Skip to content

मसँग यस कुराको प्रतिज्ञा गर कि तिमीहरूले अल्लाहसँग कसैलाई साझेदार बनाउने (शिर्क गर्ने) छैनौ, चोरी गर्ने छैनौ, व्यभिचार गर्ने छैनौ।

उबादह बिन सामित (रजियल्लाहु अन्हु) बाट वर्णित छ। उहाँ बद्रको युद्धमा सहभागी हुनुहुन्थ्यो र अकबहको रातका नकीबहरूमध्ये एक हुनुहुन्थ्यो। उहाँले भन्नुभयो: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबीहरूको एक समूहको बीचमा यसो भन्नुभयो:

"मसँग प्रतिज्ञा गर कि तिमीहरूले अल्लाहसँग कसैलाई साझेदार ठहराउने छैनौ, चोरी गर्ने छैनौ, व्यभिचार (अवैध यौनसम्बन्ध) गर्ने छैनौ, आफ्ना सन्तानको हत्या गर्ने छैनौ, जानीजानी कसैमाथि झूटाे आरोप लगाउने छैनौ, र कुनै पनि राम्रो कामको अदेश हुँदा मेरो अवज्ञा गर्ने छैनौ। त्यसैले तिमीहरूमध्ये जसले यो प्रतिज्ञा पूरा गर्छ, उसको प्रतिफल अल्लाहको जिम्मामा छ। र जसले यीमध्ये कुनै पाप गर्छ र त्यसको सजाय यसै संसारमा पाउँछ भने त्यो सजाय उसको लागि प्रायश्चित (कफ्फारा) हुनेछ। र जसले यीमध्ये कुनै पाप गर्छ र अल्लाहले त्यसलाई लुकाइदिनुहुन्छ (संसारमा सजाय हुँदैन) भने, त्यो मामला अल्लाहकै इच्छामा निर्भर छ; (कयामतको दिन) उहाँले चाहेमा उसलाई क्षमा गरिदिनुहुनेछ र चाहेमा सजाय दिनुहुनेछ।" त्यसपछि हामीसबैले उहाँसँग यिनै कुराको प्रतिज्ञा गर्यौँ।"

«بَايِعُونِي عَلَى أَلَّا تُشْرِكُوا بِاللَّهِ شَيْئًا، وَلاَ تَسْرِقُوا، وَلاَ تَزْنُوا، وَلاَ تَقْتُلُوا أَوْلاَدَكُمْ، وَلاَ تَأْتُوا بِبُهْتَانٍ تَفْتَرُونَهُ بَيْنَ أَيْدِيكُمْ وَأَرْجُلِكُمْ، وَلاَ تَعْصُوا فِي مَعْرُوفٍ، فَمَنْ وَفَى مِنْكُمْ فَأَجْرُهُ عَلَى اللَّهِ، وَمَنْ أَصَابَ مِنْ ذَلِكَ شَيْئًا فَعُوقِبَ فِي الدُّنْيَا فَهُوَ كَفَّارَةٌ لَهُ، وَمَنْ أَصَابَ مِنْ ذَلِكَ شَيْئًا ثُمَّ سَتَرَهُ اللَّهُ فَهُوَ إِلَى اللَّهِ، إِنْ شَاءَ عَفَا عَنْهُ وَإِنْ شَاءَ عَاقَبَهُ» فَبَايَعْنَاهُ عَلَى ذَلِكَ.

मुत्तफकुन अलैहि
सही
व्याख्या

उबादा बिन सामित (रदियल्लाहु अन्हु) – जो बद्रको ठूलो युद्ध (गजवा-ए-बद्र) मा सहभागी हुनुहुन्थ्यो र मक्काबाट मदिना हिजरत गर्नुभन्दा पहिले, मिनाको अकिबा भन्ने ठाउँमा भएको रात (बैअत-ए-अकिबा) मा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सहयोग गर्ने बैअत (प्रतिज्ञा, आज्ञापालनको शपथ) लिन अघि सर्ने आफ्ना जातिका प्रमुख हुनुहुन्थ्यो – उहाँले भन्नुभयो: नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना सहाबाहरूको माझमा बसिरहनुभएको थियो र उहाँले उनीहरूसँग केही कुराहरूमा प्रतिज्ञा लिन चाहनुभयो: पहिलो: तिनीहरूले अल्लाहको उपासनामा धेरै-थोरै, सानो-ठुलो कुनै पनि कुरालाई साझेदार बनाउँने छैनन्। दोस्रो: उनीहरूले चोरी गर्ने छैनन्। तेस्रो: उनीहरूले व्यभिचार जस्तो अश्लील कार्य गर्ने छैनन्। चौथो: उनीहरूले आफ्ना सन्तानहरूलाई मार्नै छैनन्; न त गरिबीको डरले छोराहरूलाई, न त अपमानको डरले छोरीहरूलाई। पाँचौँ: उनीहरूले आफ्ना हात र खुट्टाहरूका बिचबाट स्वयं गढेर (अर्थात् जानाजानी) कुनै पनि मिथ्या आरोप लगाउने छैनन्। हात र खुट्टातिर संकेत गर्नुको कारण यो हो कि अधिकांश कार्यहरू यिनै दुई अंगहरूद्वारा नै सम्पन्न हुन्छन्, तथापि शरीरका अन्य अंगहरू पनि त्यसमा सहभागी हुन सक्छन्। छठाैंः भलाइको काममा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अवज्ञा गर्ने छैनन्। उनीहरूमध्ये जो कोही यस प्रतिज्ञामा अडिग रहन्छ र यसको पूर्ण पालना गर्दछ, उसको प्रतिफल अल्लाहको जिम्मामा छ। अनि जसले यी निषेधित कार्यहरूमध्ये कुनै कार्य गर्दछ—'शिर्क' बाहेक—र उसलाई यसै संसारमा इस्लामिक कानुन बमोजिम निर्धारित सजाय (हद) द्वारा दण्डित गरिन्छ भने, त्यो दण्ड नै उसका लागि प्रायश्चित हुनेछ र त्यसद्वारा उसको त्यो पाप मेटिनेछ। तर, जसले यी कुराहरूमध्ये कुनै दुष्कर्म गर्दछ र अल्लाहले (आफ्नो करुणाले) त्यसलाई संसारसामु लुकाइदिनुहुन्छ भने, उसको मामला पूर्णतः अल्लाहकै इच्छामा निर्भर रहन्छ; यदि उहाँले चाहनुभयो भने उसलाई क्षमा गरिदिनुहुनेछ र यदि उहाँले चाहनुभयो भने उसलाई दण्ड दिनुहुनेछ। त्यहाँ उपस्थित सम्पूर्ण सहाबाहरूले यसै कुरामा उहाँ (रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम) सँग बैअत (निष्ठाको प्रतिज्ञा) गरे।

हदीसका केही फाइदाहरू

यसमा मुस्लिमहरूमाथि जिहाद अनिवार्य (फर्ज) हुनुभन्दा पूर्व, मक्कामा अकबाको प्रथम बैअत (प्रतिज्ञा/सपथ) मा समावेश गरिएका विषयहरूको विवरण छ।

अल्-सिन्धीले भन्नुभएको छः "उहाँको भनाइ 'राम्रो काममा' को अर्थ यो होइन कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का केही आदेश मात्र राम्रा हुन्छन्, बरु उहाँका सबै आदेशहरू स्वभावतः राम्रै हुन्छन् र त्यसको विपरीत हुने कुनै सम्भावना छैन। यसो भन्नुको अर्थ आज्ञापालनको अनिवार्यताको कारणतर्फ ध्यानाकर्षण गराउनु हो। यसबाट यो पनि बुझिन्छ कि कुनै पनि व्यक्तिको त्यस्तो आदेशको पालना गर्नु हुँदैन, जुन नराम्रो वा शरीअतविपरीत हो। साथै, कुनै व्यक्तिको नेतृत्व स्वीकार गर्दा वा बैअत (प्रतिज्ञा) गर्दा पनि अन्धाधुन्ध हरेक आदेशको पालना गर्ने प्रतिज्ञा गर्नु हुँदैन; बरु राम्रो र शरीअतसम्मत कार्यमा मात्र आज्ञापालन गर्ने सर्त हुनुपर्छ।"

मुहम्मद बिन इस्माईल अल-तयमी र अन्य विद्वानहरूले भनेका छन्: "सन्तानको हत्यालाई विशेष रूपमा उल्लेख गरिएको छ किनभने यो हत्या हुनुका साथै नाता-सम्बन्ध तोड्नु पनि हो। त्यसैले यस कार्यलाई निषेध गर्न विशेष जोड दिइएको छ। अर्को कारण यो हो कि त्यो समयमा तिनीहरूका बीचमा यो प्रथा धेरै प्रचलित थियो, जसमा गरिबीको डरले छोरीहरूलाई जीवितै गाड्ने र छोराहरूको हत्या गर्ने गरिन्थ्यो। अथवा तिनीहरूलाई विशेष रूपमा यसकारण पनि उल्लेख गरिएको छ, किनभने बालबालिकाहरू आफ्नो रक्षा आफैं गर्न असमर्थ हुन्छन्।"

इमाम नववीले भन्नुहुन्छ: "यस हदीसको व्यापक नियमलाई अल्लाहको यो वचनले सीमित गर्दछ: {निश्चय नै अल्लाहले आफूसँग कसैलाई साझेदार बनाउने कार्य (शिर्क) लाई कदापि क्षमा गर्नुहुने छैन}। यस अनुसार, यदि कुनै धर्मत्यागी (मुर्तद) व्यक्तिलाई उसको धर्मत्यागकै कारण मृत्युदण्ड दिइन्छ भने, त्यो मृत्यु उसको पापको प्रायश्चित (कफ्फारा) हुने छैन।"

काजी अयाजले भन्नुभएको छ: "अधिकांश विद्वानहरूको मत छ कि 'हुदूद' (शरियतका निर्धारित दण्ड) हरू कफ्फारा (प्रायश्चित ) हुन्।"

श्रोतहरू

सही बुखारी (1/ 12) (18).

सही मुस्लिम (3/ 1333) (1709).

थप (2)

إرشاد الساري لشرح صحيح البخاري (1/ 99).

عمدة القاري شرح صحيح البخاري (24/ 277).