सर्वशक्तिमान अल्लाहले भन्नुभएको छ: आदमको सन्तानले मलाई कष्ट पुर्याउँछ। उसले समयलाई गाली गर्छ, जबकि समयको सम्पूर्ण व्यवस्था मेरो अधीनमा छ। सबै आदेश र अधिकार मेरो हातमा छन्। म नै रात र दिनलाई पालैपालो परिवर्तन गर्छु।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"सर्वशक्तिमान् र महान् अल्लाहले भन्नुभएको छ: 'आदमको सन्तानले मलाई कष्ट पुर्याउँछ। उसले समय (काल) लाई गाली गर्छ, जबकि समयको सम्पूर्ण व्यवस्था मेरो अधीनमा छ। सबै आदेश र अधिकार मेरो हातमा छन्। म नै रात र दिनलाई पालैपालो परिवर्तन गर्छु।'"
«قَالَ اللَّهُ عَزَّ وَجَلَّ: يُؤْذِينِي ابْنُ آدَمَ يَسُبُّ الدَّهْرَ وَأَنَا الدَّهْرُ، بِيَدِي الأَمْرُ أُقَلِّبُ اللَّيْلَ وَالنَّهَارَ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जानकारी दिनुभएको छ कि महान् अल्लाहले हदीस कुद्सीमा भन्नुहुन्छ: त्यो मानिसले मलाई कष्ट दिन्छ र मेरो अनादर गर्दछ, जसले विपत्ति र सङ्कटका बेला समय (काल) लाई गाली गर्दछ वा त्यसको निन्दा गर्दछ; किनभने पवित्र र सर्वशक्तिमान् अल्लाह नै एक्लो व्यवस्थापक हुनुहुन्छ र जे जति घटित हुन्छ, ती सबैलाई सञ्चालन गर्ने उहाँ नै हुनुहुन्छ। तसर्थ, समयलाई गाली गर्नु भनेको वास्तवमा सर्वशक्तिमान् अल्लाहलाई नै गाली गर्नु हो, जबकि समय त केवल उहाँकै अधीनस्थ सृष्टि हो, जसमा हुने सम्पूर्ण घटनाहरू अल्लाहकै आदेशले घटित हुन्छन्।
यो हदीस रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहबाट वर्णन गर्नुभएका वाणीहरूमध्ये एक हो, जसलाई 'हदीस कुद्सी' वा 'हदीस इलाही' भनिन्छ। यसका शब्द र अर्थ दुवै अल्लाहकै तर्फबाट हुन्; तथापि यसमा पवित्र कुरआनका ती विशेषताहरू समावेश हुँदैनन्, जसले कुरआनलाई अन्य वाणीहरूभन्दा भिन्न र उच्च बनाउँछन्, जस्तै त्यसको तिलावत गर्नु आफैँमा इबादत हुनु, त्यसलाई स्पर्श गर्नका लागि पवित्रता (वुजु) अनिवार्य हुनु, तथा त्यसद्वारा प्रस्तुत चुनौती र चमत्कार आदि।
महान् अल्लाहप्रति वचन र आस्था दुवैमा शिष्टता एवं मर्यादा कायम राख्नु अनिवार्य छ।
भाग्य र अल्लाहको निर्णयप्रति आस्था राख्नु र कष्टमा धैर्य धारण गर्नु अनिवार्य छ ।
'अजा' (दुःख, कष्ट वा असहजता) 'हानि' (क्षति) भन्दा भिन्न कुरा हो। मानिसले नराम्रो कुरा सुनेर वा देखेर दुःख, असहजता वा नराम्रो अनुभूति गर्न सक्छ; तर त्यसबाट उसलाई वास्तविक हानि पुग्दैन। त्यसैगरी, प्याज र लसुनजस्ता वस्तुको दुर्गन्धले पनि उसलाई असहज वा नराम्रो अनुभव गराउँछ, तर त्यसबाट उसलाई कुनै वास्तविक हानि हुँदैन।
सर्वशक्तिमान अल्लाह आफ्ना भक्तहरूका केही खराब कार्यहरूले अप्रसन्न हुनुहुन्छ, तर उहाँ महिमामय र सर्वोच्च हुनुहुन्छ र यसबाट उहाँलाई कुनै हानि वा नोक्सान पुग्दैन; जस्तो कि उहाँले हदीस कुद्सीमा भन्नुभएको छ: "हे मेरा भक्तहरू! तिमीहरू कहिल्यै मलाई हानि पुर्याउन सक्दैनौ कि मलाई कुनै हानि होस्, र न त मलाई केही फाइदा नै पुर्याउन सक्छौ कि मलाई कुनै लाभ होस्।"
समय (काल) लाई सराप्ने वा त्यसबारे बोल्ने कुरा तीन प्रकारका हुन्छन्: १. समयलाई यस विश्वासका साथ सराप्नु कि घटनाहरूको वास्तविक कर्ता समय नै हो र भलाइ तथा हानि, सुख तथा दुःख सबै समयकै कारण उत्पन्न हुन्छन्। यो शिर्क-ए-अकबर (ठूलो शिर्क) हो; किनकि यस्तो विश्वासले अल्लाहसँगै अर्को पनि सृष्टिकर्ता र व्यवस्थापक छ भन्ने ठहर गर्दछ तथा घटनाहरूको सिर्जना गर्ने अधिकार अल्लाहबाहेक अरूसँग पनि छ भन्ने कुरा देखाउँछ। २. समयलाई यो विश्वासका साथ सराप्नु कि वास्तविक कर्ता अल्लाह नै हुनुहुन्छ, तर आफूलाई परेको अप्रिय घटना समयमै घटेको कारण व्यक्तिले समयलाई दोष दिन्छ र सराप्छ। यस्तो गर्नु निषेधित छ; किनकि वास्तवमा यसले अल्लाहको निर्णय र उहाँले तोक्नुभएको भाग्यप्रति असन्तुष्टि जनाउँछ। ३. समयको कुनै निन्दा वा गाली नगरी केवल कुनै अवस्थाको जानकारी वा वर्णन गर्ने उद्देश्यले उल्लेख गर्नु। यो जायज (वैध) छ। यसै प्रकारको उदाहरण अल्लाहका नबी लूत (अलैहिस्सलाम) को यो भनाइ हो: "यो अत्यन्त कठिन दिन हो।"
सही बुखारी (6/ 133) (4826).
सही मुस्लिम (4/ 1762) (2246).
थप (2)
النهاية في غريب الحديث والأثر (317).
إرشاد الساري لشرح صحيح البخاري (7/ 338).