Skip to content

फर्केर जाऊ र फेरि नमाज पढ, किनभने तिमीले नमाज पढेकै छैनौ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्:

"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मस्जिदमा प्रवेश गर्नुभयो। ठ्याक्कै त्यही बेला एक व्यक्ति पनि भित्र प्रवेश गरे र उनले नमाज पढे। नमाजपछि उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सलाम गरे। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सलामको जवाफ फर्काउनुभयो र भन्नुभयो, “फर्क र फेरि नमाज पढ, किनकि तिमीले नमाज पढेका छैनौ।” त्यो व्यक्ति फर्किएर पहिले जस्तै नमाज पढे र फेरि नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सामुन्ने आएर सलाम गरे। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दोहोर्‍याउँदै भन्नुभयो, “फर्क र फेरि नमाज पढ, किनकि तिमीले नमाज पढेका छैनौ।” यो क्रम तीन पटकसम्म दोहोरियो। अन्तमा त्यो व्यक्तिले भन्यो, “जसले तपाईंलाई सत्यसहित पठाउनुभएको छ, उहाँको कसम! मलाई योभन्दा राम्रोसँग नमाज पढ्न आउँदैन, त्यसैले मलाई सिकाइदिनुहोस्।” नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, “जब तिमी नमाजका लागि उभिन्छौ, तब ‘अल्लाहु अकबर’ भनेर तक्बीर भन। त्यसपछि कुरानबाट जति सजिलो लाग्छ त्यति पढ। त्यसपछि रुकूमा जानु र रुकूमा पूर्ण रूपमा स्थिर नभएसम्म रहनु। त्यसपछि रुकूबाट उठेर पूर्ण रूपमा सीधा भएर स्थिर नभएसम्म उभिरहनु। त्यसपछि सज्दा गर्नु र सज्दामा पूर्ण रूपमा स्थिर नभएसम्म रहनु। त्यसपछि उठ र पूर्ण रूपमा स्थिर भएर बस। आफ्नो पूरै नमाजमा यही तरिकाले गर्नू।"

أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ دَخَلَ المَسْجِدَ فَدَخَلَ رَجُلٌ، فَصَلَّى، فَسَلَّمَ عَلَى النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَرَدَّ وَقَالَ: «ارْجِعْ فَصَلِّ، فَإِنَّكَ لَمْ تُصَلِّ»، فَرَجَعَ يُصَلِّي كَمَا صَلَّى، ثُمَّ جَاءَ، فَسَلَّمَ عَلَى النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَقَالَ: «ارْجِعْ فَصَلِّ، فَإِنَّكَ لَمْ تُصَلِّ» ثَلاَثًا، فَقَالَ: وَالَّذِي بَعَثَكَ بِالحَقِّ مَا أُحْسِنُ غَيْرَهُ، فَعَلِّمْنِي، فَقَالَ: «إِذَا قُمْتَ إِلَى الصَّلاَةِ فَكَبِّرْ، ثُمَّ اقْرَأْ مَا تَيَسَّرَ مَعَكَ مِنَ القُرْآنِ، ثُمَّ ارْكَعْ حَتَّى تَطْمَئِنَّ رَاكِعًا، ثُمَّ ارْفَعْ حَتَّى تَعْدِلَ قَائِمًا، ثُمَّ اسْجُدْ حَتَّى تَطْمَئِنَّ سَاجِدًا، ثُمَّ ارْفَعْ حَتَّى تَطْمَئِنَّ جَالِسًا، وَافْعَلْ ذَلِكَ فِي صَلاَتِكَ كُلِّهَا».

मुत्तफकुन अलैहि
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) मस्जिदभित्र प्रवेश गर्नुभयो। त्यसपछि एकजना मानिस पनि मस्जिदमा आयो र हतारहतार दुई रकात नमाज पढ्यो। उसले आफ्नो कियाम (उभिने), रुकु र सुजूदमा कत्ति पनि स्थिरता अपनाएन (ढंग पुर्‍याएर शान्तपूर्वक गरेन)। नबी (सल्लल्लाहु अलैहि वसल्लम) उनलाई नमाज पढिरहेको बेला हेरिरहनुभएको थियो। त्यसपछि त्यो मानिस नबी (सल्लल्लाहु अलैहि वसल्लम) नजिक आयो — उहाँ त्यतिखेर मस्जिदको एक कुनामा बस्नुभएको थियो — र उहाँलाई सलाम गर्यो। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सलामको जवाफ दिनुभयो र उससँग भन्नुभयो: फर्केर जाऊ र आफ्नो नमाज पुनः पढ, किनभने तिमीले नमाज पढेकै छैनौ। ऊ फर्केर गयो र पहिलेझैँ तीव्रतासाथ नमाज पढ्यो, अनि आएर नबी (सल्लल्लाहो अलैहे वसल्लम) लाई सलाम गर्यो, उहाँले उसलाई पुनः भन्नुभयो : फर्केर जाऊ र आफ्नो नमाज पुनः पढ, किनभने तिमीले नमाज पढेकै छैनौ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यही कुरा तीन पटक भन्नुभयो। अन्तमा त्यो व्यक्तिले भन्योः अल्लाहको कसम, जसले तपाईंलाई सत्यका साथ पठाउनुभएको छ, म यसभन्दा राम्रो गर्न जान्दिनँ, त्यसैले मलाई सिकाउनुहोस्। अनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः जब तिमी नमाजका लागि उभिन्छौ, तब तक्बीरे तहरीमा ('अल्लाहु अक्बर') भन; त्यसपछि उम्मुल-कुर्आन (सूरह अल-फातिहा) र अल्लाहले चाहेबमोजिम कुरआनको अन्य अंश पाठ गर। तत्पश्चात् रूकूअमा जाऊ र पूर्ण स्थिरता (इत्मिनान) प्राप्त नभएसम्म त्यसै अवस्थामा रह, यस प्रकार कि आफ्ना दुवै हत्केलाले दुवै घुँडालाई बलियोसँग समाऊ र आफ्नो ढाड सीधा तानेर सुव्यवस्थित रूपमा रूकूअ सम्पन्न गर। त्यसपछि रूकूअबाट उठ र आफ्नो ढाड पूर्ण रूपमा सीधा राख, यहाँसम्म कि शरीरका प्रत्येक हड्डी आ-आफ्नो जोर्नीमा सुव्यवस्थित र स्वाभाविक अवस्थामा फर्किऊन् र तिमी पूर्ण रूपमा स्थिर भइजाऊ। त्यसपछि सज्दामा जाऊ र पूर्ण स्थिरता प्राप्त नभएसम्म सज्दामै रह। सज्दा गर्दा आफ्नो निधार, नाक, दुवै हात, दुवै घुँडा र दुवै खुट्टाका औँलाहरू जमिनमा राम्ररी टेकाऊ। त्यसपछि सज्दाबाट टाउको उठाई दुई सज्दाको बीचमा पूर्ण स्थिरताका साथ बस। अनि आफ्नो नमाजको प्रत्येक रकअतमा यही प्रक्रिया दोहोर्‍याऊ।

हदीसका केही फाइदाहरू

यी नमाजका अनिवार्य आधारहरू (अर्कान) हुन्, जुन भूलवश वा अज्ञानताका कारणले पनि माफ हुँदैनन्; यसको प्रमाण नमाज पढ्ने व्यक्तिलाई पुनः नमाज दोहोऱ्याउन दिइएको आदेश हो, र नबी (अलैहिस्सलातु वस्सलाम) ले केवल उसलाई सिकाएर मात्र छोड्नुभएन, बरु नमाज दोहोऱ्याउनै लगाउनुभयो।

इतमीनान (स्थिरता) नमाजका स्तम्भहरूमध्ये एक हो।

इमाम नववीले भन्नुभएको छ: "जसले नमाजका अनिवार्य सर्त वा स्तम्भहरू (अर्कान र वाजिबात) पूर्ण गर्दैन, उसको नमाज मान्य हुँदैन।"

इमाम नववीले भन्नुहुन्छ: "यस हदीसबाट सिकारु (विद्यार्थी) र अज्ञानी व्यक्तिप्रति विनम्रता अपनाउनु, उनीहरूसँग नम्र व्यवहार गर्नु, उनीहरूका लागि विषय स्पष्ट पारिदिनु र मुख्य उद्देश्यहरूलाई संक्षिप्त रूपमा बुझाउनुपर्छ भन्ने कुरा प्रमाणित हुन्छ। साथै, सीमित रूपमा उसको क्षमता अनुसार केवल अनिवार्य (महत्त्वपूर्ण) कुराहरू सिकाउनुपर्छ र ती अनिवार्य बाहेकका थप कुराहरू सिकाउनु हुँदैन, जसलाई याद राख्न वा पालना गर्न उसलाई मानसिक वा व्यावहारिक रूपले गाह्रो हुन्छ।"

इमाम नववीले भन्नुहुन्छ: "यसबाट यो प्रमाणित हुन्छ कि जब मुफ्तीसँग कुनै विषयमा प्रश्न सोधिन्छ, र त्यहाँ अर्को यस्तो विषय पनि हुन्छ जसको आवश्यकता सोध्ने व्यक्तिलाई छ तर उसले त्यसबारे सोधेको छैन भने, मुफ्तीले त्यो विषय पनि उसलाई बताइदिनु मुस्तहब (उत्तम) हुन्छ। र यो 'नसिहत' (सद्भावना वा हितको कुरा) अन्तर्गत पर्दछ, व्यर्थ र अनावश्यक कुरा अन्तर्गत पर्दैन।"

आफ्नो कमी-कमजोरी स्वीकार गर्नुको ठूलो पुण्य छ; यो कुरा त्यस व्यक्तिको यस भनाइबाट स्पष्ट हुन्छ, "म योभन्दा राम्रो गर्न जान्दिनँ, त्यसैले मलाई सिकाउनुहोस्।"

इब्न हजरले भन्नुभएको छ: "यसमा असल कुराको आज्ञा दिने र नराम्रो कामलाई निषेध गर्ने, तथा विद्यार्थीले विद्वानसँग आफूलाई सिकाउन अनुरोध गर्ने शिक्षा छ"।

भेट हुँदा सलाम गर्नु मुस्तहब (पुण्यदायी) हो, र त्यसको जवाफ दिनु वाजिब (अनिवार्य) हो। यदि एउटै व्यक्तिसँग छोटो समयको अन्तरालमै बारम्बार भेट हुन्छ भने प्रत्येक भेटमा सलाम दोहोर्याउनु पनि मुस्तहब हो, र प्रत्येक पटक त्यसको जवाफ दिनु अनिवार्य हुन्छ।

श्रोतहरू

सही बुखारी (1/ 152) (757).

सही मुस्लिम (1/ 298) (397).

थप (8)

تيسير العلام.

للبسام (ص167).

تنبيه الأفهام.

للعثيمين (2/ 213).

الإفهام في شرح عمدة الأحكام.

عبد العزيز بن باز (ص203).

الإلمام بشرح عمدة الأحكام.

لإسماعيل الأنصاري (1/ 138).