उत्कृष्ट नैतिक गुणहरू
यस पुस्तिकामा अल्लाह तआला र मानिसहरूसँगको व्यवहारमा उत्तम नैतिक आचरणका विभिन्न पक्षहरूबारे चर्चा गरिएको छ। यसमा अल्लाहका समाचार र उहाँका आदेशहरूलाई सहर्ष स्वीकार गरी सन्तुष्ट रहनुका साथै उहाँका निर्णयहरूमा धैर्य धारण गर्नुपर्ने आवश्यकतालाई स्पष्ट पारिएको छ। त्यस्तै, अरूसँगको व्यवहारमा अरूलाई दुःखकष्ट नदिनु, उदारतापूर्वक सहयोग र दान गर्नु तथा हँसिलो र प्रसन्न अनुहारले प्रस्तुत हुनुजस्ता उत्तम नैतिक आचरणका क्षेत्रहरूलाई नबी ﷺ को पवित्र जीवनका उदाहरणसहित प्रस्तुत गरिएको छ।
उत्कृष्ट नैतिक गुणहरू
आदरणीय शैख र वरिष्ठ विद्वान
मुहम्मद बिन सालेह अल-उसैमिन
अल्लाहले उहाँ, उहाँका आमाबुवा तथा समस्त मुस्लिमहरूलाई क्षमा प्रदान गरून्।
अत्यन्त करूणामय परम दयालु अल्लाहको नाममा शुभारम्भ गर्दछु।
निश्चय नै, सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो। हामी उहाँकै प्रशंसा गर्छौँ, उहाँसँगै सहायता माग्छौँ, उहाँसँगै क्षमायाचना गर्छौँ र उहाँतर्फ नै तौबा गरी फर्कन्छौँ। हामी आफ्नै मनका दुष्प्रवृत्तिहरू र आफ्ना कर्मका दुष्परिणामहरूबाट अल्लाहको शरण माग्छौँ। अल्लाहले जसलाई मार्गदर्शन प्रदान गर्नुहुन्छ, उसलाई कसैले पथभ्रष्ट गर्न सक्दैन; र जसलाई उहाँले पथभ्रष्ट हुन दिनुहुन्छ, उसलाई कसैले मार्गदर्शन गर्न सक्दैन। म गवाही दिन्छु, अल्लाहबाहेक इबादत योग्य अरू कोही छैन। उहाँ एक्लै हुनुहुन्छ, उहाँको कोही साझेदार छैन र म गवाही दिन्छु, मुहम्मद ﷺ उहाँका भक्त र रसूल हुनुहुन्छ। अल्लाह तआलाले उहाँलाई मार्गदर्शन र सत्य धर्मसहित पठाउनुभयो, ताकि त्यसलाई सम्पूर्ण धर्महरूमाथि विजयी बनाउनुहोस्। उहाँलाई कियामतको समय नजिक आउनुअघि शुभ समाचार सुनाउने, चेतावनी दिने, आफ्नै अनुमतिले अल्लाहतर्फ आह्वान गर्ने र उज्यालो छर्ने दीपका रूपमा पठाउनुभयो। उहाँले अल्लाहको सन्देश पूर्ण रूपमा पुर्याउनुभयो, आफूलाई सुम्पिएको अमानत पूरा गर्नुभयो, उम्मतको हितचिन्तन गर्नुभयो र आफ्नो जीवनको अन्तिम क्षणसम्म अल्लाहको मार्गमा सङ्घर्ष गर्नुपर्ने हकअनुसार पूर्ण निष्ठाका साथ सङ्घर्ष गर्नुभयो। अल्लाहले आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुभयो, उसलाई तौफीक प्रदान गर्नुभयो। फलस्वरूप, उनीहरूले उहाँको आह्वान स्वीकार गरे र उहाँको मार्गदर्शन अनुसरण गरे। त्यस्तै, आफ्नो हिक्मतअनुसार आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुभयो, उसलाई यस तौफीकबाट वञ्चित राख्नुभयो। फलस्वरूप, उनीहरूले अहङ्कारवश उहाँको आज्ञापालन गर्न अस्वीकार गरे, उहाँले सुनाउनुभएको सन्देशलाई झुटो ठहराए र उहाँका आदेशहरूको विरोध गरे। अन्ततः उनीहरू ठूलो घाटा र घोर पथभ्रष्टतामा परे।
तत्पश्चात: अब यस भेटघाटमा [१] उत्तम नैतिक आचरणका विषयमा केही कुरा प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ। [१] यो भेटघाट उनैजाको वैज्ञानिक संस्थानको ग्रीष्मकालीन केन्द्रमा भएको थियो।
विद्वान्हरूका अनुसार, नैतिक स्वभाव भनेको मानिसको आन्तरिक स्वरूप हो; किनकि मानिसका दुई प्रकारका स्वरूप हुन्छन्:
बाह्य स्वरूप: अर्थात् अल्लाहले मानिसको शरीरलाई जुन बनोट र आकारमा सृष्टि गर्नुभएको छ, त्यो हो। हामी सबैलाई थाहा छ, यो बाह्य स्वरूप कसैको सुन्दर र आकर्षक हुन्छ, कसैको कुरूप र असुन्दर हुन्छ भने कसैको यी दुई अवस्थाको बीचमा हुन्छ।
त्यसैगरी, मानिसको आन्तरिक स्वरूप पनि सुन्दर र असुन्दर गरी दुई प्रकारको हुन्छ। यही आन्तरिक स्वरूपलाई नै नैतिक स्वभाव भनिन्छ। अतः नैतिक स्वभाव भनेको मानिसमा अन्तर्निहित त्यो आन्तरिक स्वरूप हो, जसअनुसार उसको स्वभावको निर्माण भएको हुन्छ।
नैतिक स्वभाव मानिसमा जन्मजात हुन्छ कि आर्जन गरेर विकास गरिन्छ?
यसको जवाफ हो: नैतिक स्वभावका केही गुण जन्मजात हुन्छन् भने केही निःसन्देह अभ्यास र प्रयत्नद्वारा आर्जन गरिन्छन्। कुनै स्वभाव मानिसमा जन्मजात रूपमा रहेको हुन सक्छ, तर त्यही स्वभाव अभ्यास र प्रयत्नद्वारा पनि विकास गर्न सकिन्छ। जसरी मानिस जन्मजात रूपमा सुन्दर र उत्तम नैतिक स्वभाव लिएर जन्मन सक्छ, त्यसरी नै उसले अभ्यास र निरन्तर प्रयत्नद्वारा पनि उत्तम नैतिक गुणहरू हासिल गर्न सक्छ। यही कारणले नबी ﷺ ले अशज्ज अब्दुल कैसलाई भन्नुभएको थियो: “निश्चयनै, तपाईंमा दुईवटा यस्ता गुणहरू छन्, जसलाई अल्लाहले मन पराउनुहुन्छ: सहनशीलता र धैर्यता।” उनले सोधे, “हे अल्लाहका रसूल! के यी दुई गुण मैले आफैँमा विकास गरेको हुँ, कि अल्लाहले नै मलाई यी गुणसहित सृष्टि गर्नुभएको हो?” उहाँ ﷺ ले भन्नुभयो, “बरु, अल्लाहले नै तपाईंलाई यी दुई गुणसहित सृष्टि गर्नुभएको हो।” उनले भने, “सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो, जसले मलाई यस्ता दुई गुणसहित सृष्टि गर्नुभयो, जसलाई अल्लाह र उहाँका रसूलले मन पराउनुहुन्छ।” [२] [२] यो हदीस जरिअ रजियल्लाहु अन्हुबाट वर्णित छ। उहाँ अब्दुल कैसको प्रतिनिधिमण्डलमा सहभागी हुनुहुन्थ्यो। यसलाई अबू दाऊदले ‘किताबुल अदब’ अन्तर्गत ‘व्यक्तिको स्वभाव र प्रकृतिसम्बन्धी अध्याय’ मा (हदीस नं. ५२२५) उल्लेख गरेका छन्। त्यस्तै, इब्ने अब्बास रजियल्लाहु अन्हुमा बाट वर्णित यस हदीसलाई तिर्मिजीले ‘अबवाबुल बिर्र वस्सिला’ अन्तर्गत ‘धैर्यपूर्वक काम गर्ने र हतार गर्नेसम्बन्धी अध्याय’ मा (हदीस नं. २०११) उल्लेख गरेका छन्।
यसबाट के प्रमाणित हुन्छ भने, प्रशंसनीय र उत्तम नैतिक गुणहरू मानिसमा जन्मजात पनि हुन सक्छन् र अभ्यासद्वारा पनि विकास गर्न सकिन्छ। तर निःसन्देह, जन्मजात स्वभाव अभ्यासद्वारा आर्जन गरिएको स्वभावभन्दा उत्तम हुन्छ। किनकि कुनै नैतिक गुण मानिसमा प्राकृतिक रूपमै विद्यमान छ भने त्यो उसको स्थायी स्वभाव र प्रकृति बन्दछ। त्यसलाई व्यवहारमा उतार्न उसले कुनै कठिन प्रयत्न वा कृत्रिम आडम्बर गर्नुपर्दैन। तर यो अल्लाहको अनुग्रह हो, जुन उहाँले आफूले चाहनुभएको व्यक्तिलाई प्रदान गर्नुहुन्छ। जो व्यक्ति यस अनुग्रहबाट वञ्चित रहन्छ, अर्थात् जसले जन्मजात रूपमा उत्तम नैतिक स्वभाव पाएको हुँदैन, उसले पनि अभ्यासद्वारा त्यसलाई हासिल गर्न सक्छ। यसका लागि निरन्तर अभ्यास र व्यवहारमा उतार्ने प्रयत्न आवश्यक हुन्छ। इन्शाअल्लाह, यसबारे हामी पछि चर्चा गर्नेछौँ।
यहाँ एउटा प्रश्न उठ्छ: उत्तम नैतिक स्वभाव जन्मजात रूपमा प्राप्त गरेको व्यक्ति र आफूमा त्यस्तो स्वभाव विकास गर्न निरन्तर आत्मसंघर्ष गर्ने व्यक्ति, यी दुईमध्ये को बढी श्रेष्ठ छ? र यी दुईमध्ये कसको दर्जा उच्च तथा प्रतिफल ठूलो छ?
यस प्रश्नको जवाफमा हामी भन्छौँ: निःसन्देह, जन्मजात रूपमा उत्तम नैतिक स्वभाव प्राप्त गरेको व्यक्ति त्यस स्वभावको पूर्णता र आफूमा त्यसको विद्यमानताका दृष्टिले बढी परिपूर्ण हुन्छ। किनकि उसले त्यसका लागि कुनै कष्ट वा कठिनाइ भोग्नुपर्दैन। साथै, कुनै विशेष परिस्थिति वा स्थानमा उसबाट त्यो गुण हराउने सम्भावना पनि हुँदैन। किनभने उत्तम नैतिक स्वभाव उसको स्थायी प्रकृति र जन्मजात गुण बनेको हुन्छ। त्यसैले तपाईंले उसलाई जुनसुकै समयमा भेट्नुभयो भने पनि उसको व्यवहार उत्तम नैतिक गुणले युक्त पाउनुहुनेछ; जुनसुकै स्थानमा भेट्नुभयो भने पनि उसको स्वभाव उत्तम नैतिक गुणले भरिपूर्ण पाउनुहुनेछ; र जुनसुकै अवस्थामा भेट्नुभयो भने पनि उसलाई उत्तम नैतिक आचरण भएको पाउनुहुनेछ। यस दृष्टिले निःसन्देह ऊ बढी परिपूर्ण हुन्छ।
तर अभ्यास, आत्मसंयम र निरन्तर प्रयत्नद्वारा विकास गरिएको नैतिक स्वभावका हकमा भने मानिसले आफ्नो मनलाई त्यसअनुरूप ढाल्न गरेको आत्मसंघर्षका कारण प्रतिफल पाउँछ। तर नैतिक स्वभावको पूर्णताका दृष्टिले ऊ पहिलो प्रकारको व्यक्तिभन्दा धेरै कम परिपूर्ण हुन्छ।
यदि कुनै व्यक्तिले दुवै प्रकारका नैतिक स्वभाव प्राप्त गर्यो; अर्थात् जन्मजात रूपमा पनि र अभ्यासद्वारा पनि भने त्यो नै सबैभन्दा पूर्ण अवस्था हुन्छ। यसरी नैतिक स्वभावका चार प्रकार हुन्छन्:
१- जो उत्तम नैतिक स्वभावबाट वञ्चित छ।
२- जसले उत्तम नैतिक स्वभाव जन्मजात रूपमा पाएको छ, तर त्यसैमा मात्र सीमित रहेको छ।
३. जसले उत्तम नैतिक स्वभाव जन्मजात रूपमा पाएको छ र अभ्यासद्वारा त्यसलाई अझ विकसित गरेको छ।
४- जसले उत्तम नैतिक स्वभाव जन्मजात रूपमा पाएको छैन, तर अभ्यास र प्रयत्नद्वारा त्यसलाई आफूमा विकास गरेको छ।
निष्कर्ष: उत्तम नैतिक स्वभावको पूर्णताका दृष्टिले जन्मजात रूपमा यस्तो स्वभाव प्राप्त गरेको व्यक्ति बढी परिपूर्ण हुन्छ। तर उत्तम नैतिक स्वभाव हासिल गर्न भोग्नुपरेको कष्ट र कठिनाइका दृष्टिले भने अभ्यास र प्रयत्नद्वारा त्यसलाई आफूमा विकास गर्ने व्यक्तिले आत्मसंघर्ष गरेको प्रतिफल प्राप्त गर्छ।
यहाँ अर्को प्रश्न उठ्छ: के कुरआन र सुन्नतमा उल्लेख नभएका पनि कुनै नैतिक गुणहरू छन्? यदि छन् भने, तिनलाई चिन्ने उपाय के हो?
जवाफ: रसूलु (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: “निश्चय नै, मलाई उत्कृष्ट नैतिक गुणहरूलाई पूर्णता प्रदान गर्नका लागि नै पठाइएको हो।” [३] यसको कारण के हो भने, अल्लाहले आफ्ना भक्तहरूका लागि निर्धारित गर्नुभएका यसअघिका सबै शरिअतहरूले पनि उत्तम नैतिक गुणहरू अपनाउन प्रेरित गरेका थिए। यही कारणले विद्वान्हरूले भनेका छन्, उत्तम नैतिक गुणहरू ती हुन्, जसलाई अपनाउन सबै शरिअतहरू एकमत भएका छन्। तर यस पूर्ण शरिअतमा नबी ﷺ लाई उच्च नैतिक गुणहरूलाई पूर्णता प्रदान गर्नका लागि पठाइएको थियो। [३] यो हदीस अहमद (२/३८१) र बैहकीले ‘अस्सुननुल कुब्रा’ (१०/२३३) मा अबू हुरैरह (रजियल्लाहु अन्हु) बाट रिवायत गरेका छन्। हदीसका शब्द बैहकीका हुन्।
यसलाई स्पष्ट पार्न हामी क़िसास (अपराधअनुसार दिइने समान दण्ड) को उदाहरण लिन सक्छौँ। अर्थात्, यदि कसैले कसैमाथि अपराध गर्छ भने, के उसबाट त्यस अपराधको बदला लिइनुपर्छ कि पर्दैन? विद्वान्हरूले उल्लेख गरेका छन्, यहूदीहरूको शरिअतमा क़िसास अनिवार्य थियो र त्यसबाट उम्कने कुनै उपाय थिएन। पीडित पक्षलाई पनि यस विषयमा कुनै विकल्प दिइएको थिएन। तर इसाईहरूको शरिअतमा यसको ठीक विपरीत, क्षमा गर्नु अनिवार्य थियो। तर हाम्रो शरिअत दुवै दृष्टिले पूर्ण छ। यसमा क़िसासको व्यवस्था पनि छ र क्षमा गर्ने विकल्प पनि। किनकि अपराधीलाई उसको अपराधअनुसार दण्ड दिँदा न्यायको दृढता कायम हुन्छ र दुष्टताको बाटो रोकिन्छ भने, उसलाई क्षमा गर्दा उपकार र भलाइको व्यवहार प्रकट हुन्छ। त्यसैले हाम्रो शरिअत—सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो—पूर्ण र परिपूर्ण भएर आएको छ। यसले अधिकारप्राप्त व्यक्तिलाई क्षमा गर्ने वा आफ्नो अधिकारअनुसार बदला लिने दुवै विकल्प दिएको छ, ताकि क्षमा गर्नु उपयुक्त हुने अवस्थामा उसले क्षमा गरोस् र दण्ड दिनु उपयुक्त हुने अवस्थामा आफ्नो अधिकार प्रयोग गरोस्।
*
उत्तम नैतिकआचरणका विविध पक्षहरू
धेरै मानिसको बुझाइमा उत्तम नैतिक आचरण भनेको सृष्टिहरूसँग गरिने व्यवहारमा मात्र सीमित हुन्छ, सृष्टिकर्तासँग गरिने व्यवहारमा यसको कुनै सम्बन्ध हुँदैन। तर यस्तो बुझाइ अपूर्ण छ। किनकि उत्तम नैतिक आचरण जसरी सृष्टिहरूसँगको व्यवहारमा आवश्यक हुन्छ, त्यसरी नै सृष्टिकर्तासँगको व्यवहारमा पनि आवश्यक हुन्छ।
अतः उत्तम नैतिक आचरणको विषय भनेको महान् र सर्वोच्च अल्लाहसँग गरिने व्यवहारका साथै उहाँका सृष्टिहरूसँग गरिने व्यवहार पनि हो। यस कुरामा विशेष ध्यान दिनु आवश्यक छ।
पहिलो: महान् र सर्वोच्च अल्लाहसँगको व्यवहारमा उत्तम नैतिक आचरण अपनाउनु।
अल्लाहसँगको व्यवहारमा उत्तम नैतिक आचरण अपनाउनुका तीनवटा पक्षहरू छन्:
१– अल्लाहले जानकारी दिनुभएका सबै कुरालाई सत्य मानेर स्वीकार गर्नु।
२– उहाँका आदेश र विधिविधानको पालना गर्नु तथा तिनलाई व्यवहारमा उतार्नु।
३– उहाँले निर्धारण गर्नुभएको तक्दिरलाई धैर्यपूर्वक स्वीकार गर्नु र उहाँको निर्णयप्रति सन्तुष्ट रहनु।
यी तीनवटा कुरामै अल्लाह तआलासँगको उत्तम नैतिक आचरणको आधार निहित छ।
१– अल्लाहले दिनुभएका खबरहरूलाई पूर्ण सत्य मानेर स्वीकार गर्नु। यसरी स्वीकार गर्नुपर्छ कि अल्लाहको कुनै पनि खबरको सत्यतामाथि मानिसको मनमा कुनै शङ्का वा द्विविधा उत्पन्न नहोस्। किनकि अल्लाह तआलाले दिनुभएको खबर पूर्ण ज्ञानमा आधारित हुन्छ र उहाँ नै सबैभन्दा सत्य बोल्ने हुनुहुन्छ। जसरी अल्लाह तआलाले आफ्नै बारेमा भन्नुभएको छ: “...अल्लाहभन्दा बढी सत्य कुरा बोल्ने अरू को हुन सक्छ र?” [अन्-निसा: ८७]
अल्लाहका खबरहरूलाई सत्य मानेर स्वीकार गर्नुको अनिवार्य परिणामस्वरूप मानिसले तिनमाथि पूर्ण विश्वास राख्नुपर्छ, तिनको पक्षमा दृढतापूर्वक उभिनुपर्छ र तिनको समर्थनमा निरन्तर प्रयत्न गर्नुपर्छ। अल्लाह र उहाँका रसूल ﷺ बाट प्राप्त खबरहरूको सत्यताबारे उसको मनमा कुनै शङ्का उत्पन्न हुनु हुँदैन र कसैले शङ्का उत्पन्न गराउन खोजे पनि ऊ त्यसबाट प्रभावित हुनु हुँदैन।
जब भक्तले आफूमा यस्तो नैतिक गुण विकास गर्छ, तब अल्लाह र उहाँका रसूल ﷺ का खबरहरूमाथि विरोधीहरूले उठाउने सबै प्रकारका शङ्का र भ्रमहरूको खण्डन गर्न ऊ सक्षम हुन्छ। चाहे ती अल्लाहको धर्ममा त्यसको अङ्ग नभएका नयाँ कुराहरू समावेश गर्ने मुस्लिमहरू हुन्, चाहे मुस्लिमहरूको हृदयमा शङ्का र भ्रम उत्पन्न गराउने गैर-मुस्लिम नास्तिकहरू।
यसको एउटा उदाहरण प्रस्तुत गरौँ: सहीह बुखारीमा अबू हुरैरह (रजियल्लाहु अन्हु) बाट वर्णित छ, नबी ﷺ ले भन्नुभयो: “तिमीहरूमध्ये कसैको पेय पदार्थमा झिँगा खस्यो भने त्यसलाई पूरै डुबाएर त्यसपछि बाहिर निकालोस्; किनकि त्यसका दुई पखेटामध्ये एउटामा रोग हुन्छ भने अर्कोमा त्यसको उपचार हुन्छ।” [४] [४] यो हदीस बुखारीले ‘किताबु बद्इल खल्क’ अन्तर्गत ‘तिमीहरूमध्ये कसैको पेयमा झिँगा खस्यो भने त्यसलाई डुबाओस्, किनकि त्यसका दुई पखेटामध्ये एउटामा रोग र अर्कोमा उपचार हुन्छ’ भन्ने अध्यायमा अबू हुरैरह (रजियल्लाहु अन्हु) बाट रिवायत गरेका छन्। हदीस नं. ३३२०।
यो त्यस्तो खबर हो, जुन अल्लाहका रसूल ﷺ ले हामीलाई दिनुभएको छ र जुन अदृश्य विषयहरूसँग सम्बन्धित छ। उहाँ आफ्नै इच्छाअनुसार बोल्नुहुन्न, बरु अल्लाह तआलाले उहाँमाथि जे वह्य अवतरित गर्नुहुन्छ, त्यही बोल्नुहुन्छ। किनकि उहाँ पनि एक मानव हुनुहुन्छ र मानिसले अदृश्य कुराहरू जान्न सक्दैन। यसैकारण अल्लाह तआलाले उहाँको बारेमा भन्नुभयो: “भनिदिनुहोस्, म तिमीहरूलाई यो भन्दिनँ, मसँग अल्लाहका खजानाहरू छन्, न त म अदृश्य कुराहरू जान्दछु, न त म तिमीहरूलाई यो भन्दछु, म एक फरिश्ता हुँ। म त केवल त्यही कुराको अनुसरण गर्छु, जुन ममाथि वह्य गरिन्छ...।” [अन्आम: ५०]
अतः यस हदीसप्रति हामीले उत्तम नैतिक आचरणका साथ प्रस्तुत हुनुपर्छ। यस खबरप्रति उत्तम नैतिक आचरण अपनाउनु भनेको यसलाई सहर्ष स्वीकार गर्नु र नबी ﷺ ले यस हदीसमा जे भन्नुभएको छ, त्यो पूर्णतः सत्य र यथार्थ हो भन्ने कुरामा दृढ विश्वास राख्नु हो, चाहे विरोधीहरूले जतिसुकै विरोध किन नगरून्। साथै, हामीले पूर्ण विश्वासका साथ यो जान्नुपर्छ, अल्लाहका रसूल ﷺ बाट प्रमाणित सही कुराको विपरीत हुने प्रत्येक कुरा असत्य हो। किनभने अल्लाहले भन्नुभएको छ: “...सत्यपछि भ्रमबाहेक अरू के नै हुन सक्छ र? तैपनि तिमीहरू कता बहकाइँदै छौ?” [यूनुसः ३२]
अर्को उदाहरण कियामतका दिनसम्बन्धी खबरहरूबाट लिऔँ:
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ: “कियामतका दिन सूर्य सृष्टिहरूको अत्यन्त नजिक आउनेछ, यहाँसम्म कि त्यसको दूरी एक माइल मात्र हुनेछ।” [५] यो दूरी आँखामा सुरमा लगाउने सलाईको लम्बाइबराबर होस् वा यात्राको दूरी मापन गर्ने माइल होस्, दुवै अवस्थामा सूर्य र सृष्टिहरूका शिरबीचको दूरी अत्यन्तै कम हुनेछ। तैपनि मानिसहरू त्यसको तापले जलेर भस्म हुनेछैनन्। जबकि अहिले यस सांसारिक जीवनमा सूर्य अलिकति मात्र नजिक आयो भने पनि सम्पूर्ण संसार नै जलेर नष्ट हुनेछ। [५] यो हदीस मुस्लिमले ‘किताबुल जन्नह’ अन्तर्गत ‘कियामतको दिनको अवस्थाको वर्णन’ भन्ने अध्यायमा मिक्दाद इब्नुल अस्वद (रजियल्लाहु अन्हु) बाट रिवायत गरेका छन्। हदीस नं. २८६४।
कसैले यस्तो प्रश्न उठाउन सक्छ: कियामतका दिन सूर्य सृष्टिहरूका शिरको यति नजिक आउनेछ, तैपनि मानिसहरू केही क्षणसम्म कसरी जीवित रहन सक्नेछन्?!
त्यसो भए, यस हदीसप्रति उत्तम नैतिक आचरण अपनाउनु भनेको के हो?
यस हदीसप्रति उत्तम नैतिक आचरण अपनाउनु भनेको यसलाई स्वीकार गर्नु र सत्य मान्नु हो। यसप्रति हाम्रो मनमा कुनै सङ्कोच, असहजता वा द्विविधा हुनुहुँदैन। साथै, नबी ﷺ ले यस विषयमा जे खबर दिनुभएको छ, त्यो पूर्णतः सत्य हो भन्ने कुरामा दृढ विश्वास राख्नुपर्छ।
आखिरतका अवस्थाहरूलाई दुनियाँका अवस्थाहरूसँग तुलना गरेर बुझ्न सकिँदैन, किनकि यी दुईबीच अत्यन्त ठूलो भिन्नता छ। हामीलाई थाहा छ, कियामतको दिन मानिसहरू पचास हजार वर्षसम्म उभिइरहनेछन्। अब दुनियाँको समयको मापदण्डअनुसार विचार गरौँ त, के कुनै मानिस पचास हजार वर्षसम्म उभिइरहन सक्छ?
जवाफः सक्दैन। त्यसैले यी दुई अवस्थाबीचको भिन्नता अत्यन्त ठूलो छ। जब वास्तविकता यस्तो छ भने मोमिनले यस प्रकारको समाचारलाई खुला हृदय र पूर्ण ढुक्कताका साथ स्वीकार गर्छ। उसको बुझाइले त्यसलाई सहजै ग्रहण गर्छ र उसको हृदय पनि त्यसलाई स्वीकार गर्न खुला हुन्छ।
२- अल्लाहका आदेशहरूलाई स्वीकार गर्दै तिनको पालना र कार्यान्वयन गर्नु: अल्लाहका कुनै पनि आदेशलाई अस्वीकार गर्नु हुँदैन। यदि कसैले अल्लाहका कुनै आदेशलाई अस्वीकार गर्छ भने यो अल्लाह अज़्ज व जल्लप्रतिको खराब आचरण हो। चाहे उसले त्यस आदेशको वैधता नै अस्वीकार गरेर त्यसलाई नमानोस्, चाहे त्यसअनुसार काम गर्न अहङ्कारवश इन्कार गरोस् वा त्यसको पालना गर्न बेवास्ता र लापरवाही गरोस्—यी सबै व्यवहार अल्लाह अज़्ज व जल्लप्रतिको उत्तम नैतिक आचरणको विपरीत हुन्।
यसको एउटा अर्को उदाहरण लिऔँ: रमजान महिनामा हामीले गर्ने कठिन सत्कर्महरूलाई विचार गरौँ। निश्चय नै, रोजा बस्नु मनका लागि कठिन हुन्छ, किनकि यस अवधिमा मानिसले आफ्नो बानी परिसकेको खानपान, पिउने कुरा र दाम्पत्य सम्बन्धबाट टाढा रहनुपर्छ। यो मानिसका लागि निश्चय नै कठिन कुरा हो। तर अल्लाह अज़्ज व जल्लसँग उत्तम नैतिक आचरण भएको मोमिनले यस जिम्मेवारीलाई सहर्ष स्वीकार गर्छ। अझ उपयुक्त शब्दमा भन्नुपर्दा, उसले यस सम्मानलाई सहर्ष अङ्गीकार गर्छ। यो अल्लाह अज़्ज व जल्लको एउटा अनुग्रह हो, जसलाई उसले खुला हृदय र पूर्ण सन्तुष्टिका साथ स्वीकार गर्छ। उसको मन यसका लागि सहजै तयार हुन्छ। त्यसैले तपाईंले उसलाई गर्मीका लामा–लामा दिनहरूमा पनि रोजा बसिरहेको देख्नुहुन्छ, तर ऊ यसप्रति पूर्ण सन्तुष्ट र प्रसन्न हुन्छ। किनकि उसले आफ्नो रबसँग उत्तम आचरण अपनाएको हुन्छ। तर अल्लाहसँग खराब आचरण राख्ने व्यक्तिले यस्तै इबादतप्रति झर्को र अरुचि व्यक्त गर्छ। यदि उसलाई यसको परिणाम राम्रो नहुने कुनै कुराको डर नहुन्थ्यो भने उसले रोजा बस्ने प्रतिबद्धता नै पूरा गर्ने थिएन।
अर्को उदाहरण नमाज हो: यसमा कुनै शङ्का छैन कि नमाज केही मानिसहरूका लागि कठिन हुन्छ। विशेष गरी, यो मुनाफिकहरूका लागि निकै बोझिलो हुन्छ। जसरी नबी ﷺ ले भन्नुभएको छः "मुनाफिकहरूका लागि सबैभन्दा बढी बोझिलो नमाज इशा र फज्रको नमाज हो।" [६] [६] यो हदीस अबू हुरैरह रजियल्लाहु अन्हुबाट वर्णित छ। यसलाई इमाम बुखारीले (किताबुल अजान, जमातका साथ इशाको नमाजको महत्त्वसम्बन्धी अध्याय, हदीस नं. ६५७) र इमाम मुस्लिमले (किताबुल मसाजिद, जमातका साथ नमाज पढ्नुको महत्त्वसम्बन्धी अध्याय, हदीस नं. ६५१) मा उल्लेख गरेका छन्।
तर मोमिनका लागि नमाज बोझिलो हुँदैन। अल्लाह तआलाले भन्नुभएको छः “धैर्य र नमाजद्वारा सहायता माग। निश्चय नै, नमाज अत्यन्त कठिन छ, तर विनम्रतापूर्वक अल्लाहप्रति समर्पित रहनेहरूका लागि होइन। ती नम्र हृदय भएका व्यक्तिहरू हुन्, जसले आफ्ना रबसँग भेट हुने र आफूहरू उहाँतर्फ नै फर्केर जाने कुरामा दृढ विश्वास राख्छन्।” [अल्-बकरह: ४५-४६] त्यस्ता व्यक्तिहरूका लागि नमाज कठिन हुँदैन, बरु सहज र सरल हुन्छ। त्यसैले नबी ﷺ ले भन्नुभएको छः “नमाजमा मेरो आँखाको शीतलता राखिएको छ।” [७] [७] यो हदीस अनस रजियल्लाहु अन्हुबाट वर्णित छ। यसलाई इमाम अहमदले (३/१२८) र इमाम नसाईले (किताबु इश्रतिन्निसा, हुब्बुन्निसा अध्याय, हदीस नं. ३९४०) मा उल्लेख गरेका छन्।
नमाजका सम्बन्धमा अल्लाह अज़्ज व जल्लसँग उत्तम नैतिक आचरण राख्नु भनेको खुला हृदय, पूर्ण सन्तुष्टि र मनको प्रसन्नताका साथ नमाज अदा गर्नु हो। नमाज पढ्दा तपाईंको मन आनन्दित रहोस् र अर्को नमाजको समय नजिकिँदै गर्दा तपाईं उत्सुकतापूर्वक त्यसको प्रतीक्षामा रहनुहोस्। जब तपाईं फज्रको नमाज अदा गर्नुहुन्छ, तब जुहरको नमाजको प्रतीक्षामा रहनुहोस्। जुहरको नमाज अदा गरेपछि असरको नमाजको प्रतीक्षा गर्नुहोस्। असरको नमाज अदा गरेपछि मगरिबको नमाजप्रति उत्सुक रहनुहोस्। मगरिबको नमाज अदा गरेपछि इशाको नमाजको प्रतीक्षा गर्नुहोस् र इशाको नमाज अदा गरेपछि फेरि फज्रको नमाजको प्रतीक्षामा रहनुहोस्। यसरी तपाईंको हृदय सधैँ यी इबादतहरूसँग जोडिरहोस्। निःसन्देह, यो अल्लाह तआलासँग उत्तम नैतिक आचरण प्रस्तुत गर्ने एउटा उत्कृष्ट उदाहरण हो।
कारोबार तथा आपसी व्यवहारसम्बन्धी तेस्रो उदाहरणः ब्याजलाई हराम ठहराउनु। अल्लाहले कुरआनमा स्पष्ट शब्दमा ब्याजलाई हाम्रा लागि हराम ठहराउनुभएको छ। जसरी अल्लाह तआलाले भन्नुभएको छः “...अल्लाहले व्यापारलाई हलाल र ब्याजलाई हराम ठहराउनुभएको छ..।” (सूरह अल्-बकरह, २७५) यसै विषयमा उहाँले भन्नुभएको छः “...जसकहाँ आफ्ना रबको तर्फबाट उपदेश आइपुग्यो र त्यसपछि उसले ब्याज लिन छोड्यो भने, विगतमा उसले जे लिइसकेको छ, त्यो उसैको हुनेछ र उसको मामिला अल्लाहकै जिम्मामा हुनेछ। तर जो फेरि ब्याज लिनतर्फ फर्कन्छ, त्यस्ता मानिसहरू नै जहन्नमवासी हुन्। उनीहरू त्यसमा सधैँ रहनेछन्।” [अल-बकरह: २७५] यसरी अल्लाहले उपदेश प्राप्त गरिसकेपछि र यसको हुक्म थाहा पाएपछि पनि फेरि ब्याजको कारोबारमा फर्कने व्यक्तिलाई जहन्नममा सधैँ रहनुपर्ने चेतावनी दिनुभएको छ। अल्लाहले हामीलाई जोगाऊन्।
मोमिनले यस हुक्मलाई खुला हृदय, प्रसन्नता र पूर्ण समर्पणका साथ स्वीकार गर्छ। तर ईमान नभएको व्यक्तिले यसलाई स्वीकार गर्दैन, बरु यसप्रति उसको मन खिन्न हुन्छ। सम्भवतः उसले यसबाट उम्किन विभिन्न किसिमका बहानाबाजी र जालझेलसमेत गर्छ। किनकि हामीलाई थाहा छ, ब्याजमा निश्चित आम्दानी हुन्छ र त्यसमा कुनै जोखिम हुँदैन। तर वास्तविकतामा यो एक व्यक्तिका लागि फाइदा र अर्को व्यक्तिका लागि अन्याय हो। यही कारणले अल्लाह तआलाले भन्नुभएको छः “...यदि तिमीहरूले तौबा गर्यौ भने, तिमीहरूका मूलधन तिमीहरूकै हुनेछन्। यसरी न तिमीहरूले कसैमाथि अन्याय गर्नेछौ, न तिमीहरूमाथि अन्याय गरिनेछ।” [अल्-बकरह: २७९]
३- अल्लाह तआलाको निर्णयलाई प्रसन्नता र धैर्यका साथ स्वीकार गर्नु: यो अल्लाहसँग उत्तम नैतिक आचरण अपनाउने तेस्रो पक्ष हो। हामी सबैलाई थाहा छ, अल्लाह अज़्ज व जल्लले आफ्ना सृष्टिका सम्बन्धमा गर्नुभएका सबै निर्णयहरू मानिसहरूका लागि अनुकूल हुँदैनन्। के अल्लाहले हाम्रो भाग्यमा जे लेख्नुभएको छ, ती सबै कुरा हामीलाई अनुकूल हुन्छन्? अर्थात्, के हाम्रो मनले ती कुराहरू रुचाउँछ र हामी तिनलाई मानसिक रूपमा सहजतापूर्वक स्वीकार गर्न सक्छौँ? वास्तविकता यस्तो छैन।
उदाहरणका लागि, रोग लाग्नु मानिसका लागि अनुकूल हुँदैन, किनकि हरेक मानिस स्वस्थ रहन चाहन्छ।
त्यसैगरी, गरिबी पनि मानिसका लागि अनुकूल हुँदैन, किनकि हरेक मानिस धनी बन्न चाहन्छ। अज्ञानता पनि मानिसका लागि अनुकूल हुँदैन, किनकि हरेक मानिस ज्ञानी बन्न चाहन्छ। तर अल्लाह अज़्ज व जल्लले आफ्नो पूर्ण हिक्मतअनुसार मानिसहरूका भाग्यमा विभिन्न प्रकारका परिस्थिति र घटनाहरू लेख्नुभएको हुन्छ। तीमध्ये केही मानिसको स्वभावअनुकूल हुन्छन् र उसलाई सहज लाग्छन् भने केही त्यस्ता हुँदैनन्। त्यसो भए, अल्लाह अज़्ज व जल्लले निर्धारण गर्नुभएका यस्ता निर्णयहरूप्रति उत्तम नैतिक आचरण अपनाउनु भनेको के हो?
अल्लाहले तपाईंका लागि जे निर्धारण गर्नुभएको छ, त्यसप्रति सन्तुष्ट रहनु, त्यसलाई शान्त र स्थिर मनले स्वीकार गर्नु तथा उहाँले कुनै पनि कुरा पूर्ण हिक्मत र उत्कृष्ट उद्देश्यबिना निर्धारण गर्नुभएको हुँदैन भन्ने कुरामा दृढ विश्वास राख्नु नै उहाँका निर्णयहरूप्रति उत्तम नैतिक आचरण हो। त्यसैले उहाँले गर्नुभएका प्रत्येक निर्णय प्रशंसा र कृतज्ञताका पात्र छन्।
यस आधारमा, अल्लाहले निर्धारण गर्नुभएका परिस्थितिहरूप्रति उत्तम नैतिक आचरण अपनाउनु भनेको मानिसले तीप्रति सन्तुष्ट रहनु, पूर्ण समर्पणका साथ स्वीकार गर्नु र आफ्नो मनलाई शान्त राख्नु हो। यही कारणले अल्लाह तआलाले धैर्य गर्नेहरूको प्रशंसा गर्दै भन्नुभएको छः “...र धैर्य गर्नेहरूलाई शुभ समाचार सुनाइदिनुहोस्। “ती मानिसहरू, जसलाई कुनै विपत्ति आइपर्दा उनीहरू भन्छन्, ‘निश्चय नै, हामी अल्लाहकै हौँ र निश्चय नै, हामी उहाँतर्फ नै फर्केर जानेछौँ।’” [अल्-बकरह: १५५-१५६]
दोस्रो: सृष्टिसँगको व्यवहारमा उत्तम आचरण अपनाउनु:
जहाँसम्म सृष्टिका प्राणीहरूसँग उत्तम नैतिक आचरण अपनाउने कुरा छ, यसलाई केही विद्वान्हरूले—जसमध्ये हसन बसरी रहिमहुल्लाह पनि हुनुहुन्छ—यसरी परिभाषित गरेका छन्: अरूलाई दुःख नदिनु, उदारतापूर्वक सहयोग गर्नु र हँसिलो अनुहारले भेट्नु। [८] [८] इह्या उलुम अद्-दीन (३/५२-५३)।
पहिलोः अरूलाई दुःख नदिनुको अर्थ मानिसले अरूलाई कुनै पनि प्रकारको हानि नपुर्याउनु हो। यस्तो हानि धनसम्पत्तिसँग सम्बन्धित हुन सक्छ, शारीरिक हुन सक्छ वा मान–सम्मानसँग सम्बन्धित हुन सक्छ। जसले अरूलाई दुःख र हानि पुर्याउनबाट आफूलाई रोक्दैन, उसको आचरण उत्तम हुँदैन, बरु ऊ खराब आचरण भएको व्यक्ति हो।
रसूलुल्लाह ﷺ ले आफ्ना अनुयायीहरूसँग गर्नुभएको सबैभन्दा ठूलो जमघटमा पनि यस प्रकारको हानि पुर्याउनुलाई निषेध गर्नुभएको थियो। उहाँले भन्नुभएको थियोः “निश्चय नै, तिमीहरूका रगत, तिमीहरूका धनसम्पत्ति र तिमीहरूको मान–सम्मान एकअर्काका लागि त्यत्तिकै पवित्र र निषिद्ध छन्, जति यस दिन, यस महिना र यस सहरको पवित्रता छ।” [९] [९] यो हदीस अबू बकरह रजियल्लाहु अन्हुबाट वर्णित छ। यसलाई इमाम बुखारीले (किताबुल हज, मिना दिवसहरूमा खुत्बा दिने अध्याय, हदीस नं. १७४१) र इमाम मुस्लिमले (किताबुल कसामह, रगत बगाउने कार्यको निषेधलाई कडाइका साथ उल्लेख गरिएको अध्याय, हदीस नं. १६७९) मा उल्लेख गरेका छन्।
यदि कुनै व्यक्तिले अरूको धनसम्पत्ति हडपेर, ठगी गरेर, विश्वासघात गरेर, कुटपिट तथा अन्य अपराध गरेर अथवा गालीगलौज र परनिन्दा गरेर अरूलाई दुःख र हानि पुर्याउँछ भने ऊ मानिसहरूसँग राम्रो आचरण गर्ने व्यक्ति हुन सक्दैन। किनकि उसले अरूलाई दुःख र हानि पुर्याउनबाट आफूलाई रोकेको छैन। अझ, जसप्रति यस्तो व्यवहार गरिएको हो, उसको अधिकार जति ठूलो हुन्छ, त्यसअनुसार यस्तो व्यवहारको पाप पनि त्यति नै ठूलो हुन्छ।
उदाहरणका लागि, आमाबुबालाई दुःख दिनु अरू कसैलाई दुःख दिनुभन्दा ठूलो पाप हो। त्यसैगरी, आफन्तहरूलाई दुःख दिनु टाढाका मानिसहरूलाई दुःख दिनुभन्दा ठूलो पाप हो। छिमेकीहरूलाई दुःख दिनु पनि आफ्ना छिमेकी नभएका अरू मानिसहरूलाई दुःख दिनुभन्दा ठूलो पाप हो। यही कारणले नबी ﷺ ले भन्नुभएको छः “अल्लाहको कसम! ऊ मोमिन होइन। अल्लाहको कसम! ऊ मोमिन होइन। अल्लाहको कसम! ऊ मोमिन होइन।” सहाबाहरूले सोधे, “हे अल्लाहका रसूल! को हो त्यो व्यक्ति?” उहाँले भन्नुभयो, “जसको उपद्रव र हानिबाट उसको छिमेकी सुरक्षित हुँदैन।” [१०] [१०] यो हदीस अबू शुरैह रजियल्लाहु अन्हुबाट वर्णित छ। यसलाई इमाम बुखारीले (किताबुल अदब, आफ्नो छिमेकीलाई दुःख र हानि पुर्याउने व्यक्तिको पापसम्बन्धी अध्याय, हदीस नं. ६०१६) मा उल्लेख गरेका छन्।
दोस्रोः उदारतापूर्वक सहयोग गर्नुको अर्थ हो: आफ्नो उदारता र दानशीलता अरूका लागि खर्च गर्नु। उदारता भनेको केही मानिसहरूले ठानेजस्तै धनसम्पत्ति खर्च गर्नु मात्र होइन। बरु आफ्नो समय र श्रम, आफ्नो मान–प्रतिष्ठा तथा आफ्नो धनसम्पत्ति खर्च गर्नु पनि उदारताभित्रै पर्छ।
यदि हामी कुनै व्यक्तिलाई मानिसहरूका आवश्यकता पूरा गरिदिएको, उनीहरूलाई सहयोग गरेको, उनीहरूको कामका लागि उनीहरू आफैँ पुग्न नसक्ने व्यक्तिसमक्ष पुगेर पहल गरिदिएको, आफ्नो ज्ञान अरूलाई बाँडेको र आफ्नो धनसम्पत्ति मानिसहरूका लागि खर्च गरेको देख्छौँ भने हामी उसलाई उत्तम आचरण भएको व्यक्ति भन्छौँ। किनकि उसले आफ्नो उदारता अरूका लागि खर्च गरेको हुन्छ। यही कारणले नबी ﷺ ले भन्नुभएको छः “तपाईं जहाँसुकै भए पनि अल्लाहसँग डराउनुहोस्। कुनै नराम्रो काम भइहाल्यो भने त्यसपछि राम्रो काम गर्नुहोस्, यसले नराम्रो कामलाई मेटाइदिनेछ र मानिसहरूसँग उत्तम नैतिक आचरणका साथ व्यवहार गर्नुहोस्।” [११] [११] यो हदीस अबू जर रजियल्लाहु अन्हुबाट वर्णित छ। यसलाई इमाम तिर्मिजीले (किताबुल बिर्र वस्सिलह, मानिसहरूसँग उत्तम आचरणका साथ व्यवहार गर्ने अध्याय, हदीस नं. १९८७) मा उल्लेख गरेका छन्।
मानिसहरूसँग उत्तम आचरणका साथ व्यवहार गर्नुको एउटा महत्त्वपूर्ण पक्ष यो पनि हो कि कसैले तपाईंमाथि अन्याय गर्यो वा तपाईंलाई दुःख दियो भने तपाईं उसलाई क्षमा गर्नुहोस् र उसको गल्तीलाई बेवास्ता गर्नुहोस्। अल्लाह तआलाले अरूलाई क्षमा गर्नेहरूको प्रशंसा गर्नुभएको छ। जन्नतवासीहरूको प्रशंसा गर्दै उहाँले भन्नुभएको छः “ती मानिसहरू, जो सुख र दुःख दुवै अवस्थामा खर्च गर्छन्, रिसलाई नियन्त्रणमा राख्छन् र मानिसहरूलाई क्षमा गर्छन्। निश्चय नै, अल्लाह सत्कर्म गर्नेहरूलाई मन पराउनुहुन्छ।” [आल इमरान: १३४]
अल्लाहले भन्नुभएको छ: “...र क्षमा गर्नु तक्वासँग अझ बढी नजिक छ..।” [अल्-बकरह: २३७]
अल्लाहले भन्नुभएको छ: “...उनीहरूले क्षमा गरून् र गल्तीलाई बेवास्ता गरून्..।" [सुरह नूर:२२]
अल्लाहले भन्नुभएको छ: “...तर जसले क्षमा गर्छ र मेलमिलाप गराउँछ, उसको प्रतिफल अल्लाहकै जिम्मामा छ..।" [अश्शूरा: ४०]
हरेक मानिसको अरूसँग कुनै न कुनै सम्बन्ध हुन्छ। त्यसैले उसले अरूबाट कुनै न कुनै किसिमको नराम्रो व्यवहार भोग्नैपर्छ। यस्तो अवस्थामा उसको व्यवहार कस्तो हुनुपर्छ? उसले क्षमा गर्नुपर्छ र गल्तीलाई बेवास्ता गर्नुपर्छ। उसले पूर्ण विश्वासका साथ यो कुरा बुझ्नुपर्छ कि जब उसले अरूलाई क्षमा गर्छ, उनीहरूका गल्तीलाई बेवास्ता गर्छ र नराम्रो व्यवहारको जवाफ राम्रो व्यवहारले दिन्छ, तब ऊ र उसको दाजुभाइसरहको अर्को व्यक्तिबीच रहेको शत्रुता मित्रता र आत्मीयतामा परिणत हुनेछ। अल्लाह तआलाले भन्नुभएको छः “पुण्य र पाप कहिल्यै समान हुन सक्दैनन्। तपाईंले खराबीलाई त्यस तरिकाले हटाउनुहोस्, जुन सबैभन्दा उत्तम छ। त्यसो गर्नुभयो भने, तपाईं र जसको बीचमा शत्रुता छ, ऊ पनि मानौँ घनिष्ठ मित्र बनेर प्रस्तुत हुनेछ।” [फुस्सिलतः ३४]
यहाँ अरबी भाषाका जानकारहरूले एउटा कुरा ध्यान दिनुपर्छ: यस वाक्यमा नतिजा जनाउन आकस्मिकता बुझाउने ‘इज़ा’ (إِذَا) शब्द प्रयोग गरिएको छ। किनकि अरबी व्याकरणमा ‘इज़ा’ ले कुनै काम हुनेबित्तिकै त्यसको परिणाम तुरुन्तै देखा परेको अवस्थालाई जनाउँछ। "...त्यसो गर्नुभयो भने, तपाईं र जसको बीचमा शत्रुता छ, ऊ पनि मानौँ घनिष्ठ मित्र बनेर प्रस्तुत हुनेछ।" तर यस्तो उत्तम व्यवहार अपनाउने तौफीक सबैलाई प्राप्त हुँदैन। अल्लाह तआलाले भन्नुभएको छः “यो गुण धैर्य गर्नेहरूलाई मात्र प्रदान गरिन्छ र यो महान् सौभाग्य प्राप्त गर्ने व्यक्तिलाई मात्र हासिल हुन्छ।” [फुस्सिलतः ३५]
के यसबाट हामीले अपराध गर्ने व्यक्तिलाई क्षमा गर्नु सधैँ प्रशंसनीय र त्यसै गर्न आदेश दिइएको छ भन्ने बुझ्न सक्छौँ? आयतबाट यस्तो अर्थ बुझ्न सकिन्छ। तर यो कुरा स्पष्ट हुनुपर्छ कि क्षमा गर्नु त्यतिबेला मात्र प्रशंसनीय हुन्छ, जब क्षमा गर्नु नै उत्तम हुन्छ। यदि बदला लिनु नै उत्तम हुन्छ भने बदला लिनु नै बढी उपयुक्त हुन्छ। यही कारणले अल्लाह तआलाले भन्नुभएको छः “...तर जसले क्षमा गर्छ र मेलमिलाप गराउँछ, उसको प्रतिफल अल्लाहकै जिम्मामा छ..।" [अश्शूराः ४०] यसरी उहाँले क्षमा गर्नुलाई सुधार र मेलमिलाप गराउने कार्यसँग जोड्नुभएको छ।
त्यसैले क्षमा गर्नु सधैँ सुधार र मेलमिलापको कारण बन्दैन। तपाईंमाथि अपराध गर्ने र दुस्साहसपूर्वक अन्याय गर्ने व्यक्ति खराब आचरण तथा भ्रष्टाचारका लागि कुख्यात छ भने, तपाईंले उसलाई क्षमा गर्दा ऊ झन् आफ्नो खराबी र भ्रष्टाचारमा अघि बढ्न सक्छ। यस्तो अवस्थामा अपराधअनुसार कारबाही गर्नु नै उत्तम हुन्छ, किनकि त्यसैमा सुधार निहित हुन्छ। यसै सम्बन्धमा शैखुल इस्लाम इब्ने तैमिय्या रहिमहुल्लाहले भन्नुभएको छः “सुधार गर्नु अनिवार्य हो भने क्षमा गर्नु ऐच्छिक सत्कर्म हो। यदि क्षमा गर्दा सुधारको सम्भावना नै समाप्त हुन्छ भने यसको अर्थ हामीले अनिवार्य कार्यभन्दा ऐच्छिक सत्कर्मलाई प्राथमिकता दिएका छौँ। शरिअतले यस्तो गर्न कदापि निर्देशित गर्दैन।” उहाँ (रहिमहुल्लाह) ले सत्य नै भन्नुभएको छ।
यसै प्रसङ्गमा म एउटा यस्तो विषयतर्फ ध्यानाकर्षण गराउन चाहन्छु, जुन धेरै मानिसले अरूप्रति सद्भाव देखाउने उद्देश्यले गर्छन्। घटना यस्तो हुन्छ कि कुनै व्यक्तिका कारण भएको दुर्घटनामा अर्को व्यक्तिको मृत्यु हुन्छ। त्यसपछि मृतकका हकदारहरू आएर दुर्घटना गराउने व्यक्तिमाथि लाग्ने दिय्यत (रक्तपातको क्षतिपूर्ति) माफ गरिदिन्छन्। अब प्रश्न उठ्छ—के उनीहरूले दिय्यत माफ गर्नु प्रशंसनीय कार्य हो र यसलाई उत्तम नैतिक आचरण मानिन्छ, अथवा यस विषयमा केही विस्तृत कुरा छन्?
यस विषयमा विस्तृत विचार गर्न आवश्यक छ। त्यसैले दुर्घटना गराउने व्यक्तिको अवस्था राम्ररी विचार गर्नुपर्छ। के ऊ लापरवाह र कुनै कुराको परवाह नगर्ने व्यक्तिका रूपमा परिचित छ? के ऊ त्यस्तो प्रवृत्तिको व्यक्ति हो, जसलाई—अल्लाहको शरण चाहन्छौँ—आफूले क्षतिपूर्तिको रकम तिर्न सक्ने भएकाले कसैलाई गाडीले ठक्कर दिँदा पनि कुनै चिन्ता हुँदैन? अथवा ऊ त्यस्तो व्यक्ति हो, जसबाट पूर्ण सावधानी र सन्तुलन अपनाउँदा अपनाउँदै पनि यस्तो दुर्घटना हुन पुगेको हो, तर अल्लाह तआलाले हरेक कुराका लागि एउटा निश्चित मापदण्ड र समय निर्धारित गर्नुभएको छ?
यदि ऊ दोस्रो प्रकारको व्यक्ति हो भने उसलाई क्षमा गर्नु नै बढी उपयुक्त हुन्छ। तर यस्तो व्यक्तिलाई क्षमा गर्नुअघि पनि एउटा कुरा अवश्य विचार गर्नुपर्छ—के मृतकको सिरमा कुनै ऋण बाँकी छ? यदि मृतकमाथि ऋण छ र त्यो ऋण दिय्यतको रकमबाहेक अन्य कुनै सम्पत्तिबाट चुक्ता गर्न सम्भव छैन भने दिय्यत माफ गर्न मिल्दैन। किनकि ऋण चुक्ता गर्ने कार्य उत्तराधिकार बाँडफाँट गर्नुभन्दा पहिले आउँछ। यस्तो अवस्थामा हामीले दिय्यत माफ गरे पनि हाम्रो क्षमादान मान्य हुँदैन। यो यस्तो विषय हो, जसप्रति धेरै मानिसको ध्यान नपुग्न सक्छ। हामीले यसो भन्नुको कारण के हो भने, दुर्घटनामा मृत्यु भएको व्यक्तिबाटै उसका हकदारहरूले दिय्यत प्राप्त गर्ने अधिकार पाउँछन्। तर ऋण चुक्ता गरेपछि मात्र उनीहरूको यो अधिकार स्थापित हुन्छ। यही कारणले अल्लाह तआलाले विरासतको विषय उल्लेख गर्दा भन्नुभएको छः “...मृतकको सम्पत्ति उसको वसीयत (इच्छापत्र) कार्यान्वयन गरेपछि र उसमाथि रहेको ऋण चुक्ता गरेपछि मात्र बाँडफाँट गर्नुपर्छ...।” [अन्-निसा: ११]
निष्कर्षतः, उत्तम नैतिक आचरणमध्ये मानिसहरूलाई क्षमा गर्नु पनि पर्दछ। यो उदारतापूर्वक सहयोग गर्ने कार्यकै एउटा रूप हो। किनकि उदारता दुई प्रकारको हुन्छ—कसैलाई केही दिनु र कसैको दायित्व माफ गरिदिनु। क्षमा गर्नु दोस्रो प्रकारको उदारता हो।
तेस्रोः हँसिलो अनुहारले भेट्नु। अर्थात् मानिसको अनुहार सधैँ हँसिलो र प्रसन्न रहनुपर्छ। यसको विपरीत अनुहार खुम्च्याएर र अप्रसन्न भावले प्रस्तुत हुनु हो। यही कारणले नबी ﷺ ले भन्नुभएको छः “कुनै पनि सत्कर्मलाई तुच्छ नठान, चाहे त्यो आफ्नो दाजुभाइलाई हँसिलो र प्रसन्न अनुहारले भेट्नु नै किन नहोस्।” [१२] [१२] यो हदीस अबू जर रजियल्लाहु अन्हुबाट वर्णित छ। यसलाई इमाम मुस्लिमले (किताबुल बिर्र वस्सिलह, भेटघाटका क्रममा हँसिलो अनुहारले प्रस्तुत हुनु उत्तम हुने अध्याय, हदीस नं. २६२६) मा उल्लेख गरेका छन्।
हँसिलो र प्रसन्न अनुहारले भेट्दा तपाईंले भेट्ने व्यक्ति र तपाईंतर्फ आउने व्यक्तिको मनमा खुसी छाउँछ। यसले आपसी आत्मीयता र प्रेम बढाउँछ तथा तपाईं र तपाईंलाई भेट्ने दुवैको मन प्रफुल्लित बनाउँछ। एकपटक आफैँले यस्तो व्यवहार गरेर हेर्नुहोस्, यसको प्रभाव अवश्य अनुभव गर्नुहुनेछ।
तर तपाईंको अनुहार सधैँ खुम्चिएको र अप्रसन्न रहन्छ भने मानिसहरू तपाईंबाट टाढिन थाल्छन्। उनीहरूलाई तपाईंसँग बसेर कुराकानी गर्न पनि मन लाग्दैन। यस्तो स्वभावका कारण तपाईं उच्च रक्तचापजस्तो गम्भीर रोगको सिकारसमेत हुन सक्नुहुन्छ। वास्तवमा, मन प्रफुल्लित राख्नु र हँसिलो अनुहारले प्रस्तुत हुनु यस रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपायहरूमध्ये एक हो। यही कारणले चिकित्सकहरू उच्च रक्तचापबाट पीडित व्यक्तिहरूलाई तनाव र क्रोध उत्पन्न गराउने कुराहरूबाट टाढा रहन सल्लाह दिन्छन्, किनकि यस्ता कुराले रोगलाई झन् बढाउँछन्। हँसिलो र प्रसन्न अनुहारले प्रस्तुत हुँदा मन शान्त र प्रफुल्लित रहन्छ तथा मानिसहरूका बीच प्रिय बन्न सकिन्छ। यसरी यसले यस्तो रोगबाट बच्न पनि मद्दत पुर्याउँछ।
सृष्टिसँगको व्यवहारमा उत्तम नैतिक आचरण मूलतः यिनै तीन आधारमा केन्द्रित हुन्छ।
सृष्टिसँगको व्यवहारमा उत्तम नैतिक आचरणको एउटा पक्ष आफ्ना मित्र, आफन्त र परिवारका सदस्यहरूसँग राम्रो व्यवहार गर्नु पनि हो। उनीहरूसँग बस्दा न आफूलाई अप्ठ्यारो महसुस गर्नुपर्छ, न त उनीहरूलाई अप्ठ्यारोमा पार्नुपर्छ। बरु अल्लाहको शरिअतले तोकेको सीमाभित्र रहेर आफूले सकेसम्म उनीहरूलाई खुसी राख्नुपर्छ। यहाँ शरिअतको सीमाभित्र रहेर भन्ने सर्त अत्यन्त आवश्यक छ। किनकि कतिपय मानिस अल्लाहको अवज्ञा गरेर मात्र खुसी हुन्छन्—अल्लाहको शरण चाहन्छौँ। त्यस्ता मानिसको इच्छाअनुसार हामी चल्न सक्दैनौँ। तर शरिअतको सीमाभित्र रहेर आफ्ना परिवारका सदस्य, मित्र र आफन्तहरूलाई खुसी राख्नु उत्तम नैतिक आचरणकै एउटा हिस्सा हो। यही कारणले नबी ﷺ ले भन्नुभएको छः “तिमीहरूमध्ये सबैभन्दा उत्तम व्यक्ति त्यो हो, जो आफ्नो परिवारका लागि सबैभन्दा उत्तम हुन्छ र म तिमीहरूमध्ये आफ्नो परिवारका लागि सबैभन्दा उत्तम व्यक्ति हुँ।” [१३] [१३] यो हदीस आयशा रजियल्लाहु अन्हाबाट वर्णित छ। यसलाई इमाम तिर्मिजीले (किताबुल मनाकिब, नबी ﷺ का पत्नीहरूको श्रेष्ठतासम्बन्धी अध्याय, हदीस नं. ३८९५) र इमाम इब्ने माजहले (किताबुन निकाह, महिलाहरूसँग राम्रो व्यवहार गर्ने अध्याय, हदीस नं. १९७७) मा इब्ने अब्बास रजियल्लाहु अन्हुमाबाट पनि उल्लेख गरेका छन्।
अत्यन्त दुःखको कुरा, धेरै मानिस अरूसँग त राम्रो व्यवहार गर्छन्, तर आफ्नै परिवारका सदस्यहरूसँग राम्रो व्यवहार गर्दैनन्। यो गलत हो र वास्तविकतालाई उल्टो पार्नु हो। आखिर, तपाईं टाढाका मानिसहरूसँग त राम्रो व्यवहार गर्नुहुन्छ, तर आफ्नै आफन्तहरूसँग नराम्रो व्यवहार गर्नुहुन्छ—यो कसरी उचित हुन सक्छ?! यस्तो व्यवहार गर्ने व्यक्तिले भन्न सक्छ, “आफन्तहरूसँगको सम्बन्धमा औपचारिकता र देखावटी शिष्टाचारको कुनै बाध्यता महसुस गर्दिनँ, त्यसैले उनीहरूसँग नराम्रो व्यवहार गर्छु।” हामी उसलाई भन्छौँ, “यो सोचाइ सही होइन। आफन्तहरू नै ती मानिस हुन्, जससँग तपाईंले सबैभन्दा राम्रो संगत र व्यवहार गर्नुपर्छ।” यही कारणले एक व्यक्तिले सोधे, “हे अल्लाहका रसूल! मेरो राम्रो व्यवहारको सबैभन्दा बढी हकदार को हो?” उहाँले भन्नुभयो, “तिम्री आमा।” उनले फेरि सोधे, “त्यसपछि को?” उहाँले भन्नुभयो, “तिम्री आमा।” उनले फेरि सोधे, “त्यसपछि को?” उहाँले भन्नुभयो, “तिम्री आमा।” उनले फेरि सोधे, “त्यसपछि को?” उहाँले भन्नुभयो, “तिम्रा बुबा।” [१४] [१४] यो हदीस अबू हुरैरह रजियल्लाहु अन्हुबाट वर्णित छ। यसलाई इमाम बुखारीले (किताबुल अदब, मानिसहरूमध्ये राम्रो व्यवहारको सबैभन्दा बढी हकदार को हो भन्ने अध्याय, हदीस नं. ५९७१) र इमाम मुस्लिमले (किताबुल बिर्र वस्सिलह वल्-आदाब, आमाबुबाप्रति सद्व्यवहार गर्ने र उनीहरू नै यसको सबैभन्दा बढी हकदार हुने अध्याय, हदीस नं. २५४८) मा उल्लेख गरेका छन्।
तर कतिपय मानिसको व्यवहार ठीक यसको विपरीत हुन्छ। उनीहरू आफ्नी आमासँग नराम्रो व्यवहार गर्छन्, तर आफ्नी पत्नीसँग राम्रो व्यवहार गर्छन्। यसरी उनीहरू आमाप्रतिको सद्व्यवहारभन्दा पत्नीसँगको राम्रो व्यवहारलाई प्राथमिकता दिन्छन्।
निष्कर्षतः, परिवारका सदस्यहरू, मित्रहरू र आफन्तहरूसँग राम्रो व्यवहार गर्नु पनि उत्तम नैतिक आचरणकै एउटा अङ्ग हो।
यी ग्रीष्मकालीन शिविरहरूमा युवाहरूको उपस्थितिलाई हामीले यसरी सदुपयोग गर्नुपर्छ कि उनीहरूलाई उत्तम नैतिक आचरणको अभ्यास गराउन सकौँ। यसरी यी शिविरहरू शिक्षा र संस्कार दुवै प्रदान गर्ने केन्द्र बन्नुपर्छ। किनकि संस्कारबिनाको ज्ञानले कहिलेकाहीँ फाइदाभन्दा बढी हानि पुर्याउन सक्छ। तर ज्ञानसँगै उचित संस्कार पनि प्रदान गरियो भने त्यसले अपेक्षित उद्देश्य पूरा गर्छ। यही कारणले अल्लाह तआलाले भन्नुभएको छः “कुनै पनि मानिसका लागि उचित हुँदैन, अल्लाहले उसलाई किताब, हिक्मत र नुबुव्वत प्रदान गर्नुभएपछि उसले मानिसहरूलाई ‘अल्लाहलाई छाडेर मेरा भक्त बन’ भनोस्। बरु उसले त मानिसहरूलाई ‘तिमीहरू रब्बानी (अल्लाहका सच्चा भक्त र धर्मपरायण) बन’ भन्नुपर्छ, किनकि तिमीहरू किताब सिकाउँछौ र स्वयं पनि त्यसको अध्ययन गर्छौ।” [आले-इमरान: ७९]
ज्ञान (इल्म) को वास्तविक प्रतिफल यही हो कि मानिस रब्बानी बनोस्। अर्थात् अल्लाहका भक्तहरूलाई उहाँकै शरिअतअनुसार शिक्षा र संस्कार प्रदान गर्ने व्यक्ति बनोस्। हामी यी केन्द्रहरूको जिम्मेवारी सम्हाल्ने व्यक्तिहरूबाट आशा गर्छौँ कि उनीहरूले यी केन्द्रहरूलाई उत्तम नैतिक गुणहरू अपनाउने प्रतिस्पर्धाको मैदान बनाउनेछन्। ती गुणहरूमध्ये एउटा हो—उत्तम नैतिक आचरण।
हामीले यसअघि नै उल्लेख गरिसकेका छौँ कि उत्तम नैतिक आचरण मानिसमा स्वभावतः पनि हुन सक्छ र अभ्यासद्वारा पनि विकसित गर्न सकिन्छ। साथै, स्वभावतः प्राप्त भएको उत्तम नैतिक आचरण अभ्यासद्वारा विकसित गरिएको आचरणभन्दा बढी पूर्ण हुन्छ। यस कुराको प्रमाणस्वरूप हामीले रसूलुल्लाह ﷺ ले अशज्ज अब्दुल कैसलाई भन्नुभएको कथन प्रस्तुत गरेका थियौँः "बरु, अल्लाहले नै तपाईंलाई यी दुई गुणसहित सृष्टि गर्नुभएको हो।” [१५] [१५] यो हदीस जारिअ रजियल्लाहु अन्हुबाट वर्णित छ, जो अब्दुल कैसको प्रतिनिधिमण्डलका सदस्य थिए। यसलाई इमाम अबू दाऊदले (किताबुल अदब, व्यक्तिको वंश वा कुलसम्बन्धी अध्याय, हदीस नं. ५२२५) र इमाम तिर्मिजीले (किताबुल बिर्र वस्सिलह, धैर्य र हतारसम्बन्धी अध्याय, हदीस नं. २०११) इब्ने अब्बास रजियल्लाहु अन्हुमाबाट पनि उल्लेख गरेका छन्।
किनकि स्वभावतः प्राप्त भएको उत्तम नैतिक आचरण मानिसबाट हराउँदैन। तर अभ्यासद्वारा विकसित गरिएको आचरण भने धेरै अवस्थामा मानिसबाट छुट्न सक्छ। किनकि यसका लागि निरन्तर अभ्यास, आत्मसंयम र आफूलाई उत्तेजित पार्ने हरेक परिस्थिति उत्पन्न हुँदा त्यस आचरणलाई स्मरण गरिरहनु आवश्यक हुन्छ। यही कारणले एक व्यक्ति रसूलुल्लाह ﷺ कहाँ आएर भने, “हे अल्लाहका रसूल! मलाई केही उपदेश दिनुहोस्।” उहाँले भन्नुभयो, “रिस नगर।” उनले पटक-पटक त्यही कुरा दोहोर्याएर उपदेश मागे। तर उहाँले हरेक पटक भन्नुभयो, “रिस नगर।” [१६] नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: “वास्तविक बलवान त्यो होइन, जसले अरूलाई पछार्छ। बरु वास्तविक बलवान त त्यो हो, जसले रिस उठेको बेला आफ्नो मनलाई नियन्त्रणमा राख्छ।” [१७] [१६] यो हदीस अबू हुरैरह रजियल्लाहु अन्हुबाट वर्णित छ। यसलाई इमाम बुखारीले (किताबुल अदब, रिसबाट बच्ने अध्याय, हदीस नं. ६११६) मा उल्लेख गरेका छन्। [१७] यो हदीस अबू हुरैरह रजियल्लाहु अन्हुबाट वर्णित छ। यसलाई इमाम बुखारीले (किताबुल अदब, रिसबाट बच्ने अध्याय, हदीस नं. ६११४) र इमाम मुस्लिमले (किताबुल बिर्र वस्सिलह वल्-आदाब, रिस उठेको बेला आफूलाई नियन्त्रणमा राख्नुको श्रेष्ठतासम्बन्धी अध्याय, हदीस नं. २६०९) मा उल्लेख गरेका छन्।
‘सुरअह’ भन्नाले अरूलाई पछार्ने र पराजित गर्ने व्यक्तिलाई भनिन्छ। यो शब्द ‘हुमजह’ र ‘लुमजह’ जस्तै हो। ‘हुमजह’ भन्नाले मानिसहरूको खिल्ली उडाउने व्यक्ति र ‘लुमजह’ भन्नाले उनीहरूका दोषहरू खोज्दै निन्दा गर्ने व्यक्तिलाई बुझिन्छ। त्यसैले वास्तविक बलवान त्यो होइन, जसले अरूलाई पछार्छ र उनीहरूमाथि विजय प्राप्त गर्छ। “वास्तविक बलवान त त्यो हो, जसले रिस उठेको बेला आफूलाई नियन्त्रणमा राख्छ।” [१८] त्यसैले रिस उठेको बेला आफ्नो मनोवेगलाई वशमा राख्ने र आफूलाई नियन्त्रणमा लिन सक्ने व्यक्ति नै वास्तवमा बलवान हो। रिसको अवस्थामा आफूलाई नियन्त्रणमा राख्नु उत्तम नैतिक गुणहरूमध्ये एक हो। [१८] यो हदीस अबू हुरैरह रजियल्लाहु अन्हुबाट वर्णित छ। यसलाई इमाम बुखारीले (किताबुल अदब, रिसबाट बच्ने अध्याय, हदीस नं. ६११४) र इमाम मुस्लिमले (किताबुल बिर्र वस्सिलह वल्-आदाब, रिस उठेको बेला आफूलाई नियन्त्रणमा राख्ने व्यक्तिको श्रेष्ठतासम्बन्धी अध्याय, हदीस नं. २६०९) मा उल्लेख गरेका छन्।
त्यसैले, तपाईंलाई रिस उठेमा त्यसको आवेगमा आएर कुनै कदम नचाल्नुहोस्। बरु धिक्कारिएको शैतानबाट अल्लाहको शरण माग्नुहोस्। उभिनुभएको छ भने बस्नुहोस् र बसिरहनुभएको छ भने पल्टिनुहोस्। रिस झन् बढ्दै गएमा वुजू गर्नुहोस्, ताकि तपाईंको रिस शान्त होस्।
निष्कर्षतः, स्वभावैले उत्तम नैतिक आचरण हुनु अभ्यासद्वारा आफूमा विकसित गरिएको उत्तम नैतिक आचरणभन्दा श्रेष्ठ हुन्छ। किनकि स्वभावगत सद्गुण मानिसको प्रकृति नै बन्न पुग्छ र उसलाई हरेक परिस्थितिमा त्यसअनुसार व्यवहार गर्न सहज हुन्छ। तर अभ्यासद्वारा आर्जित सद्गुण भने कतिपय परिस्थितिमा कायम राख्न नसकिन सक्छ।
त्यसैगरी, उत्तम नैतिक आचरण अभ्यासद्वारा पनि आफूमा विकास गर्न सकिन्छ। यसको अर्थ मानिसले आफ्नो मनलाई निरन्तर प्रशिक्षण दिन्छ र यसरी केही उपायहरू अपनाएर उत्तम नैतिक आचरण भएको व्यक्ति बन्न सक्छ। तीमध्ये केही यस प्रकार छन्ः
पहिलोः अल्लाहको किताब र उहाँका रसूल ﷺ को सुन्नतमा मनन गर्नु। यसका लागि उत्तम नैतिक आचरणको प्रशंसा गर्ने प्रमाणहरूलाई ध्यानपूर्वक अध्ययन गर्नुपर्छ। जब कुनै मोमिनले कुनै नैतिक गुण वा सत्कर्मको प्रशंसा गरिएका प्रमाणहरू देख्छ, तब उसले त्यसलाई आफ्नो जीवनमा अवलम्बन गर्छ।
दोस्रोः उत्तम नैतिक आचरणका लागि परिचित व्यक्तिहरूको सङ्गत गर्नु। नबी ﷺ ले आफ्नो यस भनाइमार्फत यसै कुरातर्फ सङ्केत गर्नुभएको छः “असल र खराब साथीको उदाहरण कस्तुरी बोक्ने व्यक्ति र फलामको भट्टी धुक्ने व्यक्तिजस्तै हो। कस्तुरी बोक्ने व्यक्तिले या त तपाईंलाई केही कस्तुरी उपहार दिन्छ, या तपाईंले ऊसँग कस्तुरी किन्न सक्नुहुन्छ, अथवा कम्तीमा त्यसको सुगन्ध त पाउनुहुन्छ नै। तर फलामको भट्टी धुक्ने व्यक्तिले या त तपाईंको लुगा जलाइदिन्छ, अथवा तपाईंले त्यसबाट दुर्गन्ध पाउनुहुन्छ।” [१९] [१९] यो हदीस अबू मूसा अशअरी रजियल्लाहु अन्हुबाट वर्णित छ। यसलाई इमाम बुखारीले (किताबुज् जबाइह वस्सैद, कस्तूरीसम्बन्धी अध्याय, हदीस नं. ५५३४) र इमाम मुस्लिमले (किताबुल बिर्र वस्सिलह, असल व्यक्तिहरूको सङ्गत गर्नु मुस्तहब भएको अध्याय, हदीस नं. २६२८) मा उल्लेख गरेका छन्।
त्यसैले, सबै युवाहरूले उत्तम नैतिक आचरणका लागि परिचित व्यक्तिहरूको सङ्गत गर्नुपर्छ र खराब आचरण तथा निकृष्ट कार्यहरूबाट टाढा रहनुपर्छ। यसरी उनीहरूले त्यस्तो सङ्गतलाई नैतिक आचरण सुधार्ने एउटा पाठशालाका रूपमा लिन सक्नेछन्।
तेस्रोः आफ्नो खराब आचरणका कारण के-कस्ता परिणाम भोग्नुपर्छ भन्ने कुरामा गहिरिएर विचार गर्नु। खराब आचरण भएको व्यक्ति घृणाको पात्र बन्छ, मानिसहरू उसलाई त्याग्छन् र उसको चर्चा गर्दा पनि नराम्रो विशेषण प्रयोग गर्छन्। जब मानिसले खराब आचरणले आफूलाई यस्तो अवस्थासम्म पुर्याउँछ भन्ने कुरा बुझ्छ, तब ऊ त्यसबाट टाढा रहन थाल्छ।
*
उत्तम आदर्श व्यक्तित्व ﷺ
हाम्रा लागि अल्लाहका रसूल ﷺ नै उत्तम आदर्श हुनुहुन्छ। उहाँ ﷺ सम्पूर्ण सृष्टिमध्ये सबैभन्दा उत्तम नैतिक आचरणका धनी हुनुहुन्थ्यो। किनकि अल्लाह तआलाले उहाँका बारेमा भन्नुभएको छः निश्चय नै, तपाईं महान् नैतिक आचरणका धनी हुनुहुन्छ। [अल-कलम: ४] रसूल ﷺ को जीवनकालमा घटेका विभिन्न घटना र प्रसङ्गहरूले उहाँको उत्तम नैतिक आचरणलाई स्पष्ट पार्छन्। उहाँ ﷺ बालबालिकाहरूसँग समेत अत्यन्तै कोमल र स्नेहपूर्ण व्यवहार गर्नुहुन्थ्यो। उहाँ उनीहरूसँग मायालु कुराकानी गर्नुहुन्थ्यो र खेल्नुहुन्थ्यो। उहाँले एक बालकलाई यसरी भन्नुभएको थियोः “हे अबू उमैर! नुगैर (तिम्रो सानो चरी) के भयो?” [२०] अबू उमैर एक सानो बालकको उपनाम थियो। ऊसँग एउटा सानो चरी थियो, जसलाई ‘नुगैर’ भनिन्थ्यो। त्यो भँगेराजस्तै एउटा सानो चरा थियो। एक दिन त्यो चरी मरेपछि बालक दुःखी र चिन्तित भयो। त्यसैले नबी ﷺ उसलाई सान्त्वना दिन र उसको मन बहलाउन मायालु भावले भन्नुहुन्थ्यो, “हे अबू उमैर! तिम्रो सानो चरी के भयो?” [२०] यो हदीस अनस रजियल्लाहु अन्हुबाट वर्णित छ। यसलाई इमाम बुखारीले (किताबुल अदब, मानिसहरूसँग हँसिलो व्यवहार गर्ने अध्याय, हदीस नं. ६१२९) र इमाम मुस्लिमले (किताबुल आदाब, नवजात शिशुको जन्मपछि तहनीक गर्नु मुस्तहब भएको अध्याय, हदीस नं. २१५०) मा उल्लेख गरेका छन्।
एक जना देहाती (गाउँले) आएर मस्जिदभित्र पिसाब गर्न थाले। मानिसहरूले उनलाई हप्काए र कडा शब्दमा गाली गरे। तर नबी ﷺ ले उनीहरूलाई त्यसो गर्नबाट रोक्नुभयो। जब ती व्यक्तिले पिसाब गरिसके, तब उहाँ ﷺ ले पानीले भरिएको एउटा बाल्टिन ल्याउन आदेश दिनुभयो र त्यसलाई पिसाब परेको ठाउँमा खन्याइयो। त्यसपछि उहाँ ﷺ ले ती देहाती व्यक्तिलाई बोलाएर भन्नुभयोः “यी मस्जिदहरूमा कुनै पनि प्रकारको कष्टदायी वा फोहोर काम गर्नु उचित हुँदैन। मस्जिदहरू त नमाज पढ्न र कुरआनको तिलावत गर्नका लागि मात्र हुन्।” [२१] वा नबी ﷺ ले यस्तै आशय व्यक्त गर्नुभएको थियो। [२१] यो हदीस अनस रजियल्लाहु अन्हुबाट वर्णित छ। यसलाई इमाम बुखारीले (किताबुल वुजू, पिसाब परेको ठाउँमा पानी खन्याउने अध्याय, हदीस नं. २२१) र इमाम मुस्लिमले (किताबुत तहारत, पिसाब धुनु अनिवार्य भएको अध्याय, हदीस नं. २८५) मा उल्लेख गरेका छन्।
यस घटनामा उहाँ ﷺ को उत्तम नैतिक आचरण स्पष्ट रूपमा झल्किन्छ। उहाँले ती देहाती व्यक्तिलाई न त हप्काउनुभयो, न त उनलाई पिट्ने आदेश नै दिनुभयो। बरु, उहाँले उनलाई पिसाब गरिसक्न दिनुभयो। त्यसपछि मात्र मस्जिदमा यस्तो कार्य गर्नु उचित हुँदैन र मस्जिदहरू नमाज, अल्लाहको जिक्र तथा कुरआनको तिलावतका लागि हुन् भन्ने कुरा सम्झाउनुभयो।
रमजान महिनामा एक जना व्यक्ति उहाँ ﷺ कहाँ आएर भने, “हे अल्लाहका रसूल! म त बर्बाद भएँ!” तब नबी ﷺ ले उनलाई भन्नुभयोः “तपाईंलाई के कुराले बर्बाद गर्यो?” उहाँले सोध्नुभयो। ती व्यक्तिले भने, “मैले रोजा बसेको अवस्थामा रमजान महिनामा आफ्नी पत्नीसँग सहवास गरेँ।” नबी ﷺ ले उनलाई न त हप्काउनुभयो, न त गाली गर्नुभयो। बरु, उहाँले भन्नुभयो, “के तपाईंसँग कुनै दासलाई मुक्त गर्ने सामर्थ्य छ?” उनले भने, “छैन।” उहाँले फेरि सोध्नुभयो, “के तपाईं लगातार दुई महिना रोजा बस्न सक्नुहुन्छ?” उनले भने, “सक्दिनँ।” उहाँले फेरि सोध्नुभयो, “के तपाईंसँग साठी जना गरिबलाई खाना खुवाउने सामर्थ्य छ?” उनले भने, “छैन।” त्यसपछि ती व्यक्ति त्यहीँ बसे। केही बेरपछि नबी ﷺ कहाँ खजुरले भरिएको एउटा डालो ल्याइयो। उहाँले त्यो उनलाई दिँदै भन्नुभयो, “यो सदकाका रूपमा बाँडिदिनुहोस्।” ती व्यक्तिले भने, “के हामीभन्दा पनि बढी गरिबलाई दिने? यस सहरका दुई छेउबीच हामीभन्दा बढी खाँचोमा परेको कोही छैन।” यो सुनेर नबी ﷺ यति हाँस्नुभयो कि उहाँका दाह्रा देखिए। त्यसपछि उहाँले भन्नुभयो, “जानुहोस्, यो आफ्नै परिवारलाई खुवाउनुहोस्।” [२२] [२२] यो हदीस अबू हुरैरह रजियल्लाहु अन्हुबाट वर्णित छ। यसलाई इमाम बुखारीले (किताबुस् सौम, रमजानमा सहवास गर्ने र प्रायश्चितका लागि केही नभएको व्यक्तिलाई सदका दिइएमा त्यसैबाट कफ्फारा तिर्ने अध्याय, हदीस नं. १९३६) र इमाम मुस्लिमले (किताबुस् सियाम, रमजानको दिनमा रोजा बसेको अवस्थामा सहवास गर्नु कडा रूपमा निषेधित भएको अध्याय, हदीस नं. ११११) मा उल्लेख गरेका छन्।
यस घटनामा नबी ﷺ को उत्तम नैतिक आचरण अत्यन्तै स्पष्ट रूपमा देखिन्छ। उहाँले ती व्यक्तिलाई न त हप्काउनुभयो, न गाली गर्नुभयो र न त झपार्नुभयो। यस्तो व्यवहार उहाँ ﷺ को सहनशीलता र विवेकशीलताका कारण थियो। उहाँले ती व्यक्ति पश्चात्ताप गर्दै, तौबा गर्दै र भयभीत अवस्थामा आएको देख्नुभयो। त्यसैले उहाँ ﷺ ले उनलाई हप्काउनु उचित ठान्नुभएन। बरु, उनलाई सत्य कुरा स्पष्ट पार्दै कोमलता र सद्व्यवहारका साथ व्यवहार गर्नुभयो।
एउटा प्रश्नः धेरै मानिसहरू भन्छन् कि पश्चिमी मुलुकका मानिसहरू आफ्नो व्यवहार, किनबेच र व्यापारिक कारोबारमा उत्तम नैतिक आचरण अपनाउँछन्। तर हामी मुस्लिमहरूका बीचमा भने ठगी, झूट र झूटो कसम खाएर सामान बेच्ने प्रवृत्ति देखिन्छ। यसको कारण के हो? के उनीहरूको औद्योगिक सभ्यताले उनीहरूको नैतिक आचरण निर्माण गर्न ठूलो भूमिका खेलेको छ?
उत्तर: नबी ﷺ ले भन्नुभएको छ: “यदि मानिसहरूलाई उनीहरूका दाबीका आधारमा मात्र हक दिइने हो भने, केही मानिसहरूले अरूको रगत (ज्यान) र सम्पत्तिमाथि आफ्नो हकदाबी गर्न थाल्ने थिए। तर प्रमाण पेस गर्ने जिम्मेवारी दाबी गर्ने व्यक्तिमाथि हुन्छ।” [२३] पश्चिमी मुलुकका मानिसहरू व्यापारिक कारोबारमा उत्तम नैतिक आचरण अपनाउँछन् भन्ने कुरा मानिसहरूबीच प्रचलित छ, तर यो धारणा सही होइन। किनकि उनीहरूमाझ पनि खराब व्यवहारका अनेक उदाहरण पाइन्छन्। त्यहाँ गएर निष्पक्ष र न्यायपूर्ण दृष्टिले उनीहरूको व्यवहार नियाल्ने व्यक्तिले यस्ता कुरा सहजै थाहा पाउन सक्छ। तर उनीहरूलाई अत्यन्तै सम्मान र आदरको दृष्टिले हेर्ने व्यक्तिले भने यस्ता कमी-कमजोरी देख्न सक्दैन। यसै सन्दर्भमा एक कविले भनेका छन्ः सन्तुष्टिको दृष्टिले हेर्ने आँखाले सबै दोष देख्न सक्दैन *** तर असन्तुष्टिको दृष्टिले हेर्ने आँखाले सबै कमीकमजोरी उजागर गर्छ। [२४] [२४] हेर्नुहोस्ः अल्-हयवान लिल्-जाहिज (३/२२६), उयून अल्-अख्बार (३/१६) र अल्-इक्द अल्-फरीद (२/१९४)। [२३] यो हदीस इब्न अब्बास रजियल्लाहु अन्हुमाबाट वर्णित छ। यसलाई इमाम बुखारीले (किताबुत तफ्सीर, ‘निश्चय नै जसले अल्लाहसँग गरिएको वाचा र आफ्ना कसमहरू तुच्छ मूल्यमा बेच्छन्, तिनीहरूका लागि आखिरतमा कुनै अंश छैन’ भन्ने आयत [सूरह आले इमरानः ७७] को तफ्सीरसम्बन्धी अध्याय, हदीस नं. ४५५२) र इमाम मुस्लिमले (किताबुल अक्जियह, प्रतिवादीमाथि कसम अनिवार्य हुने अध्याय, हदीस नं. १७११) मा उल्लेख गरेका छन्।
पश्चिमी मुलुकहरूमा गएका धेरै युवाहरूले मलाई त्यहाँका मानिसहरूका अत्यन्तै खराब आचरणका अनेक घटनाहरू सुनाएका छन्। तर उनीहरूले किनबेचका कारोबारमा इमानदारी र स्पष्टता अपनाउँछन् भने त्यसको कारण उनीहरू उत्तम नैतिक आचरणका धनी हुनु होइन, बरु उनीहरू भौतिक स्वार्थका उपासक हुनु हो। किनकि मानिसले यस्ता कारोबारमा जति बढी इमानदारी र स्पष्टता अपनाउँछ, मानिसहरू त्यति नै बढी ऊप्रति आकर्षित हुन्छन् र उसका सामान किन्न तथा तिनको बजार प्रवर्द्धन गर्न त्यति नै तत्पर हुन्छन्।
उनीहरू यस्तो व्यवहार उत्तम नैतिक आचरणका धनी भएकाले गर्दैनन्, बरु भौतिक स्वार्थलाई सर्वोपरि ठान्ने भएकाले गर्छन्। उनीहरू आफ्नो सम्पत्ति बढाउने सबैभन्दा प्रभावकारी उपायहरूमध्ये एउटा राम्रो व्यवहार गर्नु हो भन्ने ठान्छन्, ताकि उनीहरूको व्यापारिक कारोबारप्रति मानिसहरूको विश्वास बढोस् र सामान सहजै बिक्री होस्। अन्यथा, अल्लाह अज्ज व जल्लले उनीहरूको वास्तविक अवस्थाको वर्णन गर्दै भन्नुभएको छः "निश्चय नै, अहले किताबमध्येका काफिरहरू र मुश्रिकहरू जहन्नमको आगोमा पर्नेछन् र सधैँ त्यसैमा रहनेछन्। तिनीहरू नै सृष्टिका सबैभन्दा निकृष्ट प्राणी हुन्।" [अल्-बय्यिना: ६] मलाई लाग्दैन कि अल्लाह अज्ज व जल्लले काफिरहरूको जुन वर्णन गर्नुभएको छ, त्यसभन्दा बढी सत्य र यथार्थपरक वर्णन अरू कसैले गर्न सक्छ। उहाँले उनीहरूलाई सृष्टिका सबैभन्दा निकृष्ट प्राणी भन्नुभएको छ। यस्तो अवस्थामा, अल्लाहले जसलाई सृष्टिकै सबैभन्दा निकृष्ट प्राणी भनेर वर्णन गर्नुभएको छ, त्यस्ता मानिसहरूबाट स्वयम् उनीहरूकै लागि चाहिएको निःस्वार्थ भलाइको आशा कसरी गर्न सकिन्छ र? मेरो विचारमा यस्तो भलाइ उनीहरूमा कदापि हुन सक्दैन। तर व्यापारिक कारोबारमा उनीहरूमा देखिने सत्यनिष्ठा, स्पष्टवादिता र हितैषी व्यवहार भने उनीहरूका लागि आफैँमा उद्देश्य नभई अरू कुनै उद्देश्य प्राप्त गर्ने माध्यम मात्र हो। त्यो उद्देश्य हो—ख्याति र धन आर्जन गर्नु। अन्यथा, विभिन्न क्षेत्रमा उनीहरूले मानिसहरूमाथि गर्ने अन्याय, अत्याचार र दमन देख्ने व्यक्तिले अल्लाह तआलाको यस भनाइको सत्यता अवश्य बुझ्नेछः "तिनीहरू नै सृष्टिका सबैभन्दा निकृष्ट प्राणी हुन्।"
जहाँसम्म धेरै मुस्लिमहरूबाट व्यापारिक तथा अन्य कारोबारमा हुने ठगी, झूट र विश्वासघातको कुरा छ, उनीहरूले यी कार्यहरूमा शरिअतको जति उल्लङ्घन गरेका छन्, त्यही अनुपातमा उनीहरूको इस्लाम र ईमानमा कमी आएको छ।
केही मुस्लिमहरूले यस्ता विषयमा शरिअतको उल्लङ्घन गर्नु र त्यसको सीमाबाहिर जानुको अर्थ शरिअतमा कुनै कमी हुनु होइन। शरिअत त पूर्ण छ। यस्ता मानिसहरूले सबैभन्दा पहिले आफ्नै अहित गरेका छन्; त्यसपछि इस्लामी शरिअतको, आफ्ना मुस्लिम दाजुभाइहरूको र अन्त्यमा गैरमुस्लिमहरूसँगको आफ्नो व्यवहारको अहित गरेका छन्। वास्तवमा, उनीहरूले आफ्नो अहित आफैँले मात्र गरेका हुन्। बुद्धिमान व्यक्तिले कुनै व्यक्तिको खराब आचरणलाई उसले अनुसरण गर्ने शरिअतकै खराबी ठान्दैन।
त्यसैले म सबै मुस्लिमहरूबाट आशा गर्दछु कि इस्लामले अस्वीकार गरेका झूट, विश्वासघात, ठगी, छलकपट र यस्तै अन्य दुर्गुणहरूविरुद्ध उनीहरूले सशक्त अभियान चलाऊन्।
एउटा प्रश्नः उत्तम नैतिक आचरण भएको तर धार्मिक प्रतिबद्धतामा कमी रहेको व्यक्ति र शरिअतको पालनामा पूर्णताको नजिक पुगेको तर नैतिक आचरण खराब भएको व्यक्तिमध्ये को उत्तम हो? यस विषयको सम्बन्ध नबी ﷺ को यस भनाइसँग के छः "उत्तम नैतिक आचरणले यस संसार र आखिरत दुवैको सम्पूर्ण भलाइ प्राप्त गराउँछ।" [२५] उहाँ ﷺ ले उम्मुल-मुमिनीन उम्मे सलमा रजियल्लाहु अन्हालाई दिनुभएको जवाफमा के भन्नुभएको थियो? [२५] यो हदीस अनस रजियल्लाहु अन्हुबाट वर्णित छ। यसलाई अब्द बिन हुमैदले आफ्नो मुसनद (हदीस नं. १२१०), खराइतीले ‘मकारिमुल अख्लाक’ (हदीस नं. ५०) र तब्रानीले ‘अल-मुअ्जमुल कबीर’ (२३/२२३) मा उल्लेख गरेका छन्।
उत्तरः यसमा कुनै शङ्का छैन कि नैतिक आचरणको पूर्णता पनि दीनको पूर्णताकै एउटा अङ्ग हो। यसै सन्दर्भमा नबी ﷺ बाट प्रमाणित छ कि उहाँले भन्नुभएको छः “मोमिनहरूमध्ये ईमानका दृष्टिले सबैभन्दा पूर्ण व्यक्ति त्यही हो, जसको नैतिक आचरण सबैभन्दा उत्तम छ।” [२६] [२६] यो हदीस अबू हुरैरा रजियल्लाहु अन्हुबाट वर्णित छ। यसलाई अबू दाऊदले ‘किताबुस्सुन्नह’ अन्तर्गत ‘ईमान बढ्ने र घट्ने प्रमाण’ शीर्षकको अध्यायमा (हदीस नं. ४६८२) र तिर्मिजीले ‘किताबुर्रजाअ’ अन्तर्गत ‘पतिमाथि पत्नीको अधिकार’ शीर्षकको अध्यायमा (हदीस नं. ११६२) उल्लेख गरेका छन्।
यस आधारमा, जसको नैतिक आचरणमा कमी छ, उसको दीनमा पनि कमी छ; किनकि दीनको पूर्णता नै नैतिक आचरणको पूर्णतामा निर्भर हुन्छ। हामीले अघि नै उल्लेख गरिसकेका छौँ कि उत्तम नैतिक आचरण सृष्टिकर्तासँगको व्यवहार र सृष्टिका प्राणीहरूसँगको व्यवहार दुवैमा प्रकट हुन्छ। यसबाट स्पष्ट हुन्छ कि नैतिक आचरणको पूर्णता दीनको पूर्णतासँगै प्राप्त हुन्छ। यसै आधारमा, उत्तम नैतिक आचरण भएको व्यक्तिले अरूलाई इस्लाम र दीनतर्फ आकर्षित गर्न सक्ने प्रभाव, इबादतमा निष्ठावान् भए पनि खराब आचरण भएको व्यक्तिको प्रभावभन्दा बढी हुन्छ। त्यसैले इबादतमा दृढ रहेको व्यक्तिलाई उत्तम नैतिक आचरण अपनाउने तौफीक पनि प्राप्त भयो भने त्यो अझ पूर्ण अवस्था हुन्छ। जहाँसम्म आफ्नो व्यक्तिगत इबादतमा अत्यन्त निष्ठावान् तर खराब आचरण भएको व्यक्तिको तुलना अर्को व्यक्तिसँग गर्ने प्रश्न छ, यसलाई निश्चित मापदण्डमा बाँधेर मूल्याङ्कन गर्न सम्भव छैन।
हामी अल्लाहसँग प्रार्थना गर्दछौँ, उहाँले हामीलाई आफ्नो किताब र रसूल ﷺ को सुन्नतलाई बाह्य तथा आन्तरिक रूपमा दृढतापूर्वक अनुसरण गर्नेहरूमध्ये बनाऊन् र यही अवस्थामा हाम्रो मृत्यु गराऊन्। उहाँ दुनियाँ र आखिरतमा हाम्रा संरक्षक बनून्, मार्गदर्शन प्रदान गरिसकेपछि हाम्रा हृदयहरूलाई विचलित हुन नदिनुहोस् र आफ्नो तर्फबाट हामीलाई विशेष कृपा प्रदान गर्नुहोस्। निःसन्देह, उहाँ नै परम दाता हुनुहुन्छ।
*
Related books
All books
الدروس المهمة لعامة الأمة78 languagesالدروس المهمة لعامة الأمة
يهدف الكتاب إلى تعليم المسلمين أساسيات دينهم بطريقة مبسطة وشاملة. يتناول مجموعة من الدروس المهمة مثل قراءة الفاتحة وقصار السور، وأركان الإسلام والإيمان، وأقسام التوحيد والشرك، وشروط وأركان وواجبات الصلاة، بالإضافة إلى مبطلاتها، مع بيان مختصر لشروط الوضوء وفروضه ونواقضه. كما يسلط الضوء على التحلي بالأخلاق الإسلامية والآداب الشرعية، ويقدم إرشادات لطيفة حول تجهيز الميت والصلاة عليه ودفنه.
इस्लाम89 languagesइस्लाम
बिस्मिल्ला हिर्रहमा निर्रहीम (अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु) । के तपाईंले कहिले आफूलाई सोध्नुभयो: आकाशहरू, पृथ्वी र यसमा रहेका ठूला प्राणीहरूका सृष्टिकर्ता को हुन्? अनि यसमा यो सटीक र सुदृढ प्रणाली कसले बनायो?
सलाहको तरिका (संक्षिप्त भिडियो क्लिप)86 languagesसलाहको तरिका (संक्षिप्त भिडियो क्लिप)
यो नमाज पढ्ने तरिकाबारे एक संक्षिप्त व्यावहारिक अभ्यास हो, ताकि हामी ज्ञान र स्पष्ट समझका साथ अल्लाहको उपासना गर्न सकौं र हाम्रो नमाज सबै रुक्न र शर्तहरूसहित पूर्ण होस्। सलाहको तरिका यदि हामी सलाह पढ्न चाहन्छौं भने सानो र ठूलो दुवै अपवित्रताबाट पवित्र हुनुपर्छ। हामीले आफ्नो गुप्ताङ्ग ढाक्नु पर्छ र पवित्र लगामा नमाज पढ्नु पर्छ। हाम्रो शरीर र नमाज पढ्ने ठाउँ फोहोरबाट पवित्र हुनुपर्छ। हामी किब्लातर्फ मुख फर्काउँछौं। सुतरह राखेर सलाह पढ्नु मुस्तहब हो।
सुखमय जीवनका लागि उपयोगी साधनहरू85 languagesसुखमय जीवनका लागि उपयोगी साधनहरू
शेख अब्दुर्रहमान बिन नासिर अस्सादीको पुस्तिका ‘सुखमय जीवनका लागि उपयोगी साधनहरू’ ले गहिरो ईमानमा आधारित दृष्टिकोणबाट असल खुशीका कारणहरूलाई सम्बोधन गर्दछ । यसले पाठकलाई ईमान, असल कर्म, अल्लाहको स्मरण, सन्तोष, उहाँका अनुग्रहहरूमा चिन्तन, परोपकार, अल्लाहमाथि भरोसा, धैर्य र परिस्थितिहरूको सही मूल्यांकनद्वारा आन्तरिक शान्तितर्फ डोऱ्याउँछ। यसले उत्कृष्ट शैलीमा जीवनका उतारचढावहरूको बावजुद एक शान्त, सन्तुलित र सुखमय जीवनको नक्सा तपाईंको हातमा राख्छ।