अवतरित ग्रन्थको पुष्टि गर्ने, हरेक चिजको विस्तृत वर्णन र इमान वालाहरूका लागि मार्गदर्शन तथा दया हो।} [यूसुफ:१११]
कुरआन र हदीसमा यी अनुमानित भनाइ र विस्तृत विवरणहरू स्पष्ट रूपमा नभेटिएकाले, हामी धार्मिक नियमहरूमा यी विवरणहरूलाई आधार मान्न सक्दैनौ । तसर्थ केवल कुरआन र हदीसमा उल्लेखित महिनावारीसम्बन्धी कुराहरूलाई महिनावारीको वास्तविक स्थिति हेरेर मान्य मानिनेछ । र कुनै पनि विषयलाई प्रमाणीत गर्ने यो तर्क - अर्थात्, (कुर्आन र हदीसमा कुनै नियम उल्लेख नभएकाले त्यो नियम अमान्य ठहरिनेछ) भनिने तर्फ - यस विषय र अन्य धार्मिक विषयहरूका लागि पनि उपयोगी छ। किनकि, इस्लामिक कानूनहरू केवल अल्लाहको पुस्तक, रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत, "इज्मा" (सर्वसम्मत धारणा), वा सही "कियास" (तार्किक सादृश्य) मार्फत मात्र प्रमाणित गर्न सकिन्छ। प्रसिद्ध विद्वान "इब्न तैमिया" ले भनेका छन्: «महिनावारीको वास्तविक स्थिति लाई आधार मानेर इस्लाममा धेरै नियमहरू बनाइएका छन्। तर कुरआन र हदीसमा महिनावारीको सबैभन्दा छोटो र लामो अवधि, तथा दुई महिनावारी बीचको शुद्धताको अवधिको बारेमा कुनै निश्चित समय तोकिएको छैन, जबकि यो समस्या सबै महिलाहरूलाई हुने समस्या हो र यसको ज्ञान अत्यन्त महत्त्वपूर्ण छ। र परिभाषिक रुपमा महिनावारी (हैज) को विभिन्न अवधिहरूलाई छुट्याउने कुनै विशिष्ट नियम छैन, त्यसैले यस विषयमा कसैले कुनै निश्चित समय तोकेमा त्यो कुर्आन र हदीसको विपरीत हुनेछ»।
चौथो प्रमाण: तर्कसंगत विश्लेषण, अर्थात् सहि र सुसंगत क़ियास (तर्कसंगत तुलना) हो। यसको स्पष्टीकरण यो हो कि सर्वशक्तिमान अल्लाहले महिनावारीलाई महिलाको लागि अशुद्धताको कारण ठहर्याएका छन्। यसको अर्थ, महिनावारी भएको अवधिभर महिला अशुद्ध नै रहन्छिन् र यो अशुद्धता महिनावारी हुन साथ निरन्तर रहन्छ, चाहे त्यो दोस्रो दिन होस् वा पहिलो दिन, चौथो दिन होस् वा तेस्रो दिन, सोह्रौँ दिन होस् वा पन्ध्रौँ दिन, अठारौँ दिन होस् वा सत्रौँ दिन, (यसले नियममा केही फरक हुँदैन) । किनकि यी सबै दिनमा महिनावारी र त्यससँग सम्बन्धित अशुद्धताको स्वरूप उस्तै नै हुन्छ, अलग-अलग हुदैन। यसर्थ, यदि महिनावारीको पहिलो दिन र अन्य दिनमा अशुद्धताको कारण उस्तै छ भने, सबै दिनको लागि नियम पनि उस्तै हुनुपर्छ भन्ने तर्क सहि हो। त्यसो नगर्नु सहीतर्क विपरीत कुरा हुनेछ, र बुद्धिसङ्गत कुरा यो हो कि कारण उस्तै हुँदा सबै दिनको नियम पनि उस्तै हुनुपर्छ ।
पाँचौँ प्रमाण: यस विषयमा विद्वानहरूका मतहरूमा विविधता र अन्तरविरोध पाइन्छ। यसले स्पष्ट पार्दछ कि यस विषयमा कुनै निश्चित र निर्विवाद प्रमाण उपलब्ध छैन जसलाई अनिवार्य रूपमा मान्नुपर्छ। बरु, यस्ता निर्णयहरू विद्वानहरूका व्यक्तिगत अध्ययन र अनुसन्धानमा आधारित हुन्छन्, जसलाई "इज्तिहाद" भनिन्छ । यस्ता "इज्तिहादी" निर्णयहरूमा सत्य र असत्य दुवै हुन सक्ने सम्भावना रहन्छ। यसर्थ, यीमध्ये कुनै एक निर्णयलाई अर्को निर्णयभन्दा श्रेष्ठ मान्न सकिँदैन। विवाद उत्पन्न भएको अवस्थामा कुर्आन र सुन्नत नै अन्तिम निर्णायक आधार हुन् ।
उपरोक्त प्रमाणहरूबाट स्पष्ट हुन्छ कि महिनावारीको न्यूनतम वा अधिकतम अवधि निश्चित छैन भन्ने धारणा सही हो। यस्ले यो स्पष्ट हुन्छ कि महिलामा प्राकृतिक रूपमा हुने कुनै पनि रक्तस्राव (चोटपटकका कारणले नभएको) लाई महिनावारी नै मान्नुपर्छ । यस प्रकारको रक्तस्रावको अवधि र उमेरको कुनै निश्चित सीमा हुँदैन। यदि कुनै महिलामा यस्तो रक्तस्राव निरन्तर रहिरहन्छ वा महिनामा एक वा दुई दिन मात्र रोकिन्छ भने, त्यसलाई "इस्तिहाजा" (रोगजन्य रक्तस्राव) भनिन्छ । -इंशाअल्लाह ता'आला- इस्तिहाजा र यसका नियमहरूको विवरण पछि आउनेछ ।
इब्न तैमियाले भन्नुभएको छ, "गर्भाशयबाट निस्किएको सबै रगतलाई मुलतः महिनावारी नै मान्नु पर्छ, जबसम्म यो प्रमाणित हुँदैन कि त्यो "इस्तिहाजा" (रोगजन्य रक्तस्राव) हो ।
उहाँले थप भन्नुभएको छ, "(योनि द्वारा) निस्किएको सबै रगत लाई महिनावारी नै मान्नु पर्नेछ, जबसम्म यो थाहा हुँदैन कि त्यो रक्तस्राव रक्तसंचार गर्ने तन्तुमा समस्या वा चोट घाउको को कारणले भएको हो ।
र यही भनाइ सबैभन्दा बलियो तर्कमा आधारित छ र यसलाई बुझ्न र लागू गर्न पनि सजिलो छ र महिनावारीसम्बन्धी सीमा निर्धारण गर्ने अन्य विद्वानहरूको विचारभन्दा यो बढी व्यवहारिक रहेको छ। त्यसैले यस विचारलाई स्वीकार्न र प्राथमिकता दिनु नै उचित हुो, किनकि यो इस्लाम धर्मको सरलता र सहजताको आधारभूत सिद्धान्त सँग मेल खान्छ । महान् अल्लाहले भन्नुहुन्छ: {र, धर्ममा उनले तिमीहरूमाथि कुनै कठिनाइ राखेका छैनन्} (सूरह हज्ज: ७८)। र नबी (सल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "निश्चय नै धर्म सजिलो छ, र कसैले धर्मलाई कठिन बनाउँछ भने उसलाई धर्मले परास्त गर्नेछ। त्यसैले (धर्म कार्य) प्रति मध्यम मार्ग अपनाऊ, यथासम्भव सत्कर्म गर्ने गर र शुभ समाचार फैलाउने गर। (बुखारी शरीफ)
र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आचरणमध्ये एक यो थियो कि जब उहाँलाई दुई विकल्पहरू बीच छनोट गर्न दिइन्थ्यो, उहाँले पापको सम्भावना नभएमा सधैं सजिलो विकल्प रोज्नुहुन्थ्यो ।
गर्भवती महिलाको महिनावारी:
सामान्यतया, महिला गर्भवती भएमा महिनावारी हुन रोकिन्छ। इमाम अहमद (रहिमाहुल्लाह) ले भन्नुभएको छ: «महिलाहरूले गर्भवती भएको कुरा महिनावारी रोकिएको अवस्थाबाट थाहा पाउँछन्»। र यदि गर्भवती महिलालाई प्रसवभन्दा केही दिन (जस्तै दुई वा तीन दिन) अघि प्रसूति पीडासँगै रक्तस्राव हुन्छ भने त्यसलाई "निफास" (प्रसूतिकर्ममा निस्कने रगत) भनिन्छ ।
तर, यदि गर्भवती महिलालाई प्रसवको धेरै दिनअघि वा केही दिनअघि रक्तस्राव हुन्छ र त्यसका साथमा प्रसूति पीडा छैन भने त्यसलाई "निफास" मानिँदैन । यस अवस्थामा प्रश्न उठ्छ कि, के यसलाई महिनावारीको रक्त मानिनेछ जसमा महिनावारीका नियमहरु लागू हुन्छन्, वा यसलाई सामान्य खराब रक्त मानिनेछ जसमा महिनावारी सम्बन्धित नियमहरु लागू हुँदैनन्?
यस विषयमा विद्वान्हरूबीच मतभेद छ। सही धारणा यो हो कि यदि रक्तस्रावको प्रकृति सामान्य महिनावारी जस्तै छ भने त्यसलाई महिनावारी नै मान्नु पर्नेछ । किनभने मुल रुपमा कुनै अर्को कारण नदेखिएसम्म महिलामा रक्तस्राव हुने प्रमुख कारण महिनावारी नै हुने गर्छ र कुर्आन र हदीसमा पनि गर्भवती महिलालाई महिनावारी हुन सक्दैन भन्ने कुराको कुनै प्रमाण छैन ।
यो नै इमाम मालिक, इमाम शाफेई, र इब्न तैमियाहको धारणा हो। इब्न तैमियाहले "इख्तियारात" (पृष्ठ ३०) मा उल्लेख गर्नुभएको छ कि यस विचारलाई अल-बैहकीले इमाम अहमदको एक कथनको रूपमा प्रस्तुत गरेका छन्, र अन्ततः इमाम अहमदले पनि यसै विचारलाई स्वीकार गरेको कुरा उल्लेख गरेका छन् ।
अतः दुई विशेष विषय वा अवस्थाहरू बाहेक, गर्भवती महिलालाई महिनावारी भएमा उसको हकमा त्यही नियमहरू लागू हुनेछन् जुन अन्य गर्भवती नभएका महिलाहरूलाई महिनावारी भएमा लागू हुन्छ ।
पहिलो विषय: महिनावारीको अवस्थामा गर्भवती नभएकी महिलालाई तलाक दिन निषेधित छ, तर गर्भवती महिलाको हकमा (अनुकल्पित रुपमा महिनावारी भए पनि ) निषेध गरिएको छैन; किनभने महिनावारी भएकी गैर- गर्भवती महिलालाई तलाक दिनु अल्लाहको यो आदेशको विरुद्ध हुन्छ: अल्लाहले भन्नुहुन्छ: {उनीहरूलाई तिनको इद्दतको (प्रतीक्षा अवधि) प्रारम्भमा तलाक देऊ} (सूरह तलाक: १) तर, गर्भवती महिलालाई (अनुकल्पित रुपमा) महिनावारी भए पनि तलाक दिन निषेध गरिएको छैन; किनभने गर्भवती महिलालाई तलाक दिइयो भने उसलाई उसको इद्दत्तकै समयमा तलाक दिइएको हुन्छ, चाहे ऊ महिनावारीको अवस्थामा होस् वा पवित्र अवस्थामा । यसको कारण यो हो कि गर्भवती महिलाको इद्दत गर्भावस्थासँग सम्बन्धित हुन्छ ; त्यसैले गर्भवतीलाई सम्भोगपछि तलाक दिन निषेधित छैन, जबकि गर्भवती नभएकी महिलाको सन्दर्भमा यस्तो कार्य निषेधित हुन्छ।
दोस्रो विषय यो हो कि गर्भवती महिलालाई महिनावारी हुँदा उसको पर्खाइको अवधि समाप्त हुँदैन, तर अन्य महिलालाई महिनावारी हुँदा पर्खाइको अवधि समाप्त हुन्छ । किनभने गर्भवती महिलाको पर्खाइको अवधि बच्चा जन्माएपछि मात्र समाप्त हुन्छ, यस सन्दर्भमा महिनावारी हुनु वा नहुनु सगँ इद्दत (पर्खाइको अवधि) को केही सम्बन्ध हुँदैन । जस्तो कि अल्लाहले भन्नुभएको छ,{र गर्भवती महिलाहरूको ‘इद्दत’ तिनीहरूले बच्चा जन्माउन सम्म रहेको छ } (सूरह तलाक: ४)
तेस्रो खण्ड: महिनावारीका आपतकालीन अवस्थाहरू ।
महिनावारीका आपतकालीन अवस्थाहरू विभिन्न प्रकारका हुन्छन्:
प्रकार १ : महिनावारीको अवधि बढ्नु वा घट्नु: उदाहरणका लागि, यदि कुनै महिलालाई सामान्य अवस्थामा ६ दिनसम्म महिनावारी हुन्छ भने, कहिले काहीँ ७ दिनसम्म हुन सक्छ । त्यसैगरी, यदि सामान्यतया ७ दिनसम्म महिनावारी हुन्छ भने, कहिलेकाहीँ ६ दिनमै समाप्त हुन सक्छ ।
प्रकार २: महिनावारीहुने समय समय अगाडि वा पछाडि सर्नु: उदाहरणका लागि, यदि कुनै महिलालाई सामान्यतया महिनाको अन्तिममा महिनावारी हुन्छ भने, कहिलेकाहीँ महिनाको सुरुमै हुन सक्छ, वा यदि सामान्यतया महिनाको सुरुमा हुन्छ भने, कहिलेकाहीँ महिनाको अन्तिममा हुन सक्छ ।
उलमा (विद्वान्हरू) बीच यी दुई हालतका नियमहरू बारे मतभेद रहेको छ । सही विचार यो हो कि जब महिलाले जब रजस्वलाको रगत देखेकी हुन्छे तब उसलाई महिनावारीको अवस्थामा मान्नु पर्छ, र जब रजस्वलाबाट चोखी हुन्छे तब उसलाई पवित्र चोखी भएको मान्नु पर्छ । चाहे रगत देखिनु उसको बानी भन्दा बढी होस् वा कम, अथवा समय अधि भएको होस् वा पछि ( उक्त नियम नै लागू हुन्छ ।) यसको प्रमाण अघिल्लो खण्डमा प्रस्तुत गरिएको छ, जहाँ शास्त्रले महिनावारीका नियमहरूलाई महिनावारीको अवस्थासँग प्रत्यक्ष रूपमा जोडेको छ।
यो इमाम शाफईको अवधारणा हो, र इब्न तैमिया जस्ता विद्वानले पनि यसलाई स्वीकार गरेका छन् । "अल-मुग्नी" जस्तो कानुनी पुस्तकका लेखकले पनि यसलाई पक्का विचार भनेर प्रमाणित गरेका छन् । उनले भनेका छन्, यदि महिनावारीको रगत पर्नुलाई निश्चित समय सीमा भित्र मात्र मान्य ठहर्याउनु नै सही ठानिएको भए (जसरी केही विद्वानहरूको धारणा छ । ) नबी ﷺले आफ्ना "उम्मत" (अनुयायी)हरूलाई यसबारे स्पष्ट रूपमा रत्तिभर ढिलो नगरि बताउनु हुन्थ्यो होला । किनकि कुनै कुरालाई बताउनमा ढिलाइ गर्नु शरियतमा स्वीकार्य छैन । साथै, उहाँका पत्निहरू र अन्य महिलाहरूलाई पनि यस विषयमा हरेक समयमा जानकारी हुनु जरुरी नै थियो। त्यसैले, उहाँ ﷺ ले यस विषयमा स्पष्ट व्याख्या नगर्नु असम्भव थियो । र मुस्तहाजा ( रोगी) महिला बाहेक अन्य महिलाहरूका बारे नबी ﷺ ले महिनावारी सम्बन्धि निश्चित समय अवधि र बानीका बारेमा बताउनु भएको वा चर्चा गर्नु भएको कुरा प्रमाणित छैन ।
प्रकार ३: पहेँलो वा खैरो रङको मिश्रित रगत निस्कनु, जुन घाउको पानी जस्तो पहेँलो वा पहेँलो-कालो मिश्रण जस्तो देखिन्छ । यदि यस्तो रगत महिनावारीको समयमा वा महिनावारीबाट पूर्ण रूपमा पवित्र नहुँदै निरन्तर आइरहेको छ भने यसलाई महिनावारी नै मानिन्छ, र यस प्रति महिनावारी सम्बन्धी नियमहरू लागू हुन्छन् । तर, यदि महिनावारी समाप्त भए पछि पवित्र अवस्थामा यस्तो रगत देखा पर्छ भने त्यो रजस्वाला होइन । यसको प्रमाण उम्मे अत्तियह (रजियल्लाहु अन्हा) ले भन्नु भएको यो हदीस हो: " हामीले शुद्ध भएपछि पहेँलो वा पहेँलो-कालो मिश्रण भएको जस्तै रक्तस्रावलाई महिनावारीको रूपमा कुनै मान्यता दिँदैन्थ्यौ "। (यस हदीसलाई अबू दाऊदले सही वर्णनकर्ताका सन्दर्भसाथ उल्लेख गर्नु भएको छ । र बुखारीले पनि यसलाई आफ्नो संग्रहमा राख्नु भएको छ । तर, बुखारीले " चोखी भएपछि " भन्ने शब्द उल्लेख गर्नु भएको छैन । तथापि, उहाँले यसलाई "महिनावारी नभएको बेलामा पहेँलो वा खैरो रङको रगत आउने" शीर्षक अन्तर्गत राख्नु भएको छ। )
"फत्हुल् बारी" मा यसको व्याख्या गर्दै भनिएको छ, 'यसले आइशा (रजियल्लाहु अन्हा) द्वारा वर्णित हदीस जसमा उहाँले "महिनावारीको अवधि पूरा हुनका लागि सफा तरल पदार्थको आउन्जेलसम्म पर्खनु पर्छ" भन्नु भएको छ । र उम्मे अत्तियाहको उक्त हदीस बीचको तालमेल मिलाउँछ । अतः आइशा (रजियल्लाहु अन्हा)ले बताउनु भएको नियम महिनावारीको समयमा पहेँलो र खैरो रङको तरल पदार्थ आएमा लागू हुन्छ र उम्मे अत्तियहको हदीसले महिनावारी सकिए पछि पहेँलो वा खैरो रङको रगतको कुनै मान्यता नरहेको कुरालाई स्पष्ट गर्छ ।
बुखारीले यस अध्याय अघि आइशा ( रजियल्लाहु अन्हा)को हदीस माथि परिचर्चा गर्दै उल्लेख गरेका छन् जसमा वर्णन छ कि महिलाहरूले सानो पुडियामा कपासको टुक्रा (महिनावारी समाप्त भयो कि भएन बुझ्न भनेर ) आइशा (रजियल्लाहु अन्हा) कहाँ ल्याउँथे जसमा पहेँलो रङ देखिन्थ्यो र आइशा रजि०ले सम्झाउदै भन्नुहुन्थ्यो कि सफा तरल पदार्थको बगुन्जेलसम्म पर्ख ।(त्यो आउन थाल्यो भने पवित्र हुनेछौ)।'
"सफा पदार्थ" भनेको महिनावारी बन्द भएपछि पाठेघरबाट निस्कने सेतो पानी हो ।
चौथो प्रकार: अनियमित रजस्वला हुनु, जसमा एक दिन रजस्वला हुन्छ र अर्को दिन हुँदैन। यस प्रकारको अवस्थालाई दुई भागमा विभाजन गर्न सकिन्छ::
पहिलो अवस्था: यदि यो स्थिति महिलामा सधैँ देखा पर्छ, अर्थात् हरेक पटक यही क्रम दोहोरिन्छ भने, यसलाई "इस्तिहाजा" (रोगजन्य रक्तस्राव) मानिन्छ, र यसमा इस्तिहाजासम्बन्धी नियमहरू लागू हुन्छन्।
दोस्रो अवस्था: यदि यस्तो अवस्था महिलामा सधैँ रहँदैन, तर कहिलेकाहीँ मात्र देखा पर्छ, र उसलाई (महिनावारी नहुने) स्पष्ट शुद्धताको अवधि प्राप्त हुन्छ, भने यस विषयमा विद्वान्हरूबीच मतभेद छ। के यसलाई शुद्धता मानिन्छ, वा यस अवस्थामा पनि महिनावारीका नियमहरू लागू हुन्छन्?
इमाम शाफईको मतहरूमा मान्य रहेको सही मत अनुसार यस अवस्थामा महिनावारी सम्बन्धी नियमहरू लागू हुन्छन् त्यसैले यसलाई महिनावारी नै मानिन्छ । यस धारणाको समर्थन शैखुल इस्लाम इब्ने तैमियाह, र "अल-फाइक" पुस्तकका लेखक, एवं अबू हनीफाको मज़हबले पनि गरेका छन् । यसको कारण यो हो कि यस्तो अवस्थामा महिलाले "किस्सा अल-बैदा" अर्थात् सेतो पदार्थको स्राव देख्दिनन्। साथै, यदि यसलाई शुद्धताको संकेत मानियो भने, यसअघि र त्यसपछि भएका रक्तस्रावलाई अलग-अलग महिनावारीको अवधिको रूपमा मान्नुपर्ने हुन्छ, जुन कसैले पनि सही ठहराउँदैनन्। अन्यथा, महिनावारी पछिको प्रतिक्षा अवधि केवल पाँच दिनमै समाप्त हुने स्थिति आउँथ्यो। त्यसैगरी, यस अवस्थालाई शुद्धता मानिएमा महिलाले प्रत्येक दुई दिनमा स्नान गर्नुपर्ने कष्टकर अवस्था आउनेछ, जुन इस्लामी शरियतमा स्वीकार्य छैन, किनकि इस्लाम सजिलो र हानिरहित धर्म हो, अल्हम्दुलिल्लाह।
र हम्बली मज़हबमा सामान्यतया मान्यता अनुसार, रक्तस्रावलाई महिनावारी मानिन्छ र शुद्धतालाई शुद्धता, तर यस दुवैको समग्र अवधि महिनावारीको अधिकतम समयभन्दा बढी भएमा, त्यसपछि आउने रगतलाई इस्तिहाजा (रोगजन्य रक्तस्राव) मानिन्छ।
"अल्-मुग्नि" पुस्तकमा भनिएको छ: यदि रक्तस्राव एक दिनभन्दा कम समयका लागि रोकियो भने त्यसलाई पवित्रता मानिँदैन। यो निस्कर्ष, "नफास" (प्रसूति पछि निस्कने तरल पदार्थको स्राव) सम्बन्धी हामीले उल्लेख गरेको विचारमा आधारित छ जसअनुसार एक दिनभन्दा कम समयको रक्तस्रावले कुनै नियम बद्लिदैन र इन्शा-अल्लाह यही कुरा सही हो, । किनभने रगत एकछिन बग्ने र अर्कोछिन रोकिने अवस्थामा पटक-पटक स्नान गर्न अनिवार्य गर्नुले कठिनाइ उत्पन्न हुन्छ, जुन इस्लाम धर्मको सरलता विरुद्ध कुरा हो । अल्लाहले भन्नु भएको छ: {अल्लाहले धर्ममा तिमीहरूमाथि कुनै कठिनाइ राखेका छैनन् } [हज: ७८] । त्यसकारण,रक्तस्राव एक दिनभन्दा कम समयका लागि बन्द हुनुलाई शुद्धता मान्न सकिँदैन, तर यदि कुनै विशेष अवस्था जसले महिनावारी पुर्ण रुपमा समाप्त भएको थाहा हुन्छ भने महिनावारीको अवधि समाप्त मानिनेछ , जस्तै कि रक्तस्राव महिलाको नियमित चक्रको अन्त्यमा बन्द भएको होस् वा उसले सेतो पदार्थको स्राव देखेको होस्।
यसरी "अल-मुग्नी" का लेखकको विचार दुई मतहरूबीचको मध्यमार्गी मतको रूपमा प्रस्तुत हुन्छ।
पाँचौँ प्रकार:रगत सुक्ने अवस्था जसमा महिलाले केवल गिलोपन र तरावट देख्छिन्। यदि यो अवस्था महिनावारीको अवधिमा वा महिनावारी पूरा हुनुअघि नै देखा पर्छ भने यसलाई महिनावारीकै रूपमा लिइन्छ। तर, यदि यो अवस्था पवित्रता प्राप्त गरेपछि देखा पर्छ भने यसलाई महिनावारी मानिदैन। अतः यो अवस्था पहेँलो वा खैरो रंगको स्रावसँग सम्बन्धित हुन्छ र यसमा उक्त स्राव कै नियम लागू हुनेछ।
चौथो खण्ड: महिनावारीसम्बन्धी नियमहरू
महिनावारीसँग सम्बन्धित धेरै नियमहरू छन् जुन बीसभन्दा बढी छन्। तीमध्ये हामीलाई बारम्बार आवश्यकता पर्ने केही मुख्य नियमहरू यस प्रकार छन्:
पहिलो: नमाज प्रति नियम: महिनावारी भएको अवस्थामा फर्ज (अनिवार्य) र नफिल (स्वैच्छिक) नमाज पढ्न निषेध छ। यस अवस्थामा पढिएको नमाज स्वीकार्य हुँदैन। साथै, महिनावारी भएको अवधिमा नमाज अनिवार्य हुँदैन। तर, यदि महिनावारी भएकी महिलाले कुनै नमाजको समयमा एक रकअत पढ्न सक्ने बराबरको समय पाउँछिन् भने, उनीमाथि त्यो नमाज पढ्न अनिवार्य हुन्छ। यो समय चाहे नमाजको सुरुको होस् वा अन्त्यको।
उदाहरण: सुरु समयको सन्दर्भमा: कुनै महिला सूर्य अस्ताएपछि मग्रिब नमाजको एक रकअत पढि सक्ने समय बराबर बितेपछि महिनावारी भइन् भने, उनलाई शुद्ध भएपछि त्यो छुटेको मग्रिबको नमाज पढ्नु पर्नेर्छ, किनभने उनले महिनावारी सुरु हुनु अघि एक रकअत पढि सक्ने समय बराबरको समय भेट्टाएको थिइन् ।
अर्को उदाहरण: अन्त्यको समयको सन्दर्भमा: कुनै महिलाले बिहान सूर्य उदाउनु अघि (फजर नमाजको समय सक्किन अघि) एक रकअत पढि सक्ने बराबर समयअघि महिनावारी बाट शुद्ध भइन् भने, उनलाई त्यस फजरको नमाज पढ्नु पर्नेर्छ, किनभने उनले फजरको एक रकअत पढि सक्ने बराबर समयको अन्तिम भाग पाएकी थिइन् ।
तर, यदि महिनावारी भएकी महिलाले नमाजको समयबाट एक रकअत पूरा गर्न नपुग्ने छोटो समय मात्र पाउँछिन्, जस्तै पहिलो उदाहरणमा सूर्यास्त भएलगत्तै महिनावारी भयो वा दोस्रो उदाहरणमा सूर्योदय हुनुभन्दा केही क्षणअघि महिनावारी बन्द भयो भने, त्यस्तो अवस्थामा ती महिलाले उक्त समयमा नमाज पढ्नु पर्दैन । किनभने, नबीﷺ ले भन्नु भएको छ, "यदि कसैले एक रकअत पायो भने, उसले पूरै नमाज पाएको ठहरिन्छ ।" (बुखारी र मुस्लिम) यसको अर्थ, जसले एक रकअतभन्दा कम पढ्न समय पायो भने, उसले नमाज पढ्न योग्य समय प्राप्त गरेको ठहरिँदैन।
यदि कुनै महिलाले अस्रको नमाजको समयमा एक रकात नमाज पढ्न भ्याई, के उसलाई अघिल्लो जोहरको नमाज पनि असरसँगै पढ्नु पर्छ? अथवा यदि कसैले इसाको अन्तिम समयमा एक रकात नमाज पढ्न भ्याई, उसलाई अघिल्लो मगरिबको नमाज पनि इशासँगै पढ्नु पर्छ ?
यस विषयमा विद्वानहरूबीच मतभेद छ। तर सही मत यही हो कि महिलाले केवल त्यो नमाज पढ्नु पर्छ, जो नमाजको समय उसले पाएकी हुन्छे, अर्थात्, (माथि उल्लेखित उदाहरण को हिसाबले) उसले अस्र र इसाको अन्तिम समयको नमाज मात्र पढ्नु पर्छ । किन भने रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नु भएको छ, "जसले सूर्य अस्ताउनु अगाडि अस्रको एक रकात नमाज पढ्न भ्यायो, उसले अस्रको पुर्ण नमाज समयमै पढेको ठहर्छ। (बुखारी र मुस्लिम) यस हदीसमा रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले "उसले जोहर र अस्र दुईटै नमाज को समय पायो" भनेर भन्नुभएको छैन।
न त उहाँले जोहरको नमाज (उक्त अवस्थामा) अनिवार्य भएको बताउनु भएको छ, र मूल सिद्धान्त यो हो कि जबसम्म कुनै कुरा प्रमाणित हुँदैन, त्यसलाई अनिवार्य गर्न मिल्दैन । यो मत अबु हनीफा र इमाम मालिकको हो, र यस मतलाई "इमाम नववी"ले "शर्हुल मुहद्दब"मा उल्लेख गरेका छन् ।
र महिनावारी भएको बेलामा अल्लाहलाई याद गर्ने, अल्हम्दुलिल्लाह, सुब्हानल्लाह, अल्लाहु अकबर भन्ने, खानुअघि बिस्मिल्लाह भन्ने, हदीस र फिकह पढ्ने, दुआ गर्ने, आमीन भन्ने र कुरआन सुन्ने जस्ता कामहरु निषेध गरिएको छैन । सहीह बुखारी र सहीह मुस्लिममा उल्लेख छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) महिनावारी भएकी उहाँकी श्रीमती आइशा (रजिअल्लाहु अन्हा)को काखमा अडेस लाएर कुर्आनको पाठ गर्नु हुन्थ्यो ।
र सोही पुस्तकमा उल्लेख छ कि उम्मे अत्तियाह रजि० ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्दै गरेको सुन्नुभयो: "वयस्क किशोरीहरू, घरमा रहने महिलाहरू र महिनावारी भएकी महिलाहरूले पनि (ईदको नमाजका लागि) बाहिर निस्किनु पर्छ तिनीहरूले यस पुण्य कर्ममा र मुस्लिमहरूको सामूहिक नमाजमा सहभागी हुने तर, महिनावारी भएकी महिलाहरू नमाज पढ्ने ठाउँदेखि परै बस्ने ।"
जहाँसम्म महिनावारी भएकी महिलाले कुर्आन पढ्ने कि नपढ्ने भन्ने विषय छ, यदि आँखाले हेरेर वा मनले ध्यान दिएर तर मुखले उच्चारण नगरी पढ्दा कुनै आपत्ति भएन । उदाहरणस्वरूप, अगाडि मुस्हफ वा पट्टिका राखियो र उसले त्यसमा भएका आयतहरू हेरेर आफ्नो मनमनै पढ्न मिल्छ कि मिल्दैन, नववीले 'शरह अल-महज्जब' मा यसलाई निर्विवाद रूपमा वैध ठहराएका छन् । तर, मुखले उच्चारण गरी पढ्ने कुरालाई अधिकांश विद्वानहरूले निषेध गरेका छन् र अनुचित बताएका छन् ।
तथापि, बुखारी, इब्ने जरीर तब्री, र इब्ने मुनजिरले महिनावारी भएकोल बेलामा मुखले उच्चारण गरी कुर्आन पढ्न वैध भएको उल्लेख गरेका छन् ।
यसैगरी, इमाम मालिकको मत र इमाम शाफईको प्रारम्भिक धारणा अनुसार पनि मुखले उच्चारण गरी कुर्आन पढ्न वैध भएको कुरा "फत्ह अल्-बारि" मा उल्लिखित छ। बुखारीले इब्राहिम नखईको भनाइ उद्धृत गर्दै महिनावारी भएकी महिलाले एउटा आयत पढ्नमा कुनै आपत्ति नभएको बताएका छन् ।
शैखुल इस्लाम इब्ने तैमियाले इब्ने कासिमको फत्वा सङ्ग्रहमा भन्नु भएको छ, "महिलाहरूलाई महिनावारीको बेला कुर्आन पढ्नबाट रोक्ने कुराको कुनै ठोस आधार कुर्आन वा सुन्नहमा छैन । ‘हाइज़ (महिनावारी) र जुनुब (अपवित्र अवस्थामा रहेका व्यक्तिहरू)ले कुर्आनको कुनै भाग नपढुन्’ भन्ने हदीसलाई हदीसको ज्ञाताहरूको सहमतिमा दुर्बल मानिएको छ । नबी (सल्लल्लाहु अलैहि व सल्लम) को समयमा पनि महिलाहरूलाई महिनावारी हुन्थ्यो । यदि उनीहरूको लागि कुर्आन पढ्न, नमाजझैं, निषेध गरिएको भए, नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले यो कुरा आफ्नो उम्मतलाई स्पष्ट रूपमा सिकाउनु हुन्थ्यो, र यो कुरा उम्मुल् मोमिनीनहरूले जान्थे र उनीहरूले यो कुरा अरूलाई सिकाउँथे होलान् ।"
तर जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट यो विषयमा कुनै निषेधात्मक कुरा पनि प्रसारित छैन भने मुखले उच्चारण गरी कुर्आन पढ्नुलाई अवैध भन्नु उचित हुँदैन, विशेष गरी जब यो कुरा थाहा छ कि नबीﷺले यसलाई निषेध गर्नुभएको थिएन, जबकि नबी ﷺको समयमा पनि त महिलाहरूलाई महिनावारी हुने गर्दथ्यो, यसबाट स्पष्ट हुन्छ कि महिनावारीको अवस्थामा मुखले उच्चारण गरी कुर्आन पढ्न अवैध छैन ।"
यस विषयमा विद्वानहरू बीचको मतभेदलाई मध्यनजर गर्दै, यो निष्कर्ष निकाल्न उपयुक्त देखिन्छ कि महिनावारी भएकी महिलाले आवश्यक परिस्थिति बाहेक मुखले उच्चारण गरेर कुर्आन नपढ्नु उचित हो । जस्तै शिक्षिका भएर विद्यार्थीलाई पढाउनु पर्ने अवस्थामा वा परीक्षामा विद्यार्थीले पढ्नुप र्ने अवस्थामा, वा यस्तै कुनै अवस्था छ भने मात्र महिनावारी भएकी महिलालाई मुखले उच्चारण गरेर कुर्आन पढ्न अनुमति दिन सकिन्छ ।
दोस्रो: रोजासम्बन्धी नियम: महिनावारी भएकी महिलालाई अनिवार्य होस् वा नफ़्ल (स्वेच्छिक) दुवै प्रकारका रोजा राख्न निषेध गरिएको छ। महिनावारी भएको अवस्थामा राखिएको व्रत मान्य हुँदैन। तथापि, यदि अनिवार्य व्रत छुटेको छ भने, पछि त्यसलाई पूरा गर्नु पर्छ। यस सन्दर्भमा, हजरत आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकी छिन्, "हामीलाई महिनावारी भएको समयमा नमाज र रोजा छुट्ने गर्थ्यो। छुटेको रोजा त पूरा गर्न आदेश दिइन्थ्यो, तर नमाज भने पूरा गर्न भनिँदैन थियो।" (सहीह बुखारी र मुस्लिम)
र यदि कुनै महिलालाई व्रत बसिरहेको क्रममा महिनावारी सुरु भएमा, त्यस दिनको व्रत भंग हुन्छ, चाहे त्यो सूर्यास्तभन्दा केही क्षण पहिल्यै किन नहोस्, र यो अनिवार्य व्रत भएमा, पवित्रतासँगै त्यो दिनको बदला स्वरूप अर्को दिन व्रत राख्नुपर्ने हुन्छ । र यदि कुनै महिलाले सूर्यास्तअघि महिनावारी सुरु भएको अनुभव गरिन् तर रगत सूर्यास्तपछि मात्र बाहिर आयो भने, सही मतअनुसार उनको व्रत पूर्ण हुन्छ र भंग हुँदैन । किनभने शरीरभित्र रहेको रगतमाथि कुनै शास्त्रीय नियम लागू हुँदैन ।
साथै, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम)लाई सोधियो कि कुनै महिलाले सपनामा पुरुषले देख्ने जस्तो कुरा देखिन् भने के उसले पवित्रता निम्ति स्नान गर्नु अनिवार्य हुन्छ ? उहाँ (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभयो: "हजुर, यदि उसले पानी देखिन् भने स्नान अनिवार्य हुन्छ।" यसबाट स्पष्ट हुन्छ कि वीर्य बाहिर निस्केको स्थितिमा मात्र सो सम्बन्धित नियम लागू हुन्छ, बाहिर ननिस्केको अवस्थामा कुनै नियम लागू हुँदैन । यसैगरी, महिनावारीको हकमा पनि त्यस सम्बन्धित नियम त्यतिबेला मात्र लागू हुन्छ जब रगत बाहिर निस्कन्छ; शारिर भित्रको आन्तरिक गतिविधिले कुनै असर पार्दैन ।
र यदि फज्रको समयमा कुनै महिला महिनावारी अवस्थामा थिइन् भने, फज्रपछि तुरुन्तै महिनावारी समाप्त भए तापनि त्यो दिनको रोजा मान्य हुँदैन ।
र यदि महिला फज्र भन्दा ठीक अघि पवित्र भइन् र उनले व्रत बस्ने नियत गरिन् भने, पवित्रताको स्नान फज्रपछि गरे तापनि उसको रोजा सही हुनेछ । जस्तै कि "जुनुब" (सम्भोग वा वीर्य निस्कने कारणले हुने अपवित्रता) व्यक्ति यदि फज्र भन्दा अगाडि व्रतको नियत गर्छ तर बिहानपछि मात्र स्नान गर्छ भने पनि उसको उपवास वैध ठहर्छ । यस सन्दर्भमा, हजरत आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकी छिन् कि "नबी (सल्लल्लाहु अलैहि वसल्लम) रमजान महिनाको रात्रिमा सम्भोगको कारण "जुनुब" अवस्थामा बिहान गर्नुहुन्थ्यो, तर उहाँले रोजा राख्नुहुन्थ्यो।" (सहीह बुखारी र मुस्लिम)
तेस्रो: काबाको तवाफ (परिक्रमा) सम्बन्धी नियम: महिनावारी भएकी महिलालाई काबाको तवाफ गर्न अनुमति छैन, चाहे त्यो अनिवार्य होस् वा नफ़्ल (स्वेच्छिक) । महिनावारीको अवस्थामा गरिएको तवाफ शरियत अनुसार मान्य हुँदैन । तैपनि "सफा" र "मरवा"को बीचमा दौडनु (सई गर्नु) , अरफातमा ठहर्नु, मुजदलिफा र मिनामा बास बस्नु, तथा "रम्युल जमार" जस्ता अन्य हज र उमराका कार्यहरू महिनावारी भएको महिलाका लागि निषेध छैनन् । किनभने नबी (सल्लाल्लाहु अलैहि वसल्लम) ले आइशा (रजियल्लाहु अन्हा) लाई महिनावारी भएको बेला भन्नु भएको थियो, "हाजीहरूले गर्ने सबै कर्महरू गर, तर पवित्र नभएसम्म काबाको परिक्रमा नगर ।"
तसर्थ यदि कुनै महिलालाई काबाको परिक्रमा गरेपछि तुरुन्तै महिनावारी हुन्छ वा सफा र मर्वा बीच दौडिने क्रममा महिनावारी सुरु हुन्छ भने, यस्तो अवस्थामा कुनै समस्या हुँदैन (उसको काबाको परिक्रमा र "सफा र मरवा" बीच दौड मान्य हुनेछ) ।
चौथो नियम : महिनावारी भएकी महिलाले तवाफ अल-वदा (विदाईको तवाफ) गर्नुपर्ने आवश्यकता छैन । यदि कुनै महिलाले हज वा उमराहका सम्पूर्ण कार्यहरू सम्पन्न गरिसकेकी छ र त्यसपछि महिनावारी सुरु हुन्छ, महिनावारी अवस्थामै आफ्नो देश फर्कनु पर्ने स्थिति हुन्छ भने, उसले तवाफ अल-वदा (विदाईको तवाफ) गर्नु पर्दैन । यस सन्दर्भमा इब्न अब्बास (रजियल्लाहु अन्हु)बाट उल्लेख गरिएको हदीसमा छ कि, ‘नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले महिनावारी भएकी महिला बाहेक सबैलाई आफ्नो अन्तिम कार्य काबाको तवाफ गर्न आदेश दिनु भएको थियो ।’ (सहीह बुखारी र मुस्लिम)
महिनावारी भएको महिलाले मक्काबाट फर्कने समयमा मस्जिद अल-हरामको ढोकामा आएर प्रार्थना गर्नु उचित होइन, किनभने यसबारे नबी (सल्लल्लाहु अलैहि वसल्लम)बाट कुनै प्रमाण उपलब्ध छैन र कुनै पनि इबादत (उपासना) कार्य कुर्आन वा हदीसबाट प्रमाणित नभएसम्म वैध मानिँदैन । बरु, नबी ﷺको हदीसबाट प्राप्त हुने प्रमाण यस विपरीत छ । अतः यदि कसैले महिनावारी भएको बेला श्रीमतीलाई तलाक दियो भने ऊ पापी हुन्छ र अल्लाहसँग प्रायश्चित गर्नुपर्छ र उसले श्रीमतीलाई पुनः आफ्नो नाता (निकाह)मा फिर्ता लिएर शास्त्र अनुसार मात्र तलाक दिन सक्नेछ । अर्थात्, श्रीमतीलाई फिर्ता लिएर जुन महिनावारीमा तलाक दिएको थियो त्यसबाट पवित्र भए पछि र पुनः अर्को महिनावारी भएर पवित्र भए पछि मात्र श्रीमानलाई स्थिति अनुसार तलाक नदिने वा यौन सम्बन्ध नगरी तलाक दिन सक्ने अधिकार हुन्छ ।
यहाँ नबी (सल्लाल्लाहु अलैहि वसल्लम)ले मस्जिदको ढोकामा उपस्थित हुन आदेश दिनु भएको थिएन, यदि यो गर्नैपर्ने कुरा भएको भए उहाँले अवश्य नै यसलाई स्पष्ट पार्नुहुन्थ्यो । र जहाँसम्म हज्ज र उमराहको तवाफको कुरा छ, यो चाहिँ माफ हुँदैन, महिनावारीबाट पवित्र भएपछि तवाफ गर्नै पर्छ ।
पाँचौँ नियम: मस्जिदमा बस्न निषेध गरिएको छ। महिनावारी भएकी महिलालाई मस्जिदभित्र तथा ईदगाहमा बस्न अनुमति छैन । यस सन्दर्भमा उम्मे अत्तियाह (रजियल्लाहु अन्हा) को हदीस प्रमाण रूपमा प्रस्तुत गरिएको छ। उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भनेको सुनेकी थिइन्: "कुँवारी केटीहरू, परिपक्व महिलाहरू, र महिनावारी भएकी महिलाहरू (ईदको नमाजमा भाग लिन) बाहिर निस्कुन्।" साथै, हदीसमा भनिएको छ: "महिनावारी भएकी महिलाहरू इदगाहबाट परै बसून् ।" (सहीह बुखारी र सहीह मुस्लिम)।
छैठौं नियम: यौन सम्बन्ध: महिनावारीको अवस्थामा श्रीमानलाई श्रीमतीसँग यौन सम्बन्ध बनाउन अनुमति छैन, र श्रीमतीले पनि यौन सम्बन्धको अनुमति दिन हुँदैन । कुर्आनमा भनिएको छ, "उनीहरू तपाईंसित महिनावारीको बारेमा सोध्छन्, भन्नु होस्: त्यो एक फोहोर हो । त्यसैले, महिनावारीको अवस्थामा श्रीमतीसँग यौन सम्बन्ध नबनाउनु र तिनीहरू पवित्र नभएसम्म सम्भोग नगर्नु ।" (अल-बकरा २:२२२) यहाँ "महिनावारी" भन्नाले महिनावारीको समय र त्यसको स्थान योनि हो । र, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ, "तिमीहरूले (महिनावारीको बेला) श्रीमतीसँग यौन सम्बन्ध बाहेक सबै कुरा गर्न सक्छौ ।" (मुस्लिम) । साथै, सम्पूर्ण मुस्लिम विद्वानहरूको सहमति छ कि महिनावारी भएकी श्रीमतीसँग सम्भोग गर्न निषेध छ ।
त्यसैले, जो व्यक्ति अल्लाह र परलोकमा विश्वास गर्दछ, उसले यस्तो निन्दनीय कार्य गर्ने आँट गर्न हुँदैन । यो यस्तो कार्य हो, जसलाई अल्लाहको ग्रन्थ, उहाँको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत, र मुस्लिमहरूको सर्वसम्मति कानुनले निषेध गरेको छ। यस्तो गर्ने व्यक्ति अल्लाह र उहाँका रसूलको विरोधी हुन्छ, र इमान वालाहरूको मार्गको विपरीत मार्ग पछ्याउँछ । अल-मजमू' (शरह अल-मुहज्जब, भाग 2, पृष्ठ 374) मा इमाम शाफई (रहिमाहुल्लाह) ले भन्नुभएको छ: "जसले यस्तो कार्य गर्दछ, उसले महा पाप गर्छ।" हाम्रा विद्वानहरू र अन्यले भनेका छन्: "जो व्यक्ति महिनावारी भएकी महिलासँग सम्भोगलाई वैध ठान्छ, उसलाई काफिर ठहराईन्छ।" (इमाम नववीको कथन समाप्त)
श्रीमानलाई श्रीमतीसँग महिनावारीको अवस्थामा रहेको समयमा, आफ्नो यौन इच्छालाई तोड्न निमित्त योनिमा सम्भोग बाहेक अन्य शारीरिक क्रियाकलाप गर्न अनुमति दिइएको छ। उदाहरणस्वरूप, चुम्बन गर्नु, अङ्गालो मार्नु, र योनिबाहेक अन्य शरीरका अङ्गहरूलाई छुनु । तर, उत्तम यो हो कि नाभी र घुँडाको बीचको भागसँगको स्पर्श केवल कपडाको माथिबाट मात्र गरियोस् । हजरत आइशा (रजियल्लाहु अन्हा) ले भन्नुभएको छ: "नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई कम्मरमुनि कपडा बाँध्न आदेश दिनुहुन्थ्यो, त्यसपछि मसँग शारीरिक स्पर्श गर्नुहुन्थ्यो, जब म महिनावारीमा हुन्थेँ।" ( बुखारी र मुस्लिम ) ।
सातौँ नियम: तलाक : महिनावारीको अवस्थामा महिलालाई तलाक दिनु श्रीमानका लागि निषेध गरिएको छ । कुर्आनमा भनिएको छ: {हे नबी ! (आफ्नो अनुयायीहरूलाई भनिदिनु होस् ! ) जब तिमीहरूले आफ्ना पत्नीहरूलाई तलाक दिन चाहन्छौ भने उनीहरूको इद्दतको प्रारम्भमा तलाक देऊ, र इद्दतलाई गन्ने गर ।} (अत-तलाक १) यस आयतले जनाउँछ कि महिलालाई तलाक यस्तो अवस्थामा मात्र दिन सकिन्छ, जब उनीले निश्चित रूपमा इद्दतको अवधि सुरु गर्न सकून् । यो अवस्था महिला गर्भवती भएको अवस्थामा वा सम्भोग नगरेको शुद्धताको समयमा (महिनावारी समाप्ति पछिको अवस्थामा) मात्र सम्भव हुन्छ। किनकि यदि महिनावारी भएको बेला तलाक दिइयो भने, फलस्वरूप, महिलाको इद्दत सही प्रकारले स्पष्ट हुँदैन र जुन महिनावारीमा तलाक दिइयो त्यसको गणना इद्दतमा हुँदैन । त्यसैगरी, यदि महिलालाई चोखी रहेको अवस्थामा तलाक दिइयो, तर त्यस समयमा सम्भोग गरिएको थियो भने पनि इद्दतको अवधि स्पष्ट हुँदैन । किनकि श्रीमती गर्भवती छिन् कि छैनन् भन्ने निश्चित हुँदैन । यदि गर्भवती भइन् भने गर्भावस्थाको अवधिसम्म इद्दत हुन्छ र यदि गर्भवती भइनन् भने महिनावारीको अवधिसम्म इद्दत हुन्छ । यस अनिश्चितताको कारण, यस्तो अवस्थामा तलाक दिन निषेध गरिएको छ जसमा इद्दतको अवधि पूर्ण रूपमा स्पष्ट हुँदैन ।
त्यसैकारण माथि उल्लेख गरिएको आयतको आधारमा र इब्ने उमरको हदीसमा उल्लेख भएअनुसार महिनावारी भएको बेला श्रीमतीलाई तलाक दिनु निषेध गरिएको छ। सहीह बुखारी, मुस्लिम र अन्य हदीसका संग्रहमा उल्लेख छ, "इब्ने उमरले आफ्नी श्रीमतीलाई महिनावारी भएको बेला तलाक दिए । जब उमरले यो कुरा नबी (सल्लाहु अलैहि वसल्लम) लाई बताए, उहाँ रिसाउनु भयो र भन्नुभयो, 'उसलाई फर्काउन भन र जबसम्म श्रीमती पवित्र हुँदिन तबसम्म सँगै बस्न भन, त्यसपछि श्रीमती पुनःमहिनावारी भएर पवित्र भएपछि यदि चाहन्छ भने राख्न सक्छ र राख्न मन नभए यौन सम्बन्ध नगरी तलाक दिन सक्छ। यही त्यो इद्दत हो जसको बारेमा अल्लाहले आदेश दिनु भएको छ । "
महिनावारीको समयमा तलाक दिनु निषेध भए पनि त्यस सम्बन्धित तीनवटा प्रतिनियमहरू छन् :
पहिलो: यदि पतिले ( बिहे गरे पछि) श्रीमतीसँग शारीरिक सम्पर्क नगरीकन वा छुनु अघि नै तलाक दिएको हो भने, महिनावारी भएको बेलामा पनि तलाक दिन सक्छ । किनभने यस्तो अवस्थामा श्रीमतीको लागि कुनै इद्दतको अवधि हुँदैन, र यो कुर्आनको आदेश विपरित पनि हुँदैन: अल्लाह तआलाको यो फरमानका कारण {فَطَلِّقُوهُنَّ لِعِدَّتِهِنَّ } (अत-तलाक १) भने यस प्रकार तलाक देऊ कि उनीहरूले इद्दत सुरु गर्न सकून् । "
दोस्रो: यदि गर्भावस्थाको अवस्थामा महिनावारी भएको हो भने तलाक दिनु स्वीकार्य हुन्छ, र यसको कारण पहिले नै व्याख्या गरिएको छ ।
तेश्रो: यदि तलाक कुनै धनको सर्तमा (खुलअ्) गरिएको हो भने पनि महिनावारीको समयमा तलाक दिन सकिन्छ ।
जस्तो कि यदि श्रीमान्-श्रीमतीबीच विवाद, झगडा र असहमति रहेको अवस्थामा, पतिले श्रीमतीलाई तलाक दिनको लागि केही मुआब्जा (बदलामा धन) लिनेछन् भने, महिनावारी भएको बेलामा पनि तलाक दिन सकिन्छ । यसको प्रमाण इब्ने अब्बास (रजियल्लाहु अन्हु)बाट वर्णित एक हदीस हो, जसमा उल्लेख छ कि, साबित बिन कैस बिन शम्मासकी श्रीमती नबी ﷺ कहाँ आएर भनिन्, "या रसूलल्लाह, म उहाँको चरित्र र धर्ममा कुनै दोष देख्दिनँ, तर म इस्लाममा कुफ्रलाई मन पराउँदिनँ (अथवा उहाँसँगको जीवनको कारण कृतघ्न (नाशुक्रा) बन्न चाहन्न) १ ।"तब नबीﷺले उनलाई सोध्नुभयो: "के तिमी (बिहे गर्दा पाएको) उहाँको बगैँचा फिर्ता गर्न सहमत छौ?" उनले भनिन्: "सहमत छु।" त्यसपछि नबी ﷺ ले श्रीमानलाई भन्नुभयो: "तिमीले आफ्नो बगैँचा लेऊ र उनलाई एक तलाक देऊ । (सहीह बुखारी)
यस घटनामा नबी ﷺले सोध्नु भएन कि ती महिला महिनावारीको अवस्थामा थिइन् कि पवित्र अवस्थामा । यसको कारण यो हो कि यस्तो प्रकारको तलाक (खुलअ्) महिलाले आफ्नो स्वतन्त्रता प्राप्त गर्नका लागि लिन्छे, र यो तलाक श्रीमतीको आग्रहमा हुने भएकाले आवश्यकता अनुसार कुनै पनि अवस्थामा यसको अनुमति छ ।
मुग्नी (७/५२) पुस्तकमा महिनावारी भएको बेला खुला (तलाक) गर्न पाउने कारणको विषयमा यस्तो उल्लेख गरिएको छ: "महिनावारी भएको बेला तलाक दिनु वर्जित हुनुको कारण यो हो कि यसले महिलालाई लामो इद्दतको पीडामा पार्छ। तर, "खुला" भनेको श्रीमानसँग खराब वैवाहिक सम्बन्धका कारण र घृणित व्यक्तिसँग बस्नु पर्ने अवस्थाबाट मुक्ति पाउन गरिन्छ । खराब वैवाहिक सम्बन्धको पीडा र कष्ट लामो इद्दतको पीडा भन्दा ठूलो हुने भएकाले, ठूलो पीडा हटाउन सानो पीडा सहन गर्न सकिन्छ। यही कारणले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले "खुला" गर्ने महिलालाई उनको मासिक अवस्थाबारे कुनै प्रश्न गर्नु भएको थिएन ।"
र जहाँसम्म महिनावारी भएकी महिलासँग विवाह गर्न कुरा छ , त्यस्तो गर्नुमा कुनै धार्मिक र कानूनी बाधा छैन । सामान्यतया, विवाह गर्न अनुमति छ र यसलाई निषेध गर्ने कुनै स्पष्ट प्रमाण भेटिँदैन । तथापि, विवाहपश्चात महिनावारी भएकै अवस्थामा महिलालाई श्रीमानको घरमा ल्याउने कुरामा ध्यान दिनु पर्छ: यदि श्रीमानले महिनावारीको समयमा यौन सम्बन्ध हुँदैन भन्ने कुरा निश्चित गर्न सक्छ भने कुनै समस्या छैन । तर यदि शारीरिक सम्बन्ध हुन सक्ने सम्भावना छ भने श्रीमानले श्रीमतीलाई घरमा ल्याउनु अघि श्रीमती पवित्र नभएसम्म कुर्नु पर्छ, ताकि कुनै वर्जित कार्यमा संलग्न हुने डर नहोस् ।
आठौँ नियम: तलाक पछिको इद्दत (प्रतिक्षा) को अवधि: यदि कुनै पुरुषले आफ्नी पत्नीलाई शारीरिक सम्बन्ध बनाए पश्चात वा पत्नी सगँ एकान्तमा (रात बिताए पछि) तलाक दिन्छ भने, तलाक पछिको इद्दत (प्रतिक्षा) को अवधि यसप्रकार निर्धारण हुन्छ : (१) यदि महिला महिनावारी हुने उमेरकी छ गर्भवती छैन भने, उनले तीनवटा पूर्ण महिनावारीको चक्र पूरा गरी इद्दत पूरा गर्नु पर्छ । अल्लाह तआलाको कथन अनुसार : "र तलाक पाएका स्त्रीहरु तीन पटक रजस्वला नभएसम्म आफूलाई रोकी राखून् ।" [अल-बकरा: 228] अर्थात् तीनवटा पूर्ण महिनावारीको अवधिसम्म पर्खनु पर्छ । (२) यदि महिला गर्भवती छ भने, सम्पूर्ण गर्भावस्था र बच्चा जन्माउने बेलासम्म उसको इद्दत चल्नेछ, चाहे त्यो अवधि लामो होस् वा छोटो । कुर्आनमा भनिएको छ, "गर्भवती महिलाले बच्चा जन्माउने बेलासम्म पर्खनुपर्छ ।" (अत-तलाक:४) (३) यदि महिला महिनावारी हुने उमेरकी छैनन् ,जस्तै: बालिका, वा जसको महिनावारी बन्द भइसकेको छ र महिनावारी पुनः सुरु हुने आशा छैन भने त्यस्ता महिलाहरुको इद्दत पनि तीन महिनाको हुन्छ, जस्तै: वृद्धा महिला र शल्यक्रियाद्वारा गर्भाशय निकालिएको महिला । अल्लाह तआलाको कथन अनुसार , "र, तिमीहरूका स्त्रीहरूमध्ये जो रजस्वलाबाट मुक्त भइसकेका छन् तिनीहरूको बारेमा यदि तिमीहरूलाई कुनै सन्देह छ भने तिनीहरूको इद्दत तीन महिना छ र, यही इद्दत रजस्वला शुरू नभएका स्त्रीहरूका लागि पनि रहेकोछ ।" (अत-तलाक :४) (४) यदि महिला महिनावारी हुने महिलामध्ये हो तर महिनावारी कुनै रोग वा स्तनपान जस्तै अन्य जाहेर कारणले गर्दा बन्द भएको छ भने, महिनावारी फेरि सुरु नभएसम्म उसले अवधि लामो भएता पनि प्रतिक्षा गर्नु पर्नेछ, र महिनावारी पुनः सुरु हुनासाथ इद्दत बस्नु पर्नेछ । र यदि महिनावारी रोक्ने कारण हटेपछि ( जस्तै रोग निको भयो वा स्तनपान छुट्यो) पनि महिनावारी फेरि सुरु भएन भने, त्यो कारण हटेको समयदेखि एक वर्षसम्मको इद्दत बस्नु पर्नेछ । र यही नै सही नियम र इस्लामी न्यायशास्त्रका सिद्धान्तहरूसँग मेल खाने सही विचार हो । किनभने, यदि कारण हट्यो तर महिनावारी सुरु भएन भने, ऊ त्यस्ती महिला जस्तै हुन्छे जसको महिनावारी कुनै जाहेर कारण बिना बन्द भएको छ र, यदि कुनै जाहेर र ज्ञात कारण बिना महिनावारी बन्द भयो भने, गर्भावस्थाको सम्भावनालाई ध्यानमा राखेर एक वर्ष (नौ महिनाको गर्भावस्था र तीन महिनाको -तलाक पछिको- प्रतिक्षा अवधि) इद्दत बस्नु पर्छ ।
यदि कुनै पुरुषले विवाहपछि आफ्नी श्रीमतीसँग शारीरिक सम्बन्ध बनाएको छैन वा श्रीमतीसँग एकान्तमा (रात बिताउन) अघि नै तलाक दिएको छ भने महिलालाई कुनै इद्दतको अवधि पूरा गर्नुपर्दैन, चाहे महिनावारी भएको अवस्था होस् वा अन्य कुनै अवस्था । अल्लाह तआलाको कथन अनुसार, "हे ईमान वाला हो ! जब तिमीहरू मुसलमान महिलालाई विवाह गर्छौ र तिनीहरूलाई छुनु (शारीरिक सम्बन्ध राख्न) अघि नै तलाक दिन्छौ भने उनीहरूका लागी कुनै यस्तो निश्चित अवधि (इद्दत्) अनिवार्य छैन जसको गन्ती राख ।" (अल-अहज़ाब ४९)
नवौँ नियम: गर्भाशय खाली रहेको निर्णय गर्नु, अर्थात् गर्भ नभएको कुराको पुष्टि गर्नु: यस कुराको त्यस बेला आवश्यक पर्छ, जतिबेला गर्भाशय खाली रहेको कुरा निश्चित गर्नुपर्ने हुन्छ। यसका केही नियमहरु छन्:
तीमध्ये एउटा नियम यो हो कि यदि कुनै पुरुषको मृत्यु भयो र उसकी पत्नी गर्भवती छे भने, उसको सम्पत्तिको वारिस उसको पत्नीको पेटमा रहेको बच्चा हुन्छ । तर यदि त्यो महिलाले अर्को विवाह गरिन् भने, उसको नयाँ पतिले उससँग शारीरिक सम्बन्ध राख्न पाउँदैन, जबसम्म उसलाई महिनावारी भएको पुष्टि हुँदैन वा गर्भावस्था स्पष्ट हुँदैन । यदि गर्भावस्था स्पष्ट भयो भने, बच्चा मृतक व्यक्तिको वारिस हुनेछ र मृतक व्यक्तिको सम्पत्ति पाउने अधिकार पाउनेछ । किनभने बच्चा मृतक व्यक्तिको मृत्यु हुँदा उसको पत्नीको गर्भमा थियो । तर यदि महिलालाई महिनावारी भयो भने, यसले गर्भाशय खाली भएको पुष्टि गर्दछ, र यस्तो अवस्थामा मृतक व्यक्तिको कुनै वारिस रहने छैन ।
दसौँ नियम: अनिवार्य स्नान गर्नु ,महिनावारी सकिएपछि महिलाले सम्पूर्ण शरीरलाई चोखिने गरी नुहाउन अनिवार्य हुन्छ । नबीﷺ ले फातिमा बिन्त अबू हुबैशलाई भन्नु भएको थियो, "जब महिनावारी सुरु हुन्छ तब नमाज नपढ, र जब सकिन्छ तब स्नान गरी पवित्र भएर नमाज पढ ।" (बुखारी)
नुहाउने क्रममा कम्तीमा अनिवार्य कुरा भनेको सम्पूर्ण शरीरलाई नुहाउने पानीले पखाल्नु हो , यहाँसम्म कि कपालको जरासम्म पनि पानी पुगेको हुनुपर्छ, र हदीसमा भनिएको तरिका अनुसार नुहाउनु उत्तम हुन्छ । अस्मा बिन्त शक्लले नबीﷺलाई महिनावारी पछि कसरी नुहाउने भनेर सोधेकी थिइन् । तब नबी ﷺले भन्नुभएको थियो, "तिमीले पानी र बैरीको पात लिएर आफूलाई खुब राम्ररी सफा गर्नु, अनि टाउकोमा पानी खन्याएर तालुसम्म पनि पुर्याउने गरी राम्रोसँग माड्नु र पुनः पानीले पखाल्नु । त्यसपछि कस्तूरी दलेको कपडा लिएर त्यसलाई प्रयोग गरी आफूलाई सफा गर्नु ।" अस्माले फेरि प्रश्न गरिन् "कसरी सफा गर्ने?" नबी ﷺले "सुब्नहान अल्लाह" भन्नुभयो, तब उहाँकी श्रीमती आइशा (रजि०) ले भनिन्, "रक्तको चिन्ह (जहाँ लागेको छ) पुछेर सफा गर्ने।" (मुस्लिम)
र यदि कपाल कस्सिएर बाँधिएको छैन र पानी कपालको जरासम्म पुग्न सक्छ भने नुहाउँदा कपाल खुकुलो पार्न अनिवार्य हुँदैन । उम्मे सलमा (रजि अल्लाहु अन्हा)ले नबी (सल्लल्लाहु अलैहि वसल्लम)लाई सोध्नुभयो, 'म एक महिला हुँ र आफ्नो कपाल कस्सेर बाँध्ने गर्छु । जनाबत ( सम्भोग वा विर्य निस्कने कारणले हुने अपवित्रता) पछि नुहाउँदा के मैले कपाल फुकाउनु पर्छ ?' अर्को वर्णन अनुसार उहाँले सोध्नु भएको थियो, 'महिनावारी र जनाबतको स्नानका लागि के कपाल (चुल्ठो) फुकाउनु पर्छ?' नबी ﷺले जवाफ दिनुभयो, 'होइन, कपाल फुकाउनु पर्दैन । टाउकोमा तीनपटक पानी खन्याउने र त्यसपछि सम्पूर्ण शरीरमा पानी हाल्ने गरेर नुहाए पुग्छ। यसरी तिमी पवित्र हुनेछौँ ।' (सही मुस्लिम)
र यदि कुनै महिलाको महिनावारी नमाजको समय अवधिमा समाप्त हुन्छ भने, उनले नमाज पढ्नका लागि तत्काल पूर्ण शरीरको स्नान गर्नुपर्नेछ । तर, यदि उनी यात्रामा छिन् र पानी उपलब्ध छैन, वा पानी प्रयोग गर्दा हानि हुने सम्भावना छ, अथवा बिरामी भएको कारण पानी प्रयोग गर्न असम्भव छ भने, स्नानको विकल्पमा "तयम्मुम" गर्न सक्छिन् । यद्यपि, जब पानी प्रयोग गर्न सम्भव हुन्छ वा समस्याहरू हट्छन्, उनलाई अनिवार्य रूपमा स्नान गर्नु पर्छ ।
केही महिलाले नमाजको समयमा महिनावारीको अवधि समाप्त भए पनि, तत्काल स्नान नगरी नमाज पढ्न ढिला गर्ने गर्छन् । उनीहरूको विचार रहन्छ कि यति छोटो समयमा पूर्ण रूपमा पवित्र हुन असम्भव छ । तर, यस्तो बहाना इस्लामी दृष्टिकोणमा मान्य छैन । किनभने महिनावारी सकिए पछि महिलाले न्यूनतम आवश्यक तरिकाले स्नान गरी समयमै नमाज पढ्न सक्छिन् । पछि पर्याप्त समय भएपछि उत्तम तरिकाले पूर्ण स्नान गर्न सकिन्छ ।
पाँचौं खण्ड: इस्तिहाजा (अनियमित रक्तस्राव) र यस सम्बन्धित नियमहरू:
इस्तिहाजा: यस्तो अवस्था हो जहाँ महिलालाई निरन्तर रगत बग्ने समस्या हुन्छ, वा महिनामा मात्र एक वा दुई दिन जस्तो थोरै समयका लागि रगत बन्द हुन्छ ।
पहिलो अवस्था जहाँ रगत निरन्तर बग्छ भन्ने कुरा बुखारी शरीफमा आइशा ( रजिअल्लाहु अन्हा)द्वारा यसरी वर्णित छ ,भन्नुहुन्छ ; "फातिमा बिन्त अबू हुबैशले रसूलुल्लाह ﷺ लाई भनिन्, "या रसूलुल्लाह, म कहिल्यै पवित्र हुन पाउँदिन ।" अर्को एउटा कथनमा उनले भनिन्, "म सधैँ रगत देखेकी हुन्छु, कहिल्यै चोखी हुन पाउँदिन ।"
"दोस्रो अवस्थाको प्रमाण जसमा थोरै समयका लागि रगत बन्द हुन्छ, हम्ना बिन्त जाहशको हदीस हो । उहाँले नबीﷺको कहाँ आएर भन्नुभयो: "या रसूलल्लाह, मलाई धेरै रगत पर्ने हुन्छ ।" १
अनियमित वा अस्थिर रक्तस्रावको अवस्था:
अस्थिर रक्तस्राव भएकी महिलाको तीनवटा अवस्था हुन्छन्:
पहिलो अवस्था: महिनावारी नियमित हुने कुनै महिलामा अस्थिर रक्तस्राव सुरु हुनुअघि निश्चित समयको अन्तरालमा महिनावारी हुने गरेको हुनुपर्छ। यस्तो अवस्थामा, अस्थिर रक्तस्राव सुरु भएपछि महिलाले पहिलेको नियमित रक्तस्राव हुने अवधिको बराबर समयसम्म महिनावारी सम्बन्धी सबै नियमहरू पालना गर्नुपर्छ। त्यसपछिको अवधिमा भने अस्थिर रक्तस्राव सम्बन्धी नियमहरू लागू हुनेछन् ।
उदाहरणका लागि, यदि कुनै महिलालाई पहिले महिनाको सुरुमा ६ दिनसम्म महिनावारी हुने गर्थ्यो, र पछि उनलाई अनियमित र निरन्तर रक्तस्राव हुन थाल्यो भने, उनले महिनावारीको अवधि पहिले जस्तै महिनाको सुरुका ६ दिनलाई मान्नुपर्छ र बाँकी समयमा हुने रक्तस्रावलाई इस्तिहाजा अर्थात् अस्वाभाविक रक्तस्राव मानिनेछ । यस सन्दर्भमा हजरत आयशा (रजि.) बाट वर्णित हदीसमा फातिमा बिन्ते अबी हुबैश (रजि.) ले प्रश्न गरेकी थिइन्,: "हे अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम), मैले निरन्तर रगत देख्छु र पवित्र हुँदिन। के मैले नमाज छोड्नु पर्छ?" रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले उत्तर दिनुभयो: "होइन, त्यो रगत नसाहरूमा हुने विकारको कारणले हो। तिमीलाई जति दिन नियमित महिनावारी हुन्थ्यो त्यति दिनसम्म नमाज छोड्नु र त्यसपछि स्नान गरेर नमाज पढ्नु । (बुखारी)
सहीह मुस्लिममा अर्को हदीसमा रसूलुल्लाहﷺ ले उम्मे हबीबा बिन्ते जाहश (रजि०) लाई भन्नुभएको थियो: "तिमी आफ्नो नियमित महिनावारी अवधि सम्म पर्खिनु, त्यसपछि नुहाएर नमाज पढ्न सुरु गर्नु ।"
यसले स्पष्ट हुन्छ कि जुन महिलालाई पहिलेदेखि नै आफ्नो महिनावारी चक्रको अवधि थाहा छ, उनले आफ्नो सामान्य महिनावारी चक्रअनुसार नै महिनावारी भएको मान्नुपर्छ र सोही अवधिको अन्त्यसम्म पर्खिनुपर्छ । त्यसपछि स्नान गरी इस्तिहाजाको नियम अनुसार नमाज पढ्न सुरु गर्नु पर्छ । अनियमित रक्तस्रावबारे चिन्ता लिनु पर्दैन ।"
दोस्रो अवस्था: यदि महिनावारी सुरु हुनुअघि नै रगत बग्ने समस्या (इस्तिहाजा) सुरु भएको हो भने, अर्थात् जबदेखि महिनावारी भएको देख्न थालिन् तबदेखि नै निरन्तर अनियमित रक्तस्रावको समस्या रहेको छ भने, यस्तो अवस्थामा रगतको प्रकारलाई आधार मानेर निर्णय गर्नुपर्नेछ। जुन रगत कालो, बाक्लो, वा गन्धयुक्त हुन्छ, त्यसलाई महिनावारीको रगत मानिन्छ, र त्यसका लागि महिनावारीका नियम लागू हुन्छन् । तर, जुन रगत त्यस्तो प्रकारको हुँदैन, त्यसलाई इस्तिहाजाको रगत मानिन्छ, र यसका लागि इस्तिहाजासम्बन्धी नियम लागू हुनेछन् ।
उदाहरणका लागि, यदि कुनै महिलालाई पहिलो पटक महिनावारीको रगत आएपछि निरन्तर रक्तस्राव भइरहेको छ, तर पहिलो १० दिन कालो र बाँकी महिना रातो रगत आउँछ, वा पहिलो १० दिन गाढा र बाँकी महिना पातलो रगत आउँछ, वा पहिलो १० दिनमा रगतमा महिनावारीको गन्ध आउँछ र बाँकी महिनामा गन्ध आउँदैन, त्यस अवस्थामा पहिलो उदाहरणमा कालो रगत, दोस्रो उदाहरणमा गाढा रगत, र तेस्रो उदाहरणमा गन्ध आएको रगतलाई नै महिनावारीको रगत मानिन्छ। बाँकी समयमा आउने रगतलाई अन्य प्रकारको रक्तस्राव (इस्तिहाजा) मानिन्छ । यस विषयमा नबी ﷺ ले फातिमा बिन्त अबु हुबैशलाई भन्नुभएको थियो, "यदि महिनावारीको रगत हो भने त्यो कालो र पहिचान गर्न सकिने हुन्छ । यदि त्यस्तो भएमा तिमीले नमाज नपढ्नु । तर यदि अर्को प्रकारको रगत भएमा "वुजु" गरेर नमाज पढ्नु, किनकि त्यो रक्तस्राव नसाहरूमा हुने विकारको कारणले हुन्छ।" (यो हदीस अबू दाऊद र नसाईले उल्लेख गरेका छन् , इब्ने हिब्बान र हाकिमले यसलाई सही भनेका छन् ।)
यद्यपि यस हदीसका वर्णनकर्ता र मूल लेख प्रति केही प्रश्नहरू उठाइएका छन्, तर धेरैजसो विद्वानहरूले यसलाई मान्यता दिएका छन्। यस हदीसलाई उक्त विषयमा प्रमाणका रूपमा लिनु अधिकांश महिलाहरूको महिनावारी सम्बन्धी सामान्य अवस्थालाई आधार मान्नुभन्दा अधिक उपयुक्त देखिन्छ ।
तेस्रो अवस्था: कुनै महिलालाई नियमित महिनावारी हुँदै नहुने र उसको रक्तस्रावलाई महिनावारीबाट छुट्याउन कुनै विशिष्ट लक्षण नदेखिने अवस्थामा (जस्तै: एउटै प्रकारको रक्तस्राव पहिलो दिनदेखि नै निरन्तर रहिरहने वा विभिन्न प्रकारको रक्तस्राव हुने जसलाई महिनावारी मान्न सकिन्न) त्यस्तो अवस्थामा सामान्यतया अधिकांश महिलाहरूको महिनावारी चक्रलाई आधार मानिन्छ। अर्थात्, उक्त महिलाको हकमा ६ वा ७ दिनसम्मको रक्तस्रावलाई महिनावारी मानिन्छ । रक्तस्राव सुरु भएको पहिलो दिनलाई प्रथम दिन मानिन्छ र त्यसपछिको ६ वा ७ दिनसम्मको अवधिलाई महिनावारीकै रूपमा लिइन्छ। यस बाहेकको रक्तस्रावलाई भने अनियमित रक्तस्राव (इस्तिहाजा ) मानिन्छ ।"
उदाहरणका लागि, यदि कुनै महिलाले पहिलो पटक रक्तस्राव देखेको मिति पाँच तारिख हो र त्यसपछि रक्तस्राव निरन्तर रहन्छ, तर महिनावारीको रगत र अन्य रक्तस्रावलाई छुट्याउने कुनै स्पष्ट विशेषता (जस्तै: रगतको रंग वा अन्य लक्षण) देखिँदैन, त्यस्तो अवस्थामा उक्त महिलाको महिनावारीको अवधि प्रत्येक महिनाको पाँचौं दिनबाट सुरु भएर छ वा सात दिनसम्म भएको मानिन्छ । यो कुरा हम्ना बिन्त जहश (रजि अल्लाहु अन्हा) को हदीसबाट प्रमाणित हुन्छ। उनले भनेकी थिइन्, "या रसूलल्लाह, मलाई धेरै रक्तस्राव हुन्छ, यसका बारेमा तपाईं के भन्नु हुन्छ ? यसले मलाई नमाज र रोजाबाट नै रोकेर राखेको छ।" तब नबी ﷺ ले भन्नुभयो, "तिमीले कपासको टुक्रा प्रयोग गर, यसले रगत सोस्नेछ।" उनले भनिन्, "तर रगत धेरै हुन्छ।" तब नबी ﷺ ले भन्नुभयो, "यो शैतानले (नसहरूमाथि) प्रहार गरेको कारणले हो । तिम्रो महिनावारीको अवधि अल्लाहले तोकेअनुसार छ वा सात दिनको हुनेछ । त्यो अवधि पूरा भएपछि स्नान गर्नु र आफूलाई पवित्र ठानेर चौबीस वा तेइस दिन र रात नमाज पढ्नु र त्यस अवधि भर व्रत पनी बस्न सकिन्छ । (अह्मद, अबू दाऊद, तिर्मिजी र अह्मदले सहीह भनेका छन्, र बुखारीले हसन भनेका छन् । )"
रसूलुल्लाहﷺले उल्लेख गर्नु भएको 'छ दिन वा सात दिन' भन्ने अवधि कुनै निश्चित संख्या छान्नका लागि होइन, बरु प्रत्येक महिलाले आफ्नो व्यक्तिगत शारीरिक अवस्थाको गहन विश्लेषण गरी आफ्नो लागि उचित दिन निर्धारण गर्नका लागि हो । त्यसैले, आफूसँग मिल्दोजुल्दो शारीरिक बनावट, उमेर, तथा अन्य महिला आफन्तहरूको महिनावारी चक्र र रगत छुट्याउने विशेषताहरूलाई ध्यानमा राखी आफ्नो महिनावारीको अवधि निर्धारण गर्नुपर्छ । यदि व्यक्तिगत अनुभवले छ दिनको अवधि बढी उपयुक्त देखिन्छ भने छ दिन नै मान्नुपर्छ, र यदि सात दिनको अवधि बढी उपयुक्त देखिन्छ भने सात दिन नै मान्नुपर्छ ।
अनियमित रक्तस्राव (इस्तिहाजा ) जस्तो अवस्थामा भएका महिलाहरू प्रति नियम :
कहिलेकाहीँ योनीबाट रगत निस्कने कारण शल्यक्रिया जस्ता वा अन्य विशेष कारणहरु हुन सक्छन् । यस्तो अवस्था दुई प्रकारको हुन सक्छ:
पहिलो प्रकार: यदि शल्यक्रियाका कारण महिनावारीको चक्र स्थायी रूपमा बन्द हुनेछ भन्ने कुरा थाहा छ, जस्तै पाठेघर पूर्ण रूपमा हटाइएको छ वा अन्य त्यस्ता शल्यक्रिया गरिएको छ जसका कारण महिनावारी हुन असम्भव हुन्छ, त्यस्तो अवस्थामा भएकी महिला प्रति अनियमित रक्तस्राव (इस्तिहादा) को कुनै नियम लागू हुँदैन । बरु यस्ता महिलाहरूका लागि ती महिलाहरू जस्तै नियम लागू हुन्छ जसलाई महिनावारी पश्चात् पहेँलो वा कालो रंगको पदार्थ वा चिपचिपो पदार्थ आउने समस्या हुन्छ । अतः यस्ता महिलाले न त नमाज वा व्रत छोड्नुपर्ने हुन्छ, न त श्रीमानसँगको शारीरिक सम्बन्ध बनाउन मनाही हुन्छ। त्यसैगरी, रगत आएको अवस्थामा स्नान गर्न आवश्यक हुदैन । तर, नमाज पढ्नुअघि रगत आएका स्थानलाई धुनु पर्छ र योनिमा कपडा वा त्यस्तै अन्य वस्तु बाँध्नुपर्छ ताकि रगत बाहिर ननिस्कियोस् । यदि नमाजको समय निश्चित छ भने (जस्तै पाँच वक्तको नमाज), त्यसको लागि तोकिएको समय भइ सकेपछि मात्र वुजू गर्नुपर्ने हुन्छ । तर यदि नमाजको समय निश्चित छैन भने (जस्तैू: नफल नमाज), नमाज पढ्न नियत गरेपछि वुजू गरे पनि हुन्छ ।
दोस्रो अवस्था: यदि कुनै महिलालाई शल्यक्रिया पछि महिनावारी पूर्ण रूपमा बन्द हुने निश्चित ज्ञान छैन, बरु महिनावारी हुने सम्भावना छ भने, त्यस्तो अवस्थामा उसको हकमा अनियमित रक्तस्राव (इस्तिहाजा ) हुने महिलालाई लागू हुने नियमहरू नै लागू हुन्छन् । यसको प्रमाणमा, रसूल ﷺ ले फातिमा बिन्त अबु हुबैशलाई भन्नुभएको हदीसमा छ उहाँले फातिमालाई भन्नुभएको थियो : " यो रगत नसहरूमा हुने विकारको कारणले हो, महिनावारीको रगत होइन र जब महिनावारी सुरु हुन्छ तब नमाज नपढ्नु ।"
यहाँ "जब महिनावारी सुरु हुन्छ" भन्ने वाक्यबाट यो स्पष्ट हुन्छ कि जसलाई महिनावारी हुने सम्भावना रहन्छ, तिनको हकमा अनियमित रक्तस्राव (इस्तिहाजा) सम्बन्धी नियमहरू नै लागू हुन्छन् । तर, जसलाई महिनावारी हुने कुनै सम्भावना नै रहँदैन, तिनको रगत सधैँ नसहरूमा हुने विकारको कारणले हुने मानिन्छ।
अनियमित रक्तस्राव (इस्तिहादा) सम्बन्धी नियमहरू:
हामीले पहिले नै कस्तो खालको रगत महिनावारी हुन्छ र कुन प्रकारको रगतलाई (इस्तिहाजा ) अनियमित रक्तस्राव मानिन्छ भन्ने विषयमा चर्चा गरिसकेका छौं । महिनावारीको रगत हुँदा महिनावारी सम्बन्धित नियम लागू हुन्छ र अनियमित रक्तस्राव हुँदा अनियमित रक्तस्राव सम्बन्धित नियम लागु हुन्छ ।
महिनावारी सम्बन्धित महत्त्वपूर्ण नियमहरू पहिले नै उल्लेख गरि सकिएका छन् ।
जहाँसम्म अनियमित रक्तस्राव भएको अवस्थामा लागु हुने नियमहरूको छन्, ती सामान्यतया महिनावारी नभएको चोखो भएको अवस्थामा लागू हुने नियमहरू सरह नै हुन्छन् । तथापि, अनियमित रक्तस्राव भएकी महिला र शुद्ध महिलाहरूका नियमहरूमा केही विशिष्ट भिन्नताहरू पाइन्छन् ।
(१) अनियमित रक्तस्राव भएकी महिला माथि प्रत्येक नमाजका लागि वुजू गर्न अनिवार्य हुन्छ, नबी ﷺ ले फातिमा बिन्ते अबू हुबैशलाई भन्नु भएको कुराका कारण कि "फेरि प्रत्येक नमाजका लागि वुजू गर्ने गर ।" (बुखारी शरीफमा "रगत धुने" अध्यायमा यो कुरा उल्लेख गरिएको छ)। अर्थात् ती महिलाहरूले अनिवार्य नमाजका लागि त्यसको समय सुरु भएपछि मात्र वुजू गर्नु पर्छ । तर यदि नमाजको समय निश्चित छैन भने (जस्तै; नफल ) नमाज पढ्ने नियत गरेपछि वुजू गरे हुन्छ ।
(२) अनियमित रक्तस्राव भएकी महिलाले प्रत्येक वुजू गर्दा रगतको दाग धुने र रगत रोक्नका लागि गुप्ताङ्गमा कपास राखेर कपडा बाँध्ने । किनभने, नबी ﷺले हम्नालाई निर्देशन दिँदै भन्नुभएको थियो, "तिमीले रगत रोक्नको लागि कपास प्रयोग गर्नु," उनले भनिन्: "तर मेरो रगत कपासले सोस्न सक्ने क्षमता भन्दा धेरै बग्छ ।" उहाँले भन्नुभयो: "त्यसो भए, कपडाको टुक्रा प्रयोग गर्नु ।" उनले फेरि भनिन्: "मेरो रगत कपडाले पनि सोस्न सक्ने क्षमता भन्दा धेरै बग्छ।" उनले भन्नुभयो: "त्यसो भए, लँगौटी बाँध ।" उल्लेखित तरिकाले जतन गरेपछि पनि रगत बाहिर आएमा त्यस्ले केही फरक पर्दैन, यस सन्दर्भमा नबीﷺ ले फातिमा बिन्त अबू हुबैश (रजिअल्लाहु अन्हा) लाई भन्नु भएको थियो : "आफ्नो महिनावारीको समयमा नमाज नपढ्नु । त्यसपछि (महिनावारीको समय समाप्त भएपछि) नुहाएर हरेक नमाजको लागि वुजू गरी नमाज पढ्नु, यसो गर्दा यदि रगत निस्केर चटाईमा चुहियो भने पनि केही फरक पर्दैन।” (यसलाई अहमद र इब्न माजाले उल्लेख गरेका छन् ।)
(३) सम्भोग कार्य : यदि श्रीमानले अनियमित रक्तस्राव भएकी श्रीमतीसँग सम्भोग नगरेमा पापमा लिप्त हुने आशंका छैन भने यसको वैधता प्रति विद्वानहरूबीच मतभेद छ। तर सही मत यो हो कि सामान्यतया पूर्णरूपमा सम्भोग गर्न अनुमति छ। किनभने नबी ﷺ को समयमा धेरै महिलाहरूलाई दस दिन वा सोभन्दा लामो समयसम्म अनियमित रक्तस्राव (इस्तिहादा) हुने गर्थ्यो, र अल्लाह वा उहाँका रसूल ﷺले कुनै श्रीमानको लागि त्यस्तो अवस्थामा भएकी श्रीमतीसँग सम्भोग गर्न निषेध गर्नु भएको कुनै प्रमाण भेटिँदैन । बरु, कुर्आनमा भनिएको छ, "महिनावारीको समयमा महिलाहरूबाट अलग बस [अर्थात्: सम्भोग नगर्नु ]"(सूरा अल-बकरा: २२२)। यसले स्पष्ट हुन्छ कि महिनावारी बाहेक अन्य अवस्थामा श्रीमतीबाट अलग बस्नुपर्ने [अर्थात्: सम्भोग नगर्ने ] कुनै आवश्यकता छैन । साथै, अनियमित रक्तस्राव भएकी महिलालाई नमाज पढ्न अनुमति भएका कारण, यौन सम्बन्ध जस्तो क्रिया निषेध गर्नु तर्कसंगत हुँदैन । अनियमित रक्तस्राव भएकी महिलासँगको यौन सम्बन्धलाई महिनावारी भएकी महिलासँगको यौन सम्बन्धसँग तुलना गर्नु गलत हो । किनकि यी दुई अवस्था समान छैनन् । यस कुरामा ती विद्वानहरू पनि सहमत छन् जसले अनियमित रक्तस्रावको अवस्थामा यौन सम्बन्धलाई निषेध गर्छन्। यस कारणले यस्तो तुलनालाई मान्यता दिन सकिँदैन ।
छैटौं खण्ड: "निफास" र यसको नियमको बारेमा ।
निफास (सुत्केरी रगत): त्यो रगत हो, जुन गर्भाशयबाट प्रसवको कारण बाहिर निस्कि रहन्छ । यो रगत जन्मक्रिया सँगै, जन्मपछि, वा प्रसव पीडा (तल्क) का साथ जन्मपूर्व दुई वा तीन दिन अगाडि पनि आउन सक्छ ।
शैखुल् इस्लाम इब्ने तैमियाले भन्नुभएको छ: 'जो रगत बच्चा जन्माउँदा आउँछ , त्यो निफास (सुत्केरी रगत) हो ।' उहाँले यसलाई दुई वा तीन दिनमा सीमित गर्नुभएको छैन । उहाँको मत अनुसार, प्रसव पीडा (तल्क) जस पश्चात् जन्म हुन्छ त्यसपछि आउने रगतलाई "निफास " मानिन्छ, अरुलाई निफास मानिँदैन। निफासको न्यूनतम र अधिकतम समय सीमाबारे विद्वानहरूबीच मतभेद छ । शेख तकीउद्दीनले आफ्नो लेखमा लेख्नु भएको छ, 'निफासको कुनै न्यूनतम वा अधिकतम सीमा छैन । यदि कुनै महिलालाई ४०, ६०, वा ७० दिनसम्म रगत आइरहन्छ र त्यसपछि रोकिएमा त्यो निफास हो । तर यदि निरन्तर बगिरह्यो भने त्यो रोगको कारणले हुने रगत हो र यस अवस्थामा अधिकतम ४० दिन मानिन्छ, किनभने ४० दिन सामान्य निफासको अवधि अन्त्य हो र यसलाई पुष्टि गर्ने प्रमाणहरू छन् । [ अल-असमा अल्लती अल्लक अल-शारिअ अल-अहकाम बिहा (पृष्ठ ३७) ]
मैले भने अनुसार यदि महिलाको "निफासको" रगत ४० दिनभन्दा बढी जारी रहन्छ र त्यसपछि रगत रोकिने उसको स्वभाव (नियमितता) छ, वा रगत रोकिन संकेत देखिन्छ भने, उसले रगत रोकिएसम्म पर्खनुपर्छ । अन्यथा, ४० दिन पूरा भइसकेको छ भने सामान्यतः स्नान गर्न सकिन्छ । तर, यस अवधिभित्र यदि महिनावारी चक्र सुरु भएमा महिनावारी चक्र समाप्त नभएसम्म पर्खनु पर्दछ । त्यसपछि, यदि रगत रोकियो भने, यो अवस्था उसको लागि एक प्रकारको स्वभाविक अभ्यास बन्छ, र भविष्यमा त्यसैअनुसार अभ्यास गर्नुपर्छ । यदि रगत निरन्तर बगिरहेको अवस्था रहिरह्यो भने त्यस्तो महिलालाई "मुस्तेहाजा" (अनियमित रक्तस्राव हुने महिला) भनिन्छ , र उसले अनियमित रक्तस्राव सम्बन्धी नियमहरू पालन गर्नुपर्नेछ। तर यदि रगत ४० दिनभन्दा अगाडि नै रोकियो भने, त्यो महिला पवित्र ठहरिन्छ। यस्तो अवस्थामा स्नान गरी नमाज र रोजा आदि धार्मिक क्रियाकलापहरू गर्न सकिन्छ। यसैगरी, पतिले पनि श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न सक्दछ । यदि रगत एक दिनभन्दा कम समयका लागि मात्र बन्द भएको छ भने यसले कुनै फरक पार्दैन । (यसलाई मुग्नी मा उल्लेख गरिएको छ।)
र महिला निफासको अवस्थामा त्यतिबेला मात्र प्रवेश गर्छे जब उसले मानव आकृति स्पष्ट देखिने भ्रूणलाई जन्म दिन्छे। यदि जन्मिएको भ्रूणमा मानव आकृति स्पष्ट देखिँदैन भने, त्यस्तो अवस्थामा निस्किएको रगतलाई निफासको रगत मानिँदैन बरु नसहरुको रगत मानिन्छ । यस्तो अवस्थामा "मुसतेहाजा" (अनियमित रक्तस्राव हुने महिला)का नियमहरू लागू हुन्छन् । मानव आकृति स्पष्ट देखिनको लागि न्यूनतम गर्भावस्थाको अवधि ८० दिन मानिन्छ भने सामान्यतया ९० दिनको हुन्छ ।
अल- मज्द इब्ने तैमियाले’ उल्लेख गर्नुभएको छ कि, यदि कुनै महिलालाई प्रसव पीडा सुरु हुनुभन्दा एक दिन अगाडि रगत देखिएमा त्यसलाई सामान्य मान्नुपर्छ र यसलाई निफासको रगत मान्नु पर्दैन (भन्नाले नमाज व्रत छोड्नु मिल्दैन )। तर, प्रसव भइसकेपछि भने निफासको अवस्था सुरु हुने भएकाले उसले नमाज र रोजा बन्द गर्नुपर्छ । यदि प्रसवपछि वास्तविक स्थिति स्पष्ट भई प्रारम्भिक अनुमान गलत साबित भएमा (जस्तै भ्रूण असम्पूर्ण (अविकसित) भएको देखियो भने), उसले छुटेका इबादतहरू पूरा गर्नुपर्छ। तर, यदि वास्तविक स्थिति स्पष्ट हुन नसकेमा प्रारम्भिक अनुमानकै आधारमा निर्णय गर्नुपर्छ र छुटेका इबादतहरू पुनः गर्नुपर्ने हुँदैन । (शरह अल-इक्ना)
निफास अवस्थाका नियमहरु :
निफास अवस्थाका नियमहरु महिनावारी अवस्थाका नियमसरह नै हुन्, तर केही भिन्नताहरू पनि छन्:
(१) इद्दत (प्रतिक्षा अवधि) को समय: इद्दतको अवधि निफास (सुत्केरी रगत) को आधारमा निर्धारण गरिँदैन, बरु सम्बन्ध विच्छेद (तलाक) को आधारमा निर्धारण गरिन्छ । यदि बच्चा जन्मनु अघि नै तलाक भएको हो भने, बच्चा जन्मिएपछि महिलाको पर्खाइ अवधि समाप्त हुन्छ । तर, यदि बच्चा जन्मिसकेपछि तलाक भएको हो भने, उसले आफ्ना महिनावारी पूरा हुने अवधिसम्म पर्खनुपर्ने हुन्छ, जस्तो कि अघिल्लो खण्डमा स्पष्ट गरिएको छ।
(२) "ईला"को अवधि : "ईला"को अवधिको गणना महिनावारीको अवधिको हिसाबले मात्र गरिन्छ, निफासको अवधिको हिसाबले होइन ।
"ईला" भनेको श्रीमानले आफ्नो पत्नीसँग सधैंका लागि वा चार महिनाभन्दा बढी समयसम्म सम्भोग नगर्ने शपथ खानु हो । यदि कुनै पुरुषले यस्तो शपथ खायो र पत्नीले यौन सम्बन्धको माग गरिन् भने, श्रीमानलाई शपथ खाएको मितिबाट चार महिनाको समय दिइन्छ । यदि चार महिनाको अवधि पूरा भयो र श्रीमानले पत्नीसँग यौनसम्बन्ध बनाएन भने (दुईटा विकल्प हुन्छ), या त श्रीमानलाई पत्नीसँग यौनसम्बन्ध कायम गर्न बाध्य पारिन्छ, वा श्रीमतीको इच्छाअनुसार सम्बन्ध विच्छेद गर्न सकिन्छ । "ईला"को अवधिमा, यदि पत्नीलाई निफास भयो भने, निफासको अवधि "ईला"को चार महिनाको अवधिमा गणना हुँदैन, बरु, निफासको अवधि चार महिनाको अवधिमा थपिन्छ।
(३) वयस्क हुने अवस्था (बालिग हुनु): महिनावारी चक्रको सुरुवातले महिला बालिग हुन्छे, निफासले होइन । किनभने महिला बालिग नहुन्जेलसम्म गर्भवती हुनै सक्दिन, अर्थात् महिलालाई गर्भवती अवस्थामा हुनलाई बालिग भइ महिनावारी चक्र सुरु हुन जरुरी छ ।
(४) यदि महिनावारीको रगत रोकियो र पुनः नियमित समयमै फर्कियो भने, त्यसलाई निश्चित रूपमा महिनावारीकै रगत मानिन्छ । उदाहरणका लागि, यदि कुनै महिलाको नियमित महिनावारीको अवधि आठ दिनको हो, र पहिलो चार दिन रगत आउँछ, त्यसपछि दुई दिन रोकिएर सातौँ र आठौँ दिन पुनः रगत आउँछ भने, यो पुनः आएको रगतलाई महिनावारीकै रगत मानिन्छ। यस्तो अवस्थामा महिनावारीसँग सम्बन्धित सबै नियमहरू लागू हुन्छन् तर, सुत्केरी महिलाको रगत चालीस दिनभित्र रोकिएर पुनः चालीस दिनभित्र नै शुरु हुने अवस्था शङ्कास्पद मानिन्छ। यस्तो अवस्थामा उक्त महिलाले अनिवार्य रूपमा नमाज पढ्नु पर्ने हुन्छ र तोकिएको व्रत बस्नु पर्दछ । रजस्वला हुँदा गर्न निषेध गरिएका कार्यहरू यस्तो अवस्थामा पनि गर्न निषेध रहन्छ । यद्यपि, अनिवार्य धार्मिक कर्तव्यहरू भने अवश्य पूरा गर्नुपर्दछ । (अधिकांश हम्बली विद्वानहरूका अनुसार), जब उक्त महिला पूर्ण रूपमा निफासबाट पवित्र हुन्छिन्, अर्थात् महिनावारीबाट पवित्र हुने महिला जस्तै हुन्छिन्, तब शङ्कास्पद अवधिमा गरेका अनिवार्य कार्यहरूलाई निफासबाट पवित्र भएकी महिलाले पुनः पूरा गर्नुपर्ने हुन्छ ।
यस विषयमा सही मत यो हो कि यदि रगत यस्तो समयमा फर्कियो जुन निफासको रूपमा मान्य हुने समयसीमाभित्र पर्छ भने, त्यसलाई निफासकै रगत मानिन्छ । अन्यथा त्यसलाई महिनावारीको रगत मानिन्छ वा यदि रगत कुनै निश्चित समयावधिमा नभई निरन्तर रूपमा रहिरह्यो र रोकिएन भने, त्यसलाई अनियमित स्त्राव (इस्तिहाजा) मानिन्छ।
यो विचार 'अल-मुग्नी' मा उल्लेख गरिएको इमाम मालिकको भनाइ सँग मिल्दोजुल्दो छ । इमाम मालिकले भन्नुभएको छ: 'यदि रगत बन्द भएको दुई वा तीन दिनपछि फेरि देखियो भने, त्यो निफास हो, अन्यथा त्यो महिनावारी हो ।' यो कुरा विद्वान इब्ने तैमियाको विचारसँग पनि मेल खान्छ ।
र, वास्तविक रूपमा रक्तस्रावको विषय आफैमा कुनै शंकास्पद विषय होइन । शंका हुनु भनेको सापेक्षिक कुरा हो, जसमा व्यक्तिहरू आफ्नो ज्ञान, अनुभव, र बुझाइको आधारमा फरक धारणा राख्न सक्छन् । तथापि, कुर्आन र सुन्नतमा यस सम्बन्धी सबै कुराको स्पष्ट स्पष्टीकरण पाइन्छ । अल्लाहले कुनै पनि व्यक्तिलाई दुई पटक उपवास बस्न वा दुई पटक हज गर्न बाध्य पारेका छैनन्, जबसम्म पहिलो कार्यमा कुनै कमी वा त्रुटि नरहेको होस् । यदि कुनै कमी छ भने मात्र त्यो पुनः गरेर पूरा गर्न आवश्यक हुन्छ । तर, जब कसैले आफ्नो क्षमताअनुसार सक्दो परिश्रमपूर्वक धर्मका नियमहरूको पालना गर्छ भने उसको जिम्मेवारी पूरा हुन्छ । अल्लाहले भन्नु भएको छ: "अल्लाहले कसैलाई उसको सामर्थ्यभन्दा अधिक जिम्मेवारी दिनु हुँदैन ।" (अल-बकरा: २८६), र र्को आयतमा भन्नुभएको छ: (आफ्नो क्षमताअनुसार अल्लाहको डर राख ।) (सुरह अत-तगाबुन: १६)
(५) महिनावारी र निफास अवस्थाबीचको पाँचौँ भिन्नता: महिनावारी भएकी महिला यदि सामान्य अवधिभन्दा पहिले नै शुद्ध भइन् भने उसको पतिले उससँग सम्भोग गर्न सक्छन् र यसमा कुनै आपत्ति छैन । तर, निफास अवस्थामा रहेकी महिला यदि ४० दिन पूरा नहुँदै शुद्ध भइन् भने उसको श्रीमानले उससँग सम्भोग गर्नलाई धेरैजसो (हम्बली) विद्वानहरू नराम्रो मान्छन् । जबकी सही विचार अनुसार सम्भोग गर्न अनुचित छैन । र यही विचार अधिकांश विद्वानहरूको पनि मत हो । किनभने, कुनै पनि कुरा निषेध गरिएको छ वा नराम्रो छ भन्नका लागि शरीयतमा स्पष्ट प्रमाण हुनुपर्छ । यस विषयमा इमाम अहमदले उल्लेख गर्नु भएको उष्मान बिन अबू अल-आसको कथन बाहेक अरु केही पनि छैन, जसमा उल्लेख छ कि उष्मानको श्रीमतीले ४० दिन पुरा नहुँदै सम्भोग गर्न चाहेकी थिइन्, तर उष्मानले त्यसो गर्नबाट रोकि दिनुभयो ।
तर यस कथनबाट यस्तो निष्कर्ष निकाल्न सकिँदैन कि त्यस्तो परिस्थितिमा सम्भोग गर्न निषेधित वा नराम्रो हो । हुन सक्छ, उष्मानले अत्यन्त सावधानी अपनाएका हुन् । सम्भवत, महिलाले आफ्नो पवित्रतालाई पूर्णरूपमा सुनिश्चित गर्न नसकेको हुन सक्छ, वा शारीरिक सम्बन्धले पुनः रक्तस्राव हुने सम्भावनालाई मध्यनजर गर्दै उनले यस्तो निर्णय गरेका हुन सक्छन् । अथवा, अन्य कुनै कारणले पनि उनले यस्तो गरेका हुन सक्छन् । (अल्लाह नै सर्वज्ञा हुनुहुन्छ । )
सातौ खण्ड: महिनावारी रोक्ने वा ल्याउने, गर्भधारणलाई रोक्ने वा गर्भपतन गराउने औषधिहरूको प्रयोग बारे :
महिलालाई महिनावारी रोक्ने औषधि प्रयोग गर्न दुई शर्तहरूका साथ जायज छ:
पहिलो शर्त: आफैलाई कुनै हानि नपुगोस् । यदि त्यसको प्रयोगले आफैलाई हानि पुग्ने डर छ भने, प्रयोग गर्न निषेध छ । किनभने अल्लाह तआला भन्नुहुन्छ: {र आफुले आफैलाई विनाशमा नहाल } (अल-बकराः १९५), {र तिमीहरूले आफैलाई नमार, निश्चय नै अल्लाह तिमीहरूमाथि दयालु हुनुहुन्छ ।} (अन्निसाः २९)
दोस्रो शर्त: यदि महिलाको विशेष अवस्था सगँ श्रीमान कुनै प्रकारले सम्बन्धित छ भने, महिनावारी रोक्ने कुनै पनि साधनको प्रयोग गर्नका लागि श्रीमानको पूर्व स्वीकृति अनिवार्य हुन्छ । उदाहरणका लागि, विवाह विच्छेदपछिको इद्दतको अवधिमा रहेकी एक महिलालाई उसको पतिले खर्च दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा, महिनावारी रोक्ने साधनको प्रयोग गरी इद्दतको अवधिलाई कृत्रिम रूपमा लम्ब्याउने प्रयास गर्नु उचित हुँदैन । यसले पतिमाथि आर्थिक बोझ थप्ने हुन्छ । तसर्थ, यस्तो अवस्थामा श्रीमानको अनुमति बिना महिनावारी रोक्ने औषधि खानु वर्जित हुन्छ । यसैगरी, यदि महिनावारीलाई रोक्ने कुनै पनि उपायले गर्भावस्था रोक्ने सम्भावना हुन्छ भने, यस्तो उपायको प्रयोग गर्नुअघि पतिको अनुमति लिनु अनिवार्य हुन्छ । यद्यपि, यस्ता साधनहरूको प्रयोग वैध मानिए पनि, कुनै विशेष कारण वा आवश्यकता नभएसम्म यिनको प्रयोगबाट जोगिनु नै उत्तम विकल्प हो । किनकि, प्राकृतिक अवस्थामा रहनु स्वास्थ्यका लागि अधिक सन्तुलित र सुरक्षित मानिन्छ ।
त्यसैगरी महिनावारी ल्याउन निमित्त औषधि प्रयोग गर्नु पनि दुई शर्तको आधारमा वैध हुन्छ:
पहिलो: कुनै अनिवार्य धार्मिक कर्तव्य टार्ने उद्देश्यले प्रयोग गर्न मिल्दैन, जस्तै रमजान महिना नजिक हुँदा उपवास टार्ने उद्देश्य वा नमाज नपढ्न उद्देश्यले प्रयोग गर्न वर्जित हुन्छ ।
दोस्रो: यस्तो औषधिको प्रयोग गर्नुअघि श्रीमानको अनुमति अनिवार्य छ। किनकि महिनावारी चक्रले पतिलाई पत्नीबाट पूर्ण आनन्द लिनबाट वञ्चित गर्दछ, यसरी पतिका अधिकारहरू प्रभावित हुने भएकाले उनको सहमति बिना यस्तो उपाय प्रयोग गर्न मिल्दैन । त्यसैगरी यदि महिला तलाक (सम्बन्धविच्छेद) अवस्थामा छिन् र हालसम्म श्रीमानलाई सम्बन्धविच्छेद रद्द गर्न र श्रीमतीसँग विवाह पुनःस्थापना गर्न अधिकार रहेको छ भने यस्तो औषधि प्रयोगले पतिको यो अधिकार चाँडै समाप्त गर्न सक्ने भएकाले यस अवस्थामा पनि उक्त औषधि प्रयोग गर्न अनुमति लिनु पर्नेछ ।
र गर्भावस्था रोक्ने औषधिको प्रयोग दुई प्रकारको हुन्छ:
पहिलो: यदि गर्भावस्था रोक्ने औषधिले सधैंको लागि गर्भधारण रोक्छ भने, यो शरियत अनुसार वैध छैन किनकि यसले संतानको जन्मलाई रोक्छ र यसरी सन्तानको संख्या घटाउँछ, जुन इस्लामी शरियतको उद्देश्यको विपरीत हो । शरियतले उम्मत (सम्पूर्ण मुस्लिम समुदाय)को संख्या बढाउन प्रोत्साहन दिन्छ । यसबाहेक, यस्तो औषधिको प्रयोगबाट भविष्यमा कुनै अप्रत्याशित घटना घटेर सबै सन्तानको मृत्यु हुने सम्भावना पनि रहन्छ । त्यस्तो अवस्थामा महिला जीवनभर सन्तानहीन र विधवा भएर रहन बाध्य हुन सक्छिन् ।
दोस्रो: यदि गर्भावस्था रोक्ने औषधिले केही समयका लागि मात्र गर्भधारण रोक्छ भने त्यसको अनुमति छ। उदाहरणका लागि, बारम्बार गर्भाधारणका कारण स्वास्थ्यमा समस्या भोगिरहेकी कुनै महिला यदि प्रत्येक दुई वर्षमा एक पटक मात्र गर्भाधारण गर्न चाहन्छिन् भने यस्तो अवस्थामा यस्तो औषधि प्रयोग गर्न अनुमति छ, तर यसको लागि श्रीमानको सहमति अनिवार्य छ र त्यस औषधिले महिलाको स्वास्थ्यमा कुनै हानिकारक प्रभाव नपार्ने कुरा सुनिश्चित गरिनु पर्दछ । यसको प्रमाण नबीﷺको समयमा, सहाबाहरू आफ्नी पत्नीहरूलाई गर्भवती नहोस् भनेर "अजल" ( सम्भोग गर्दा बाहिर वीर्य स्खलन गर्ने) गर्थे, र यस कार्यलाई नबीﷺले निषेध गर्नु भएन । "अजल" भनेको श्रीमानले पत्नीसँग यौन सम्बन्ध बनाउँदा योनि बाहिर वीर्य स्खलन गर्नु हो ।
त्यसैगरी गर्भपात गराउने औषधिको प्रयोग पनि दुई प्रकारको हुन्छ:
पहिलो: गर्भपातको मुख्य उद्देश्य भ्रूणलाई नष्ट नै गर्नु हो र यदि भ्रूणमा आत्मा प्रवेश गरिसकेको छ भने यस्तो अवस्थामा गर्भपातन गर्न निषेध हुन्छ । किनकि यो एक निर्दोष प्राणीको हत्या हुन्छ, र निर्दोष प्राणीको हत्या कुर्आन, हदीस र सम्पूर्ण मुसलमानहरूको "इजमा" (सर्वसम्मत मत) अनुसार निषेध गरिएको छ। तर, भ्रूणमा आत्मा प्रवेश हुनुअघिको अवस्थामा गर्भपात गर्ने विषयमा विद्वानहरूबीच मतभेद रहेको पाइन्छ । केही विद्वानहरूको मत अनुसार यस्तो अवस्थामा गर्भपात गर्न वैध मान्न सकिन्छ भने केही विद्वानहरू यसलाई निषेध गर्छन् । कतिपय विद्वानहरूले गर्भपातलाई ४० दिनभित्र गरिएमा अनुमति दिन सकिने धारणा राख्छन् भने अरूले मानव शिशुको रूप धारण गर्नुअघि गरिएको गर्भपातलाई वैध मान्ने धारणा राख्छन् ।
सबैभन्दा उचित र तर्कपूर्ण विचार भनेको कुनै अत्यावश्यक कारणबिना गर्भपात नगर्नु हो । जस्तै, यदि आमाको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर छ र गर्भ धारण गर्दा उनको जीवन जोखिममा पर्ने सम्भावना छ भने यस्ता परिस्थितिमा गर्भपातको अनुमति हुन सक्छ, तर पनि, यदि भ्रूणले मानव आकृति ग्रहण गरिसकेको छ भने यस्तो अवस्थामा गर्भपात गर्नु निषेध छ । (अल्लाह नै सर्वज्ञ हुनुहुन्छ । )
दोस्रो: गर्भबाट बच्चा निकाल्ने उद्देश्य त्यसलाई नष्ट गर्न होइन भने त्यसो गर्न वैध हुन्छ, जस्तै कि गर्भावस्थाको अन्तिम चरणमा, बच्चा जन्मने समय नजिक हुँदा बच्चालाई पहिलै निकाल्न अनुमति छ, तर यसको लागि शर्त छ कि यस कार्यले आमा र बच्चालाई कुनै हानि नपुर्याओस् र यसको लागि शल्यक्रिया (अपरेशन) आवश्यक नहोस् । यदि शल्यक्रियाको आवश्यकता छ भने, यसको चार अवस्थाहरू छन्:
पहिलो अवस्था : यदि आमा जीवित छिन् र भ्रूण पनि जीवित छ, भने शल्यक्रिया गर्न केवल अत्यावश्यक अवस्थामा मात्र अनुमति हुन्छ । जस्तै, बच्चा जन्म दिनमा कठिनाइ भइरहेको छ भने शल्यक्रिया गर्न सकिन्छ । किनभने, शरीर मानिसको लागि नासो सरह हो, जसलाई कुनै ठूलो लाभ प्राप्त गर्न बाहेक अन्य कुनै पनि कुराको लागि जोखिममा पार्न हुँदैन । साथै, शल्यक्रियामा कुनै हानि छैन भन्ने लागे पनि पछि हानि हुन सक्ने सम्भावना रहिरहन्छ ।
दोस्रो अवस्था: आमा र बच्चा दुवै मरिसकेको अवस्थामा छन् भने शल्यक्रिया गरेर भ्रूण निकाल्न अनुमति छैन, किनभने यसको केही तर्क बन्दैन ।
तेस्रो अवस्था : यदि आमा जीवित छिन् र भ्रूण मृत छ भने यस्तो अवस्थामा आमालाई कुनै हानि हुने सम्भावना नरहेसम्म शल्यक्रिया गरेर मृत बच्चा निकाल्न सकिन्छ । किनभने, सामान्यतया बच्चा मरिसकेपछि शल्यक्रिया बिना बाहिर निस्कने सम्भावना कम हुन्छ । बच्चा पेटभित्रै रहेको कारणले गर्दा भविष्यमा अर्को बच्चा जन्माउन गाह्रो हुन सक्छ र आमालाई शारीरिक पीडासमेत भोग्नु पर्ने सम्भावना रहन्छ त्यसैगरी यदि आमा अघिल्लो श्रीमानसँगको सम्बन्धविच्छेद इद्दतको अवधिमा छिन् भने, उनी ( मृत बच्चा न निकालिए सम्म अधिक समयको लागि) विधवा अथवा अविवाहित हुन सक्छिन् । (किनकि सम्बन्धविच्छेद पछि गर्भावस्था भएकी महिलाको प्रतीक्षा अवधि गर्भबाट बच्चा निस्कने समय सम्म हुन्छ । )
चौथो अवस्था : यदि आमा मृत छिन् र भ्रूण जीवित छ तर उसको जीवन बच्ने कुनै सम्भावना छैन भने यस्तो अवस्थामा शल्यक्रिया गर्न अनुमति छैन ।
यदि बच्चा बाँच्ने सम्भावना छ र बच्चाको केही भाग बाहिर निस्किएको छ भने बाँकी भाग निकाल्नका लागि आमाको शल्यक्रिया गर्न सकिन्छ । तर यदि बच्चाको कुनै भाग पनि बाहिर निस्किएको छैन भने, (हम्बली) विद्वानहरूको मतअनुसार भ्रूणलाई निकाल्न आमाको पेट चिर्न निषेध छ, किनभने यसलाई मुष्ला (मृतक को शारीरिक अङ्ग काट्नु) मानिन्छ, जुन निषेध गरिएको छ। तर सही कुरा यो हो कि, यदि शल्यक्रिया बिना भ्रूणलाई निकाल्न सम्भव छैन भने, त्यस्तो अवस्थामा आमाको पेट चिर्न अनुमति हुन्छ। यो विचार इब्ने हुबैराको मत हो। "अल-इनसाफ" पुस्तकमा इब्न हुबैराले उल्लेख गर्नु भएको छ: " यही नै उचित विचार हो ।"
मेरो विचार अनुसार पनि शल्यक्रियालाई विशेष गरी हाम्रो वर्तमान समयमा मुष्ला (मृतक को शारीरिक अङ्ग काट्नु) भन्न सकिन्न, किनभने अहिले शल्यक्रिया गरेर पेट चिरिन्छ र फेरि टाँका पनि लगाइन्छ,साथै जीवित प्राणीको महत्व मृत प्राणीको तुलनामा अत्यधिक हुन्छ र निर्दोष प्राणीको जीवन रक्षा गर्नु हाम्रो धार्मिक तथा नैतिक कर्तव्य हो । गर्भमा रहेको शिशु पनि एक निर्दोष प्राणी नै हो, तसर्थ उसको जीवन रक्षा गर्नु अनिवार्य हुन्छ । (अल्लाह नै सर्वज्ञा हुनुहुन्छ । )
नोट: माथि उल्लेखित परिस्थितिमा गर्भपतन गर्न अनुमति दिइएको भए पनि, श्रीमानको अनुमति लिन अनिवार्य हुन्छ ।
यस महत्वपूर्ण विषयमा हामीले लेख्न चाहेको कुरा यहीँ समाप्त भयो । हामीले यहाँ केवल यस विषयको मूल सिद्धान्तहरू र नियमहरूमा केन्द्रित भएर चर्चा गरेका छौं, अन्यथा यस विषय अन्तर्गत रहेका उपविषयहरु र महिलाहरूसँग सम्बन्धित अन्य प्रकरणहरूको कुनै सीमाना छैन । तर, एक बुद्धिमान व्यक्तिले उपविषयहरूलाई मूल विषयसँग समन्वय गरी बुझ्ने क्षमता राख्छ । साथै, उसले व्यक्तिगत घटनाहरूलाई व्यापक नियम तथा मापदण्डहरूको परिप्रेक्ष्यमा विश्लेषण गर्दै विभिन्न परिस्थितिहरूबीचको तुलनात्मक अध्ययन गर्न सक्छ ।
र एक मुफ्तीले सदैव यो कुरा बुझि राख्नु पर्छ कि उनी अल्लाह र मानव जातिबीचको एक माध्यम स्वरूप हुन् । उनको प्रमुख दायित्व भनेको अल्लाहका रसूलहरूद्वारा ल्याइएको सन्देशलाई जनसमक्ष पुर्याउनु र त्यसलाई स्पष्ट पार्नु हो । उनी कुर्आन र सुन्नतमा उल्लेखित विषयवस्तुको आधारमा मात्र धर्म बुझ्न बुझाउन जिम्मेवार छन् । यी दुई नै ती प्रामाणिक स्रोत हुन् जसलाई बुझ्नु र पालना गर्नु अनिवार्य गरिएको छ । र कुर्आन र सुन्नत विपरीत कुनै पनि कुरा अस्वीकृत हुन्छ, त्यसलाई नामन्जुर गरिनेछ र त्यस आधारमा कुनै कर्म गर्न मिल्दैन । यसो भए तापनि, यदि त्यो व्यक्तिले इज्तिहाद गरेको हो भने उनी क्षमायोग्य हुन सक्छन् र आफ्नो इज्तिहादका लागि पुरस्कृत हुन सक्छन्। तर जसलाई उक्त इज्तिहादमा गल्ती भएको ज्ञान छ, उसले त्यो गलत विचारलाई स्वीकार गर्नु मिल्दैन ।
र एक मुफ्तीले सर्वप्रथम अल्लाहप्रति आफ्नो नियतलाई शुद्ध राख्नुपर्छ । प्रत्येक समस्या वा घटनाको समाधानका लागि सही धार्मिक निर्देशन प्राप्त गर्न उहाँले निरन्तर अल्लाहसँग प्रार्थना गर्नु पर्दछ । सही निर्णयमा पुग्नका लागि स्थिरता र सफलता प्रदान गरिदिन प्रार्थना गर्नु पर्दछ ।
एक मुफ्तीले कुर्आन र सुन्नतलाई आफ्नो विचारको आधार बनाउनुपर्छ । यी दुवै स्रोतहरूमा उल्लेखित विषयवस्तुहरूको गहन अध्ययन तथा विश्लेषण गर्नु पर्दछ । कुनै पनि विषयमा स्पष्ट बुझाइ प्राप्त गर्नका लागि अन्य विद्वानहरूको मतलाई पनि ध्यानमा राख्नुपर्दछ ।
कति पटक यस्तो अवस्था आउँछ जहाँ कुनै विषय वा प्रश्नको बारेमा विद्वानहरूको भनाइ र लेखहरूमा भरपर्दो उत्तर पाउन गाह्रो हुन्छ, र कहिलेकाहीं त त्यो विषयको कुनै चर्चा नै भेटिँदैन । तर, जब व्यक्तिले कुर्आन र सुन्नतमा उत्तर खोज्छ, तब उसले आफ्ना सत्यनिष्ठा, ज्ञान, र समझका आधारमा ती दुवै स्रोतहरूमा स्पष्ट र सन्तोषजनक उत्तर पाउँछ ।
र मुफ्तीले कुनै पनि विषयमा निर्णय गर्दा धैर्यपूर्वक सोच्नुपर्छ र हतार गर्न हुँदैन । धेरै पटक हतारमा गरिएका निर्णयहरू पछि पुनर्विचार गर्दा गलत भएको थाहा हुन्छ जसले गर्दा पछुतो हुन्छ, र कहिलेकाहीं, हतारमा गरेको निर्णयलाई सच्याउन पनि सम्भव हुँदैन ।
र यदि मानिसहरूले कुनै मुफ्तीलाई धैर्यवान र सतर्क देख्छन् भने, तिनीहरू उसको कुरामा विश्वास गर्छन् र उसलाई आदर गर्छन् । तर, यदि कुनै मुफ्तीले हतारमा जवाफ दिने गरेको देख्छन् भने, मानिसहरू उसको निर्णयमा शङ्का गर्छन् । किनकि हतारमा गरिने निर्णयहरूमा गल्ती हुने सम्भावना बढी हुन्छ । यसरी, हतार र त्रुटिपूर्ण निर्णयले मुफ्ती आफैँलाई र अरूलाई पनि सही ज्ञान र निर्णयबाट वञ्चित गर्दछ ।
हामी करुणामय अल्लाहसँग प्रार्थना गर्दछौं कि हामीलाई र सम्पूर्ण मुसलमान समुदायलाई सत्य मार्गमा डोर्याऊन् । उहाँको असीम दया र कृपाले हामीलाई सधैं आशीर्वादित गरिरहोस् र उहाँको सुरक्षा प्रदान गरी हामीलाई सम्पूर्ण पाप र त्रुटिबाट जोगाऊन् । वास्तवमा उहाँ नै दाता र दयावान हुनुहुन्छ । यसरी नै हाम्रा प्यारा नबी हजरत मुहम्मद ﷺ, उहाँको पवित्र परिवार, र सम्पूर्ण सहाबा किरामहरू माथि उहाँ (अल्लाह) को असीम शान्ति र आशीर्वाद सधैं रहि रहोस् । सबै प्रशंसा केवल अल्लाहकै लागि छ, जसको कृपाले हामी सबै राम्रो काम गर्न सक्षम भएका छौँ ।
पूरा भयो, अल्लाहको भक्त
मोहम्मद (बिन) सालेह अल-उसैमिनको कलमद्वारा,
शुक्रबार बिहान,
इस्लामी सन् १३९२ को १४ शाबानमा यो लेख सम्पन्न भयो.
*
Related books
All books
नास्तिकका लागि छोटो सन्देश61 languagesनास्तिकका लागि छोटो सन्देश
नास्तिकका लागि यो एउटा छोटो सन्देश हो । पृथ्वीको यो सटीक र सुक्षम प्रणाली संयोगवश भएको होइन र यसले एक तत्त्वदर्शी सृष्टिकर्ताको संकेत गर्दछ । के यो सबै स्वतः भएको हो भनेर भन्न मिल्छ र? कृपया आफ्नो मन र मस्तिष्कलाई खोल्नुहोस्, चिन्तन गर्नुहोस् र सत्यको खोजी गर्नुहोस्, त्यसैमा तपाईंले मार्ग देखाउने प्रकाश पाउनुहुनेछ!
نبذة في العقيدة الإسلامية (شرح أصول الإيمان)75 languagesنبذة في العقيدة الإسلامية (شرح أصول الإيمان)
رسالة لطيفة تتناول أصول العقيدة الإسلامية بأسلوب مبسط وميسر. تبدأ بمقدمة حول أهمية علم التوحيد، كونه أشرف العلوم وأجلّها، ثم تتناول مفهوم الدين الإسلامي وأركانه الخمسة: الشهادتان، والصلاة، والزكاة، والصوم، والحج. كما يشرح الإيمان بالله، وملائكته، وكتبه، ورسله، واليوم الآخر، ويؤكد على أهمية التوحيد في بناء دين المسلم بشكل سليم. الكتاب يهدف إلى تعزيز الفهم الصحيح للعقيدة الإسلامية وتطبيقها في حياة المسلم اليومية.
इस्लामको संक्षिप्त परिचय कुर्आन र हदीसको प्रकाशमा61 languagesइस्लामको संक्षिप्त परिचय कुर्आन र हदीसको प्रकाशमा
बिस्मिल्ला हिर्रहमा निर्रहीम (अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु) । इस्लाम (प्रमाणरहित संस्करण)[१] (१) यस पुस्तकको अर्को प्रतिलिपि पनि उपलब्ध छ, जसमा प्रत्येक कुराको प्रमाण कुर्आन र हदीसबाट प्रस्तुत गरिएको छ, तपाइँ यसलाई निम्न लिङ्क मार्फत हेर्न सक्नुहुन्छ: http://islamhouse.com/ar/books/२८३००७१ इस्लामको संक्षिप्त परिचयमा आधारित यो एक महत्त्वपूर्ण पुस्तिका हो । जसमा इस्लाम धर्मका महत्वपूर्ण सिद्धान्तहरू, शिक्षाहरू र विशेषताहरूलाई इस्लामको दुई मौलिक र भरपर्दो श्रोत; कुर्आन र हदीसको प्रकाशमा वर्णन गरिएको छ । यो पुस्तिकाले मुस्लिम र गैर(मुस्लिम सबैलाई तिनीहरूको आफ्नै…
इस्लाम अल्लाहका सबै दूतहरूको धर्म हो।85 languagesइस्लाम अल्लाहका सबै दूतहरूको धर्म हो।
इस्लामको अर्थ भनेको सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ता र पालनकर्ता अल्लाहसामु आफूलाई समर्पण गर्नु तथा प्रेम र आदरका साथ उहाँको पालन गर्नु हो । इस्लामको आधार भनेको अल्लाहमा विश्वास गर्नु, उहाँ नै हाम्रो सृष्टिकर्ता हुनुहुन्छ र उहाँ बाहेक अरू सबै उहाँका सिर्जना हुन्, केवल उहाँ नै पूजनीय र उपास्य हुनुहुन्छ र उहाँको कोही साझेदार वा प्रतिद्वन्द्वी छैन, उहाँका सुन्दर नामहरू र उच्चतम गुणहरू छन्, उहाँ हरेक दृष्टिले एकदम सम्पन्न र परिपूर्ण हुनुहुन्छ, उहाँ नत कसैबाट जन्मिनुभएको हो नत कोही उहाँबाट जन्मेको हो, उहाँ जस्तो र उहाँ बराबर कोही छैन, उहाँभित्र नत कुनै सृष्टि निहित छ नत उहाँ कुनै सृष्टिभित्र…