हज, उमरह र जियारत सम्बन्धी फतवाहरू
यसलाई साउदी अरबको स्थायी फतावा समितिका फतवाहरूको संग्रहबाट छनोट गरिएको हो, जसमा प्रश्नहरूलाई प्रसंगसँग मिलाएर संक्षिप्त गरिएको छ । पहिलो: सामान्य फतवाहरू प्रश्न: के मेरो बुवाले बैंकबाट ऋण लिएको पैसाले उमरह गर्न सक्नुहुन्छ ? उत्तर: आफ्नो वा अरु कसैको लागि हज वा उमरह गर्ने व्यक्तिले यसको लागि चोखो र पवित्र पैसा खर्च गर्नुपर्छ; किनकि अल्लाह पवित्र हुनुहुन्छ र उहाँले केवल पवित्र कुराहरू स्वीकार गर्नुहुन्छ ।
हज, उमरह र जियारत सम्बन्धी फतवाहरू
उमरह गर्नेहरूलाई यसको धेरै आवश्यकता भएकोले [१] यसलाई साउदी अरबको स्थायी फतावा समितिका फतवाहरूको संग्रहबाट छनोट गरिएको हो, जसमा प्रश्नहरूलाई प्रसंगसँग मिलाएर संक्षिप्त गरिएको छ ।
बहुभाषिक इस्लामी सामग्री सेवा संस्थाको वैज्ञानिक समिति
पहिलो: सामान्य फतवाहरू
प्रश्न: के मेरो बुवाले बैंकबाट ऋण लिएको पैसाले उमरह गर्न सक्नुहुन्छ ?
उत्तर: आफ्नो वा अरु कसैको लागि हज वा उमरह गर्ने व्यक्तिले यसको लागि चोखो र पवित्र पैसा खर्च गर्नुपर्छ; किनकि अल्लाह पवित्र हुनुहुन्छ र उहाँले केवल पवित्र कुराहरू स्वीकार गर्नुहुन्छ ।
बैंक र अन्य स्रोतहरूबाट ब्याजमा ऋण लिने जायज छैन; किनभने यो सुद (ब्याज) हो र नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले ब्याज खाने, तिर्ने, लेख्ने र यसको साक्षी दिनेलाई श्राप दिदै भन्नुभएको छ: "तिनीहरू सबै समान हुन् ।" त्यसैगरी यदि कसैले हराम (वर्जित) कुरा खान्छ भने उसको दुआ र कर्महरू पनि स्वीकार हुँदैन । यद्यपि बिना ब्याजको ऋण लिएको छ भने यसमा कुनै आपत्ति छैन ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ ३५३)
***
प्रश्न: के चालीस दिनदेखि मक्काबाट टाढा रहेको व्यक्तिले (फर्किने क्रममा) उमरह गर्नु अनिवार्य हुन्छ ? यधपी उसले धेरै पटक उमरह गरेको छ ?
उत्तर: सक्षम व्यक्तिले जीवनमा केवल एक पटक उमरह गर्नु वाजिब हो र एक पटक भन्दा बढी गर्नु भनेको सुन्नत हो । उमरहको लागि कुनै निश्चित समय तोकिएको छैन । यो कुनै पनि समयमा गर्न सकिन्छ ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ २०)
***
प्रश्न: के उमरह वर्षको कुनै पनि समयमा गर्न मिल्छ ?
उत्तर: उमरह वर्षभरि जहिले पनि गर्न सकिन्छ, यधपी हजका महिनाहरूमा पनि । यदि कुनै व्यक्तिले हजको महिनामा उमरह गर्छ र सोही वर्ष हज गर्छ भने उसको हज तमत्तो हुन्छ । यदि हज र उमरह दुबैको एकैसाथ नीयत गर्छ भने उसको हज किरान हुन्छ । तमत्तो र किरान हज गर्ने व्यक्ति मक्काका बासिन्दा छैन भने उसले कुर्बानीको लागि पर्याप्त जनावरको कुर्बानी दिनुपर्छ । यदि हजयात्रीले तशरिक (१३ जिल-हिज्जा) पछि उमरह गर्छ भने जायज हो र यसमा कुर्बानी आवश्यक छैन ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ३१६)
***
प्रश्न: के कुनै व्यक्तिले अनिवार्य हज गर्नु अघि उमरह गर्न मिल्छ ?
उत्तर: हो, मानिसले हज गर्नु अघि उमरह गर्न मिल्छ; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका साथीहरूले अनिवार्य हज गर्नु अघि उमरह गरेका थिए ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ३१८)
***
प्रश्न: सालमा बारम्बार उमरह गर्नुका बारेमा के आदेश छ ?
उत्तर: वर्षमा पटकपटक उमरह गर्न अनुमति छ; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “एकपछि अर्को उमरह गर्दा बीचमा भएका (सानातिना) पापहरूलाई पखालिन्छ र हज मबरूर (स्वीकृत हज) को प्रतिफल जन्नत हो ।” (बुखारी र मुस्लिम)
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ३३४)
***
प्रश्न: केही मानिसहरू हज गर्न आउँछन् र तमत्तुको उमरह पूरा गरेपछि आफ्ना आमाबुवामध्ये कसैको तर्फबाट उमरह गर्न चाहन्छ भने उसले कसरी गर्ने ?
उत्तर: हज तमत्तो गर्ने व्यक्तिले उमरह गरिसकेपछि हज्ज प्रारम्भ नहुन्जेल मक्कामा बस्नु र बारम्बार उमरह नगर्नु नै राम्रो हो । तर हज पूरा गरिसकेपछि तन्ईम (मस्जिद आइशा) वा हरम सीमा बाहिर कुनै पनि स्थानबाट उमरह गर्नुमा कुनै आपत्ति छैन । यदि उनले आफ्नो मृतक बुवा वा आमाको लागि वा बुढ्यौली वा निको नहुने रोगको कारणले गर्दा उमरह गर्न असमर्थ व्यक्तिहरू वा अरू कसैको लागि अर्को उमरह गर्छ भने कुनै आपत्ति छैन; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “एकपछि अर्को उमरह गर्दा बीचमा भएका (सानातिना) पापहरूलाई पखालिन्छ र हज मबरूर (स्वीकृत हज) को प्रतिफल जन्नत हो ।” (बुखारी र मुस्लिम)
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ ११७)
***
प्रश्न: एक भन्दा बढी उमरह गर्ने र हरेक पटक तन्ईमबाट एहराम लगाउने व्यक्तिको बारेमा के नियम छ ?
उत्तर: छोटो समयको लागि मक्का आएको व्यक्तिले बारम्बार उमरह गर्नु हुँदैन, किनभने यो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका सहाबाहरूको तरिका विपरीत हो । यदि एक भन्दा बढी उमरह राम्रो भएको भए उनीहरू अवश्य गर्थे, किनकि उनीहरू भलाईको काममा सधैं अग्रसर र प्रथम पंक्तिमा रहने गर्दथे । मानिसले आफ्नो अनुष्ठान पुरा गरेपछि धेरै तवाफ गर्नु, कुर्आनको तिलावत गर्नु, दुआ गर्नु र दान-दक्षिणा गर्नु उत्तम हो । तर यदि कसैले आफ्नो लागि वा मृतकको लागि र बुढ्यौली वा निको नहुने रोगको कारणले गर्दा उमरह गर्न असमर्थ व्यक्तिहरूका लागि अर्को उमरह गर्दा उसलाई कष्ट हुँदैन र आम जनतालाई भीडभाड हुँदैन भने कुनै आपत्ति छैन; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “एकपछि अर्को उमरह गर्दा बीचमा भएका (सानातिना) पापहरूलाई पखालिन्छ र हज मबरूर (स्वीकृत हज) को प्रतिफल जन्नत हो ।” त्यसैगरी नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आइशा (रजियल्लाहु अन्हा) लाई हज किरानपछि अर्को उमरह गर्ने अनुमति दिएको कुरा पनि प्रमाणित छ ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ ३५५)
***
दोस्रो: मीकात सम्बन्धी फतवाहरू
प्रश्न: यदि हज वा उमरह गर्ने व्यक्तिलाई विमानमा एहराम लगाउन गाह्रो हुन्छ र ठ्याक्कै मीकात पनि थाहा हुँदैन भने के उसले जेद्दामा ओर्लेर त्यहाँबाट एहराम लगाउन मिल्छ कि मिल्दैन?
उत्तर: यदि कुनै व्यक्ति हज र उमरहको लागि हवाईमार्ग भएर आउँदै छ भने उसले घरमै नुहाएर एहराम लगाउनु र मीकात नजिक पुगेपछि नियत गर्नु राम्रो हो र यसो गर्दा केही गाह्रो हुँदैन । यदि मीकात थाहा छैन भने उसले विमानका पाइलट, सहायक, विमान सेवक वा अनुभवी र विश्वसनीय यात्रुहरूसँग सोधपुछ गर्न सक्छ ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/१३५)
***
प्रश्न: के उमरहको नियतले हवाईजहाजबाट यात्रा गर्ने व्यक्तिले जेद्दामा केही काम रहेकोले उमरहको एहराम नलगाई केवल तल्बिया भन्नु र आफ्नो काम पूरा गरेपछि जेद्दाबाट एहराम लगाएर उमरह गर्न अनुमति छ वा उसले के गर्नुपर्छ ?
उत्तर: यदि कोही हज वा उमरह गर्ने उद्देश्यले यात्रामा निस्कन्छ भने उसले सिलाइएको लुगालाई फुकालेर एहराम न लगाइकन र एहरामको अवस्थामा निषेधित कार्यहरूबाट नजोगिकन मीकात पार गर्न अनुमति छैन ।
तसर्थ, माथि उल्लेखित प्रश्नमा उल्लेख गरिएको काम शरीयत विरुद्ध भएकाले गर्न मिल्दैन । तर कुनै आवश्यक कामले गर्दा मानिस एहराम नबाँधि जेद्दा जान सकछ र आफ्नो काम सकाएर मीकातमा फर्केर हज वा उमरहको लागि एहराम बाँध्नु पर्छ ।
स्थायी समितिको फतवाहरू - दोस्रो संग्रह (१०/ ८१)
***
प्रश्न: के हज वा उमरह गर्ने व्यक्तिले जेद्दा विमानस्थलमा ओर्लिएर त्यहाँबाट मदीना गएर मदीनाको मीकात ‘आबारे अली’ बाट एहराम लगाउन अनुमति छ ?
उत्तर: यदि कुनै हजयात्री जेद्दा विमानस्थलमा ओर्लिएर त्यहाँबाट मदीना जान्छ अनि मदीनाको जियारत सकाएर हज वा उमरह गर्नका लागि मक्का प्रस्थान गर्न चाहन्छ भने उसले मदीनाको मीकात ‘जुल हुलैफा’ (जसलाई आज ‘आबार अली’ भनिन्छ) बाट एहराम बाँध्नुपर्छ । किनभने ऊ मदीनावासीहरूको हुकुममा हुनेछ र त्यहीं बाट एहराम लगाउनु पर्छ । किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “ती मीकातहरू, त्यहाँका बासिन्दा र हज वा उमरहको नीयतले त्यो बाटो भएर आउने प्रत्येक व्यक्तिको मीकात हो ।” (बुखारी र मुस्लिम)
स्थायी समितिको फतवाहरू - दोस्रो संग्रह (१०/ ९४)
***
प्रश्न: यदि कसैले कुनै महिनाको शुक्रबार उमरह गर्छ र त्यसपछि अर्को इलाकामा जान्छ र दुई वा तीन दिनपछि मक्का फर्कन्छ र फेरि अर्को उमरह गर्न चाहन्छ भने के एहरामको लुगा नलगाई उमरह गर्न मिल्छ ?
उत्तर: उमरह गर्ने प्रत्येक व्यक्तिले मक्का जाने क्रममा जुन मीकातबाट गुज्रन्छ, त्यही मीकातदेखि अनिवार्य रूपमा एहराम लगाउनुपर्छ र बिना एहराम त्यसभन्दा बाहिर जान मिल्दैन । किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हज र उमरहको लागि यी मीकातहरुलाई निर्धारण गर्नुभएको छ, चाहे त्यो पहिलो पटक होस् वा दोस्रो वा त्यो भन्दा बढी । तर मीकात भित्रका बासिन्दाहरूले जुन ठाउँमा उमरह गर्ने नीयत गर्छ, त्यही ठाउँदेखि एहराम लगाउनुपर्छ । अनि मक्काबासीले उमरहको लागि हरम सीमा बाहिर गएर एहराम लगाउनुपर्छ, जसरी आइशा (रजियल्लाहु अन्हा) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आदेशमा गरेकी थिइन् ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ ३५४)
***
प्रश्न: आफ्नो उमरह गरेपछि बुवाको तर्फबाट उमरह गरेको मान्छेले मक्का स्थित ‘तन्ईम’ बाट पुनः एहराम बाँधेर आफ्नो बुवाको तर्फबाट अर्को उमरह गर्ने व्यक्तिको बारेमा के नियम छ?
उत्तर: यदि तपाईं आफ्नो उमरह गरेर हलाल भैसकेपछि आफ्नो मृतक वा अशक्त बुवाको लागि उमरह गर्न चाहनुहुन्छ भने तपाईं हरम सीमा बाहिर जस्तै 'तन्ईम' मा गएर उमरहको एहराम लगाउनु पर्याप्त हुन्छ र मीकात जानु पर्दैन ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १३५)
***
तेस्रो: एहराम र यसका निषेधित कुराहरू सम्बन्धी फतवाहरू
प्रश्न: यदि कसैले उमरह वा हजको लागि एहराम लगाउँछ र त्यसपछि रद्द (नगर्ने नियत) गर्छ भने उसले के गर्नुपर्छ ?
उत्तर: यदि कसैले उमरह वा हजको एहराम लगाउँछ र हज वा उमरहमा प्दारवेश गरेको नियत गरेको छैन र तल्बिया पनि पढेको छैन भने ऊ सँग दुईवटा विकल्प छ: कित हज वा उमरहलाई निरन्तरता दिने कित नगर्ने । यदि उसले इस्लामको हज र उमरह गरिसकेको रहेछ भने नगर्दा पनि केही आपत्ति छैन ।
यदि उसले हज वा उमरहमा प्रवेश हुने नियत गरिसकेको छ भने अब त्यसलाई रद्द गर्न वा फिर्ता हुन मिल्दैन । बरु उसले नियत गरेको एहराम अनुरुप (हज वा उमरह) लाई पूरा गर्नु अनिवार्य हो; अल्लाहले भन्नुभएको छ : "अल्लाहको लागि हज र उमरह पूरा गर ।"
यसबाट के स्पष्ट हुन्छ भने कुनै मुस्लिमले हज वा उमरहको लागि नियत गरिसकेपछि त्यसलाई रद्द गर्न मिल्दैन । बरु उक्त श्लोक अनुसार नियत गरेको कार्यलाई पूरा गर्नु अनिवार्य हो । यदि कसैले शर्तका साथ एहराम बाँधेको छ र त्यस्तै परिस्थिति सृजना भयो भने ऊ एहराम खोलेर हलाल (मुक्त) हुन सक्छ । यसको प्रमाण : जुबाआ बिन्त जुबैरको हदीसमा छ; जब उनले भनिन्: "हे अल्लाहको रसूल! म हज गर्न चाहन्छु, तर म बिरामी छु", उहाँले भन्नुभयो: "हज गर र (यसरी) शर्त राख, हे अल्लाह ! तपाईंले मलाई जुन ठाउँमा रोक्नु हुनेछ, म त्यहीं एहराम फुकाल दिन्छु ।" (बुखारी र मुस्लिम)
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १६६)
***
प्रश्न: एउटी महिलाले उमरहको एहराम लगाइन् र त्यसपछि उनको महिनावारी सुरु भयो जसले गर्दा उनी तवाफ र सई नगरी आफ्नो घर फर्किन् र एहराम फुकालिन् । के उनले केही तिर्नुपर्ने हुन्छ ? यदि उनले एहराम फुकालेको छैन भने के गर्नुपर्छ?
उत्तर: यदि कुनै महिलाले उमरहको एहराम लगाइन् र रजस्वला भएकोले तवाफ र सई गर्नु अघि आफ्नो एहराम फुकालिन् भने यदि उनलाई यसको ज्ञान थिएन र उनको पतिले शारीरिक सम्बन्ध राखेको छैन भने उनले रजस्वलापछि उमरह पूरा गर्नुपर्छ । उनले ठूलो अपवित्रतामा स्नान गरे जस्तै नुहाउनुपर्छ र त्यसपछि तवाफ र सई गर्नुपर्छ अनि आफ्नो कपाल काटेर एहराम फुकाल्नुपर्छ र उनले कुनै फिदया (जरिवाना) दिनु पर्दैन ।
यदि यौनसम्पर्क भयो भने उनको उमरह अमान्य हुन्छ र उनले तवाफ, सई र कपाल छोटो पारेर उमरह पूरा गर्नुपर्छ । त्यसपछि उनले उमरहको कजा गर्नुपर्छ; पहिलो पटक एहराम लगाएको मीकातबाट नियत गरेर अर्को उमरह गर्नुपर्छ । त्यसैगरी उनले दम (जरिवाना) दिनुपर्छ; ६ महिना वा सोभन्दा माथिको भेडा वा एक वर्ष वा सोभन्दा माथिको खसी-बाख्रा मक्कामा हलाल गरी त्यसको मासु त्यहाँको गरीबहरूमा बाँड्नुपर्छ ।
यदि उनले अहिलेसम्म एहराम फुकलेकी छैनन् भने उनले रजस्वलापछि तवाफ, सई र कपाल छोटो पारेर उमरह पूरा गर्नु पर्छ । स्मरण रहोस्, महिनावारीले गर्दा उमरह कदापी अमान्य हुँदैन ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ३२३)
***
प्रश्न: के मुहरिमले सुगन्धित साबुन प्रयोग गर्न अनुमति छ ?
उत्तर: मोहरिम पुरुष र महिलाले अत्तर प्रयोग गर्न अनुमति छैन र सुगन्धित साबुन त्यसै अन्तर्गत पर्दछ । जसले जानाजानी अत्तर प्रयोग गर्छ, उसले फिदया (जरिवाना) दिनु पर्छ, तर जो अनभिज्ञ छ वा बिर्सिएको थियो भने उसले केही गर्नु पर्दैन; अल्लाहले भन्नुभएको छ : "हे हाम्रा रब, यदि हामीले बिर्सियौं वा गल्ती गर्यौं भने हामीलाई सजाय नदिनुहोस् ।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मेरो उम्मतलाई गल्ती, भुलचुक र उनीहरूलाई गर्न बाध्य पारिएका (कामहरू) माफ गरिएका छन् ।"
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ १३७)
***
प्रश्न: मस्जिद हरम मा प्रवेश गर्नुअघि म शौचालय गएँ र बिर्सेर इहरामलाई केही बेर टाउकोमा राखें, सम्झना हुने बित्तिकै मैले हटाएं । प्रश्न: के मैले केही जरिवाना दिनुपर्छ ?
उत्तर: यदि मोहरिमले एहरामको अवस्थामा गर्न नहुने कुनै निषेधित कार्य बिर्सिएर गर्यो भने सम्झना हुने बित्तिकै त्यसलाई त्याग्नुपर्छ र उसलाई नत कुनै पाप लाग्छ नत कफ्फारा (जरिवाना) दिनुपर्छ । अल्लाहले भन्नुभएको छ : "हे हाम्रा रब, यदि हामीले बिर्सियौं वा गल्ती गर्यौं भने हामीलाई सजाय नदिनुहोस् ।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : अल्लाहले भन्नुभयो, "मैले यो गरिसकेको छु ।" त्यसैगरी उहाँले भन्नुभएको छ: "मेरो उम्मतलाई गल्ती, भुलचुक र उनीहरूलाई गर्न बाध्य पारिएका (कामहरू) माफ गरिएका छन् ।"
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ १४९)
***
प्रश्न: मेरी श्रीमती, मेरी बहिनी र मैले रमजानमा उमरह गर्यौं, तिनीहरुले मेरो आदेश अनुसार उमरह गर्ने क्रममा पञ्जा लगाए । वास्तवमा, मलाई यसको बारेमा ज्ञान थिएन । अब हामीले के गर्नुपर्छ?
उत्तर: यदि महिलाले जानकारी नभएकोले एहरामको अवस्थामा पन्जा लगाउँछिन् भने उनले केही तिर्नु पर्दैन, तर जानकारी हुनासाथ तुरुन्तै पन्जा फुकाल्नु पर्छ ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ १५६)
***
प्रश्न: हामी श्रीमान र श्रीमतीले उमरहको लागि एहराम बाँध्यौं । एहरामपछि मेरी श्रीमतीलाई महिनावारी सुरु भयो र सही जानकारी नभएकोले हामीले एहराम खोल्यौं र मक्का गएनौं । त्यसपछि यस वर्ष रमजानमा हामीले उमरह गर्यौं । कृपया झर्को नमानिकन यसको शरई हुकुम र अब मैले के गर्नु पर्छ बताइदिनुहोला !
उत्तर: तपाईंहरूले उमरहलाई रद्द नगरी पूरा गर्नुपर्थ्यो । एहराम फुकाल्दा र सामान्य लुगा लगाउदा वास्तविकतामा कुनै परिवर्तन हुँदैन, किनकि एहराम बाँकी छ र रद्द भएको छैन । त्यसैले तपाईंहरूको यो दोस्रो उमरहलाई पहिलो उमरहको निरन्तरता मानिनेछ । यदि यो अवधिमा शारीरिक सम्पर्क (समागम) राखिएको छ भने उमरहको कजा गर्नुपर्छ; अर्थात पहिलो पटक एहराम लगाएको मीकातबाट अर्को उमरह गर्नुपर्छ । साथै, प्रत्येकले दम (जरिवाना) स्वरुप एउटा खसी-बाख्रा मक्कामा वध गरेर त्यसको मासु त्यहाँका गरिबहरूमा वितरण गर्नुपर्ने हुन्छ ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ ३८४)
***
प्रश्न: मेसिनले सिलाइएको छालाको बेल्ट र सिलाई गरिएको जुत्ता लगाउन मिल्छ कि मिल्दैन ?
उत्तर : मेसिनले सिलाइएको छालाको बेल्ट र जुत्ता लगाउन मिल्छ ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १७०)
***
प्रश्न: ‘अबयार अली’ बाट एहराम बाँधेर मक्का जाँदै गर्दा म भिरामी भएँ र मलाई सार्है ज्वरो आयो । त्यसैले म निदाएँ र निन्द्रामा मैले टाउको छोप्न पुगें । के मैले केही गर्नुपर्छ?
उत्तर: तपाईंले फिदया (जरिवाना) तिर्नुपर्छ; ३ दिनको ब्रत बस्नु वा ६ जना गरीबहरूलाई खाना खुवाउनु वा हरम सिमानामा एउटा बाख्रा जबह गर्नुपर्छ ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १८१)
***
प्रश्न: खुट्टामा मोजा लगाएर तवाफ गर्ने बारेमा के नियम छ? के मोजा पनि सिलाइएको अन्तर्गत पर्दछ ?
उत्तर: पुरुषले हज वा उमरहको एहराम लगाएको अवस्थामा मोजा लगाउनु अनुमति छैन । तर रोग वा अन्य केही समस्या छ भने मोजा लगाउन सकिन्छ, तर फिदया (जरिवाना) तिर्नुपर्छ; फिदया भनेको ३ दिन ब्रत बस्नु वा ६ जना गरीबलाई खाना खुवाउनु; (प्रत्येक गरीबलाई डेढ किलो खजुर वा यस्तै खानेकुरा दिनु) वा एउटा बाख्रा जबह गर्नु हो ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १८३)
***
प्रश्न: के मुहरिमले चिसोपनको लागि आफ्नो सम्पूर्ण शरीर धुन अनुमति छ र किन ?
उत्तर: मुहरिमले चिसोपनको लागि आफ्नो सम्पूर्ण शरीर धुन अनुमति छ । यसले उसलाई उपासना गर्ने उर्जा र शक्ति दिनेछ । तर नुहाउँदा कपाल वा छालाको कुनै पनि भाग न खस्ने कुरामा ध्यान दिनुपर्छ ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १८४)
***
प्रश्न: यदि कुनै मुहरिमले आफ्नो गाडीले बोटबिरुवा वा झारपातलाई कुल्चियो भने के उसले केही तिर्नुपर्छ ?
उत्तर: यदि मुहरिमले हरम सिमाना भित्र वा बाहिरका बोटबिरुवालाई नष्ट गरेको छ भने उसले त्यसको मालिकलाई क्षतिपूर्ति बाहेक केही तिर्नु पर्दैन । यदि यो कसैको स्वामित्वमा छैन भने उसले केही तिर्नुपर्ने छैन । तर जानाजानी त्यसो गर्नु हुँदैन, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यसलाई निषेध गर्नुभएको छ ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १८५)
***
प्रश्न: के हज वा उमरहको समयमा पुरुष वा महिला हजयात्रीले आफ्नो एहरामको लुगा फेर्न अनुमति छ ?
उत्तर: हज वा उमरह गर्ने व्यक्तिले आफ्नो एहरामको लुगालाई मजाले फेर्न सक्छन् र यसले हज वा उमरहमा केही फरक पर्दैन ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १८५)
***
प्रश्न: ‘काबा’ को ‘मुलतजम’ मा टाँसिएर प्रार्थना गरिरहेको बेला मेरो हात पवित्र काबामा दलिएको अत्तरलाई छोएको पाएँ र मैले त्यसलाई आफ्नो शरीर, कपाल र लुगामा लगाएँ । त्यसपछि मैले वुजू गरें र लगभग पूर्ण रूपमा सफा गरें । मैले अन्जानमा छोएको र दलेको यो अत्तरको नियम के हो ?
उत्तर: यदि तपाईंले गल्तिले काबामा लागेको अत्तर छोएर आफ्नो शरीर, कपाल वा लुगामा लगाउनुभयो, जुन तपाईंको लागि निषेध गरिएको थियो भने, तपाईंले त्यसको फिदया (जरिवाना) तिर्नुपर्छ; ३ दिन ब्रत बस्नु वा ६ जना गरीबलाई खाना खुवाउनु; (प्रत्येक गरीबलाई डेढ किलो खजुर वा यस्तै खानेकुरा दिनु) वा एउटा बाख्रा जबह गर्नु हो । यदि तपाईले इस्लामी नियमको अनभिज्ञता वा बिर्सिएर गर्नुभएको हो भने केही गर्नु पर्दैन ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १८६)
***
प्रश्न: एउटी महिलाले निकाब (नोज पिस) लगाएर तीन पटक उमरह गरिन् । उनले निकाबमाथि हल्का आवरण पनि लगाएकी थिइन्, जसलाई कहिले बुर्कामाथि राख्थिन् र कहिले माथि उठाउने गर्थिन् । (एहराम) मा निकाब लगाउनु हुँदैन भन्ने आदेश उनलाई थाहा थिएन । अब के गर्नुपर्छ शेख ज्यू ?
उत्तर: हज वा उमरहको लागि एहराममा रहेकी महिलाले निकाब (बुर्का) लगाउनु जायज छैन । नकाब भन्नाले अनुहार छोप्ने विशेष कपडा (नोज पिस) हो । तर यदि महिलाको वरपर (गैर-महरम) परपुरुष हरू छन् भने उनले आफ्नो शल वा घुम्टो आदिले त्यसरी नै अनुहार छोप्नु पर्छ जसरी नबी (सल्लल्लाहु अलैहि व सल्लम) की श्रीमतीहरूले 'हज्जतुल विदाअ' मा पर्दा गरेका थिए । अनि यो प्रश्नमा महिलाले थाहा नभएकोले निकाब लगाउन पुगिन्, त्यसैले उनीमाथि केही छैन, किनभने अल्लाहले भुलचुकलाई माफी दिनुभएको छ ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १९४)
***
चौथो: तवाफ सम्बन्धी फत्वाहरू
प्रश्न: मैले उमरह गरें अनि हज उमरहको पूर्ण जानकारी नभएकोले हजरे अस्वदबाट प्रारम्भ गर्नुपर्ने तवाफ मैले रुक्न यमानीबाट सुरु गरें र बाँकी अनुष्ठानहरू ठीकै छ इन्-शा अल्लाह । कृपया अब मैले के गर्नुपर्छ बताइदिनुहोस् ?
उत्तर: प्रश्नकर्ताले हजरे अस्वदबाट प्रारम्भ गर्नुपर्ने तवाफ रुक्न यमानीबाट सुरु गरेको प्रक्रियालाई गल्ती मानिन्छ; किनकि तवाफ कालो ढुङ्गाबाट सुरु हुन्छ । यद्यपि यो गल्तीले उसको तवाफमा असर गर्दैन; किनभने पहिलो चक्रमा अलि अघिदेखी तवफ गरेको मात्र हो र उसले सातौं चक्कर कालो ढुङ्गामा समाप्त गरेको छ भने यसले केही फरक पर्दैन ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ २१०)
***
प्रश्न: के तवाफ गर्दा इज्तिबा गर्नु सुन्नत हो? यदि कुनै व्यक्तिले इज्तिबा गर्न बिर्सियो भने के गर्नुपर्छ ? के ‘बिस्मिल्लाह, अल्लाहु अकबर’ भन्नुको साटो कालो ढुङ्गालाई चुम्बन गर्नु पर्याप्त हुन्छ? यदि कुनै व्यक्तिले ‘बिस्मिल्लाह, अल्लाहु अकबर’ भन्न बिर्सेर कालो ढुङ्गालाई चुम्बन गर्छ, अनि ढुङ्गाको स्थानबाट टाढा गएपछि सम्झन्छ र मकामे इब्राहीम तर्फ जाँदै गर्दा भन्छ भने के त्यो पर्याप्त हुन्छ ?
उत्तर: मोहरिमले आफ्नो एहरामको बीच भागलाई दायाँ काखिमुनीबाट निकालेर बायाँ काँधमा राख्नुलाई इज्तिबा भनिन्छ । यसरी उनको दाहिने काँध र माथिल्लो हात खुला हुन्छ । तवाफुल्-कुदूम अर्थात मक्का पुगेपछि हज तमत्तो गर्ने व्यक्तिले उमरह गर्दा वा हज किरान र इफ्राद गर्नेले प्रथम तवाफ गर्दा इज्तिबा’ गर्नु सुन्नत हो । यदि कसैले इज्तिबा गरेन भने केही फरक पर्दैन ।
यदि कुनै व्यक्तिले तवाफको सुरुवातमा ‘बिस्मिल्लाह, अल्लाहु अकबर’ भन्न बिर्सियो भने केही फरक पर्दैन; किनकि तवाफ र सई गर्दा तकबीर भन्नु, जिक्र र दुआ गर्नु सबै सुन्नत हुन्, वाजिब होइनन् । बरु, तवाफ र सईको सुरुवातदेखि नै नियतले तवाफ र सई गर्नु अनिवार्य हो ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ २१०)
***
प्रश्न: म तवाफ गर्दा डायपर लगाएकी सानी छोरीलाई साथमा बोकेर हिंड्छु । यस्तो अवस्थामा तवाफ गर्नु जायज छैन भनेर मैले सुनेको छु, किनकि डायपरमा प्रायः पिसाब लागेको हुन्छ । यस्तो अवस्थामा के गर्नुपर्ने हुन्छ ? कृपया स्पष्ट पार दिनुहोस् ।
उत्तर: तवाफ गर्ने व्यक्तिले डायपर लगाएको बच्चालाई बोक्न अनुमति छ । तवाफ गर्ने व्यक्तिको शरीर र उसको लुगा अशुद्धताले दूषित हुनु हुँदैन भनेर ध्यान दिनुपर्छ र सलाहमा पनि यही नियम लागू हुन्छ ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ २३६)
***
प्रश्न: के महिनावारी भएकी महिलाले तवाफ गर्न मिल्छ ?
उत्तर: महिनावारी भएकी महिलाले पवित्र भएर स्नान नगरेसम्म काबाको तवाफ गर्नु अनुमति छैन, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आइशा (रजियल्लाहु अन्हा) लाई महिनावारी हुँदा भन्नुभएको थियो: “तिमी शुद्ध नभएसम्म काबाको तवाफ नगर्नु ।”
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ २४९)
***
प्रश्न: के महिलाले पति वा महरम बिना एक्लै तवाफ र सई गर्न सक्छिन् र उनको पति वा महरम उमरह नसकिएसम्म हरममा पर्खिरहेको हुन्छन्?
उत्तर: महिलाले उमरह वा हजको तवाफ गर्दा महरम साथमा हुनु आवश्यक छैन । यद्यपि, महिलाले उमरह वा अन्य उद्देश्यको लागि यात्रा गर्दा महरम आवश्यक छ ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ ३५३)
***
प्रश्न: एक जनाले काबाको तवाफ गर्ने क्रममा पाँचौं चक्कर पूरा गर्नु अघि इकामत भएकोले नमाज अदा गर्छ अनि त्यसपछि तवाफ पूरा गर्न उभिन्छ । के उसले जहाँबाट छोडेको थियो त्यहीँबाट शेष तवाफ पुरा गर्नुपर्छ वा पाँचौं चक्करलाई रद्द गरी हजरे अस्वदबाट पुनः पाँचौं चक्कर दोहोर्याउनु पर्छ?
उत्तर: सही कुरा के हो भने यस्तो अवस्थामा चक्करलाई रद्द हुँदैन, बरु उसले इमामसँग सलाह पढ्ने उद्देश्यले जहाँबाट छोडेको थियो त्यहीँ बिन्दुबाट शेष तवाफ पुरा गर्नुपर्छ ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २३०)
***
प्रश्न: के हजरे अस्वद (कालो ढुङ्गा) स्वर्गबाट आएको हो? वा यो अरू ढुङ्गा जस्तै ढुङ्गा हो?
उत्तर: अल्लाहले हजर अस्वदलाई चुम्न र छुन आदेश दिनुभएको छ र यसको लागि त्यसलाई पवित्र काबाको कुनामा स्थापित गरिएको छ, जसतर्फ मुख गरेर हामी नमाज पढ्छौं । तवाफ गर्नेहरूले ‘हज्रे-अस्वद’ लाई चुम्नु पर्छ, यदि सम्भव छैन भने टाढाबाट अल्लाहु अक्बर भनेर हातले इशारा गर्नु पर्याप्त हुन्छ । यो स्वर्गबाट आएको ढुङ्गा हो भनेर तिर्मिजी र अन्य हदीसहरूमा छ, तर यसको सनद (कडी) जईफ (कमजोर) हो ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २२८)
***
प्रश्न: हज वा उमराको समयमा काबालाई चुम्बन गर्नु अनुमति छ कि छैन ?
उत्तर: केवल हजरे अस्वदलाई चुम्बन गर्न अनुमति छ; किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हजरे अस्वदलाई चुम्बन गर्नुभयो तर काबाको अन्य भागलाई चुम्बन गर्नुभएन ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २२८)
***
प्रश्न: के महिलाले आफ्नो वरपर गैर-महरम पुरुषहरू हुँदा हजरे अस्वदलाई चुम्बन गर्न अनुमति छ?
उत्तर: तवाफको समयमा कालो ढुङ्गालाई चुम्बन गर्नु सुन्नत मुअक्कदा हो । भीडभाड वा कसैलाई हानि नगरी चुम्बन गर्नु राम्रो हो, किनभने यो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नतको अनुसरण हो । तर भीडभाड वा अरूलाई चोट पुग्ने डर छ भने केवल हातले इशारा गर्नु राम्रो हो, विशेष गरी महिलाहरूको लागि, किनभने उनी सिङ्गो पर्दा हुन् । जब पुरुषहरूको लागि भिडभाड गर्नु अनुमति छैन भने महिलाहरूको लागि कसरी अनुमति हुनसक्छ र! महिलाको वरपर गैर-महरम पुरुषहरू भएकोले भिडभाड नगरी अनुहार छोपेर चुम्बन गर्न सक्छिन् ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २२९)
***
प्रश्न: के हज वा उमरह गर्ने व्यक्तिले 'हतीम' (हिज्रे इस्माईल) भित्रबाट तवाफ गर्न अनुमति छ?
उत्तर: हज, उमरह वा नफ्ली तवाफ गर्ने व्यक्तिले 'हतीम' (हिज्रे इस्माईल) भित्रबाट तवाफ गर्न अनुमति छैन । यदि कसैले त्यसो गर्छ भने त्यो मान्य हुँदैन, किनकि यो काबाकै भाग हो र तवाफ काबाको बाहिर भागमा गर्नुपर्छ । अल्लाहले भन्नुभएको छ : "उनीहरूले प्राचीन घर (काबा) को तवाफ गरून् ।" आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकी छिन्, उनले भनिन् : मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई ‘हिज्रे’ को बारेमा सोधें र उहाँले भन्नुभयो: ‘यो बैतुल्लाहको भाग हो ।’ अर्को शब्दमा उनले सोधिन् : "मैले बैतुल्लाहमा नमाज पढ्ने भाकल गरेँको छुं ।' उहाँले भन्नुभयो: "हिज्रमा नमाज पढ, वास्तवमा हिज्रे इस्माईल बैतुल्लाहको हिस्सा हो ।"
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २३३)
***
पाँचौँ: सई सम्बन्धी फतवाहरू
प्रश्न: महिलाले सई गर्दा दुई हरियो बत्तीको बीचमा पुरूष झैं दौड्नु हुँदैन भन्ने कुरा मैले हज र उमरहको पुस्तकहरूमा धेरै खोजतलास गरे, तर कुनै स्पष्ट कारण फेला पार्न सकिनं । एकपटक टेलिभिजनमा एक विद्वानले भन्दै गरेको सुनें: महिलाले सई गर्दा दौड्नु हुँदैन, यो केवल पुरुषहरूको लागि हो, ताकि महिला बेपर्दा नहोउन् । तर उनले आफ्नो यस भनाइको प्रमाण प्रस्तुत गरेनन् । त्यसपछि मैले आफ्नो मनमा भनेँ: सई गर्दा दौड्नु त स्वयं हाजिरा (अलैहस्सलाम) को सुन्नत हो । तर धर्म विचारमा आधारित छैन भन्ने कुरा मलाई अल्लाहको कृपाले थाहा छ, जुन अली (रजियल्लाहु अन्हु) द्वारा प्रमाणित छन् । कृपया यसबारे केही मार्गदर्शन गर्नुहोस्, अल्लाहले तपाईंलाई बरकत प्रदान गरून् ।
उत्तर: इब्न मुन्जिर (रहिमहुल्लाह) ले भनेका छन्: महिलाले तवाफमा रमल र इज्तिबा गर्नु तथा सईमा दौड्नु हुँदैन भन्ने कुरामा सम्पूर्ण विद्वानहरूको सर्वसम्मति रहेको छ । किनभने यी दुवैमा आधारभूत सिद्धान्त भनेको शक्ति प्रदर्शन गर्नु हो, जुन महिलाको लागि होइन । बरु महिलाहरूको हकमा पर्दा गर्नु हो अनि रमल र इज्तिबा गर्दा महिलाको शरीर खुल्ने सम्भावना हुन्छ ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २२६)
***
छैठौं: उमरहबाट हलाल हुने सम्बन्धी फतवाहरू
प्रश्न: यदि कसैले यस हप्ता उमरह गरेर कपाल खौरिएको छ, फेरि उसले अर्को हप्ता उमरह गर्ने हो भने उसले के गर्नु पर्छ? जब कि उसको कपाल धेरै छोटो छ र सायद अझै आइसकेको छैन।
उत्तर: उमरह वा हज हज गर्ने व्यक्तिले आफ्नो कपाल खौरनु पर्छ वा कपाल काट्नु पर्छ । यदि उसको टाउकोमा कपाल नै छैन भने यो दायित्व माफ हुन्छ र उसको हज वा उमरह सही हुन्छ ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ३२७)
***
प्रश्न: म मानिसहरूको एक समूह उमरा गर्न गए । तिनीहरूले आफ्नो उमरह पूरा गरेपछि एकले अरूको कपाल खौरे, त्यसपछि तिनीहरूमध्ये एकले उसको कपाल खौरे र यसरी तिनीहरू हलाल भए । यसको बारेमा के आदेश छ?
उत्तर: उत्तर: यदि कुनै मुहरिमले इहरामबाट मुक्त हुन चाहने अर्को हजयात्रीको कपाल खौरन्छ भने त्यसमा कुनै हानि छैन, किनकि यो जायज हो ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ १४६)
***
प्रश्न: हज र उमरामा सही कपाल खौरिनु तरिका के हो ? के यो रेजरले गरिन्छ वा मेसिनले? के रेजरले कपाल खौरिनु मेसिनले कपाल खौरिनु भन्दा राम्रो हो वा दुवै समान छन?
उत्तर: महत्वपूर्ण कुरा भनेको कपाल खौरिनु वा छोटो पार्नु हो चाहे त्यो जुनसुकै उपकरणफले होस् । तर खौरिनु उत्तम हो किनभने अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कपाल खौरिनेहरूका लागि तीनपटक र काट्नेहरूका लागि एक पटक क्षमा र दयाको लागि दुआ गर्नुभयो ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ २०१)
***
प्रश्न: यदि जेद्दाको बासिन्दाले उमरा गर्छ र जेद्दामा नपुगुन्जेल आफ्नो कपाल खौरदैन भने, यो कार्यको के आदेश हो ?
उत्तर: हरम क्षेत्र (मक्का) भित्र वा बाहिर कुनै पनि ठाउँमा हज वा उमराहको लागि कपाल खौरनुमा कुनै आपत्ति छैन । उमराह गर्दा आफ्नो कपाल नखौरिएसम्म वा छोटो नपारेसम्म इहरामको अवस्थामा प्रतिबन्धित कुराहरू गर्नु हुँदैन । हजको समयमा, यदि उसले जमरातमा ढुङ्गा हानेको छ, तवाफ गरेको छ र सई गरेको छ भने आफ्नो कपाल नखौरिएसम्म वा छोटो नपारेसम्म पत्नीसँग सम्भोग गर्न पाइँदैन ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ २०३)
***
प्रश्न: एक जना मान्छे जद्दा आयो, फेरि भोलिपल्ट आफ्नो आफन्तका साथ आफ्नो जिन्दगीको पहिलो उमरह गयो र उमरह पूरा गर्यो। सई (सफा र मर्वा बीच दौड) पूरा भए पछि मैले साथीलाई भनेँ: टाउको खौरिने कि कपाल छोट्याउने? उनले भने: हामी घरमै हलक गराउँछौं। तर जब हामी घर फर्कियौं, हलक गर्न बिर्सियौं र एहरामको लुगा फुकाल्यौँ। अब हामीले के गर्नुपर्छ? अल्लाहले तपाईँलाई पुण्य दिऊन।
उत्तर: जसले तवाफ र सई गर्यो, तर हलक गर्न (कपाल खौरिनु) वा कपाल छोट्याउन बिर्सियो र उसले लुगा लगायो भने सम्झना आउँदा आफ्नो लुगा फुकाल्नु पर्छ र इहरामको लुगा लगाउनु पर्छ, त्यसपछि कपाल खौरन वा काट्नु पर्छ, त्यसपछि आफ्नो लुगा लगाउनु पर्छ। यसमा कुनै आपत्ति छैन। किनभने बिर्सेकोले क्षमा दिइएको छ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ २०६)
***
हज गर्ने व्यक्तिहरूलाई धेरै आवश्यक पर्ने फतवाहरू [२] यसलाई साउदी अरबको स्थायी इफ्ता समितिका फतवाहरूको संग्रहबाट चयन गरिएको हो, प्रश्नहरूको उत्तरलाई प्रसंगसँग मिलाएर संक्षिप्त गरिएको छ।
हजको हुकुम, यसको महत्त्व र यसमा प्रतिनिधित्व
प्रश्न: इस्लामी विश्वमा "मक्का मुकर्रमा" को महत्त्व के रहेको छ?
अल्लाहले यसलाई मानिसहरूका लागि बारम्बार फर्केर आउने स्थान, शान्तिको केन्द्र र सुरक्षित पवित्र स्थल बनाउनु भएको छ, जहाँ हज गर्नेहरू र विद्वानहरू आफ्ना धार्मिक अनुष्ठानहरू अत्यन्तै शान्ति र सन्तोषका साथ पूरा गर्छन्। उनीहरू अल्लाहको इनामको आशा राख्छन् र उहाँको सजायबाट डराउँछन्। त्यहाँ मुस्लिमहरूले एकअर्कालाई चिन्छन्, एकअर्कालाई सल्लाह दिन्छन्, धर्म र सांसारिक मामिलाहरूमध्ये उनीहरूलाई चासोका विषयहरूमा परामर्श गर्छन् र उनीहरूको नमाज र अन्य सत्कर्महरूमा धेरै गुणा बढ़ी सवाब दिइन्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ८)
***
प्रश्न: मेरो बुबाले लगभग ४० वर्ष पहिले पैदलै हज गर्नुभएको थियो। उहाँले दुई पटक उमरा पनि गर्नुभएको थियो, जसमध्ये एक उहाँको मृत्यु हुनुभन्दा कम्तिमा तीन वर्ष अगाडिको थियो, किनकि उहाँ निरक्षर हुनुहुन्थ्यो। मलाई थाहा छैन उहाँले कसरी हज गर्नुभयो। के म उहाँको तर्फबाट हज गर्नुपर्छ? यसबारे हजुरको विचार के छ?
उत्तर: हज जीवनमा एक पटक मात्र अनिवार्य छ । सामान्यतः धार्मिक कार्यहरू र हजका नियमहरू सहि तरिकाले सम्पन्न भएको मानिन्छ। त्यसैले फेरि हज गर्नु निवार्य छैन। तर यदि तपाईं आफ्ना बुवाको तर्फबाट हज गर्नुभयो भने त्यो नफिल (स्वेच्छिक) हज हुनेछ र तपाईं र उहाँको लागि ठूलो पुण्यको कारण हुनेछ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १५)
***
प्रश्न : श्रीमानको अनुमति बिना श्रीमतीले फर्ज (अनिवार्य ) हज गर्नका लागि जान मिल्छ कि मिल्दैन?
उत्तर: फर्ज (अनिवार्य) हज त्यो बेलामा वाजिब हुन्छ जब योग्यताका सबै शर्तहरू पूरा भएका हुन्छन् र ती शर्तहरूमा श्रीमानको अनुमति पर्दैन। पतिले उनलाई हज गर्नबाट रोक्न मिल्दैन, बरु उसले यस धार्मिक कर्तव्य पूरा गर्नमा उनलाई सहयोग गर्नु वैधानिक हुन्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/२०)
***
प्रश्न: के विवाहित महिलाले आफ्नो पतिको सहमति बिना आफ्ना आफन्त; भाइहरू सँगै हज गर्न जान अनुमति छ?
उत्तर: महिलाले हजको लागि श्रीमानको अनुमति बिना यात्रा गर्न मिल्दैन, फर्ज (अनिवार्य) हज बाहेक। यदि त्यो फर्ज हज हो र महिलाका साथमा महरम छन् भने श्रीमानले उसलाई हजबाट रोक्ने अधिकार छैन। स्मरण रहोस, महिलाले महरम बिना यात्रा गर्न अनुमति छैन, न त हजको लागि न त अन्य कुनै उद्देश्यको लागि, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाह र अन्तिम दिनमा विश्वास गर्ने महिलाको लागि बिना महरम यात्रा गर्न जायज छैन।" महरमको सट्टा महिलाहरूको समूह पर्याप्त हुँदैनन्, यसमा फर्ज वा नफिल हज दुवै बराबर छन्।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ ४०)
***
प्रश्न: यदि म आफ्नो सानो छोरालाई जो अझै वयस्क भएको छैन, आफ्नो साथ हजमा लैजान चाहन्छु भने, के मैले उसलाई एहरामको कपडा लगाइदिनु पर्छ र सबै धार्मिक कार्यहरू (तवाफ आदि) उसको तर्फबाट गर्नुपर्छ वा मैले उसलाई नियमित लुगा लगाउनु पर्छ र जबसम्म ऊ सानो छ र ऊमाथि हज अनिवार्य छैन तबसम्म उसको लागि केहि गर्नु हुँदैन?
उत्तर: यदि कुनै अभिभावकले वयस्क नभएको तर बुझ्ने बालकलाई हज गराउन चाहन्छ भने, उसलाई इहरामको लुगा लगाउन र मिकातमा इहराम गर्नेदेखि हजको अन्त्यसम्म हजको सबै अनुष्ठान आफैं गर्न आदेश दिनुपर्छ। यदि ऊ आफैंले ढुङ्गा हान्न असमर्थ छ भने अभिभावकले उसको तर्फबाट ढुङ्गा हान्छ र एहरामको अवस्थामा प्रतिबन्धित कुराहरूबाट जोगिन आदेश दिनुपर्छ। यदि बुझ्ने बालक छैन भने अभिभावकले उसको तर्फबाट उमरह वा हजको एहरामको नीयत गर्छ, उसलाई लिएर तवाफ र सई गरिन्छ, अन्य सबै हजका कर्महरूमा पनि उसलाई साथमा राखिन्छ र रमी पनि उसको तर्फबाट गरिन्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २२)
***
प्रश्न: सानो बच्चा वा बच्चीले यदि हज गरे भने, के त्यो अनिवार्य हजको लागि पर्याप्त हुन्छ वा त्यो केवल एक नफिल (स्वेच्छिक) हजको रूपमा गनिन्छ र यसको प्रतिफल उसका बाबुआमालाई मिल्छ?
उत्तर: नाबालकले गरेको उमरह वा हज, स्वेच्छिक (नफ्ल) मानिन्छ र यो फर्ज हज वा वाजिब उमरहको ठाउँमा काफी हुँदैन।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २३)
***
प्रश्न: एक महिला साउदी आइन् र पाहुनाको खर्चमा हज यात्रा गर्न सक्षम भइन्। उनले हजमा आफ्नै कुनै पनि पैसा खर्च नगरेको कारणले गर्दा यो हज इस्लामको अनिवार्य हजको लागि पर्याप्त छ कि छैन भनेर सोध्छिन्।
उत्तर: उनले हज गर्दा आफ्नो माल खर्च नगरेको वा थोरै मात्र खर्च गरेको कुराले हजको सही हुनमा कुनै असर पार्दैन। यदि हजको अधिकांश खर्च अरू कसैले व्यहोरेको भए पनि, त्यो हजमा इस्लामका सबै शर्तहरू, अर्कान (आवश्यक आधारहरू) र वाजिबात (आवश्यक कार्यहरू) पूरा भएका छन् भने, त्यो फर्ज हजको रूपमा मानिन्छ र उनमाथि फर्ज हजको जिम्मेवारी हट्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ३४)
***
प्रश्न: यहाँ ... मा जो व्यक्ति हज गर्न चाहन्छ, उसले बैंकमा १,२५,००० ... राख्नुपर्छ, जुन धेरै ठूलो रकम हो। साथै, ती बैङ्कहरू ब्याजमा आधारित छन् र हजमा जानको लागि यो माध्यम अपनाउनु नै पर्छ। यस्तो अवस्थामा के आर्थिक रूपले सक्षम मुसलमानमाथि हज फर्ज हुन्छ? र यदि उसले हज गर्यो भने, के उसको हज सही हुन्छ, जबकि उसले ब्याजबाट संचालित बैंक र राज्यलाई सहयोग गरेको हुन्छ?
उत्तर: हज वैध (सही) हुन्छ र उल्लेख गरिएको कुरालाई हज ढिलाइ गर्नको लागि बहाना मानिने छैन, यदि ऊ हज गर्न सक्षम थियो भने।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ४२)
***
प्रश्न: हराम (अवैध) मालबाट गरेको हजको बारेमा के हुकुम छ? कबूल हुन्छ कि हुँदैन ?
उत्तर: हज हराम सम्पत्तिबाट गरिएको हो भने हजको वैधतालाई रोक्दैन, यद्यपि गैरकानूनी रूपमा कमाउनु पाप हो र यसले हजको पुण्य घटाउँछ, तर यसलाई अमान्य गर्दैन।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ४३)
***
प्रश्न: मैले बैंकबाट एउटा खास रकम लिएको छु, जुन म वार्षिक किस्ता तिरिरहेको छु। यस्तो अवस्थामा, के म हज गर्न सक्छु, जबकि त्यो रकम अझै बैंकमा तिर्न बाँकी छ?
उत्तर: हजको लागि "सामर्थ्य" (आर्थिक र शारीरिक रूपले सक्षम हुनु) यसको अनिवार्यता (फर्ज हुनु) को एउटा शर्त हो। यदि तपाईं हज गर्न र किस्ता तिर्न सक्नुहुन्छ भने, तपाईं माथि हज फर्ज हुन्छ। तर यदि दुबै एकसाथ गर्न सक्नुहुन्न भने, पहिले तपाईंले आफ्नो ऋण (किस्ता) तिर्नु होस् र हजलाई पछि सार्नुहोस् — किनभने अल्लाह तआला भन्नुहुन्छ: {وَلِلَّهِ عَلَى النَّاسِ حِجُّ الْبَيْتِ مَنِ اسْتَطَاعَ إِلَيْهِ سَبِيلًا} (अल्लाहको लागि मानिसहरूले त्यो घर (काबा) को हज गर्नु अनिवार्य छ, जसले त्यहाँसम्मको यात्रा गर्न सक्ने सामर्थ्य राख्छ।)
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ४५)
***
प्रश्न: मृतक वा वृद्ध व्यक्तिको तर्फबाट हज गर्ने व्यक्तिले पैसा नभएकोले पहिले कहिल्यै हज गरेको छैन भने उसले पहिले आफ्नो हज गर्नुपर्छ वा आफूलाई नियुक्त गर्ने व्यक्तिको तर्फबाट?
उत्तर: आफ्नो हज नगरी अर्को व्यक्तिको तर्फबाट हज गर्नु अनुमति छैन। यसको आधार इब्ने अब्बास (रजियल्लाहु अन्हुमा) ले उल्लेख गर्नु भएको हदीस हो: नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक जना मानिसलाई यसो भन्दै सुन्नुभयो: म शुब्रुमाको तर्फबाट हाजिर छु। उहाँले भन्नुभयो: ‘के तपाईंले आफ्नो हज गर्नुभएको छ?’ उनले भने : ‘छैन।’ उहाँले भन्नुभयो: ‘पहिला आफ्नो लागि हज गर, त्यसपछि शुब्रुमाको लागि।’
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/५०)
***
प्रश्न: के आफ्नो फर्ज हज पूरा गरेको मुस्लिमले हज गर्न नसक्ने कुनै आफ्नो आफन्तको तर्फबाट फर्ज हज गर्न मिल्छ ?
उत्तर: आफ्नो अनिवार्य हज गरेको मुस्लिमले अर्को वृद्धावस्था, निको नहुने रोग वा मृत्युको कारणले गर्दा आफैं हज गर्न असमर्थ रहेको व्यक्तिको तर्फबाट हज गर्न सक्छ र यस विषयमा सही हदीसहरू छन्। तर अस्थायी कारणहरू, जस्तै रोग जसको उपचार सम्भव छ, वा राजनीतिक कारण, वा यात्रा सुरक्षा समस्या र यस्ता अन्य अस्थायी बाधाहरू छन् भने त्यस व्यक्तिको तर्फबाट हज गर्नु मान्य हुँदैन।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ५१)
***
प्रश्न: के म मेरा दुवै मृतक आमाबाबुको तर्फबाट हज गर्न सक्छु, जबकि गरिबीको कारणले गर्दा उनीहरूमाथि हज फर्ज थिएन, तर म हज गर्न चाहन्छु? यसमा शरियतको आदेश बुझ्न चाहन्छु।
उत्तर: यदि तपाईंले पहिले नै आफ्नो हज गरिसक्नुभएको छ भने तपाईं आफ्नो आमाबाबुको तर्फबाट आफैं हज गर्न सक्नुहुन्छ। वा आफ्नो तर्फबाट हज गरेको व्यक्तिलाई पनि तपाईंले हज बदल गर्न नियुक्त गर्न सक्नुहुन्छ; अबू दाऊदले आफ्नो सूननमा अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) द्वारा वर्णन गर्नुभएको कथनको आधारमा कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “उहाँले एक जना मानिसलाई यसो भन्दै गरेको सुन्नुभयो: म शुब्रुमाको तर्फबाट हाजिर छु। उहाँले सोध्नुभयो: "शिब्रमा को हो?" उसले भन्यो: "मेरो दाजु हो वा मेरो नजिकको नातेदार हो।" उहाँले भन्नुभयो: ‘के तपाईंले आफ्नो हज गर्नुभएको छ?’ उनले भने : ‘छैन।’ उहाँले भन्नुभयो: ‘पहिला आफ्नो हज गर, त्यसपछि शुब्रुमाको तर्फबाट हज गर।" इब्ने माजाले वर्णन गरेका छन्, बैहकीले भनेका छन्: यसको सनद सही छ र यो अध्यायमा यो भन्दा बढी सही अरू कुनै हदीस छैन।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/५३)
***
प्रश्न: के कुनै व्यक्तिले आफ्नो बुबा, आमा र आफ्नो तर्फबाट एक पटक हज गर्न सक्छ?
उत्तर: मृतकको तर्फबाट र हज गर्न असमर्थ जीवित व्यक्तिको तर्फबाट हज बदल गर्न अनुमति छ। एक व्यक्तिले एक पटक हज गरेर दुई जनाको तर्फबाट हजको नियत गर्न अनुमति छैन, किनकि हज एक व्यक्तिको लागि मात्र पर्याप्त छ र उमरहको हकमा पनि यही कुरा लागू हुन्छ। यद्यपि, यदि उसले एक वर्षमा एक व्यक्तिको तर्फबाट हज र अर्कोको तर्फबाट उमराह गर्छ भने, यदि तीर्थयात्रीले आफ्नो लागि हज र उमराह गरेको छ भने यो पर्याप्त हुन्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/५७)
***
प्रश्न: यदि कोही हजको यात्रामा जान्छ र आफ्नी आमाको लागि उमरह र बुबाको लागि हज गर्ने इरादा राख्छ, तर दोस्रो वर्ष उसले त्यसलाई उल्ट्याएर आफ्नी आमाको लागि हज र बुबाको लागि उमरह गर्छ भने के नियम छ? यो अनुमति छ कि छैन?
उत्तर: हज र उमरा दुवै छुट्टाछुट्टै उपासना हुन्। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उमरादेखि हजका सम्पूर्ण किसिम; किरान, इफ्राद र तमत्तु' लाई कसरी गर्ने भनेर व्याख्या गर्नुभएको छ। यदि कसैले आफ्नो आमाको तर्फबाट उमरहको एहराम बाँध्यो र हलाल भए पछि बाबुको तर्फबाट हजको एहराम बाँध्यो वा यसको विपरित गर्यो भने त्यसमा कुनै आपत्ति छैन। यदि उसले आफ्नो तर्फबाट उमरह वा हजका लागि इहराम गर्छ र त्यसबाट निस्केपछि आफ्नो बुवाको तर्फबाट एहराम बाँधछ भने जायज छ; किनभने कर्महरू नियतहरूमा आधारित छन् र प्रत्येक व्यक्ति नियत अनुसार पुरस्कृत गरिनेछ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ५८)
***
प्रश्न: मेरो श्रीमान् (अल्लाहले उहाँमाथि रहम गरून्) को निधन भइसकेको छ र अल्लाहले चाहनुभयो भने म यो वर्ष उहाँको तर्फबाट कसैलाई हज गर्न पठाउन चाहन्छु। के त्यो व्यक्ति जसले उहाँको तर्फबाट हज गर्छ, उसले यात्रा खर्च, खाना–पानीको खर्चबाहेक केही पारिश्रमिक लिन मिल्छ कि मिल्दैन? कृपया मलाई जानकारी दिनुहोस्। अल्लाहले तपाईँलाई उत्तम प्रतिफल दिऊन्।
उत्तर: अरूको तर्फबाट हज गर्न नियुक्त भएको व्यक्तिले त्यो हज गरेबापत पाउने प्रतिफल लिन अनुमति छ, यद्यपि त्यो पारिश्रमिक यात्रा, खाना–पानी र अन्य आवश्यक खर्चभन्दा बढी नै किन नहोस्। तर उसले हज गर्दा अल्लाहको पवित्र घर (हरम शरीफ) मा हुने उपासनामा सहभागी हुने र असल काममा भाग लिने नियत गर्नुपर्छ, केवल पैसाको नियत राख्नु हुँदैन।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ६०)
***
प्रश्न: हामीले हज गर्यौँ र हाम्रो साथमा एउटा सानो बालक थियो। हामीले त्यस केटाको तर्फबाट एउटी महिलाको लागि नियत गर्यौं। हामीले मृतक महिलाको तर्फबाट तवाफ गर्यौं, अर्कानहरू पूरा गर्यौं र उसको तर्फबाट फिदिया (कुर्बानी) पनि दियौँ। यस्तो अवस्थामा त्यो हजको इस्लामी हुकुम के हुन्छ?
उत्तर: सानो बच्चाले गरेको हज उसको आफ्नै लागि नफिल (स्वेच्छिक) हज मानिन्छ। उसले आफ्नो लागि हज नगरेसम्म अरूको तर्फबाट हज गर्न अनुमति छैन । फर्ज हज त केवल बालिग भएपछि मात्र पूरा हुन्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/६८) अलिकति संशोधनसहित
***
प्रश्न: के कुनै व्यक्तिले आफूले हजमा जानुभन्दा पहिले आफ्ना आमाबुबालाई हजमा पठाउन सक्छ ?
उत्तर: हज प्रत्येक स्वतन्त्र, समझदार, वयस्क मुस्लिममाथि जीवनमा एक पटक फर्ज हो। आफ्नो आमाबाबुको सम्मान गर्नु र आफ्नो क्षमताले भ्याएसम्म यो दायित्व पूरा गर्न मद्दत गर्नु राम्रो कुरा हो, तर तपाईंले पहिले आफ्नो हज गर्नु पर्छ। सबै जनाले एकैसाथ हज गर्न सम्भव छैन भने आफ्ना आमाबाबुलाई सहयोग गर्नुपर्छ। यदि तपाईँले आफ्ना आमाबुवालाई आफुभन्दा पहिले हज गराउनुभयो भने पनि उनीहरूको हज सही मानिन्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ७०)
***
प्रश्न: मेरो आमाको उमेर सय वर्षभन्दा कम छैन र उहाँ हज गर्न शारीरिक रूपमा अक्षम हुनुहुन्छ। मैले उहाँकै खर्चमा गत वर्ष उहाँको तर्फबाट हज र उमरह गरेको थिएँ। तर केही मानिसहरूले भने, "उहाँको मृत्यु पछि मात्र उहाँको तर्फबाट हज गर्न मिल्छ, तपाईंको यो हजको कुनै फाइदा भएन।" कृपया यसबारे तपाईंको उत्तर के होला?
उत्तर: यदि तपाईंकी आमा बुढेसकालले गर्दा आफ्नो तर्फबाट हज र उमरह गर्न असमर्थ हुनुहुन्छ भने, उहाँको तर्फबाट तपाईंको हज र उमराह मान्य हुनेछ, तर तपाईंले पहिले आफ्नो हज र उमरह गरिसकेको हुनुपर्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ७१)
***
प्रश्न: हजका कुन–कुन कुराहरूमा अरूलाई प्रतिनिधि (वकिल) बनाउन मिल्छ? र कहिले अरूको तर्फबाट हज गर्नु जायज हुन्छ ?
उत्तर: मृतक, वृद्ध वा निको नहुने रोगले गर्दा असमर्थ मुस्लिमको तर्फबाट हज र उमरह गर्न सकिन्छ। बच्चा, बिरामी वा वृद्ध असमर्थ मुस्लिमको तर्फबाट ढुङ्गा फ्याँक्न प्रतिनिधि नियुक्त गर्न सकिन्छ। तर प्रतिनिधि (वकिल) पनि त्यही वर्ष हज गरिरहेको हुनुपर्छ र पहिले उसले आफ्नो तर्फबाट रमी गरिसकेको हुनुपर्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ७६)
***
प्रश्न: एउटा मुस्लिम सऊदी अरब बाहिर कुनै मुस्लिम देशमा बित्यो तर हज फर्ज हुँदाहुँदै उसले हज गरेन । म अहिले सऊदी अरबमा छु, के म उसको तर्फबाट यहाँबाट हज गर्न सक्छु? के टाढाको देश वा नजिकैको देशबाट हज गर्नुमा कुनै फरक छ?
उत्तर: तपाईंले सऊदी अरबबाट आफ्नो देशमा वा अन्य मृत्यु भएको कुनै पनि मुस्लिमको तर्फबाट हज गर्न सक्नुहुन्छ, चाहे उसले हज गरेको होस् वा नहोस्। दूरी (नजिक वा टाढा) ले सवाबमा कुनै असर पार्दैन। तर इख्लास (नियतको शुद्धता), खर्च, परिश्रम र शरियतअनुसार काम गर्न खोजिएको प्रयासको आधारमा पुण्य मिल्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ७७)
***
प्रश्न: यदि कुनै पुरुषले मृतक व्यक्तिको तर्फबाट, चाहे त्यो पुरुष होस् वा महिला, वा बुढ्यौली वा निको नहुने रोगको कारणले अशक्त व्यक्तिको तर्फबाट शुल्क लिएर हज गर्छ भने के हजको लागि मजदुरी लिएको व्यक्तिले अल्लाहबाट सवाब (पुण्य) पाउँछ?
उत्तर: जसले अरूको तर्फबाट हज वा उमरह गर्छ; चाहे पारिश्रमिक लिएर होस् वा नलिई हज र उमरहको मूल सवाब त उस व्यक्तिलाई जान्छ, जसको तर्फबाट हज गरिएको छ। तर प्रतिनिधि (हज गर्ने व्यक्ति) लाई पनि, यदि उसले इख्लास (नियतको शुद्धता) का साथ र राम्रो विचारले यो काम गरेको छ भने, ठूलो पुण्यको आशा गर्न सकिन्छ। जो कोही मस्जिदुल् हराम सम्म पुग्छ र त्यहाँ धेरै उपासना र अल्लाहको नजिक हुने कर्महरू गर्छ र उसले आफ्नो काम अल्लाहलाई समर्पित गर्छ भने धेरै पुण्य पाउने आशा गरिन्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ७७)
***
प्रश्न: अफ्रिकामा बस्ने व्यक्तिले आफ्नी आमाको तर्फबाट हज गर्न अरू कसैलाई नियुक्त गर्न चाहन्छ। के उसले अफ्रिकाबाट मक्का आउने तीर्थयात्रीको खर्च तिर्नुपर्ने हुन्छ वा त्यसमा केही कटौती गर्न मिल्छ?
उत्तर: माथि उल्लेखित व्यक्तिले आफ्नी आमाको मृत्यु भएमा वा वृद्धावस्था वा निको नहुने रोगका कारण आफैं हज गर्न असमर्थ भएमा, थोरै वा धेरै पारिश्रमिकमा वा निःशुल्क मक्का वा अन्यत्रबाट हज गर्न विश्वसनीय व्यक्तिलाई नियुक्त गर्न सक्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ८०)
***
प्रश्न: मेरो बुबा हज यात्रा नगरी बित्नुभयो र उहाँको तर्फबाट हज गर्नु मेरो कर्तव्य हो भनेर मैले लिएको छु। मैले उहाँको तर्फबाट हज गर्न कसैसँग सम्झौता गरें, तर जब उनले मलाई मेरो बुबाको नाम र उहाँको मृत आमाको नाम सोध्नुभयो, हामीलाई उहाँको नाम थाहा थिएन। के उहाँको आमाको नामको सट्टा केवल मृतकको नाम पर्याप्त हुन्छ?
उत्तर: अरूको तर्फबाट हज गर्दा केवल नियत (मनको भाव) गर्नु पर्याप्त हुन्छ र जसको तर्फबाट हज भइरहेको छ उसको नाम वा उसको बुबा वा आमाको नाम लिनु आवश्यक छैन । यदि उसले इहरामको सुरुमा वा तल्बियाको समयमा वा तमत्तु वा किरान गरिरहेको बेला तमत्तुको बलिदानको जनावर वध गर्दा उसको नाम उच्चारण गर्छ भने राम्रो छ, किनभने अबू दाऊद, इब्ने माजा र इब्ने हिब्बानले हजरत इब्ने अब्बास (रजियल्लाहु अन्हु) बाट यस विषयमा कथन वर्णन गर्नुभएको छ: नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक जना मानिसलाई यसो भन्दै सुन्नुभयो: म शुब्रुमाको तर्फबाट हाजिर छु। उहाँले भन्नुभयो: ‘के तपाईंले आफ्नो हज गर्नुभएको छ?’ उनले भने : ‘छैन।’ उहाँले भन्नुभयो: ‘पहिला आफ्नो लागि हज गर, त्यसपछि शुब्रुमाको लागि।’
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ८१)
***
प्रश्न: २५ वर्षको उमेरको एक जना मानिस हज नगरी मरे। के हामीलाई उसको तर्फबाट हज गर्न अनुमति छ? के उमरा बिना हज पर्याप्त हुन्छ, जबकि उसँग पैसा थियो?
उत्तर: यदि कसैमाथि हज फर्ज थियो तर हज नगरी उसको मृत्यु भयो भने, उसको तर्फबाट हज र उमरा गर्ने पर्याप्त रकम उसको सम्पत्तिबाट निकाल्नुपर्छ। यदि कसैले उसको सम्पत्तिबाट केही नलिई स्वेच्छाले उसको तर्फबाट हज गर्न चाहन्छ भने त्यसो गर्न अनुमति छ। हज इस्लामको पाँच स्तम्भमध्ये एक हो भन्ने कुरा सर्वविदित छ र यो फर्ज भएको व्यक्तिको मृत्युले यो माफ हुँदैन। यसबारे इमाम बुखारी (रहिमहुल्लाह) ले आफ्नो सहीह (सही हदीस संग्रह) मा रिवायत गर्नु भएको : "जुहैनाहकी एक महिला नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आइन् र भनिन्: मेरी आमाले हज गर्ने भाकल गरेकी थिइन्, तर हज नगरी उनको मृत्यु भयो। के म उनको तर्फबाट हज गरूँ? उहाँले भन्नुभयो: "हो, उनको तर्फबाट हज गर। यदि तिम्री आमामाथि कुनै ऋण भएको भए के तिमीले तिर्नुपर्दैन? अल्लाहको ऋण तिर, किनकि अल्लाह तिर्नुपर्ने कुरामा बढी योग्य हुनुहुन्छ।" "खष्अमकी एक महिलाले उनलाई सोधिन्, "हे अल्लाहका रसूल! अल्लाहले आफ्ना भक्तहरूमाथि हज फर्ज गर्नुभएको दायित्व मेरो बुबामाथि आएको छ, तर उहाँ वृद्ध हुनुहुन्छ र आफ्नो सवारीमा बस्न सक्नुहुन्न। के म उनको तर्फबाट हज गरूँ?' उनले भने: 'तिम्रो बुबाको तर्फबाट हज गर।'" रह्यो उमरहको कुरा, सो पाँच जना हदीसका वर्णनकर्ताहरूले उमरह सम्बन्धी यो कुरा रिवायत गरेका छन् : "अबू रजीन अल-उक़ैली नबी (सल्लल्लाहु अलैहि व सल्लम) कहाँ आएर भने: "मेरो बुवा अति बुढो हुनुहुन्छ, उहाँ हज गर्न, उमरह गर्न र यात्रा गर्न सक्नुहुन्न।" उहाँले भन्नुभयो: "तिमी आफ्ना बुवाको तर्फबाट हज गर र उमरह गर।"
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ८७)
***
प्रश्न: के मुस्लिम महिलाले आफ्नो परिवारको कुनै सदस्यलाई साथमा लैजान असमर्थ छिन् वा उनको बुबाको मृत्यु भएको छ भने भरपर्दो महिलाहरूसँग हज यात्रा गर्न अनुमति छ? के उनको आमा, फुपू वा उनको काकी, वा उनले हजको समयमा आफ्नो मोहरमको रूपमा रोजेको कुनै पनि व्यक्तिलाई तीर्थयात्रा गर्न लैजान अनुमति छ?
उत्तर: सही दृष्टिकोण के हो भने महिलाले आफ्नो पति वा विवाह गर्न नसक्ने पुरुष नातेदार (महरम) बाहेक हजको यात्रा गर्न अनुमति छैन। उनलाई भरपर्दो महिला वा पुरुष जो महरम होइनन्, वा आफ्नी आमा, सानीआमा, काकीको साथमा यात्रा गर्न मिल्दैन। बरु, उनी आफ्नो पति वा विवाह गर्न नसक्ने पुरुष नातेदारसँग हुनुपर्छ। यदि महरम छैनन् भने, उसमाथि हज फर्ज हुँदैन । यो अवस्थामा उसलाई शर'ई (इस्लामिक कानुन) रुपमा 'सक्षम' भएको मानिँदैन। अल्लाहले भन्नु भएको छ: (अल्लाहको लागि मानिसहरूले त्यो घर (काबा) को हज गर्नु अनिवार्य छ, जसले त्यहाँसम्मको यात्रा गर्न सक्ने सामर्थ्य राख्छ।)
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ९१)
***
प्रश्न: यदि कुनै महिलाले आफ्नो पति वा महरम गुमाएकी छिन् वा आफ्नो पतिको मृत्यु पछि इद्दत (प्रतिक्षा) मा छिन् तर उनी आर्थिक रूपमा सक्षम छिन् भने के उनलाई हज गर्नुपर्ने हुन्छ?
उत्तर: यदि कुनै महिलाले आफ्नो साथमा यात्रा गर्न पुरुष महरम पाउन सकिनन् भने हज गर्नु अनिवार्य छैन र आफ्नो पतिको मृत्यु पछि इद्दत (प्रतिक्षा अवधि) मा रहँदा हजको लागि बाहिर जान पनि अनुमति छैन।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ९४)
***
प्रश्न: एक महिलाले महरम बिना भरपर्दो महिलाहरूको साथमा अनिवार्य हज यात्रा गरिन्। के उनको फर्ज हज पूरा भएको मानिन्छ वा मानिदैन ?
उत्तर: यदि वास्तविकता उल्लेख गरिए जस्तै हो भने, उनको हज सही छ र उनको फर्ज पूरा भयो तर महरम बिना यात्रा गर्नाले पापी छिन् र उनले अल्लाहसँग पश्चात्ताप गर्नुपर्छ र क्षमा माग्नुपर्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ९७)
***
प्रश्न: एक जना मानिस हज यात्रा नगरी मरे र उसले आफ्नो सम्पत्तिबाट उसको लागि हज बदल गर्न वसीयत गर्यो। के त्यो हज सही हुन्छ र के अरूले गरिदिएको हज उसले आफै हज गरे जस्तै हुन्छ ?
उत्तर: यदि कुनै मुस्लिमको हज यात्रा नगरी मृत्यु भयो र हज गर्न आवश्यक शर्तहरू पूरा भएकोले ऊ माथि हज फर्ज थियो भने, उसले छोडेको धनबाट उसको तर्फबाट हज गर्नुपर्छ, चाहे उसले यो वसीयत गरेको होस् वा नहोस्। यदि हज गर्न योग्य ब्यक्तिले उसको तर्फबाट हज गर्छ र उसले पहिले नै आफ्नो हज गरिसकेको छ भने, उसको हज वैध छ र उसको दायित्व पूरा गर्न पर्याप्त छ। कुनै व्यक्तिले अर्को व्यक्तिको तर्फबाट गरेको हज उसको आफ्नै तर्फबाट गरिएको हज जस्तै हो वा पुण्य कम वा बढी हो भन्ने कुराको मूल्याङ्कन गर्ने हो भने, यो अल्लाहमा निर्भर छ। यदि उनी सक्षम छन् भने, मृत्यु हुनुभन्दा पहिले हज गर्न हतार गर्नु उनको कर्तव्य हो भन्ने कुरामा कुनै शंका छैन; किनभने शरियतले यसलाई अनिवार्य बनाएको छ र ढिलाइ गर्दा पाप लाग्ने डर पनि हुन्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १००)
***
प्रश्न: यदि कुनै पुरुषले हजको समयमा आफ्ना साथीहरूसँग झगडा गर्छ भने, के उसको हज वैध र पर्याप्त हुन्छ, चाहे त्यो अनिवार्य हज नै किन नहोस्?
उत्तर: उसको हज मान्य छ र फर्ज हजको रूपमा पर्याप्त हुन्छ। तर उसले निन्दनीय बहस गरेको हुनाले उसको सवाब (पुण्य) मा केही कमी आउँछ। उसले त्यसको लागि तौबा (प्रायश्चित) गर्नुपर्छ। अल्लाह भन्नुहुन्छ: {हे आस्थावानहरू हो, तिमीहरू सबैले अल्लाहसामु तौबा गर, ताकि तिमीहरू सफल हुन सक।}
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ११२)
***
दोस्रो : मवाकीत र एहरामका बारेमा फतवाहरू
प्रश्न: के जद्दाबाट एहराम बाँध्न जायज हुन्छ ?
उत्तर: जिद्दा हज वा उमरहको लागि कुनै मीकात होइन, तर त्यहाँका बासिन्दा वा त्यहाँ बसेर काम गर्नेहरू र त्यसैगरी कामको सिलसिलामा त्यहाँ पुगेका र त्यसपछि हज वा उमराह गर्ने निर्णय गर्नेहरूले त्यहींबाट एहराम लगाउछन्। तर जसको लागि यसअघि नै मीकात तोकिएको छ, जस्तै मदीना र त्यस वरपरका मानिसहरूका लागि ज़ुल-हुलैफ़ा मीकात हो, चाहे तिनीहरु स्थलमार्ग वा हवाई मार्गबाट जाओस्। त्यसैगरी अल-जुहफा का बासिन्दाहरू र त्यस वरपरका मानिसहरूका लागि अल-जुहफा मीकात हो, चाहे तिनीहरु स्थलमार्ग वा हवाई मार्गबाट जाओस्। त्यस्तै यलमलम पनि। तिनीहरूले अनिवार्य रूपमा आफ्नो मीकातबाट इहराम लगाउनु पर्छ, चाहे तिनीहरु स्थलमार्ग वा हवाई मार्गबाट जाओस्।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १३०)
***
प्रश्न: हजयात्रीले एहराम बाँध्न लाग्दा एहरामको लागि नुहाउनु भन्दा पहिला अत्तर लगाउने कि नुहाएपछि ?
उत्तर: उमरह वा हज गर्न चाहने व्यक्तिले तल्बिया पढ्नु अघि इहराम लगाउदा अत्तर लगाउन सक्छ, तर नुहाएपछि लगाउनु उत्तम हो, आइशा (रजियल्लाहु अन्हा) को भनाइ छ: "म अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई इहराम लगाउनु अघि र हलाल हुनको लागि काबाको परिक्रमा गर्नु अघि अत्तर लगाउँथें।" (बुखारी र मुस्लिम)
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १६८)
***
प्रश्न: अल्लाहले तीर्थयात्रीहरूलाई सिलाइएको लुगा लगाउन किन निषेध गर्नुभयो र यसको पछाडिको बुद्धि के हो?
उत्तर: पहिलो: अल्लाहले सक्षम व्यक्तिहरूका लागि जीवनमा एक पटक हजयात्रा अनिवार्य गर्नुभएको छ र यो इस्लामका आधारभूत स्तम्भहरू मध्ये एक हो भन्ने कुरा सर्वविदितै छ । त्यसकारण, एक मुस्लिमले अल्लाहलाई खुसी पार्न र उहाँको आदेश पालना गर्न, उहाँको इनामको आशा गर्दै र उहाँको दण्डबाट डराउँदै हज पूरा गर्नुपर्छ। सर्वशक्तिमान ईश्वर आफ्नो कानून र आफ्ना सबै कार्यहरूमा बुद्धिमानी र आफ्ना सेवकहरूप्रति दयालु हुनुहुन्छ। उहाँले तिनीहरूको लागि केवल त्यही कानून बनाउनुहुन्छ जुन तिनीहरूको हितमा छ र जसले तिनीहरूलाई यस संसार र परलोकमा ठूलो लाभ दिन्छ। कानून हाम्रो प्रभु, बुद्धिमान् अल्लाहको हो र सेवकले उहाँका आदेशहरूको पालन गर्दै पूर्णरूपमा समर्पण गर्नु हो।
दोस्रो: हज र उमरहमा सिलाएको कपडा त्याग्ने विधानका धेरै हिकमतहरू छन्: तीमध्ये केही यस्ता छन्: कयामत (प्रलय) को दिन मानिसहरूको अवस्थालाई सम्झनु, किनकि तिनीहरू न्यायको दिनमा नाङ्गो खुट्टा र नाङ्गो शरीर उठाइनेछ, त्यसपछि तिनीहरूलाई लुगा लगाइनेछ। यसरी परलोकको अवस्था सम्झनुमा ठूलो नसीहत र चेतना छ। अर्को हिकमत आत्मालाई विनम्र बनाउनु, त्यसमा नम्रता र आज्ञाकारिताको भाव उत्पन्न गर्नु र घमण्डको मैलो हटाउनु हो। त्यस्तै, आत्मामा सामीप्य, समानता र सादा जीवनको भावना जागृत गराउनु, विलासिताबाट टाढा रहनु र गरिब-दुखीहरूसँग सहानुभूति गर्नु पनि यसका उद्देश्यहरूमध्ये पर्दछन्। यस्ता थुप्रै उद्देश्यहरू छन्, जसअनुसार अल्लाहले हजको तरिका तय गर्नुभएको छ र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसलाई स्पष्ट पार्नुभएको छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १७९)
***
प्रश्न: हज गर्ने व्यक्तिले हजमा त्यस्ता लुगा (एहराम) किन लगाउँछन्?
उत्तर: अल्लाहले आफ्ना रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) मार्फत हामीलाई हज र उमराहको समयमा इजार (तल्लो लुगा) र रिदा (माथिल्लो लुगा) लगाउन आदेश दिनुभएको छ, जसको असल ज्ञान र हिक्मत उहाँलाई मात्र थाहा छ। त्यसकारण, हामीलाई त्यसको बुद्धि थाहा होस् वा नहोस् सवाबका नियतले आदेश पालन गर्नु हो । यस सम्बन्धमा विद्वानहरूले उल्लेख गरेका कुराहरूमध्ये निम्न छन्: मानिसहरूलाई न्यायको दिनमा भेला हुने दिन र पुनरुत्थानको अवस्थाको सम्झना गराउने, तीर्थयात्रीलाई धनी र गरिब बीच नम्रता र समानताको अनुभूति गराउने हो। हामी हाम्रो र तपाईंको लागि सफलता, मार्गदर्शन र सत्यमा दृढताको लागि प्रार्थना गर्छौं।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १७१)
***
प्रश्न: महिनावारी भएकी महिलाको हजको नियम के हो?
उत्तर: महिनावारीले हज गर्नबाट रोक्दैन। महिनावारी भएको बेला हजको एहराम लगाउने महिलाले काबाको परिक्रमा बाहेक हजका सबै कार्यहरू गर्न सक्छिन्, महिनावारी रोकिएपछि स्नान गरेर काबाको परिक्रमा गर्नु पर्छ। त्यस्तै, सुत्केरी महिलाको हकमा पनि यही नियम लागू हुन्छ। यदि उनले हजका स्तम्भहरू गर्छिन् भने, उनको हज मान्य हुन्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १७२)
***
प्रश्न: एउटी महिला हज गर्न सउदी अरब गइन् र तवाफ अल-कुदुम अघि महिनावारी हुन थाल्यो। के उनी महिनावारीको समयमा अराफत जान सक्छिन् र उनको बारेमा के आदेश छ?
उत्तर: उनी आफ्नो इहरामको अवस्थामा रहने छिन् र काबाको परिक्रमा बाहेक तीर्थयात्रीले गर्ने सबै काम गर्छिन् । अनि रजस्वला बन्द भएपछि नुहाएर काबाको परिक्रमा गर्ने छिन्।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १७३)
***
प्रश्न: के कुनै पुरुषले मिकातमा इहरामको अवस्थामा बसेर आफ्नो नङ काट्न अनुमति छ वा कुर्बानी नगरेसम्म त्यसो गर्न अनुमति छैन?
उत्तर: यदि उसले इहरामको अवस्थामा प्रवेश गर्नु अघि त्यसो गर्छ भने केही फरक पर्दैन। यदि उसले कुर्बानी गर्ने नियत राखेको छ र हजको महिना सुरु भयो भने उसले त्यसो गर्न पाउँदैन, किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसबाट रोक्नुभएको छ। तर एहरामको नीयत गरेर एहराममा प्रवेश गरेपछि यस्तो गर्न पूर्ण रूपमा निषेध गरिएको छ, किनकि इहराममा रहेका हजयात्रीले आफ्नो परिक्रमा र उमराहको सई पूरा नगरेसम्म आफ्नो नङ वा कपाल काट्न अनुमति छैन। त्यसपछि कपाल खौरेर वा छोटो पारेर इहरामबाट मुक्त हुन्छ। हजको सन्दर्भमा जब उसले जमरा अक़बा मा रमी गर्छ (ढुङ्गा हान्छ) भने उसले कपाल खौरनु वा काट्नु अनुमति छ र खौरनु राम्रो हो। त्यसपछि ऊ एहरामबाट मुक्त हुन्छ, चाहे त्यो क़ुर्बानी गर्नु अघि होस् वा पछि, यद्यपि क़ुर्बानीपछि हो भने त्यो राम्रो हो।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १७८)
***
प्रश्न: मेरो बुबाले गत वर्ष हज गर्नुभयो, तर उहाँ धेरै बिरामी भएकोले इहराम लगाउन सक्नुभएन । अब के गर्नुपर्छ ?
उत्तर: यदि कुनै हजयात्रीले चिसो, रोग वा यस्तै कारणले एहरामको समयमा सिलाएको कपडा लगाएको हो भने त्यसको अनुमति छ। तर सिलाइएको कपडा लगाएकोले उसमाथि यीमध्ये एक कफ्फारा (जरिवाना) अनिवार्य हुन्छ: तीन दिन उपवास बस्नु वा छ जना गरिबहरूलाई खाना खुवाउनु; प्रत्येकलाई आधा साअ स्थानीय अन्न अनुसार दिनु वा कुर्बानीको लागि उपयुक्त भेँडा वध गर्नुपर्दछ। यदि उसले टाउको छोप्यो भने पनि यही नियम लागू हुन्छ। रोजा त उसले जुनसुकै स्थानमा राख्न सक्छ, तर खाना खुवाउने र जनावर वध गर्ने कार्य भने मक्का हरम (पवित्र क्षेत्र) भित्र नै गर्नुपर्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १८०)
***
प्रश्न: म, इन्शाअल्ला (अल्लाहले चाहनुभयो भने) हज गर्न चाहन्छु, तर मेरो समस्या के हो भने म तालु खुइलिएको मान्छे हुँ जसको टाउकोमा रौं छैन, मेरो छाला अत्यन्त संवेदनशील छ र कुनै पनि घामले मेरो स्वास्थ्यलाई असर गर्छ, जसले गर्दा टाउकोको छालामा गम्भीर सूजन हुन्छ र विशेष गरी टाउकोमा र सामान्यतया अनुहारमा नसाहरू देखा पर्छन्। तपाईंलाई थाहा छ, एहरामको अवस्थामा टाउको छोप्नु निषेध छ। म होचो मान्छे हुँ र छाता बोक्न सक्दिन किनकि यो मेरो वरिपरि भएकाहरूलाई असुविधाजनक हुनेछ भन्ने कुरा थाहा पाउँदा म यस विषयमा तपाईंको सम्मानित रायको लागि अनुरोध गर्दछु। अल्लाहले तपाईंको रक्षा गरून र तपाईंको पाइलाहरूलाई मार्गदर्शन गरून्।
उत्तर: यदि परिस्थिति वर्णन गरिए जस्तै हो भने, तपाईं एहरामको अवस्थामा टाउको छोप्न सक्नुहुन्छ। तर त्यसको बदलामा फिद्या (जरिवाना) दिनुपर्छ: एउटा भेंडा वध गर्ने र यसको मासु मक्काका गरीबहरूलाई खुवाउने, वा हरम (मक्का) का ६ जना गरीबहरूलाई खाना खुवाउने अथवा प्रत्येकलाई आधा सा (१.५ किलो) खजुर वा स्थानीय खाना दिने वा तीन दिन रोजा राख्ने। यो नियम हजको एहरामका लागि हो। त्यस्तैगरी, यदि तपाईं उम्राको लागि इहराममा प्रवेश गर्नुहुन्छ भने पनि तपाईंले अर्को फिद्या दिनु पर्छ ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १८१)
***
प्रश्न: एक जना तीर्थयात्रीले एउटा निषेधित कार्य गरे, जमरात अल-अकाबामा ढुङ्गा हानेपछि र कपाल खौरेपछि र तवाफ अल-इफादा गर्नुअघि आफ्नी श्रीमतीलाई चुम्बन गरे र कामवासनाका साथ योनीबाहिर वीर्य स्खलन गरे, तर उनकी श्रीमती तीर्थयात्री थिइनन्। कृपया यसबारे मार्गदर्शन गरिदिनुहोस्।
उत्तर: हज वा उमराह वा दुवैको लागि इहराम लगाएको मुस्लिमले आफ्नो इहरामलाई भङ्ग गर्ने वा उसको कर्मलाई अपूर्ण गर्ने कुनै पनि काम गर्न अनुमति छैन। हजको लागि इहराम लगाएको व्यक्तिले पूर्ण रूपमा हलाल नभएसम्म चुम्बन गर्न निषेध छ, जुन जमरात अल-अकाबामा ढुङ्गा हानेर, कपाल खौरने वा छोटो पारेर, तवाफ अल-इफादा गरेर र यदि उसले सई गर्नु पर्छ भने सई गरेपछि मात्र हुन्छ, किनभने ऊ अझै पनि इहरामको अवस्थामा छ। यदि कसैले पहिलो तहल्लुल पछि आफ्नो श्रीमतीलाई चुम्बन गर्छ र स्खलन (वीर्य स्खलन) हुन्छ भने, उसको हज भङ्ग हुँदैन। तर उसले अल्लाहसँग माफी माग्नुपर्छ र फेरि यस्तो कार्य नगर्ने प्रण गर्नुपर्छ र बलिदानको लागि पर्याप्त भेडा वध गरेर यसको मासु मक्काको पवित्र मस्जिदका गरिबहरूलाई बाँडेर यसको प्रायश्चित गर्नुपर्छ। सकेसम्म छिटो गर्नु अनिवार्य छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १८८)
***
प्रश्न: मैले फर्ज हज पूरा गरें र एक रात मीनामा हुँदा म निदाएँ र स्वप्नदोष भयो तर म गुस्ल (स्नान) गर्न सकिनँ। के यसमा मैले केही (दिनु पर्ने) हुन्छ?
उत्तर: हज वा उमरह गर्दा एहरामको अवस्थामा स्वप्नदोष भयो भने, यसले हज वा उम्रामा कुनै असर गर्दैन र हज एवं उम्रा भङ्ग हुँदैनन्। निद्राबाट उठेपछि वीर्य देखेमा उसले जनाबतको गुस्ल (अनिवार्य स्नान) गर्नुपर्छ र स्वप्नदोष तपाईंको इच्छाले नभएकोले कुनै जरिवाना दिनु पर्दैन।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ १८८)
***
प्रश्न: के मक्का र मदिनाका परेवाहरूमा कुनै विशेषता छ?
उत्तर: मक्का र मदीनाका परेवाहरूको कुनै विशेषता छैन, तर जबसम्म तिनीहरू पवित्र स्थानको सीमा भित्र हुन्छन् तबसम्म तिनीहरूलाई शिकार गर्न वा विचलित गर्न हुँदैन; सामान्य हदीसको कारणले गर्दा: "अल्लाहले मक्कालाई पवित्र (हरम) बनाउनुभएको छ। यो मभन्दा पहिले कसैको लागि वैध बनाइएको थिएन र न त म पछि कसैको लागि वैध बनाइनेछ। यो मेरो लागि दिनको एक घण्टाको लागि मात्र वैध बनाइएको थियो। यसका बोटबिरुवा उखेलेर फाल्न पाइँदैन, यसको घाँस काट्नु हुँदैन र यसको शिकारलाई बाधा पुर्याउनु हुँदैन।" (बुखारी) नबी (सल्लल्लाहु अलैहि वसल्लम) को भनाईः इब्राहीम अलैहिस्सलामले मक्कालाई पवित्र बनाए बनाउनुभयो र मैले दुईकाला पहाँडहरूको बीचको स्थान "मदीना" लाई पवित्र (हरम) बनाएँ। यसका रूखहरू काटिने छैनन्, न त यसको शिकार गरिनेछ।" (मुस्लिम)
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २०२)
***
प्रश्न: हज तम्त्तु गर्नेले उम्रा गरेपछि एहरामका कपडा उतार्न सक्छ?
उत्तर: हज अल-तमत्तु गर्ने व्यक्तिले उमराह गरेपछि, जस्तै तवाफ, सई, कपाल खौरने वा छोटो पारेपछि इहरामको अवस्थाबाट बाहिर निस्कन र आफ्नो नियमित लुगा लगाउन अनुमति छ, जसरी नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बिदाई हजको समयमा बलिदानको जनावर साथमा नल्याएका आफ्ना साथीहरूलाई आदेश दिनुभएको थियो र त्यसपछि आठौं दिन हजको लागि इहराममा प्रवेश गर्छन्।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २०२)
***
प्रश्न: हज अल-तमत्तु गर्ने व्यक्तिले उमराह गरेपछि हलाल हुँदा उसको लागि कुन-कुन कुराहरू वैध (मुबाह) हुन्छन् भन्ने बताइदिनुहोस्।
उत्तर: जसले हज तमत्तुअको लागि एहराम बाँध्यो र त्यसपछि तवाफ, सई र कपाल खौरेर वा छोटो परेर आफ्नो उम्रा पूरा गर्यो भने, ऊ उम्राबाट हलाल हुन्छ र एहरामको कारणले गर्दा निषेध गरिएका सबै कामहरू हलाल हुन्छ, जस्तै कपाल काट्ने, नङ काट्ने, सिलाएको लुगा लगाउने, टाउको ढाक्ने, अत्तर प्रयोग गर्ने, शिकार गर्ने, निकाह गर्ने, सम्भोग र त्यसका प्रारम्भिक क्रियाकलापहरू इत्यादि ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २०४)
***
प्रश्न: तीर्थयात्रीहरूको सामूहिक तल्बियाको बारेमा के नियम छ? जहाँ ती मध्ये एक जनाले तल्बिया पढ्छ र अरूले उसको अनुसरण गर्छन्।
उत्तर: यो जायज छैन, किनकि यो नबी (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका सही मार्गनिर्देशित उत्तराधिकारीहरूबाट प्रमाणित छैन, बरू यो बिद्अत हो।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ३५८)
***
प्रश्न: हजको समयमा महिनावारी हुने महिलाको लागि के नियम छ? के उनले सबै हज अनुष्ठानहरू गर्छिन् र के त्यसको लागि गुस्ल (स्नान) गर्नुपर्छ? वा कुनै त्यस्तो अनुष्ठानहरू छन् जुन उनले गर्न सक्दिनन् र त्यसको क्षतिपूर्ति कसरी दिन सकिन्छ? अल्लाहले तपाईंलाई उत्तम प्रतिफल दिऊन्।
उत्तर: यदि कुनै महिलाले हजको इच्छा राख्छिन र महिनावारी भयो भने, उनी इहराममा प्रवेश गर्छिन् र हाजीहरूले गर्ने कार्यहरू; अराफातमा उभिने, मुजदलिफा र मीनामा रात बिताउने र जमरातमा ढुङ्गा हान्ने, सबै कार्यहरू गर्छिन्, तर शुद्ध र स्नान नगरेसम्म काबाको परिक्रमा गर्दिनन्।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ १२८)
***
प्रश्न: के महिलाले हज गर्दा आफूलाई सिंगार्नु अनुमति छ?
उत्तर: महिलाले हजको अवस्थामा आफूलाई श्रृङ्गार गर्नु अनुमति छैन, तर उसले पहिलेदेखि लगाएको गरगहना वा मेहन्दी छ भने उसले पुरुषहरूबाट लुकाउनु पर्छ, त्यो हटाउनु पर्दैन।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ १४४)
प्रश्न: मैले हज गरें र मीकातबाट एहराम बाँधेपछि मैले हज इफ्रादको नियत गरें र भनें: "अल्लाहुम्म लब्बैक हज्जन" । त्यसपछि मैले बिर्सिएँ र भनें: "अल्लाहुम्म लब्बैक हज्जन व उम्रतन।" कृपया मलाई सल्लाह दिनुहोस्, अल्लाहले तपाईँलाई उत्तम बदला दिऊन ।
उत्तर: यदि तपाईंले भनेको कुरा जिब्रोबाट चिप्लिएको थियो र तपाईंले नियतले भन्नुभएको होइन भने, तपाईंमाथि केही पनि पाप भएन। किनभने अल्लाहले कुरआनमा भन्नुभएको छ: {हे हाम्रा पालनहार ! यदि हामीले बिर्सियौं वा गल्ती गर्यौं भने हामीलाई जवाफदेही नबनाउनुहोस्।} नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कथन छ: "वास्तवमा कर्महरू नियतमा आधारित हुन्छ र प्रत्येक व्यक्तिलाई उसले गरेको नियत अनुसार पुरस्कृत गरिनेछ।"
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ १३२)
***
प्रश्न: मैले केही हाजीहरूलाई मिनाको रूखका हाँगाबाट मिस्वाक काटिरहेका र त्यसलाई प्रयोग गरिरहेका देखें। मिनामा रूख काट्नुको हुकुम के हो? र हरम क्षेत्रका रूखबाट काटिएका ती मिस्वाकहरू उपहारस्वरूप लिनु जायज छ ?
उत्तर: हरम क्षेत्रभित्रका रूखहरू काट्नु न त एहराममा रहेका व्यक्तिका लागि मिल्छ, न त अरूका लागि। किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ: "यहाँको काँडा न तोडियोस् न यहाँको रूख काटियोस्।" (मुस्लिम)
त्यसैले, जसले यस्तो काम गर्छ उसले अल्लाह समक्ष पश्चात्ताप गर्नुपर्छ र भविष्यमा यस्तो कार्य नगर्ने अठोट गर्नुपर्छ। पवित्रस्थानको रूखबाट काटिएको मिसवाकको उपहार स्वीकार गर्नु अनुमति छैन, किनकि त्यो निषेधित कुरामा स्वीकृति र सहयोग हुनेछ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ १६६)
***
मिनामा रात बिताउनु
प्रश्न: म एउटा समूहसँग हजमा गएँ र ९औं जिलहिज्जाको रात मिनामा बितायौँ। र फजरको नमाजभन्दा पहिले हामी अराफातको लागि निस्कियौं, जहाँ हामीले अराफातमा फजरको नमाज पढ्यौं, किनकि समूहका प्रमुखहरूले भीडभाडको डरले यो उपाय अपनाएका थिए। के हामीले केही गर्नुपर्छ?
उत्तर: तपाईंले केही गर्नुपर्दैन, तर हजयात्रीले धुल-हिज्जाको नवौं दिन सूर्योदय पछि मिनाबाट अरफात जानु राम्रो हुन्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २१०)
***
प्रश्न: मैले एउटा आन्तरिक कम्पनीसँग हज गरें र हाम्रो बसाइ मीना बाहिर थियो। म ९औं जिलहिज्जाको रात त्यही ठाउँमा सुतेँ, तर तशरिकका दिनहरू (११, १२, १३ जिलहिज्जा) को रातहरूमा म मीना भित्र सुतेँ। ९ तारिखको रात मिनामा बस्नु बाजिब हो कि सुन्नत? यदि यो वाजिब हो भने मैले के गर्नुपर्छ? अल्लाहले मेरो तर्फबाट, इस्लाम र मुस्लिमहरूको तर्फबाट तपाईंलाई उत्तम प्रतिफल दिऊन्।
उत्तर: ९औं जिलहिज्जाको रात मिनामा बिताउनु हाजीको लागि सुन्नत हो, वाजिब होइन। त्यसैले त्यो रात त्यहाँ नबसेकोले केही छैन । तपाईंले त्यो रातको इनाम गुमाउनुभयो।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/१७७)
***
अरफातमा बस्नु
प्रश्न: केही मानिसहरू भन्छन्: यदि अरफाको दिन शुक्रबार पर्यो भने सात हज गरे बराबर हुन्छ। के सुन्नतमा यसको कुनै प्रमाण छ?
उत्तर: यसको कुनै सही प्रमाण छैन। केही मानिसहरूले यो ७० वा ७२ हज बराबर भएको दाबी गरेका छन्, तर यो पनि सही होइन।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २११)
***
प्रश्न: के हाजीले अराफातमा इमामसँग जुहर र अस्रको नमाज पढेपछि मगरिबसम्म स्वैच्छिक नमाज पढ्न अनुमति छ?
उत्तर: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अरफातको दिन जोहर र अस्रको नमाज एकसाथ (जमआ तक्दीम) पछि नफिल नमाज पढ्नुभएन। यदि यो नमाज प्रचलित भएको भए, उहाँ हामीभन्दा बढी यसलाई पढ्न उत्सुक हुनुहुन्थ्यो। सबै भलाइ उहाँको तरिका पछ्याउनु र उहाँको सुन्नत पालना गर्नुमा निहित छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २११)
***
प्रश्न: क्यालेन्डरमा लेखिएको समय अनुसार मगरिबको नमाजको लागि तोकिएको समयभन्दा एक मिनेट अगाडि अराफातबाट निस्कने व्यक्तिको बारेमा के हुकुम छ? जबकि गाडीमा रहेका यात्रुहरूले सूर्य अस्ताएको बताएका थिए भन्ने थाहा पाएर पनि?
उत्तर: हज गर्ने व्यक्तिले ९औं जिलहिज्जाको दिन अरफातमा बस्नु अनिवार्य हो। सूर्य अस्ताएको निश्चित नभएसम्म त्यहाँबाट निस्कनु हुँदैन। किनकि सूर्यास्त नै निर्णायक कारक हो। यदि उसले सूर्य अस्ताएको निश्चित गरेर निस्कियो भने, उसले आफ्नो दायित्व पूरा गर्यो र त्यसको लागि उसलाई कुनै दोष छैन। तर उसले सूर्यास्त अघि अरफात छोडेको हो वा सूर्यास्तको पुष्टि नगरी अरफात छोडेको हो, अनि रातभर एकछिनका लागि पनि अरफात फर्केर गएन भने, उसले हजको वाजिबहरूमध्ये एकलाई बेवास्ता गरेकोमा दम (बलिदान) दिनुपर्छ, जुन भेडाको बलि हो।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ १८१)
***
मुज्दलिफामा रात बिताउनु
प्रश्न: मैले मेरो गाडी भाडामा लिएको परिवारसँग हज गरें। हामी अराफातबाट नौ बजे निस्कियौं र दुई बजे मुजदलिफा आइपुग्यौं। उनीहरूसंग महिलाहरु छन् भनेर ती व्यक्तिहरूले मुजदलिफामा नबस्न ढिपी गरे; किनभने शरियतले यसको अनुमति दिएको छ। हामीले मुज़दलिफामा १५ मिनेट भन्दा बढी बसेनौं। के यसमा केही गल्ती छ?
उत्तर: यदि उनीहरूको अवस्था तपाईंले उल्लेख गरे जस्तै हो भने, उनीहरू परिवारले गर्दा बिहानको उज्यालो हुँदासम्म रात बिताउन डराउँछन् भने राती २:०० बजे मुज्दलिफाबाट प्रस्थान गर्यो भने कुनै हानि छैन, किनकि त्यो मध्यरात पछि हो र कमजोर र महिलाहरूको लागि प्रस्थान गर्न अनुमति दिइएको छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २१२)
***
प्रश्न: गत वर्षको हजको समयमा अत्यधिक भीडभाडका कारण केही हाजीहरूले मुजदलिफामा रात बिताउन सकेनन् र केहि त बाटो बिराए र मुज़दलिफा पुग्न सकेनन्। उनीहरूले के गर्नु पर्ला?
उत्तर: जसले अत्यधिक भीडभाडका कारण मुजदलिफामा रात बिताउन सकेनन्, त्यसका लागि मुजदलिफामा बास बस्नु माफ हुन्छ। तर जो कोही त्यहाँबाट हराएर अन्यत्र रात बिताउँछ, उसले बलिदान दिनु पर्छ, किनकि उसले मुज्दलिफाको बारेमा सोधपुछ गर्न सक्थ्यो र त्यहाँ पुग्न आफ्नो बाटो पत्ता लगाउन सक्थ्यो, त्यसैले उसले प्रश्न नगरेकोमा लापरवाही देखिन्छ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ १८९)
***
प्रश्न: हज गर्ने एक व्यक्तिले सोधेको छ, उनले मुज्दलिफाबाट रातको पहिलो तिहाइमा, अर्थात् लगभग १० बजेतिर हिँडेका थिए, किनभने उनको साथमा महिलाहरू थिए। यस अवस्थामा उनी र उनीहरूमाथि के वाजिब हुन्छ बताइदिनु होला,आभारी हुनेछौं ?
उत्तर: जो कोही वैध कारण बिना; जस्तै: रोग मध्यरात अघि मुज्दलिफाबाट निस्कन्छ, उसले मुजदलिफामा रात बिताउने अनिवार्य पूरा गरेको मानिँदैन। त्यसैले, उसले मक्कामा एउटा भेडाको बलिदान दिनुपर्छ र त्यसको मासु त्यहाँका गरीबहरूलाई बाँड्नुपर्छ। स्मरण होस्, मुजदलिफामा कम्तिमा आधा रात बिताउनु वाजिब हो, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कमजोर व्यक्तिहरूलाई पनि आधा रातपछि मुजदलिफा छोड्न अनुमति दिनु भएको छ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ १९४)
***
कुर्बानीको दिनका कामहरू
प्रश्न: यदि मानिसहरू र कमजोर व्यक्तिहरू कुर्बानीको दिन मध्यरातपछि र सुर्योदय हुनुभन्दा अगाडि मिना सर्छन् भने के तिनीहरूले सुर्योदय हुनु अघि जमरतुल अक़बा (ठूलो जमरा) को रमी गर्न अर्थात् ढुङ्गा हान्न सक्छन्? र यदि तिनीहरूसँग तवाफ अल-इफादा गर्न पर्याप्त समय छ भने, के तिनीहरूले त्यसो गर्न सक्छन्?
उत्तर: कमजोर महिलाहरू, वृद्धवृद्धाहरू र त्यस्तै व्यक्तिहरूलाई मध्यरात पछि मुजदलिफाबाट निस्कनु अनुमति छ। तिनीहरूले सूर्योदय हुनु अघि नै जमरातमा ढुङ्गा हान्न सक्छन्, तवाफ अल-इफादा गर्न सक्छन् र कपाल काट्न सक्छन्, किनकि यो उनीहरूको लागि सजिलो छ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ १९०)
***
प्रश्न: के हाजीले जमरा अल-अकबा (पहिलो जमरा) को रमीलाई दोस्रो वा तेस्रो दिनको तश्रीक (अर्थात् ११ वा १२ जिलहिज्जा) सम्म बिना कुनै कारण ढिलाइ गर्न सक्छ र त्यसो गर्ने व्यक्तिको हकमा के आदेश छ?
उत्तर: हजयात्रीले जम्रत अल-अकाबाको ढुङ्गा हान्नलाई बिना कुनै उचित कारण तश्रीकको दोस्रो वा तेस्रो दिनसम्म ढिलाइ गर्न अनुमति छैन, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ईदको दिन ढुङ्गा हान्नुभयो र उहाँका साथी (साहाबा) हरूले उहाँको अनुसरण गरे र बिना कुनै कारण ढिलाइ गरेनन्। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमीहरूले मबाट आफ्ना हजका विधिहरू सिक" जसले बिना कुनै बहाना तशरिकका दिनहरूसम्म ढिलाइ गर्छ, उसले सुन्नतको उल्लंघन गरेको छ र आफ्नो हजको केही प्रतिफलबाट वञ्चित भएको छ। उसले बितेको कुराको लागि अल्लाहसँग क्षमा माग्नुपर्छ र भविष्यमा उचित तरिकाले आफ्नो हज गर्न उत्सुक हुनुपर्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २१७)
***
प्रश्न: हामीले हजको समयमा केही मानिसहरूले हज वा उमराहको समयमा आफ्नो कपाल छोटो पार्दा टाउकोको तलबाट गोलाकार आकारमा मात्र छोटो पारेको देख्यौं, चारै दिशाबाट तलतिर मात्रै छोटो पारे, जबकि बाँकी भाग काटिएन। जब हामीले उनीहरूलाई भन्यौं, यो पूरै टाउकोमा समान रूपमा हुनुपर्छ, उनीहरूले हामीलाई भने: “हामीले जे गर्यौं, त्यही सही हो।” त्यसो भए कुन तरिका सही हो?
उत्तर: हज वा उमराहको समयमा सम्पूर्ण कपाल खौरनु वा छोटो पार्नु अनिवार्य हो र प्रत्येक विशिष्ट कपाल काट्नु आवश्यक छैन। तपाईंले उल्लेख गरेको तरिका; केवल टाउकोको तल्लो भागबाट छोटो गर्ने, त्यो उलमको भनाइ अनुसार सही होइन र नबी (सल्लल्लाहु अलैहि व सल्लम) को सुन्नत (तरिका) बमोजिम पनि होइन।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २१७)
***
प्रश्न: एक जना हजयात्रीले अराफातमा उभिए, मुजदलिफामा रात बिताए र ईदको दिन बिहान मिना पुगे। उनले जमरात अल-अकाबामा ढुङ्गा हाने, कुर्बानी गरे र कपाल खौरे। उनले मीनामा हुँदा आफ्नो लुगा फुकालेर मक्का गए र तवाफ अल-इफादा गरे। के यो तरिका शरियतअनुसार ठीक छ? किनकि एक व्यक्तिले भनेका थिए इफाज़ाको तवाफ नगरी मिनामा कपाल मुन्डाउन र एहराम खोल्न मिल्दैन।
उत्तर: तवाफे इफाजा गर्नु अघि र पछि कपाल काट्नु जायज छ। तपाईंले ईदको दिन गरेका कार्यहरू जस्तै जमरातमा रमी गर्नु, कपाल काट्नु, बलि दिनु र त्यसपछि तवाफ गर्नु, यो सुन्नत हो र नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हज्जतुल् विदाको समयमा यसरी नै गर्नु भएको थियो।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २१८)
***
प्रश्न: तवाफ इफाजा कहिले समाप्त हुन्छ ?
उत्तर: कमजोर व्यक्तिहरूका लागि ९औं जिल्हिज्जाको मध्यरात पछि तवाफ अल-इफादाको समय सुरु हुन्छ र यसको समाप्तिका लागि कुनै निश्चित समय छैन, तर तीर्थयात्रीले सकेसम्म छिटो इफाज़ाको तवाफ गर्नु राम्रो हो। आफूलाई कष्ट नहुने गरी भीडभाड नभएको समय छनौट गर्नु राम्रो हो, ताकि अरूलाई हानि नपुर्याओस् र आफैँ पनि हानि नहोस्।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २२७)
***
प्रश्न: यदि कुनै हजयात्रीले तवाफ अल-इफादा गर्छ र एउटा परिक्रमा बिर्सन्छ र मस्जिद हरामबाट बाहिर निस्केपछि मात्र थाहा पाउँछ भने के हुन्छ? यदि उनलाई पहिलो तहल्लुलपछि थाहा हुन्छ; जुन दुईमध्ये एको हो जसले पहिलो तहल्लुल प्राप्त हुन्छ?
उत्तर: यदि हजयात्रीले तवाफ अल-इफादा गर्छ र कुनै परिक्रमा बिर्सन्छ र अन्तराल लामो हुन्छ भने तवाफ दोहोर्याउनु पर्छ। यदि अन्तराल छोटो छ भने, उसले केवल बिर्सिएको चक्र फेरि पुरा गरे हुन्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २५३)
***
प्रश्न: जसले तशरिकको अन्तिम दिनहरूमा तवाफ अल-इफादा गर्यो र सूर्यास्त पछि सई गर्यो भने उसको लागि के नियम छ? त्यसैगरी जसले तशरिकका दिनहरूमा सूर्यास्त पछि वा तशरिकपछि सई गर्यो भने उसको के नियम छ?
उत्तर: तशरिकको अन्तिम दिनहरूमा वा तशरिकपछि गरिएको साई मान्य छ र यसलाई ढिलाइ गर्नुमा कुनै हानि छैन, किनकि सईको वैधताको लागि तवाफसँग जोडिएको हुनु शर्त छैन, तर तवाफ पछि तुरुन्तै सई गर्नु राम्रो हो जसरी नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले गर्नुभएको थियो।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २६२)
***
प्रश्न: के तहल्लुले अक्बर पछि कपाल काट्नु वा छोटो गर्नु अनिवार्य हुन्छ, जबकि उसले तहल्लुले अस्गर अर्थात् जमरातमा ढुङ्गा हानेपछि कपाल खौरेको वा छोटो पारेको थियो ?
उत्तर: तहल्लुले अस्गर अर्थात् जमरातमा ढुङ्गा हानेपछि कपाल खौरेको वा छोटो पारेको छ भने तहल्लुले अक्बर पछि कपाल काट्नु वा छोटो गर्नु पर्दैन, किनभने यो हजको एक अनुष्ठान हो, जुन ईश्वरीय निर्देशनमा आधारित छन्। त्यसैगरी नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट ठूलो तहल्लुल पछि कपाल काट्नु वा छोट्याउने प्रमाणित छैन, बरु उहाँले सानो तहल्लुल पछि मात्र त्यसो गर्नुभएको थियो, उहाँले भन्नुभएको छ: "तिमीहरूले मबाट आफ्ना हजका विधिहरू सिक"
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २६३)
***
प्रश्न: मैले उमराहको विधि पूरा गरें र त्यसपछि आफ्नो शहर फर्किएँ। इन्शाअल्लाह यसै वर्ष म हज गर्ने विचारमा छु। के मैले फिदिया (जरिवाना) दिनु पर्छ? अल्लाहले तपाईँलाई उत्तम बदला प्रदान गरून्।
उत्तर: अधिकांस धर्म गुरुहरूको भनाइ अनुसार तपाईंले एउटै यात्रामा हज तमत्तु नगरेकोले फिदिया (जरिवाना) दिनु पर्दैन, जस्तै तपाईंले उल्लेख गर्नुभएको छ, तपाईं १३९५ हिजरीको शव्वालमा उमराह गरेपछि आफ्नो देश फर्कनुभयो र हज नगरेसम्म मक्कामा बस्नुभएन।
तर केही फकीहहरूको भनाइ अनुसार, यदि तपाईंले त्यही वर्ष आफ्नो देशबाट फर्केर हज गर्नुभयो भने फिदिया (जरिवाना) दिनु पर्छ। अल्लाहले भन्नुभएको छ : {त्यसैले जसले उमराह पछि हज गर्छ उसले आफ्नो लागि सजिलो जनावरको बलिदान दिनुपर्छ।} तर फतवा र अभ्यास बहुमतको रायमा आधारित छ, यस अवस्थामा बलिदान दिनु अनिवार्य छैन।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ३६६)
***
प्रश्न: हजको विधि पूरा गरेपछि कपाल काट्न बिर्सेको र लामो समय पछि मात्र सम्झेको व्यक्तिको लागि के नियम छ?
उत्तर: हज र उमरा गर्दा अनिवार्य रुपमा कपाल खौरनु वा छोटो पार्नु पर्छ। यदि कसैले कपाल खौरन वा छोटो पार्न बिर्सियो भने उसले सम्झेमा कपाल खौरनु वा छोटो पार्नु पर्छ। यदि कपाल खौरनु वा छोटो पार्नु अघि यौनसम्पर्क भयो भने, उसले सम्भोगको लागि फिदिया तिर्नुपर्नेछ। बलिदानको लागि पर्याप्त भेडा मक्कामा जब्ह (वध) गरेर यसको मासु हरमका गरिबहरूमा बाँडिनु पर्छ। किनभने हजमा दोस्रो तहल्लुल पूरा हुनु अघि सम्भोग भएको हो र उमराहमा हलाल हुनु भन्दा गरेको हो।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ २०४)
***
प्रश्न: के किरान हज गर्ने व्यक्तिले तवाफे कुदुम गरे पनि तवाफे इफाजा गर्नु पर्छ ?
उत्तर: हज अल-किरान वा हज अल-इफ्राद गर्ने हजयात्रीले तवाफे कुदुम गरे पनि उसले तवाफे इफाजा गर्नु पर्छ, किनकि तवाफे इफाजा हजको एक स्तम्भ (रुक्न) हो र यो नगरिकन हज पूरा हुँदैन र यसको समय अरफातमा बसेपछि र मुजदलिफाबाट निस्केपछि हुन्छ। तर तवाफे कुदुम सुन्नत हो; यदि उसले चाहन्छ भने गर्न सक्छ र छोड्न पनि सक्छ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ २१७)
***
प्रश्न: बुढ्यौली र खराब स्वास्थ्यको कारणले मक्का फर्कन नसक्ने भएकोले के म मेरो तर्फबाट कसैलाई तवाफ अल-इफादा र तवाफ अल-वदा' गर्न नियुक्त गर्न सक्छु ?
उत्तर: तवाफ अल-इफादा र तवाफ अल-वदा' गर्न कसैलाई नियुक्त गर्न जायज छैन। त्यसैले, फतवामा उल्लेख गरिए अनुसार तपाईं मक्का आउनुपर्छ, अल्लाहले तौफीक दिनुहुन्छ। अल्लाहले हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम), उहाँका परिवार र साथीहरूलाई आशीर्वाद दिऊन् र उनीहरूलाई शान्ति प्रदान गरून्।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ २७१)
***
तश्रीकका दिनहरू र जमरातलाई ढुंगा हान्नु
प्रश्न: ईदको दोस्रो दिन बिहान जमरातमा ढुङ्गा हानेको र त्यसपछि ढुङ्गा हान्ने समय दिउँसो जोहर पछि हो थाहा पाएको व्यक्तिले के गर्नुपर्छ?
उत्तर: जसले ईदको दोस्रो दिन जुहर (जवाल) अघि जमरातमा ढुङ्गा हान्यो, उसले जुहर पछि फेरी रमी गर्नु पर्छ । यदि उसले आफ्नो गल्ती तेस्रो वा चौथो दिन मात्र थाहा पायो भने, उसले तेस्रो वा चौथो दिन जुहर पछि पहिलेको दिनको रमी फेरि गर्नु पर्छ । यदि उसले यो गल्ती चौथो दिन सूर्यास्तपछि मात्र थाहा पायो भने, उसले अब रमी गर्न पाउने छैन र उसले हरम सिमा भित्र दम (बलि) दिनुपर्छ र गरिबहरूलाई खुवाउनु पर्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/२७३)
***
प्रश्न: अल्लाहको यो वचन: "فَمَن تَعَجَّلَ فِي يَوْمَيْنِ فَلَا إِثْمَ عَلَيْهِ" {जसले दुई दिनमा हतार गर्छ, उसलाई कुनै पाप छैन}? को अर्थ र अभिलाषालाई स्पष्ट पारेर बताउनु होस्।
उत्तर: अल्लाहले भन्नुभएको छ : {निश्चित दिनहरूमा अल्लाहको खूबै स्तुति गर । जसले दुई दिनमा हतार गर्छ, उसलाई कुनै पाप छैन र जसले ढिलाइ गर्छ उसलाई कुनै पाप छैन। यो कुरा भय राख्ने मानिसहरूका लागि हो।} अल् आयह। यहाँ “निश्चित दिनहरू” को अभिप्राय तशरीकका तीन दिनहरू : ११, १२ र १३ हुन्। त्यसैले जो हाजी १२औं दिनमा ढुङ्गा हानेर सूर्यास्त हुनुभन्दा अगाडि मिनाबाट प्रस्थान गर्छ उसले छिटो (तअज्जुल) गरेको मानिन्छ र जो १३औं दिनसम्म ढुङ्गा हान्न मिनामा बसेको हुन्छ, उसले ढिला (तअख्खुर) गरेको मानिन्छ र यो उत्तम हो, किनभने यो कार्य रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) को अभ्याससँग मेल खान्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ २९७)
***
प्रश्न: के दोस्रो दिनको मध्यान्ह (ज़वाल) अघि बिहान रमी हान्नको काजा गर्न मिल्छ या मध्यान्हपछि त्यसपछिको दिनको रमीसँगै हान्न मिल्छ ?
उत्तर: तश्रीकका दिनहरूमा जवाल (जुहर) पछि ढुङ्गा हानेको मात्र मान्य हुन्छ। बिहान गरिएको रमी जायज छैन र पर्याप्त पनि हुँदैन, किनभने नबी (सल्लल्लाहु अलहि वसल्लम) ले जवाल पछि मात्र रमी गर्नु भयो र उहाँले भन्नु भएको थियो: "तिमीहरूले मबाट आफ्ना हजका विधिहरू सिक" जसले एक दिन ढुङ्गा हान्न छुटाएको छ, उसले त्यसलाई भोलिपल्ट जवाल (जुहर) पछि पूरा गर्नुपर्छ। उसले पहिले छुटेको सबै रमी गर्नु पर्छ र त्यसपछि मात्र आजको रमी गर्नुपर्छ। त्यसपछि ऊ अन्तिम ढुङ्गा हानेर फर्कन्छ र दोस्रो दिनको लागि तीनवटै जमरातमा ढुङ्गा हान्नुपर्छ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ १८९)
***
प्रश्न: केही वर्ष पहिला मैले हज गरेंको थिएँ र थाहा नभएकोले दोस्रो दिन जवाल अघि ढुङ्गा हानेंको थिएँ। के मैले यसको लागि केही जरिवाना तिर्नुपर्छ?
उत्तर: तश्रीकका दिनहरूमा जवाल (जुहर) अघि रमी गर्न (ढुङ्गा हान्न) मान्य हुँदैन, किनभने नबी (सल्लल्लाहु अलहि वसल्लम) ले जवाल पछि मात्र रमी गर्नु भएको थियो र उहाँले भन्नुभयो : "तिमीहरूले मबाट आफ्ना हजका विधिहरू सिक" त्यसैले जवाल अघि रमी गरेकोले फिद्या अर्थात् कुर्बानीको लागि पर्याप्त भेडा बध गर्नु पर्छ र यसको मासु हरमका गरीबहरूमा बाँड्नु पर्छ र त्यसबाट आफैले केही खानु हुँदैन।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/२९३)
***
प्रश्न: कसैले मिनाबाट संकलन गरेको ढुङ्गाहरू बिर्सिएर साथमै लगेछ र ती ढुङ्गाहरू मक्का फिर्ता गर्नुपर्नेछ भनेर कसैले उसलाई भनेको छ। कृपया यसबारे जानकारी दिनुहोस्।
उत्तर: यदि कसैले बिर्सिएर ढुङ्गाहरू साथमै लगेछ भने त्यसलाई मिना फर्काउनु पर्दैन, किनभने यसको कुनै प्रमाण छैन।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ २९४)
***
प्रश्न: हजको समयमा एक जनाले जमरात अल-अकाबामा एकैचोटि सातवटा ढुङ्गा हाने। (यसको के हुकुम हो?)
उत्तर: जसले जमरातमा एकैचोटि सबै ढुङ्गा फ्याँक्छ, उसले पुनः रमी गर्नुपर्छ, किनकि रमी गर्दा एकपछि अर्को ढुङ्गाले ७ पटक हान्ने हो र सबैलाई एकैसाथ फ्याँक्नु भनेको एउटा ढुङ्गा फ्याँके सरह हो। यदि उसले रमी दोहोर्याएन भने, हजका एक अनिवार्य छोडेकोले उसमाथि "दम" अनिवार्य हुन्छ। जुन मक्कामा काटिन्छ र हरामका गरिबहरूलाई बाँडिन्छ। यदि उसले सकेन भने दश दिनसम्म उपवास बस्नुपर्छ, चाहे त्यो लगातार होस् वा छुट्टाछुट्टै।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ ३१०)
***
प्रश्न: मेरी फुपूले गत वर्ष हज गर्नुभयो, तर जमरातमा ढुङ्गा फ्याँक्दा उनी भन्छिन्: भिडभाडका कारण ढुङ्गा कहाँ खस्छ भनेर उनी देख्न सक्दिनन्, ती हौज (खाल्टो) मा पर्यो कि परेन थाहा भएन। यद्यपि कहिलेकाहीँ उनले फाल्दा ढुंगा देखिन्। यस्तो अवस्थामा उनले के गर्नुपर्छ? कृपया मार्गदर्शन गर्नुहोस् अनि सवाब (पुण्य) पाउनुहोस्।
उत्तर: रमी मान्य हुनको लागि ढुङ्गा निश्चित रूपमा लक्षित स्थान (हौज) भित्रै खस्नुपर्छ। यदि ढुङ्गा फाल्दा पक्कै खस्यो भन्ने विश्वास थियो र पछि शंका उत्पन्न भयो भने त्यो शंकाले केही असर पार्दैन र त्यो सही मानिन्छ। तर ढुंगा फाल्दा हौजमा खस्यो कि खसेन शंका थियो भने उसमाथि "दम" अनिवार्य हुन्छ। जुन मक्कामा काटिन्छ र हरामका गरिबहरूलाई बाँडिन्छ। यदि उनी त्यसो गर्न असमर्थ छिन् भने, उनले दस दिनसम्म उपवास बस्नुपर्छ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ ३११)
***
प्रश्न: केही तीर्थयात्रीहरू (अल्लाहले उनीहरूलाई मार्गदर्शन दिऊन्) जमरातमा रमी गर्दा जुत्तादेखि पानीका खाली बोतलहरू र जे भेट्टाउँछन् फ्याँक्छन्। के उनीहरूको यस्तो कार्यले रमी अमान्य हुन्छ वा तिनीहरू आफ्नो अज्ञानताका कारण जवाफदेही हुँदैनन्?
उत्तर: जमरातमा जुत्ता, बोतल वा यस्तै वस्तुहरू फ्याँक्नु अनुमति छैन, किनभने यो इस्लामी शरियत अनुसार भएन। त्यसैगरी यो नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मार्गदर्शन विपरीत हो। उहाँले जमरातमा चना भन्दा अलि ठूला ढुङ्गाहरू फ्याँक्नुभयो र भन्नुभयो: "तिमीहरूले मबाट आफ्ना हजका विधिहरू सिक" यसो गरेर तिनीहरू पाप गरिरहेका छन् र तिनीहरूलाई देख्नेले मनाही गर्नुपर्छ र राम्रो सल्लाह दिनुपर्छ। यदि उनीहरूले शरियतले तोकेको अनुसार साना ढुङ्गा हाने भने तिनीहरूको कार्य अमान्य हुँदैन।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ ३२४)
***
प्रश्न: ती हाजीहरूको बारेमा के नियम छ, जसले हज गरे र तिनीहरूले छिटो गर्न चाहन्थे, त्यसैले उनीहरूले तशरिकको दिनमा पहिलो र दोस्रो दिन तीनवटै जमरात मा रमी (ढुंगा हान्ने) गरे, अनि दोस्रो दिन सूर्यास्त हुनु अघि सिधै मक्कातर्फ लागे र त्यहाँ रात बिताए र तेस्रो दिन ढुङ्गा हानेनन्। के तिनीहरूमाथि दम दिनुपर्छ कि पर्दैन?
उत्तर: जसले धुल-हिज्जाको १२औँ दिनमा तीनवटै जमरातमा ढुंगा हान्यो र चाँडै फर्कन चाह्यो भने उसले सूर्यास्त हुनु अघि मिना छोड्नु पर्छ र उसले तेह्रौं दिनमा ढुङ्गा हान्न आवश्यक छैन, चाहे ऊ मक्कामा बसोबास गरोस् वा अन्य ठाउँमा।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ ३३५)
***
तवाफे विदा
प्रश्न: म जद्दा शहरमा बस्छु र सधैं मक्का मुकर्रमा जाने गर्छु। के हजपछि मैले बैतुल्लाह (काबा) को तवाफे विदा गर्नु पर्छ वा यो म मेरो शहर फर्किने बेलासम्म ढिला गर्न सक्छु? के बिदाइ (तवाफ) ढिलो गरेमा कुनै कफ्फारा (परिपुर्ति) पर्छ?
उत्तर: यदि तपाईं हज गर्नुहुन्छ भने, तवाफ विदा नगरुन्जेल जेद्दाको यात्रा नगर्नुहोस्। यदि तपाईंले तवाफे विदा नगरी जेद्दा तर्फ जानुभयो भने, तपाईंले हरम (मक्का) भित्र दम स्वरूप एउटा भेडा वध गर्नुपर्छ, जसको मासु आफैले खानु हुँदैन, बरु गरीबहरूलाई खुवाउनु पर्छ। किनकि हज पछि बिदाई परिक्रमा अनिवार्य हो। अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) को हदीसमा छ : "मानिसहरूलाई आदेश दिइएको छ, उनीहरूको अन्तिम कार्य बैतुल्लाहको तवाफ होस्, तर रजस्वला भएकी महिलालाई यसमा छुट दिइएको छ।" (बुखारी र मुस्लिम) बिदाई तवाफ अघि जेद्दा जानु भएकोमा तपाईंले अल्लाहसँग पश्चात्ताप गर्नुपर्छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ३०३)
***
प्रश्न: के हाजीले हज गर्ने बेलामा मिनाका दिनहरूमा ताइफ जान र बीस दिन पछि तवाफे विदा गर्न फर्कन अनुमति छ?
उत्तर: हाजीले बिदाई तवाफ लगायत हजका अनुष्ठानहरू पूरा नगरेसम्म यात्रा गर्न अनुमति छैन।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ३०७)
***
प्रश्न: के महिनावारी र सुत्केरी महिला, असक्त र बिरामीले पनि तवाफे विदा गर्नै पर्छ?
उत्तर: महिनावारी र सुत्केरी महिलामाथि तवाफे विदा अनिवार्य छैन। असक्त र बिरामीलाई बोकेर तवाफ गराउनु पर्छ; नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएकाे छ: "तिमीहरू मध्ये कोही पनि मक्काबाट प्रस्थान नगरोस्, जबसम्म उसको अन्तिम कार्य काबाको तवाफ नहोस्।" सहीहैनमा इब्ने अब्बास (रजियल्लाहु अन्हुमा) द्वारा वर्णन छ, उहाँले भन्नुभयाे: "मानिसहरूलाई आदेश दिइएको छ, उनीहरूको अन्तिम कार्य बैतुल्लाहको तवाफ होस्, तर रजस्वला भएकी महिलालाई यसमा छुट दिइएको छ।" अर्को हदीसमा छ, सुत्केरी महिला महिनावारी भएकी महिला जस्तै हुन्; उनले तवाफे विदा गर्न आवश्यक छैन।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ३०७)
***
प्रश्न: तवाफे विदा गर्दा म बिरामी परें र तवाफ रोक्नुपर्ने भयो, मेरा साथीहरूले आफ्नो तवाफ पूरा गरे। पछि, म एकजनासँग मिलेर मेरो बाँकी तवाफ पूरा गर्न गएँ, तर मैले तवाफे विदाको एक चक्कर (शौत) बिर्सेको थिएँ र म आफ्नो देश फर्केपछि मात्र थाहा पाएँ। के मैले फिद्या वा केही तिर्नुपर्छ?
उत्तर: यदि तपाईंलाई निश्चित छ कि तपाईंले बिदाई तवाफको परिक्रमा छोड्नुभएको छ भने, तपाईंले फिद्या दिनुपर्छ, जुन मक्कामा एउटा भेडा काट्नु हो र हरामका गरिबहरूलाई बाँड्नु हो। यदि तपाईं फिद्या दिन सक्नु हुन्न भने, तपाईंले दस दिन उपवास (रोजा) राख्नुपर्छ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ १२६)
***
प्रश्न: मैले हज गरें र तश्रीकको दोस्रो दिन असर पछि तवाफे विदा गरेँ, तर म मक्का मा नै रात बिताए र भोलिपल्ट बिहान मात्र ताइफ गए। म र मेरो परिवारले गरेको बिदाई तवाफ पर्याप्त छ वा फिद्या दिनु पर्छ वा म र मेरो परिवारले तवाफ दोहोर्याउनु पर्छ? कृपया जवाफ दिनुहोस्, अल्लाहले तपाईंलाई सवाब (प्रतिफल) दिऊन्।
उत्तर: जसले हजमा तवाफे विदा गर्छ र त्यसपछि छोटो समयको लागि मक्कामा बस्छ भने उसले तवाफ दोहोर्याउनु पर्दैन। यदि तवाफ पछिको बसाइ लामो छ भने, उसले फेरि तवाफ गर्नु पर्छ। तपाईंहरूले अस्र पछि बिदाई तवाफ गर्नुभयो र भोलिपल्ट बिहानसम्म यात्रा गर्नुभएन। पुनः तवाफ नगरी यात्रा गर्नुभएकोले तपाईंहरू प्रत्येकले दम (बलि) दिनुपर्ने हुन्छ। कुर्बानीको लागि पर्याप्त हुने जनावर (बाख्रा आदि) मक्कामा वध गर्नु हो, जसको मासु हरमका गरीबहरूमा वितरण गर्नु पर्छ। तर, यदि तपाईंहरूका साथमा महिनावारी वा सुत्केरी महिला छ भने, उनले बिदाई परिक्रमा गर्नु आवश्यक छैन।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ ३३७)
***
प्रश्न: मेरी श्रीमतीले गत वर्ष तमत्तोअ हज गरिन्। उनले महिनावारी भएकोले विदाई तवाफ बाहेक हजका सबै अनुष्ठानहरू पुरा गरिन्। त्यसपछि मेरा बुवाले उनलाई मस्जिद हरम भित्र लगे र उनले पवित्र काबाको दर्शन गरिन्। यसको के हुकुम हो? कृपया बताइदिनु होला, अल्लाहले तपाईंलाई यसको प्रतिफल दिनुहुन्छ इन्शा अल्लाह।
उत्तर: महिनावारी भएकी महिलाको लागि बिदाई परिक्रमा माफ गरिएको छ र तपाईंको पत्नीमाथि कुनै दायित्व छैन। इब्ने अब्बास (रजियल्लाहु अन्हुमा) बाट वर्णित हदीसमा उहाँले भन्नुभएकाे छ: "मानिसहरूलाई आदेश दिइएको छ, उनीहरूको अन्तिम कार्य बैतुल्लाहको तवाफ होस्, तर रजस्वला भएकी महिलालाई यसमा छुट दिइएको छ।" आइशा (रजियल्लाहु) ले वर्णन गरेका छन्: "सफिया बिन्ते हुययीलाई तवाफ अल-इफादा गरेपछि महिनावारी भयो। उनले भनिन्: मैले यो कुरा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भनें। त्यसपछि उहाँले भन्नुभयो: के उनी हामीलाई ढिलाइ गर्छिन्? मैले भने: हे अल्लाहका रसूल, तवाफ अल-इफादा गरेपछि उनको महिनावारी भएको हो। उहाँले भन्नुभयो: त्यसो भए ऊ यात्रा गर्न सक्छे।"
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ ३४२)
***
प्रश्न: यदि कोही हज वा उम्राका लागि नभई अन्य कामले मक्का प्रवेश गर्छ र त्यसपछि बाहिर जान चाहन्छ भने, के उसमाथि विदाइ तवाफ अनिवार्य हुन्छ? र, यदि कोही उम्रा गरेर मक्कामा एक वा दुई दिन वा त्यति नै बस्छ र त्यसपछि निस्कन्छ भने, के उसमाथि पनि विदाइ तवाफ फर्ज हुन्छ? के नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट विदाइ तवाफको नाममा विशेष तवाफ उल्लेख भएको छ? वा जुनसुकै तवाफ गरेपछि कोही मक्का बाहिर जान्छ भने त्यो नै विदाइ तवाफको रूपमा मानिन्छ? हामीलाई जानकारी दिनुहोस्, अल्लाहले तपाईंलाई जन्नतबाट वञ्चित नगरून्, आमीन।
उत्तर: हज पछि मक्काबाट आफ्नो घर फर्कन चाहने हजयात्रीको लागि मात्र विदाई तवाफ अनिवार्य हो, इब्ने अब्बास (रजियल्लाहु अन्हुमा) द्वारा वर्णित हदीसमा छ: "मानिसहरूलाई आदेश दिइएको छ, उनीहरूको अन्तिम कार्य बैतुल्लाहको तवाफ होस्, तर रजस्वला भएकी महिलालाई यसमा छुट दिइएको छ।" यो हदीस बुखरी र मुस्लिम मा छ। यसैगरि सुत्केरी महिलालाई पनि यही हुकुम लागू हुन्छ। तर हज नगर्नेहरूको हकमा, सही दृष्टिकोण अनुसार, उनीहरूले विदाइ तवाफ गर्न आवश्यक छैन। किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उम्रा गर्नेहरूलाई विदाइ तवाफ गर्न आदेश दिनुभएन। हजको लागि बिदाई परिक्रमा गर्न नियत चाहिन्छ, किनभने यो एउटा उपासना र अमल (कर्म) हो। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "वास्तवमा कर्महरू नियतमा आधारित हुन्छ र प्रत्येक व्यक्तिलाई उसले गरेको नियत अनुसार पुरस्कृत गरिनेछ।" अल्लाह नै सर्वज्ञ हुनुहुन्छ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ ३४४)
***
प्रश्न: के बिदाई तवाफ पछि केही सामानहरू किन्न अनुमति छ र तवाफ पछि सामानहरू किन्ने व्यक्तिलाई के कुनै समस्या छ?
उत्तर: हजको समयमा विदाई तवाफ अन्तिम काम हुनुपर्छ, त्यसपछि उसले मक्का छोड्नुपर्छ। यद्यपि, यदि ऊ आफ्ना साथीहरूको प्रतीक्षा गर्न, आफ्ना सामानहरू बोक्न वा आफ्ना केही आवश्यकताहरू किन्न छोटो समयको लागि बस्छ भने, त्यसमा कुनै हानि छैन।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ ३४५)
***
प्रश्न: एक जना तीर्थयात्रीले १२ तारीखमा तवाफे विदा गरे, त्यसपछि मिना गएर जमरातमा ढुङ्गा हाने। के उनको तवाफ सही भयो त? किनकि उनले ढुङ्गा हान्न अघि तवाफ गरेका थिए? जबकि ऊ जद्दाको बासिन्दा हो ?
उत्तर: जसले ढुङ्गा हान्न अघि बिदाई तवाफ गर्छ, उसको लागि यो पर्याप्त हुँदैन, किनकि बिदाई तवाफ हजको अन्तिम अनुष्ठान हुनुपर्छ। ढुङ्गा हान्न पछि आफ्नो बिदाई तवाफ दोहोर्याउनु अघि यात्रा गरेको हुनाले, उसले मक्कामा दम दिनु पर्छ; कुरबानी योग्य एउटा भेँडा मक्कामा वध गर्नुपर्छ र त्यसको मासु हरम क्षेत्रका गरीबहरूमा बाँडिनुपर्छ। उसले त्यस मासुबाट केही खान मिल्दैन। यदि उसले त्यसो गर्न असमर्थ छ भने, उसले दस दिनको रोजा राख्नुपर्छ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ ३४५)
***
प्रश्न: जमजमको पानीमा धेरै गुणहरू छन् भनेर वर्णन गरिएको छ। के यस विषयमा कुनै सही हदीस छ?
उत्तर: जमजमको पानी पृथ्वीको सबैभन्दा उत्कृष्ट पानी हो र यसको गुणको बारेमा सबैभन्दा सही हदीस सही मुस्लिम मा आएको हदीस हो, जसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जमजमको बारेमा भन्नुभएकाे छ: "यो बरकत वाला छ र यो खानाको रूपमा पनि हाे।" अबू दाऊद मा सही इस्नाद (श्रृंखला) का साथ आएको छ: "यो रोगको उपचार हो।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "ज़मज़मको पानी त्यही उद्देश्यको लागि हो जसको लागि पिइन्छ।" यसलाई इमाम अहमद, इब्ने माजा र उनीहरू बाहेकले पनि वर्णन गरेका छन्।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ १६८)
***
मदीना मुनव्वराको जियारत (दर्शन) सम्बन्धित फत्वाहरू
प्रश्न: म रमजान महिनामा उमरा गर्ने र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को शहरको यात्रा गर्ने इरादा राख्छु भने, तपाईं मलाई के निर्देशन दिनुहुन्छ?
उत्तर: नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मस्जिदकाे भ्रमणको लागि विशेष रूपमा यात्रा गर्न अनुमति छ, तर उहाँको चिहान वा अन्य कुनै चिहानको भ्रमण गर्न अनुमति छैन, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "यी तीन मस्जिदहरू बाहेक कुनै स्थानको यात्रा नगरियोस्: मस्जिदे हराम, मेरो यो मस्जिद र मस्जिदे अक्सा।" तर,जो व्यक्ति मस्जिद नबवीको (जियारत) भ्रमण गर्छ, उसले नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका दुई साथी; अबू बक्र र उमर (रजियल्लाहु अन्हुमा) लाई सलाम गर्नु वैध हो । साथै, उसले बकी कब्रिस्तान र शहिदहरूको कब्रहरूको पनि (जियारत) भ्रमण गर्न सक्छ र तिनीहरूको लागि दुआ र रहमत (अल्लाहको दया) माग्न सक्छ। उसले मृत्यु र त्यसपछि आउने जीवनलाई स्मरण गरोस्। साथै कुबा मस्जिदको जियारत गर्न पनि अनुमति छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ७८)
***
प्रश्न: के हाजीहरू, पुरुष र महिला दुवैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को चिहान, अल-बकी, उहुद र कुबाको भ्रमण गर्न आवश्यक छ, वा यो केवल पुरुषहरूको लागि हो?
उत्तर: हाजीहरू (पुरुष होस् वा महिला) का लागि रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को कब्रको भ्रमण गर्नु आवश्यक छैन, न त बकी (कब्रिस्तान) जानु। बरू कब्रहरूको भ्रमणको लागि यात्रा गर्न निषेध गरिएको छ र यो विशेष रूपमा महिलाहरूका लागि हराम छ, चाहे उनीहरु विशेष रूपमा यात्रा नगरे पनि, यसका लागि रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को भनाइ छ: "यी तीन मस्जिदहरू बाहेक कुनै स्थानको यात्रा नगरियोस्: मस्जिदे हराम, मेरो यो मस्जिद र मस्जिदे अक्सा।" (बुखारी र मुस्लिम) किनकि रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले चिहानहरूमा जाने महिलाहरूलाई श्रापित गर्नुभएको छ, त्यसैले महिलाहरूले मस्जिदे नबवीमा नमाज पढ्नु र मस्जिदभित्र तथा बाहिर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि बारम्बार दरूद पठाउनु नै पर्याप्त छ।
(स्थायी समितिका फतवाहरूको पहिलो संग्रह : ११/ ३६२)
***
प्रश्न: मेरो एउटा दाजु हुनुहुन्छ, जो मदीना मुनव्वरामा हज र उम्रा गर्न आउने यात्रीहरूलाई केही एतिहासिक स्थानहरूमा लैजानुहुन्छ, जसमध्ये केही शरियतअनुसार अवैध स्थानहरू छन् र यसबापत उसले आर्थिक शुल्क पनि लिन्छ। के उसको यो काम शरिया अनुसार अनुमति छ?
उत्तर: तपाईँका दाजुले हज र उम्राका ती यात्रीहरूलाई शहरका त्यस्ता स्थानहरूमा लैजाँदै छन् जहाँ भ्रमण गर्न अनुमति छैन, यो काम हराम हो र उसले बदलामा लिने पैसा हराम कमाई हो। तपाईँले उनलाई यो काम छोड्न राम्रोसँग सम्झाउनुपर्छ।
(स्थायी समितिका फतवाहरूको दोस्रो संग्रह : १०/ ३९०)
***